सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ

ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ

ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ

जनावरहरू सहज ज्ञानद्वारा चल्छन्‌ भन्‍ने कुरा त तपाईंलाई थाहै होला। थुप्रै उपकरणहरू पनि तिनीहरूलाई दिइएको निर्देशनअनुसार चल्छन्‌। तर मानिसहरूचाहिं सिद्धान्तहरूको निर्देशनमा चल्न सृजिएका हुन्‌। यस कुरामा तपाईं कसरी पक्का हुन सक्नुहुन्छ? सबै धार्मिक सिद्धान्तहरूका सुरुआतकर्ता यहोवाले प्रथम मानवहरूलाई सृष्टि गर्नुहुँदा यस्तो घोषणा गर्नुभयो: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।” सृष्टिकर्ता आत्मा हुनुहुन्छ र उहाँको हाम्रोजस्तो भौतिक शरीर छैन। त्यसैकारण हामी उहाँको “आफ्नै स्वरूपमा” बनाइएका छौं भन्‍नुको अर्थ हामीले उहाँको व्यक्‍तित्व तथा उहाँका थुप्रै असल गुणहरू केही हदसम्म भए पनि प्रकट गर्न सक्छौं। सही कार्यसम्बन्धी नैतिक नियम भनेर विश्‍वास गर्ने सिद्धान्तहरूअनुरूप जीवन यापन गर्ने क्षमता मानिसहरूसित छ। यहोवाले यस्ता थुप्रै सिद्धान्तहरू आफ्नो वचनमा लिपिबद्ध गराउनुभएको छ।—उत्पत्ति १:२६; यूहन्‍ना ४:२४; १७:१७.

तर कसैले यसो भन्लान्‌, ‘तर बाइबलमा त सयौं सिद्धान्तहरू छन्‌। ती सबै थाह पाउन मेरोलागि असम्भव छ।’ त्यो कुरा साँचो हो। तर यस तथ्यलाई पनि विचार गर्नुहोस्‌: सबै ईश्‍वरीय सिद्धान्तहरू फाइदाजनक नै हुन्छन्‌, कुरा यति हो कुनै बढी गहन हुन्छन्‌ त कुनै कम। मोशाको व्यवस्थामा दिइएका आज्ञा तथा सिद्धान्तहरूमध्ये कुनै-कुनै अरूभन्दा पनि महत्त्वपूर्ण छन्‌ भन्‍ने कुरा येशू ख्रीष्टले मत्ती २२:३७-३९ मा उद्धृत गर्नुभएको कुराबाट थाह पाउन सक्नुहुन्छ।

गहन सिद्धान्तहरू कुन-कुन हुन्‌ त? मूलभूत सिद्धान्तहरू भन्‍नाले यहोवासितको हाम्रो सम्बन्धलाई प्रत्यक्ष असर गर्ने सिद्धान्तहरू हुन्‌। हामीले यी कुराहरूलाई मनमा लियौं भने, सृष्टिकर्ता हाम्रो नैतिक कम्पासको मुख्य निर्देशक बन्‍नुहुनेछ। त्यसबाहेक, अरू मानिसहरूसितको हाम्रो सम्बन्धलाई असर गर्ने सिद्धान्तहरू पनि हुन्छन्‌। यी सिद्धान्तहरू व्यवहारमा उतारेको खण्डमा मपाईंवादलाई जसरी परिभाषित गरिएको भए तापनि त्यसको प्रतिरोध गर्न यसले हामीलाई मदत गर्नेछ।

आउनुहोस्‌, हामी बाइबलको सबैभन्दा महत्त्वपूर्ण सत्यबाट थालनी गरौं। त्यो सत्य के हो र त्यसले तपाईंलाई कसरी असर गर्छ?

“सारा पृथ्वीमा सर्वोच्च”

पवित्र धर्मशास्त्रले यहोवा हाम्रो सर्वशक्‍तिमान्‌ परमेश्‍वर, महान्‌ सृष्टिकर्ता हुनुहुन्छ भनी स्पष्ट पार्छ। उहाँको बराबरीमा कोही आउन वा उहाँको ठाउँ कसैले लिन सक्दैन। बाइबलमा अभिलेख गरिएको मुख्य सत्य यही हो।—उत्पत्ति १७:१; उपदेशक १२:१.

