सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई यहोवाको आशिष्‌ लाग्नेछ?

के तपाईंलाई यहोवाको आशिष्‌ लाग्नेछ?

के तपाईंलाई यहोवाको आशिष्‌ लाग्नेछ?

“परमप्रभु आफ्ना परमेश्‍वरको वचन पालन गऱ्‍यौ भने यी सबै आशिष तिमीहरूलाई लाग्ने छन्‌, र तिमीहरू आशीषित हुनेछौ।”—व्यवस्था २८:२.

१. इस्राएलीहरूले आशिष्‌ अथवा सराप के पाउने हो, त्यसको निर्णय केले गर्ने थियो?

 उजाडस्थानको ४० वर्षे पदयात्राको अन्ततिर इस्राएलीहरूले मोआबको बेंसीमा पाल टाँगेका थिए। प्रतिज्ञा गरिएको देश तिनीहरू सामु थियो। त्यतिखेर मोशाले व्यवस्थाको पुस्तक लेखे, जसमा आशिष्‌ र सरापका कुराहरू पनि छन्‌। इस्राएली जनताले यहोवाको ‘वचन पालन गरेमा’ तिनीहरूलाई “आशिष्‌ लाग्ने” थियो। यहोवाले तिनीहरूलाई “आफ्नै प्रजा[लाई]” जस्तै माया गर्नुभएको थियो र तिनीहरूको हितका लागि आफ्नो शक्‍ति प्रदर्शन गर्न चाहनुहुन्थ्यो। तर तिनीहरूले उहाँको वचन पालन नगरेको खण्डमा तिनीहरूमाथि पक्कै सराप आइपर्ने थियो।—व्यवस्था ८:१०-१४; २६: १८; २८:२, १५.

२. व्यवस्था २८:२ मा “वचन पालन गऱ्‍यौं” र “लाग्ने” भनी अनुवाद गरिएका हिब्रू क्रियाहरूको अर्थ के हो?

व्यवस्था २८:२ मा “वचन पालन गऱ्‍यौ” भनेर अनुवाद गरिएको हिब्रू क्रियाले निरन्तर चलिरहने प्रक्रियालाई बुझाउँछ। यहोवाका जनहरूले उहाँको वचन कहिलेकाहीं मात्र सुन्‍ने होइन तर हर समय, हर विषयमा सुनिरहनैपर्छ। त्यसपछि मात्र परमेश्‍वरको आशिष्‌ उनीहरूलाई लाग्नेछ। “लाग्ने” भनेर अनुवाद गरिएको हिब्रू क्रिया सिकार खेल्नुसित सम्बन्धित छ र अक्सर यसको अर्था “समात्नु” वा “भेट्टाउनु” हुन्छ।

३. हामी कसरी यहोशूजस्तै हुन सक्छौं र यो किन अत्यन्तै महत्त्वपूर्ण छ?

इस्राएली नेता यहोशूले यहोवाको वचन सुन्‍ने छनौट गरे र आशिष्‌ पनि पाए। यहोशूले यसो भने: “तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज। . . . तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” तब मानिसहरूले यस्तो जवाफ दिए: “परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न हामीले नपरोस्‌।” (यहोशू २४:१५, १६) आफ्नो राम्रो मनोवृत्तिले गर्दा यहोशू प्रतिज्ञा गरिएको मुलुकमा छिर्ने सुअवसर पाउने थोरै मानिसहरूमध्ये एक भए। आज, हामी इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको मुलुकभन्दा कता हो कता राम्रो देश अर्थात्‌ पार्थिव प्रमोदवनमा प्रवेश गर्नै लागेका छौं, जहाँ परमेश्‍वरको अनुमोदन पाउनेहरूले यहोशूको पालामा भन्दा प्रचुर मात्रामा आशिष्‌हरू पाउनेछन्‌। के तपाईंलाई यस्ता आशिष्‌हरू लाग्नेछन्‌? यहोवाको वचन सुनिरहनुभयो भने अवश्‍य लाग्नेछन्‌। यसो गर्ने तपाईंको संकल्पलाई बलियो बनाउन पुरातन इस्राएलको राष्ट्रिय इतिहास र व्यक्‍तिविशेषलाई विचार गर्नुहोस्‌।—रोमी १५:४.

आशिष्‌ कि सराप?

