सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

रगतको प्रयोगबारे बाइबलमा दिइएको आज्ञालाई ध्यानमा राख्दै यहोवाका साक्षीहरू आफ्नै रगत प्रयोग गर्ने सन्दर्भमा चाहिं कस्तो दृष्टिकोण राख्छन्‌?

व्यक्‍तिगत धारणा अथवा चिकित्सकको सुझाउहरूको आधारमा मात्र निर्णय गर्नुको साटो प्रत्येक मसीहीले बाइबलले रगतबारे के भन्छ, त्यसलाई गम्भीरतासाथ ध्यान दिनुपर्छ। यो एक जना मसीही र यहोवा बीचको कुरा हो।

हाम्रो प्राणदाता यहोवाले रगत नखानू भन्‍ने आदेश दिनुभएको थियो। (उत्पत्ति ९:३, ४) प्राचीन इस्राएलको व्यवस्थामा परमेश्‍वरले रगतको प्रयोगमाथि रोक लगाउनुभयो किनभने त्यसले जीवनको प्रतिनिधित्व गर्छ। उहाँले यस्तो आज्ञा दिनुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्‍चित गर्नलाई दिएको छु।” अनि कुनै मानिसले भोजनको लागि जनावर माऱ्‍यो भने नि? परमेश्‍वरले भन्‍नुभयो: “त्यसले त्यसको सबै रगत निथारेर धूलोले पूरिदेओस्‌।” a (लेवी १७:११, १३) यहोवाले यो आज्ञा बारम्बार दोहऱ्‍याउनुभयो। (व्यवस्था १२:१६, २४; १५:२३) यहूदी सन्सीनो क्युमाश यस्तो उल्लेख गर्छ: “रगत पछि प्रयोग गर्ने हेतुले सञ्चय गरेर राख्नु हुँदैन तर प्रयोग गर्न अयोग्य ठानेर जमिनमा खन्याइदिनु पर्छ।” हर जीवधारी परमेश्‍वरकै भएको हुनाले कुनै पनि इस्राएलीले अरू जीवधारीको रगत विशेष कामको लागि सञ्चय गर्नुका साथै प्रयोग गर्नु हुँदैनथ्यो।

मसीहको मृत्युपछि मोशाको नियम पालन गर्नु परेन। तथापि, रगतको पवित्रतासम्बन्धी परमेश्‍वरको दृष्टिकोण भने कायमै छ। परमेश्‍वरको पवित्र आत्माबाट प्रेरित भएर प्रेरित पावलले ‘रगतबाट अलग रहनु’ भन्‍ने आज्ञा दिए। यो आज्ञालाई हल्कासित लिनुहुँदैनथ्यो। नैतिक तवरमा यो व्यभिचार अथवा मूर्तिपूजाबाट टाढारहनु जत्तिकै महत्त्वपूर्ण थियो। (प्रेरित १५:२८, २९; २१:२५) यस २० औं शताब्दीमा रक्‍तदान गर्ने र रक्‍तक्षेपण गर्ने प्रचलन बढ्‌न थालेपछि यहोवाका साक्षीहरूले यो कार्य परमेश्‍वरको वचन विपरीत हो भनेर बुझे। b

कहिलेकाहीं, डाक्टरले शल्यक्रिया गर्नुभन्दा एक हप्ताअगाडि आवश्‍यकता परेमा बिरामीको आफ्नै रगत क्षेपण गर्न सकियोस्‌ भनेर बिरामीलाई तिनको रगत जम्मा गर्न (प्रिअपरेटिभ अटोलोगोस ब्लड डोनेशन, अथवा पि ए डि) आग्रह गर्नसक्छ। तथापि, त्यसरी रगत सञ्चय गर्नु अनि क्षेपण गर्नु लेवी र व्यवस्थामा भनिएका कुराहरूको ठीक विपरीत हो। रगत जम्मा गर्नु हुँदैन बरु जमिनमा खन्याइदिनु अर्थात्‌ परमेश्‍वरलाई फिर्ता दिइनुपर्छ। हो, मोशाको व्यवस्था अहिले क्रियाशील छैन। तैपनि, यहोवाका साक्षीहरू परमेश्‍वरले यसमा समावेश गर्नुभएका सिद्धान्तहरूको आदर गर्छन्‌ अनि ‘रगतबाट अलग रहने’ अठोट गरेका छन्‌। अतः हामी रक्‍तदान गर्दैनौं न त ‘खन्याइनु पर्ने’ रगत नै क्षेपण गर्छौं। यो कार्य परमेश्‍वरको व्यवस्थासित मेल खाँदैन।

आफ्नै रगत समावेश हुने अन्य कार्य र परीक्षणहरू स्पष्टतया परमेश्‍वरले तोक्नुभएको सिद्धान्तसित जुध्दैन। उदाहरणका लागि, थुप्रै मसीहीले परीक्षण अथवा विश्‍लेषणको लागि रगत निकाल्न दिन्छन्‌ किनभने त्यो रगत पछि फ्याँकिन्छ। आफ्नै रगत प्रयोग गरिने अन्य केही जटिल प्रक्रियाहरू अपनाउने सुझाउ पनि दिइनसक्छ।

