सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्मत्यागको भावले सेवा गर्ने

आत्मत्यागको भावले सेवा गर्ने

जीवनी

आत्मत्यागको भावले सेवा गर्ने

डन रेन्डलको वृत्तान्तमा आधारित

म पाँच वर्षको मात्र हुँदा सन्‌ १९२७ मा मेरो आमाको मृत्यु भयो। तैपनि, उहाँको विश्‍वासले मेरो जीवनमा निकै प्रभाव पाऱ्‍यो। त्यो कसरी हुन सक्थ्यो?

मेरी आमा र बुबाको बिहे हुँदा बुबा पेसेवर सिपाही हुनुहुन्थ्यो भने आमाचाहिं चर्च अफ इंग्ल्याण्डका कट्टर सदस्य। त्यो हो, पहिलो विश्‍वयुद्धअघिको कुरा। सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु भयो र चर्चका पादरीले आफ्नो ओहदा मानिसहरूलाई सेनामा भर्ती गर्न प्रयोग गरेको देख्दा आमाको मन मानेन। पादरीले कस्तो जवाफ दिए? “घर जाऊ र यस्ता प्रश्‍नहरूले तिम्रो टाउको नदुखाऊ!” यो जवाफ आमालाई चित्त बुझेन।

सन्‌ १९१७ मा युद्ध एकदमै चर्किरहेको बेला आमा “फोटो ड्रामा अफ क्रिएसन” हेर्न जानुभयो। आफूले सत्य पाएको कुरामा निश्‍चित भएपछि आमाले चर्चसित संगत गर्न तुरुन्तै छोड्‌नुभयो र बाइबल स्टुडेन्ट्‌ससित संगत गर्न थाल्नुभयो। यहोवाका साक्षीहरू त्यतिबेला त्यही नाउँले चिनिन्थे। उहाँले हाम्रो समरसेट प्रान्तको वेस्ट ककर गाउँ नजिकैको योभिल मण्डलीमा सभाहरू धाउन थाल्नुभयो।

आफूले सिकेका यी नयाँ कुराहरू आमाले आफ्ना दुई दिदी र एक बहिनीलाई सुनाउन थाल्नुभयो र योभिल मण्डलीका पुराना सदस्यहरूले बताएअनुसार आमा र मेरी सानीमा, मिली टाढ-टाढाका गाउँसम्म साइकल चढेर जानुहुन्थ्यो र स्टडीज इन द स्क्रिप्चर्स भन्‍ने बाइबल अध्ययन सहायक वितरण गर्नुहुन्थ्यो। तर दुःखको कुरा, आफ्नो जीवनको आखिरी १८ महिना भने उहाँ टिबीले गर्दा ओछ्यानमै थलिनुभयो किनभने त्यतिबेला त्यस रोगको कुनै उपचार थिएन।

आत्मत्यागलाई व्यवहारमा उतार्दै

आमा बिरामी हुनुहुँदा हामीसितै बस्नुभएको सानीमा मिलीले आमाको स्याहारसुसार गर्नुका साथै म र मेरी सात वर्षीया दिदी, जोनको पनि हेरचाह गर्नुभयो। आमाको मृत्यु हुँदा सानीमा मिलीले हामी केटाकेटीको लालनपालन गर्ने प्रस्ताव राख्नुभयो। आफू यो जिम्मेवारीबाट मुक्‍त हुने भएकोले बुबाले सहजै स्वीकार्नुभयो र सानीमा मिली हामीसित सधैंको लागि बस्न थाल्नुभयो।