भजनसंग्रहका लेखकहरूमध्ये एक जनाले यहोवाबारे यस्तो लेखे: “तपाई सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” पुरातन समयका राजा दाऊदले यस्तो लेखे: “हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ।” अनि प्रख्यात अगमवक्‍ता यर्मिया यस्तो लेख्न उत्प्रेरित भए: “हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान्‌ हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान्‌ छ।”—भजन ८३:१८; १ इतिहास २९:११; यर्मिया १०:६.

ती सत्यहरूलाई हामी आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्न सक्छौं?

हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण को हुनुपर्छ भन्‍ने कुरा स्पष्ट छ र त्यो हो, हाम्रो सृष्टिकर्ता तथा जीवनदाता। उसोभए, आफूप्रति अरूको ध्यान खिच्ने झुकाउ कसैमा बढी त कसैमा कम हुने भएकोले के हामी सबैले त्यस्तो झुकाउको प्रतिरोध गर्नु उचित हुनेछैन र? “सबै परमेश्‍वरकै महिमाको निम्ति गर” भन्‍ने सिद्धान्त बुद्धिमानी निर्देशन हो। (१ कोरिन्थी १०:३१) यस सन्दर्भमा दानियलले राम्रो उदाहरण बसाले।

ऐतिहासिक अभिलेखअनुसार बेबिलोनका राजा नबूकदनेसरले एकपल्ट आफूले सपनामा देखेका कुराबाट साह्रै चिन्तित भएर त्यसको अर्थ बुझ्न चाहे। राजाको सपनाको अर्थ खोल्न सबै जना असफल भए तापनि दानियलले राजाले जान्‍न चाहेको कुरा एक-एक गरी बताइदिए। के यसको श्रेय दानियल आफैले लिए? अहँ लिएनन्‌, बरु तिनले ‘गोप्य कुराहरू प्रकाश पार्ने स्वर्गमा हुनुहुने परमेश्‍वरको’ महिमा गरे। दानियलले यसो भने: “अरू जीवित प्राणीहरूभन्दा ममा बढता बुद्धि छ भनेर यो भेद मलाई खोलिदिनुभएको होइन।” दानियल सिद्धान्तअनुसार हिंड्‌ने व्यक्‍ति थिए। त्यसैकारण त, दानियलको पुस्तकमा तिनलाई परमेश्‍वरको नजरमा “अति प्रिय” व्यक्‍ति भनेर तीन चोटि वर्णन गरिएको छ।—दानियल २:२८, ३०; ९:२३; १०:११, १९.

दानियलको अनुकरण गरेर तपाईं लाभ उठाउन सक्नुहुन्छ। दानियलको अनुकरण गर्ने हो भने, मनोवृत्तिले प्रमुख भूमिका खेल्छ। तपाईंले गर्नुहुने कुराको श्रेय कसले पाउनुपर्छ? तपाईंको परिस्थिति जस्तो सुकै भए तापनि, तपाईं बाइबलको एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्तअनुरूप चल्न सक्नुहुन्छ र त्यो सिद्धान्त हो, यहोवा सार्वभौमसत्ताधारी प्रभु हुनुहुन्छ। तपाईंले त्यसो गर्नुभएको खण्डमा तपाईं पनि उहाँको “अति प्रिय” व्यक्‍ति हुन सक्नुहुनेछ।

आउनुहोस्‌, अब हामी मानव सम्बन्धहरूको क्षेत्रमा हामीलाई डोऱ्‍याउन सक्ने दुईवटा आधारभूत सिद्धान्तलाई विचार गरौं। आफूलाई बढ्‌तै महत्त्व दिने यस जमानामा मानव सम्बन्ध कायम गर्नु चुनौतीपूर्ण छ।

