सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख

परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख

परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख

इस्राएलमा उम्रने एक प्रकारको रूखलाई अविनाशी भने पनि हुन्छ। ढालेपछि पनि यो रूखको ठुटाबाट नयाँ मुनाहरू पलाउँछन्‌। अनि यसको फलले आफ्नो मालिकलाई प्रशस्त तेल दिन्छ जुन पकाउन, आगो बाल्न, सरसफाइ गर्न र श्रृंगारको लागि प्रयोग गर्न सकिन्छ।

बाइबलको पुस्तक, न्यायकर्तामा लिपिबद्ध एउटा पुरातन भनाइअनुसार “एकपल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए।” तिनीहरूले सबैको सर्वसम्मतिमा कुन रूख छाने? कुन हुन्थ्यो र, दह्रो हराभरा भद्राक्षको रूख।—न्यायकर्त्ता ९:८.

लगभग ३,५०० वर्षअघि अगमवक्‍ता मोशाले ‘असल देश, भद्राक्षले भरिएको’ ठाउँ भनेर इस्राएलको वर्णन गरे। (व्यवस्था ८:७, ८) अहिले पनि उत्तरमा हर्मन डाँडाको फेददेखि दक्षिणमा बेर्शेबाको किनारासम्म भद्राक्षका बगानहरू छन्‌। शारोनका खर्क, सामरियाको ढुंगे पहाडहरू अनि गालीलको उर्वरा बेंसीहरू अझै पनि भद्राक्षका रूखहरूले ढकमक्क सिंगारिएका छन्‌।

बाइबल लेखकहरूले प्रायजसो प्रतीकात्मक अर्थमा भद्राक्ष रूखको प्रयोग गर्थे। यो रूखका विभिन्‍न विशेषताहरूले परमेश्‍वरको कृपा, पुनरुत्थानको प्रतिज्ञा र सुखमय पारिवारिक जीवनलाई चित्रण गर्छन्‌। भद्राक्षलाई अलि गहिरिएर हेऱ्‍यौं भने, ती धर्मशास्त्रीय संकेत बुझ्ने मदत पाउनेछौं र बाँकी सृष्टिसँगसँगै हाम्रो रचयिताको प्रशंसा गर्ने यो अचम्मको रूखको अझ मूल्यांकन गर्न सक्नेछौं।—भजन १४८:७, ९.

झ्याम्म परेको भद्राक्षको रूख

झट्ट हेर्दा भद्राक्षको रूख खासै राम्रो देखिंदैन। यो सलक्क परेका लबाननका देवदारजस्तो अग्लो हुँदैन। यसलाई सल्लाका काठ जत्तिको मूल्यवान्‌ पनि मानिंदैन अनि लटरम्म हुँदा कागजी-बदामको रूख जति मनमोहक पनि देखिंदैन। (श्रेष्ठगीत १:१७; आमोस २:९) भद्राक्षको रूखको सबैभन्दा महत्त्वपूर्ण भाग, जमिनमुनि लुकेको हुन्छ। टाढाटाढा फैलिएका यसका जराहरू जमिनमुनि ६ मिटरसम्म जानसक्छन्‌। रूखको फल र दिर्घायुको रहस्य नै यी जराहरू हुन्‌।

त्यस्ता जराहरूले गर्दा भद्राक्षको रूखले ढुंगेनी पहाडमा पनि जरा गाड्‌न सक्छन्‌ अनि खडेरी परेर बेंसीका अन्य रूखहरू सबै मरिसक्दा पनि टिकिरहन्छन्‌। यसको जगल्टिएको मूल काण्ड आगो बाल्न मात्र काम लाग्ने मूढाजस्तो देखिए तापनि जराले गर्दा शताब्दीयौंसम्म भद्राक्ष फलिरहन्छ। यति हो, यो झ्याम्म परेको रूखलाई सास फेर्न र बढ्‌न प्रशस्त ठाउँ अनि खुकुलो माटो चाहिन्छ, अनि हानिकारक कीराहरूलाई आश्रय दिने झारपात वा अरू बोटबिरुवा छेउछाउमा उम्रन दिनु हुँदैन। यस्तो उपयुक्‍त अवस्थामा एउटा रूखले वर्षेनी ५७ लिटरसम्म तेल दिनसक्छ।

