सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेतवादले के हाम्रो आध्यात्मिक आवश्‍यकता साँच्चै पूरा गर्नसक्छ?

प्रेतवादले के हाम्रो आध्यात्मिक आवश्‍यकता साँच्चै पूरा गर्नसक्छ?

प्रेतवादले के हाम्रो आध्यात्मिक आवश्‍यकता साँच्चै पूरा गर्नसक्छ?

हामी सबैको आध्यात्मिक तथा भौतिक आवश्‍यकताहरू छन्‌। त्यसैकारण त थुप्रैले यस्ता प्रश्‍नहरू गर्ने गर्छन्‌, जीवनको उद्देश्‍य के हो, मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌ र हामी मरेपछि के हुन्छ? धेरै निष्कपट मानिसहरू यी र यस्तै अन्य थुप्रै प्रश्‍नको जवाफ पाउन धामीझाँक्रीहरूकहाँ जान्छन्‌। त्यहाँ तिनीहरू मृत व्यक्‍तिको आत्मासँग सम्पर्क राख्ने आशा राख्छन्‌। यस्तो कामकुरालाई प्रेतवाद भनिन्छ।

प्रेतवादपछि लाग्ने मानिसहरू आज थुप्रै देशमा पाइन्छन्‌ र तिनीहरू धार्मिक स्थल तथा चर्चहरूमा भेला हुन्छन्‌। उदाहरणका लागि, ब्राजिलमा प्रेतवादका अनुमानित ४०,००,००० अनुयायीहरू इप्पोलेट लाओन डेनिजार रिभाइद्वारा प्रतिपादित शिक्षाअनुसार चल्छन्‌। रिभाइ १९ औं शताब्दीका फ्रान्सिसी शिक्षक र दार्शनिक थिए अनि तिनी आलेन कार्डेकको नाउँमा किताबहरू लेख्थे। कार्डेक सन्‌ १८५४ देखि प्रेतवादप्रति आकर्षित भएका थिए। तिनले पछि थुप्रै ठाउँमा धामीझाँक्रीहरूसामु प्रश्‍न राखे र त्यसका जवाफहरू सन्‌ १८५७ मा प्रकाशित पुस्तक द बूक अफ स्पिरिट्‌स-मा लिपिबद्ध गरे। तिनले लेखेका अन्य दुई पुस्तकहरू द मिडियमस्‌ बूकद गोस्पेल अकर्डिंग टु स्पिरिटिजम हुन्‌।

प्रेतवादलाई अन्य धार्मिक प्रचलनहरूजस्तै भुडु, बोक्सीविद्या, टुनामुना र शैतानवादसँग जोडिएको छ। तथापि, आलेन कार्डेकका शिक्षा पालन गर्नेहरू आफ्नो विश्‍वास फरक छ भन्छन्‌। तिनीहरूका प्रकाशनहरूले अक्सर बाइबलका पदहरू उद्धृत गर्छन्‌ र तिनीहरू येशूलाई “सम्पूर्ण मानवजातिको निम्ति पथप्रदर्शक र नमुना” भनेर सम्बोधन गर्छन्‌। तिनीहरू येशूको शिक्षा “ईश्‍वरीय व्यवस्थाको सबैभन्दा शुद्ध अभिव्यक्‍ति” हो भन्छन्‌। आलेक कार्डेक प्रेतवादसम्बन्धी लेखोटहरूलाई मानिसजातिको निम्ति परमेश्‍वरको व्यवस्थाको तेस्रो प्रकाशको रूपमा लिन्थे। पहिलो दुई प्रकाश, मोशा र येशूका शिक्षाहरू थिए।

