प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू
“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” Nw ] दिनेछु”
प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू
टोरन्टोदेखि टोकियोसम्म, मस्कोदेखि मोन्टिभिडियोसम्म हरेक हप्ता थुप्रै पटक लाखौं यहोवाका साक्षीहरू तथा तिनीहरूका मित्रहरू आफ्नो उपासना थलोमा ओइरिन्छन्। यसरी ओइरिनेहरूमा दिनभरि काम गरेर थकित भएका परिश्रमी पुरुषहरू; आफ्ना साना बच्चाहरूसँगै आउने मेहनती पत्नी र आमाहरू; दिनभरि स्कूलमा बिताएका जाँगरिला युवाहरू; दुखाइ र पीडाका कारण सुस्तरी हिंड्ने कमजोर वृद्धहरू; साहसी विधवा र अनाथहरू तथा सान्त्वनाको आवश्यकता परेका निराश व्यक्तिहरू समावेश छन्।
यहोवाका यी साक्षीहरूले तीव्र गतिमा चल्ने बुलेट ट्रेनदेखि गधासम्म; साँघुरा भूमिगत मार्गमा चल्ने कारदेखि लिएर ट्रकजस्ता विभिन्न सवारी साधनमा यात्रा गर्छन्। कसै-कसैले गोही नै गोहीले भरिएको खोला तर्नुपर्छ त अरू कतिपयले चाहिं ठूल-ठूला शहरहरूमा सवारी साधनहरूको कानै खाने आवाज सहनुपर्छ। यी सबै मानिसहरूले किन यतिबिघ्न प्रयत्न गर्छन्?
मुख्यतः मसीही सभाहरूमा उपस्थित हुनु र भाग लिनु यहोवा परमेश्वरलाई उपासना चढाउने महत्त्वपूर्ण तरिका हो। (हिब्रू १३:१५) अझ अर्को कारण पनि औंल्याउँदै प्रेरित पावलले यस्तो लेखे: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) यहाँ पावलले भजनहार दाऊदका भावनाहरूलाई झल्काउँदै थिए, जसले यस्तो भजन गाएका थिए: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भजन १२२:१.
सभाहरूमा उपस्थित हुन पाउँदा मसीहीहरू किन रमाउँछन्? किनभने ती सभाहरूमा उपस्थित हुनेहरू केवल मूकदर्शक मात्र होइनन्। बरु, सभाहरूमा उपस्थित हुनेहरूले एक-अर्कालाई चिन्ने मौका पाउँछन्। विशेष गरी यस्ता जमघटहरूले लिने मात्र होइन तर दिने र एक-अर्कालाई प्रेम देखाउने तथा सुकर्म गर्न उत्तेजित गराउने सुअवसरहरू प्रदान गर्छ। यस्ता कुराहरूले सभाहरूलाई उत्थानदायी बनाउन मदत गर्छ। यसबाहेक, मसीही सभाहरू भनेको येशूले आफ्नो यो प्रतिज्ञा पूरा गर्ने एउटा तरिका हो: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW ] दिनेछु।”—मत्ती ११:२८.
सान्त्वना र चासोको मरुद्यान
यहोवाका साक्षीहरूले आफ्ना सभाहरूलाई स्फूर्तिदायी ठान्नुपर्ने ठोस कारणहरू छन्। एउटा कारण त, सभाहरूमा “विश्वासी र बुद्धिमान दास” वर्गले ठीक-ठीक समयमा आध्यात्मिक आहार पस्किदिन्छन्। (मत्ती २४:४५) सभाहरूले यहोवाका सेवकहरूलाई परमेश्वरको वचनको सिपालु र जोसिला शिक्षकहरू बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। यसको अतिरिक्त, दुःखको बेलामा मदत र सान्त्वना दिन तयार हुने र मायालुपूर्वक अरूको चासो लिएर हेरविचार गर्ने मित्रहरूको समूह पनि राज्यभवनमा पाउन सकिन्छ।—२ कोरिन्थी ७:५-७.
यो अनुभव आफ्ना बच्चाहरू पाँच र आठ वर्षका हुँदा नै आफ्नो पतिको मृत्यु भएकी विधवा फिलिसको हो। मसीही सभाहरूले तिनी र तिनका बच्चाहरूलाई पारेको स्फूर्तिदायी प्रभावबारे तिनले यस प्रकार वर्णन गरिन्: “राज्यभवनमा जानु एकदमै सान्त्वनादायी हुन्थ्यो किनभने सँगी विश्वासीहरूले प्रेम र चासो देखाउन अँगालो हाल्थे, शास्त्रपदद्वारा र हात सुम्सुम्याएर सधैं उनीहरूको प्रेम र चासो देखाउँथे। म त्यहाँ जान कहिल्यै छुटाउन चाहन्नथें।”—१ थिस्सलोनिकी ५:१४.