भद्राक्षको रूखले दिने बहुमूल्य तेलले गर्दा इस्राएलीहरू यसलाई असाध्यै मन पराउँथे भन्‍ने कुरामा कुनै शंका छैन। भद्राक्षको तेलमा बाल्ने सलेदोले तिनीहरूको घर उज्यालो पार्थ्यो। (लेवी २४:२) खाना पकाउन भद्राक्षको तेल अत्यावश्‍यक थियो। यसले छालालाई घामबाट बचाउँथ्यो अनि इस्राएलीहरूले चलाउने साबुनमा पनि यसैको प्रयोग गरिन्थ्यो। अन्‍न, दाखमद्य र भद्राक्ष इस्राएलको प्रमुख बाली थियो। अतः भद्राक्षबाट प्रशस्त फल उत्पादन भएन भने इस्राएली परिवारलाई आपतै पर्थ्यो।—व्यवस्था ७:१३; हबकूक ३:१७.

तथापि, भद्राक्षले प्रायजसो प्रचुर मात्रामा तेल दिन्थ्यो। मोशाले, प्रतिज्ञा गरिएको देशलाई ‘भद्राक्षको देश’ भने किनभने सम्भवतः त्यो इलाकामा सामान्यतया खेती गरिने रूख नै भद्राक्षको थियो। उन्‍नाइसौं शताब्दीका प्रकृतिविद्‌ एच. बि. ट्रिस्टमले भद्राक्षलाई “त्यो देशको एउटा चिनारी” भने। भद्राक्ष रूखको महत्त्व र प्रचुरताले गर्दा भूमध्य सागरको इलाकाभरि यो अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गरिन्थ्यो। येशू ख्रीष्टले पनि एक चोटि ऋणलाई “नौ सय पाथी तेल[मा]” हिसाब गर्नुभयो।—लूका १६:५, ६.

“भद्राक्षका मुनाहरूजस्तै”

उपकारी भद्राक्षको रूखले ईश्‍वरीय आशिष्‌हरूको सही चित्रण गर्छ। ईश्‍वरभीरु पुरुषले कसरी इनाम पाउनेछन्‌? भजनरचयिताले भजनमा यसो भने, “तेरी स्वास्नी फल दिने दाखजस्तै तेरो घरको भित्रपट्टि हुनेछ। तेरा छोरा-छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरूजस्तै हुनेछन्‌।” (भजन १२८:३) यी “भद्राक्षका मुनाहरू” के हुन्‌ अनि भजनरचयिताले किन छोराहरूसित त्यसको तुलना गरे?

भद्राक्षको रूख अचम्मको छ किनभने रूखको फेदबाट सधैं नयाँ मुनाहरू पलाइरहन्छन्‌। a रूख बूढो भएर पहिलेजस्तो फल दिन छोडेपछि, कृषकले थुप्रै नयाँ मुनाहरू बढ्‌न दिन्छन्‌ र ती मुनाहरू नै पछि रूखको अभिन्‍न भाग बन्छ। केही समयपछि रूखको चारैतिर तीन चारवटा कलिला, बलिया हाँगाहरू पलाउँछन्‌ र यो टेबलमा चारैतिर बसेका छोराहरूजस्तै हुन्छन्‌। यी मुनाहरूको एउटा मूल हाँगा हुन्छ र भद्राक्षको फसलमा सबैले योगदान पुऱ्‍याउँछन्‌।

भद्राक्षको रूखको यो गुण, छोराछोरीहरूको उदाहरणसित एकदमै मिल्दोजुल्दो छ किनभने तिनीहरू पनि आफ्ना आमाबाबुको बलियो आध्यात्मिक जरामा अडेर विश्‍वासमा बलियो हुँदै जान सक्छन्‌। हुर्कंदै गएपछि छोराछोरीहरूले फल फलाउने अनि आमाबाबुलाई टेवा दिने काममा भाग लिन्छन्‌ र यसरी छोराछोरीले पनि यहोवाको सेवा गरेको देखेर आमाबाबु रमाउँछन्‌।—हितोपदेश १५:२०.

“रूख काटदियो भने त्यो फेरि पह्लाउने आशा हुन्छ”

यहोवाको उपासना गर्ने वृद्ध बुबा आफ्ना ईश्‍वरभीरु छोराछोरी देखेर दंग पर्छन्‌। तर आफ्नो बुबा ‘संसारका सबै मानिसहरूझैं संसार छोडेर’ जाँदा यी छोराछोरीहरू बिलौना गर्छन्‌। (१ राजा २:२) परिवारमा यस्तो दुःख आइपर्दा सहने मदतको लागि बाइबलले पुनरुत्थानको आशा दिन्छ।—यूहन्‍ना ५:२८, २९; ११:२५.