प्रेतवादतिर धेरै आकर्षित हुने एउटा कारण यसले छिमेकीप्रति प्रेम र उदारवादी कार्यमा दिने महत्त्व हो। प्रेतवादहरूको एउटा विश्‍वास यस्तो छ: “दानपुण्यविना मुक्‍ति पाइँदैन।” प्रेतवादमा लाग्ने थुप्रै मानिस अस्पताल, स्कूल तथा अन्य संस्थाहरू स्थापना गर्ने समाजसेवाको कार्यमा सक्रिय छन्‌। त्यस्ता प्रयासहरू सराहनीय छन्‌। तर, प्रेतवादका विश्‍वासहरू बाइबलमा लिपिबद्ध गरिएका येशूका शिक्षाहरूसँग तुलना गर्दा नि? आउनुहोस्‌, हामी दुइटा उदाहरण हेरौं: मरिसकेका व्यक्‍तिहरूको निम्ति आशा र दुःखकष्ट भोग्नु परेका कारणहरू।

मरिसकेका व्यक्‍तिहरूको निम्ति कस्तो आशा छ ?

प्रेतवादमा लाग्ने थुप्रैले पुनर्जन्ममा विश्‍वास गर्छन्‌। यस सम्बन्धमा प्रेतवादसम्बन्धी एउटा प्रकाशनले यसरी बताउँछ: “पुनर्जन्मको सिद्धान्तले मात्र ईश्‍वरीय न्यायसम्बन्धी धारणालाई पुष्टी गर्नसक्छ। यस सिद्धान्तले मात्र भविष्य बताउनुका साथै हाम्रो आशालाई बलियो बनाउनसक्छ।” प्रेतवादमा विश्‍वास गर्ने मानिसहरूले मृत्युपछि शरीर मरे तापनि आत्मा अमर रहन्छ भन्छन्‌। अनि पहिलाको जुनीमा गरेका पापहरू पखाल्न त्यो आत्मा मानवको रूपमा पुनर्जन्म हुन्छ भनी तिनीहरू विश्‍वास गर्छन्‌। तर पहिला गरिएका पापहरूको कुनै सम्झना हुँदैन। द गोस्पेल अकर्डिंग टु स्पिरिटिजम-अनुसार “पहिलाको जुनीमा गरेको पापहरूमाथि घुम्टो लगाउनु नै परमेश्‍वरले उचित ठान्‍नुभयो।”

आलेन कार्डेकले यस्तो लेखे: “पुनर्जन्मको शिक्षा इन्कार गर्नु ख्रीष्टको शिक्षालाई इन्कार गर्नु बराबर हो।” तथापि, येशूले “पुनर्जन्म” शब्द कहिल्यै उच्चारण गर्नुभएन, न त त्यस्तो धारणा कहिल्यै उल्लेख गर्नुभयो। (“के बाइबलले पुनर्जन्मको शिक्षा सिकाउँछ?” पृष्ठ २२ मा हेर्नुहोस्‌।) बरु, येशूले मरिसकेका मानिसहरूको पुनरुत्थानबारे सिकाउनुभयो। येशूले आफ्नो पार्थिव सेवकाईको दौडान तीन जना मानिसहरूको पुनरुत्थान गर्नुभयो। ती हुन्‌, नाइन शहरको विधवाको छोरा, सभाघरको शासककी छोरी र उहाँको मित्र लाजरस। (मर्कूस ५:२२-२४, ३५-४३; लूका ७:११-१५; यूहन्‍ना ११:१-४४) आउनुहोस्‌, ती उल्लेखनीय घटनाहरूमध्ये एउटाको विचार गरौं र येशूले बताउनुभएको “पुनरुत्थान[को]” अर्थ के थियो, हामी हेरौं।

लाजरसको पुनरुत्थान

येशूले उहाँको मित्र लाजरस बिरामी छ भनेर सुन्‍नुभएको थियो। दुई दिनपछि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌, तर म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।” चेलाहरूले येशूको कुरा बुझेनन्‌ त्यसैले उहाँले सीधै यसो भन्‍नुभयो: “लाजरस मरेका छन्‌।” पछि येशू लाजरसको चिहानमा पुग्नुहुँदा तिनी मरेको चार दिन भइसकेको थियो। तैपनि, येशूले चिहानको ढोकामा भएको ढुंगा हटाउने आज्ञा दिनुभयो। त्यसपछि उहाँ यसरी कराउनुभयो: “लाजरस, बाहिर निस्की आऊ।” त्यतिबेला एउटा एकदमै अचम्मको कुरा भयो। “त्यो मरेको मान्छे हातखुट्टा बाँधिएको कात्रोसहित निस्की आयो। तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो ‘तिनलाई फुकाइदेऊ, र जानदेऊ।’ ”—यूहन्‍ना ११:५, ६, ११-१४, ४३, ४४.

