सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको साँचो चिनारी

येशूको साँचो चिनारी

येशूको साँचो चिनारी

मानिसहरूले आफूबारे कस्तो सोचाइ राख्छन्‌ भन्‍ने कुरा सुनिसकेपछि येशूले तिनीहरूलाई सोध्नुभयो: “तर तिमीहरू चाहिं म को हुँ भनी भन्दछौ?” मत्तीको सुसमाचारको पुस्तकमा प्रेरित पत्रुसको जवाफ रेकर्ड गरिएको छ: “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।” (मत्ती १६:१५, १६) अरूको पनि त्यस्तै धारणा थियो। पछि प्रेरित भएका नथनेलले येशूलाई यसो भने: “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।” (यूहन्‍ना १:४९) स्वयम्‌ येशूले पनि आफ्नो भूमिकाको महत्त्वबारे यसरी बताउनुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) विभिन्‍न अवसरहरूमा उहाँले आफूलाई “परमेश्‍वरका पुत्र” हुँ भनेर चिनाउनुभयो। (यूहन्‍ना ५:२४, २५; ११:४) अनि येशूले आफ्नो दाबी चमत्कारहरूद्वारा सही साबित पनि गर्नुभयो। उहाँले मरेकाहरूलाई समेत बिउँताउनुभयो।

के यी शंकाहरू जायज छन्‌?

तर के हामी येशूबारे लेखिएका सुसमाचारका पुस्तकहरूमा साँच्चै भरोसा गर्न सक्छौं? के तिनीहरूले येशूको साँचो चिनारी दिन्छ? इंगल्याण्डको युनिभर्सिटी अफ म्यानचेस्टरका बाइबलको समालोचना तथा व्याख्यासम्बन्धी प्राध्यापक फ्रेडरिक एफ. ब्रुसले आफू जीवित छँदा यसो भने: “ऐतिहासिक विवेचनाद्वारा पुरातन लेखोटहरूको सम्पूर्ण विवरणको सत्यता प्रमाणित गर्न सकिंदैन चाहे त्यो बाइबल भित्रका कुरा हुन्‌ वा बाहिरका। लेखक विश्‍वसनीय छन्‌ भनी भरोसा गर्ने उचित कारण हुनु नै पर्याप्त छ। त्यसो भयो भने तिनले लेखेका हरेक विवरण सत्य छन्‌ भनी स्वतः प्रमाणित भएको ठहरिन्छ। . . . मसीहीहरूले नयाँ नियमलाई ‘पवित्र’ साहित्यको रूपमा लिन्छन्‌ भन्दैमा यो ऐतिहासिक दृष्टिकोणबाट कम भरोसायोग्य हुँदैन।”

सुसमाचारका पुस्तकहरूमा चित्रण गरिएको येशूबारे उब्जेका शंकाहरूलाई जाँचिसकेपछि संयुक्‍त राज्य अमेरिकाको उत्तरी डाकोटास्थित जेम्सटाउन कलेजका धर्मसम्बन्धी प्राध्यापक जेम्स आर. एडवाड्‌र्सले यस्तो लेखे: “सुसमाचारका पुस्तकहरूमा येशूबारे वास्तविक सत्यका विविध तथा उल्लेखनीय प्रमाणहरू सँगालिएका छन्‌ भनेर हामी निश्‍चित हुनसक्छौं। . . . ती सुसमाचारका पुस्तकहरूले येशूलाई जुन प्रकारले प्रस्तुत गरेका छन्‌ त्यसको कारण के हो भन्‍ने प्रश्‍नको तार्किक जवाफ हो, येशू वास्तवमा त्यस्तै हुनुहुन्थ्यो। येशूलाई वास्तवमा परमेश्‍वरले नै पठाउनुभएको हो र उहाँ परमेश्‍वरको पुत्र अनि सेवक हुनुहुन्छ भन्‍नेजस्ता कुराहरूले उहाँका चेलाहरूमा पारेको प्रभाव ती सुसमाचारका पुस्तकहरूमा राम्ररी प्रस्तुत गरिएको छ।” a

