हामीले यहोवालाई जाँच्यौं
जीवनी
हामीले यहोवालाई जाँच्यौं
पल स्क्राइबनरको वृत्तान्तमा आधारित
“नमस्ते, श्रीमती स्ट्याकहाउस। म आज बिहान इस्टर केकको अर्डर लिंदै हिंडेको। तपाईं पनि आफ्नो परिवारको निम्ति एउटा केक त पक्कै अर्डर गर्न चाहनुहुन्छ होला।” यो सन् १९३८ वसन्तऋतुको सुरुतिरको कुरा हो। त्यतिबेला म सं.रा.अ., न्यु जर्सीको आट्कोमा थिएँ र जेनरल बेकिङ कम्पनीमा सेल्सम्यानको रूपमा काम गर्थें। म, मेरो रूटमा पर्ने ग्राहकहरूमध्ये सबैभन्दा बढी मालसामान किन्ने व्यक्तिसित कुरा गरिरहेको थिएँ। तर श्रीमती स्ट्याकहाउसले इन्कार गर्दा म छक्कै परें।
तिनले यसो भनिन्, “अहँ, मलाई चाहिंदैन। हामी इस्टर मनाउँदैनौं।”
अब के भन्ने मैले त सोच्नै सकिनँ। इस्टर मनाउनु हुन्न रे? व्यापारजगत्को मूलभूत कुरा हो, ग्राहकको कुरा कहिल्यै खण्डन गर्नु हुँदैन। त्यसैले अब के भन्ने? मैले त खालि यति भनें, “केक एकदमै स्वादिलो छ र तपाईं हाम्रा केकहरू मन पराउनुहुन्छ भनेर मलाई थाह छ। अँ, तपाईंले इस्टर नमनाउनु भए तापनि तपाईंको परिवारलाई केक मनपर्छ होला नि?”
तिनले फेरि यसो भनिन्, “खै, मन पराउला जस्तो त मलाई लाग्दैन। तर स्क्राइबनरजी, मैले तपाईंसँग एउटा विषयमा कुरा गरौंला भनेर विचार गरिरहेकी थिएँ र अहिल्यै त्यो कुरा गर्नु उपयुक्त होला।” त्यो वार्तालापले मेरो जीवनमा अर्कै मोड लिन लागेको थियो! न्यु जर्सी बर्लिनस्थित यहोवाका साक्षीहरूको कम्पनीका (वा मण्डली) सदस्य श्रीमती स्ट्याकहाउसले इस्टर मनाउने चलनको सुरुआत कहाँबाट भयो भनी बताइन् र मलाई तीनवटा सानो पुस्तिका दिइन्। ती पुस्तिकाहरूको शीर्षक यसप्रकार थियो, सेफ्टी, अनकभर्ड र प्रोटेक्सन। ती पुस्तिकाहरू लिएर म घर गएँ। मलाई ती पढ्ने मन त थियो तर कताकता शंका पनि लागिरहेको थियो। श्रीमती स्ट्याकहाउसले बताएको कुरा मलाई नौलो लागेन किनभने मलाई ती कुराहरू बाल्यकालमा पनि सुने-सुने जस्तो लाग्यो।
बाइबल विद्यार्थीहरूसँग सुरुमा भएको भेटघाट
मेरो जन्म जनवरी ३१, १९०७ मा भएको थियो र १९१५ मा म आठ वर्षको छँदा मेरो बुबा क्यान्सरले गर्दा बित्नुभयो। त्यसकारण, आमा र म म्यासाचुसेट्स माल्डेनस्थित मामाघर गयौं। आमा माइतीको घर ठूलो थियो। मेरो मामा बेन्जामिन ऱ्यानसम र माइजू पनि त्यही घरको तेस्रो तल्लामा बस्नुहुन्थ्यो। बेन मामाले २० औं शताब्दी सुरु हुनुअघिदेखि नै त्यतिबेला बाइबल स्टुडेन्ट्सको रूपमा चिनिने यहोवाका साक्षीहरूसँग संगत गर्नुहुन्थ्यो। मलाई बेन मामा असाध्यै मन पर्थ्यो तर मामाघरका अन्य सदस्यहरू मेथोडिस्ट भएकाले बेन मामालाई बेग्लै दृष्टिकोणले हेर्थे। वर्षौंपछि, माइजूले बेन मामासँग सम्बन्ध विच्छेद गर्नुअघि मामाको धार्मिक विश्वासको कारण केही समय उहाँलाई मानसिक अस्पतालमा पनि भर्ना गरिदिनुभयो! बेन मामाको दिमागी हालतमा कुनै समस्या नभएकोले त्यहाँका डाक्टरहरूले तुरुन्तै पत्ता लगाइ हाले र उहाँसँग माफी माग्दै उहाँलाई घर पठाइदिए।
