सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा छोराछोरीको हृदयमा यहोवाप्रति प्रेम जगाउँदै

हाम्रा छोराछोरीको हृदयमा यहोवाप्रति प्रेम जगाउँदै

जीवनी

हाम्रा छोराछोरीको हृदयमा यहोवाप्रति प्रेम जगाउँदै

भर्नर माट्‌जेनको वृत्तान्तमा आधारित

केही वर्षअघि मेरो जेठो छोरा, हान्स भर्नरले मलाई एउटा बाइबल दिएका थिए। तिनले खोलको भित्रपट्टि यस्तो लेखेका थिए: “प्यारो बुबा, यहोवाको वचनले हाम्रो परिवारलाई जीवनको मार्गमा डोऱ्‍याइ रहून्‌। कृतज्ञतासहित, तपाईंको जेठो छोरा।” यी शब्दहरूले मेरो हृदय कृतज्ञता र आनन्दले कति प्रफुल्लित भयो होला भन्‍ने कुरा सबै आमाबाबुले बुझ्न सक्छन्‌। हाम्रो परिवारले अझ के-कस्ता चुनौतीहरू सामना गर्नुपर्नेछ भनेर मैले त्यतिबेला सोचेकै थिइनँ।

मेरो जन्म सन्‌ १९२४ मा हाल्स्टेनबकमा भएको थियो र यो जर्मनको हाम्बर्ग बन्दरगाहबाट २० किलोमिटरजति पर थियो। मेरो लालनपालन आमा र हजुरबुबाले गर्नुभयो। म ज्यावल बनाउने सिकारुको रूपमा काम गर्थें र १९४२ मा मलाई भारमार्क्ट भनिने सशस्त्र सेनामा भर्ती गरियो। मैले रूसी सेनाको पक्षबाट दोस्रो विश्‍व युद्धमा लडेका क्षणहरू शब्दमै वर्णन गर्न नसकिने थियो। मलाई टाइफाइड भयो तर उपचारपछि फेरि युद्धभूमिमा पठाइयो। जनवरी १९४५ मा पोल्याण्डको लड्‌जमा थिएँ र त्यहाँ छँदा गम्भीर घाइते भएकोले सैनिक अस्पतालमा राखियो। युद्ध अन्त हुँदासम्म पनि म त्यहीं थिएँ। अस्पताल र पछि नोएनगामको सजाय शिविरमा छँदा मैले विभिन्‍न विषयहरूबारे सोच्ने मौका पाएँ। मलाई यी प्रश्‍नहरूले पिरोल्न थाल्यो, के परमेश्‍वर साँच्चै हुनुहुन्छ? हुनुहुन्छ भने, उहाँले यति धेरै अत्याचार किन हुन दिनुहुन्छ?

सजाय शिविरबाट मुक्‍त भएको केही समयपछि नै मैले सेप्टेम्बर १९४७ मा कार्लासित विवाह गरें। हामी दुवै एउटै गाउँमा हुर्केका थियौं। कार्ला क्याथोलिक धर्म मान्थिन्‌ भने मेरो लालनपालनमा धर्मलाई कुनै महत्त्व दिइएको थिएन। हाम्रो विवाह गरिदिने पादरीले हरेक साँझ अरू केही नगरे पनि प्रभुको प्रार्थना सँगै गर्ने सुझाउ दिएका थिए। हामीले त्यसै गर्थ्यौं तर केको लागि प्रार्थना गरिरहेका थियौं भनेर हामीलाई अत्तोपत्तो थिएन।

एक वर्षपछि हान्स भर्नरको जन्म भयो। त्यही समयताका मेरा सहकर्मी भिल्हेम आरेन्सले मलाई यहोवाका साक्षीहरूबारे बताउन थाले। तिनले मलाई युद्धहरू एक दिन बन्द हुनेछन्‌ भनेर बाइबलबाट देखाए। (भजन ४६:९) सन्‌ १९५० को शरद्‌ ऋतुमा मैले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिएँ। त्यसको एक वर्षपछि मेरी प्यारी पत्नीले पनि बप्तिस्मा लिंदा म असाध्यै खुसी भएँ!