येशूको खोज

येशू ख्रीष्टसम्बन्धी गैर-बाइबलीय पुस्तकहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? ती कत्तिको विश्‍वसनीय छन्‌? ट्यासिटस, स्युटोनियस, जोसेफस, प्लाइनी द यंगर र अन्य केही शास्त्रीय लेखकहरूका कृतिहरूमा येशू ख्रीष्टबारे थुप्रै जानकारी पाउन सकिन्छ। ती कृतिहरूबारे द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका (१९९५) यसो भन्छ: “मसीहीधर्मका विरोधीहरूले समेत येशूको ऐतिहासिकताबारे कहिल्यै शंका गरेनन्‌ भनेर यी निष्पक्ष अभिलेखहरूले प्रमाणित गर्छ। तर अपर्याप्त प्रमाणहरूका आधारमा पहिलोपटक १८ औं शताब्दीको अन्ततिर, १९ औं शताब्दीको दौडान र २० औं शताब्दीको सुरुतिर यसबारे वादविवाद गर्न थालियो।”

दुःखको कुरा, आधुनिक शास्त्रीहरूले येशूको “सत्यता” वा “ऐतिहासिकता” खोजी गर्ने धुनमा उहाँको सत्य पहिचानलाई आधारहीन अनुमान, निरर्थक शंकाहरू तथा अस्पष्ट सिद्धान्तहरूका थुप्रोमुनि लुकाएका छन्‌। एक अर्थमा तिनीहरू सुसमाचारका लेखकहरूमाथि झूटो दोषारोपण गर्दै मिथ्या सिर्जना गरेकोमा दोषी छन्‌। कोही-कोहीचाहिं अझ नाउँ कमाउने र नयाँ रोचक सिद्धान्तहरू प्रतिपादन गरेको श्रेय लिने धुनमा येशूबारे तथ्य कुराहरूलाई निष्पक्ष भएर केलाउँदैनन्‌। यस्तो धुनमा ती शास्त्रविद्‌हरूले आफ्नै परिकल्पनाको “येशू” सिर्जना गर्छन्‌।

येशूको साँचो चिनारी जान्‍न चाहनेहरूले उहाँलाई बाइबलमा भेट्टाउन सक्छन्‌। येशू ऐतिहासिक व्यक्‍ति हुनुहुन्छ भन्‍ने विषयमा गरिएका प्रायजसो अनुसन्धानहरूमा बाइबलीय दृष्टिकोणलाई बेवास्ता गरिएको पाइन्छ भनेर एमोरी विश्‍वविद्यालयको क्यान्डलर स्कूल अफ थियोलोजिका नयाँ नियम तथा मसीहीधर्म उत्पत्ति सम्बन्धी प्राध्यापक लुक जोनसन तर्क गर्छन्‌। येशूको जीवन तथा युगको सामाजिक, राजनैतिक, मानवीय र सांस्कृतिक पृष्ठभूमिबारे केलाउनु रोचक हुन्छ भनी तिनी बताउँछन्‌। तथापि, येशूको ऐतिहासिकताबारे शास्त्रीहरूले पत्ता लगाएका कुराहरू “धर्मशास्त्रले भन्‍न खोजेका कुराहरूसँग पटक्कै मेल खाँदैन” किनभने धर्मशास्त्रले “येशूको चरित्र,” उहाँको सन्देश र मुक्‍तिदाताको रूपमा उहाँको भूमिकामाथि “विशेष जोड दिन्छ” भनी तिनी थप्छन्‌। उसोभए, येशूको वास्तविक चरित्र अनि सन्देश के हो?

येशूको साँचो चिनारी

येशूको जीवनी लिपिबद्ध गरिएको सुसमाचारका चारवटा पुस्तकहरूले उहाँ अत्यन्तै सहानुभूतिशील हुनुहुन्थ्यो भनेर बताउँछ। दया र अनुकम्पाले येशूलाई रोगी, अन्धो तथा अन्य कष्ट भोगिरहेका मानिसहरूलाई मदत गर्न उत्प्रेरित गऱ्‍यो। (मत्ती ९:३६; १४:१४; २०:३४) आफ्नो मित्र लाजरसको मृत्यु र त्यसले गर्दा लाजरसका दिदीहरूलाई परेको दुःख देखेर येशू पनि ‘विचलित भएर रुनुभयो।’ (यूहन्‍ना ११:३२-३६) वास्तवमा, सुसमाचारका पुस्तकहरूले येशूका विभिन्‍न भावनाहरूलाई प्रकाश पार्छ, जस्तै कुष्ठरोग लागेको मानिसप्रति सहानुभूति, आफ्ना चेलाहरूले पाएको सफलतामा खुसी, नीतिनियम बनाउने कठोर व्यक्‍तिहरूप्रति क्रोध र यरूशलेमले मसीहलाई अस्वीकार गरेकोमा दुःख मान्‍नु।

