सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहिले सुरक्षित महसुस गर्ने सदा सुरक्षित रहने

अहिले सुरक्षित महसुस गर्ने सदा सुरक्षित रहने

अहिले सुरक्षित महसुस गर्ने सदा सुरक्षित रहने

सुरक्षा पाउन किन यस्तो गाह्रो छ अनि पाइहाले तापनि किन अस्थायी हुन्छ? हामीले प्राप्त गर्न सकिने कुरामा नभई प्राप्त गर्न चाहने काल्पनिक कुरामा हामी सुरक्षित हुनेछौं भन्ठानेकोले पो त्यसो भएको हो कि? त्यस्तो भ्रमलाई सपनाको संसारमा जिउनु भन्‍न सकिन्छ।

कल्पनाले मनलाई जीवनमा भोग्नुपर्ने असुरक्षाको वास्तविकतादेखि टाढा सुन्दर, सुरक्षित अवस्थामा लैजान्छ र त्यो सपनाको बाटोमा आउने बाधाअड्‌चनहरूलाई बेवास्ता गर्न लगाउँछ। तर, प्रायजसो यस संसारका वास्तविक समस्याहरूले अचानक यस सपनामाथि हमला गरेर राम्रा अनुभूतिहरू चकनाचूर पारिदिन्छ र सपना देख्ने व्यक्‍तिलाई वास्तविकताप्रति सजग बनाइदिन्छ।

मानिसहरूले सुरक्षाको खोजी गर्ने एउटा क्षेत्र, भौगोलिक स्थललाई अब हामी विचार गरौं। ठूलठूला शहरहरूमा थुप्रै मौकाहरू पाउन सकिन्छ, जस्तो देखिन्छ। उदाहरणको लागि, आनन्ददायी अवस्था, पैसा धेरै कमाउनसक्ने अनि विलासी निवासका कल्पनाहरू हुनसक्छन्‌। हो, त्यसले लामो समयदेखि कुरिरहेको सुरक्षा देलाजस्तो देखिनसक्छ। तर के यस्ता कल्पनाहरू व्यावहारिक छन्‌?

स्थल—ठूला शहर वा ठूलठूला सपनाहरू

थरी-थरीका कल्पनाहरू गर्न लगाउने विज्ञापनले गर्दा विकासोन्मुख देशका मानिसहरू ठूला शहरहरूतिर आकर्षित हुन्छन्‌। त्यस्ता विज्ञापन गर्ने संगठनहरू तपाईंको सुरक्षाप्रति नभई आफ्ना मालसामान बिक्री गर्ने कुरामा चिन्तित हुन्छन्‌। तिनीहरू सुरक्षाको चित्रण गरेर सफलताका झलकहरू देखाउँदै वास्तविक समस्याहरूलाई ओझेलमा पार्छन्‌। तसर्थ, सुरक्षा भनेको विज्ञापनमा देखाइएको तिनीहरूको उत्पादन तथा ठूला शहरहरूसित सम्बन्धित भएको छ।

निम्न उदाहरणलाई विचार गर्नुहोस्‌। एउटा पश्‍चिम अफ्रिकी शहरका अधिकारीहरूले विज्ञापन पाटीमा जीवन्त चित्रसहित धूम्रपान गर्नु कठोर परिश्रम गरेर कमाएको पैसा धूवाँमा उडाउनु सरह हो, भन्‍ने सन्देश दिए। आफ्ना नागरिकहरूलाई धूम्रपान विरुद्ध चेताउनी दिने अभियानको त्यो एउटा सानो भाग थियो। चुरोट उत्पादकहरूले चाहिं चतुऱ्‍याईंकासाथ धूम्रपान गर्नेहरूलाई आनन्द र सफलता प्राप्त भएको हेरूँहेरूँ लाग्ने दृश्‍यहरू छापिएका विज्ञापन पाटीहरू टाँगेर त्यसको प्रतिकार गरे। त्यसबाहेक, एउटा चुरोट कम्पनीले आफ्ना केही कर्मचारीहरूलाई एकदम दामी लुगा र बेसबल खेल्दा लगाइने टोपी लगाइदिएर बाटोमा युवाहरूलाई “एक सर्को त तान्‍नुहोस्‌” भन्दै प्रोत्साहन दियो। यीमध्ये थुप्रै जवानहरू भर्खरै गाउँबाट शहर पसेका थिए र तिनीहरू यस्तो आकर्षक विज्ञापनसित अनभिज्ञ भएको हुनाले तुरुन्तै त्यो पासोमा फसे। तिनीहरू धूम्रपान गर्ने कुलतमा फसे। ती जवान गाउँलेहरू आफ्ना परिवारलाई सहयोग गर्न सुरक्षाको खोजीमा वा आर्थिक तवरमा सफलता हासिल गर्न ती ठूला शहरहरूमा आएका थिए। यसरी तिनीहरूले राम्रो काममा लगाउनसक्ने आफ्नो सबै पैसा धूवाँमा उडाइरहेका थिए।