छोराछोरीलाई यहोवाको मार्गमा हुर्काउँदै

विवाहको सुरुआतकर्ता यहोवा हुनुहुन्छ भनेर मैले बाइबलमा पढेको थिएँ। (उत्पत्ति १:२६-२८; २:२२-२४) हाम्रा छोराछोरीहरू हान्स भर्नर, कार्ल-हाइन्ज, माइकल, गब्रिएल र थमसको जन्म हुँदा म पनि मेरी श्रीमतीको साथमै भएको हुँदा असल पति र बुबा हुने मेरो संकल्प झनै सुदृढ भयो। हाम्रा सबै छोराछोरीको जन्म हुँदा कार्ला र म असाध्यै रमायौं।

सन्‌ १९५३ मा न्युरेमबर्गमा आयोजित यहोवाका साक्षीहरूको अधिवेशन हाम्रो परिवारको लागि महत्त्वपूर्ण अवसर थियो। शुक्रबार अपराह्न “नयाँ विश्‍व समाजमा छोराछोरी हुर्काउने” भन्‍ने शीर्षक भएको भाषणको दौडान वक्‍ताले भन्‍नुभएको एउटा कुरा हामीले आजसम्म बिर्सेका छैनौं: “हामीले छोराछोरीलाई दिनसक्ने सबैभन्दा ठूलो सम्पदा भन्‍नु नै तिनीहरूमा परमेश्‍वरको सेवक हुने इच्छा जगाउनु हो।” यहोवाको मदत लिएर कार्ला र म ठीक त्यसै गर्न चाहन्थ्यौं। तर कसरी गर्ने?

सबैभन्दा पहिला हामीले सम्पूर्ण परिवार मिलेर दिनहुँ प्रार्थना गर्ने बानी बसाल्यौं। त्यसले गर्दा छोराछोरीको मनमा प्रार्थनाको महत्त्व ठप्प बस्यो। खाना खानुअघि सधैं प्रार्थना गर्नुपर्छ भन्‍ने कुरा सबै बच्चाले सानैमा सिके। तिनीहरू दूधेबालक छँदै पनि दूधदानी देख्नेबित्तिकै आफ्नो टाउको निहुराएर ती कलिला हातहरू च्याप्प जोड्‌थे। एक चोटि हामीलाई मेरी पत्नीको नातेदारको विवाहमा निम्त्याइएको थियो। तिनीहरू साक्षी थिएनन्‌। विवाह समारोहपछि दुलहीका आमाबाबुले पाहुनाहरूलाई हल्का खाजाको लागि बोलाए। सबै जना खाना खाइहाल्ने सुरमा थिए। तर हाम्रो पाँच वर्षीय छोरा कार्ल-हाइन्जलाई चित्त बुझेन। तिनले भने, “कृपया पहिला प्रार्थना गर्नुहोस्‌।” पाहुनाहरूले तिनलाई अनि हामीलाई पल्याकपुलुक हेरे र पछि घरधनीलाई पनि हेरे। कसैलाई पनि अप्ठ्यारो नहोस्‌ भनेर मैले खानाको लागि धन्यवाद माग्न अनुमति मागें अनि घरधनी पनि राजी भए।

यो घटनाले मलाई येशूका यी शब्दहरूको स्मरण गरायो: “दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।” (मत्ती २१:१६) हामीले नियमित तवरमा गर्ने हृदयस्पर्शी प्रार्थनाहरूले हाम्रा बच्चाहरूलाई यहोवा हाम्रो स्वर्गमा बस्नुहुने पिता हुनुहुन्छ भनेर स्वीकार्न मदत गऱ्‍यो।

यहोवाप्रति हाम्रो जिम्मेवारी

यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुमा उहाँको वचन नियमित तवरमा पढ्‌नु र अध्ययन गर्नु पनि समावेश छ। यस कुरालाई विचार गर्दै हामी हरेक हप्ता प्रायजसो सोमबार साँझ पारिवारिक अध्ययन गर्थ्यौं। हाम्रो जेठो छोरा र कान्छोबीच नौ वर्षको अन्तर भएको हुँदा बच्चाहरूको आवश्‍यकता फरक-फरक हुन्थ्यो। त्यसकारण, हामीले सबैसित एउटै विषयवस्तु छलफल गर्न सक्दैनथ्यौं।

