सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ

तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ

तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ

स्वतन्त्र इच्छा परमेश्‍वरले दिनुभएको वरदान हो। यो वरदानविना हामी यन्त्रमानव सरह हुनेछौं, जसको आफ्ना कार्यहरूमाथि कुनै नियन्त्रण हुँदैन। तथापि, स्वतन्त्र इच्छा हुँदा हामीले चुनौतीहरूको सामना गर्नुपर्छ। स्वतन्त्र इच्छा हुँदा हामीले जीवनमा थुप्रै निर्णय गर्नुपर्छ।

निस्सन्देह, हामीले थुप्रै सानातिना निर्णयहरू गर्नुपर्छ। तर अरू कतिपय निर्णयहरू जस्तै, कुन काम गर्ने वा विवाह गर्ने हो या नगर्ने जस्ता कुराहरूले भने हाम्रो सम्पूर्ण भविष्यलाई नै असर गर्नसक्छ। अनि अन्य कतिपय निर्णयले चाहिं अरू मानिसलाई पनि असर गर्छ। आमाबाबुले गर्ने केही निर्णयहरूले आफ्ना छोराछोरीमाथि ठूलो प्रभाव पार्छ। यसबाहेक, हामीले गर्ने थुप्रै निर्णयहरूको निम्ति हामीले परमेश्‍वरलाई लेखा दिनुपर्छ।—रोमी १४:१२.

मदत चाहिन्छ

निर्णय गर्ने सन्दर्भमा मानिसहरूको रेकर्ड राम्रो छैन। मानिसले गरेको सबैभन्दा पहिलो निर्णयको नतिजा नै विपत्तिजनक साबित भयो। परमेश्‍वरले स्पष्टसँग नखानू भन्‍नुभएको फल नै हव्वाले खाने निर्णय गरिन्‌। स्वार्थी इच्छामा आधारित तिनको निर्णयमा तिनको पतिले पनि साथ दियो, जसले गर्दा तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भए र त्यसको नतिजास्वरूप सम्पूर्ण मानिसजातिले निकै दुःखकष्ट भोग्नुपऱ्‍यो। अझै पनि थुप्रै मामिलामा मानिसहरू सही सिद्धान्तमा भन्दा स्वार्थी इच्छाहरूको आधारमा निर्णय गर्छन्‌। (उत्पत्ति ३:६-१९; यर्मिया १७:९) अनि गम्भीर निर्णयहरू गर्नुपर्दा हामी आफ्ना सीमितताहरूबारे बारम्बार सजग हुन्छौं।

त्यसैकारण, महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा थुप्रैले मानवभन्दा उच्च स्रोतबाट मदत खोज्छन्‌। नबूकदनेसरको पालामा युद्धको दौडान तिनले गर्नुपरेको महत्त्वपूर्ण निर्णय बाइबलमा रेकर्ड गरिएको छ। तिनी राजा भए तापनि तिनलाई “जोखना हेर्न” पऱ्‍यो। तसर्थ, बाइबल रेकर्ड यसो भन्छ: “त्यसले काँड़हरू हल्लायो, त्यसले घर-देवताहरूसित सल्लाह गऱ्‍यो, त्यसले मुटु छाम्यो।” (इजकिएल २१:२१) त्यसै गरी आज, थुप्रैले जोखना हेर्ने र ज्योतिषीहरू तथा अन्य माध्यमद्वारा भूतात्माको मदत लिन्छन्‌। तर यी सबै छली र बहकाउने प्रकारका छन्‌।—लेवी १९:३१.