ठूला शहरहरूको सफल जीवनबारे विज्ञापन गर्नेहरू व्यापारीहरू मात्र होइनन्‌। त्यस्ता कुराहरू ठूला शहरमा गएको तर त्यहाँबाट निराश भई आफ्नै गाउँघर फर्कन अप्ठ्‌यारो मानेका मानिसहरूका मुखबाट समेत सुन्‍ने गरिन्छ। अरूको अघि आफू निकम्मा नदेखियोस्‌ भनेर तिनीहरू शहरमा आफूले कमाएको कथित धन र उपलब्धिहरूबारे गफ हाँक्छन्‌। तथापि, तिनीहरूले दाबी गरेको अवस्थालाई नजिकबाट नियाल्ने हो भने, तिनीहरूको जीवन शैली पहिलेको गाउँले जीवनभन्दा राम्रो भएको पाइँदैन। तिनीहरू शहरका अन्य बासिन्दाहरूजस्तै आर्थिक तवरमा संघर्षरत हुन्छन्‌।

विशेष गरी ठूलठूला शहरहरूमा सुरक्षाको खोजीमा भर्खरै शहर पसेका थुप्रै मानिसहरू गैरकानुनी कामहरूमा फस्छन्‌। किन? सामान्यतया तिनीहरूले त्यतिन्जेल अरू मानिसहरूसित नजिकको सम्बन्ध गाँस्न सकेका हुँदैनन्‌ र आफ्नो परिवारबाट पनि धेरै टाढा हुन्छन्‌। त्यसैले तिनीहरूलाई भौतिक शहरी जीवन शैलीका खतराहरूबाट बच्न मदत गर्न सक्ने सल्लाहकारहरू कोही पनि हुँदैनन्‌।

झोझ्वा धूम्रपानको पन्जामा त परेनन्‌। अझ त्यो भन्दा पनि बढी, शहरी जीवन शैलीका मागहरू आफ्नो वशको कुरा होइन भनेर तिनले बुझे। तिनलाई वास्तवमा शहरले दिन सक्ने कुरा भनेको ठूलठूला अधुरा सपनाहरू मात्र थिए। शहरमा साँचो सुरक्षा पाउन सकिंदैन अनि शहरी चालढालमा बाँच्न आफ्नो क्षमताले भ्याउँदैन भनेर तिनले बुझे। खोक्रोपन, हीनताबोध र निकम्मा भएको सोचाइले तिनलाई पिरोल्न थाल्यो र तिनले अन्ततः आफ्नो घमण्डलाई त्यागेर गाउँ फर्के।

अरूले गिल्ला गर्लान्‌ भनेर तिनलाई मनमा कस्तो-कस्तो लागिरहेको थियो। तर तिनको परिवार तथा साँचो मित्रहरूले त्यसो नगरी तिनलाई खुसीसाथ स्वागत गरे। परिवारको न्यानोपना, गाउँको त्यो चिरपरिचित वातावरण अनि आफ्ना मसीही मण्डलीका मित्रहरू पाएर तिनले चाँडै नै आफ्ना सपनाहरू दुःस्वप्न हुनसक्ने ठूला शहरहरूमा भन्दा सुरक्षित महसुस गरे। अचम्मको कुरा, तिनले शहरमा पाउने कुल आम्दानीभन्दा आफ्ना बुबासित खेतमा काम गर्दा आफू र आफ्नो परिवारको लागि बढी आय आर्जन गरे।

पैसा—वास्तविक समस्या के हो ?