स्पष्टतः यो पुनर्जन्म थिएन। येशूले मृत लाजरस सुतिरहेका छन्‌ अर्थात्‌ अचेत छन्‌ भन्‍नुभयो। बाइबलमा भनिएझैं तिनका ‘युक्‍तिहरू नष्ट भएको थियो।’ तिनी ‘केही पनि जान्दैन’ थिए। (भजन १४६:४; उपदेशक ९:५) पुनरुत्थान भएका लाजरस, पुनर्जन्म भएका अर्कै व्यक्‍ति थिएनन्‌। तिनको व्यक्‍तित्व त्यही थियो, उमेर पनि त्यही थियो र तिनले पहिलेका कुराहरू बिर्सेका थिएनन्‌। आफ्नो अकाल मृत्यु हुनुअघि जे गर्दै थिए, ब्यूँतेपछि तिनले त्यही गरे र तिनको मृत्युको शोक गरिरहेका आफन्तहरूकहाँ नै फर्के।—यूहन्‍ना १२:१, २.

पछि लाजरस फेरि मरे। तर तिनको पुनरुत्थानले के उद्देश्‍य पूरा गऱ्‍यो त? येशूले गर्नुभएको अन्य पुनरुत्थानहरूलगायत यसले, परमेश्‍वरले आफ्नो तोकिएको समयमा आफ्ना विश्‍वासी जनहरूको पुनरुत्थान गर्छु भनी गर्नुभएको प्रतिज्ञामाथि हाम्रो विश्‍वास झन्‌ बलियो बनाउँछ। ती चमत्कारहरूले येशूका यी शब्दहरूलाई झनै महत्त्वपूर्ण बनाउँछ: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।”—यूहन्‍ना ११:२५.

भविष्यमा हुने पुनरुत्थानको सन्दर्भमा येशूले यसो भन्‍नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) लाजरसको जस्तै मरिसकेका व्यक्‍तिहरूको पनि पुनरुत्थान हुनेछ। यस्तो पुनरुत्थान, कुहिएर गइसकेको शरीर र कुनै कुनै अवस्थामा त जीवाणुहरूले खाइसकेको शरीरसित सचेत आत्माको मिलन होइन। मरिसकेका व्यक्‍तिहरूको पुनरुत्थान गर्नु स्वर्ग अनि पृथ्वीका सृष्टिकर्ताको क्षमताभित्रको कुरा हो किनकि उहाँको बुद्धि र शक्‍ति असीमित छ।

के येशू ख्रीष्टले सिकाउनुभएको पुनरुत्थानको सिद्धान्तले परमेश्‍वरको मानिसजातिप्रतिको गहिरो प्रेम प्रकट हुँदैन र? तर सुरुमा उल्लेख गरिएको दोस्रो प्रश्‍नबारे के भन्‍न सकिन्छ नि?

दुःखकष्ट भोग्नुका कारणहरू के हुन्‌ ?

मानिसजातिले भोगिरहेको धेरैजसो दुःखकष्ट मूर्ख, अनुभवहीन वा दुष्ट मानिसहरूले गर्दा भएको हो। तर मानिसहरूलाई सीधै दोष लगाउन नमिल्ने दुःखद्‌ घटनाहरूबारे के भन्‍न सकिन्छ? उदाहरणका लागि, दुर्घटना र प्राकृतिक प्रकोपहरू किन हुने गर्छन्‌? किन कोही कोही केटाकेटी जन्मजात खोट लिएर जन्मिन्छन्‌? आलेन कार्डेकले त्यस्ता कुराहरूलाई सजायको रूपमा लिन्थे। तिनले यस्तो लेखे: “हामीलाई सजाय दिइँदैछ भने हामीले केही गल्ती अवश्‍य गरेको हुनुपर्छ। त्यो गल्ती अहिलेको जुनीमा गरेको होइन भने पहिलाको जुनीमा गरिएको हुनुपर्छ।” प्रेतवादमा लागेकाहरूलाई यस्तो प्रार्थना गर्न सिकाइन्छ: “प्रभु, तपाईं पूर्णतया न्यायी हुनुहुन्छ। म, तपाईंले मलाई हुन दिनुभएको रोगी हुन माफिकको छु। . . . मैले पहिला गरेको पापको प्रायश्‍चित्तको रूपमा र मेरो विश्‍वासको जाँचको रूपमा म त्यसलाई स्वीकार्छु र तपाईंको इच्छाअनुसार गर्न तयार छु।”— द गोस्पेल अकर्डिंग टु स्पिरिटिजम।

