येशूले उद्धार गर्नुहुन्छ—कसरी?
येशूले उद्धार गर्नुहुन्छ—कसरी?
“येशूले उद्धार गर्नुहुन्छ!” “येशू हाम्रो उद्धारक हुनुहुन्छ!” संसारभरि थुप्रै देशमा यस्ता सन्देशहरू भवनका भित्ताहरू र अन्य सार्वजनिक स्थलहरूमा लेखिएका हुन्छन्। येशू उद्धारक हुनुहुन्छ भनी लाखौं मानिसहरूले साँच्चै विश्वास गर्छन्। अनि तपाईंले तिनीहरूलाई “येशू कसरी हाम्रो उद्धारक हुनुहुन्छ?” भनी सोध्नुभयो भने, तिनीहरूले सम्भवतः “येशू हाम्रोनिम्ति मर्नुभयो” वा “येशू हाम्रो पापको निम्ति मर्नुभयो” भन्ने उत्तर दिन्छन्। हो, येशूको मृत्युले गर्दा नै हाम्रो उद्धार सम्भव भएको छ। तर कसरी एक जना मानिसको मृत्युले लाखौं लाख मानिसको पापको ज्याला तिर्नसक्छ र? यदि कसैले तपाईंलाई “येशूको मृत्युले कसरी हाम्रो उद्धार हुनसक्छ र?” भनी सोध्यो भने तपाईंले कस्तो जवाफ दिनुहुनेछ?
बाइबलमा यस प्रश्नको एकदमै सरल तर स्पष्ट र अत्यन्तै अर्थपूर्ण जवाफ दिइएको छ। तर यसको महत्त्वलाई बुझ्न हामीले सबैभन्दा पहिला येशूको जीवन र मृत्युलाई एउटा एकदमै जटिल समस्याको समाधानको रूपमा हेर्नुपर्छ। त्यसपछि मात्र हामीले येशूको मृत्युको कत्ति मोल छ भनेर राम्ररी बुझ्नेछौं।
येशूलाई आफ्नो जीवन अर्पण गर्न लगाउनुभएर परमेश्वरले, आदमले पाप गरेपछि खडा भएको परिस्थितिको सामना गरिरहनुभएको थियो। त्यो पापको नतिजा साह्रै दुःखदायी भयो! प्रथम मानव र तिनकी पत्नी, हव्वा सिद्ध उत्पत्ति १:२८) तिनीहरूलाई कस्तो रमणीय र रोमाञ्चकारी काम दिइएको थियो! यसबाहेक, तिनीहरूले आपसको न्यानो सम्बन्धबाट पनि आनन्द उठाउनसक्थे। (उत्पत्ति २:१८) तिनीहरूलाई केही कुराको अभाव थिएन। तिनीहरूको अगाडि सुखमय अनन्त जीवन थियो।
थिए। सुन्दर अदनको बगैंचा तिनीहरूको घर थियो। परमेश्वरले तिनीहरूलाई बगैंचारूपी घरको रेखदेख गर्ने अर्थपूर्ण काम दिनुभएको थियो। पृथ्वीका अन्य जीवित प्राणीहरू पनि तिनीहरूकै मायालु निरीक्षणमा हुने थियो। अनि मानिसहरूको संख्या वृद्धि भएर पृथ्वी भरिंदै गएपछि तिनीहरूले सारा पृथ्वीलाई नै प्रमोदवनमा परिणत गर्नुपर्ने थियो। (आदम वा हव्वाले कसरी पाप गर्नसक्यो होला भनेर कल्पना गर्नै गाह्रो छ। तर प्रथम मानव दम्पतीले तिनीहरूलाई सृष्टि गर्नुहुने यहोवा परमेश्वर विरुद्ध नै विद्रोह गरे। शैतान अर्थात् दियाबलले सर्प चलाएर हव्वालाई यहोवाको आज्ञा उल्लंघन गर्न लगाउन सफल भयो र आदम पनि तिनकै पछि लाग्यो।—उत्पत्ति ३:१-६.