उदाहरणका लागि, स्कूल जाने उमेर नपुगेका बच्चाहरूलाई एकदमै सरल निर्देशनहरू सिकाउँथ्यौं। कार्ला तिनीहरूसित एउटा बाइबल पद मात्र छलफल गर्थिन्‌ वा बाइबल आधारित प्रकाशनका चित्रहरू देखाउँथिन्‌। बिहान सबेरै हाम्रा साना बच्चाहरू खाटमा चढेर द न्यु वर्ल्ड a किताबबाट तिनीहरूलाई मनपर्ने चित्रहरू देखाउन आउँदा हामी निद्राबाट ब्यूँझन्थ्यौं। हामीले ती क्षणहरूका मीठा सम्झनाहरू सँगालेका छौं।

यहोवालाई प्रेम गर्नुपर्ने थुप्रै कारण छन्‌ भनेर छोराछोरीलाई धीरजी भई सिकाउने खुबी कार्लाले विकास गरेकी थिइन्‌। यो कुरा सुन्दा सरल र सजिलो लाग्ला तर वास्तवमा भन्‍ने हो भने, कार्ला र मेरोलागि यो शारीरिक तथा भावनात्मक तवरमा पूरै समय खाने जागिरजस्तो थियो। तैपनि, हामीले हरेस खाएनौं। यहोवालाई नचिन्‍ने अरू मानिसहरूले तिनीहरूको हृदय पाटीमा लेखिदिनुअघि हामी तिनीहरूको हृदयमा लेखिदिन चाहन्थ्यौं। यसकारण, बच्चाहरू टुक्रुक्क बस्न जान्‍ने बित्तिकै हामीले तिनीहरूलाई पारिवारिक अध्ययनमा बस्न सिकायौं।

आमाबाबुको हैसियतमा कार्ला र मैले उपासनाको सन्दर्भमा हाम्रा छोराछोरीको लागि सही उदाहरण बसाल्नुपर्ने आवश्‍यकता महसुस गऱ्‍यौं। अनि हामीले खाँदा, बगैंचामा काम गर्दा वा टहल्न जाँदा होस्‌, यहोवासित प्रत्येक बच्चाको सम्बन्ध बलियो बनाउने प्रयास गऱ्‍यौं। (व्यवस्था ६:६, ७) सानै उमेरदेखि हामीले प्रत्येक बच्चालाई उसको आफ्नै बाइबल दिन थाल्यौं। यसबाहेक, पत्रिका पाउने बित्तिकै परिवारका सबैको व्यक्‍तिगत प्रतिमा मैले तिनीहरूको नाउँ लेखिदिन्थें। यसरी बच्चाहरूले आफ्नो साहित्य कुन हो भनेर चिन्‍न सके। हामीले ब्यूँझनुहोस्‌! पत्रिकाका केही खास लेखहरू प्रत्येकलाई पढ्‌न दिने उपाय गऱ्‍यौं। आइतबार बिहानको खाना खाइसकेपछि के के बुझे भनेर हामीलाई बताउँथे।

छोराछोरालाई चाहिने ध्यान दिंदै

कामकुरा सधैं कुनै अड्‌चनविना पक्कै हुँदैनथ्यो। छोराछोरी हुर्कंदै जाँदा तिनीहरूको हृदयमा प्रेम जगाउन पहिला तिनीहरूको हृदयमा के छ भनेर बुझ्नुपर्छ भनेर हामीले थाह पायौं। त्यसको अर्थ हो, तिनीहरूको कुरा सुन्‍नु। कहिलेकाहीं हाम्रा छोराछोरीको केही गुनासो भएजस्तो महसुस गर्थ्यौं। यसो हुँदा कार्ला र म तिनीहरूसित सँगै बसेर छलफल गर्थ्यौं। हामीले पारिवारिक अध्ययनको अन्तमा आधा घण्टा अलग्गै छुट्याएका थियौं। यतिबेला सबैले आफूलाई लागेको कुरा खुल्लमखुल्ला भन्‍न सक्थ्यो।

