सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कटनीअघि “खेतमा” काम गर्ने

कटनीअघि “खेतमा” काम गर्ने

कटनीअघि “खेतमा” काम गर्ने

महान्‌ शिक्षकका चेलाहरू जिल्ल परे। येशूले भर्खरै मात्र गहुँ र सामाको छोटो कथा सुनाउनुभएको थियो। उहाँले त्यस दिन भन्‍नुभएका धेरै उखानहरूमध्ये एउटा यो पनि थियो। उहाँले उखान टुंग्याउनु भएपछि धेरैजसो स्रोताहरू आ-आफ्नो गन्तव्यस्थानतर्फ फर्के। तर उहाँका अनुयायीहरूलाई उहाँको उखानको, अझ त्यसमध्ये पनि गहुँ र सामाको पक्कै पनि कुनै खास अर्थ हुनुपर्छ भनेर थाह थियो। येशू ख्रीष्ट रोचक कथाकार मात्र हुनुहुन्‍न भनेर तिनीहरूले बुझेका थिए।

तिनीहरूले येशूलाई सोधेका कुरा मत्ती यसरी वर्णन गर्छन्‌: “हामीहरूलाई खेतको सामाको उखानको अर्थ बताइदिनुहोस्‌।” त्यसको जवाफमा येशूले उखानको अर्थ व्याख्या गर्दै आफ्ना चेला भनौदाहरूबीच ठूलो धर्मत्याग फैलिनेछ भनेर भविष्यवाणी गर्नुहुन्छ। (मत्ती १३:२४-३०, ३६-३८, ४३) त्यस्तै भयो, प्रेरित यूहन्‍नाको मृत्युपछि धर्मत्याग द्रुत गतिमा फैलियो। (प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:६-१२) धर्मत्याग यत्ति व्याप्त भयो कि, येशूले लूका १८:८ मा उठाउनुभएको प्रश्‍न निकै सान्दर्भिक देखियो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?”

येशूको आगमनले गहुँजस्तो मसीहीहरूको “फसल”-को सुरुआतलाई संकेत गर्ने थियो। सन्‌ १९१४ मा सुरुभएको ‘जगतको अन्तलाई’ पनि त्यसले संकेत गर्थ्यो। तसर्थ, कटनीको सुरुआत हुनेबित्तिकै कसै कसैले बाइबल सच्चाइप्रति चासो देखाउन थालेकोमा हामी अचम्म मान्‍नु पार्दैन।—मत्ती १३:३९.

इतिहासका तथ्यहरू केलाउँदा, विशेष गरी १५ औं शताब्दी यता मसीहीजगत्‌का “सामा” अथवा नक्कली मसीहीहरूजस्ता मानिसहरू बीच पनि कसै कसैले सोच्न थाले। बाइबल सर्वसुलभ तरिकामा उपलब्ध भएपछि र बाइबल शब्दानुक्रमणिका तयार भएपछि इमानदार हृदय भएका मानिसहरूले होसियारीपूर्वक धर्मशास्त्र केलाउन थाले।

ज्योति अझै चम्कन्छ

यी व्यक्‍तिहरूमध्ये एक, १९ औं शताब्दी तिरका हेनरी ग्रू (१७८१-१८६२) थिए। तिनी बेलाइतको बर्मिङह्‍यामका थिए। तेह्र वर्षको उमेरमा आन्द्र महासागर पार गर्दै आफ्नो परिवारसँग जुलाई ८, १७९५ मा तिनी संयुक्‍त राज्य अमेरिका पुगे। तिनीहरू रोड आइलण्डमा बसोबास गर्न थाले। तिनका आमाबाबुले तिनको मनमा बाइबलप्रति प्रेम जगाए। सन्‌ १८०७ मा ग्रू २५ वर्षको हुँदा तिनलाई हार्टफोर्ड, कनेटिकटको ब्याप्टिस्ट चर्चमा पादरीको रूपमा सेवा गर्ने निमन्त्रणा दिइयो।

