सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको अन्तस्करणलाई सुरक्षित राख्नुहोस्‌

तपाईंको अन्तस्करणलाई सुरक्षित राख्नुहोस्‌

तपाईंको अन्तस्करणलाई सुरक्षित राख्नुहोस्‌

हवाईजहाजको कम्प्युटरमा गलत जानकारी राखिएको थाह पायौं भने हामी त्यसमा उड्‌ने कल्पना गर्दा मात्र पनि त्रसित हुन्छौं। कल्पना गर्नुहोस्‌, त्यसको सट्टा कोही व्यक्‍तिले विमानको डोऱ्‍याउने प्रणालीमा केही गडबड गरिदियो वा जानाजानी गलत तथ्यांकहरू भरिदियो! लाक्षणिक अर्थमा भन्‍ने हो भने, कसैले तपाईंको अन्तस्करणलाई त्यसै गर्ने प्रयास गरिरहेको छ। त्यसले तपाईंको नैतिक निर्देशन प्रणालीलाई तहसनहस गर्ने अठोट गरेको छ। त्यो परमेश्‍वरसँगको तपाईंको सम्बन्धलाई ध्वस्त पार्न चाहन्छ!—अय्यूब २:२-५; यूहन्‍ना ८:४४.

यो डरलाग्दो विध्वंसकारी को हो? बाइबलमा त्यसलाई “वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने” भनिएको छ। (प्रकाश १२:९) त्यसको सबैभन्दा पहिलो ठगी अदनको बगैंचामा देखिएको थियो। त्यहाँ त्यसले एउटा भ्रामक तर्क चलाएर हव्वालाई सही भनी थाह भएको कुरालाई बेवास्ता गरेर परमेश्‍वरको विद्रोह गर्न लगाए। (उत्पत्ति ३:१-६, १६-१९) त्यतिबेलादेखि सम्पूर्ण मानिसजातिले नै परमेश्‍वरसँग दुश्‍मनी मोलोस्‌ भनेर शैतानले छलको एउटा संस्था नै तयार पारेको छ। ती संस्थाहरूमध्ये सबैभन्दा निन्दनीय संस्था झूटो धर्म हो।—२ कोरिन्थी ११:१४, १५.

झूटो धर्मले अन्तस्करणलाई भ्रष्ट बनाउँछ

बाइबलको प्रकाश नामक पुस्तकमा झूटो धर्मलाई महान्‌ बेबिलोन भनिने लाक्षणिक वेश्‍याको रूपमा चित्रण गरिएको छ। त्यसको शिक्षाले थुप्रै मानिसको नैतिक चेतनालाई विकृत बनाएको छ र आफ्नोभन्दा भिन्‍न विश्‍वास हुनेहरूलाई घृणा गर्नका साथै तिनीहरू विरुद्ध हिंस्रक हुनसमेत उक्साएको छ। वास्तवमा भन्‍ने हो भने, प्रकाशको पुस्तकअनुसार परमेश्‍वरले झूटो धर्मलाई “पृथ्वीमा मारिएका” उहाँका उपासकहरूलगायत सबैको रगतको जिम्मेवार ठहऱ्‍याउनुहुन्छ।—प्रकाश १७:१-६; १८:३, २४.

झूटो धर्मले केही मानिसको नैतिक चेतनालाई कुन हदसम्म विकृत पार्नेछ भनी चेताउनी दिनुहुँदै येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “त्यो बेला आउँछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ।” त्यस्ता हिंस्रक व्यक्‍तिहरू नैतिक तवरमा बिलकुलै अन्धा भएका छन्‌! येशूले यसो भन्‍नुभयो: “तिनीहरूले नता पितालाई न मलाई चिनेका छन्‌।” (यूहन्‍ना १६:२, ३) येशूले उक्‍त शब्दहरू भन्‍नुभएको केही समय नबित्दै केही धर्मगुरुहरूको आदेशमा उहाँको हत्या गरियो। तर त्यस्तो अपराध गर्दासमेत आफ्नो अन्तस्करणले तिनीहरूलाई घोचेन। (यूहन्‍ना ११:४७-५०) त्यसको ठीक विपरीत, आफ्नो साँचो अनुयायीहरू एकअर्काप्रतिको प्रेमबाट चिनिने छन्‌ भनी येशूले भन्‍नुभयो। तर तिनीहरूको प्रेम अझ व्यापक छ किनभने तिनीहरू आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्छन्‌।—मत्ती ५:४४-४८; यूहन्‍ना १३:३५.

जथाभावी नैतिक वा नैतिकताको कमीलाई महत्त्व दिएर पनि झूटो धर्मले थुप्रैको अन्तस्करण भ्रष्ट पारेको छ। यसबारे भविष्यवाणी गर्दै प्रेरित पावलले यसो भने: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्‌, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌।”—२ तिमोथी ४:३.

