के तपाईं यस संसारलाई राम्रो ठाउँ बनाउन सक्नुहुन्छ?
के तपाईं यस संसारलाई राम्रो ठाउँ बनाउन सक्नुहुन्छ?
“राजनीतिले समाजलाई जोड्न सकेको छैन। यसले परम्परागत नैतिक विश्वासहरूलाई पुनःस्थापित गर्न सकेको छैन। राम्राभन्दा राम्रा नीतिहरूले समेत विवाह पूर्वको भेटघाट वा वैवाहिक जीवनमा पुराना मूल्य तथा मान्यताहरू फर्काउन, छोराछोरी रेखदेख गर्न बाबुलाई जिम्मेवार बनाउन सकेका छैनन्। पहिले पहिले कुनै अनैतिक काम गर्दा मानिसहरू लजाउँथे वा अरूले त्यसो गरेको सुन्दा रिसाउँथे। तर ती नीतिहरूले अहिले फेरि मानिसलाई त्यस्तो महसुस गराउन सकेका छैनन्। हामीलाई संकटमा पार्ने तीन थुप्रा नैतिक समस्याहरूलाई कानुनले नामेट पार्न सक्दैन।”
के तपाईं अमेरिकाका भूतपूर्व सरकारी पार्श्ववर्तीले भनेका उपरोक्त कुरासित सहमत हुनुहुन्छ? सहमत हुनुहुन्छ भने, के लोभ, परिवारभित्र स्वाभाविक स्नेहको कमी, स्वछन्द नैतिकता, अज्ञानता र समाजलाई भित्रभित्रै खोक्रो बनाउने अरू तत्त्वहरूको कुनै समाधान छ? केही मानिसहरूलाई कुनै समाधान छ जस्तो लाग्दैन। त्यसैकारण, तिनीहरू आफ्नै दिनचर्यामा मात्र व्यस्त रहन्छन्। अरू मानिसहरूचाहिं कुनै दिन प्रभावशाली र विलक्षण गुणले युक्त नेता, हुनसक्छ धार्मिक नेता देखा पर्नेछन् र तिनीहरूलाई सही दिशातर्फ डोऱ्याउनेछन् भन्ने विश्वास गर्छन्।
वास्तवमा, दुई हजार वर्षअघि मानिसहरू येशू ख्रीष्टलाई आफ्नो राजा बनाउन चाहन्थे। किनभने उहाँलाई परमेश्वरले पठाउनुभएको हो र उहाँ नै सबैभन्दा योग्य शासक हुन सक्नुहुन्छ भन्ने कुरा तिनीहरूले महसुस गरे। तर येशूले तिनीहरूको मनशाय बुझ्नुभयो र त्यहाँबाट तुरुन्तै गइहाल्नुभयो। (यूहन्ना ६:१४, १५) पछि उहाँले रोमी शासकलाई “मेरो राज्य यस संसारको होइन” भनी भन्नुभयो। (यूहन्ना १८:३६) तथापि, हिजोआज थोरैले मात्र येशूले लिनुभए जस्तै अडान लिन्छन्। अझ भनौं भने, उहाँकै चेला हौं भनेर दाबी गर्ने धार्मिक नेताहरूले समेत त्यस्तो अडान लिएका छैनन्। यिनीहरूमध्ये कसैकसैले सांसारिक शासकहरूलाई प्रभाव पारेर वा आफैले राजनीतिक पद धारण गरेर यस संसारलाई राम्रो ठाउँ बनाउने प्रयास गरेका छन्। सन् १९६० तथा ७० को दशकका घटनाहरूलाई केलायौं भने हामी यो कुरा थाह पाउन सक्छौं।
संसारलाई राम्रो बनाउन धार्मिक प्रयास