हामी सानीमालाई असाध्यै माया गर्थ्यौं र उहाँ हामीसित बस्नुभएकोमा साह्रै खुसी थियौं। तर उहाँले यस्तो निर्णय किन गर्नुभयो? धेरै वर्षपछि हामीले थाह पायौं कि सानीमा मिलीले अर्को एउटा दायित्व महसुस गर्नुभयो। त्यो थियो, आमाले बसाल्नुभएको जगअनुसार जोन र मलाई बाइबल शिक्षा सिकाउने। यो कुरा हाम्रो बुबाले गर्नुहुने छैन भनेर सानीमालाई थाह थियो किनभने उहाँको धर्ममा रत्तीभर चासो थिएन।

समयको दौडान हामीले सानीमा मिलीले गर्नुभएको अर्को एउटा व्यक्‍तिगत निर्णयबारे पनि थाह पायौं। हाम्रो राम्रो हेरचाह गर्न उहाँले विवाह नगर्ने निधो गर्नुभएछ। कस्तो आत्मत्याग! त्यसैकारण, जोन र म उहाँप्रति कृतज्ञ हुनुपर्ने थुप्रै कारणहरू छन्‌। सानीमा मिलीले सिकाउनुभएको र उहाँको उत्कृष्ट उदाहरणले हाम्रो मनमा अमेट छाप पारेको छ।

निर्णय गर्नुपर्ने समय

जोन र म चर्च अफ इंग्ल्याण्डले गाउँमा खोलेको स्कूलमा पढ्‌थ्यौं र यहाँ पनि सानीमा मिलीले हाम्रो धार्मिक शिक्षाको सन्दर्भमा प्रधानाध्यापिकासित दृढ अडान लिनुभयो। अरू सबै केटाकेटी चर्चतिर जाँदा हामी घरै जान्थ्यौं र धार्मिक शिक्षा दिन पादरी स्कूलमा आउँदा हामी अलग्गै बसेर शास्त्रपदहरू कण्ठस्थ पार्थ्यौं। यसले मलाई एकदमै फाइदा गऱ्‍यो किनभने यी पदहरू मैले कहिल्यै बिर्सिनँ।

एउटा स्थानीय चिज कारखानामा काम सिक्न चार वर्षे तालिम लिन १४ वर्षको उमेरमा मैले स्कूल छोडें। मैले पियानो बजाउन पनि सिकें र संगीत तथा नृत्य मेरो सोख भयो। मेरो हृदयमा बाइबल सत्यले जरा गाडेको भए तापनि म त्यसबाट उत्प्रेरित भने भएको थिइनँ। अनि सन्‌ १९४० मार्च महिनाको एक दिन एक जना वृद्धा साक्षीले मलाई लगभग ११० किलोमिटर पर स्वीन्डनमा हुने सम्मेलनमा सँगै गइदिन बोलाउनुभयो। ब्रिटेनका यहोवाका साक्षीहरूको अध्यक्ष, अल्बर्ट डि. श्रोडरले जनभाषण दिनुभयो। त्यस सम्मेलनले मेरो जीवनमा निर्णायक मोड ल्यायो।

दोस्रो विश्‍वयुद्ध चर्किरहेको थियो। म मेरो जीवनसित के गर्दैछु? मैले योभिल राज्यभवन फर्कने निधो गरें। म उपस्थित भएको पहिलो सभामै सडक साक्षी कार्यबारे बताइयो। मेरो ज्ञान सीमित भए तापनि मैले यस क्रियाकलापमा स्वयम्‌सेवकको हैसियतमा भाग लिएँ अनि मेरा साथी भनौंदाहरू मैले यस्तो काम गरेको देखेर छक्क पर्नुका साथै मलाई बाटोमा यसरी देख्दा गिज्याउँथे!

जून १९४० मा मैले ब्रिस्टोल शहरमा बप्तिस्मा लिएँ। त्यसको एक महिना नबित्दै म पूर्ण-समय प्रचारकको हैसियतमा नियमित अग्रगामी भएँ। केही समयपछि मेरी बहिनीले पनि पानीको बप्तिस्माद्वारा आफ्नो समर्पण प्रकट गर्दा म साह्रै खुसी भएँ!

