सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासको जाँच हुँदा हामी एक्लै थिएनौं

विश्‍वासको जाँच हुँदा हामी एक्लै थिएनौं

विश्‍वासको जाँच हुँदा हामी एक्लै थिएनौं

सानी छोरी भिकी स्वस्थ, हिस्सी परेकी अनि छुकछुके थिई। सन्‌ १९९३ को वसन्तऋतुमा उसको जन्म हुँदा हामी अत्यन्तै खुसी थियौं। हामी स्वीडेनको दक्षिणतिरको एउटा सानो गाउँमा बस्थ्यौं र हाम्रो जीवन रमाइलो थियो।

तर भिकी डेढ वर्षकी हुँदा हाम्रो यो सुन्दर संसार भताभुंग हुन थाल्यो। केही समयदेखि बिसन्चो हुन थालेकोले हामीले उसलाई अस्पतालमा जँचाउन लग्यौं। हाम्री छोरीलाई बच्चाहरूको श्‍वेत रक्‍त कोषलाई असर गर्ने एक प्रकारको क्यान्सर, अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएको छ भनेर डाक्टरले बताउँदा हामी छाँगोबाट खसेझैं भयौं। त्यो क्षण हामी कहिल्यै बिर्सन सक्दैनौं।

हाम्री सानी छोरी यस्तो डरलाग्दो रोगबाट पीडित छे भनेर बुझ्न अनि स्वीकार्न साह्रै गाह्रो भयो। उसले भर्खरै मात्र आफू वरपरको संसार चिन्‍न थालेकी थिई तर अब ऊ हामीलाई छोडेर जाने भई। डाक्टरले हामीलाई केमोथेरापीका साथै निकै पटक रक्‍तक्षेपण गर्दा उपचार सफल हुनसक्छ भनेर सान्त्वना दिने प्रयास गरे। यो खबर हाम्रोनिम्ति अर्को जोडदार धक्का थियो।

हाम्रो विश्‍वास जाँचियो

हामी आफ्नी छोरीलाई साह्रै माया गर्थ्यौं र उसले सबैभन्दा राम्रो उपचार पाएको चाहन्थ्यौं। तर रक्‍तक्षेपण गर्ने त कुरै थिएन। हामी परमेश्‍वरको वचन बाइबलमा पूरापूर विश्‍वास गर्छौं र यसले मसीहीहरू ‘रगतबाट अलग रहनैपर्छ’ भनेर स्पष्टसित बताएको छ। (प्रेरित १५:२८, २९) रक्‍तक्षेपण गर्नु पनि कम खतरनाक छैन भनेर पनि हामीलाई थाह थियो। रक्‍तक्षेपणका कारण थुप्रैलाई रोग लागेको छ र थुप्रै मरेका छन्‌। अतः एक मात्र विकल्प रक्‍तक्षेपण गर्नु नपर्ने उच्चस्तरीय उपचार थियो। यस सम्बन्धमा हाम्रो विश्‍वासको जाँच सुरु भएको थियो।

हामी के गर्न सक्थ्यौं? मदतका लागि हामीले स्वीडेन शाखास्थित यहोवाका साक्षीहरूको अस्पताल जानकारी सेवालाई सम्पर्क गऱ्‍यौं। a हाम्रोनिम्ति मिल्ने अस्पताल र रक्‍तक्षेपण नगरी केमोथेरापी गर्ने इच्छुक डाक्टर खोज्न तुरुन्तै युरोपभरिका विभिन्‍न अस्पतालमा फ्याक्स पठाइयो। हामीलाई मदत गर्न हाम्रा मसीही भाइहरूले देखाउनुभएको जोस र प्रेम निकै सुदृढ पार्ने खालको थियो। हाम्रो विश्‍वासको युद्धमा हामी एक्लै थिएनौं।

केही घण्टाभित्रै हाम्बर्ग/सार, जर्मनीमा एउटा अस्पताल र एक जना डाक्टर भेटियो। भोलिपल्ट भिकीलाई जँचाउन त्यसतर्फ उड्‌ने प्रबन्ध मिलाइयो। हाम्बर्ग पुग्दा त्यहाँको स्थानीय मण्डलीका हाम्रा मसीही भाइबहिनीका साथै हाम्रा केही नातेदारहरू हामीलाई लिन आएका रहेछन्‌। अनि स्थानीय अस्पताल सम्पर्क समितिका एक जना प्रतिनिधिले हामीलाई हार्दिक स्वागत गर्नुभयो। उहाँ हामीसँगै अस्पताल आउनुभयो र हामीलाई सकेजति सहयोग गर्नुभयो। अन्जान मुलुकमा समेत हामीलाई सँभाल्ने आध्यात्मिक भाइबहिनीहरू पाउँदा हामीले निकै सान्त्वना पायौं।

अस्पतालमा डा. ग्राफलाई भेट्‌दा हामीले फेरि सान्त्वना पायौं। उहाँ कुरा बुझ्ने व्यक्‍ति हुनुहुन्थ्यो र भिकीलाई रगत प्रयोग नगरी उपचार गर्न सक्दो प्रयास गर्नेछु भनेर आश्‍वासन दिनुभयो। भिकीको हेमोग्लोबिन ५ ग्राम/डेसिलिटरसम्म झर्दासमेत रक्‍तक्षेपण नगरी उपचार गर्न आफू राजी छु भनेर उहाँले बताउनुभयो। भिकीको रोग तुरुन्तै खुट्टिएको र तुरुन्तै उपचार गरिने भएकोले उपचार सफल हुने राम्रो सम्भावना छ भनेर पनि उहाँले बताउनुभयो। तर भिकीको जस्तो अवस्थामा रक्‍तक्षेपण नगरी केमोथेरापी गर्न लागेको पहिलो पटक हो भनेर उहाँले मानिलिनुभयो। हामीले डा. ग्राफलाई अत्यन्तै धन्यवाद दियौं र उहाँको साहस र हामीलाई मदत गर्ने अठोटको सराहना गऱ्‍यौं।