के पैसाले तपाईंलाई सुरक्षित महसुस गराउन सक्छ? क्यानाडाकी लीज यसो भन्छिन्‌: “जवान छँदा मलाई पैसाले स्वतन्त्रता दिन्छ जस्तो लाग्थ्यो।” तिनको एक जना सम्पन्‍न मानिससित माया बस्यो। तिनीहरूले चाँडै विवाह गरे। के तिनले सुरक्षित महसुस गरिन्‌? लीज अझ यसो भन्छिन्‌: “मैले विवाह गर्दा हाम्रो एउटा सुन्दर घर अनि दुईवटा गाडी थियो र आर्थिक अवस्थाले पनि यात्रा र मनोरञ्जन जस्ता भौतिक तवरमा सबै गर्न प्रशस्त थियो। आश्‍चर्यको कुरा मलाई अझ पनि पैसाकै चिन्ता लागिरहन्थ्यो।” तिनी त्यसको कारण यसरी बताउँछिन्‌: “हामीले गुमाउनुपर्ने कुरा पनि धेरै थियो। मलाई लाग्छ, आफूसित जति बढी सम्पत्ति हुन्छ त्यति नै बढी असुरक्षित महसुस हुन्छ। पैसाले पीडा वा चिन्ताबाट छुटकारा दिंदैन।”

तपाईं पनि आफूसित धेरै पैसा नभएकोले असुरक्षित महसुस गर्नुहुन्छ भने, आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌, ‘वास्तवमा समस्या के हो? के यो पैसाको कमी नै हो वा पैसाको प्रयोग गर्ने लापरवाहीले गर्दा हो?’ आफ्नो विगतलाई सम्झँदै लीज यसो भन्छिन्‌: “मेरो बाल्यकालमा पारिवारिक समस्या उत्पन्‍न हुनुको मुख्य कारण पैसालाई ठीकसित प्रयोग गर्न नजानेकोले रहेछ, भनेर मैले अहिले बुझेकी छु। हामीले उधारोमा किनमेल गर्ने हुनाले सधैं ऋणको भार बोक्नुपर्थ्यो। त्यसकारण हामी सधैं चिन्तित हुन्थ्यौं।”

तथापि, आज लीज र तिनको श्रीमान्‌सित थोरै पैसा भए तापनि धेरै सुरक्षित महसुस गर्छन्‌। तिनीहरूले परमेश्‍वरको वचनको सत्य सिक्दा पैसासम्बन्धी लोभलाग्दा कुराहरू सुन्‍न छाडेर परमेश्‍वरको यस्तो बुद्धिमान्‌ सल्लाहमा ध्यान दिन थाले: “जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैबिना तिनीहरू ढुक्क रहनेछन्‌।” (हितो. १:३३) तिनीहरू बैंकमा धेरै पैसा भएको आभासभन्दा जीवनबाट अझ बढी कुरा चाहन्थे। अहिले लीज र तिनको श्रीमान्‌ मिसनरीको हैसियतमा धेरै टाढाको भूमिमा धनी र गरिब सबैलाई यहोवा परमेश्‍वरले चाँडै विश्‍वव्यापी रूपमा साँचो सुरक्षा ल्याउनुहुनेछ भनेर सिकाइरहेका छन्‌। यस गतिविधिले तिनीहरूलाई भौतिक लाभबाट नभई उच्च कोटिको उद्देश्‍य र उत्तम मूल्य मान्यताहरू अपनाउँदा प्राप्त हुने गहन सन्तुष्टि प्रदान गर्नुका साथै त्यसलाई कायम राखेको छ।

यस आधारभूत सत्यलाई नबिर्सनुहोस्‌: भौतिक धनसम्पत्ति हुनुभन्दा परमेश्‍वरको नजरमा धनी हुनु धेरै मूल्यवान्‌ कुरा हो। पवित्र धर्मशास्त्रभरि भौतिक सम्पत्ति हासिल गर्ने कुरामा नभई विश्‍वासमा हरघडी ईश्‍वरीय इच्छा पूरा गरेर परमेश्‍वरको सामु राम्रो नाउँ कायम राख्न जोड दिइएको छ। ख्रीष्ट येशूले हामीलाई “परमेश्‍वरतर्फ धनी” हुन र “धन स्वर्गमा सञ्चय” गर्न प्रोत्साहन दिनुभयो।—लूका १२:२१, ३३.