युद्धको समयमा अग्रगामी

युद्ध सुरु भएको एक वर्षपछि मैले सेनामा भर्ती हुन बोलाइएको पत्र पाएँ। धार्मिक सिद्धान्तको खातिर सेनामा भर्ती नगर्ने भनी नाउँ लेखाइसकेको हुँदा म ब्रिस्टोलको अदालतमा हाजिर हुनुपऱ्‍यो। मैले सुरुमा ग्लाउचेस्टरशायरको सिन्डरफोर्ड र पछि हाभरफोर्डवेस्ट र वेल्सको कारमाथेनमा जोन विनसित अग्रगामी गर्न थालिसकेको थिएँ। पछि कारमाथेनमा मुद्दाको सुनुवाइ हुँदा मलाई स्वानसिया झ्यालखानामा तीन महिना कैद र २५ पाउण्ड जरिवाना तिराइयो, यो त्यतिबेलाको लागि निकै ठूलो रकम थियो। अनि त्यो रकम तिर्न नसकेको कारण मलाई अझ अर्को तीन महिना कैद सजाय थपियो। a

तेस्रो सुनुवाइ हुँदा मलाई यो प्रश्‍न सोधियो: “बाइबलले ‘सिजरको कुरा सिजरलाई देऊ’ भनेको कुरा के तिमीलाई थाह छैन?” मैले भनें, “हो, मलाई थाह छ तर म त्यो पद पूरा गर्न चाहन्छु: ‘परमेश्‍वरको कुरा परमेश्‍वरलाई देऊ।’ हो, म त्यही गर्दैछु।” (मत्ती २२:२१) केही हप्तापछि मलाई दिइएको पत्रमा म सैन्य सेवाबाट मुक्‍त भएको कुरा बताइएको थियो।

सन्‌ १९४५ को सुरुतिरै मलाई लण्डन बेथेल परिवारमा बोलाइयो। त्यसपछिको हिउँदमा नेथन एच. नोर, जसले विश्‍वव्यापी प्रचारकार्यलाई व्यवस्थित गर्न नेतृत्व लिइरहनुभएको थियो र उहाँको सेक्रेटरी मिल्टन जि. हेन्सेल लण्डन आउनुभयो। वाचटावर बाइबल स्कूल अफ गिलियडको आठौं कक्षाको लागि बेलाइतबाट आठ जना जवान भाइहरू नियुक्‍त गरियो र त्यस समूहमा म पनि एक थिएँ।

मिसनरी असाइनमेन्टहरू

मे २३, १९४६ का दिन फावीको सानो कर्निश बन्दरगाहबाट युद्धको लागि बनाइएको लिबर्टी जहाज चढ्यौं। बन्दरगाहका हाकिम क्याप्टेन कोलिन्स यहोवाका साक्षी थिए अनि जहाजमा चढ्‌नै लाग्दा तिनले साइरन बजाए। बेलाइतको समुद्री तट बिस्तारै हाम्रो दृष्टिबाट विलिन हुँदै जाँदा हामी सबैको मनमा खुसी र दुःखका मिश्रित भावनाहरू थिए। आन्द्र महासागर पार गर्ने यो यात्रा सजिलो थिएन तर १३ दिनपछि सकुशल हामी संयुक्‍त राज्य अमेरिका पुग्यौं।

क्लिभल्याण्ड ओहायोमा अगस्त ४ देखि ११, १९४६ मा सम्पन्‍न आठ दिने आनन्दित राष्ट्रहरू ईश्‍वरतान्त्रिक सम्मेलन अत्यन्तै स्मरणीय अनुभव थियो। त्यहाँ ३२ वटा देशबाट आएका ३०२ लगायत ८० हजार प्रतिनिधिहरू उपस्थित भएका थिए। त्यस अधिवेशनमा ब्यूँझनुहोस्‌! b पत्रिका विमोचन गरियो अनि उक्‍त उत्साहित भीडको लागि “लेट गड बि ट्रु” नामक बाइबल अध्ययन सहायक पनि विमोचन भयो।