ठूलो शल्यक्रिया गरेपछि चिकित्सकले मेरीलाई तिनी निको हुन कम्तीमा पनि छ हप्ता लाग्नेछ भनेका थिए। स्वास्थ्यलाभको दौडान सुरुसुरुतिर मेरी सभाहरूमा उपस्थित हुन सकिनन्। तिनी पहिलाजस्तो हँसिलो नभएकी तिनको चिकित्सकले याद गरे। सभाहरू जान नपाएकोले त्यसो भएको हो भन्ने कुरा थाह पाएपछि चिकित्सकले तिनलाई सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिए। आफ्नो पति साक्षी नभएको कारण बिरामी अवस्थामा तिनलाई सभामा जान दिंदैन भनेर मेरीले जवाफ दिइन्। त्यसैकारण, प्रोत्साहन र उत्थानदायी संगतिका लागि मेरीलाई राज्यभवनमा जाने “आज्ञा” दिंदै ती चिकित्सकले एउटा आधिकारिक पूर्जी लेखिदिए। निष्कर्षमा मेरी यसो भन्छिन्: “एउटा सभामा उपस्थित हुने बित्तिकै मैले एकदमै सन्चो महसुस गरें। मैले खाना खान थालें, राती राम्रोसँग निदाएँ, दुखाइ कम गर्ने औषधी पनि पहिलाको जति धेरै खानु परेन र फेरि मुस्कुराउन थालें!”—हितोपदेश १६:२४.
मसीही सभाहरूको मायालु वातावरण बाहिरका मानिसहरूले पनि याद नगरेका होइनन्। कलेजकी एक जना छात्राले जातिशास्त्रसम्बन्धी आफ्नो कक्षाको लागि एउटा लेख तयार गर्न यहोवाका साक्षीहरूलाई अवलोकन गर्ने निर्णय गरिन्। सभाहरूको वातावरणबारे तिनले यस्तो लेखिन्: “मैले प्राप्त गरेको न्यानो स्वागत . . . अत्यन्तै प्रभावकारी थियो . . . हितैषीपना यहोवाका साक्षीहरूको मुख्य गुण हो र मलाई यही नै तिनीहरूको सबैभन्दा महत्त्वपूर्ण गुणजस्तो लाग्छ।”—१ कोरिन्थी १४:२५.
यस संकटग्रस्त संसारमा, मसीही मण्डली आध्यात्मिक मरुद्यान हो। यो शान्ति र प्रेमको आश्रय-स्थल हो। सभाहरूमा उपस्थित भएर भजनहारका यी शब्दहरूको सत्यता तपाईं आफै अनुभव गर्न सक्नुहुन्छ: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!”—भजन १३३:१.
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
विशेष आवश्यकता पूरा गर्ने
बहिराहरूले मसीही सभाहरूबाट कसरी लाभ उठाउन सक्छन्? संसारभरि यहोवाका साक्षीहरूले सांकेतिक भाषाका मण्डलीहरू स्थापना गर्दैछन्। गत १३ वर्षको दौडान, संयुक्त राज्य अमेरिकामा सांकेतिक भाषाका २७ वटा मण्डली र ४३ वटा समूह स्थापना भएका छन्। कम्तीमा पनि ४० वटा अन्य देशमा, सांकेतिक भाषाका मण्डलीहरू अहिले लगभग १४० वटा जति छन्। मसीही प्रकाशनहरूको भिडियो १३ वटा सांकेतिक भाषामा तयार भइसकेका छन्।
मसीही मण्डलीले बहिराहरूलाई पनि यहोवाको प्रशंसा गर्ने सुअवसर दिन्छ। फ्रान्सकी ओडिल पहिला एक क्याथोलिक थिइन् र निराशाले असाध्यै पीडित भएको कारण तिनले आत्महत्या गर्ने विचारसमेत गरिसकेकी थिइन् तर मसीही सभाहरूमा प्राप्त गरेको बाइबल शिक्षाको लागि कृतज्ञ छिन्। तिनी यसो भन्छिन्, “मैले मेरो स्वास्थ्य र जीवनको आनन्द पुनः प्राप्त गरें। तर सबैभन्दा ठूलो कुरा त, मैले सच्चाइ पाएँ। अहिले मेरो जीवनको एउटा उदेश्य छ।”