ओहदा—तपाईं कतातिर लाग्दै हुनुहुन्छ ?

तपाईंले सामाजमा उच्च ओहदा हासिल गर्दैमा सुरक्षा पाइन्छ भन्‍ने सोचाइ राख्नुभएको छ भने, आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘त्यस्तो पदवी हासिल गर्ने कुनचाहिं मानिसले वास्तविक सुरक्षा पाएका छन्‌ र? त्यस्तो सुरक्षा पाउन मैले कुन स्तरसम्म पुग्नुपर्छ?’ सफल पेसाले तपाईंलाई सुरक्षाको गलत अनुभूति दिएर निराश अर्थात्‌ आफ्नै पतन गराउन सक्छ।

सत्य घटनाहरूले मानिसको भन्दा परमेश्‍वरको सामु असल नाउँ कमाउँदा धेरै सुरक्षा पाइन्छ भनेर देखाउँछ। यहोवाले मात्र मानिसहरूलाई अनन्त जीवनको उपहार दिन सक्नुहुन्छ। त्यसको लागि समाजका प्रतिष्ठित व्यक्‍तिहरूको नामावली तथा विवरणहरू लेखिने फिरिस्तमा नभई जीवनको पुस्तकमा हाम्रो नाउँ लेखाउनु आवश्‍यक छ।—प्रस्थान ३२:३२; ३:५.

तपाईंका चाहनाहरूलाई एकछिन पन्छाएर विचार गर्नुहुँदा तपाईं आफ्नो वर्तमान अवस्था कस्तो ठान्‍नुहुन्छ अनि तपाईंले भविष्यबाट वास्तवमा कस्तो आशा गर्नुहुन्छ? सबैसित सबै कुरा हुँदैन। यसबारे एक जना बुद्धिमान्‌ मसीहीले यसो भने, “मैले जीवनमा यो र त्यो कुरा पाइँदैन तर यो वा त्योमा कुनै एउटा मात्र कुरा छान्‍नुपर्ने रहेछ भनेर सिकें।” एकछिन रोकेर “बेनिनको कथा” विषयको पेटी पढ्‌नुहोस्‌।

अब यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌: मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण लक्ष्य वा उद्देश्‍य के हो? त्यहाँ पुग्ने सबैभन्दा सोझो तरिका के हो? मैले चाहेको कुरा पाउन कतै मैले लामो बाटो त अपनाइरहेको छैन अनि त्यो कुरा छोटो अनि सरल तरिकाबाटै पाउन सम्भव छ कि?

आध्यात्मिक कुराको तुलनामा भौतिक कुराहरू त्यति महत्त्वपूर्ण छैनन्‌ भन्‍ने सल्लाह दिइसकेपछि येशूले आँखालाई “निर्मल” राख्नु भन्‍नुभयो। (मत्ती ६:२२) उहाँले परमेश्‍वरको नाउँ र उहाँको राज्यसित सम्बन्धित आध्यात्मिक मूल्य मान्यता तथा लक्ष्यहरूनै जीवनका प्रमुख कुराहरू हुन्‌ भनेर स्पष्ट पार्नुभयो। (मत्ती ६:९, १०) अन्य कुराहरू कम महत्त्वका हुन्छन्‌ वा मानौं प्रमुख ध्यान दिनुपर्ने कुराहरू होइनन्‌।

आज थुप्रै क्यामराहरूले टाढा र नजिकका कुराहरूलाई स्वतः फोकस गर्छन्‌। के तपाईंको पनि त्यस्तै हुने झुकाउ छ? के तपाईंले आफूले देख्ने सबै कुरा महत्त्वपूर्ण, रहरलाग्दो र आफूलाई पनि भएजस्तो वा पाउनसकिने जस्तो लाग्छ? आंशिक रूपमा मात्र पनि तपाईंले त्यस्तो दृष्टिकोण राख्नुभयो भने, मसीहीहरूको महत्त्वपूर्ण लक्ष्य अर्थात्‌ परमेश्‍वरको राज्यका दृश्‍यलाई अरू तीनथुप्रो कुराहरूले धमिल्याउन सक्छ। येशूले यस्तो जोडदार सल्लाह दिनुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

अहिले र सदा सुरक्षित

हामी सबैले नै आफू र आफ्ना प्रियजनहरूका लागि राम्रा सपना देख्छौं। तथापि, हामी असिद्ध हुनु, असिद्ध संसारमा बाँच्नु अनि सीमित आयु भएको हुनाले हामीले हासिल गर्न सक्ने कुराहरू सीमित छन्‌। बाइबल लेखकले हजारौं वर्षअघि यस्तो वर्णन गरे: “मैले संसारका अझै एउटा कुरो देखें–वेग कुदाइले दौड जित्नसक्‍तैन, औ शक्‍तिले लडाइँ जित्नसकिन्‍न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.