उदाहरणका लागि, कान्छो छोरा थमस र कान्छी छोरी गब्रिएललाई हामीले तिनीहरूको जेठा दाजुलाई बढी मन पराएको जस्तो मनमा लाग्यो। एक चोटि तिनीहरूले खुलस्त ढंगमा यसो भने: “ड्याडी, तपाईं र ममीले सधैं हान्स दाइले जे भने पनि मान्‍नुहुन्छ।” सुरुमा त मलाई यो कुरा पत्यारै लागेन। तथापि, निष्पक्ष भएर विचार गर्दा भने हाम्रा छोराछोरीले भनेको कुरा पटक्कै निराधार थिएन भनेर हामीले स्वीकार्नै पऱ्‍यो। त्यसपछि हामीले सबै बच्चाहरूलाई समान व्यवहार गर्ने थप प्रयास गऱ्‍यौं।

कहिलेकाहीं मैले छोराछोरीलाई हत्तपत्त वा विनाकारण सजाय दिन्थें। त्यसो हुँदा हामी आमाबाबुले क्षमा माग्न पनि सिक्नुपऱ्‍यो। त्यसपछि हामी सँगै यहोवालाई प्रार्थना गर्थ्यौं। बच्चाहरूले तिनीहरूको बुबा, यहोवा अनि बच्चाहरूसित माफी माग्न हिच्किचाउनुहुँदैन रहेछ भनेर सिक्नु अत्यावश्‍यक थियो। फलस्वरूप, छोराछोरीसित हाम्रो न्यानो अनि मित्रैलो सम्बन्ध भयो। तिनीहरूले हामीलाई प्रायजसो यसो भन्‍ने गर्थे, “हाम्रो मन मिल्ने साथी भनेकै तपाईंहरू हुनुहुन्छ।” यो सुन्दा हामी असाध्यै खुसी हुन्थ्यौं।

सम्पूर्ण परिवार मिलेर काम गर्दा एकता कायम हुन्छ। यसैलाई विचार गरेर सबैले गर्नुपर्ने आ-आफ्नो घरधन्दा थियो। हान्स भर्नरले हप्ताको एक चोटि पसल गएर सरसामान किन्‍नुपर्थ्यो र यसको मतलब, तिनलाई किन्‍नुपर्ने मालसामानको सूची सँगसँगै केही पैसा पनि दिइएको हुन्थ्यो। एउटा हप्ता हामीले तिनलाई सूची वा पैसा केही पनि दिएनौं। तिनले आमालाई सोधे छन्‌ र मेरी पत्नीले हामीसित एकपैसा नभएको कुरा बताइन्‌। यो सुनेपछि बच्चाहरूले खासखुस गर्न थाले अनि सबैले आ-आफ्नो कन्तुरमा भएको पैसा टेबलमा खन्याए। तिनीहरू सबैले एकैचोटि भने, “ममी, अब हामी बजार जान सक्छौं!” हो, बच्चाहरूले आपत्‌मा मदत गर्न सिके र त्यसले गर्दा परिवारको एकता झनै बलियो भयो।

छोराहरू हुर्कंदै जाँदा तिनीहरूको केटीहरूमा चासो बढ्‌न थाल्यो। उदाहरणका लागि, थमसलाई एउटी १६ वर्षीया सँगी साक्षी असाध्यै मन पर्न थाल्यो। यदि त्यस केटीसित सम्बन्ध बढाउन चाहन्छ भने, तिनी उनीसित विवाह गर्न र पछि पत्नी अनि बच्चाको जिम्मेवारी वहन गर्न पनि तयार हुनुपर्छ भनेर मैले बुझाएँ। थमसले आफू भर्खर १८ वर्ष पुगेको हुँदा विवाह गर्न तयार नभएको कुरा बुझे।