४. सुलेमानको प्रार्थनाको जवाफमा परमेश्‍वरले के दिनुभयो र हामीले यस्ता आशिष्‌हरूबारे कस्तो महसुस गर्नुपर्छ?

राजा सुलेमानको शासनकालभरि नै इस्राएलीहरूले यहोवाका असामान्य आशिष्‌हरू पाएका थिए। तिनीहरू सुरक्षित थिए र असल थोकहरूको प्रशस्त मात्रामा आनन्द उठाए। (१ राजा ४:२५) सुलेमानले परमेश्‍वरसित भौतिक सरसम्पत्ति नमागेको भए तापनि तिनको सरसम्पत्तिको सर्वत्र चर्चा चल्यो। बरु, कलिलै अनि अनुभवहीन छँदै तिनले आज्ञाकारी हृदय दिनुहोस्‌ भनी प्रार्थना गरेका थिए। अनि यहोवाले तिनलाई बुद्धि र समझ दिनुहुँदै तिनको यो आग्रह पूरा गरिदिनुभयो। यसरी सही र गलत छुट्‌याउँदै सुलेमानले जनताको उचित न्याय गर्न सके। परमेश्‍वरले तिनलाई सरसम्पत्ति र महिमा दिनुभए तापनि जवान छँदा सुलेमानले आध्यात्मिक सरसम्पत्तिको निकै कदर गरे। (१ राजा ३:९-१३) हामी चाहे भौतिक तवरमा सम्पन्‍न होऔं या नहोऔं, यदि हामीले यहोवाको अनुमोदन पाएका छौं र आध्यात्मिक तवरमा सम्पन्‍न छौं भने, हामी अत्यन्तै कृतज्ञ हुन सक्छौं!

५. यहोवाको वचन सुन्‍न छाडेको कारण इस्राएल र यहूदाका मानिसहरूलाई के भयो?

इस्राएलीहरूले परमेश्‍वरले दिनुभएको आशिष्‌को मूल्यांकन गर्न सकेनन्‌। परमेश्‍वरको वचनलाई सुनी नरहेकाले भविष्यवाणी गरिएका सराप तिनीहरूलाई लाग्यो। फलतः तिनीहरूले शत्रुहरूको हातबाट नमीठो पराजय भोगे र इस्राएल र यहूदाका मानिसहरू निर्वासित भए। (व्यवस्था २८:३६; २ राजा १७:२२, २३; २ इतिहास ३६:१७-२०) यहोवाको वचन सुनिरहनेहरूलाई मात्र ईश्‍वरीय आशिष्‌हरू लाग्नेछन्‌ भनेर के परमेश्‍वरका जनहरूले यस्तो दुःखकष्टबाट पाठ सिके? सा.यु.पू. ५३७ मा आफ्नो मातृभूमि फर्केका शेष यहूदीहरूले “बुझ्ने हृदय” पाए कि पाएनन्‌ र अहिले परमेश्‍वरको वचनलाई सुनिरहनु आवश्‍यक छ भनेर बुझे कि बुझेनन्‌, त्यो देखाउने मौका पाएका थिए।—भजन ९०:१२.

६. (क) आफ्ना जनहरूलाई भविष्यवाणी सुनाउन यहोवाले हाग्गै र जकरियालाई किन पठाउनुभयो? (ख) परमेश्‍वरले हाग्गैमार्फत दिनुभएको सन्देशमा कुन सिद्धान्त व्याख्या गरिएको छ?

निर्वासनबाट फर्केका यहूदीहरूले वेदी खडा गरे र यरूशलेमको मन्दिर पुनर्निर्माण गर्न थाले। तर घोर विरोघ आइपर्दा तिनीहरूको उत्साह सेलाउन थाल्यो र निर्माण कार्य ठप्प रोकियो। (एज्रा ३:१-३, १०; ४:१-४, २३, २४) तिनीहरूले व्यक्‍तिगत सुखसयललाई पनि प्राथमिकता दिन थाले। यसर्थ, आफ्ना मानिसहरूलाई साँचो उपासनाको निम्ति फेरि उत्साहित गर्न परमेश्‍वरले हाग्गै र जकरियाजस्ता अगमवक्‍ताहरूलाई पठाउनुभयो। हाग्गैमार्फत यहोवाले यसो भन्‍नुभयो: “[उपासनाको] यो भवन उजाड़ परिरहेको छँदा छँदै पनि के तिमीहरू आफूचाहिं छाना भएका घरमा बस्ने समय छ र? . . . तिमीहरू आफ्ना आफ्ना चालको विचार गर। तिमीहरूले छर्न ता धेरैनै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान ता खान्छौ, तर अघाउँदैनौ। . . . कमाइ गर्नेले पनि कमाएर ल्याएको जति छेंड़ परेको थैलीमा राख्तछौ।” (हाग्गै १:४-६) भौतिक कुराहरू प्राप्त गर्ने धुनमा आध्यात्मिक कामकुरालाई त्याग्दा यहोवाको आशिष्‌ प्राप्त हुँदैन।—लूका १२:१५-२१.