“नम्रता”

अहम्‌ भाव भएकाहरूले खासै सन्तुष्टि प्राप्त गर्दैनन्‌। प्रायजसो मानिसहरू उत्तम जीवन चाहन्छन्‌ र त्यो पनि अहिले नै। तिनीहरूका लागि भद्र हुनु भनेको कमजोरीको चिह्न हो। तिनीहरूको विचारमा अरू मानिसहरूले मात्र धैर्य धारण गर्नुपर्छ। आफू सफल हुनको लागि तिनीहरू जे गर्न पनि तयार हुन्छन्‌। के तपाईंलाई त्यस्तो व्यवहार नगरेर अर्कै किसिमले व्यवहार गर्नुपर्ने हो जस्तो लाग्छ?

परमेश्‍वरका सेवकहरूले दिनहुँजसो त्यस्तो मनोवृत्ति भएकाहरूसित व्यवहार गर्नुपरे तापनि आफूमा भने त्यस्ता मनोवृत्तिहरू विकास हुन दिनुहुँदैन। “जसले आफ्नो सह्रनी गर्छ, त्यो होइन, तर जसलाई प्रभुले सह्रनी गर्नुहुन्छ, त्यो स्वीकार गरिएको हुन्छ” भन्‍ने सिद्धान्तलाई परिपक्व मसीहीहरूले स्वीकार्छन्‌।—२ कोरिन्थी १०:१८.

यसो गर्न फिलिप्पी २:३, ४ मा दिइएको सिद्धान्त लागू गर्नु मदतकारी हुन्छ। त्यस पदले हामीलाई “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ [ठान]” भन्‍ने प्रोत्साहन दिन्छ। यस प्रकार “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिइरहेका हुनेछौं।

आफ्नो विषयमा उचित मनोवृत्ति राख्ने र आफ्नो योग्यताको ठीक लेखाजोखा गर्ने व्यक्‍ति पुरातन हिब्रूहरूका न्यायकर्ता, गिदोन थिए। तिनी इस्राएलका नेता हुन खोजेनन्‌। तथापि, तिनलाई उक्‍त जिम्मेवारी वहन गर्न अह्राइँदा गिदोनले आफू अयोग्य भएको कुरा बताए। तिनले भने, “मेरो गोत्र . . . ता मनश्‍शेमा सबैभन्दा कमजोर छ, औ मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।”—न्यायकर्त्ता ६:१२-१६.

यसबाहेक, यहोवाले गिदोनलाई विजयी तुल्याइदिनुभएपछि एप्रैमका मानिसहरू तिनीसित झगडा गर्न थाले। गिदोनले कस्तो प्रतिक्रिया देखाए? त्यस विजयपछि के तिनले आफ्नो महत्त्व बढेको महसुस गरे? अहँ, गरेनन्‌। तिनले विनम्रपूर्वक जवाफ दिएर विपत्ति हुनदेखि रोके। “तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु र?” गिदोन साँच्चै नम्र थिए।—न्यायकर्त्ता ८:१-३.

हो, गिदोनसित सम्बन्धित ती घटनाहरू धेरै समयअघि घटेका थिए। तैपनि, यस अभिलेखलाई विचार गर्नु उपयुक्‍त हुनेछ। आज व्याप्त मनोवृत्तिभन्दा गिदोनको मनोवृत्ति बेग्लै थियो र तिनले त्यो पालन गर्दा आफ्नै फाइदा भयो।

आज व्याप्त ‘मै हुँ’ भन्‍ने मनोवृत्तिले व्यक्‍तिगत महत्त्वप्रतिको दृष्टिकोणलाई विकृत तुल्याइदिन्छ। बाइबलका सिद्धान्तहरूले त्यस्तो विकृत दृष्टिकोणलाई सच्याउँछ अनि सृष्टिकर्ता र अरूसितको सम्बन्धमा हाम्रो कुन स्थान छ भनेर सिकाउँछ।

