अधिवेशनहरू—हाम्रो भ्रातृत्वको आनन्ददायी पुष्टि
सिद्ध र पूरा निश्चय भएका होओ
अधिवेशनहरू—हाम्रो भ्रातृत्वको आनन्ददायी पुष्टि
अन्यायी तरिकामा झन्डै वर्षदिन जति झ्यालखानामा बस्नु परेकोले ५० वर्ष पुगिसकेका जोसेफ एफ. रदरफोर्ड त्यति तन्दुरुस्त थिएनन् तैपनि तिनी रमाउँदै भरियाले जस्तै सामान ओसारपसार गरिरहेका थिए। एकदमै फुर्तिलो भएर सुटकेसहरू उचाल्दै तिनी सँगी मसीहीहरूलाई होटलमा तिनीहरूको कोठासम्म पुग्न मदत गरिरहेका थिए। झ्यालखानामा सँगै परेका अन्य दुई साथीहरू अर्थात् सँगी बाइबल स्टुडेन्ट्स पनि एउटा ठूलो जमातलाई तिनीहरूको बासको प्रबन्ध कहाँ भएको छ, त्यसबारे जानकारी दिइरहेका थिए। मध्य रात बितिसक्दा पनि चहलपहल सिद्धिएको थिएन। यो उत्साह संक्रमणजस्तै सबैमा फैलिएको थियो। तर केका लागि यत्रो चहलपहल?
यो घटना सन् १९१९ को हो र क्रूर सतावट भोगेका बाइबल स्टुडेन्ट्सले (हाल यहोवाका साक्षीहरू भनेर चिनिन्छन्) सामान्य जीवन बिताउन थालेको भर्खरै मात्र भएको थिए। आफ्नो भ्रातृत्वलाई फेरि बलियो बनाउन तिनीहरूले सिडार प्वाइन्ट, ओहायो, स.रा.अ.-मा १९१९ को सेप्टेम्बर १ देखि ८ सम्म अधिवेशन आयोजना गर्दै थिए। अधिवेशनको आखिरी दिनमा भाइ रदरफोर्डले त्यहाँ उपस्थित ७,००० जनामध्ये प्रत्येकलाई यी शब्दहरूद्वारा प्रोत्साहन दिंदा तिनीहरूले रोमाञ्चित भई ध्यानसित सुने: “तपाईं राजाहरूका राजा अनि प्रभुहरूका प्रभुको राजदूत हुनुहुन्छ, हाम्रा प्रभुको महिमित राज्यबारे . . . मानिसहरूलाई घोषणा गर्ने राजदूत।”
यहोवाका जनहरूमाझ यस्ता अधिवेशनहरू पुरातन इस्राएलदेखि नै हुने गर्दर्थ्यो। (प्रस्थान २३:१४-१७; लूका २:४१-४३) यस्ता जमघटहरू परमेश्वरको वचनमा ध्यानकेन्द्रित गर्न मदत गर्ने आनन्ददायी अवसरहरू हुन्थे। त्यसै गरी, अहिले यहोवाका साक्षीहरूका अधिवेशनहरू आध्यात्मिक कामकुरामा केन्द्रित हुन्छन्। निष्कपट दर्शकहरूले यस्ता आनन्ददायी जमघटहरूद्वारा यहोवाका साक्षीहरू मसीही भ्रातृत्वको अटुट बन्धनमा बाँधिएको छ भन्ने सशक्त प्रमाण पाउँछन्।
उपस्थित हुने प्रयास
अधिवेशनहरू आध्यात्मिक स्फूर्ति र परमेश्वरको वचनबाट निर्देशन प्राप्त गर्ने समय हुन् भनेर आधुनिक समयका मसीहीहरूले बुझेका छन्। यी ठूलठूला सभाहरूलाई यिनीहरू “परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका” हुन मदत पुऱ्याउने अत्यावश्यक स्रोत ठान्छन्। (कलस्सी ४:१२) तसर्थ, साक्षीहरू सम्पूर्ण हृदयले यी जमघटहरूलाई समर्थन गर्छन् र त्यहाँ उपस्थित हुने हर प्रयास गर्छन्।
कसैकसैका लागि यस्ता अधिवेशनहरूमा उपस्थित हुन मात्र पनि ठूलो विश्वास प्रकट गर्नु र पहाडरूपी अवरोधहरूलाई जित्नु आवश्यक हुन्छ। उदाहरणका लागि, अस्ट्रियाका एक वृद्धा साक्षीलाई लिनुहोस्। मधुमेह भएकोले दिनदिनै इन्सुलिन लिनुपर्ने भए तापनि तिनी आफ्नो मुलुकमा सम्पन्न जिल्ला अधिवेशनको प्रत्येक दिन उपस्थित भइन्। भारतमा पनि अर्को अत्यन्तै गरिब ठूलो साक्षी परिवारलाई अधिवेशनमा उपस्थित हुन असम्भव लागेको थियो। परिवारका एक सदस्यले उपाय निकाले। तिनले यसो भनिन्, “अधिवेशन नछुटाउन मैले यात्रा खर्चका लागि आफ्ना सुनका यार्लिङरू बेचें।” यो त्याग व्यर्थ गएन किनकि संगति तथा अनुभवहरूले हाम्रो विश्वासलाई बलियो बनायो।”