७. किन यहोवाले यहूदीहरूलाई “तिमीहरूका आफ्ना आफ्ना चालको विचार गर” भन्‍नुभयो?

विरोधको बावजूद परमेश्‍वरप्रति आज्ञाकारी भएको खण्डमा मात्र आकाशको पानी र उब्जनी दिनुभएर परमेश्‍वरले उनीहरूमाथि आशिष्‌ वर्षाउनुहुनेछ भन्‍ने कुरा यहूदीहरूले दैनिक कामकुरामा चुर्लुम्म डुबेकोले बिर्से। (हाग्गै १:९-११) त्यसैकारण, यो अर्ती कत्ति सुहाउँदो छ: “तिमीहरूका आफ्ना आफ्ना चालको विचार गर”! (हाग्गै १:७) वस्तुतः परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुहुँदै थियो: ‘सोच! तिमीहरूले खेतबारीमा गरेको निरर्थक प्रयास र मेरो घरको उजाड अवस्थाबीचको सम्बन्धलाई याद गर्‌।’ यहोवाका अगमवक्‍ताहरूले प्रेरणा पाएर बोलेका शब्दहरू अन्ततः तिनीहरूका श्रोताहरूको हृदयमा गड्यो किनकि मानिसहरूले मन्दिरको काम पुनः सुरु गरे र सा.यु.पू. ५१५ मा त्यो काम सिध्याए।

८. मलाकीको पालाका यहूदीहरूलाई परमेश्‍वरले कस्तो आग्रह गर्नुभयो र किन?

पछि, मलाकी अगमवक्‍ताको पालामा यहूदीहरू फेरि आध्यात्मिक तवरमा धरमराउन थाले र परमेश्‍वरलाई मन नपर्ने बलिदानहरूसमेत चढाउन थाले। (मलाकी १:६-८) तसर्थ, यहोवाले तिनीहरूलाई उहाँको भण्डारमा फसलको दशांश ल्याउन र उहाँले स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने गरी तिनीहरूमाथि आशिष्‌ वर्षाउनुहुन्छ कि हुन्‍न, जाँचेर हेर्न आग्रह गर्नुभयो। (मलाकी ३:१०) यहूदीहरू मूर्ख हुँदै जुन स्रोत तथा साधन प्राप्त गर्न संघर्ष गरिरहेका थिए, जुन यदि तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुरा सुनिरहेका भए उहाँ आफैले ती प्रशस्त गरी दिनुहुने थियो!—२ इतिहास ३१:१०.

९. बाइबलमा रेकर्ड गरिएका कुन तीन व्यक्‍तिहरूको जीवन हामी जाँच्नेछौं?

बाइबलका रेकर्डहरूले इस्राएलको राष्ट्रिय इतिहास प्रस्तुत गर्नुका साथै यहोवाले भन्‍नुभएका कुराहरू सुनिरहँदा र सुन्‍न छाड्‌दा आशिष्‌ वा सराप पाउने व्यक्‍तिविशेषहरूको जीवनबारे पनि बताउँछ। आउनुहोस्‌, तिनीहरूमध्ये तीन जना अर्थात्‌ बोअज, नाबाल र हन्‍नाबाट हामी के सिक्न सक्छौं, हेरौं। यस सम्बन्धमा तपाईंलाई रूथको पुस्तकलगायत १ शमूएल १:१–२:२१ र १ शमूएल २५:२-४२ पढ्‌न मन पर्ला।

बोअजले परमेश्‍वरको वचन सुने

१०. बोअज र नाबालबीच कस्तो समानता पाइन्छ?