आफ्नो जिम्मेवारीलाई तिनले गम्भीरतासाथ लिए र आफ्नो रेखदेखमा भएकाहरूलाई धर्मशास्त्रअनुरूप जीवन बिताउन मदत गर्ने प्रयास गरे। तथापि, जानाजानी पाप गर्नेहरूबाट मण्डली शुद्ध राख्नु पर्छ भन्‍ने कुरामा तिनी विश्‍वास गर्थे। कहिलेकाहीं चर्चका अन्य जिम्मेवार व्यक्‍तिहरूसँग मिलेर तिनले व्यभिचार वा अशुद्ध काम गर्नेहरूलाई बहिष्कारसमेत गर्नुपऱ्‍यो।

चर्चमा तिनलाई बेचैन बनाउने अरू धेरै तत्त्व थिए। चर्चको सदस्य नभए तापनि केही मानिसहरूले चर्चका व्यापारिक कारोबारहरू सम्हालिरहेका थिए र भजन गाउने काममा पनि अगुवाइ लिइरहेका थिए। यी व्यक्‍तिहरूले मण्डलीसित सम्बन्धित मामिलाहरूमा आफ्नो मत जाहेर गर्नसक्थे। यसको मतलब मण्डलीका मामिलाहरूमा ती व्यक्‍तिहरूको पनि केही अधिकार थियो। संसारबाट अलग रहनु भन्‍ने सिद्धान्तमा आधारित दह्रो विश्‍वास अनुरूप विश्‍वासी पुरुषहरूले मात्र यस्ता जिम्मेवारीहरू वहन गर्नुपर्छ भन्‍ने कुरामा तिनी दृढ थिए। (२ कोरिन्थी ६:१४-१८; याकूब १:२७) तिनको विचारमा अविश्‍वासीहरूले परमेश्‍वरको प्रशंसाको भजन गाउनु ईश्‍वर निन्दा थियो। तिनको यही अडानले गर्दा सन्‌ १८११ मा चर्चले तिनलाई राख्न इन्कार गऱ्‍यो। तिनको विचारसित सहमत अरू सदस्यहरू पनि त्यही समय चर्चबाट अलग्गिए।

मसीहीजगत्‌बाट अलग

हेनरी ग्रूसहितको यस समूहले बाइबलको निर्देशनबमोजिम काम गर्ने तथा जीवन बिताउने लक्ष्य लिएर बाइबल अध्ययन सुरु गरे। अध्ययनले गर्दा छिट्टै नै तिनीहरूको बाइबल ज्ञान बढ्यो। फलस्वरूप, तिनीहरूले मसीहीजगत्‌का गल्तीहरू पर्दाफास गर्न सके। उदाहरणका लागि, सन्‌ १८२४ मा ग्रूले सही तर्कहरू गर्दै त्रिएकको खण्डन गरे। तिनको लेखबाट लिइएको यस अंशको तर्कमाथि ध्यान दिनुहोस्‌: “ ‘तर त्यस दिन कि त्यस घड़ीको विषयमा पिता[ले] बाहेक अरू कसैले जान्दैन—नता स्वर्गमा हुने स्वर्गदूतहरू[ले], न पुत्र[ले]।’ [मर्कूस १३:३२] यहाँ उल्लेख गरिएको दर्जाको क्रम मानिस, स्वर्गदूत, पुत्र र पिता . . . लाई राम्ररी विचार गर्नुहोस्‌। पिताले मात्र त्यस दिनको विषयमा जान्‍नुहुन्छ भनेर हाम्रा प्रभुले हामीलाई सिकाउनुभएको छ। यदि यस [त्रिएकको सिद्धान्तअनुसार] पिता, पुत्र र पवित्र आत्मा एकै हो भने त यो पद सरासर झूटो हुनजान्छ . . . किनभने पुत्रले पनि पिताले जस्तै समान रूपले त्यस दिनबारे जान्‍नुपर्ने हो।”

