असल नेतृत्व विश्वव्यापी चुनौती
असल नेतृत्व विश्वव्यापी चुनौती
ती मानिस एक लेखक र कवि थिए। तिनको मनमा एउटा सुन्दर भविष्यको आशा थियो। लगभग ९० वर्षअघि तिनले यस्तो संसारको कल्पना गरे, “जहाँ मनमा कुनै डर लिएर बाँच्नुपर्दैन र सबैले शिर ठाडो पारेर हिंड्न सक्छन्; जहाँ ज्ञान प्राप्त गर्न कुनै खर्च गर्नुपर्दैन; जहाँ वैमनस्यताका राष्ट्रिय पर्खालहरूले विश्व विभाजित हुँदैन; जहाँ केवल सत्य बोलिन्छ; [र] मानिसहरू आफ्नो अथक प्रयासद्वारा सिद्धतातर्फ अघि बढ्छन्।”
त्यसपछि उक्त लेखकले एक दिन तिनको आफ्नै देश अनि सारा विश्व नै यस्तो ठाउँमा परिणत हुने आशा व्यक्त गरे। ती नोबेल पुरस्कार विजेता कवि आज जीवित हुँदा हुन् त तिनी पक्कै पनि निकै निरुत्साहित हुनेथिए। अनेकन् उन्नति अनि उपलब्धिहरूको बावजूद विश्व अहिलेजति विभाजित पहिला कहिल्यै भएको थिएन। अनि मानवजातिको भविष्य आशाहीन देखिन्छ।
आफ्नो देशका केही गुटहरूबीच अचानक हिंसा भड्किनुको कारणबारे सोध्दा एक जना कृषकले यसको कारण एउटै मात्र हुन सक्ने बताए। तिनले यसो भने, “यी सबै हुनुको एउटै कारण भ्रष्ट नेताहरू हुन्।” आफ्नो पुस्तक ह्युमानिटी—ए मोरल हिस्ट्री अफ द ट्वन्टिइथ सेन्चुरी-मा इतिहासकार जोनाथन ग्लोभरले यस्तै विचार व्यक्त गर्दै यसो भने, “[एउटै भूमिमा] जातीयसंहार जातीय घृणाबाट आफै उत्पन्न भएको होइन, यो त सत्तामा रहिरहन चाहने मानिसहरूद्वारा रचिएको नियोजित चाल थियो।”
सन् १९९० दशकको सुरुतिर भूतपूर्व युगोस्लाभियाका दुईवटा गणतन्त्रबीच युद्ध हुँदा, एक पत्रकारले यस्तो लेखिन्: “हामी धेरै वर्ष सँगै मिलिजुली आनन्दसाथ बस्यौं अनि अहिले हामी एक अर्काका छोराछोरीहरूलाई मार्ने हदसम्म खस्किसक्यौं। हामी किन यस्तो व्यवहार गर्दैछौं?”
युरोपदेखि हजारौं किलोमिटर टाढा पर्ने देश भारतमा सुरुमा उल्लिखित कविको जन्म भएको थियो। “के सिंगो राष्ट्रको रूपमा भारतको अस्तित्व रहन सक्ला?” विषयक भाषणमा लेखक प्रणय गुप्ताले यसो भने: ‘भारतको विशाल जनसंख्याको ७० प्रतिशत मानिसहरू ३० वर्षभन्दा मुनिका भए तापनि तिनीहरूको आदर्श बन्न लायकको नेता एक जना पनि छैनन्।’
केही मुलुकहरूमा त भ्रष्टाचारको आरोपमा कतिपय नेताहरूले आफ्नो पदबाट राजीनामासमेत दिनु परेको छ। तसर्थ, विभिन्न कारणले गर्दा विश्वमा नेतृत्वको अभाव खड्किरहेको देखिन्छ। यी सबै अवस्थाहरूलाई हेर्दा आजभन्दा झन्डै २,६०० वर्षअघिका एक जना अगमवक्ताले भनेका शब्दहरूको सत्यतालाई प्रमाणित गर्छ। उनले यसो भने: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
हाल विश्वमा भइरहेको संकटको के कुनै समाधान छ? कसले मानवजातिलाई त्यस्तो विश्वतर्फ डोऱ्याउन सक्छ, जहाँ मानव समाज न कलहग्रस्त हुन्छ, न त डरैडरमै बाँच्नुपर्छ, जहाँ साँचो ज्ञान लिन कुनै खर्च गर्नुपर्दैन र त्यो पनि भरपूर मात्रामा पाइन्छ अनि जहाँ मानवजाति सिद्धतातर्फ अघि बढिरहेका हुन्छन्?
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Fatmir Boshnjaku