हामी सन्‌ १९४७ मा गिलियडबाट स्नातक भयौं अनि बिल कप्सन र मलाई इजिप्ट खटाइयो। तर ब्रूकलिन बेथन छोड्‌नुअघि मैले रिचर्ड अब्राहामसनबाट कार्यालयको रेखदेखसम्बन्धी केही राम्रो प्रशिक्षण लिने मौका पाएँ। हामी एलेक्जान्ड्रियामा ओर्लियौं अनि चाँडै मध्यपूर्वी जीवनशैलीअनुसार मैले आफ्नो जीवनमा छाँटकाँट गर्न थालें। तथापि, अरबी भाषा सिक्नु चुनौतीपूर्ण थियो तर मैले भने चारवटा भाषामा प्रचार कार्ड चलाउनुपर्थ्यो।

बिल कप्सन त्यहाँ सात वर्ष बसे तर पहिलो वर्षपछि नै म भिसा नवीकरण गर्न असमर्थ भएको कारण मैले त्यो देश छोड्‌नुपऱ्‍यो। फर्केर हेर्दा मिसनरी सेवामा बिताएको त्यो वर्ष मेरो जिन्दगीको सबैभन्दा फलदायी समय ठान्छु। मैले हरेक हप्ता २० वटाभन्दा बढी बाइबल अध्ययन सञ्चालन गर्ने मौका पाएँ र तिनीहरूमध्ये कति जनाले अझै पनि सक्रियतासाथ यहोवाको प्रशंसा गर्दैछन्‌। इजिप्टबाट मलाई साइप्रस खटाइयो।

साइप्रस अनि पछि इजरायल

मैले नयाँ भाषा, ग्रीक सिक्न थालें र स्थानीय भाषा पनि बुझ्ने प्रयास गर्न थालें। केही समयपछि एन्थोनी सिडारिसलाई ग्रीस खटाइँदा मलाई साइप्रसको काम निरीक्षण गर्न नियुक्‍त गरियो। त्यतिबेला साइप्रस शाखा कार्यालयले नै इजरायलको पनि हेरचाह गर्थ्यो र अरू भाइहरूसँगै त्यहाँ भएका मुठीभर साक्षीहरूलाई पनि मैले बेला-बेलामा भेट्‌ने मौका पाएँ।

इजरायलमा पहिलो चोटि जाँदा हामीले हाइफाको एउटा रेस्टुरेन्टमा सानो सम्मेलन आयोजना गऱ्‍यौं। त्यस अवसरमा ५०/६० जना मानिसहरू भेला भएका थिए। राष्ट्रिय समूहअनुसार छुट्याएर हामीले सम्मेलनको कार्यक्रम छवटा भाषामा प्रस्तुत गऱ्‍यौं! अर्को चोटि भने मैले यहोवाका साक्षीहरूद्वारा तयार पारिएको एउटा चलचित्र जेरूशलेममा देखाउन सकें अनि मैले त्यहाँ दिएको जनभाषणलाई एउटा अंग्रेजी अखबारले निकै तारिफ गरेको थियो।

त्यतिबेला साइप्रसमा १०० जना जति साक्षीहरू थिए अनि तिनीहरूले विश्‍वासको लागि कडा लडन्त लड्‌नुपर्थ्यो। ग्रीक अर्थोडक्स चर्चका पादरीहरूले हूललाई उक्साएर हाम्रा सम्मेलनहरू गोलमाल गर्थे अनि ग्रामीण इलाकामा साक्षी दिइरहँदा ढुंगाको हिर्काइ खानु मेरोलागि नयाँ अनुभव थियो। यस्तो अवस्थामा मैले छिट-छिटो भाग्न सिक्नुपऱ्‍यो! त्यस्तो भयानक विरोध आइपरिरहेको समयमा यस टापुमा अरू मिसनरीहरू खटाइँदा हामीले ढाडस पायौं। डेनिस र मेभिस म्याथ्युज, जोन हली र बेरील हेवुडले मलाई फामागुस्टामा साथ दिए भने टम र मेरी गल्डान र बेलाइतमा जन्मिएका साइप्रस मूलकी नीना कन्स्टान्टी लिमासोल गए। यही बेलातिर बिल कप्सनलाई पनि साइप्रसमा खटाइयो, जसलाई पछि बर्ट र बेरील भाइसीले साथ दिए।