ग्रूले ख्रीष्टको सेवा गर्दैछु भनेर ढोंग गर्ने पादरी तथा सेना प्रमुखहरूको कपटलाई उदांग पारे। सन्‌ १८२८ मा तिनले यस्तो घोषणा गरे: “मसीही भएर गुप्तमा आफ्नो शत्रुको लागि प्रार्थनाचाहिं गर्ने तर प्रार्थना सकिएपछि आफ्नो फौजलाई त्यही शत्रुहरूमाथि जाइलाग्ने आदेश दिने, के योजस्तो मेल नखाने कुरा अरू केही होला र? यसरी उसले एकातिर खुसीसाथ आफ्नो मर्नै लागेको प्रभुले जस्तै गर्छ तर अर्कोतिर उसले कसको नकल गरिरहेछ? येशूले आफ्ना हत्याराहरूको निम्ति प्रार्थना गर्नुभयो। मसीहीहरू जसका लागि प्रार्थना गर्छन्‌, उसैको हत्या गर्छन्‌।”

अझै जोडदारसँग ग्रूले यसप्रकार लेखे: “हामीले त्यो सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई कहिले विश्‍वास गर्ने जसले भन्‍नुभएको छ, मेरो ‘ठट्टा हुनेछैन’? हामीले पवित्र धर्मको सक्कली रूपलाई कहिले चिन्‍ने जसले हामीलाई ‘खराबीको छायाबाट’-समेत अलग रहनु भनेर भन्छ। . . . उहाँको धर्मले एकातिर स्वर्गदूतजस्तै भएर काम गर्नुपर्छ भनेर माग गर्छ र अर्कोतिर प्रेतजस्तै व्यवहार गर्न अनुमती दिन्छ भनेर हामी सोच्छौं भने, के त्यो परमेश्‍वरको पुत्रको घोर अपमान भएन र?”

अनन्त जीवन

जन्मसिद्ध हक होइन

त्यस ताका, रेडियो र टेलिभिजन आउनु अघि आफ्नो दृष्टिकोण व्यक्‍त गर्ने लोकप्रिय माध्यम नै लेख्नु र त्यसलाई पर्चाको रूपमा वितरण गर्नु थियो। लगभग १८३५ तिर ग्रूले एउटा महत्त्वपूर्ण पर्चा लेखे जसमा अमर आत्मा र नरकको आगोको सास्ती, गैरशास्त्रीय शिक्षा हो भनेर उदांग पारिएको थियो। यस्ता शिक्षाहरूले परमेश्‍वरको निन्दा गर्छ भनी तिनी ठान्थे।

यो पर्चाले निकै गहिरो असर पाऱ्‍यो। सन्‌ १८३७ मा ४० वर्षीय जर्ज स्टोर्सले रेलको डिब्बामा त्यस पर्चाको एकप्रति भेट्टाए। स्टोर्स लेबनान, न्यु हमशायरका बासिन्दा थिए। तर त्यतिखेर तिनी न्यु योर्कको युटिकामा बसोबास गरिरहेका थिए।

तिनी मेथोडिस्ट इपिसकोपाल चर्चका वरिष्ठ पादरी थिए। पर्चा पढेपछि तिनी निकै प्रभावित भए। किनकी पर्चामा मसीहीजगत्‌को आधारभूत शिक्षाहरू विरुद्ध जोडदार अनि बलिया तर्कहरू पेस गरिएका थिए, त्यसमाथि तिनले कहिल्यै शंकासम्म गरेका थिएनन्‌। सन्‌ १८४४ मा हेनरी ग्रूलाई नभेटेसम्म तिनलाई त्यस पर्चाको लेखक को हो थाहै थिएन। त्यसबेला यी दुवै पेन्सल्भेनियाको फिलाडेल्फियामा बसोबास गर्थे। यद्यपि, स्टोर्स आफैले तीन वर्षसम्म पादरीहरूसँग मात्र कुराकानी गर्दै उक्‍त विषयमा अध्ययन गरे।