थुप्रै छोराछोरीका बुबा, अय्यूबलाई आफ्नो छोटो आयुबारे राम्ररी थाह थियो। तिनले आफ्नो आयुलाई फक्रने बित्तिकै ओइलाइहाल्ने फूलसित तुलना गरे। (अय्यूब १:२; १४:१, २) अय्यूब आफ्नो पीडाबाट मुक्‍ति पाउन मृत्युको तिर्सना गर्थे किनभने तिनको विचारमा चिहान, फेरि फर्केर आउनसकिने लुक्ने ठाउँ थियो। अय्यूबले यस्तो प्रश्‍न गरे: “कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ?” तिनले ढुक्क भएर आफै यस्तो जवाफ दिए: “मेरो सेवा जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ? मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। [यहोवा] तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।”—अय्यूब १४:१३-१५.

परमेश्‍वरले चिहानबाट बोलाउनुहुनेछ भन्‍ने विश्‍वास अय्यूबले कसरी देखाए? एउटा रूखद्वारा र त्यो रूखको विवरण भद्राक्षको रूखसित मिल्दोजुल्दो छ। अय्यूबले यसो भने, “रूख काटदियो भने त्यो फेरि पह्लाउने आशा हुन्छ, र नयाँ पालुवा आउन थामिंदैन।” (अय्यूब १४:७) भद्राक्षको रूख ढालिए तापनि त्यो नाश हुँदैन। रूखको जरै उखेल्यो भने मात्र मर्छ। जरा राम्रै छ भने रूख फेरि उम्रन्छ र झनै बलियो हुन्छ।

लामो समयसम्मको खडेरीले भद्राक्षको बूढो रूख सुके पनि त्यो सुकेको ठुटो फेरि पलाउनसक्छ। “त्यसका जराहरू भूइँमा छिप्पिसके र त्यसको ठूटा जमीनभित्र मरे तापनि पानीको गन्ध पाएपछि त्यो फेरि पह्लाउनथाल्छ, र कलिलो बोटझैं त्यो पह्लाएर आउँछ।” (अय्यूब १४:८, ९) अय्यूब बस्ने ठाउँ सुक्खा, धूलैधूलो हुने खालको थियो र त्यहाँ तिनले भद्राक्षको बूढो ठुटाहरू सुकेर मुढाजस्तो भएको देखेका हुनुपर्छ। तथापि, पानी परेपछि त्यस्तो “मरेको” रूख फेरि जीवित भएर त्यसका जराबाट “कलिलो बोटझैं” नयाँ हाँगा पलाउँथे। यो अचम्मको क्षमता देखेर एक जना ट्युनिसियाली वनस्पतिविद्‌ले यस्तो टिप्पणी गरे: “भद्राक्षका रूखहरू अमर हुन्छन्‌ भने पनि हुन्छ।”

किसानले सुकेको भद्राक्षको रूख फेरि पलाएको हेर्ने चाहना गरेझैं यहोवा पनि आफ्ना विश्‍वासी जनहरूको पुनरुत्थान गर्ने तिर्सना गर्नुहुन्छ। उहाँ अब्राहाम र सारा, इसहाक र रिबेका अनि अरू थुप्रै विश्‍वासी जनहरूलाई पुनः जीवित बनाउने समयको प्रतीक्षा गर्नुहुन्छ। (मत्ती २२:३१, ३२) मरेकाहरूलाई फेरि स्वागत गर्न अनि तिनीहरूले पूर्ण तथा फलदायी जीवन बिताएको हेर्न पाउनु कत्ति रमाइलो हुनेछ!

प्रतीकात्मक भद्राक्षको रूख

परमेश्‍वरको कृपा, उहाँको निष्पक्षता र पुनरुत्थान गर्ने प्रबन्धमा झल्कन्छ। जुनसुकै जाति वा पृष्ठभूमिको मानिसलाई पनि यहोवाले कृपा देखाउनुहुन्छ भनी बुझाउन प्रेरित पावलले भद्राक्षको रूखको उदाहरण दिए। यहूदीहरूले “अब्राहामका सन्तान,” परमेश्‍वरको चुनिएका जन हौं भनेर शताब्दीयौंदेखि घमण्ड गर्दै आएका थिए।—यूहन्‍ना ८:३३; लूका ३:८.