बद्‌लिंदो परिस्थितिअनुसार काँटछाँट गर्ने

सन्‌ १९५७ को अन्ततिर म बिरामी परें र मिसनरी सेवामा लागिरहन असमर्थ भएँ। आफ्नो स्वास्थ्यको हेरचाह गर्न इंग्ल्याण्ड फर्कनुपर्दा मलाई साह्रै दुःख लाग्यो र सन्‌ १९६० सम्म इंग्ल्याण्डमै अग्रगामी गरें। मेरी बहिनी र ज्वाइँले मलाई उनीहरूकै घरमा राखे तर परिस्थिति अलि गाह्रो भयो। जोनलाई कामकुरा गर्न साह्रै गाह्रो भइरहेको थियो। मेरो १७ वर्षसम्म अनुपस्थितिमा जोनले उनको श्रीमान्‌ र छोरीको हेरविचार गर्नुका साथै वृद्ध र अशक्‍त हुनुभएका मेरो बुबा तथा सानीमा मिलीको पनि मायालु हेरचाह गरिरहेकी थिइन्‌। मेरी सानीमाले बसाल्नुभएको आत्मत्यागको भाव झल्काउनुपर्ने खाँचो प्रस्टै देखियो। त्यसकारण, म मेरी सानीमा र बुबाको मृत्यु नहोउञ्जेलसम्म बहिनीसितै बसें।

हुन त इंग्ल्याण्डमै बसोबास गर्नु सजिलो हुने थियो तर अलिकति आराम गरिसकेपछि मैले आफ्नो असाइनमेन्टमा फर्कनुपर्ने दायित्व महसुस गर्न थालें। आखिर, के यहोवाको संगठनले मलाई प्रशिक्षण दिन धेरै पैसा खर्च गरेको थिएन र? त्यसैले, सन्‌ १९७२ मा म आफ्नै खर्चमा अग्रगामी गर्न साइप्रस फर्कें।

आगामी वर्ष हुने अधिवेशनको आयोजना गर्न नेथन एच. नोर त्यहाँ आउनुभएको थियो। उहाँले म त्यहाँ फर्केको कुरा थाह पाउनुभएपछि त्यो पूरै टापुको क्षेत्रीय निरीक्षक नियुक्‍त गर्न मलाई सिफारिस गर्नुभयो र चार वर्षसम्म मैले त्यस सुअवसरको आनन्द उठाएँ। तथापि, यो असाइनमेन्ट सजिलो थिएन किनभने प्रायजसो ग्रीक भाषा नै बोल्नुपर्ने थियो।

संकटको समय

म उत्तरी समुद्रीतटबाट काइरेनियाको पूर्वतिर पर्ने काराकुमे गाउँमा ग्रीक भाषा बोल्ने साइप्रस मूलका साक्षी, पल आन्ड्राउसित एउटै घरमा बस्थें। साइप्रस शाखा कार्यालय काइरेनियाका पहाडहरूको दक्षिणपट्टि निकोसियामा थियो। जुलाई १९७४ को सुरुतिर राष्ट्रपति माकारियोसको सत्ता पल्टाउन विद्रोह हुँदा म निकोसियामै थिएँ र मैले तिनको दरबार आगोले भस्म भएको देखें। यात्रा गर्न त्यति खतरा नभएपछि म काइरेनिया पुगें, जहाँ हामी क्षेत्रीय सम्मेलनको लागि तयारी गर्दैथियौं। त्यसको दुई दिनपछि मैले बन्दरगाहमा खसालिएको पहिलो बमको आवाज सुनें अनि मैले टर्कीबाट आएका सेनाहरूको हेलिकप्टरले आकाशमा फन्को लगाइरहेको देखें।