अन्ततः आफूले सिकिरहेका कुरालाई कसैले पनि झूटो साबित गर्न नसकेको कारण अब पनि मेथोडिस्ट चर्चमा रहिरहने हो भने आफू परमेश्‍वरसित विश्‍वासी भइरहन नसक्ने तिनले निर्णय गरे। तिनले सन्‌ १८४० मा चर्च छाडे र न्यु योर्कको अलबानीमा बसाइँ सरे।

सन्‌ १८४२ को वसन्तऋतुको सुरुमा स्टोर्सले छ हप्ता धारावाहिक रूपमा छवटा भाषण दिए जसको विषय थियो: “के कुकर्मीहरू अमर छन्‌—एउटा खोज?” यसप्रति मानिसहरूले यत्ति धेरै चासो देखाए कि तिनले यस भाषणलाई पुस्तकको रूपमा प्रकाशित गरे र ४० वर्षभित्रमा यो पुस्तक अमेरिका र बेलायतमा गरी २,००,००० प्रतिहरू वितरण गरिए। स्टोर्स र ग्रू मिलेर अमर आत्माको शिक्षा विरुद्ध बहस नै सुरु गरे। अगस्त ८, १८६२ मा फिलाडेल्फियामा आफ्नो मृत्यु नहुञ्जेल ग्रू जोसका साथ प्रचारकार्यमा लागिरहे।

भर्खरै उल्लेख गरिएको छवटा भाषण दिएको केही समयपछि, विलियम मिलर नाउँ गरेका व्यक्‍तिले गरिरहेको प्रचार कार्यमा स्टोर्सले चासो लिन थाले। मिलरले सन्‌ १८४३ मा ख्रीष्टको प्रत्यक्ष आगमन हुन्छ भनी आशा गरिरहेका थिए। यस्तै दुई वर्षजति स्टोर्स सक्रिय भई अमेरिकाको उत्तरपूर्वको छेउछाउसम्म यस सन्देशको प्रचार कार्यमा सहभागी भए। सन्‌ १८४४ पछि तिनी ख्रीष्टको आगमनको मिती निर्धारण गर्नपट्टि लागेनन्‌। तर कालक्रमसम्बन्धी खोजतलास गर्ने इच्छा भएकाहरूको कुनै विरोध पनि गरेनन्‌। ख्रीष्टको आगमन नजिकै छ र जाँचको दिनमा तयार रहन मसीहीहरू आध्यात्मिक तवरमा जागा र चनाखो रहनु महत्त्वपूर्ण छ भनी तिनी विश्‍वास गर्थे। तर तिनी मिलरको समूहबाट भने छुट्टिए किनभने तिनीहरू अमर आत्मा, नरकको आगोको सास्ती, अज्ञानतामा मरेका मानिसहरूको केही आशा छैन भन्‍नेजस्ता गैरशास्त्रीय सिद्धान्तहरू मानिलिन्थे।

परमेश्‍वरप्रतिको प्रेमले के गर्न डोऱ्‍यायो ?

परमेश्‍वरले दुष्ट व्यक्‍तिहरूलाई मृत्युको लागि फेरि पुनरुत्थान गर्नुहुनेछ भन्‍ने एडभेन्टिस्टहरूको दृष्टिकोणलाई स्टोर्स घिन गर्थे। परमेश्‍वरको तर्फबाट यस्तो बदला लिने भाव अनि अर्थहीन कुराहरूको धर्मशास्त्रमा तिनले कुनै प्रमाण पाएनन्‌। स्टोर्स र तिनका साथीहरू अर्को चरम निष्कर्षमा पुगे अर्थात दुष्टहरूको कुनै पनि हालतमा पुनरुत्थान हुने छैन। अधर्मीहरूको पुरुत्थानबारे बताउने शास्त्रपदहरूको व्याख्या गर्न कठिन भए तापनि तिनीहरूलाई आफ्नो निष्कर्ष परमेश्‍वरको प्रेमअनुरूपै हो जस्तो लाग्थ्यो। परमेश्‍वरको उद्देश्‍यलाई अझ स्पष्टसित बुझ्न थप समझ प्राप्त हुनै लागेको थियो।