१० बोअज र नाबाल समकालीन नभए तापनि तिनीहरूबीच केही कुरामा भने समानता पाइन्छ। जस्तै, यी दुवै जना यहूदामा बस्थे। यिनीहरू दुवै धनी जमिनदार थिए र दुवैसित खाँचोमा परेकाहरूप्रति दया देखाउने विशेष मौका थियो। तर यिनीहरूबीच पाउने समानता यति मात्रै थियो।

११. बोअजले कसरी परमेश्‍वरको वचन सुनिरहेको छु भनेर देखाए?

११ बोअज, इस्राएलका न्यायकर्ताहरूको पालाका मानिस थिए। तिनी अरूसित आदरपूर्वक व्यवहार गर्थे र कटनी गर्नेहरूले पनि तिनलाई निकै सम्मान र माया गर्थे। (रूथ २:४) व्यवस्थाको आज्ञाबमोजिम बोअजले दुःखकष्टमा परेका र गरिबहरूलाई आफ्नो खेतमा सिलाबाला बटुल्न दिन्थे। (लेवी १९:९, १०) रूथ र नाओमीबारे थाह पाउँदा र रूथले आफ्नी वृद्ध सासुको लालनपालन गर्न अथक प्रयास गरेको देख्दा बोअजले के गरे? तिनले रूथलाई विशेष ध्यान दिए र उनलाई आफ्नो खेतमा सिलाबाला बटुल्न दिनू भनी आफ्ना कामदारहरूलाई आज्ञा दिए। आफ्नो बोली र मायालु कामबाट बोअजले आफू आध्यात्मिक झुकाउ भएको र यहोवाको वचन सुन्‍ने व्यक्‍ति हो भनेर प्रकट गरे। त्यसकारण, तिनले परमेश्‍वरको अनुग्रह र आशिष्‌ पाए।—लेवी १९:१८; रूथ २:५-१६.

१२, १३. (क) मोल तिरेर छुटाउने व्यवस्था पालन गरेर बोअजले कसरी गहिरो आदर देखाए? (ख) बोअजले परमेश्‍वरबाट कस्ता ईश्‍वरीय आशिष्‌हरू पाए?

१२ मोल तिरेर छुटाउने सम्बन्धमा परमेश्‍वरको व्यवस्था निःस्वार्थ भई पालन गर्नु, बोअजले यहोवाको वचन सुनिरहेका थिए भन्‍ने कुराको उत्कृष्ट प्रमाण हो। नाओमीको मृत पति एलीमेलेकको पुर्ख्यौली सम्पत्ति तिनकै परिवारले पाओस्‌ भनेर पक्का गर्न बोअजले निकै प्रयास गरे। “दाज्यू कि भाइले गर्ने कर्त्तव्य पूरा” गर्नैपर्ने व्यवस्थाअनुसार विधवाले आफ्नो मृत श्रीमान्‌को नातेदारसित विवाह गर्नुपर्थ्यो ताकि तिनीहरूबाट जन्मेको छोराले पुर्ख्यौली सम्पत्ति पाउन सकोस्‌। (व्यवस्था २५:५-१०; लेवी २५:४७-४९) नाओमीले बच्चा जन्माउने उमेर पार गरिसकेकी हुँदा नाओमीको साटो रूथ विवाह गर्न तयार भइन्‌। एलीमेलेकका नजिकका नातेदारले नाओमीलाई मदत गर्न नचाहेको कारण बोअज आफैले रूथलाई आफ्नी पत्नीको रूपमा स्वीकारे। तिनीहरूको छोरा ओबेदलाई नाओमीको सन्तान मानियो र यसरी तिनी एलीमेलेकका उत्तराधिकारी भए।—रूथ २:१९, २०; ४:१, ६, ९, १३-१६.

१३ निःस्वार्थ भई परमेश्‍वरको व्यवस्था पालन गरेकोले बोअजलाई प्रशस्त आशिष्‌ लाग्यो। तिनीहरूको छोरा ओबेदमार्फत तिनी र रूथले येशू ख्रीष्टको पुर्खा हुने विशेषाधिकार पाए। (रूथ २:१२; ४:१३, २१, २२; मत्ती १:१, ५, ६) बोअजका निःस्वार्थ कार्यहरूबाट हामी अरूलाई माया देखाउने र परमेश्‍वरले चाहनुभएको कुराबमोजिम गर्नेहरूमाथि आशिष्‌ लाग्नेछ भन्‍ने कुरा सिक्न सक्छौं।

नाबालले सुनेनन्‌

१४. नाबाल कस्ता मानिस थिए?