परिवारको रूपमा प्रगति गर्दै

सबै केटाकेटीले कलिलो उमेरमै एक-एक गरेर ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिन थाले। हामी तिनीहरूको असाइनमेन्टलाई ध्यान दिएर सुन्थ्यौं अनि परमेश्‍वरप्रति तिनीहरूको हृदयस्पर्शी प्रेम देख्दा हामी प्रोत्साहित हुन्थ्यौं। हामीसित कहिलेकाहीं बस्ने क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूले तिनीहरूको आफ्नै अनुभव बताउँथे वा बाइबलबाट केही पढेर सुनाउँथे। यी पुरुष तथा तिनीहरूका पत्नीहरूले हाम्रो परिवारमा पूर्ण-समय सेवकाईप्रति प्रेम जगाउन मदत गऱ्‍यो।

हामी अधिवेशनहरूको उत्सुकतासाथ प्रतीक्षा गर्थ्यौं। यी अधिवेशनहरूले हाम्रा छोरीछोरीको हृदयमा परमेश्‍वरका सेवकहरू हुने इच्छा जगाउन प्रमुख भूमिका खेल्यो। केटाकेटीले पनि अधिवेशनमा तयारीको दौडान बिल्ला झुन्डाउनु तिनीहरूको लागि महत्त्वपूर्ण क्षण थियो। हान्स भर्नरले १० वर्षको उमेरमा बप्तिस्मा लिंदा हामी भावुक भयौं। थुप्रैले तिनी यहोवालाई समर्पण गर्न एकदमै सानो छ भन्ठानेका थिए तर अहिले ५० वर्षको उमेरमा आएर तिनले यहोवाको सेवामा ४० वर्ष बिताउन पाएकोमा साह्रै कृतज्ञ छु भनी मलाई बताए।

यहोवासित व्यक्‍तिगत सम्बन्ध राख्नु महत्त्वपूर्ण छ भनेर हामीले छोराछोरीलाई देखायौं तर हामीले समर्पण गर्न कर भने गरेनौं। तैपनि, बाँकी छोराछोरी पनि बप्तिस्मा लिन आफै अघि सर्दा हामी खुसी भयौं।

यहोवामा हाम्रो भारी बिसाउन सिक्दै

सन्‌ १९७१ मा हान्स भर्नर वाचटावर बाइबल स्कूल अफ गिलियडबाट ५१ औं कक्षाको स्नातक भएर स्पेनमा मिसनरीको हैसियतमा सेवा गर्न स्पेनमा खटाइँदा खुसीले हाम्रो खुट्टा भुइँमै थिएन। एकपछि अर्को गर्दै हाम्रा सबै छोराछोरीले पूर्ण-समय सेवकाईमा केही न केही समय बिताएको देख्न पाउँदा हामी आमाबाबु रमायौं। यतिखेर हो, हान्स भर्नरले मलाई माथि सुरुमै उल्लिखित बाइबल दिएका। अब परिवारको हैसियतमा हाम्रो आनन्दमा कुनै कमी छैन जस्तो लागेको थियो।

त्यसपछि, हामीले यहोवासित अझ बढी घनिष्ठ हुनुपर्ने आवश्‍यकता महसुस गऱ्‍यौं। किन? किनभने हाम्रा हुर्किबढिसकेका छोराछोरीले विश्‍वासको ठूलो परीक्षा हुने समस्याहरू सहनुपरेको देख्यौं। जस्तै, हाम्री प्यारी छोरी गब्रिएलले पनि कष्ट भोग्नुपऱ्‍यो। उनले १९७६ मा लोथारसित विवाह गरिन्‌। विवाह गरेको धेरै समय नबित्दै लोथार बिरामी भए। तिनी दिन पर दिन शिथिल हुँदै जाँदा गब्रिएलले लोथारको नमरुन्जेल स्याहारसुसार गरिन्‌। स्वस्थ व्यक्‍ति बिरामी भएर मर्दा हामीले यहोवाको दयामाया अझ कति आवश्‍यक रहेछ भनेर बुझ्यौं।—यशैया ३३:२.