सन्‌ १८७० मा स्टोर्स धेरै बिरामी परेर केही महिना त काम गर्नै सकेनन्‌। तिनले यस समयमा आफूले ७४ वर्षभित्र सिकेका सबै कुराहरूको पुनः जाँच गर्न सके। यहोवाले अब्राहामसित बाँध्नुभएको करारमा उल्लेखित यस महत्त्वपूर्ण भागलाई समावेश गर्न चुकेको निष्कर्षमा उनी पुगे—‘पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌। किनकि अब्राहामले परमेश्‍वरको वचन पालन गरे’।—उत्पत्ति २२:१८; प्रेरित ३:२५.

यसले तिनको मनमा एउटा नयाँ विचार उब्जायो। यदि पृथ्वीका “सबै परिवारले” आशिष्‌ पाउने हो भने, के सबैले सुसमाचार सुनेको हुनुपर्दैन र? तिनीहरूले कसरी सुन्‍ने? के लाखौं लाख पहिल्यै मरिसकेका छैनन्‌ र? धर्मशास्त्रको थप जाँच गरिसकेपछि तिनी यस निष्कर्षमा पुग्छन्‌, दुई वर्गका दुष्ट मृतकहरू छन्‌: एउटा परमेश्‍वरको प्रेम पूर्णतया इन्कार गर्नेहरू र अर्को अज्ञानतामा मरेकाहरू।

अन्तमा, स्टोर्स यस निष्कर्षमा पुगे, येशू ख्रीष्टको छुडौतीको बलिदानबाट लाभ उठाउन अज्ञानतामा मरेकाहरूको पुनरुत्थान हुनु आवश्‍यक छ। जसले यसलाई स्वीकार्छ तिनीहरू सधैंभरि बाँच्नेछन्‌। जसले यसलाई अस्वीकार गर्छ तिनीहरू नाश हुनेछन्‌। हो, कुनै पनि व्यक्‍तिसामु कुनै आशै नराखी परमेश्‍वरले उसको पुनरुत्थान गर्नुहुन्‍न र आदमले गरेको पापबाट आदमबाहेक अरू कोही मर्नेछैन भनी स्टोर्स विश्‍वास गर्थे। तर येशू ख्रीष्टको आगमन हुँदा बाँचिरहने मानिसहरूलाई के हुनेछ? ती मानिसहरूसम्म पुग्न विश्‍वव्यापी रूपमा प्रचार गरिएको हुनुपर्छ भनेर अन्तमा स्टोर्सले बुझे। यी सबै कसरी हुनेछन्‌ भन्‍ने विषयमा उनलाई रत्तीभर थाह थिएन तर विश्‍वासको आधारमा उनले यस्तो लेखे: “यद्यपि, थुप्रै मानिसले परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुनेछ भनेर बुझेकै छैनन्‌ भने, तिनीहरूले अस्वीकार किन नगरून्‌, मानौं परमेश्‍वरले ती कुरा गर्नै सक्नुहुन्‍न भनेर तिनीहरूले किन नसोचून्‌।”

डिसेम्बर १८७९ मा उनको आफ्नै घर ब्रुक्लिन, न्यु योर्कमा जर्ज स्टोर्सको मृत्यु भयो। उनको मृत्युभएको घरभन्दा केही पर यस्तो व्यक्‍तिको घर थियो, जुन पछि गएर विश्‍वव्यापी प्रचार अभियानको क्रेन्द्रबिन्दु बन्‍ने थियो अनि त्यही विश्‍वव्यापी प्रचार कार्यको स्टोर्सले निकै उत्सुकतासाथ आशा गरेका थिए।