कहिलेकाहीं हामी दैनिक कामकुराहरूमा यतिविघ्न तल्लीन हुन्छौं कि अझ महत्त्वपूर्ण कुरा अर्थात्‌ हामी को हौं र साँच्चै सुरक्षित महसुस गर्न हामीलाई वास्तवमा के चाहिन्छ भन्‍ने कुरा विचार गर्न समेत बिर्सन्छौं। पुरातन समयका यी बुद्धिले भरिएका शब्दहरूलाई विचार गर्नुहोस्‌: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन। यो पनि व्यर्थ हो। थोरै खाओस्‌ कि धेरै खाओस्‌ परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१०, १२) उसोभए, तपाईं कहाँ सुरक्षा पाउन सक्नुहुन्छ?

तपाईंको परिस्थिति पनि झोझ्वाको जस्तै पूरा हुनै नसक्ने सपनाहरूजस्तै छन्‌ भने, के तपाईं आफ्ना योजनाहरूलाई बदल्न सक्नुहुन्छ? झोझ्वाको परिवार र तिनका मसीही मण्डलीका मित्रहरूले गरे जस्तै तपाईंलाई साँच्चै माया गर्नेहरूले तपाईंलाई पनि सहयोग गर्नेछन्‌। तपाईंबाट नाजायज फाइदा उठाउन खोज्ने मानिसहरूको हूलमूलमा भन्दा आफूलाई माया गर्ने मानिसहरूसँगै बसेर गरिब अवस्थामै पनि सुरक्षा पाउन सक्नुहुन्छ।

तर तपाईंसित प्रशस्त धनसम्पत्ति छ भने पनि तपाईं आफ्नो जीवन शैलीलाई लीज र तिनको श्रीमान्‌ले जस्तै छाँटकाँट गरेर धनी र गरिब सबैलाई वास्तविक सुरक्षा दिने माध्यम अर्थात्‌ राज्यको बारेमा सिक्न मदत गर्न आफ्नो अधिकांश समय र श्रम चलाउन सक्नुहुन्छ कि?

तपाईं समाजमा वा काम गर्ने ठाउँमा प्रतिष्ठा कमाउँदै हुनुहुन्छ भने, तपाईंलाई कुन कुराले त्यसो गर्न उत्प्रेरित गरेको हो आफैलाई इमानदारीपूर्वक नियालेर सोध्नुहोस्‌। हो, केही सुविस्ताहरूले तपाईंको जीवनमा आनन्द थप्न सक्छ। त्यसको बावजूद, के तपाईंले साँचो स्थायी आनन्द प्राप्त गर्ने माध्यम राज्य तर्फ आफ्नो दृष्टिलाई केन्द्रित गरिरहन सक्नुभएको छ? येशूका यी शब्दहरू सम्झनुहोस्‌: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) मसीही मण्डलीका विभिन्‍न गतिविधिहरूमा भाग लिनुभयो भने तपाईंले सन्तोषजनक सुरक्षा अनुभव गर्नुहुनेछ।

यहोवा र उहाँको राज्यमाथि पूरा भरोसा गर्नेहरू अहिले आनन्ददायी सुरक्षा पाएर रोमाञ्चित हुनेछन्‌ अनि भविष्यमा पूर्ण सुरक्षा पाउने आशा राख्न सक्छन्‌। भजनरचयिताले यसो भने: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ। यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहनेछ।”—भजन १६:८, ९.