तर एक जना हुनुहुन्छ जो पूर्णतया भरोसायोग्य हुनुहुन्छ र इतिहासभरि उहाँले मानिसजातिलाई बुद्धिमानी निर्णयहरू गर्न मदत गर्नुभएको छ। निस्सन्देह, उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ। उदाहरणका लागि, पुरातन समयमा परमेश्‍वरले आफ्नो राष्ट्र इस्राएललाई ऊरीम र तुम्मीम दिनुभयो, जुन सम्भवतः अत्यन्तै गम्भीर परिस्थितिको सामना गर्नुपर्दा प्रयोग गर्ने पवित्र जोखना थियो। ऊरीम र तुम्मीमको माध्यमद्वारा यहोवाले सीधै प्रश्‍नका जवाफहरू दिनुहुन्थ्यो र इस्राएलका बूढाप्रधानहरूले आफ्नो निर्णय उहाँको इच्छाअनुरूप छन्‌ या छैनन्‌, पक्का गर्नसक्थे।—प्रस्थान २८:३०; लेवी ८:८; गन्ती २७:२१.

अर्को उदाहरण विचार गर्नुहोस्‌। गिदोनलाई इस्राएली सेनाहरू लिएर मिद्यानीहरू विरुद्ध लड्‌न अगुवा लिन आग्रह गरिंदा तिनले यो ठूलो जिम्मेवारी स्वीकार्ने कि नस्वीकार्ने, त्यसबारे निर्णय गर्नुपऱ्‍यो। यहोवाले तिनको समर्थन गर्नुहुन्छ भन्‍ने आश्‍वासनको निम्ति गिदोनले चमत्कारी चिह्नको माग गरे। तिनले राती बाहिर छोडिएको भेडाको ऊन मात्रै शीतले भिजोस्‌ र जमिनचाहिं सुक्खै रहोस्‌ भनी प्रार्थना गरे। अनि अर्को रातचाहिं तिनले ऊनचाहिं सुक्खा र वरपरको जमिनचाहिं भिजोस्‌ भनी प्रार्थना गरे। यहोवाले दयालुपूर्वक गिदोनले माग गरेका चिह्नहरू पूरा गर्नुभयो। फलस्वरूप, गिदोनले सही निर्णय गरे र ईश्‍वरीय मदतद्वारा तिनले इस्राएलका शत्रुमाथि विजय हासिल गरे।—न्यायकर्त्ता ६:३३-४०; ७:२१, २२.

आज नि?

आज पनि यहोवाले आफ्ना सेवकहरूलाई महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा मदत दिनुहुन्छ। कसरी? के हामीले पनि के गर्ने कसो गर्ने भनेर यहोवाबाट गिदोनले जस्तै ‘ऊनको जाँचको’ माग गर्ने? एक दम्पतीले राज्य प्रचारकहरूको असाध्यै खाँचो भएको ठाउँमा सेवा गर्न जाने कि नजाने भनी विचार गरिरहेका थिए। निर्णय गर्नको लागि तिनीहरूले जाँच गर्ने प्रबन्ध मिलाए। तिनीहरूले आफ्नो घर निश्‍चित मोल तोकेर बिक्रीमा राखे। घर उनीहरूले तोकेको मोलभन्दा धेरैमा कुनै निश्‍चित दिनभित्र बिक्री भयो भने, परमेश्‍वर तिनीहरू सरेको चाहनुहुन्छ तर यदि घर बिक्री भएन भने, परमेश्‍वर तिनीहरू सरेको चाहनुहुन्‍न रहेछ भन्‍ने संकेतको रूपमा लिने तिनीहरूले निर्णय गरे।

घर बिक्री हुन सकेन। अब के त्यो यहोवा तिनीहरू आवश्‍यक बढी भएको ठाउँमा सेवा गरेको चाहनुहुन्‍न भन्‍ने संकेत हो त? निस्सन्देह, यहोवाले आफ्ना सेवकहरूको निम्ति के गर्नु हुन्छ वा के गर्नु हुन्‍न, त्यसबारे ठोकुवा गरेरै भन्‍नु त हदै हुनेछ। आज यहोवाले हामीहरूसमक्ष आफ्नो इच्छा प्रकट गर्न कहिल्यै हस्तक्षेप गर्नुहुन्‍न भनी हामी भन्‍नसक्दैनौं। (यशैया ५९:१) तथापि, हाम्रा महत्त्वपूर्ण निर्णयहरूमा त्यस्तो हस्तक्षेपको आशा गर्नु हाम्रो अधिकारको कुरा होइन। यो त हाम्रो निर्णय यहोवाको हातमा छोड्‌नु बराबर हुनेछ। आखिर गिदोनले पनि त बाँकी जीवनभरि प्रायजसो निर्णयहरू यहोवाबाट कुनै चिह्न नपाइकनै गर्नुपरेको थियो!