येशूले चमत्कार गर्नुहुँदा अक्सर यस कार्यमा संलग्न अर्को पक्षको महत्त्वबारे यसरी ध्यान केन्द्रित गर्नुभयो: “तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” (मत्ती ९:२२) “एक जना पक्का इस्राएली” भनी नथनेलको प्रशंसा गर्दै उहाँले यसो भन्‍नुभयो: “[तिनमा] कुनै छल छैन!” (यूहन्‍ना १:४७, नयाँ संशोधित संस्करण) एक जना आइमाईले आफ्नो कृतज्ञता जाहेर गर्न उपहार दिंदा मानिसहरूले त्यसलाई फजुल खर्च भनेर तर्क गरे, येशूले ती आइमाईको पक्षमा बोल्नुभयो र तिनको उदारतालाई कहिल्यै बिर्सनेछैन भनेर बताउनुभयो। (मत्ती २६:६-१३) उहाँले आफ्ना चेलाहरूलाई ‘अन्त्यसम्मनै प्रेम गर्नुभएर’ आफूलाई तिनीहरूका सच्चा मित्र र माया गर्ने सहयोगी साबित गर्नुभयो।—यूहन्‍ना १३:१; १५:११-१५.

सुसमाचारका पुस्तकहरूमा देखाएअनुसार येशूले मानिसहरूको आवश्‍यकतालाई तुरुन्तै बुझ्नुहुन्थ्यो। इनारनेर आइमाईसँग कुरा गर्दा होस्‌ वा बगैंचामा धर्म गुरुहरूसँग वा ताल नजिकै मछुवाहरूसित कुरा गर्दा होस्‌, उहाँले तिनीहरूको हृदय छुनुभयो। येशूले कुरा थाल्नुहुँदा ती थुप्रै मानिसहरूले आफ्ना विचारहरू उहाँसामु पोख्थे। उहाँ तिनीहरूलाई घत लाग्ने गरी बोल्नुहुन्थ्यो। त्यस बेलाका मानिसहरू ठूल-ठूला पद सम्हालिरहेका मानिसहरूबाट टाढै बस्न रुचाउँथे तर येशूसित भने मानिसहरू नजिकिन चाहन्थे। तिनीहरू येशूसित बस्न रुचाउँथे र उहाँसित बस्दा कुनै अप्ठ्यारो महसुस गर्दैनथे। बच्चाहरू पनि उहाँसित झ्याम्मिन्थे र बच्चालाई उदाहरणको रूपमा चलाउँदा उहाँले आफ्ना चेलाहरूमाझ बच्चालाई उभ्याउनु मात्र भएन तर “काखमा लिनुभयो।” (मर्कूस ९:३६; १०:१३-१६) निस्सन्देह, सुसमाचारका पुस्तकहरूमा येशूलाई त्यस्तो आकर्षक शक्‍ति भएको व्यक्‍तिको रूपमा चिनाउँछ जसको कुरा सुन्‍न मात्र पनि मानिसहरू तीन दिनसम्म उहाँसँगै बसे।—मत्ती १५:३२.

येशू सिद्ध हुनुभए तापनि आफूले भेटेका र प्रचार गरेका असिद्ध, पापले लादिएका मानिसहरूप्रति आलोचनात्मक वा रिसाउने र हैकम चलाउने गर्नुभएन। (मत्ती ९:१०-१३; २१:३१, ३२; लूका ७:३६-४८; १५:१-३२; १८:९-१४) येशूले कहिल्यै अरूबाट कुनै कुराको माग गर्नुभएन। येशूले मानिसहरूमाथि बोझ लाद्‌नुभएन। बरु, उहाँले भन्‍नुभयो: “हे सबै मेहनत गर्ने . . . हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” यसबाहेक, चेलाहरूले उहाँ “विनयी, र नम्र हृदयको” हुनुका साथै उहाँको जुवा सजिलो र भारी हलका भएको थाह पाए।—मत्ती ११:२८-३०.

सुसमाचारका पुस्तकहरूमा वर्णन गरिएको येशूको चरित्रबाट साँचो कुरा प्रस्ट हुन्छ। चार-चार जना मानिसले चार भिन्‍नाभिन्‍नै विवरणहरूमार्फत एक जना असाधारण व्यक्‍तित्वको कल्पना गरेर तिनीबारे एकै प्रकारले वर्णन गर्नु सजिलो हुने थिएन। चार भिन्‍नाभिन्‍नै लेखकहरूले अस्तित्वमै नभएको एक जना पुरुषको वर्णन गर्न र तिनको बारेमा दुरुस्त विवरण दिन सम्भव हुने थिएन।