थप ज्योतिको आवश्‍यकता

के हेनरी ग्रू र जर्ज स्टोर्सले आज हामीले जस्तो सच्चाइ स्पष्टसँग बुझेका थिए? अवश्‍य बुझेका थिएनन्‌। सच्चाइ बुझ्न आफूले गरिरहेको संघर्ष तिनीहरूलाई थाह थियो। सन्‌ १८४७ मा स्टोर्सले यसो भने: “हामी भर्खरै चर्चको अन्धकार युगबाट निस्केका छौं भन्‍ने कुरा हामीले बिर्सनुहुँदैन; यदि हामीले अझै पनि ‘केही बेबिलोनी लुगा’ लगाइरहेका छौं भने यसमा अचम्म मान्‍नु पर्दैन।” उदाहरणका लागि, ग्रूले येशूको छुडौतीको बलिदानको कदर गरे। तर तिनले यो बलिदान आदमले गुमाएको सिद्ध जीवनको बदला येशूले दिनुभएको सिद्ध जीवन अर्थात “छुटकाराको मोल” हो भनेर बुझ्नचाहिं सकेनन्‌। (१ तिमोथी २:६) येशूको आगमन हुनेछ र उहाँले देखिने गरी पृथ्वीमा राज्य गर्नुहुनेछ भनेर पनि हेनरी ग्रू विश्‍वास गर्थे। तथापि, यहोवाको नाउँको पवित्रताबारे ग्रूले सोचेका थिए। यो एउटा यस्तो विषय थियो, जसमाथि सा.यु. दोस्रो शताव्दीदेखि यता धेरैलाई चासो नै थिएन।

यस्तै प्रकारले जर्ज स्टोर्सले केही महत्त्वपूर्ण बुँदाहरू ठीकसँग बुझेका थिएनन्‌। उनले पादरीहरूले बढवा दिइरहेका झूटा कुराहरूलाई औंल्याउन सके तर कहिलेकाहीं उनी अचाक्ली विपरीत धारणाहरूतर्फ गए। उदाहरणका लागि, अर्थोडक्स पादरीहरूको शैतानप्रतिको दृष्टिकोणलाई तीव्र आलोचना गर्दै स्टोर्सले शैतान एउटा वास्तविक व्यक्‍ति हो भन्‍ने धारणालाई नै नकारे। उनले त्रिएकको शिक्षालाई इन्कार गरे; तर आफ्नो मृत्यु हुनुभन्दा केही समयअगाडि मात्र उनलाई पवित्र आत्मा व्यक्‍ति होइन भनेर यकिन भयो। जर्ज स्टोर्सले ख्रीष्टको आगमन अदृश्‍य रूपमा हुनेछ भन्‍ने आशा गरेको भए तापनि अन्तमा भने देखिने गरी नै ख्रीष्ट प्रकट हुनुहुनेछ भनी तिनले विचार गरे। जे भए तापनि, यी दुबै इमानदार ह्रदय भएका अनि निष्कपट मानिस थिए। अरू थुप्रै व्यक्‍तिभन्दा तिनीहरू सच्चाइको धेरै नजिक पुगे।

येशूले सामा र गहुँको उखानमा वर्णन गर्नुभएको “खेत” कटनीको लागि पूरा तयार भैइसकेको थिएन। (मत्ती १३:३८) ग्रू, स्टोर्स अनि अरू थुप्रै व्यक्‍ति कटनीको तयारीका लागि खेतमा काम गर्दैथिए।