बेन मामाले बस्टनस्थित इन्टरनेसनल बाइबल स्टुडेन्ट्सका सभाहरूमा अतिथि वक्ताको उपस्थिति वा कुनै विशेष समारोह हुँदा मलाई पनि उहाँसँगै लैजानुहुन्थ्यो। एक चोटि त अतिथि वक्ता चार्ल्स टेज रसल नै थिए। तिनी ती दिनहरूमा प्रचारकार्यको निरीक्षण गर्ने गर्थे। अर्को विशेष अवसरमा चाहिं “फोटो ड्रामा अफ क्रिएसन” देखाइएको थियो। यी कुराहरू १९१५ तिरको हो तर उक्त ड्रामामा अब्राहामले इसहाकलाई बलिदानको रूपमा चढाउन डाँडामा लगिरहेको दृश्य मैले अझै बिर्सेको छैन। (उत्पत्ति, अध्याय २२) अब्राहाम यहोवामा पूर्ण भरोसा राख्दै दाउराको भारी बोकेको इसहाकसँगै डाँडामाथि उक्लिरहेको दृश्य मेरो मनमा अझै ताजै छ। मेरो बुबा नभएको कारण यसले मेरो मनमा गहिरो छाप पाऱ्यो।
त्यसपछि, बेन मामा र माइजू मेनमा सर्नुभयो अनि आमाले पनि पुनर्विवाह गर्नुभयो र हामी न्यु जर्सी सऱ्यौं। त्यसैले, लामो समयसम्म बेन मामासँग कुनै भेटघाट भएन। न्यु जर्सीमा म किशोरावस्थामै छँदा मैले मेरियन नेफ नाउँ गरेकी केटीलाई भेटें। तिनको परिवार प्रेस्बाइटेरियन धर्म मान्थे र तिनीहरूको परिवारमा आठ जना छोराछोरी थिए। मलाई तिनको परिवारका सदस्यहरू भेट्न रमाइलो लाग्थ्यो। मैले धेरैजसो आइतबार त्यस परिवार र तिनीहरूको चर्चको युवा समूहसँग बिताएँ। फलतः म आफै पनि अन्ततः प्रेस्बाइटेरियन भएँ। तैपनि, मैले बाइबल स्टुडेन्ट्सका सभाहरूमा सिकेका केही कुराहरू बिर्सन सकिनँ। मेरियन र मैले १९२८ मा बिहे गऱ्यौं अनि १९३५ र १९३८ मा हाम्रा छोरीहरू डोरिस र लुइसको जन्म भयो। बामे सर्ने र नवजात शिशु परिवारमा भएको कारण हामी दुवैले बच्चाहरू राम्ररी हुर्काउन आध्यात्मिक डोऱ्याइको खाँचो महसुस गऱ्यौं।
ती पुस्तिकाहरूमा सच्चाइ पत्ता लगाउँदा
मेरियन र म कुन चर्च जाने हो भनी सोच्दै थियौं र त्यत्ति नै बेला मनमा एउटा विचार आयो। त्यो थियो, हरेक आइतबार एक जना पालोपालो गरी छोरीहरूको हेरचाह गर्न घरमा बस्ने अनि अर्कोचाहिं चर्च जाने। एउटा आइतबार मेरियनको घर बस्ने पालो थियो तर म नै बच्चाहरू हेर्न घर बस्ने निधो गरें। किनकि म श्रीमती स्ट्याकहाउसले दिएका तीन पुस्तिकाहरूमध्ये पहिलो सेफ्टी पढ्न चाहन्थें। जसै पढ्न थालें, मलाई पढूँपढूँ लागिरह्यो! यसले गर्दा कुनै पनि चर्चले दिन नसक्ने कुरा मैले भेट्टाएँ भनी म झनै विश्वस्त भएँ। अर्को हप्ता पनि त्यसै गरें र दोस्रो पुस्तिका अनकभर्ड पढ्नको निम्ति म बच्चाहरू हेर्दै घरै बस्न तयार भएँ। पढ्दै जाँदा कुनैकुनै कुरा थाह पाएजस्तो लाग्न थाल्यो। कतै बेन मामाले विश्वास गर्नुभएको
