काम गर्न प्रशान्तीय टापुहरूतिर लाग्दा!
काम गर्न प्रशान्तीय टापुहरूतिर लाग्दा!
अस्ट्रेलियाको ब्रिज्बेन र सिड्नीको अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष साबिकभन्दा बढी उल्लासमय आवाजले गुञ्जायमान थियो। त्यहाँ ४६ जनाको एउटा समूह न्युजील्याण्ड, हवाई र संयुक्त राज्य अमेरीकाका अर्को ३९ जनाको समूहलाई भेट्न घमाइलो समोआतिर उड्न तैयार देखिन्थे। तिनीहरूका मालताल अरूको भन्दा निकै भिन्न थियो—मुख्यतः हतौडा, करौंती र बर्माले भरिएका झोलाहरू—साधारणतया प्रशान्तीय टापुजस्तो आकर्षक ठाउँको भ्रमण गर्दा कमैले त्यस्ता मालताल बोक्छन् होला। तर जे होस्, तिनीहरूको भ्रमण भने अलि विशेष नै थियो।
यहोवाका साक्षीहरूको अस्ट्रेलिया शाखा कार्यालयको रिजनल इन्जिनियरिङ अफिसद्वारा सुपरिवेक्षण गरिएको निर्माण कार्यक्रममा निश्शुल्क स्वयम्सेवकको हैसियतमा करिब दुई हप्ता जति काम गर्न तिनीहरूले आफ्नै खर्चमा त्यो यात्रा गर्न लागेका थिए। उक्त कार्यक्रमको सम्पूर्ण खर्च प्रशान्त महासागरका टापुहरूमा दिन प्रति दिन द्रुत गतिमा बढिरहेका यहोवाका साक्षीहरूका मण्डलीहरूका लागि राज्य भवन, सम्मेलन भवन, मिसनरी भवन र शाखा कार्यालय अथवा अनुवाद केन्द्रहरू निर्माण गर्न स्वेच्छाले दिइएको अनुदानद्वारा बेहोरिएका थिए। आउनुहोस्, हामी त्यस्ता केही कामदारहरूलाई भेटौं, जो आ-आफ्ना देशका राज्यभवन निर्माण टोलीमा कार्यरत थिए।
म्याक्स, छाना छाउने कामदार, अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित काउरा शहरबाट आएका हुन्। उनी विवाहित र पाँच बच्चाका बाबु हुन्। आरनल्ड हवाइबाट आएका हुन्। उनी र उनकी पत्नीका दुई छोराहरू छन् र उनी एक अग्रगामी अथवा पूर्ण समय सेवक पनि हुन्। माक्सजस्तै आरनल्ड आफ्नो मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्छन्। निस्सन्देह, यी मानिसहरू र कार्यक्रमका प्राय: सहभागीहरू वास्तवमै आफूसँग प्रशस्त समय भएकोले स्वयम्सेवक भएका होइनन्। तिनीहरू र तिनीहरूका परिवारहरूले त्यहाँको आवश्यकतालाई राम्ररी बुझेका हुनाले आफूले सकेजति गर्न स्वयम्सेवक भएका हुन्।
बहुराष्ट्रिय कार्यकर्ताहरूले महत्त्वपूर्ण आवश्यकता पूरा गर्छन्
ती व्यक्तिहरूको दक्षता र सेवाको आवश्यकता परेको एउटा राष्ट्र टुभालु थियो। प्रशान्त महासागरमा रहेको यो राष्ट्र लगभग १०,५०० मानिसहरूको बसोबास भएको नौवटा दुर्गम कोरल टापुहरूको समूह हो जुन भूमध्यरेखाको नजिक र समोआको उत्तरपश्चिममा पर्दछ। प्रत्येक कोरल टापुको क्षेत्रफल सरदर साढे दुई वर्ग किलोमिटर छ। सन् १९९४ देखि नै त्यहाँ भएका ६१ साक्षीहरूका लागि नयाँ राज्य भवन र ठूलो अनुवाद केन्द्रको आवश्यकता थियो।
प्रशान्त महासागरको यस्तो उष्ण कटिबन्धीय भागमा, लगातार डरलाग्दो आँधी र तुफानहरू आइरहने भएकोले भवन निर्माण गर्दा र त्यसको रूपरेखा तयार पार्दा त्यो भवन आँधी र तुफानको सामना