यद्यपि, ईश्‍वरीय डोऱ्‍याइ उपलब्ध छ भनी बाइबलले बताउँछ। हाम्रो समयबारे यसले यस्तो भविष्यवाणी गर्छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२१) हामीले महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा हाम्रा निर्णयहरू परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन पक्का गर्नु र उहाँको उच्च बुद्धि त्यसमा झल्किन्छ भनी पक्का गर्नु अत्यन्तै उत्तम कुरा हो। तर कसरी? उहाँको वचन केलाएर अनि यसलाई ‘आफ्नो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हुन दिएर।’ (भजन ११९:१०५; हितोपदेश २:१-६) यसको लागि हामीले बाइबलको सही ज्ञान लिने बानी बसाल्नुपर्छ। (कलस्सी १:९, १०) अनि कुनै निर्णय गर्नुपर्दा हामीले त्यस विषयसित सम्बन्धित सबै बाइबल सिद्धान्तहरू अनुसन्धान गर्नुपर्छ। त्यसरी अनुसन्धान गर्दा हामी ‘जे उत्तम छ, त्यो खुट्याउन सक्छौं।’—फिलिप्पी १:९, १०, नयाँ संशोधित संस्करण।

यहोवाले हाम्रो कुरा सुन्‍नुहुन्छ भनी निर्धक्क भई हामीले उहाँलाई प्रार्थना पनि गर्नुपर्छ। हाम्रो मायालु परमेश्‍वरलाई हामीले गर्नुपर्ने निर्णयहरू र हामीले सोचिरहेका विकल्पहरूबारे बताउन पाउनु साह्रै सान्त्वनाको कुरा हो! अनि हामी निर्धक्क भई सही निर्णय गर्नको लागि डोऱ्‍याइ माग्नसक्छौं। अक्सर, पवित्र आत्माले हामीलाई लागू हुने बाइबल सिद्धान्तहरूको सम्झना दिलाउँछ वा हाम्रो परिस्थितिसँग मिल्ने शास्त्र अझ स्पष्टसँग बुझ्न मदत गर्नसक्छ।—याकूब १:५, ६.

यहोवाले मण्डलीमा परिपक्व व्यक्‍तिहरूको पनि प्रबन्ध गर्नुभएको छ, जोसँग हामी आफ्ना निर्णयहरूबारे कुरा गर्नसक्छौं। (एफिसी ४:११, १२) तर अरूको सल्लाह लिने सन्दर्भमा हामी त्यस्ता व्यक्‍तिहरू जस्तो पनि हुनु हुँदैन जो आफूलाई सुन्‍न मन लागेको कुरा नसुनेसम्म एकपछि अर्को व्यक्‍तिकहाँ सल्लाह लिन जाने गर्छ। त्यसपछि तिनीहरूले तिनको सल्लाह पालन गर्छन्‌। हामीले यारोबामको चेताउनीमूलक उदाहरण पनि सम्झनुपर्छ। तिनले गम्भीर निर्णय गर्नुपर्दा आफ्नो पितासँगै सेवा गरेका बूढाप्रधानबाट उत्तम सल्लाह प्राप्त गरेका थिए। तथापि, तिनीहरूको सल्लाह पालन गर्नुको सट्टा तिनले आफूसँगै हुर्केका जवानहरूको सल्लाह लिए। तिनीहरूको सल्लाह सुनेर तिनले असाध्यै मूर्ख निर्णय गरे र यसको फलस्वरूप तिनले आफ्नो राज्यको ठूलो अंश गुमाउनुपऱ्‍यो। —१ राजा१२:१-१७.