१४ बोअजको ठीक विपरीत नाबालले परमेश्‍वरको वचन सुनेनन्‌। “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” भन्‍ने परमेश्‍वरको व्यवस्था तिनले उल्लंघन गरे। (लेवी १९:१८) नाबाल आध्यात्मिक झुकाउ भएको मानिस थिएनन्‌; तिनी “निष्ठूर नीच मानिस” थिए। तिनका आफ्नै मानिसहरूले तिनलाई “व्यर्थका मानिस” ठान्थे। तिनको नाउँको अर्थ “मूर्ख” हो र यो तिनलाई ठ्याक्कै सुहाउँछ पनि। (१ शमूएल २५:३, १७, २५) त्यसोभए, खाँचोमा परेको व्यक्‍ति अर्थात्‌ यहोवाको अभिषिक्‍त जन दाऊदलाई दया देखाउने मौका पाउँदा नाबालले के गरे?—१ शमूएल १६:१३.

१५. नाबालले दाऊदसित कस्तो व्यवहार गरे र यस सम्बन्धमा अबिगेल आफ्नो श्रीमान्‌भन्दा कसरी फरक ठहरिन्‌?

१५ नाबालको बगाल नजिकै पाल टाँगेर बसेको बेला दाऊद र तिनका मानिसहरूले ज्याला नै नमागी तिनको बगाललाई लुटेराहरूबाट जोगाएका थिए। नाबालको एक गोठालाले यसो भने: “तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए।” तथापि, दाऊदका सन्देशवाहकहरूले अलिकता खानेकुरा माग्दा भने नाबालले “उनीहरूलाई हकारे” र रित्तो हात फर्काइदिए। (१ शमूएल २५:२-१६) नाबालकी श्रीमती अबिगेलले दाऊदकहाँ तुरुन्तै खानेकुरा लगिदिइन्‌। रिसले चूर भएका दाऊद नाबाल र तिनका मानिसहरूलाई खतम पार्न हिंड्‌नै लागेका थिए। धन्य यसरी अबिगेलले अघि सरेर काम गरेको कारण थुप्रैको ज्यान जोगियो र दाऊद पनि रक्‍तदोषबाट जोगिए। तर नाबालको लोभ र क्रूरताको कुनै सीमा नै थिएन। दसदिन जतिपछि “परमप्रभुले त्यसलाई फेरि प्रहार गर्नुभयो, र त्यो मऱ्‍यो।”—१ शमूएल २५:१८-३८.

१६. हामी कसरी बोअजको अनुकरण गर्न सक्छौं र नाबालको मार्गलाई त्याग्न सक्छौं?

१६ बोअज र नाबालबीच कत्रो भिन्‍नता! हामीले नाबालको जस्तो क्रूर र स्वार्थी मार्ग त्याग्नुपर्छ भने बोअजको जस्तो दयालु र निःस्वार्थ भाव अनुकरण गर्नुपर्छ। (हिब्रू १३:१६) प्रेरित पावलको यो सल्लाह पालन गरेर हामी त्यसै गर्न सक्छौं: “मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) आज, पार्थिव आशा भएका येशूका “अरू भेड़ा[हरूसित]” स्वर्गमा अमर जीवन पाउने यहोवाका अभिषिक्‍त, १,४४,००० मध्येका शेष जनका लागि असल काम गर्ने सुअवसर छ। (यूहन्‍ना १०:१६; १ कोरिन्थी १५:५०-५३; प्रकाश १४:१, ४) तिनीहरूले गरेको यस्तो मायालु व्यवहारलाई येशूले व्यक्‍तिगत तवरमा आफैलाई गरेजस्तो ठान्‍नुहुन्छ र यसो गर्दा प्रशस्त मात्रामा यहोवाको आशिष्‌ पाइन्छ।—मत्ती २५:३४-४०; १ यूहन्‍ना ३:१८.

हन्‍नाका परीक्षा तथा आशिष्‌हरू

१७. हन्‍नाले कस्तो परीक्षाको सामना गर्नुपऱ्‍यो र तिनले कस्तो मनोवृत्ति देखाइन्‌?