बाइबलका सिद्धान्तहरू पालन गरेर हामी मपाईंवादको प्रभावमा पर्नदेखि जोगिन सक्छौं। हामी भावना वा व्यक्‍तित्वको बहकाउमा पर्दैनौं। हामी जत्ति बढी धार्मिक सिद्धान्तहरू सिक्छौं, त्यत्ति नै राम्ररी ती सिद्धान्तहरू तोक्नुहुने व्यक्‍तिलाई चिन्‍न सक्छौं। हो, बाइबल पढ्‌ने क्रममा कुन ईश्‍वरीय सिद्धान्तलाई जोड दिइएको छ भनेर विचार गर्न तपाईंले गर्नुहुने प्रयास व्यर्थ जानेछैन।—पेटी हेर्नुहोस्‌।

यहोवाले मानिसहरूलाई सहज ज्ञानद्वारा चल्ने जनावरहरूभन्दा कता हो कता उत्कृष्ट ढंगमा बनाउनुभएको छ। परमेश्‍वरको इच्छालाई पछ्याउनुमा ईश्‍वरीय सिद्धान्तहरू पालन गर्नु समावेश छ। यस प्रकार हामी आफ्नो नैतिकताको कम्पासलाई सही ढंगले चल्ने बनाउन सक्छौं र त्यस कम्पासले हामीलाई परमेश्‍वरले बनाउनुहुने नयाँ रीतिरिवाजतर्फ डोऱ्‍याउनेछ। बाइबलले हामीलाई “धार्मिकताले बास” गर्ने विश्‍वव्यापी नयाँ रीतिरिवाज चाँडै आउनेछ भनी आशा गर्ने ठोस कारण दिन्छ।—२ पत्रुस ३:१३.

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

केही उपयोगी बाइबल सिद्धान्तहरू

परिवारभित्र:

“आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।”—१ कोरिन्थी १०:२४.

“प्रेमले . . . आफ्नै भलाई खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

“तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर।”—एफिसी ५:३३.

“ए पत्नी हो, . . . पतिका अधीनमा बस।”—कलस्सी ३:१८.

“तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्‌, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌।”—हितोपदेश २३:२२.

स्कूल, कार्यालय वा व्यापारमा:

“छलको तराजू . . . घीन लाग्छ, . . . दुष्ट मानिसले सत्यको धन कमाउँदैन।”—हितोपदेश ११:१, १८.

“चोर्नेले फेरि नचोरोस, बरू त्यसले परिश्रम गरोस।”—एफिसी ४:२७, २८.

“कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्‌।”—२ थिस्सलोनिकी ३:१०.

“जे जे तिमीहरू गर्दछौ, . . . प्रभुको निम्ति जस्तैगरी मनतनले गर।”—कलस्सी ३:२३.

“सबै कुरामा इमान्दारीसाथ रहने इच्छा . . . गर्दछौं।”—हिब्रू १३:१८.

धनसम्पत्तिप्रतिको मनोवृत्ति: “छिट्टै धनी हुन खोज्नेले दण्ड पाउनेछ।”—हितोपदेश २८:२०.

“जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।”—उपदेशक ५:१०.

आफूलाई महत्त्व दिने सन्दर्भमा: “आफ्नै मान खोज्नु चाहिं बोझा मात्र हो।”—हितोपदेश २५:२७.

“तेरो प्रशंसा अरूहरूबाट होस्‌ त आफैबाट होइन।”—हितोपदेश २७:२.

“तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ।”—रोमी १२:३.

“केही न केहीका मानिसले म केही हुँ भन्‍ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।”—गलाती ६:३.

[पृष्ठ ५-मा भएको चित्र]

दानियलले परमेश्‍वरलाई नै श्रेय दिए

[पृष्ठ ७-मा भएको चित्र]

अरूसित व्यवहार गर्दा ईश्‍वरीय सिद्धान्तहरू लागू गऱ्‍यौं भने त्यसले सुमधुर सम्बन्ध गाँस्न र आनन्दित हुन मदत गर्छ

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

U.S. Fish & Wildlife Service, Washington, D.C./Robert Bridges