इतिहासकार माइकल ग्रान्ट एकदम विचारणीय प्रश्‍न सोध्छन्‌: “सुसमाचारका पुस्तकको सबै विवरणअनुसार एक जना हट्टाकट्टा सुन्दर मानिसले बदनाम भएका स्त्रीहरूलगायत विभिन्‍न प्रकारका स्त्रीहरूसित खुल्लमखुल्ला घुलमिल गर्न सक्नु र त्यस्तो बेला समेत तिनले कुनै भावुकता, कामुकता वा छलकपट नदेखाई आफ्नो चरित्रलाई कसरी सधैं निष्ठावान्‌ राख्नसके होलान्‌?” ती मानिस साँच्चै अस्तित्वमा थिए र बाइबलमा वर्णन गरेअनुसार नै तिनले व्यवहार गर्थे भन्‍नु नै यसको व्यावहारिक जवाफ हो।

येशू र तपाईंको भविष्य

बाइबलले येशू पृथ्वीमा हुँदाखेरिको जीवनी मात्र बताउनुको अलावा उहाँको मानवपूर्व अस्तित्व अर्थात्‌ “सारा सृष्टिको जेठो” परमेश्‍वरको एकलौटो पुत्र हुनुहुन्थ्यो भनेर पनि बताउँछ। (कलस्सी १:१५) झन्डै दुई हजार वर्षअघि परमेश्‍वरले आफ्नो पुत्रको जीवनलाई यहूदी कन्याको गर्भमा सारेर मानिसको रूपमा जन्मन पठाउनुभयो। (मत्ती १:१८) आफ्नो पार्थिव सेवकाईको दौडान येशूले परमेश्‍वरको राज्य नै तनाउग्रस्त मानवजातिको लागि एक मात्र आशा हो भनेर घोषणा गर्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई पनि यस प्रचारकार्यलाई निरन्तरता दिइरहन प्रशिक्षण दिनुभयो।—मत्ती ४:१७; १०:५-७; २८:१९, २०.

सा.यु. ३३ निसान १४ मा (अप्रिल १ तिर), येशूलाई गिरफ्तार गरियो, मुद्दा चलाइयो, दण्ड सुनाइयो र राजद्रोहको झूटो आरोप लगाएर मारियो। (मत्ती २६:१८-२०, मत्ती २६:४८–२७:५०) येशूको मृत्युले विश्‍वासी मानिसहरूलाई तिनीहरूको पापी अवस्थाबाट छुटकारा दिन र उहाँमाथि विश्‍वास गर्नेहरूलाई अनन्त जीवनको मार्ग खोल्न छुडौतीको बलिदानको रूपमा काम गर्छ। (रोमी ३:२३, २४; १ यूहन्‍ना २:२) निसान १६ मा येशूको पुनरुत्थान भयो र त्यसको केही समयपछि उहाँ स्वर्गमा फर्कनुभयो। (मर्कूस १६:१-८; लूका २४:५०-५३; प्रेरित १:६-९) यहोवाद्वारा नियुक्‍त राजाको हैसियतमा पुनरुत्थान हुनुभएको येशूसित परमेश्‍वरले मानिसजातिको लागि सुरुमा राख्नुभएको उद्देश्‍य पूरा गर्ने अख्तियार छ। (यशैया ९:६, ७; लूका १:३२, ३३) हो, बाइबलले येशूलाई परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने प्रमुख व्यक्‍तिको रूपमा प्रस्तुत गर्छ।

प्रथम शताब्दीमा लाखौंले येशू वास्तवमा जे हुनुहुन्थ्यो, त्यही रूपमा स्वीकारे अर्थात्‌ प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट जसलाई यहोवाको सार्वभौमिकता उच्च पार्न र मानिसजातिका लागि छुडौतीको प्रबन्ध गर्न पृथ्वीमा पठाइएको थियो। (मत्ती २०:२८; लूका २:२५-३२; यूहन्‍ना १७:२५, २६; १८:३७) यदि येशूको चिनारी अस्पष्ट भएको भए डरलाग्दो सतावटको सामना गर्नुपर्दा चेलाहरू अटल रहने थिएनन्‌ होला। निर्भय र जोसका साथ तिनीहरूले आफूलाई दिइएको “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा पालन गरिरहे।—मत्ती २८:१९.