उदाहरणका लागि, कुनै विशेष शल्यक्रियाको दौडान केही रगत शरीरबाट बाहिर पठाइन्छ जुन प्रक्रियालाई हेमोडाइल्युशन भनिन्छ। रोगीको शरीरमा बाँकी रहेको रगतलाई तरल पदार्थ थपेर पातलो बनाइन्छ। पछि, शरीरबाट बाहिर पठाइएको रगतलाई शरीर भित्र पठाइन्छ जसले गर्दा रक्‍तकोषिकाहरू सामान्य अवस्थामा आउँछन्‌। त्यसै गरी, घाउ भएको ठाउँमा बग्ने रगतलाई छेकेर छानेपछि रातो रक्‍तकोषिका रोगीकै शरीरमा पठाइन्छ। यसलाई सेल साल्भेज भनिन्छ। त्यस्तै अर्को प्रक्रियामा रगतलाई शरीरकै अंगहरूको (जस्तै: मुटु, फोक्सो अथवा मृगौला) काम गर्ने मेशिनमा अस्थायी रूपमा पठाइन्छ। त्यसपछि, रगत मेशिनबाट रोगीकहाँ नै फिर्ता पठाइन्छ। अर्को विधिमा रगतमा भएको घातक अथवा खोटयुक्‍त भाग नाश गर्न छुट्टै ठाउँमा (सेन्ट्रिफ्युज) पठाइन्छ। अथवा रगतको केही भाग छुट्याएर शरीरको अरू कुनै ठाउँमा लगाउनु हुनसक्छ। साथै, शरीरको केही रगत निकालेर त्यसमा छाप लगाउने अर्थात्‌ केही औषधी मिसाएर फेरि रोगीकै शरीरमा फिर्ता पठाउनेजस्ता अन्य परीक्षणहरू पनि गरिन्छ।

तरिकाहरू फरक फरक हुनसक्छ अनि नयाँ नयाँ विधि उपचार अनि जाँचहरू विकसित हुनसक्छ। हरेक भिन्‍नताहरूको विश्‍लेषण गर्दै निर्णय दिनु हाम्रो दायित्व होइन। एक जना मसीहीले आफैले आफ्नो रगत शल्यक्रिया, चिकित्सासम्बन्धी परीक्षण अथवा आधुनिक थेरापी गर्दा कसरी प्रयोग गरिने हो निर्णय गर्नुपर्छ। समय छँदै, उपचार गर्दा आफ्नो रगतलाई के कसो गरिने हो डाक्टर अथवा प्राविधिकसित सल्लाह गर्नुपर्छ। त्यसपछि, तिनले आफ्नो अन्तस्करण चलाएर निर्णय गर्नुपर्छ। (पेटी हेर्नुहोस्‌।)

मसीहीहरूले परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई अनि ‘आफ्नो सारा हृदयले, सारा प्राणले, सारा शक्‍तिले र आफ्नो सारा मनले उहाँलाई प्रेम’ गर्नुपर्ने जिम्मेवारी सम्झनुपर्छ। (लूका १०:२७) संसारका थुप्रै मानिसहरूजस्तो नभई यहोवाका साक्षीहरू परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई निकै बहुमूल्य ठान्छन्‌। जीवनदाताले सबैलाई येशूले बगाउनुभएको रगतमा भरोसा गर्न आग्रह गर्नुहुन्छ। हामी यसरी पढ्‌छौं: “हामीलाई उहाँको [अर्थात्‌ येशू ख्रीष्टको] रगतबाट उद्धार, अर्थात्‌ उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।”—एफिसी १:७.

[फुटनोटहरू]

a प्रोफेसर फ्रांक एच. गोर्मन यस्तो लेख्छन्‌: “रगत खन्याउनु भनेको त्यस जनावरको जीवनको आदर गर्नु हो भनेर बुझिन्छ भने त्यसो गर्दा त्यस जीवको सृष्टिकर्ता अनि रखवाला परमेश्‍वरको आदर हुन्छ।”

b प्रहरीधरहरा जुलाई १, १९५१ को अंग्रेजी अंकले रगत किन क्षेपण गर्नुहुँदैन भन्‍ने कुरा प्रस्ट पार्दै यस विषयमा आधारित मुख्य प्रश्‍नहरूको जवाफ दिएको थियो।

[पृष्ठ ३१-मा भएको पेटी/चित्रहरू]

आफैलाई सोध्नुपर्ने प्रश्‍नहरू

मेरो शरीरको रगत बाहिर पठाउँदा केही समयको लागि बहाव रोकियो भने ‘जमिनमा नखन्याईकन’ अझ पनि मेरै शरीरको भाग ठान्‍न मेरो अन्तस्करणले अनुमति दिन्छ?

रोग खुट्याउन अथवा उपचार गर्न मेरो शरीरको केही रगत निकालेर सुधार गरिसकेपछि फेरि मेरै शरीरमा राख्दा मेरो बाइबल प्रशिक्षित अन्तस्करण अन्यौलमा पो पर्छ कि?