के येशूले त्यस्तो कुरा सिकाउनुभयो? सिकाउनुभएन। बाइबलमा के भनिएको छ येशूलाई राम्ररी थाह थियो: “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) कहिलेकाहीं खराब कुराहरू हुने गर्छन्‌ भनेर उहाँलाई थाह थियो। ती पापको सजाय नै हुनु आवश्‍यक छैन।

येशूको जीवनको यस घटनालाई विचार गर्नुहोस्‌: “जाँदाजाँदै [येशूले] एउटा जन्मैको अन्धालाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, ‘हे गुरु, कसले पाप गऱ्‍यो, यसले कि यसका आमा-बाबुले, र यो अन्धा जन्म्यो?’ ” येशूले दिनुभएको जवाफ अत्यन्तै निर्देशनमूलक थियो: “नता यसले पाप गऱ्‍यो, न यसका आमा-बाबुले, तर यस हेतुले, कि परमेश्‍वरका कामहरू यसमा प्रकट होऊन्‌। यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, औ थूकले माटोको हिलो बनाएर हिलो त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्‍नुभयो, ‘जाऊ, सिलोआमको . . . तलाउमा गएर पखाल।’ तब त्यसले गएर पखाल्यो, र देख्ने भएर आयो।”—यूहन्‍ना ९:१-३, ६, ७.

तिनी जन्मदेखि नै अन्धा हुनुमा न त तिनी न तिनका आमाबाबु नै दोषी थिए भनी येशूका शब्दहरूले देखायो। अतः त्यस मानिसले पूर्वजुनीमा गरेको पापको निम्ति सजाय पाइरहेका थिए भन्‍ने धारणालाई येशूले कतै पनि समर्थन गर्नु भएन। हो, सबै मानिसजाति पापी छन्‌ भनेर येशूलाई थाह थियो। तर तिनीहरूले पाप आदमबाट पाएका हुन्‌, जन्मनुभन्दा अघि गरेको पाप होइन। आदमले गरेको पापको कारण सबै मानिसजाति असिद्ध जन्मिन्छन्‌ र रोग अनि मृत्युको अधीनमा हुन्छन्‌। (अय्यूब १४:४; भजन ५१:५; रोमी ५:१२; ९:११) वास्तवमा भन्‍ने हो भने, यस अवस्थालाई ठीक गर्न नै येशूलाई पठाइएको थियो। बप्तिस्मा दिने यूहन्‍नाले येशू “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” हुनुहुन्छ भने!—यूहन्‍ना १:२९. a

याद गर्नुहोस्‌, येशू यस पृथ्वीमा आउनुभएर त्यस मानिसलाई निको पार्ने उद्देश्‍यले नै परमेश्‍वरले जानाजानी त्यस मानिसलाई अन्धा भएर जन्मन दिनुभएको हो भनेर पनि येशूले भन्‍नुभएन। त्यसो गरेको भए, त्यो कस्तो क्रूर र निन्दनीय कार्य हुने थियो! के त्यसबाट परमेश्‍वरको प्रशंसा हुने थियो र? अवश्‍य हुने थिएन। बरु, त्यस अन्धा चमत्कारपूर्ण ढंगमा निको हुँदा ‘परमेश्‍वरका कामहरू प्रकट’ भयो। येशूले गर्नुभएका अन्य थुप्रै चमत्कारहरूले जस्तै यसले पनि दुःखकष्ट भोगिरहेका मानिसहरूप्रतिको परमेश्‍वरको निष्कपट प्रेम व्यक्‍त हुनुका साथै तोकिएको समयमा सबै मानिसजातिले भोगिरहेको दुःखकष्ट अन्त गर्ने उहाँको प्रतिज्ञा भरपर्दो छ भनी प्रमाण दिन्छ।—यशैया ३३:२४.