म बेलाइती नागरिक भएको कारण टर्कीका सिपाहीहरूले मलाई निकोसियाको बाहिरी इलाकामा लगे र त्यहाँ राष्ट्र संघका कर्मचारीहरूले मलाई केरकार गरे, जसले शाखा कार्यालयसित पनि सम्पर्क राखिसकेको थियो। त्यसपछि मैले अर्को ठूलो काम गर्नुपर्ने भयो अर्थात्‌ टेलिफोन तथा बिजुलीका तारहरूको संजाल हुँदै कोही पनि बसोबास नगर्ने इलाकाका रित्तो घरहरूमा जानुपर्ने भयो। यहोवासितको मेरो सञ्चार माध्यम अवरुद्ध नभएकोमा म अत्यन्तै खुसी थिएँ! मेरा प्रार्थनाहरूले मलाई जीवनको यस्तो दुःखदायी अवस्थामा पनि सम्हाल्यो।

मेरो मालसामान सबै हराइसकेको थियो तर शाखा कार्यालयको सुरक्षा पाउँदा मलाई साह्रै खुसी लाग्यो। तथापि, यो अवस्था अल्पकालीन थियो। केही दिन बित्न नपाउँदै आक्रमणकारी सेनाले यस टापुको उत्तरी भागको एक तिहाइ भागमा कब्जा जमाइसकेको थियो। बेथेल छोड्‌नुपर्ने भयो र हामी लिमासोलमा सऱ्‍यौं। यस विपत्तिले गर्दा घरबार गुमाएका लगभग ३०० जना भाइहरूको हेरचाह गर्न खडा गरिएको समितिमा काम गर्न पाउँदा म खुसी थिएँ।

असाइनमेन्टमा थप परिवर्तनहरू

जनवरी १९८१ मा परिचालक निकायले मलाई ग्रीसमा एथेन्सस्थित बेथल परिवारको सदस्य हुन बोलायो तर त्यही वर्षको अन्ततिर म साइप्रस फर्कें र शाखा समिति संयोजक नियुक्‍त भएँ। लण्डनबाट यहाँ पठाइएका साइप्रस मूलका एन्ड्रियास कन्टोयोर्गिस र उनकी पत्नी, मारो मलाई “सान्त्वना दिने मानिसहरू” भए।—कलस्सी ४:११.

सन्‌ १९८४ मा थियोडर जारसको जोन भ्रमणको अन्ततिर मैले परिचालक निकायबाट यस्तो पत्र पाएँ: “त्यहाँ उहाँको काम सिद्धिएपछि तपाईं भाइ जारससित ग्रीस जानुभए बेस हुनेछ।” कुनै कारण दिइएको थिएन तर हामी ग्रीस पुग्दा त्यहाँको शाखा समितिलाई अर्को एउटा पत्र पढेर सुनाइयो अनि त्यसमा मलाई शाखा संयोजक नियुक्‍त गरिएको कुरा थियो।

यतिबेला हामीले धर्मत्यागका एकपछि अर्को प्रहार भोगिरहेका थियौं। साथै, गैरकानुनी ढंगमा धर्म परिवर्तन गराएको थुप्रै आरोपहरू पनि लगाइए। दिनहुँजसो यहोवाका जनहरूलाई समातेर अदालतमा हाजिर गराइन्थ्यो। यस्तो परीक्षाको घडिमा समेत निष्ठावान्‌ रहेका भाइबहिनीहरूलाई चिन्‍न पाउनु कस्तो ठूलो सुअवसरको कुरा थियो! तिनीहरूमध्ये कतिपयको मुद्दा मानवअधिकारको युरोपेली अदालतमा पनि सुनुवाइ भयो र त्यसबाट प्राप्त राम्रा परिणामहरूले ग्रीसको प्रचारकार्यमा राम्रो प्रभाव पाऱ्‍यो। c