आजकाल, धर्मगुरुहरूले पतिपत्नीबाहेक अरूसित पनि यौन सम्बन्ध राख्दा परमेश्‍वरले स्वीकार्नुहुन्छ भनेर मानिसहरूको कान उत्सुक बनाएका छन्‌। अरूचाहिं समलैंगिक कार्यको भर्त्सना गर्दैनन्‌। वास्तवमा भन्‍ने हो भने, कोहीकोही पादरीहरू आफै समलैंगिक छन्‌। द टाइम्स भन्‍ने बेलाइती अखबारको एउटा लेखअनुसार, चर्च अफ इंग्ल्याण्डको महासभामा “आफू समलिंगी हुँ भनी खुल्लमखुल्ला स्वीकार्ने तेह्र जना पादरी” मनोनित भएका छन्‌। जब चर्चका पादरीहरूले नै बाइबलको नैतिकतालाई तिरस्कार गर्छन्‌ र चर्चले पनि त्यसको वास्ता गर्दैन भने, तिनीहरूका अनुयायीहरूले कस्तो स्तर पछ्याउलान्‌? अतः लाखौं मानिसहरू अलमल्लमा पर्नु कुनै छक्कलाग्दो कुरा होइन।

अतः बाइबलमा सिकाइएको नैतिक तथा आध्यात्मिक सत्यको ज्योतिले निर्देशित हुनु कत्ति उत्तम कुरा हो! (भजन ४३:३; यूहन्‍ना १७:१७) उदाहरणका लागि, बाइबलले व्यभिचारी र जारी गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌” भनी सिकाउँछ। (१ कोरिन्थी ६:९, १०) “आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविकमा परिवर्त्तन [गर्ने]” पुरुष तथा स्त्रीहरूले परमेश्‍वरको नजरमा “निर्लज्ज काम” गरिरहेका छन्‌ भनेर पनि बाइबलले बताउँछ। (रोमी १:२६, २७, ३२) यी नैतिक सत्य असिद्ध मानिसको जालसाजी होइन। यी त परमेश्‍वरका प्रेरित स्तरहरू हुन्‌ जसलाई उहाँले कहिल्यै रद्द गर्नुभएको छैन। (गलाती १:८; २ तिमोथी ३:१६) तर शैतानसित हाम्रो अन्तस्करण भ्रष्ट गर्ने अन्य तरिकाहरू पनि छन्‌।

मनोरञ्जनको छनौट गर्दा होसियार हुनुहोस्‌

कोही व्यक्‍तिलाई खराब काम गर्न जबरजस्ती गर्नु र खराब काम गर्न लालायित गर्नुमा भिन्‍नता छ। “संसारको शासक” शैतानको यस्तै लक्ष्य छ। अबुझ वा सजिलै पत्याउने मानिसहरू, अझ विशेष गरी सबैभन्दा निस्साहय अर्थात्‌ जवानहरूको मन अनि हृदयमा आफ्नो भ्रष्ट विचार भर्न त्यसले शंकास्पद साहित्य, चलचित्र, संगीत, कम्प्युटर गेम र इन्टरनेटका अश्‍लील साइटहरू चलाउँछन्‌।—यूहन्‍ना १४:३०; एफिसी २:२.

पेड्रियाटिक्स भन्‍ने पत्रिकाको एउटा रिपोर्टअनुसार “[संयुक्‍त राज्यमा] केटाकेटीले वर्षेनी झन्डै १०,००० हिंस्रक कार्यहरू हेर्छन्‌ र स-साना केटाकेटीहरूको कार्यक्रमहरू सबैभन्दा हिंस्रक हुन्छन्‌।” त्यस रिपोर्टमा के पनि बताइएको थियो भने, “प्रत्येक वर्ष किशोरकिशोरीले झन्डै १५,००० अश्‍लील व्यंग तथा ठट्टाहरू हेर्छन्‌।” यसअनुसार, सबैभन्दा धेरै दर्शकहरूले टेलिभिजन हेर्ने साँझको समयमा समेत “एक घण्टा लामो कार्यक्रममा कम्तीमा आठवटा भन्दा बढी अश्‍लील दृश्‍यहरू हुन्छन्‌, जुन १९७६ मा भन्दा चार गुणा बढी छ।” फलतः त्यस अध्ययनले “छाडा बोली बोल्ने पनि असाध्यै बढेको” पत्ता लगायो। यद्यपि, बाइबल तथा असंख्य वैज्ञानिक अध्ययनहरू दुवैले त्यस्तो विषयवस्तु नियमित तवरमा हेर्दा वा पढ्‌दा मानिसहरूलाई नकारात्मक असर पार्छ भनी चेताउनी दिन्छ। त्यसकारण, यदि तपाईं साँच्चै परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहनुहुन्छ र आफ्नो पनि हानि भएको चाहनुहुन्‍न भने हितोपदेश ४:२३ मा लेखिएको कुरा सुन्‍नुहोस्‌, जहाँ यसो भनिएको छ: “हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”—यशैया ४८:१७.