आदम र हव्वालाई अब सृष्टिकर्ताले के गर्नुहुन्छ भन्ने विषयमा कुनै शंका थिएन। किनभने अनाज्ञाकारी भएको खण्डमा कस्तो नतिजा हुनेछ भनेर उहाँले पहिल्यै यसप्रकार बताइसक्नुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्पत्ति २:१६, १७) अब अझ धेरै महत्त्वपूर्ण प्रश्नको जवाफ चाहियो।
मानिसजातिले कठिन समस्याको सामना गर्छ
सुरुमा गरेको पापको कारण मानिसजातिले एकदमै ठूलो समस्याको सामना गर्नुपऱ्यो। आदमले आफ्नो जीवनको सुरुआत सिद्ध मानिसको रूपमा गरेका थिए। अतः तिनका छोराछोरीले सिद्ध अनन्त जीवनको आनन्द उठाउनसक्थे। तथापि, छोराछोरी जन्मिनुअघि नै आदमले पाप गरे। तिनले यस्तो सजाय पाउँदा तिनको सन्तान अझै जन्मिसकेको थिएन: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।” (उत्पत्ति ३:१९) यसप्रकार जब आदमले पाप गऱ्यो तब तिनी मर्ने छ भनेर परमेश्वरले भन्नु भएबमोजिम तिनी मर्न थाले र तिनीसँगसँगै सारा मानिसजातिले पनि मृत्युदण्डको सजाय पायो।
त्यसैकारण, प्रेरित पावलले यस्तो लेख्नु एकदमै उपयुक्त थियो: “जसरी एउटै मानिसद्वारा [आदम] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) हो, सुरुमा गरिएको पापले गर्दा अनन्त जीवनको प्रत्याशासहित सिद्ध जन्मिनुपर्ने छोराछोरीले रोगबिमार, बुढ्यौली र मृत्यको सामना गर्नुपऱ्यो।
कसैले यसो भन्ला, “यो त पटक्कै न्यायसंगत भएन नि। आदमले पो परमेश्वरको आज्ञा पालन गरेनन्, हामीले त होइन नि। अनन्त जीवन र आनन्दको प्रत्याशा हामीले किन गुमाउने?” बुबाले गाडी चोरेको कारण यदि अदालतले छोरालाई जेल सजाय दिन्छ भने, छोराले यस्तो उजुरी गर्नसक्छ भनी हामीलाई थाह छ: “यो अन्याय भयो! मैले कुनै गल्ती गरेको छैन।”—व्यवस्था २४:१६.
प्रथम पुरुष तथा स्त्रीलाई पाप गर्न उक्साएर शैतानले परमेश्वरलाई एकदमै अप्ठ्यारो परिस्थितिमा पार्नेछु भनेर सोचेको हुनुपर्छ। दियाबलले कुनै सन्तान जन्मनुअघि नै अर्थात् मानव इतिहासको सुरुमै आक्रमण गऱ्यो। आदमले पाप गर्ने बित्तिकै एउटा महत्त्वपूर्ण प्रश्न खडा भयो, आदम र हव्वाले जन्माउने छोराछोरीलाई यहोवाले के गर्नुहुनेछ?
यहोवाले जे न्यायसंगत छ त्यही गर्नुभयो। “परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमानले कहिल्यै छल गर्नुहुन्न” भनी धर्मी पुरुष एलीहूले घोषणा गरे। (अय्यूब ३४:१०) अनि यहोवाको सन्दर्भमा अगमवक्ता मोशाले यस्तो लेखे: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) आदमको पापले खडा गरेको समस्यालाई समाधान गर्न साँचो परमेश्वरले गर्नुभएको प्रबन्धले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने हाम्रो सुअवसरलाई केही असर गर्दैन।
परमेश्वरले सिद्ध समाधानको प्रबन्ध गर्नुहुन्छ
शैतान अर्थात् दियाबललाई सुनाउनुभएको न्यायदण्डमा परमेश्वरले औंल्याउनुभएको समाधानलाई विचार गर्नुहोस्। यहोवाले शैतानलाई यसो भन्नुभयो: “तेरो र स्त्रीको [परमेश्वरको स्वर्गीय संगठन] बीचमा, र तेरो सन्तान [शैतानको नियन्त्रणमा भएको संसार] र स्त्रीको सन्तानको [येशू ख्रीष्ट] बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो [शैतान] शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् [येशूको मृत्यु]।” (उत्पत्ति ३:१५) बाइबलको यस प्रथम भविष्यवाणीमा, उहाँले स्वर्गमा भएको आफ्नो आत्मिक पुत्रलाई पृथ्वीमा सिद्ध पुरुष येशूको रूपमा पठाउने र निष्कलंक अवस्थामा मृत्यु गराउने अर्थात् कुर्कुच्चोमा डसाउने आफ्नो उद्देश्यबारे संकेत गर्नुभयो।
किन परमेश्वरले सिद्ध मानिसकै मृत्यु चाहनुभयो? आदमले पाप गरेको खण्डमा यहोवा परमेश्वरले तिनलाई कस्तो सजाय दिनुहुने थियो? के मृत्यु होइन र? (उत्पत्ति २:१६, १७) “पापको ज्याला मृत्यु हो” भनी प्रेरित पावलले लेखे। (रोमी ६:२३) आदमले आफ्नै मृत्युद्वारा पापको ज्याला तिरे। तिनलाई जीवन दिइएको थियो। तर तिनले पाप रोजे र पापको सजायको रूपमा तिनी मरे। (उत्पत्ति ३:१९) तर त्यस पापको कारण सम्पूर्ण मानिसजातिले नै भोग्नुपरेको दण्डबारे चाहिं के भन्न सकिन्छ नि? तिनीहरूको पापको प्रायश्चितको लागि मृत्यु आवश्यक थियो। तर कसको मृत्युले सबै मानिसजातिको पाप ढाक्न सक्थ्यो?