सल्लाह लिंदा, जीवनमा निकै अनुभव बटुलिसकेका तथा धर्मशास्त्रको राम्रो ज्ञान भएका र सही सिद्धान्तहरूप्रति गहिरो आदर भएकाहरूसँग सल्लाह लिनुहोस्‌। (हितोपदेश १:५; ११:१४; १३:२०) सम्भव भएसम्म, सम्बन्धित सिद्धान्तहरूमा र तपाईंले बटुल्नु भएका सबै जानकारीहरूमा मनन गर्न समय निकाल्नुहोस्‌। तपाईंले परमेश्‍वरको वचनको ज्योतिअनुसार कामकुरा देख्न थाल्नु भएपछि सही निर्णय झन्‌ प्रस्ट हुनेछ।—फिलिप्पी ४:६, ७.

हामीले गर्ने निर्णयहरू

कुनैकुनै निर्णय सजिलै गर्न सकिन्छ। प्रचार गर्न बन्द गर्ने आदेश पाउँदा प्रेरितहरूलाई येशूबारे प्रचार गरिरहनुपर्छ भनी थाह थियो र तिनीहरूले तुरुन्तै मानिसको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने आफ्नो निर्णय महासभालाई बताए। (प्रेरित ५:२८, २९) अरू निर्णयहरू गर्नुपर्दा अलि बढी विचार गर्नुपर्ने हुनसक्छ किनभने त्यस विषयमा बाइबलले कुनै स्पष्ट निर्देशन दिएको छैन। तैपनि, बाइबल सिद्धान्तहरूले सही निर्णय गर्न अक्सर ज्योति दिन्छ। उदाहरणका लागि, आज उपलब्ध थुप्रै प्रकारका मनोरञ्जन येशूको समयमा उपलब्ध नभए तापनि कुन कुरामा यहोवा प्रसन्‍न हुनुहुन्छ र कुन कुरादेखि अप्रसन्‍न हुनुहुन्छ, त्यसबारे बाइबलमा स्पष्ट बताइएको छ। अतः हिंसा, अनैतिकता वा विद्रोह देखाउने मनोरञ्जनमा भाग लिने कुनै पनि मसीहीको निर्णय खराब हो।—भजन ९७:१०; यूहन्‍ना ३:१९-२१; गलाती ५:१९-२३; एफिसी ५:३-५.

कहिलेकाहीं दुवै निर्णय सही हुनसक्छ। आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न पाउनु ठूलो सुअवसरको कुरा हो र यसबाट निकै आशिष्‌हरू प्राप्त गर्न सकिन्छ। तर कोही व्यक्‍तिले कारणवश नसर्ने निर्णय गर्छ भने पनि तिनले आफ्नै मण्डलीमा असल कार्य गर्नसक्छन्‌। कहिलेकाहीं हामीले आफू यहोवाप्रति कति समर्पित छु भनी प्रदर्शित गर्ने वा आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा प्रदर्शित गर्ने मौका पाउँछौं। अतः यहोवाले हाम्रो हृदयको अवस्था देखाउन स्वतन्त्र इच्छा प्रयोग गर्ने मौका दिनुहुन्छ।

अक्सर अरूहरू हाम्रो निर्णयबाट प्रभावित हुन्छन्‌। उदाहरणका लागि, प्रथम शताब्दीका मसीहीहरू व्यवस्थाका थुप्रै बन्देजबाट मुक्‍त भएकोमा आनन्दित भए। व्यवस्थाअन्तर्गत अशुद्ध ठहऱ्‍याइएका खानाहरू तिनीहरूले या त खानसक्थे या इन्कार गर्नसक्थे। तैपनि, यो स्वतन्त्रता अभ्यास गर्नुअघि अरूको अन्तस्करणको विचार गर्न तिनीहरूलाई प्रोत्साहन दिइयो। यस विषयमा पावलका शब्दहरू आज हामीले गर्ने थुप्रै निर्णयमा लागू हुनसक्छ: “कसैलाई ठेस लाग्ने काम नगर्‌।” (१ कोरिन्थी १०:३२, नयाँ संशोधित संस्करण) अरूलाई ठेस नपुऱ्‍याउने इच्छाले थुप्रै निर्णय गर्न मदत गर्नसक्छ। आखिर छिमेकीलाई प्रेम गर्नु, दोस्रो सबैभन्दा महत्त्वपूर्ण आज्ञा हो।—मत्ती २२:३६, ३९.