दुःखकष्ट दिनुको सट्टा स्वर्गमा हुनुहुने हाम्रो पिताले “माग्नेहरूलाई . . . असल चीज” दिनुहुन्छ भनी थाह पाउनु के सान्त्वनादायी कुरा होइन र? (मत्ती ७:११) अन्धाहरूका आँखा खोलिंदा, बहिराहरूका कान उघारिंदा, लंगडाहरू हिंड्‌न, उफ्रन र दौड्‌नसक्दा सर्वशक्‍तिमान्‌को कस्तो महिमा हुनेछ!—यशैया ३५:५, ६.

हाम्रो आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने

येशूले यस्तो घोषणा गर्नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) हो, हामीले परमेश्‍वरको वचन बाइबल पढ्‌दा र यसअनुरूप जीवन बिताउँदा हाम्रा आध्यात्मिक आवश्‍यकताहरू पूरा हुन्छ। धामीझाँक्रीहरूकहाँ गएर हाम्रो आध्यात्मिक आवश्‍यकताहरू पूरा हुँदैन। निस्सन्देह, आलेन कार्डेकले परमेश्‍वरको व्यवस्थाको पहिलो प्रकाश भनी संकेत गरेको पुस्तकमा यस्ता कुराहरूको प्रस्टै निन्दा गरिएको छ।—व्यवस्था १८:१०-१३.

प्रेतवादमा लाग्ने थुप्रैले परमेश्‍वर सर्वोच्च, अनन्तका, सिद्ध, दयालु, असल र न्यायी हुनुहुन्छ भनी स्वीकार्छन्‌। तर बाइबलले अझ थप कुरा प्रकाश पार्छ। बाइबलले उहाँको व्यक्‍तिगत नाउँ यहोवा हो र येशूले जस्तै हामीले त्यस नाउँको आदर गर्नुपर्छ भनी सिकाउँछ। (मत्ती ६:९; यूहन्‍ना १७:६) बाइबलले परमेश्‍वरलाई मानिसजाति घनिष्ठ हुनसक्ने वास्तविक व्यक्‍तिको रूपमा चित्रण गर्छ। (रोमी ८:३८, ३९) बाइबल पढ्‌दा हामी परमेश्‍वर कृपालु हुनुहुन्छ र “उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ” भनी सिक्छौं। (भजन १०३:१०) आफ्नो लिखित वचनद्वारा सर्वोच्च परमेश्‍वर यहोवाले आफ्नो प्रेम, प्रभुत्व र समझ प्रकट गर्नहुन्छ। आज्ञाकारी मानिसहरूलाई डोऱ्‍याउने र सुरक्षा दिने उहाँ नै हुनुहुन्छ। यहोवा अनि उहाँको पुत्र येशू ख्रीष्टलाई चिन्‍नुको अर्थ “अनन्त जीवन” हो।—यूहन्‍ना १७:३.

परमेश्‍वरको उद्देश्‍यबारे चाहिने सबै जानकारी हामीलाई बाइबलले दिन्छ र यसका साथै उहाँलाई खुसी पार्न चाहन्छौं भने हामीले के गर्नुपर्छ, त्यसबारे पनि बताउँछ। बाइबललाई राम्ररी केलाउँदा हामी हाम्रा प्रश्‍नहरूको साँचो र सन्तोषजनक उत्तर पाउँछौं। बाइबलले सही र गलत के हो भनेर निर्देशन दिनुका साथै ठोस आशा प्रदान गर्छ। निकट भविष्यमा नै परमेश्‍वरले “[मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका” हुनेछन्‌ भनेर पनि त्यसले आश्‍वासन दिन्छ। (प्रकाश २१:३, ४) येशू ख्रीष्टद्वारा यहोवाले मानिसजातिलाई जन्मजात पाप अनि असिद्धताबाट स्वतन्त्र गर्नुहुनेछ। आज्ञाकारी मानिसहरूले प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌। त्यतिबेला तिनीहरूका शारीरिक र आध्यात्मिक आवश्‍यकताहरू दुवै पूर्णतया पूरा हुनेछन्‌।—भजन ३७:१०, ११, २९; हितोपदेश २:२१, २२; मत्ती ५:५.