सन् १९६० दशकको अन्ततिर केही खास धर्मविद्हरू ल्याटिन अमेरिकी देशहरूमा गरिब तथा दलितहरूका लागि लड्न थाले। यो लक्ष्य प्राप्त गर्न तिनीहरूले मुक्तिको धर्म सिद्धान्त विकास गरे। यो सिद्धान्तअनुसार ख्रीष्ट बाइबलीय दृष्टिकोणमा मात्र नभई राजनीतिक तथा आर्थिक दृष्टिकोणमा पनि मुक्तिदाता हुनुहुन्छ। अमेरिकामा खस्कँदो नैतिक मूल्य तथा मान्यताहरूदेखि चिन्तित भएका थुप्रै चर्चका नेताहरूले मोरल मेजोरिटी (नैतिक बहुमत) नामक संगठनको स्थापना गरे। यसको उद्देश्य स्वस्थकर पारिवारिक मूल्य तथा मान्यताहरूसम्बन्धी कानुन बनाउन चाहने व्यक्तिलाई राजनैतिक कुर्सीमा पुऱ्याउनु थियो। त्यस्तै गरी, मुस्लिम मुलुकहरूमा थुप्रै समूहले भ्रष्टाचार र ज्यादती रोक्न एक-एक कुरा कुरानअनुसार गर्ने प्रयास गरेका छन्।
के त्यस्ता प्रयासहरूले गर्दा संसार राम्रो ठाउँ बनेको छ भनेर तपाईं विश्वास गर्नुहुन्छ? सारांशमा भन्ने हो भने, नैतिक मूल्य तथा मान्यता झन्झनै खस्कँदै गइरहेको र मुक्तिको सिद्धान्तले ठूलो स्थान पाएका राष्ट्रहरूमा समेत धनी र गरिबबीचको फाटो बढ्दै गएको छ भन्ने कुरा तथ्यहरूले देखाउँछ।
संयुक्त राज्यमा मोरल मेजोरिटी (नैतिक बहुमत) आफ्ना
मुख्य लक्ष्यहरू हासिल गर्न असफल भएपछि संस्थापक जेरी फालवेलले यस संगठनलाई १९८९ मा खारेज गरे। अरू संगठनहरूले यसको ठाउँ लियो। तैपनि, “मोरल मेजोरिटी” (नैतिक बहुमत) भन्ने पदावली पहिलोपल्ट प्रयोगमा ल्याउने पल वेरिचले क्रिश्चियानिटी टुडे पत्रिकामा यस्तो लेखे: “हाम्रा उम्मेदवारहरू छानिए तापनि हामीले महत्त्वपूर्ण ठानेका नीतिहरू कार्यान्वयन गर्न सक्दैनौं।” तिनले यस्तो पनि लेखे: “हाम्रो संस्कृति पहिलाभन्दा झनै व्यापक तवरमा भ्रष्ट भइसकेको छ। हामी इतिहासमै नभएको सबैभन्दा ठूलो सांस्कृतिक पतन भइरहेको समयमा बाँचिरहेका छौं। यो पतन यति चर्को छ कि यसलाई राजनीतिले सम्हाल्न सक्दैन।राजनीतिद्वारा समाजलाई उकास्ने प्रयासमा आइपर्ने बाधाहरूको विषयमा स्तम्भकार तथा लेखक काल थोमसले यसप्रकार लेखे: “वास्तविक परिवर्तन सबैको मनबाटै आउनुपर्छ, चुनाउ गरेर होइन किनभने हाम्रो प्रमुख समस्या भनेको आर्थिक तथा राजनीतिक होइन बरु नैतिक तथा आध्यात्मिक हो।”
तर कुनै स्तर नभएको अनि के सही र के गलत भनेर मानिसहरू आफैले निर्णय गर्ने संसारमा नैतिक तथा आध्यात्मिक समस्याहरूको समाधान कसरी गर्न सकिन्छ? चाहे धार्मिक होस् या नहोस्, एकदमै प्रभावशाली अनि राम्रो मनशाय भएका व्यक्तिहरूले समेत संसारलाई साँच्चै राम्रो बनाउन सकेका छैनन् भने कसले सक्छ त? अर्को लेख पढेपछि हामी यसको चित्तबुझ्दो जवाफ पाउनेछौं। वास्तवमा, येशू ख्रीष्टले उहाँको राज्य यस संसारको होइन भन्नुको कारण यसै प्रश्नको जवाफमा लुकेको छ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Children: UN photo; globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.