हाम्रा निर्णयहरूको नतिजा

होसियारीसाथ असल अन्तस्करण र बाइबल सिद्धान्तहरूमा आधारित निर्णय गऱ्‍यौं भने, अन्तमा नतिजा सधैं राम्रो हुन्छ। निस्सन्देह, त्यसको लागि तत्कालै केही व्यक्‍तिगत त्यागहरू गर्नुपर्ला। प्रेरितहरूले महासभालाई येशूबारे प्रचार गर्न बन्द नगर्ने आफ्नो निर्णय बताउँदा तिनीहरूलाई छोड्‌नुअघि पिटिए। (प्रेरित ५:४०) तीन हिब्रूहरू शद्रक, मेशक र अबेद्‌नगोले, नबूकदनेसरले खडा गरेको मूर्तिसामु दण्डवत्‌ नगर्ने निर्णय गर्दा तिनीहरूले आफ्नो जीवन नै जोखिममा हाले। तिनीहरूको निर्णयको कारण मृत्यु भोग्नुपर्ने सम्भावना भए तापनि तिनीहरू त्यसको लागि तयार थिए। तर तिनीहरूको निर्णयमा परमेश्‍वरको अनुमोदन र आशिष्‌ हुनेछ भनी तिनीहरूलाई थाह थियो।—दानियल ३:१६-१९.

अन्तस्करणअनुरूप निर्णय गरिसकेपछि पनि कठिनाइको सामना गर्नुपऱ्‍यो भने, त्यो निर्णय गलत थियो भनी अड्‌कल काट्‌ने कुनै कारण छैन। जस्तै, असल निर्णय गरे तापनि “समय र अवसरले” त्यसको नतिजामा प्रतिकूल असर गर्नसक्छ। (उपदेशक ९:११) यसबाहेक, हामी कत्तिको प्रतिबद्ध छौं भनी जाँच्न यहोवाले कहिलेकाहीं दुःखकष्ट आइपर्न दिनुहुन्छ। याकूबले आशिष्‌ पाउनुअघि रातभर स्वर्गदूतसँग कुस्ती लड्‌नुपऱ्‍यो। (उत्पत्ति ३२:२४-२६) हामीले पनि सही कुरा नै गरे तापनि दुःखकष्टसित कुस्ती लड्‌नुपर्ला। तर हाम्रो निर्णय परमेश्‍वरको इच्छाअनुरूप छ भने, उहाँले हामीलाई सहन मदत दिनुका साथै अन्ततः आशिष्‌ पनि दिनुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं।—२ कोरिन्थी ४:७.

तसर्थ, महत्त्वपूर्ण निर्णयहरू गर्दा आफ्नै बुद्धिमा भर नपर्नुहोस्‌। लागू हुने बाइबल सिद्धान्तहरू खोज्नुहोस्‌। त्यस विषयमा यहोवासँग कुरा गर्नुहोस्‌। सम्भव भए, परिपक्व सँगी मसीहीहरूसँग सल्लाह लिनुहोस्‌। अनि साहसी हुनुहोस्‌। जिम्मेवार ढंगमा ईश्‍वर-प्रदत्त स्वतन्त्र इच्छा प्रयोग गर्नुहोस्‌। असल निर्णय गर्नुहोस्‌ र तपाईंको हृदय धर्मी छ भनी यहोवासामु प्रदर्शित गर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्र]

महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि परमेश्‍वरको वचन जाँच्नुहोस्‌

[पृष्ठ २८, २९-मा भएका चित्रहरू]

तपाईंले गर्नुपर्ने निर्णयहरूबारे यहोवासँग कुरा गर्नुहोस्‌

[पृष्ठ ३०-मा भएको चित्र]

तपाईं आफ्ना महत्त्वपूर्ण निर्णयहरूबारे परिपक्व मसीहीहरूसँग कुरा गर्न सक्नुहुन्छ