आज, लाखौं इमानदार अनि यसबारे बुझेका मसीहीहरूलाई येशू पौराणिक व्यक्‍तित्व मात्र होइन भन्‍ने कुरा थाह छ। तिनीहरू उहाँलाई स्वर्गमा स्थापित परमेश्‍वरको राज्यको सत्तारूढ राजाको रूपमा स्वीकार्छन्‌ जसले चाँडै यस पृथ्वी र यसका सम्पूर्ण गतिविधिलाई आफ्नो नियन्त्रणमा लिनुहुनेछ। यो ईश्‍वरीय राज्य सबैलाई चाहिएकै कुरा हो किनभने यसले संसारका समस्याहरूलाई हटाउने प्रतिज्ञा गर्छ। साँचो मसीहीहरू “राज्यको यो सुसमाचार” अरूलाई घोषणा गरेर यहोवाले छान्‍नुभएको राजाप्रति आफ्नो वफादार समर्थन देखाउँछन्‌।—मत्ती २४:१४.

जीवित परमेश्‍वरको पुत्र येशूमार्फत परमेश्‍वरको राज्यसम्बन्धी प्रबन्धहरूलाई समर्थन गर्नेहरूले अनन्त आशिष्‌हरू पाउनेछन्‌। यी आशिष्‌हरू तपाईंले पनि पाउन सक्नुहुन्छ! वास्वतमा येशू को हुनुहुन्छ भनी तपाईंलाई थाह दिन यस पत्रिकाका प्रकाशकहरू खुसी हुनेछन्‌।

[फुटनोट]

a सुसमाचारका पुस्तकहरूबारे विस्तृत विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित द बाइबल—गड्‌स वर्ड अर म्यान्स? पुस्तकका ५ देखि ७ अध्यायहरू हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

अरूले के भनेका छन्‌

“म नासरतका येशूलाई संसारकै सबैभन्दा शक्‍तिशाली शिक्षकहरूमध्ये एक मान्छु। . . . म हिन्दूहरूलाई के भन्‍न चाहन्छु भने, तपाईंहरूले येशूका शिक्षाहरूलाई गहिरो आदर गरेर अध्ययन नगर्नुभएसम्म तपाईंहरूको जीवन अधुरै हुनेछ।”—मोहनदास क. गान्धी, द मेशेज अफ जिजस क्राइस्ट।

“त्यस्तो मौलिक, पूर्ण, एकरूपता भएको, सिद्ध, सामान्य मानिसजस्तो तरैपनि सबै मानिसको महानताभन्दा उच्च चरित्र भएको व्यक्‍ति कुनै जालसाजीको परिणाम वा काल्पनिक हुन सक्दैन। . . . येशूलाई आविष्कार गर्ने हो भने, आविष्कारक स्वयम्‌ येशूभन्दा महान्‌ हुनुपर्छ।”—फिलिप शाफ, हिस्ट्री अफ द क्रिश्‍चियन चर्च।

“दुई चार जना साधारण मानिसहरू मिलेर . . . यस्तो प्रभावशाली र आकर्षक व्यक्‍तित्व रचना गर्न सक्नु, यस्तो उच्च नैतिक मूल्यमान्यता अनि मानव भ्रातृत्वको लागि उत्प्रेरणादायी दर्शन तयार गर्न सक्नु, सुसमाचारका पुस्तकमा लिपिबद्ध चमत्कारहरूभन्दा पनि अविश्‍वसनीय चमत्कार हुनेछ।”—विल डुरान्ट,सिजर एण्ड क्राइस्ट।

“थुप्रै अकाल्पनिक मानिसहरूले त आफ्नो मतलाई धर्मको रूपमा स्थापित गर्न सकेका छैनन्‌ भने, अहिले विश्‍वव्यापी रूपमा फैलिएको धर्मलाई एक जना काल्पनिक व्यक्‍तिले सुरु गरेर पछि प्रचारप्रसारद्वारा व्यापक बनाइएको हो भन्‍ने कुरा पत्याउनु अलि अतार्किक देखिनसक्छ।”—ग्रेग इस्टरबूक, बिसाइड स्टिल वटर्स।

‘साहित्यिक इतिहासकारको हैसियतमा म के भन्‍न चाहन्छु भने, सुसमाचारका पुस्तकहरू जेभए तापनि ती पौराणिक कथाहरू भने कदापि होइनन्‌। त्यसमा पौराणिक कथामा जस्तो काल्पनिक कुराहरू छैनन्‌। येशूको जीवनीको अधिकांश गतिविधिहरूसित हामी अनभिज्ञ छौं तर पौराणिक कथा बनाउने मानिसहरूले त्यस्ता कुराहरू छुटाउँदैनन्‌।’—सी. एस. लुइस, गड इन द डक।

[पृष्ठ ७-मा भएका चित्रहरू]

सुसमाचारका पुस्तकहरूले येशूका विभिन्‍न भावनाहरूलाई प्रकाश पार्छ