कुरा यही त होइन? हाम्रो परिवारले उहाँको धर्म बौलाह छ भन्ठानेको थियो। अब मेरियनले पो के सोच्ने हो कुन्नि? मैले बेकारमा चिन्ता गरेछु। अनकभर्ड पढेको केही दिनपछि म कामबाट घर फर्केपछि मेरियनले मलाई यसो भनेर छक्कै पारिन्, “मैले तपाईंले ल्याउनुभएका पुस्तिकाहरू पढें। तिनीहरू साँच्चै चाखलाख्दा छन्।” मलाई उसको कुरा सुनेर साह्रै ढुक्क लाग्यो!ती पुस्तिकाहरूको अन्तिम पृष्ठमा भर्खरै विमोचित पुस्तक एनिमिज-बारे लेखिएको थियो र यसमा झूटो धर्मको पूर्णतया पर्दाफास गरिएको थियो। हामीले त्यो प्राप्त गर्ने निर्णय गऱ्यौं। तथापि, हुलाकबाट अर्डर पठाउनुअघि नै एक जना साक्षी हाम्रो घरमा आएर सोही पुस्तक दिए। त्यस पुस्तकले हामीलाई निर्णय गर्न मदत गऱ्यो! हामी चर्च जान छोड्यौं र न्यु जर्सी, क्यामडेनस्थित यहोवाका साक्षीहरूको कम्पनीमा सभाहरू धाउन थाल्यौं। केही महिनापछि १९३८ जुलाई ३१ आइतबारका दिन हामी झन्डै ५० जना जति बहिनी स्ट्याकहाउसको घरको चउरमा भेला भएर जोसेफ रदरफोर्डले बप्तिस्माबारे दिनुभएको रिकर्ड गरिएको भाषण सुन्यौं। मैले यही घरमा इस्टर केक बेच्ने प्रयास गरेको थिएँ। त्यसपछि, हामीले त्यही घरमा लुगा फेऱ्यौं र सँगैको सानो खोलामा १९ जनाले बप्तिस्मा लियौं।
अग्रगामी हुन कटिबद्ध
मैले बप्तिस्मा लिएको केही समय नबित्दै कम्पनीको एक बहिनीले मलाई अग्रगामी भनिने मानिसहरूबारे बताइन्। मानिसहरूलाई प्रचार गर्नु नै तिनीहरूको मुख्य काम थियो। मेरो चासो जाग्यो र चाँडै अग्रगामीहरूको एउटा पूरै परिवारसँग मेरो चिनापर्ची भयो। वृद्ध भाइ कोनिग, उहाँकी पत्नी र उहाँहरूको हुर्किसकेकी छोरी सबै नजिकैको मण्डलीमा अग्रगामी हुनुहुन्थ्यो। साना छोरीहरूको बुबाको हैसियतमा म कोनिग परिवारले सेवकाईबाट पाएको गहिरो सन्तुष्टि देखेर प्रभावित भएँ। म अक्सर केक ओसार्ने ट्रक रोकेर उहाँहरूसँग घर-घरको सेवकाईमा समय बिताउँथें। मलाई पनि अग्रगामीको काम गर्न मन लाग्यो। तर कसरी? हाम्रो दुई साना छोरीहरू थिए र काममा असाध्यै खटिनुपर्थ्यो। वास्तवमा, युरोपमा दोस्रो विश्वयुद्ध चर्किंदै गएपछि थुप्रै जवान संयुक्त राज्य अमेरिकाको सेनामा भर्ती भए र हामी निजामती काममा बाँकी रहेकाहरूले धेरै काम गर्नुपर्ने भयो। मैले अझ धेरै जनालाई केक बेच्नु पर्ने भयो र यो तालिकाअनुसार त अग्रगामीको काम गर्न असम्भव छ भनेर मलाई थाह थियो।
भाइ कोनिगलाई मेरो अग्रगामी काम गर्ने चाहनाबारे बताउँदा उहाँले यसो भन्नुभयो: “यहोवाको सेवामा परिश्रम गर्दै जानुहोस् र प्रार्थनामा उहाँलाई आफ्नो लक्ष्यबारे बताउनुहोस्। उहाँले तपाईंलाई अवश्य मदत गर्नुहुनेछ।” एक वर्षभन्दा बढी समयसम्म मैले त्यसै गरें। म अक्सर मत्ती ६:८ जस्ता शास्त्रपदहरूमा मनन गर्थें, त्यसमा बताइएअनुसार हामीले माग्नुअघि नै यहोवाले हाम्रो खाँचो पूरा गर्नुहुन्छ भनी आश्वासन दिइएको छ। यसको साथै मैले मत्ती ६:३३ को सल्लाह पालन गर्ने प्रयास गरिरहें, जहाँ परमेश्वरको राज्य र उहाँको धार्मिकता पहिला खोजी गर्ने सल्लाह दिइएको छ। प्रान्तीय सेवक (अहिले क्षेत्रीय निरीक्षक भनिन्छ) भाइ मेल्भिन विन्चेस्टरले पनि मलाई प्रोत्साहन दिनुभयो।