[फुटनोट]

a पाप र मृत्यु कसरी सुरु भयो भन्‍ने छलफलको निम्ति यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

[पृष्ठ २२-मा भएको पेटी]

के बाइबलले पुनर्जन्मको शिक्षा सिकाउँछ?

के बाइबलको कुनै पदले पुनर्जन्मको शिक्षालाई समर्थन गर्छ? यस शिक्षाका समर्थकहरूले चलाएका केही शास्त्रपदहरूलाई विचार गर्नुहोस्‌:

“सबै अगमवक्‍ताहरू र व्यवस्थाले यूहन्‍नासम्मनै अगमवाणी गरेका छन्‌। . . . आउनु पर्ने एलिया यिनै हुन्‌।”—मत्ती ११:१३, १४.

के एलिया बप्तिस्मा दिने यूहन्‍नाको रूपमा पुनर्जन्म भएको थियो? “तिमी एलिया हौ?” भनी प्रश्‍न गर्दा यूहन्‍नाले स्पष्टसँग यसो भने: “म होइनँ।” (यूहन्‍ना १:२१) तथापि, यूहन्‍ना “एलियाका आत्मा र शक्‍ति” लिएर येशूभन्दा अघि आउनेछन्‌ भनी भविष्यवाणी गरिएको थियो। (लूका १:१७; मलाकी ४:५, ६) अर्को शब्दमा भन्‍ने हो भने, बप्तिस्मा दिने यूहन्‍ना यस अर्थमा एलिया भए कि तिनले एलियाले गरेजस्तै कामहरू गरे।

“कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन। मैले तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ भनी तिमीलाई भनेकोमा अचम्म नमान।”—यूहन्‍ना ३:३, .

एक जना प्रेरितले पछि यस्तो लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार मरेकोबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति हामीलाई फेरि नयाँ जन्म दिनुभयो।” (१ पत्रुस १:३, ४; यूहन्‍ना १:१२, १३) स्पष्टतः येशूले संकेत गरिरहनुभएको नयाँ जन्म उहाँका अनुयायीहरूले जीवित छँदै अनुभव गर्ने आध्यात्मिक अनुभव थियो, भविष्यमा हुने पुनर्जन्म होइन।

“मानिस मरेपछि ऊ सधैंभरि बाँच्छ: पृथ्वीमा मेरा दिनहरू सिद्धिएपछि म फेरि फर्कने दिनको प्रतीक्षा गर्छु।”गोस्पेल अकर्डिंग टु स्प्रिटिजम-मा उद्धृत गरिएको अय्यूब १४:१४ को “युनानी अनुवाद।”

नयाँ संशोधित संस्करण-ले यो पद यसरी अनुवाद गरेको छ: “के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।” त्यस पदको प्रसंग पढ्‌नुहोस्‌। चिहानमा मरिसकेका मानिसहरू “नवीकरणको” प्रतीक्षामा हुन्छन्‌। (पद १३) प्रतीक्षामा हुँदा तिनीहरूको कुनै अस्तित्व हुँदैन। “मान्छे ता मरिहाल्छ, र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ, र त्यो कहाँ हुन्छ?”—अय्यूब १४:१०.

[पृष्ठ २१-मा भएको चित्र]

पुनरुत्थानको आशाले परमेश्‍वर हाम्रो गहिरो चासो राख्नु हुँदो रहेछ भन्‍ने कुरा स्पष्ट हुन्छ

[पृष्ठ २३-मा भएका चित्रहरू]

परमेश्‍वरले सबै मानिसजातिको दुःखकष्ट अन्त गर्नुहुनेछ

[