थुप्रै लोकप्रिय संगीतले पनि अन्तस्करणलाई भ्रष्ट बनाउँछ। थुप्रै पश्‍चिमी देशहरूमा अत्यन्तै चलेको गीतका गायकले मानिसहरूलाई “स्तब्ध पार्ने विशेष प्रयास” गर्दैछ भनी अष्ट्रेलियाको अखबार द सन्डे मेल-को रिपोर्टले बताउँछ। त्यस लेखमा उल्लेख गरेअनुसार “तिनको गीतले लागू पदार्थ, हाडनाता करणी र बलात्कारको महिमा गर्छ” र तिनले “आफ्नो गीतमा श्रीमतीलाई मारेर शरीर तालमा फ्याँक्ने विषयमा” गाएका छन्‌। त्यस गीतको बाँकी बोल यहाँ उल्लेख गर्नसमेत अत्यन्तै घीनलाग्दो छ। यद्यपि, यस गीतको लागि तिनले प्रख्यात पुरस्कार पाए। के तपाईं आफ्नो मन अनि हृदयमा माथि उल्लेख गरेजस्ता हानिकारक विचारहरू भर्न चाहनुहुन्छ, चाहे त्यस्ता गीतहरूलाई आधुनिक संगीतले जति नै आकर्षक बनाएको किन नहोस्‌? हामी कदापि पनि चाहँदैनौं। किनभने त्यस्तो मार्गमा हिंड्‌नेहरूले आफ्नो अन्तस्करणलाई भ्रष्ट बनाउँछ र तिनीहरूको “दुष्ट हृदय” हुनेछ र अन्ततः तिनीहरू परमेश्‍वरको शत्रु हुनेछ।—हिब्रू ३:१२; मत्ती १२:३३-३५.

त्यसैकारण, मनोरञ्जनको छनौट गर्दा होसियार हुनुहोस्‌। बाइबलले यस्तो आग्रह गर्छ: “जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.

संगतिले तपाईंको अन्तस्करणलाई प्रभाव पार्छ

सानो केटाकेटी छँदा नील र फ्रान्जले निष्कपट मसीहीहरूसँगको लाभदायक संगतिको आनन्द उठाए। a तर नील यसो भन्छन्‌, “समयमा मैले खराब मानिसहरूसँग संगत गर्न थालें।” यसको नतिजा पछि पछुतो लागे तापनि तिनलाई अपराध र झ्यालखानाको सजाय भयो। फ्रान्जको कथा पनि त्यस्तै छ। “संसारका मानिसहरूसँग संगत गरे तापनि मलाई केही प्रभाव पर्ने छैन भन्‍ने मेरो सोचाइ थियो” भन्दै तिनी आफ्नो दुःख पोख्छन्‌। “तर गलाती ६:७ ले भनेझैं, ‘परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।’ मैले तीतो अनुभवपछि मात्र आफू गलत रहेछु र यहोवा सही हुनुहुँदो रहेछ भनी थाह पाएँ। आफूले गरेको गलत कामको कारण अहिले आजीवन कारागारको सजाय भोग्दैछु।”

नील र फ्रान्जजस्ता मानिसहरू साधारणतया रातारात अपराधको दुनियाँमा फस्दैनन्‌। तिनीहरूले पहिला त आफू त्यस्तो गलत काममा लाग्नु असम्भव ठानेका हुन्छन्‌। तर बिस्तारै परिस्थिति परिवर्तन हुन थाल्छ। अक्सर पहिलो कदम त खराब संगति नै हुन्छ। (१ कोरिन्थी १५:३३) त्यसपछि लागू पदार्थ वा मद्य दुर्व्यसनमा लाग्नसक्छ। वास्तवमा, अन्तस्करणलाई “रक्सीमा घोल्न मिल्ने व्यक्‍तित्वको भाग” भनी व्याख्या गर्नु उपयुक्‍त छ। त्यसपछि त अपराध वा अनैतिकताको दुनियाँमा लाग्न धेरै समय लाग्दैन।