मैले मेरियनलाई आफ्ना लक्ष्यहरू बताएँ। हामीले मलाकी ३:१० का शब्दहरू छलफल गऱ्यौं। त्यहाँ परमेश्वरलाई जाँच्न र उहाँले हामीलाई आशिष् वर्षाउनु हुन्छ कि हुँदैन हेर्न प्रोत्साहन दिइएको छ। म तिनको प्रतिक्रिया सुनेर प्रोत्साहित भएँ: “यदि तपाईं अग्रगामी गर्न चाहनुहुन्छ भने, मेरो कारणले गर्दा पछि नहट्नुहोस्। तपाईंले अग्रगामी गर्नुहुँदा मैले छोरीहरूको देखभाल गर्नेछु। आखिर हामीलाई भौतिक तवरमा धेरै चाहिने पनि त होइन नि।” बाह्र वर्ष लामो वैवाहिक जीवनपछि मैले मेरियन अत्यन्तै मितव्ययी र होसियार छिन् भनेर थाह पाइसकेको थिएँ। वर्षौंको दौडान तिनी अत्यन्तै राम्रो अग्रगामी साथी भएकी छिन् र हाम्रो ६० वर्ष लामो सफल पूर्ण-समय सेवाका कारणहरूमध्ये एउटा कारण, सानो भन्दा सानो कुरामा पनि सन्तुष्ट भएर बस्नसक्ने तिनको योग्यता पनि हो।
प्रार्थनापूर्वक योजना बनाएको धेरै महिनापछि १९४१ को गर्मी याममा मेरियन र मैले जम्मा गरेको पैसाले हाम्रो परिवारलाई मिल्ने साढे पाँच मिटर लामो ट्रेलर किन्यौं। यसैमा यात्रा गर्न पनि मिल्थ्यो। मैले आफ्नो जागिर छोडें र जुलाई १९४१ मा नियमित अग्रगामीको काम गर्न थालें। त्यसबेलादेखि मैले अहिलेसम्म पूर्ण-समय सेवा छोडेको छैन। मेरो पहिलो असाइनमेन्ट न्यु जर्सी र सेन्ट लुइस, मिसाउरीबीचको रूट ५० मा पर्ने दसवटा बस बिसौनीहरू थियो। अगस्त महिनाको सुरुतिर त्यहीं हाम्रो अधिवेशन हुनेवाला थियो। मैले त्यस इलाकाका भाइहरूको नाउँ र ठेगाना पठाइदिएँ र म पनि त्यहाँ पुग्ने मितिबारे पहिल्यै खबर गरें। अधिवेशन स्थल पुगेपछि अग्रगामी विभागमा गएर आफ्नो असाइनमेन्ट पत्र लिनुपर्ने थियो।
“म यहोवालाई जाँचेर हेर्नेछु”
हामीले हाम्रो सानो ट्रेलरमा साहित्यहरू टन्नै हाल्यौं र क्यामेडियनका भाइहरूलाई बिदाबारी गर्न अन्तिम सभामा गयौं। दुई साना छोरीहरू र अधिवेशनपछि कहाँ जाने हो ठेगान नभएको कारण केही भाइहरूलाई हाम्रा योजनाहरू अव्यावहारिक लाग्यो होला र तिनीहरूमध्ये कतिपयले यसो भने: “हेर्नुहोस् न, अलि समयपछि तपाईंहरू यहीं फर्कनुहुनेछ।” मैले यसो भनेको मलाई अझै याद छ: “म फर्किंदै फर्किनँ त भन्दिनँ। तर यहोवाले मेरो देखभाल गर्छु भन्नुभएको छ र म यहोवालाई जाँचेर हेर्नेछु।”
हामीले म्यासाचुसेट्सदेखि मिसिसिपिसम्म २० वटा शहरहरूमा अग्रगामीको काम गरेर ६० वर्षभन्दा बढी बिताइसक्यौं र प्रतिज्ञा गर्नुभएको भन्दा धेरै नै यहोवाले हामीलाई दिनुभएको छ भनी हामी भन्नसक्छौं। मेरियन, म र हाम्रा दुई छोरीहरूलाई उहाँले दिनुभएको आशिष् मैले सन् १९४१ मा आशा गरेभन्दा कता हो कता धेरै छ। ती आशिष्हरूमा हाम्रा छोरीहरूले नजिकैको मण्डलीमा विश्वासी अग्रगामीहरूको रूपमा सेवा गर्नु र (अन्तिम गन्तीअनुसार) संयुक्त राज्यको पूर्वी तटभरि लगभग १०० भन्दा बढी आध्यात्मिक छोराछोरीहरू हुनु समावेश छन्। मैले अध्ययन गरेका ५२ जना र मेरियनले