गर्न सक्ने हुनैपर्छ। तर यी टापुहरूमा भवन निर्माण गर्ने उच्च गुणस्तरका सामग्रीहरू भने विरलै पाइन्छन्। यसको समाधान के थियो? हरेक सामग्री जस्तै छाना तथा पाइपदेखि लिएर फर्निचर र पर्दासम्म, शौचालयको सामग्री, स्नानगृहको धारा, पेचकीला र कीलासम्म सबै अस्ट्रेलियाबाट जहाजमा ढुवानी गरियो।सामग्रीहरू पुग्नुभन्दा पहिले नै, एउटा सानो टोलीले भवन निर्माण स्थल सम्याउने र जग हाल्ने काम सकिसकेका थिए। त्यसपछि, भवन ठड्याउन, रंग रोगन गर्न अनि भवन सजाउन अन्तरराष्ट्रिय कार्यकर्ताहरू आइपुगे।
टुभालुमा भएको यी सबै क्रियाकलापहरू देखेर तुरुन्तै त्यहाँका स्थानीय पादरीहरू चिढिए र यहोवाका साक्षीहरूले “बाबेलको धरहरा” ठड्याउँदै छन् भनेर रेडियोमा घोषणा गरे! तर के यी सब सत्य हुन्? स्वयम्सेवक कार्यकर्ता ग्रेमीले यस्तो टिप्पणी गरे, “जब मानिसहरूले बाबेलको धरहरा बनाउँदै थिए, तिनीहरूले एक अर्काको कुरा बुझ्न सकेनन्। किनकि परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो। तिनीहरूले आफ्नो योजनालाई त्यत्तिकै त्याग्नु पऱ्यो र धरहरा अपुरो भयो”। (उत्पत्ति ११:१-९) “यहोवा परमेश्वरको काम गर्दा भने त्यसको ठीक विपरीत भएको छ। भाषा र सांस्कृतिक भिन्नताको बावजूद योजनाहरू सधैं पूरा हुन्छन्।” अनि साँच्चै यो योजना पनि त्यसरी नै पूरा भयो—त्यै पनि मात्र दुई हप्तामा। प्रधानमन्त्रीकी श्रीमतीसहित १६३ जना मानिसहरू भवन समर्पण गर्दा उपस्थित थिए।
डग, योजना सुपरिवेक्षक, आफ्नो अनुभव यसरी व्यक्त गर्छन्: “विभिन्न देशका स्वयम्सेवकहरूसँग काम गर्न पाउनु साँच्चै आनन्दको कुरा थियो। हाम्रो काम गर्ने तरिकाहरू फरक थिए, प्राविधिक ज्ञान फरक थिए र नाप्ने एकाइहरूसम्म पनि फरक थिए, तर यी कुनै पनि कुराले हामीलाई बाधा पुऱ्याएन।” त्यस्ता धेरै आयोजनाहरूमा काम गरेर अनुभव बटुलिसकेका हुनाले उनी अझ यसो भन्छन्: “यसले मेरो मनमा एउटा दृढ भावना उब्जाएको छ कि यहोवाको समर्थन पाइयो भने उहाँका मानिसहरूले पृथ्वीको कुनै पनि भागमा, चाहे त्यो स्थान जति सुकै अनकन्टार र बन्जर भूमी नै किन नहोस् त्यहाँ भवनहरू ठड्याउन सक्छन्। हुन त हामीसँग धेरै योग्य मानिसहरू छन्, तर यहोवाको आत्माले नै यी सबै सम्भव भएको हो।”
परमेश्वरको आत्माले नै साक्षी परिवारहरूलाई ती स्वयम्सेवकहरूका लागि खाना र बसोबासको प्रबन्ध गर्न उत्प्रेरित गऱ्यो, जसको लागि कसै कसैले ठूलो त्यागहरू गरेका थिए। अनि यस्तो आतिथ्य पाउने सबैले यसको गहिरो मूल्यांकन व्यक्त गरे। केन, मेलबोर्न, अस्ट्रेलियाबाट आएका हुन्। तिनले फ्रेन्च पोलिनेसियामा यस्तै आयोजनामा काम गरी सकेका थिए। उनले यस्तो टिप्पणी गरे: “हामी दासजस्तै भई आएका थियौं तर हामीलाई महाराजालाई जस्तो व्यवहार गरियो।” सम्भव भएसम्म, स्थानीय साक्षीहरूले पनि निर्माण कार्यमा सहयोग गरे। सोलोमन टापुमा आइमाईहरूले आफ्नै हातले कंक्रिट मुछे। एक सय पुरुष तथा आइमाईहरूले अग्ला अनि झरीले भिजेका पहाडहरू चढेर ४० टनभन्दा बढी काठहरू बोकेर तल ओर्ले। केटाकेटीहरूले पनि मदत गरे। न्युजील्याण्डबाट आएका एक कार्यकर्ता यसो भन्छन्: “म टापुको त्यो ठिटो भाइलाई सम्झन्छु, जसले एक चोटिमा दुई तीन बोरासम्म सिमेन्ट बोके। अनि तिनले गर्मी र झरी परेको बेलासमेत दिनभरि सावेलले रोडाहरू ओसारे।”