१७ यहोवाको आशिष्‌ भक्‍तालु स्त्री हन्‍नालाई पनि लाग्यो। तिनी आफ्ना लेवी पति एल्कानासित एप्रैमको पहाडी देशमा बस्थिन्‌। व्यवस्थाले अनुमति दिएको कारण तिनकी अर्की पत्नी—पनिन्‍ना पनि थिइन्‌। हन्‍ना बाँझी थिइन्‌ भने पनिन्‍नाका थुप्रै छोराछोरी थिए। बाँझी हुनु भनेको इस्राएली आइमाईको लागि ठूलो अपमान थियो। (१ शमूएल १:१-३; १ इतिहास ६:१६, ३३, ३४) तथापि, हन्‍नालाई सान्त्वना दिनुको सट्टा पनिन्‍ना तिनीसित यत्तिबिघ्न दुच्छर व्यवहार गर्थिन्‌ कि अपमानित हन्‍ना धुरुधुरु रुन्थिन्‌ र खान मन पनि गर्दिनन्‌ थिइन्‌। योभन्दा पनि दुःखको कुरा त के थियो भने, स-परिवार शीलोमा यहोवाको भवनमा गएपिच्छे यो क्रम “सालसालै” हुन्थ्यो। (१ शमूएल १:४-८) पनिन्‍ना कस्ती निर्दयी! अनि हन्‍ना सामु कत्रो परीक्षा! तैपनि, हन्‍नाले कहिल्यै यहोवालाई दोष दिइनन्‌; न त आफ्ना पति शीलोमा जाँदा तिनी घरैमा बसिरहन्थिन्‌। तर अन्ततः तिनले प्रचुर मात्रामा आशिष्‌ पाउनै लागेकी थिइन्‌।

१८. हन्‍नाले कस्तो उदाहरण बसालिन्‌?

१८ आज यहोवाका जनहरूका लागि र विशेष गरी अरूको छुद्र बोलीले चोट लागेकाहरूका लागि हन्‍नाले साह्रै राम्रो उदाहरण बसालेकी छे। यस्तो अवस्थामा सबैदेखि टाढिएर एक्लै बस्नु समस्याको समाधान कदापि पनि होइन। (हितोपदेश १८:१) परमेश्‍वरको वचन सिकाइने र उपासना गर्न उहाँका मानिसहरू भेला हुने ठाउँमा जाने आफ्नो इच्छालाई हन्‍नाले परीक्षामा पर्दा गुमाइनन्‌। यसप्रकार तिनी आध्यात्मिक तवरमा बलियो भइरहिन्‌। पहिलो शमूएल २:१-१० मा लिपिबद्ध तिनको सुन्दर प्रार्थनामा तिनको आध्यात्मिकताको गहिराइ झल्किन्छ। a

१९. आध्यात्मिक कुराहरूका लागि हामी कसरी मूल्यांकन जाहेर गर्न सक्छौं?

१९ यहोवाका वर्तमान सेवकहरू बासस्थानमा उपासना गर्दैनन्‌। तथापि, हामी हन्‍नाले जस्तै आध्यात्मिक कुराहरूका लागि मूल्यांकन देखाउन सक्छौं। जस्तै, मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा नियमित तवरले उपस्थित भएर आध्यात्मिक धनसम्पत्तिप्रति हामी गहिरो मूल्यांकन व्यक्‍त गर्न सक्छौं। हामीलाई ‘निर्भयसँग उहाँकै सामुन्‍ने पवित्रता र धार्मिकतामा जीवनभरि उहाँको सेवा गर्न’ मन्जुरी दिनुहुने यहोवाको साँचो उपासना गर्न एकअर्कालाई प्रोत्साहन दिन यी अवसरहरू प्रयोग गरौं।—लूका १:७४, ७५; हिब्रू १०:२४, २५.

२०, २१. हन्‍नाले आफ्नो ईश्‍वरीय भक्‍तिको कस्तो इनाम पाइन्‌?

२० यहोवाले हन्‍नाको ईश्‍वरीय भक्‍ति याद गर्नुभयो र प्रशस्त आशिष्‌ दिनुभयो। शीलोमा जान सम्पूर्ण परिवारले वर्षेनी गर्ने एउटा यात्रामा गहभरि आँसु पार्दै हन्‍नाले परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्दै यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका परमप्रभु, यदि तपाईंले मेरो दुःख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, औ यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु।” (१ शमूएल १:९-११) परमेश्‍वरले हन्‍नाको बिन्ती सुन्‍नुभयो र तिनलाई आशिष्‌ दिनुभयो। फलतः हन्‍नाले छोरा जन्माइन्‌ र तिनले यस छोराको नाउँ शमूएल राखे। बच्चालाई दूध छुटाएपछि बच्चाले शीलोमा सेवा गर्न सकून्‌ भनेर तिनले बच्चालाई शीलोमा लगिन्‌।—१ शमूएल १:२०, २४-२८.