अध्ययन गरेका ४८ जनाले यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पित गरेका छन्।अगस्त १९४१ मा हामी सेन्ट लुइस पुग्यौं र त्यहाँ हामीले बेथेलबाट आउनुभएको भाइ टि. जे. सलिभन भेट्यौं। उहाँसँग मेरो नियुक्ति पत्र थियो। त्यो मेरोनिम्ति जरुरी थियो किनभने युद्धको सम्भावना बढ्दै गइरहेको थियो र त्यो नभएको खण्डमा सेनामा भर्ती हुन पर्नसक्थ्यो। मैले भाइ सलिभनलाई मेरी पत्नीले पनि मैले जत्तिकै सेवकाईमा समय बिताइरहेकीले तिनी पनि मसँगै अग्रगामी गर्न चाहन्छिन् भनेर बताएँ। अधिवेशनमा अझै अग्रगामी विभाग खोलिएको थिएन तैपनि भाइ सलिभनले त्यत्ति नै खेर मेरियनको अग्रगामी नियुक्ती पत्रमा सही गरिदिनुभयो र सोध्नुभयो: “अधिवेशनपछि तपाईंहरू कहाँ अग्रगामीको काम गर्न जाँदै हुनुहुन्छ?” हामीलाई कता जाने हो केही थाहै थिएन। उहाँले भन्नुभयो: “चिन्ता नगर्नुहोस्। तपाईंहरूले अधिवेशनमा अग्रगामीहरूको खाँचो भएको इलाकाका कोही न कोही अवश्य भेट्नुहुनेछ र सबै कुरा ठीक हुनेछ। खालि हामीलाई तपाईंहरू कहाँ हुनुहुन्छ खबर गर्नुहोस् र हामी त्यहीं नियुक्ति पत्र पठाउनेछौं।” हुन पनि ठीक त्यस्तै भयो। पहिलेका प्रान्तीय सेवक भाइ ज्याक डेविटले भर्जिनिया न्यु मार्केटका केही व्यक्तिहरूलाई चिन्नुभएको थियो, जहाँ अग्रगामीहरूको लागि एउटा घर थियो र त्यहाँ केही थप अग्रगामीहरू चाहिएको रहेछ। त्यसैले, अधिवेशनपछि हामी न्यु मार्केटतर्फ लाग्यौं।
न्यु मार्केटमा हामीले सोच्दै नसोचेको कुरा भयो। हामीसँग अग्रगामीको काम गर्न फिलाडेल्फियाबाट को आउनेवाला थियो, के तपाईंलाई थाह छ? हो, ती व्यक्ति अरू कोही नभई बेन मामा हुनुहुन्थ्यो! बस्टनमा छँदा मेरो हृदयमा सत्यको बीउ रोप्नुभएको २५ वर्षभन्दा धेरै समयपछि उहाँसँगै घरघरको सेवकाईमा काम गर्न पाउनु साह्रै आनन्दको कुरा थियो! वर्षौंसम्म परिवारको भावशून्यता, गिल्ला र सतावटसमेत भोग्नुपरे तापनि बेन मामाले कहिल्यै यहोवा र सेवकाईप्रतिको आफ्नो प्रेम गुमाउनु भएन।
न्यु मार्केटको अग्रगामी घरमा आठ महिना बसुञ्जेल हामीले निकै आनन्द उठायौं। त्यहाँ हामीले थुप्रै कुरा सिक्यौं, जस्तै, साहित्यहरू दिएर त्यसको बदलामा कुखुरा र अण्डा लिने इत्यादि। त्यसपछि बेन मामा, मेरियन र मलगायत अन्य तीन जनालाई हानओभर, पेन्सलभेनियमा विशेष अग्रगामीको रूपमा खटाइयो। सन् १९४२ देखि १९४५ सम्ममा पेन्सलभेनियामा पाएको ६ वटा असाइनमेन्टहरूमध्ये यो प्रथम थियो।
दोस्रो विश्वयुद्धको दौडान विशेष अग्रगामी