यसरी, स्थानीय साक्षीहरू पनि काममा सहभागी हुँदा, यसले तिनीहरूलाई अर्को थप फाइदा पुऱ्यायो। समोआस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयले यस्तो प्रतिवेदन प्रस्तुत गऱ्यो: “टापुका भाइहरूले त्यस्ता व्यवसायिक सीपहरू सिके जसले गर्दा तिनीहरूले सिकेका ती सीपहरूलाई राज्यभवन निर्माण गर्न र आँधीबेहरीपश्चात् गरिने पुनर्निमार्णमा प्रयोग गर्न सक्छन्। यसले ती भाइहरूलाई केही आर्थिक उपार्जन गर्न पनि मदत दिनेछ। किनकि तिनीहरू जुन समाजमा बसिरहेका छन् वास्तवमा त्यहाँ धेरैलाई आर्थिक उपार्जन गर्न गाह्रो छ।
भवन निर्माण कार्यले राम्रो साक्षी दिन्छ
होनियरामा हुँदा, कलिनले सोलोमन टापुको सम्मेलन भवन निर्माणभएको देखेका थिए। यसले उनलाई निकै असर गऱ्यो, उनले वाचटावर सोसाइटीको स्थानीय शाखालाई सजिलो अंग्रेजी भाषामा यस्तो सन्देश लेखे: “तिनीहरू सबैको एउटै मन थियो, कोही कसैसँग ठुस्कँदैनथे, तिनीहरू एउटै परिवारजस्तै थिए।” त्यसको लगत्तै, ४० किलोमिटर टाढा जब उनी आफ्नो गाउँ अरुलिगो फर्के, उनी र उनको परिवार मिलेर आफ्नै राज्यभवन निर्माण गरे। त्यसपछि, तिनीहरूले अर्को सन्देश शाखा कार्यालयमा पठाए: “हाम्रो राज्यभवन तयार भयो र मञ्च पनि, के हामी केही सभाहरू सञ्चालन गर्न सक्छौं?” यसको लागि तुरुन्तै प्रबन्ध मिलाइयो र अहिले त्यहाँ ६० भन्दा बढी मानिसहरू सभामा नियमित तवरले उपस्थित हुन्छन्।
युरोपियन युनियनका सल्लाहकारले टुभालुको निर्माण कार्य प्रत्यक्ष देखेका थिए। एक जना कार्यकर्तालाई तिनले यसो भने, “सायद, तपाईंलाई सबैले यही वाक्य दोहोराए होलान् तर मेरोलागि भने यो एउटा चमत्कार हो!” दूरसञ्चारमा कार्यरत एक महिलाले एक जना आगन्तुक स्वयम्सेवकलाई सोधिन्, “यस्तो भत्भती पोल्ने प्रचण्ड गर्मीमा तपाईंहरू कसरी यत्ति खुसी हुन सक्नुभएको?” तिनीहरूले पहिले कहिल्यै पनि मसीहीहरूले यसरी व्यावहारिक र आत्मा-त्यागको भावसहित काम गरेका देखेका थिएनन्।
अफसोसविना गरिएका त्यागहरू
“प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ,” भनी बाइबलले २ कोरिन्थी ९:६ मा भन्छ। कार्यकर्ताहरू, तिनीहरूका परिवारहरू र तिनीहरूका मण्डलीहरूले प्रशान्त महासागरका क्षेत्रहरूमा सँगी साक्षीहरूलाई अहिले पनि लगातार उदार भावसहित मदत गरिरहेका छन्। सिड्नी नजिकै रहेको किनकम्बरका प्राचीन भाइ रस भन्छन्, “मेरो आफ्नै मण्डलीले मेरो हवाईयात्राको झन्डै एक तिहाइ भाडा तिरिदिए।” उनी अझ यसो भन्छन्, “मसँगै आएको मेरो जेठानले अर्को थप ५०० डलर अनुदान दिए।” अर्का कार्यकर्ताले आफ्नो कार बेचेर यात्राको खर्च तिरे। अर्काले चाहिं आफ्नो जमिनको केही हिस्सा बेचे। केभीनलाई अर्को थप ९०० डलरको आवश्यकता थियो, त्यसैले उनले आफ्नो दुई वर्षको १६ वटा परेवाहरू बेच्ने निर्णय गरे। एक जना परिचित व्यक्तिको माध्यमबाट, उनले पूरा ९०० डलर दिने क्रेता भेट्टाए!