आर्थिक समस्या

अब भिकीको उपचारको खर्च कसरी बेहोर्ने होला भन्‍ने समस्या खडा भयो। दुई वर्षको उपचार खर्च १,५०,००० जर्मन मार्क (रु. ३० लाख) पर्ने जानकारी दिइँदा हामी अक्क न बक्क भयौं। हामीले त्यत्रो पैसा देखेका समेत थिएनौं तर भिकीको उपचार थालिहाल्नुपर्ने भइसकेको थियो। स्वीडेनदेखि जर्मनीमा उपचारको निम्ति आएकोले हामीले जनस्वास्थ्य बिमा पनि पाउने थिएनौं। हाम्री बिरामी छोरी र छोरीलाई उपचार गर्न चाहने चिकित्सकहरू त थिए तर हामीसित पर्याप्त पैसा भने थिएन।

अस्पतालले हामीलाई मदत गऱ्‍यो र हामीले २०,००० मार्क (रु. ४ लाख) जम्मा गर्नसक्यौं र बाँकी पछि तिर्ने शर्तनामा गऱ्‍यौं भने तुरुन्तै उपचार थाल्न सकिने कुरा हामीलाई बताइयो। हामीले केही पैसा जोगाएका थियौं र साथीहरू र नातेदारहरूले माया देखाउँदै मदत गरेकोले हामीले २०,००० मार्क (रु. ४ लाख) जम्मा गर्नसक्यौं तर बाँकी पैसा कहाँबाट कसरी ल्याउने?

फेरि पनि हामीलाई विश्‍वासको जाँचमा हामी एक्लै थिएनौं भनेर सम्झाइयो। एक जना अपरिचित आध्यात्मिक भाइ बाँकी पैसा तिरिदिन चाहनुहुन्थ्यो। उहाँ उदार हुनुहुँदो रहेछ तर हामीले अरू नै प्रबन्धद्वारा खर्च टाऱ्‍यौं।

चिकित्सकहरूले काम थाले

केमोथेरापी सुरु गरियो। दिन, त्यसै गरी हप्तौं बिते। समय समयमा हाम्री सानी छोरी र हामीलाई साह्रै गाह्रो हुन्थ्यो। तर छोरीमा अलिकता मात्र सुधार देख्दा पनि हामी असाध्यै रमाउँथ्यौं र धन्यवादी हुन्थ्यौं। केमोथेरापी आठ महिनासम्म गर्नुपऱ्‍यो। भिकीको हेमोग्लोबिन सबैभन्दा कम, ६ ग्राम/डेसिलिटर थियो तर डा. ग्राफले आफ्नो वचन पूरा गर्नुभयो।

अहिले छ वर्ष बितिसक्यो र छोरीको ढाडबाट रस निकालेर जाँच्दा ल्युकेमियाको कुनै चिह्न पाइएन। अहिले ऊ हाँस्ने खेल्ने स्वस्थ केटी भएकी छे। हो, भिकी यसरी पूर्ण स्वस्थ भएको त चमत्कारै होजस्तो लाग्छ। यस्तै रोग लागेका थुप्रै बच्चाहरू केमोथेरापी र रक्‍तक्षेपणको बावजूद मरेको हामीलाई थाह छ।

नातेदार, मसीही भाइबहिनी र स्वास्थ्यकर्मीहरूको मदत पाएकोले हाम्रो विश्‍वासको युद्धमा हामी विजयी भयौं। अस्पताल जानकारी सेवाले हामीलाई दिनको २४ सै घण्टा आड दियो। डा. ग्राफ र उहाँका सहयोगीहरूले भिकीलाई निको पार्न कुनै कसर बाँकी राख्नुभएन। यी सबका लागि हामी साँच्चै धन्यवादी छौं।

हाम्रो विश्‍वास बलियो भयो

यद्यपि, सबैभन्दा त हामी यहोवा परमेश्‍वरलाई उहाँको मायालु हेरचाह र उहाँको वचन बाइबलबाट प्राप्त बलको निम्ति धन्यवाद दिन्छौं। ती दिनहरू सम्झँदा यो कष्टप्रद अनुभवले हाम्रो विश्‍वासलाई बलियो पारेको र हामीले यसबाट धेरै कुरा सिकेको महसुस गर्छौं।

अहिले हाम्रो हार्दिक इच्छा यहोवा परमेश्‍वरसित घनिष्ट सम्बन्ध कायम राख्नु र हाम्री छोरीलाई परमेश्‍वरको आवश्‍यकताअनुसार जीवन बिताउनुको महत्त्व सिकाउनु रहेको छ। हो, हामी उसलाई यस पृथ्वीमा आउँदै गरेको अनन्त जीवनको आध्यात्मिक सम्पदा दिन चाहन्छौं।— साभार।

[फुटनोट]

a अस्पताल जानकारी सेवाले अस्पताल सम्पर्क समितिको अन्तरराष्ट्रिय प्रणालीको सुपरिवेक्षण गर्छ। यी समितिहरू मसीही स्वयम्‌सेवकहरू मिलेर बनेको छ र यिनीहरूले चिकित्सक र साक्षी बिरामीहरूबीच सहयोगको वातावरण सिर्जना गर्ने तालिम लिएका हुन्छन्‌। झन्डै २०० भन्दा बढी मुलुकहरूमा १,४०० भन्दा धेरैवटा अस्पताल सम्पर्क समितिहरू छन्‌।