पापुआ न्यु गिनीमा, बप्तिस्मा अप्राप्त जिज्ञासुहरूको एउटा समूहले राजधानीमा हुने जिल्ला अधिवेशनमा उपस्थित हुने अठोट गरे। तिनीहरू गाउँमा सार्वजनिक यातायातको रूपमा आफ्नो गाडी चलाइरहेको एक मानिसलाई भेट्न गए र अधिवेशन स्थलसम्म जान कति पर्छ भनेर सोधे। यातायातमा लाग्ने कुल खर्च अलि नपुग्ने भएकोले तिनीहरूले उक्त मानिसको घरमा काम गरिदिने र तिनको भान्छा कोठाको बान्की
फेर्न मदत गरिदिने वचन दिए। यसरी तिनीहरूले जिल्ला अधिवेशनमा जान अनि सम्पूर्ण कार्यक्रममा उपस्थित भएर लाभ उठाउन सके।अधिवेशनहरूमा उपस्थित भइछाड्ने संकल्प गर्ने यहोवाका साक्षीहरूलाई दूरीले छेक्न सक्दैन। सन् १९७८ मा फ्रान्सस्थित लीलेमा हुने अधिवेशनमा उपस्थित हुन पोल्याण्डका एक नौजवानले साइकल चढेर १,२०० किलोमिटर दूरी छ दिनमा तय गरे। सन् १९९७ को गृष्मऋतुमा मंगोलियाका एक विवाहित साक्षी दम्पतीले रूसको इर्कुत्स्कमा आयोजित मसीही जमघटमा भेला हुन १,२०० किलोमिटर लामो यात्रा गरे।
सक्रिय साँचो भ्रातृत्व
अधिवेशनहरूमा यहोवाका साक्षीहरूले देखाएको एकता र भ्रातृत्व निष्पक्ष अवलोकनकर्ताहरू प्रस्टै देख्छन्। अधिवेशन आउनेहरूबीच पक्षपाती भाव नभएको र पहिलो चोटि भेटघाट हुनेहरूबीच पनि एकदमै न्यायोपन देख्दा थुप्रै मानिस छक्क परेका छन्।
अस्ट्रेलियामा हालै सम्पन्न अधिवेशनमा प्रतिनिधिहरूसँगसँगै हप्ता दिनका लागि आएका टुर गाइड संगतीको आनन्द उठाउन अझ केही समय सँगै बस्न चाहे। यिनीहरूको प्रेम र एकता देखेर तिनी साह्रै प्रभावित भए। यिनीहरूमध्ये प्रायः एकअर्कासित अपरिचित थिए तरैपनि आपसमा मिलेर बसेको देख्दा तिनले त पत्याउनै सकेनन्। छुट्टिने बेलामा यिनीहरूको ध्यान खिच्न तिनी ठूलो स्वरमा बोले। “भाइबहिनीहरू” भनेर सम्बोधन गर्दै तिनले यिनीहरूलाई धन्यवाद दिए तर एकदमै भावुक भएकाले तिनले आफ्नो कुरा टुंग्याउनै सकेनन् र तिनी रुन थाले।
सन् १९९७ मा श्रीलंकाले पहिलो पटक एउटा ठूलो रंगशालामा तीनवटा भाषामा अधिवेशन आयोजना गऱ्यो। सम्पूर्ण कार्यक्रम एकसाथ तीनवटा भाषामा अर्थात् अंग्रेजी, तामिल र सिंहलीमा सम्पन्न भयो। जातीय तनाउ बढ्दै गरेको यस संसारमा तीनवटा भिन्नाभिन्नै भाषा बोल्नेहरू एकसाथ जम्मा भएको त याद नहुने कुरै थिएन। एक जना प्रहरीले हाम्रा भाइलाई सोधे: “हैन, यो अधिवेशन कुन समूहले सञ्चालन गरिरहेछ? सिंहलीहरूले कि तामिलहरूले कि अंग्रेजी भाषीहरूले?” भाइले जवाफ दिए, “कुनै पनि समूहले होइन हामी सबै मिलेर सञ्चालन गर्दैछौं।” यसो भन्दा उक्त प्रहरीले त पत्याउनै सकेनन्। समापन प्रार्थनामा तीनै समूहले एकसाथ “आमिन” भनेको आवाज रंगशालामा गुञ्जँदा उपस्थित सबैले ताली बजाउन थाले। आँसुले आँखा नभिजेकाहरू कमै थिए। हो, अधिवेशनहरू हाम्रो भ्रातृत्वको साँच्चै आनन्ददायी पुष्टि हो।—भजन १३३:१. a
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज् विट्नेसेज—प्रोक्लेमर्स अफ गड्स किङडम पुस्तकको पृष्ठ ६६-७७, २५४-८२ हेर्नुहोस्।