“के ६,००० डलर बराबरको हवाईयात्राको भाडा अनि तलब बेकारमा खेर गयो?” ड्यानी र सेरललाई यो प्रश्न सोधिएको थियो। “अहँ! यसको दुईगुणा तिरेको भए पनि बेकार जाने थिएन,” तिनीहरूले जवाफ दिए। आलेन, न्युजील्याण्डको नेलसनबाट आएका हुन्। उनी भन्छन्: “टुभालुमा जान जति खर्च भयो, त्यति पैसाले म युरोप गएर घुम्न सक्थें र पनि पैसा उब्रन्थ्यो। तर त्यसो गरेको भए के मैले यति धेरै आशिष्हरू पाउँथें होला त? अथवा भिन्न पृष्ठभूमी भएकाहरूसँग साथी बनाउने मौका पाउँथें वा आफ्नोनिम्ति नभई अरूको लागि केही गर्ने मौका पाउँथें होला र? अवश्य पाउँदिनथें! मैले टापुका भाइहरूलाई जति दिएँ, तिनीहरूले मलाई त्योभन्दा बढी दिए।”
कार्यक्रम यसरी सफल हुनसकेको अर्को एउटा कारण पारिवारिक मदत पनि हो। कसै कसैका पत्नीहरूले आफ्नो पतिसँगै निर्माण स्थल गएर मदत गरे भने कतिपयले चाहिं आफ्ना स्कूल जाने बच्चाहरू र आफ्नो पारिवारिक व्यवसायलाई हेर्नु पर्थ्यो। क्ले भन्छन्, “म बाहिर गएको बेला, मेरी पत्नीले बच्चाहरू हेर्ने र घर सम्हाल्न देखाएको इच्छुकता मेरो त्यागभन्दा ठूलो थियो।” निस्सन्देह, ती पतिहरू जसले आफ्ना पत्नीहरूलाई आफूसँगै भवन निर्माण स्थलमा लान सकेनन्, तिनीहरूले आ-आफ्ना पत्नीहरूको समर्थनमा हृदय देखिनै “आमिन” भने!
टुभालुको आयोजना सकिएपछि, स्वयम्सेवक कार्यकर्ताहरूले फिजी, टोंगा, पपुआ न्यु गिनी, न्यु क्यालिडोनिया र अरू विभिन्न ठाउँहरूमा राज्यभवन, सम्मेलन भवन, मिसीनरी घर र अनुवाद कार्यालयहरू, निर्माण गरिसकेका छन्। अझ धेरै आयोजनाहरू छन् जसमा दक्षिण एसियाका केही भागहरू पनि बिथोलित छन्, अहिलेसम्म ती योजनामै सीमित छन्। तर के यसका लागि पर्याप्त कार्यकर्ताहरू हुनेछन्?
निस्सन्देह, कुनै समस्या आउनेछैन। हवाई शाखा कार्यालय लेख्छ: “अन्तरराष्ट्रिय भवन निर्माण आयोजनामा काम गर्ने यहाँ भएका सबै स्वयम्सेवकहरूले आफूलाई अर्को आयोजनामा पनि सम्झनको लागि आग्रह गरे।” “घर फर्कने बित्तिकै, तिनीहरू पैसा बचत गर्न थाल्छन्।” निस्स्वार्थ त्याग अनि यहोवाको प्रचुर आशिष् पाएपछि कुनचाहिं कार्यक्रम पो असफल होला र?
[पृष्ठ ९-मा भएको चित्र]
आयोजनाका लागि ल्याइएका निर्माण सामग्रीहरू
[पृष्ठ ९-मा भएका चित्रहरू]
भवन निर्माण स्थलमा कार्यकर्ताहरू
[पृष्ठ १०-मा भएका चित्रहरू]
आयोजना सकेपछि परमेश्वरको आत्माले गर्दा कार्य पूरा भएकोमा हामी हर्षित भयौं