सन्‌ १८७९ देखि यो पत्रिका प्रकाशन गर्न सुरु गर्ने चार्ल्स टेज रसलले आफ्ना बितेका वर्षहरू सम्झँदै यस्तो लेखे: “उहाँको वचन अध्ययन गर्न प्रभुले हामीलाई धेरै मदत दिनुभयो। यीमध्ये विशिष्टताको श्रेणीमा आउने हाम्रो अतिप्रिय अनि वृद्ध भाइ जर्ज स्टोर्स हुनुहुन्छ। उहाँले वचन अनि कलमले हामीलाई धेरै सहयोग गर्नुभयो; तर मानिसहरू जति नै असल र बुद्धिमान्‌ भए तापनि हामी तिनीहरूको होइन तर ‘प्रिय बालक’ जस्तै परमेश्‍वरका पछि लाग्छौं।” हो, निष्कपट बाइबल विद्यार्थीहरूले ग्रू र स्टोर्सले गरेको प्रयत्नबाट लाभ उठाउन सक्थे। तैपनि, परमेश्‍वरको वचनलाई सच्चाइको वास्तविक स्रोतको रूपमा जाँच गर्नु अत्यावश्‍यक थियो।—यूहन्‍ना १७:१७.

[पृष्ठ २६-मा भएको पेटी/चित्र

हेनरी ग्रूको विश्‍वास

यहोवाको नाउँमा खोट लागेको छ, यसलाई पवित्र गरिनुपर्छ। त्रिएक, अमर आत्मा र नरकको आगोको सास्ती झूटा शिक्षाहरू हुन्‌।

मसीही मण्डली संसारबाट अलग हुनैपर्छ।

मसीहीहरूले राष्ट्रहरूको युद्धमा भाग लिनु हुँदैन।

मसीहीहरूले शनिबार वा आइतबारको विश्रामको दिन मान्‍नुपर्दैन।

मसीहीहरूको फ्रिमासन्सजस्ता गोप्य संस्थाहरूसँग कुनै सम्बन्ध हुनुहुँदैन।

मसीहीहरूबीच सर्वसाधारण तथा पादरी वर्ग भन्‍ने कुनै श्रेणी हुनुहुँदैन।

धार्मिक पदवीहरू प्रयोग गर्नु ख्रीष्टको विरोधी हुनु हो।

सबै मण्डलीहरूमा प्राचीनहरूको समूह हुनुपर्छ।

प्राचीनहरू खोटरहित र हर आचरणमा पवित्र हुनैपर्छ।

सबै मसीहीहरूले राज्यको सुसमाचार प्रचार गर्नैपर्छ।

पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने मानिसहरू पनि हुनेछन्‌।

मसीही भजनले यहोवा अनि ख्रीष्टको प्रशंसा गरेको हुनुपर्छ।

[स्रोत]

Photo: Collection of The New-York Historical Society/69288

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

जर्ज स्टोर्सको विश्‍वास

येशूले आफ्नो जीवन छुडौतीको मोलको रूपमा तिर्नुभयो।

राज्यको सुसमाचार प्रचार गर्ने काम अहिलेसम्म (सन्‌ १८७१ मा) भएको छैन।

यसैकारण, अन्तको समय नजिकै हुन सक्दैन। (सन्‌ १८७१ मा) अब आउने युगमा भने प्रचारकार्य हुनेछ।

यसै पृथ्वीमा अनन्त जीवनको अधिकार प्राप्त गर्ने मानिसहरू पनि हुनेछन्‌।

अज्ञानतामा मर्ने जति सबैको पुनरुत्थान हुनेछ। येशू ख्रीष्टको छुडौतीको बलिदान स्वीकार्नेहरूले यसै पृथ्वीमा अनन्त जीवन प्राप्त गर्नेछन्‌। अस्वीकार गर्नेहरू नाश हुनेछन्‌।

अमर आत्मा र नरकको आगोको सास्ती झूटा सिद्धान्तहरू हुन्‌, तिनले परमेश्‍वरको अनादर गर्छन्‌।

प्रभुको साँझको भोज, नीसान १४ मा मनाउनु पर्ने वार्षिक चाड हो।

[स्रोत]

Photo: SIX SERMONS, by George Storrs (1855)

[पृष्ठ २९-मा भएका चित्रहरू]

सन्‌ १९०९ मा “जाइन्स वाच टावर”-का सम्पादक, सि.टी. रसल अमेरिकाको ब्रुक्लिन, न्यु योर्क सरे