ग्रीसमा सेवा गर्दा मैले एथेन्स, थिस्सलोनिका र रोड तथा क्रेट टापुमा सम्पन्‍न स्मरणीय अधिवेशनहरूमा उपस्थित हुन पाएँ। ती चार आनन्दमय, फलदायी वर्ष थिए तर फेरि अर्को परिवर्तन हुनेवाला थियो अर्थात्‌ सन्‌ १९८८ मा फेरि साइप्रस फर्कें।

साइप्रस अनि फेरि ग्रीस

साइप्रसमा मेरो अनुपस्थितिको बेला त्यहाँका भाइहरूले निकोसियाभन्दा केही किलोमिटर पर निसुमा नयाँ शाखा भवनहरू पाइसकेका थिए र यहोवाका साक्षीहरूको ब्रूकलिन मुख्यालयबाट आउनुभएका क्यारी बार्बरले समर्पण भाषण दिनुभयो। अहिले यस टापुको परिस्थिति अलि शान्त थियो र यहाँ फेरि फर्किन पाएकोमा म खुसी थिएँ तर त्यो अवस्था धेरै समयसम्म रहेन।

परिचालक निकायले एथेन्सभन्दा केही किलोमिटर पर ग्रीसमा नयाँ बेथेल गृह बनाउने योजना स्वीकृत गरिसकेको थियो। म अंग्रेजी र ग्रीक दुवै भाषा बोल्न सक्ने भएकोले मलाई नयाँ भवन निर्माण थलोमा आएका अन्तरराष्ट्रिय सेवकहरूको लागि दोभाषेको रूपमा काम गर्न बोलाइयो। गर्मीको बेला बिहान छ बजे नै निर्माण थलोमा पुगेर निर्माण कार्यमा मदत गर्न ग्रीसबाट आएका सयौं भाइबहिनीहरूलाई स्वागत गर्न पाउँदाको आनन्द मेरो मनमा अझै ताजा छ! तिनीहरूको आनन्द र जोसको मीठो सम्झना म कहिल्यै बिर्सने छैनँ।

ग्रीक अर्थोडक्स पादरी तथा तिनीहरूका समर्थकहरू निर्माण थलोभित्र घुसेर काम रोक्न खोजे तर यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो र हामी सुरक्षित रह्‍यौं। नयाँ बेथेल घरको समर्पण हेर्न म अप्रिल १३, १९९१ सम्म त्यस निर्माण थलोमै बसें।

मेरी प्रिय बहिनीलाई सघाउँदै

त्यसपछिको साल म बिदाको लागि इंग्ल्याण्ड फर्कें र बहिनी ज्वाइँसित बसें। तर दुःखको कुरा, म त्यहीं छँदा ज्वाइँलाई दुई चोटि हृदयघात भएर मृत्यु भयो। मेरो मिसनरी सेवाको दौडान जोनले मलाई असाध्यै सहयोग गरेकी थिइन्‌। उनले मलाई प्रोत्साहन दिंदै हरेक हप्ताजस्तो चिठी लेख्थिन्‌। मिसनरीहरूको लागि त्यस्तो पत्राचार अत्यन्तै मूल्यवान्‌ हुन्छ! उनी विधवा भइन्‌ र स्वास्थ्य पनि त्यति राम्रो नभएकोले तिनलाई मदतको आवश्‍यकता थियो। अब मैले के गर्ने?