त्यसोभए त्यो पहिलो कदम नै किन चाल्ने? त्यसको सट्टा परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने बद्धिमान्‌ मानिसहरूसँग संगत गर्नुहोस्‌। तिनीहरूले तपाईंको अन्तस्करणलाई बलियो बनाउन मदत गर्नेछ अनि तपाईंलाई यसले उचित ढंगमा डोऱ्‍याउनेछ र तपाईं थुप्रै पीडाहरूबाट बच्नुहुनेछ। (हितोपदेश १३:२०) नील र फ्रान्ज अहिले झ्यालखानामा नै भए तापनि तिनीहरू अहिले आफ्नो अन्तस्करणलाई परमेश्‍वरले दिनुभएको ठूलो वरदानको रूपमा हेर्छन्‌ र यसलाई उचित प्रशिक्षण दिनुका साथै यसको ठूलो मोल पनि गर्नुपर्छ भनी बुझेका छन्‌। यसबाहेक, तिनीहरूले आफ्नो परमेश्‍वर यहोवासँग राम्रो सम्बन्ध विकास गर्न परिश्रम गरिरहेका छन्‌। बुद्धिमान्‌ हुनुहोस्‌ र तिनीहरूको गल्तीबाट पाठ सिक्नुहोस्‌।—हितोपदेश २२:३.

तपाईंको अन्तस्करणलाई सुरक्षित राख्नुहोस्‌

परमेश्‍वरप्रति प्रेम र विश्‍वासका साथै उहाँप्रति स्वास्थ्यकर भय विकास गर्दा हामीले आफ्नो अन्तस्करणलाई सुरक्षित राख्न चाहेको देखाइरहेका हुन्छौं। (हितोपदेश ८:१३; १ यूहन्‍ना ५:३) यस्ता उत्प्रेरणा नभएको अन्तस्करण अक्सर नैतिक तवरमा स्थिर हुँदैन भनी बाइबलले प्रकाश पार्छ। उदाहरणका लागि, भजन १४:१ मा हृदयमा “ईश्‍वर छैन” भन्‍नेहरूबारे बताइएको छ। यस्तो विश्‍वासको कमीले तिनीहरूको आचारणमा कसरी प्रभाव पार्छ? उक्‍त पदले अझ यसो भन्छ: “तिनीहरू भ्रष्ट भएका छन्‌, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्‌।”

परमेश्‍वरमाथि साँचो विश्‍वास नहुने मानिसहरूको उत्तम भविष्यबारे पनि कुनै पक्का आशा हुँदैन। त्यसैले, तिनीहरू आफ्नो शारीरिक इच्छाहरू पूरा गर्दै वर्तमानको निम्ति मात्र बाँच्छन्‌। तिनीहरूको सोचाइ यस्तो हुन्छ: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) अर्कोतर्फ, अनन्त जीवनको इनाममा आफ्नो ध्यान केन्द्रित गर्ने मानिसहरू संसारको सुखसुविधाको पछि लागेर अलमलिंदैनन्‌। अत्यन्तै सही नौयात्रिक कम्प्युटर जस्तै तिनीहरूको प्रशिक्षित अन्तस्करणले परमेश्‍वरको आज्ञा वफादारीपूर्वक पालन गर्न डोऱ्‍याउँछ।—फिलिप्पी ३:८.

तपाईंको अन्तस्करणलाई सही अनि प्रभावशाली बनाउने हो भने यसलाई परमेश्‍वरको वचनबाट नियमित डोऱ्‍याइ चाहिन्छ। कल्पना गर्न सजिलो भाषामा बाइबलले त्यस्तो डोऱ्‍याइ उपलब्ध छ भनी बताउँछ: “तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर सो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२१) त्यसैकारण, दैनिक बाइबल पढाइको निम्ति समय छुट्याउनुहोस्‌। यसले तपाईं सही कुरा गर्न संघर्ष गरिरहनुहुँदा वा तपाईंलाई चिन्ता र फ्रिक्रीले छोप्दा बल र प्रोत्साहन दिनेछ। तपाईंले यहोवामा पूर्ण भरोसा राख्नुभयो भने, उहाँले नैतिक तथा आध्यात्मिक तवरमा निर्देशन दिनुहुनेछ भनी विश्‍वस्त हुनुहोस्‌। हो, भजनरचयिताको अनुकरण गर्नुहोस्‌, जसले यस्तो लेखे: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।”—भजन १६:८; ५५:२२.

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ५-मा भएका चित्रहरू]

बाइबलमा “महान्‌ बेबिलोन” भनिएको झूटो धर्मले थुप्रै मानिसको अन्तस्करण बोधो बनाइदिएको छ

[स्रोत]

Priest blessing troops: U.S. Army photo

[पृष्ठ ६-मा भएका चित्रहरू]

हिंसा र अनैतिक दृश्‍यहरू हेर्दा तपाईंको अन्तस्करणलाई हानि पुऱ्‍याउँछ

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको वचनबाट नियमित डोऱ्‍याइ पाउँदा तपाईंको अन्तस्करण सुरक्षित हुनेछ