सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फिजीका टापुहरूमा परमेश्‍वरको राज्य घोषणा गर्दै

फिजीका टापुहरूमा परमेश्‍वरको राज्य घोषणा गर्दै

हामीचाहिं विश्‍वास गर्नेहरूमध्येका हौं

फिजीका टापुहरूमा परमेश्‍वरको राज्य घोषणा गर्दै

येशू ख्रीष्टले एक चोटि दुइटा बाटोबारे बताउनुभयो। एउटा बाटो फराकिलो छ र यसले मृत्युतर्फ डोऱ्‍याउँछ। अर्को साँघुरो छ तर यसले जीवनतर्फ डोऱ्‍याउँछ। (मत्ती ७:१३, १४) मानिसहरूलाई सही बाटो छान्‍न मदत गर्न यहोवा परमेश्‍वरले राज्यको सुसमाचार सारा संसारभरि प्रचार गर्ने प्रबन्ध मिलाउनुभयो। (मत्ती २४:१४) तसर्थ, चारैतिरका मानिसहरूले परमेश्‍वरको राज्य सन्देश सुन्‍न पाएका छन्‌ र कोही कोहीले “आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका” भएर जीवन रोजिरहेका छन्‌। (हिब्रू १०:३९) हामी तपाईंहरूलाई फिजी र दक्षिण प्रशान्त टापुहरूका कोही कोहीले कसरी जीवन रोजिरहेका छन्‌ भनेर पढ्‌न आमन्त्रित गर्छौं।

तिनीहरूले यहोवामाथि भरोसा गरे

पहिलो चोटि सन्‌ १९६४ मा परमेश्‍वरको राज्य सन्देशबारे सुन्दा मेरी स्कूलमै थिइन्‌। आफू दुर्गम क्षेत्रमा भएको कारण तिनको यहोवाका साक्षीहरूसित त्यति सम्पर्क थिएन। तथापि, अन्ततः तिनले बाइबलबाट सही ज्ञान हासिल गर्न सकिन्‌। त्यतिञ्जेल तिनको बिहे भइसकेको थियो र तिनको पति गाउँका मुखिया थिए। त्यसैकारण, मेरीले बाइबलअनुरूप जीवन बिताउने कोसिस गर्दा श्रीमान्‌ तथा नातेदारहरूले तिनीप्रति क्रूर व्यवहार गरे र गाउँलेहरूले पनि हेला गर्न थाले। तैपनि, सन्‌ १९९१ मा तिनले बप्तिस्मा लिइन्‌।

त्यसको केही समयपछि मेरीको श्रीमान्‌ चोसुवाको मनोवृत्तिमा अलि परिवर्तन आउन थाल्यो र मेरीले छोराछोरीसित बाइबल छलफल गर्दा आफू पनि बस्न थाले। चोसुवाले मेथोडिस्ट चर्च धाउन बन्द गरे। तर मुखिया भएको कारण गाउँमा हरेक हप्ता हुने सभाहरूमा चाहिं अझै अध्यक्षता ग्रहण गर्थे। गाउँलेहरूको नजरमा चोसुवा अवफादार भएका थिए किनकि मेथोडिस्ट चर्च फिजीका गाउँका मानिसहरूको अत्यन्तै महत्त्वपूर्ण भाग थियो। त्यसैले, स्थानीय पास्टरले चोसुवालाई आफ्नो पहिलेको धर्ममा फर्कन आग्रह गरे।

चोसुवाले दृढतासाथ आफू र आफ्नो परिवारले छनौट गरिसकेको र पूरै परिवार “आत्मा र सत्यतामा” यहोवालाई पूज्न कटिबद्ध भएको कुरा बताए। (यूहन्‍ना ४:२४) त्यसपछिको गाउँको सभामा चोसुवा अनि तिनको परिवारलाई प्रधान मुखियाले बेजातको रूपमा गाउँबाट निस्कने घोषणा गरे। तिनीहरूलाई टापु छोड्‌न सात दिन दिइयो। नभन्दै तिनीहरूले घर, जमिन र बालीनाली सबै छोड्‌नुपऱ्‍यो।

अर्को टापुका आध्यात्मिक भाइहरूले चोसुवा र तिनको परिवारलाई मदत गरे र तिनीहरूलाई बस्न ठाउँ र बाली लाउन जमिन मिलाइदिए। चोसुवा र तिनको जेठो छोराले बप्तिस्मा लिइसके र अर्को छोराचाहिं बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा सेवा गर्दैछन्‌। हालै मेरी नियमित अग्रगामीको रूपमा भर्ती भएकी छिन्‌ (पूर्ण-समय राज्य उद्‌घोषक)। यहोवालाई सेवा गर्ने छनौट गर्दा तिनीहरूले आफ्नो ओहदा, भौतिक सम्पत्ति सबै गुमाउनुपऱ्‍यो तर तिनीहरू प्रेरित पावलजस्तै आफूले प्राप्त गरेको तुलनामा त्यो केही होइन भन्ठान्छन्‌।—फिलिप्पी ३:८.