दोस्रो विश्वयुद्धको दौडान तटस्थताको कारण हामीले वैरभावको पनि सामना गर्नुपऱ्यो तर यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन। एक चोटि म्यासाचुसेट्स प्रोभिन्सटाउनमा हाम्रो पुरानो ब्युक गाडी बिग्रियो र पुनःभेट गर्न म अत्यन्तै वैरभावी क्याथोलिक इलाका भई हिंडेर जानुपरेको थियो। हिंड्दै गर्दा हुल्याहहरूको एक समूहले मलाई देखेर जथाभावी कराउन थाले। केटाहरूले मलाई ताकेर ढुंगा हानिरहेका थिए तर मलाई नलखेटोस् भनेर म फटाफट हिंडे। धन्न, मलाई कुनै चोटपटक लागेन र पुनःभेट गर्नुपर्ने जिज्ञासु व्यक्तिको घर पुगें। यस घरधनी, अमेरिकी सेनाका सम्मानित सदस्यले माफी माग्दै यसो भने: “आज म तपाईंसँग समय बिताउन नसक्ने भएँ, किनभने आज चलचित्र हेर्न जाने कार्यक्रम बनाएको त मैले भुसुक्कै बिर्सेछु।” सडकको कुनामा ढुंगा हान्न तयार भएर बसिरहेका हुल्याह केटाहरू सम्झँदा मेरो मन खिस्रिक्क भयो। तथापि, त्यस व्यक्तिले यसो भन्दा मलाई एकदमै ढुक्क भयो: “तपाईं पनि हामीसँगै आउनुहोस् न। बाटोमा यसो कुरा गर्दै हिंड्न त हुन्छ।” यसरी मैले तिनलाई साक्षी पनि दिन सकें भने सुरक्षितसाथ खतरनाक ठाउँ पनि पार गर्नसकें।
परिवार र सेवकाईलाई सन्तुलित राख्दै
युद्धपछि भर्जिनियामा हामीले अन्य केही असाइनमेन्टहरू पायौं। त्यसमा चार्लोटेसभिलमा विशेष र नियमित अग्रगामीको रूपमा गरेको सेवा पनि समावेश छन्। सन् १९५६ सम्ममा छोरीहरू हुर्किसकेका र विवाह पनि गरिसकेका थिए। मेरियन र मचाहिं फेरि थुप्रै ठाउँमा सऱ्यौं। ह्यारिसनबर्ग भर्जिनियामा अग्रगामीको रूपमा सेवा गऱ्यौं भने नर्थ क्यारोलिना लिन्कनटनमा विशेष अग्रगामीको रूपमा सेवा गऱ्यौं।
सन् १९३० को दशकमा भाइ विनचेस्टरले मलाई न्यु जर्सीमा प्रोत्साहन दिनुभएझैं, १९६६ मा भाइहरूलाई प्रोत्साहन दिन मण्डली मण्डलीको भ्रमण गर्ने क्षेत्रीय काम गर्न मलाई खटाइयो। दुई वर्षसम्म मैले टेनेसी क्षेत्रका मण्डलीहरूमा सेवा गरें। त्यसपछि, मेरियन र मलाई सबैभन्दा मनपर्ने काम अर्थात् विशेष अग्रगामीको काम गर्न अह्राइयो। सन् १९६८ देखि १९७७ सम्म हामीले संयुक्त राज्यको दक्षिणी भाग जर्जिया र मिसिसिपिभरि विशेष अग्रगामीको रूपमा सेवा गऱ्यौं।
इस्टम्यान जर्जियामा मलाई प्रिय पाको भाइ पावेल हितोपदेश ३:५, ६ जस्ता शास्त्रपद मैले सम्झिएँ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” खुलमखुल्ला छलफल गरेर हामी मण्डलीलाई एक गर्न सफल भयौं र यसको नतिजा राम्रो भयो।
क्रिकल्याण्डको ठाउँमा मण्डली निरीक्षकको (अहिले मण्डली अध्यक्ष) रूपमा नियुक्त गरियो। भाइ क्रिकल्याण्डले निकै वर्ष क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुभएको थियो तर उहाँको स्वास्थ्यस्थिति बिग्रिंदै थियो। उहाँ अत्यन्तै कृतज्ञ र मदतकारी हुनुहुन्थ्यो। उहाँको समर्थन अत्यावश्यक थियो किनभने मण्डलीमा केही विवाद देखा परिरहेको थियो र त्यसमा केही प्रतिष्ठित व्यक्तिहरू सम्मिलित थिए। यो विवाद अत्यन्तै चर्किंदै गयो, त्यसैले मैले यहोवालाई प्रार्थना गर्न धेरै समय बिताएँ।