२१ हन्‍नाले परमेश्‍वरको निम्ति प्रेम प्रकट गरिन्‌ र शमूएलको सम्बन्धमा आफूले गरेको भाकल पूरा गरिन्‌। अनि आफूले माया गरेको छोराले यहोवाको बासस्थानमा सेवा गरेको कारण तिनी र एल्कानाले पाएको आशिष्‌लाई विचार गर्नुहोस्‌ त! आफ्ना छोराछोरीले पूर्ण-समय अग्रगामी सेवक वा बेथेल परिवारको सदस्यको रूपमा अथवा अन्य तरिकामा यहोवाको आदर गरेको देख्दा आज थुप्रै मसीही आमाबाबु पनि यस्तै आनन्द र आशिष्‌ पाएको महसुस गर्छन्‌।

यहोवाको वचन सुनिरहनुहोस्‌!

२२, २३. (क) यहोवाको वचन सुनिरह्‍यौं भने के पक्कै हुनेछ भनेर हामी आशा गर्न सक्छौं? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

२२ यहोवाले भन्‍नुहुने कुरा सुनिरह्‍यौं भने हामी कुन कुरामा पक्का हुन सक्छौं? परमेश्‍वरलाई सम्पूर्ण प्राणले प्रेम गऱ्‍यौं र आफ्नो जीवनशैलीद्वारा उहाँका समर्पित सेवकहरू हौं भनेर देखायौं भने, हामी आध्यात्मिक तवरमा सम्पन्‍न हुनेछौं। यसो गर्दा कठिन परीक्षाहरू सामना गर्नुपर्ला तापनि यहोवाको आशिष्‌ पक्कै हामीलाई लाग्नेछ र त्यो आशिष्‌ हामीले सोचेभन्दा कता हो कता धेरै हुनेछ।—भजन ३७:४; हिब्रू ६:१०.

२३ परमेश्‍वरका जनहरूले भविष्यमा थुप्रै आशिष्‌ पाउनेछन्‌। यहोवाको वचन आज्ञाकारी भएर सुनिरहेको कारण “ठूलो भीड़” “महासंकष्ट[मा]” जोगिनेछन्‌ र परमेश्‍वरको नयाँ संसारमा जीवनको आनन्द उठाउनेछन्‌। (प्रकाश ७:९-१४; २ पत्रुस ३:१३) त्यहाँ परमेश्‍वरले आफ्ना जनहरूको प्रत्येक जायज इच्छा पूरा गर्नुहुनेछ। (भजन १४५:१६) तथापि, परमेश्‍वरको वचन सुनिरहनेहरूले अहिले पनि ‘माथिबाट असल दान र उत्तम वरदानहरू’ प्राप्त गर्छन्‌ भनी यसपछिको लेखले देखाउनेछ।—याकूब १:१७.

[फुटनोट]

a हन्‍नाको अभिव्यक्‍ति केही हदसम्म कन्येकेटी मरियमले आफू मसीहको आमा बन्‍न लागेको थाह पाउँदा व्यक्‍त गरेकी अभिव्यक्‍तिसित मिल्दोजुल्दो छ।—लूका १:४६-५५.

के तपाईंलाई सम्झना छ?

• ईश्‍वरीय आशिष्‌बारे इस्राएलको इतिहासले हामीलाई के बताउनसक्छ?

• बोअज र नाबाल कसरी भिन्‍न थिए?

• हामी कसरी हन्‍नाको अनुकरण गर्न सक्छौं?

• हामीले किन यहोवाको वचन सुनिरहनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

राजा सुलेमानले बुझ्ने हृदय दिनुहोस्‌ भन्दै प्रार्थना गरे र यहोवाले तिनलाई बुद्धि दिनुभएर आशिष्‌ दिनुभयो

[पृष्ठ १२-मा भएको चित्र]

बोअजले अरूसित आदरसहित दयालु हुँदै व्यवहार गरे

[पृष्ठ १५-मा भएको चित्र]

यहोवामा भर परेको कारण हन्‍नाले प्रचुर मात्रामा आशिष्‌ पाइन्‌