ईश्‍वरीय अनुग्रह पाउन यहूदी राष्ट्रमै जन्मनु पर्ने कुनै आवश्‍यकता थिएन। तथापि, येशूका प्रारम्भिक चेलाहरू सबै यहूदी थिए र तिनीहरूले अब्राहामलाई प्रतिज्ञा गरिएको वंशको भाग हुन परमेश्‍वरले छान्‍नुभएको जनमध्ये पहिलो हुने सुअवसर पाए। (उत्पत्ति २२:१८; गलाती ३:२९) पावलले यी यहूदी चेलाहरूलाई प्रतीकात्मक भद्राक्षको रूखका हाँगाबिंगासित तुलना गरे।

जन्मजात यहूदीहरूमध्ये अधिकांशले येशूलाई तिरस्कार गरेर आफूलाई “सानो बगाल” वा “परमेश्‍वरका इस्राएल[का]” भावी सदस्य हुन अयोग्य साबित गरे। (लूका १२:३२; गलाती ६:१६) यसरी तिनीहरू प्रतीकात्मक भद्राक्षको रूखका काटिएका हाँगाबिंगाहरूजस्तै भए। तिनीहरूको ठाउँ कसले लिनेथियो? सा.यु. ३६ मा अब्राहामको वंश हुन अन्यजातिहरू छानिए। यो यहोवाले जंगली भद्राक्षका हाँगाहरूलाई असली भद्राक्षको रूखमा कलमी सार्नुभएझैं थियो। अब अब्राहामलाई प्रतिज्ञा गरिएको वंशमा विभिन्‍न राष्ट्रका मानिसहरू सामेल हुने भए। अन्यजातिका मसीहीहरू “असली भद्राक्षको रूखको जराको सम्भागी” हुन सक्ने भए।—रोमी ११:१७.

किसानले जंगली भद्राक्षको हाँगालाई असली भद्राक्षको हाँगामा कलमी गर्ने कुरा सोच्नसमेत सोच्दैन किनकि त्यो “अर्कै स्वभाव भएको” हुनेछ। (रोमी ११:२४) द ल्याण्ड एण्ड द बूक पुस्तक यसो भन्छ, “अरबीहरूको भनाइअनुसार जंगली भद्राक्षमा असली भद्राक्ष कलमी सार्नुहोस्‌, असलीले जंगलीलाई दबाउनेछ तर जंगलीलाई असलीमा कलमी गर्नुहोस्‌, त्यो असली हुँदैन।” त्यसरी नै यहोवाले “पहिले उहाँको नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनालाई कृपादृष्टि” देखाउनुहुँदा यहूदी मसीहीहरू छक्क परे। (प्रेरित १०:४४-४८; १५:१४) तथापि, आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वर कुनै एउटा राष्ट्रमा निर्भर हुनुहुन्‍न भनेर यसले स्पष्ट संकेत गर्छ। किनभने, “हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३५.

अवफादार यहूदी “हाँगाहरू” भद्राक्षको रूखबाट काटिएझैं घमण्डी र अनाज्ञाकारी भई यहोवाको अनुग्रहमा रहन नचाहनेहरू पनि काटिनसक्छन्‌ भनी पावलले संकेत गरे। (रोमी ११:१९, २०) परमेश्‍वरको अनुग्रहलाई कहिल्यै हल्का सम्झनुहुँदैन भन्‍ने यसले स्पष्टसित देखाउँछ।—२ कोरिन्थी ६:१.

तेल घस्ने

धर्मशास्त्रले भद्राक्षको तेलको शाब्दिक र प्रतीकात्मक दुवै प्रयोग गरेको छ। पुरातन समयमा घाउ, चोटपटकलाई छिटो निको पार्न ‘तेलले नरम बनाइन्थ्यो।’ (यशैया १:६) येशूले बताउनुभएको एउटा उखानको दयालु सामरीले यरीहोतिर जाँदा बाटोमा घाइते भएर लडिरहेका मानिसको घाउमा तेल र दाख-मद्य लगाइदिए।—लूका १०:३४.