अन्तस्करण मुछिएको छनौट

बाइबल प्रशिक्षित अस्तकरणअनुसार गर्ने छनौट गर्न विश्‍वास र साहस चाहिन्छ। किरिबाटीका टापुहरूमध्ये एउटा टारावामा बस्ने सुराङ नाउँकी एक युवतीको कथा पनि त्यस्तै छ। तिनी भर्खरै बप्तिस्मा प्राप्त प्रकाशक हुन्‌। सुराङले परिचारिकाको रूपमा आफ्नो जागिरको एउटा पक्षबाट छुट पाउन अस्पताललाई आग्रह गरिन्‌। तिनले आफ्नो आग्रहको सकारात्मक जवाफ पाइनन्‌ र उल्टो एकदमै दुर्गम टापुको सानो स्वास्थ्य केन्द्रमा खटाइयो र त्यहाँ तिनको जस्तो विश्‍वास भएको कोही पनि थिएन।

त्यस टापुमा सबै नयाँ व्यक्‍तिहरूले स्थानीय “आत्मा”-लाई बलि चढाउने परम्परा थियो। त्यसो नगरेको खण्डमा मृत्यु हुन्छ भन्‍ने मानिसहरू विश्‍वास गर्थे। सुराङले त्यस्तो मूर्तिपूजा आफू र आफ्नो पार्टीको लागि गर्न अनुमति नदिएको कारण गाउँलेहरू अपमानित आत्माले तिनको घाँटी निमोठेर मार्ने दिनको पर्खाइमा बसे। सुराङलाई केही हानि नहुँदा तिनले असल साक्षी दिने थुप्रै सुअवसर पाइन्‌।

तर सुराङको परीक्षा त्यहीं समाप्त भएन। त्यस टापुका कोही कोही युवकहरू त्यहाँ आएको जोसुकै युवतीलाई पनि फकाउने चुनौतीको रूपमा लिन्छन्‌। तथापि, सुराङले तिनीहरूको प्रतिरोध गरिन्‌ र परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राखिन्‌। वास्तवमा, तिनी चौबीसै घण्टा ड्युटिमा भए तापनि नियमित अग्रगामीको रूपमा सेवा गर्न सक्षम भइन्‌।

सुराङ फर्किने बेला तिनको सम्मानमा आयोजना गरिएको भोजअघि गाउँका बूढाहरूले तिनी नै पहिलो साँचो मिसनरी हुन्‌ भनेर बताए। बाइबल सिद्धान्तहरूको निम्ति तिनको दृढ अडानको कारण टापुका अन्य मानिसहरूले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌।

शारीरिक चुनौतीहरू

केही गाउँहरू अत्यन्तै दुर्गम क्षेत्रमा भएकाले यहोवाका जनहरूले क्षेत्र सेवकाई र मसीही सभाहरूमा भाग लिन निकै मेहनत गर्नुपर्छ। उदाहरणका लागि, बप्तिस्मा प्राप्त चार साक्षीहरूलाई लिनुहोस्‌—एक पुरुष र तीन महिला। तिनीहरूले सभाहरू जान र आउन घण्टौं यात्रा गर्नुपर्छ। तिनीहरूले हरेक चोटि तीनवटा नदी पार गर्नुपर्छ। पानी धेरै हुँदा भाइ पहिला उनीहरू सबैको झोला, पुस्तक तथा सभाका लुगाहरू एउटा ठूलो भाँडोमा राखेर नदी पार गर्छन्‌। अनि पछि फेरि तीन बहिनीहरूलाई मदत गर्न पौडी खेलेर यता आउँछन्‌।

किरिबाटीको दुर्गम टापु नोनुटिमा सभाहरू धाउने सानो समूहले अर्कै प्रकारको चुनौती सामना गर्नुपर्छ। तिनीहरू बस्ने घरमा जम्मा सात वा आठ जना मानिसहरू मात्र अटाउँछन्‌। सभा धाउने अन्य मानिसहरूले चाहिं बाहिरबाटै सुन्‍नुपर्छ। सभा हुने यो ठाउँ भव्य चर्च जाने र फर्कने मानिसहरूले राम्ररी देख्नसक्छन्‌। निस्सन्देह, यहोवाका जनहरूले परमेश्‍वरको नजरमा भवनहरू महत्त्वपूर्ण नभई मानिसहरू हुन्‌ भनेर बुझेका छन्‌। (हाग्गै २:७) त्यस टापुकी एक जना बहिनी वृद्ध छिन्‌ र तिनलाई हिंडडुल गर्न गाह्रो छ। तैपनि, तिनलाई एक जवान बप्तिस्मा अप्राप्त प्रकाशकले ठेलागाडीमा राखेर सेवकाईमा जान मदत गर्छिन्‌। सत्यप्रति कस्तो मूल्यांकन!

फिजी र किरिबाटीमा भएका २,१०० भन्दा बढी प्रकाशकहरू परमेश्‍वरको राज्यको सुसमाचार सुनाइरहन कटिबद्ध छन्‌। “आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका” अझ धेरै हुनेछन्‌ भनेर तिनीहरू विश्‍वस्त छन्‌।

[पृष्ठ ८-मा भएको नक्सा]

अस्ट्रेलिया

फिजी