सन् १९७७ मा हामीले बुढेसकालले छोएको अनुभव गर्न थाल्यौं र हामीलाई फेरि चार्लोटेसभिल इलाकामा खटाइयो जहाँ हाम्रा दुवै छोरी आ-आफ्नो परिवारसँग बस्थे। विगत २३ वर्षदेखि यस क्षेत्रमा हामीले आनन्दपूर्वक सेवा गर्दै आएका छौं। त्यहाँ हामीले रकर्सभिल भर्जिनिया मण्डली स्थापना गर्न मदत गऱ्यौं र हाम्रा सुरुसुरुका बाइबल विद्यार्थीहरूका छोराछोरी, नातानातिनी अहिले मण्डलीका प्राचीन, अग्रगामी अनि बेथल सेवकहरू भएको देख्दा साह्रै आनन्द लाग्छ। मेरियन र म अझै नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिन्छौं अनि चार्लोटेसभिलको इस्ट मण्डलीमा प्राचीनको हैसियतमा
सक्रियतासाथ सेवा गर्न पाएकोमा म खुसी छु। म पुस्तक अध्ययन सञ्चालन गर्नुका साथै जनभाषण पनि दिन्छु।वर्षौंको दौडान अरू सबैले जस्तै हामीले पनि समस्याहरूको सामना गरेका छौं। उदाहरणका लागि, हाम्रो प्रयासको बावजूद डोरिस आफ्नो किशोरावस्थाको अन्ततिर आध्यात्मिक तवरमा कमजोर भइन् र गैरसाक्षीसँग विवाह गरिन्। तर तिनले कहिल्यै पनि यहोवाप्रतिको आफ्नो प्रेम पूर्णतया गुमाइनन् र तिनको छोरा बिल विगत १५ वर्षदेखि वलकिल न्यु योर्कस्थित बेथेलमा सेवारत छन्। डोरिस र लुइस अहिले दुवै विधवा भइसकेका छन् तर आनन्दसाथ नियमित अग्रगामीको रूपमा सेवा गर्दैछन्।
वर्षौंको दौडान सिकेको पाठ
वर्षौंको दौडान मैले सफलतासाथ यहोवाको सेवा गर्न केही सरल नियमहरू लागू गर्न सिकेको छु। त्यो हो, तपाईंको जीवनलाई सरल राख्नुहोस्। तपाईंको व्यक्तिगत जीवनलगायत आफ्नो सबै व्यवहारमा उदाहरणीय हुनुहोस्। सबै क्षेत्रमा “विश्वासी र बुद्धिमान दास[को]” निर्देशन पालन गर्नुहोस्।—मत्ती २४:४५.
मेरियनले बच्चाहरू पनि हुर्काउँदै सफलतासाथ अग्रगामीको काम गर्न काम लाग्ने सुझाउहरूको छोटो तर प्रभावकारी सूची बनाएकी छिन्: काम गर्न सजिलो तालिका बनाउने अनि त्यसैअनुसार चल्ने। अग्रगामी सेवालाई साँच्चै आफ्नो पेसा बनाउनुहोस्। स्वास्थ्यकर भोजन खाने बानी बसाल्नुहोस्। पर्याप्त आराम गर्नुहोस्। बढ्तै मनोरञ्जन नगर्नुहोस्। सच्चाइ तथा सेवकाईका सबै पक्ष तपाईंका छोराछोरीको निम्ति रमाइलो अनुभव बनाउनुहोस्। हर समय सेवकाईलाई तिनीहरूका लागि चाखलाग्दो अनुभव बनाउनुहोस्।
अहिले हाम्रो उमेर ९० वर्ष नाघिसकेको छ। स्ट्याकहाउसको आँगनमा बप्तिस्माको भाषण सुनेको ६२ वर्ष भइसक्यो र हामीले ६० वर्ष पूर्ण-समय सेवामा बिताइ सकेका छौं। मेरियन र म, साँच्चै आफ्नो जीवनसँग पूर्णतया सन्तुष्ट छौं भनी भन्नसक्छौं। साना छोरीहरूको बुबा छँदा आध्यात्मिक लक्ष्यहरूलाई प्राथमिकता दिन र त्यसै लक्ष्यतिर अघि बढ्न दिइएको प्रोत्साहनको निम्ति म साँच्चै कृतज्ञ छु। म मेरी प्रिय पत्नी मेरियन र छोरीहरूले वर्षौंको दौडान दिएको समर्थनको निम्ति पनि कृतज्ञ छु। हामी भौतिक तवरमा सम्पन्न त छैनौं तर म अक्सर उपदेशक २:२५ आफ्नै जीवनमा लागू भएको देख्छु: “उहाँले दिनुभएन भने कसलाई भोजन अथवा कसलाई सुख मिल्नेछ र?”