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

बेनिनको कथा

यो फरक-फरक किसिमले हजारौंपल्ट सुनाइसकिएको कथा हो। हालै मात्र पश्‍चिमी अफ्रिकामा पर्ने बेनिनको एक जना पाको गाउँलेले केही जवानहरूलाई त्यही कथा यसरी सुनाए।

एक जना माझी नाउ खियाउँदै आफ्नो घरतिर फर्कंदै गरेको बेला यसै विकासोन्मुख देशमा सेवा गरिरहेका एक जना विदेशी विशेषज्ञलाई भेटेछन्‌। त्यस विशेषज्ञले माझीलाई किन यति चाँडै घर फर्केको भनेर सोध्छन्‌। हुन त अझ धेरै समयसम्म माछा मारेर बस्न सकिन्थ्यो तर परिवारको हेरचाहको लागि पुग्दो माछा पक्रिसकेकोले घर फर्केको भन्‍ने जवाफ दिन्छन्‌।

“उसोभए, अब यत्तिका समय तिमी के गरेर बिताउँछौ त?” भनेर विशेषज्ञले सोध्छन्‌।

माझीले यस्तो जवाफ दिन्छन्‌: “म केही समय माछा मार्ने गर्छु। छोराछोरीसित खेल्छु। दिउँसो गर्मी बढ्‌दै जाँदा हामी आराम गर्छौं। साँझमा हामी सबै सँगै खाना खान्छौं। त्यसपछि म केही साथीहरूसित बसेर संगीतको आनन्द लिन्छु र यस्तै-यस्तै।”

तिनको कुरा काट्‌दै उक्‍त विशेषज्ञ भन्छन्‌: “हेर, मसित विश्‍वविद्यालयको डिग्री छ र मैले यस्तै कुराहरूको अध्ययन गरेको छु। म तिमीलाई मदत गर्न चाहन्छु। तिमीले अलि धेरै समय माछा मार्नुपर्छ। यसो गर्दा तिमीले धेरै पैसा कमाउन सक्नेछौ र चाँडै नै यो नाउभन्दा पनि ठूलो डुंगा किन्‍न सक्नेछौ। ठूलो डुंगा पाएपछि तिमीले अझ धेरै कमाउनेछौ र चाँडै नै तीनथुप्रो माछा पक्रने जालहरू भएको डुंगा बनाउन सक्नेछौ।”

“अनि त्यसपछि?” माझीले सोध्छन्‌।

“त्यसपछि अरू मान्छेहरूमार्फत माछा बेच्नुको साटो तिमीले सोझै कारखानासित कारोबार गर्न सक्छौ वा हुन सक्छ, तिमी आफैले पनि माछा प्रशोधन केन्द्र सुरु गर्न सक्छौ। तिमी आफ्नो गाउँ छोडेर कोटोनाउ, पेरिस वा न्यु योर्कमा बसाइँ सरेर त्यहींबाट सबै कामकुरा सञ्चालन गर्न सक्छौ। तिमीले अझ आफ्नो व्यवसायलाई स्टक बजारमा लगानी गरेर लाखौं लाख कमाउन सक्छौ।”

“यसो गर्न कति समय लाग्ला?” माझीले प्रश्‍न गर्छन्‌।

“लगभग १५ देखि २० वर्ष” भनेर विशेषज्ञले जवाफ दिन्छन्‌।

“अनि त्यसपछि?” भनेर माझीले कुराकानीलाई निरन्तरता दियो।

“त्यसपछि त मजा आउँछ जिन्दगीको” भन्दै विशेषज्ञले वर्णन गर्छन्‌। “त्यसपछि तिमी कामबाट अवकाश लिन सक्छौ। तिमी व्यस्त शहरबाट धेरै टाढा एकान्त गाउँमा बसाइँ सर्न सक्छौ।”

“अनि त्यसपछि नि?” भनेर माझीले अर्को प्रश्‍न तेर्स्याउँछन्‌।

“त्यसपछि तिमीले माछा मार्ने, छोराछोरीसित खेल्ने, गर्मी भयो भने दिउँसो आराम गर्ने, परिवारसित सँगै बसेर बेलुकीको खाना खाने अनि आफ्ना साथीहरूसित बसेर संगीतको आनन्द उठाउने समय पाउनेछौ।”

[पृष्ठ ७-मा भएका चित्रहरू]

के ओहदा बढ्‌दैमा सुरक्षा पाइन्छ?

[पृष्ठ ८-मा भएका चित्रहरू]

तपाईंका सँगी मसीहीहरू तपाईंको सुरक्षाको लागि साँचो चासो लिन्छन्‌