वर्ग विभाजनका समस्याहरू
वर्ग विभाजनका समस्याहरू
“समानता भनेको सायद अधिकारको कुरा होला तर पृथ्वीको कुनै पनि व्यक्तिले यसलाई वास्तविकतामा परिणत गर्न सक्दैन।”
यो कुरा १९ औं शताब्दीका फ्रान्सेली उपन्यासकार ओनरे डे बाल्जाकले भनेका हुन्। के तपाईं तिनको भनाइसित सहमत हुनुहुन्छ? वर्ग विभाजन भन्ने बित्तिकै थुप्रैलाई यो गलत हो भन्ने लागिहाल्छ। यद्यपि, अहिले २१ औं शताब्दीमा समेत मानव समाज विभिन्न सामाजिक वर्गमा विभाजित छन्।
सन् १९२३ देखि १९२९ सम्मका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति क्यालभिन कुलिज वर्ग विभाजनको समस्याबारे चिन्तित थिए र तिनले “अन्ततः सबै सुविधासम्पन्न वर्ग निर्मूल पार्ने” घोषणा गरे। तथापि, कुलिजको कार्यकालको झन्डै ४० वर्षपछि जातीय समूहहरूबीचको सम्बन्ध अध्ययन गर्न नियुक्त गरिएको कर्नर आयोगको रिपोर्टमा संयुक्त राज्यमा दुइटा समाज सृजना हुने सम्भावना बढी छ भन्ने कुरा व्यक्त गरिएको थियो: “एउटा अश्वेत अर्को श्वेत—पृथक र असमान।” कसै-कसैले अहिले नै यो पूर्वानुमान साँचो साबित भइरहेको र त्यस देशमा “आर्थिक र जातीय विभाजन बढ्दै गइरहेको” बताउँछन्।
मानव समानताको धारणालाई वास्तविकतामा परिणत गर्न यत्तिबिघ्न गाह्रो हुनुको कारण के हो? यसको मुख्य कारण मानव स्वभाव नै हो। सं.रा.-का भूतपूर्व सांसद विलियम रान्डोल्फ हियर्स्टले एक चोटि यसो भने: “मानिसहरू एउटा पक्षमा भने समान छन् र त्यो हो, असमान हुने चाहना।” तिनको भनाइको अर्थ के हो? सायद १९ औं शताब्दीका फ्रान्सेली नाटककार हेनरी बेकले भनेका कुराबाट हामी यसको अर्थ स्पष्टसँग बुझ्नसक्छौं: “समानता प्राप्त गर्न यत्तिबिघ्न गाह्रो हुनुको कारण हामी आफूभन्दा श्रेष्ठहरूसँग मात्र समान हुन चाहन्छौं।” अर्को शब्दमा भन्ने हो भने, मानिसहरू सामाजिक ओहदामा आफूभन्दा उच्च व्यक्तिहरूसँग मात्र समान हुन चाहन्छन्; तर थुप्रै मानिस आफ्ना सुविधा तथा फाइदाहरू त्यागेर आफूभन्दा तल्लो स्तरका मानिसहरूसँग समान हुन इच्छुक हुँदैनन्।
विगतमा, मानिसहरू जन्मदेखि नै सर्वसाधारण, सामन्ती वा राजपरिवारका सदस्यहरू हुन्थे। कतिपय देशहरूमा अहिले पनि यस्तै छ। तथापि, आज थुप्रै देशमा, मानिसहरूसँग भएको पैसाको आधारमा मानिसहरूलाई तल्लो, मध्यम वा उच्च वर्ग भनी छुट्याइन्छ। यद्यपि, जात, शिक्षा र साक्षरताको आधारमा पनि वर्ग विभाजन गरिन्छ। अनि कुनै-कुनै देशमा महिलाहरूलाई तल्लो वर्गको ठानिने भएकोले लिंगको आधारमा पनि भेदभाव गरिन्छ।
आशाका किरणहरू?
मानवअधिकारसम्बन्धी कानुनले केही हदसम्म वर्ग विभाजनको तगारो हटाउन मदत गरेको छ। संयुक्त राज्य अमेरिकामा छुवाछूत विरुद्ध विधेयक पारित गरिएको थियो। दक्षिण अफ्रिकामा रंगभेद गैरकानुनी ठहर गरियो। कतिपय ठाउँमा दासप्रथा अझै व्याप्त भए तापनि थुप्रै देशमा यो कानुन विपरीत छ। अदालतका निर्णयहरूको कारण केही जनजातिहरूले आफ्नो जग्गा-जमिनमा हक दाबी गर्न सकेका छन् र भेदभाव विरुद्ध कानुनले गर्दा केही पिछडिएका वर्गले राहत पाएका छन्।
के यसले वर्ग विभाजनको अन्तलाई संकेत गर्छ? अहँ, गर्दैन। केही वर्ग विभाजन पहिलाजस्तो प्रबल नहोला तर नयाँ प्रकारका विभाजनहरू देखा पर्न थालेका छन्। क्लास वारफेयर इन दी इन्फरमेसन एज नामक पुस्तक यसो भन्छ: “अहिले पुँजीवाद र श्रमिक वर्गमा मानिसहरूलाई वर्गीकृत गर्नु उपयुक्त देखिंदैन तर यी दुई ठूला वर्ग स-साना क्रोधित मानिसहरूका समूहहरूमा विभाजित भएका छन्।”
के वर्ग विभाजनले सदाको निम्ति मानिसहरूलाई विभाजित गर्नेछ? अवस्था त्यत्ति आशाहीन छैन भनेर यसपछिको लेखले देखाउनेछ।