साँच्चै, हाम्रो सन्दर्भमा मलाकी ३:१० मा उल्लिखित प्रतिज्ञा यहोवाले प्रशस्त गरी पूरा गर्नुभएको छ। उहाँले साँच्चै ‘स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष् वर्षाउनुभएको’ छ!
[पृष्ठ २९-मा भएको पेटी/चित्र]
युद्धको समयका सम्झनाहरू
युद्ध भएको झन्डै ६० वर्षपछि पनि सम्पूर्ण परिवारको मनमा युद्धका सम्झनाहरू ताजै छन्।
डोरिस भन्छिन्, ‘पेन्सलभेनियामा असाध्यै जाडो हुन्छ।’ लुइस अझ यस्तो सम्झना गर्छिन्, “एक रात त तापक्रम माइनस ३५ डिग्रीभन्दा कम थियो। हाम्रो पुरानो ब्युक गाडीको पछाडिपट्टिको सिटमा डोरिस र म खुट्टा तातो पार्न पालैपालो एकअर्काको खुट्टामाथि बस्थ्यौं।”
डोरिस भन्छिन्, “तर हामीले कहिल्यै पनि गरिब वा केही कुराबाट बञ्चित भएको महसुस गरेनौं। अन्य मानिसहरूभन्दा हामी धेरै बसाइँ सर्छौं भनेर हामीलाई थाह थियो तर सधैं पर्याप्त खान पाएकै थियौं र ओहायोमा हामीभन्दा अलि ठूलो छोरीहरू भएका केही साथीहरूले हामीलाई राम्रा लुगाहरू दिने गर्थे।”
“आमाबुबाले हामीलाई सधैं प्रेम गर्नुका साथै हाम्रो मूल्यांकन गर्नुहुन्थ्यो। अनि हामीले सेवकाईमा उहाँहरूसँग धेरै समय बिताउन पायौं। यसले गर्दा हामी उहाँहरूसँग अत्यन्तै घनिष्ठ हुन सक्यौं” भनी लुइस बताउँछिन्।
पल सम्झना गर्छन्, “मेरो १९३६ को ब्युक स्पेसल थियो। अनि यो मोडेलको गाडीको एक्सल असाध्यै बिग्रिने गर्थ्यो। गाडीको अन्य भागको निम्ति इन्जिन अत्यन्तै शक्तिशाली भएकोले त्यस्तो हुन्छ जस्तो मलाई लाग्छ। अनि प्रायः सधैं सबैभन्दा जाडो रातमा एक्सल भाँच्ने गरेको मलाई सम्झना छ र गाडीका थोत्रो पाटपुर्जा फ्याँक्ने ठाउँमा एक्सल खोज्न जानुपर्थ्यो। पाटपुर्जा फेर्ने काममा त म खप्पिसै भएँ नि।”
मेरियन भन्छिन्, “रासन कार्डचाहिं नबिर्सनुहोस्। मासु, इन्धन, गाडीको चक्का सबै रासन गरिएको हुन्थ्यो। हरेक चोटि हामी नयाँ ठाउँमा सर्दा स्थानीय अधिकारीहरूकहाँ गएर रासन कार्डको निम्ति आवेदन दिनुपर्थ्यो। यो प्राप्त गर्नको निम्ति महिनौं पनि लाग्नसक्थ्यो र हरेक चोटि बल्लतल्ल कार्ड पाएको मात्र के हुन्थ्यो अर्को असाइनमेन्टमा अन्तै कतै जाने बेला भई हाल्थ्यो र फेरि सुरुदेखि कामकुरा गर्नुपर्थ्यो। तर यहोवाले सधैं हाम्रो देखभाल गर्नुभयो।”
[चित्र]
डोरिस (बायाँ) र लुइससँग मेरियन र म, २०००
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९१८ मा म ११ वर्षको छँदा मेरी आमासँग
[पृष्ठ २६-मा भएको चित्र]
सन् १९४८ मा छोरीहरूले बप्तिस्मा लिंदा लुइस, मेरियन र डोरिससँग
[पृष्ठ २६-मा भएको चित्र]
हाम्रो विवाहको तस्बिर, अक्टोबर १९२८
[पृष्ठ २६-मा भएको चित्र]
मेरा छोरीहरू (सबैभन्दा बायाँ अनि दायाँ ) र म यांकी स्टेडियममा, १९५५