शिरमा भद्राक्षको तेल लाउँदा सन्चो हुन्छ र फूर्ति जाग्छ। (भजन १४१:५) अनि आध्यात्मिक बिरामी हुँदा पनि मसीही प्राचीनहरूले ‘मण्डलीको सदस्यलाई यहोवाको नाउँमा तेल घसिदिन सक्छन्‌।’ (याकूब ५:१४) आध्यात्मिक तवरमा बिरामी भएको सँगी विश्‍वासीको खातिर प्राचीनले दिएको धर्मशास्त्रीय सल्लाह र हृदयस्पर्शी प्रार्थनालाई पनि सन्चो पार्ने भद्राक्षको तेलसित तुलना गरिएको छ। चाखलाग्दो कुरा के छ भने, हिब्रू भाषाको उखान शैलीमा असल मानिसलाई कहिलेकाहीं “शुद्ध भद्राक्षको तेल” भनेर परिभाषित गरिएको पाइन्छ।

“परमेश्‍वरको भवनमा भएको हरियो भद्राक्षको बोट”

माथि उल्लिखित बुँदाहरूलाई विचार गर्दा परमेश्‍वरका जनहरूलाई भद्राक्षको बोटसित तुलना गर्नु कुनै अचम्मको कुरा होइन। दाऊद “परमेश्‍वरको भवनमा भएको हरियो भद्राक्षको बोटजस्तै” हुन चाहन्थे। (भजन ५२:८) इस्राएली परिवारहरूको घर वरिपरि प्रायजसो भद्राक्षका रूखहरू भएझैं दाऊद पनि यहोवाको नजिक भएर परमेश्‍वरलाई प्रशंसाको फल फलाउन चाहन्थे।—भजन ५२:९.

यहोवाप्रति वफादार छँदा यहूदाको दुई कुल “असल फल भएको सुन्दर हरियो भद्राक्षको रूख[जस्तै]” थिए। (यर्मिया ११:१५, १६) तर यहूदाका मानिसहरूले ‘यहोवाको वचन सुन्‍न इन्कार गरेर अन्य देवताहरूको सेवा गर्न तिनीहरूका पछि लाग्दा’ यस्तो विशेष सुअवसर गुमाए।—यर्मिया ११:१०.

परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख हुन हामीले यहोवाको आज्ञा पालन गर्नुपर्छ अनि हामीले मसीही फल बढी फलाओस्‌ भनेर उहाँले “छाँट्‌नुहुने” अनुशासन स्वीकार्न तयार हुनुपर्छ। (हिब्रू १२:५, ६) यसबाहेक, जसरी भद्राक्षको रूखले खडेरीको बेला बच्न टाढा टाढासम्म जरा फैलाएको हुनुपर्छ, हामीले पनि परीक्षा अनि सतावटहरू सहन हाम्रो आध्यात्मिक जरालाई बलियो बनाउनुपर्छ।—मत्ती १३:२१; कलस्सी २:६, ७.

भद्राक्षको रूखले वफादार मसीहीको सही चित्रण गर्छ। उसलाई संसारमा कसैले चिन्दैन होला तर परमेश्‍वरले राम्ररी चिन्‍नुहुन्छ। त्यस्तो व्यक्‍तिले यो रीतिरिवाजमा आफ्नो ज्यानै गुमाउनु परेको खण्डमा पनि भावी नयाँ संसारमा फेरि जीवन पाउनेछ।—२ कोरिन्थी ६:९; २ पत्रुस ३:१३.

वर्षेनी फल फलाउने, अनि अविनाशी भने पनि हुने भद्राक्षको रूखले परमेश्‍वरको यो प्रतिज्ञा सम्झना गराउँछ: “जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२२) यो भविष्यसूचक प्रतिज्ञा परमेश्‍वरको नयाँ संसारमा पूरा हुनेछ।—२ पत्रुस ३:१३.

[फुटनोट]

a यी नयाँ मुनाहरूले मूल रूख कमजोर नबनाओस्‌ भनेर वर्षेनी छाँट्‌ने गरिन्छ।

[पृष्ठ २५-मा भएको चित्र]

स्पेनको जासिया, आलिकान्ट प्रान्तमा फेला परेको पुरानो जगल्टे मूल काण्ड

[पृष्ठ २६-मा भएका चित्रहरू]

स्पेनको ग्रेनाडा प्रान्तमा भद्राक्ष बगान

[पृष्ठ २६-मा भएको चित्र]

यरूशलेमको पर्खालबाहिर पुरानो भद्राक्षको रूख

[पृष्ठ २६-मा भएको चित्र]

भद्राक्षको रूखमा हाँगाहरू कलमी गरिएको विवरण बाइबलमा पाइन्छ

[पृष्ठ २६-मा भएको चित्र]

बूढो भद्राक्षको रूखको चारैतिर कलिला मुनाहरू