जोनकी छोरी, थेल्मा र उनको पतिले तिनीहरूको मण्डलीकै अर्को एक जना विश्‍वासी विधवाको हेरचाह गरिरहेका थिए, जो हाम्रै नातेदार पनि हुन्‌ र तिनी साह्रै बिरामी थिइन्‌। त्यसैकारण, निकै प्रार्थना गरिसकेपछि जोनलाई मदत गर्न मैले यहीं बस्ने निधो गरें। यस्तो छाँटकाँट गर्न सजिलो भएन तर अहिले योभिलका दुइटा मण्डलीहरूमध्ये एउटा, पेन मिल मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्न पाएकोमा म औधी खुसी छु।

विदेशी भूमिमा छँदा मैले सँगै सेवा गरेका भाइहरूले अझ पनि नियमति तवरमा टेलिफोन तथा पत्रद्वारा सम्पर्क राख्छन्‌ र त्यसको लागि म साह्रै कृतज्ञ छु। मैले ग्रीस वा साइप्रस फर्कने इच्छा गरेको खण्डमा मलाई त्यहाँका भाइहरूले तुरुन्तै टिकट पठाइदिनेछन्‌। तर अहिले म ८० वर्ष पुगिसकें अनि मेरो आँखा र स्वास्थ्य पहिलेजस्तो छैन। पहिलाजस्तो सक्रिय हुन नसक्दा दिक्क लाग्छ तर बेथेलमा बिताएका वर्षहरूले गर्दा मैले थुप्रै राम्रा बानीहरू बसाल्न सकेको छु, जसले मलाई अहिले पनि मदत गरेको छ। उदाहरणका लागि, म बिहान नास्ता खानुअघि सधैं दैनिक पद पढ्‌ने गर्छु। मैले मानिसहरूसित मिलेर काम गर्न अनि मानिसहरूलाई प्रेम गर्न सिकें र यही नै हो सफल मिसनरी सेवाको रहस्य।

मैले यहोवाको प्रशंसा गर्न बिताएको लगभग ६० रमाइला वर्षहरूलाई फर्केर हेर्दा पूर्ण-समय सेवकाईले नै सबैभन्दा ठूलो सुरक्षा र सर्वोत्तम शिक्षा प्रदान गर्छ। दाऊदले यहोवालाई पोखेका यी शब्दहरूमा मेरो हृदय पूर्ण सहमत छ: “तपाई मेरो अल्गो धरहरा र मेरो दुःखको दिनमा शरणस्थान हुनुभएको छ।”—भजन ५९:१६.

[फुटनोटहरू]

a सेप्टेम्बर १, १९९७ को प्रहरीधरहरा-को पृष्ठ २५-८ मा “मेरो हृदय कृतज्ञताले छचल्किएको छ” शीर्षकअन्तर्गत जोन विनको जीवनी प्रकाशित भएको थियो।

b पहिला कन्सोलेसन भनिन्थ्यो।

c प्रहरीधरहरा, डिसेम्बर १, १९९८, पृष्ठ २०-१द वाचटावर, सेप्टेम्बर १, १९९३, पृष्ठ २७-३१; अवेक!, जनवरी ८, १९९८, पृष्ठ २१-२ र ब्यूँझनुहोस्‌!, अप्रिल ८, १९९७, पृष्ठ ११-१३ हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

ग्रीस

एथेन्स

साइप्रस

निकोसिया

काइरेनिया

फामागुस्टा

लिमासोल

[पृष्ठ २१-मा भएको चित्र]

आमा, १९१५ मा

[पृष्ठ २२-मा भएको चित्र]

सन्‌ १९४६ मा ब्रूकलिन बेथेलको छतमा गिलियडको आठौं कक्षाका अरू भाइहरू र म (बायाँबाट चौथो)

[पृष्ठ २३-मा भएको चित्र]

पहिलो चोटि इंग्ल्याण्ड फर्कंदा सानीमा मिलीसित