पुरातन इस्राएल राष्ट्रलाई परमेश्वरले दिनुभएको व्यवस्थाअनुसार “प्राणको सट्टा प्राण [वा जीवनको सट्टा जीवन]” दिनुपर्थ्यो। (प्रस्थान २१:२३) यस कानुनी सिद्धान्तअनुसार मानिसजातिको पाप ढाक्न चाहिने मृत्यु, आदमले गुमाएको जीवनको मोल बराबर हुनुपर्थ्यो। अर्को सिद्ध मानिसको मृत्युले मात्र पापको ज्याला तिर्नसक्थ्यो। त्यस्तो व्यक्ति येशू हुनुहुन्थ्यो। निस्सन्देह, आदमको सन्तानमध्ये छुटकारा पाउन योग्य सबैको उद्धारको निम्ति येशू “छुटकाराको मोल” हुनुहुन्थ्यो।—१ तिमोथी २:६; रोमी ५:१६, १७.
येशूको मृत्युको ठूलो मोल छ
आदमको मृत्युको कुनै मोल थिएन। आफ्नो पापको कारण तिनी मृत्युको योग्य थिए। तथापि, येशूको मृत्युको ठूलो मोल थियो। किनभने आफ्नो मृत्युहुँदा उहाँ पापरहित हुनुहुन्थ्यो। पापी आदमको आज्ञाकारी सन्तानको छुटकाराको निम्ति यहोवा परमेश्वरले येशूको सिद्ध शरीरको मोल स्वीकार्न सक्नुहुन्थ्यो। अनि येशूको छुटकाराको बलिदानको मोल, हाम्रो विगतको पापको निम्ति तिरिसकेपछि काम नलाग्ने हुँदैन। त्यसो हुँदो हो त, हाम्रो भविष्य अन्धकार हुने थियो। जन्मजात पापी भएको कारण हामी घरीघरी गल्ती गरिरहन्छौं। (भजन ५१:५) सुरुमा यहोवाले आदम र हव्वाको सन्तानले जुन सिद्धता पाओस् भनेर चाहनुभएको थियो, येशूको मृत्युले गर्दा त्यही सिद्धता हासिल गर्न सम्भव भएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं!
आदमलाई यस्तो बुबासँग तुलना गर्नसक्छौं, जसले आफ्नो मृत्युपछि हामीलाई कहिल्यै तिर्न नसकिने ठूलो आर्थिक ऋणमा (पाप) डुबाएर गयो। अर्कोतर्फ, येशू त्यस्तो असल बुबाजस्तो हुनुहुन्छ, जसले आफ्नो मृत्युपछि हाम्रोलागि यतिबिघ्न धनसम्पत्ति छोडर जानुभयो कि त्यसले हामीलाई आदमले बोकाएको ऋणबाट मुक्त गर्नुका साथै सधैंभरि बाँच्नको निम्ति प्रशस्त भयो। येशूको मृत्युले विगतको पापलाई नामेट पार्नुका साथै हामीलाई उज्ज्वल भविष्य पनि दिन्छ।
येशूले हाम्रो उद्धार गर्नुहुन्छ, किनभने उहाँ हाम्रोनिम्ति मर्नुभयो। अनि उहाँको मृत्यु एकदमै बहुमूल्य प्रबन्ध हो! जसै हामी यसलाई आदमको पापले खडा गरेको कठिन समस्याको समाधानको निम्ति परमेश्वरले गर्नुभएको प्रबन्धको भागको रूपमा हेर्छौं तब यहोवा र उहाँका तौरतरिकामाथिको हाम्रो विश्वास बलियो हुन्छ। हो, येशूको मृत्यु “उहाँमाथि विश्वास गर्ने” सबैलाई पाप, रोगबिमार, बुढ्यौली र मृत्युबाट उद्धार गर्ने माध्यम हो। (यूहन्ना ३:१६) हाम्रो उद्धारको निम्ति परमेश्वरले गर्नुभएको यस्तो मायालु प्रबन्धको लागि के तपाईं धन्यवादी हुनुहुन्न?
[पृष्ठ ५-मा भएको चित्र]
आदमले मानिसजातिमाथि पाप र मृत्यु ल्यायो
[पृष्ठ ६-मा भएको चित्र]
यहोवाले सिद्ध समाधानको प्रबन्ध मिलाउनुभयो