यहोवाको संगठनमा सुअवसरहरू

म १९५५ मा मण्डलीको सेवक (अहिले मण्डलीको अध्यक्ष भनिन्छ) नियुक्‍त हुँदा मलाई यो जिम्मेवारी स्वीकार्न सक्दिन होला जस्तो लागेको थियो। मैले भ्याउनुपर्ने थुप्रै कामहरू भएको हुँदा बिहान सबेरै चार बजे उठ्‌नुबाहेक अर्को उपाय थिएन। मेरी पत्नी र छोराछोरीले ठूलो टेवा दिए र साँझमा केही काम गर्न बाँकी हुँदा मलाई अनावश्‍यक अल्मल्याउँदैनथे।

तैपनि, हामीले फुर्सतको समय सकेसम्म सँगै सपरिवार बिताउँथ्यौं। कहिलेकाहीं मेरा मालिकले तिनको गाडी चलाउन दिन्थे र हामी सपरिवार दिनभरि त्यसैमा डुल्थ्यौं। छोराछोरीलाई जंगलमा बसेर प्रहरीधरहरा अध्ययन गर्दा साह्रै रमाइलो लाग्थ्यो। हामीसँगै लामो दूरीसम्म हिंडेर पनि जान्थ्यौं र कहिलेकाहीं रूखहरू हुँदो हिंड्‌दा म हार्मोनिका बजाउँथे र अरूचाहिं सँगसँगै गाना गाउँथे।

सन्‌ १९७८ मा कार्यकारी क्षेत्रीय निरीक्षक (परिभ्रमण निरीक्षक) नियुक्‍त भएँ। आफू अयोग्य जस्तो लागेर मैले यहोवालाई प्रार्थना गरें: “यहोवा, मलाई म यस कामको लागि योग्य छु जस्तो लाग्दैन। तर, मैले गरेको तपाईं चाहनुहुन्छ भने सक्दो प्रयास गर्नेछु।” त्यसको दुई वर्षपछि ५४ वर्षको उमेरमा मैले आफ्नो सानो व्यापारको जिम्मा कान्छो छोरालाई दिएँ।

हाम्रा छोराछोरी सबै हुर्किसकेका हुँदा कार्ला र मैले यहोवाको सेवामा अझ बढी गर्ने मौका पायौं। त्यही वर्ष म क्षेत्रीय निरीक्षक नियुक्‍त भएँ र हाम्बर्गको एउटा भाग अनि श्‍लेस्विग-होल्स्टाइनको पूरै भागको इलाकामा मलाई खटाइयो। परिवारको लालनपालन गर्ने विषयमा हामी अनुभवी भएको हुँदा आमाबाबु र छोराछोरीको कुरा अझ राम्ररी बुझ्न सक्यौं। थुप्रै भाइहरूले हामीलाई तिनीहरूको क्षेत्रीय आमाबाबु भनेर बोलाउँथे।

क्षेत्रीय कार्यमा मलाई दस वर्ष साथ दिइसकेपछि कार्लाको शल्यक्रिया गर्नुपर्ने भयो। अनि त्यही साल चिकित्सकहरूले मलाई ब्रेन ट्युमर भएको निदान गरे। यसकारण मैले क्षेत्रीय निरीक्षकको कार्यभार त्यागेर मस्तिष्कको शल्यक्रिया गरें। हामी फेरि कार्यकारी निरीक्षकको हैसियतमा सेवा गर्नसक्ने हुने गरी बलियो हुन तीन वर्ष लाग्यो। कार्ला र म, हामी दुवै ७० वर्ष नाघिसकेका छौं र परिभ्रमण कार्यमा छैनौं। आफूले अब गर्न नसक्ने काममा जबरजस्ती लागिरहनुमा कुनै फाइदा छैन भनेर बुझ्न यहोवाले हामीलाई मदत गर्नुभयो।

अतीतलाई हेर्दा कार्ला र म यहोवाको मदतको लागि कृतज्ञ छौं किनभने हामीले उहाँकै मदत पाएर छोराछोरीको हृदयमा सत्यप्रति प्रेम जगाउन सक्यौं। (हितोपदेश २२:६) वर्षौंको दौडान यहोवाले हामीलाई डोऱ्‍याउनुभएको छ अनि सिकाउनुका साथै हाम्रा जिम्मेवारीहरू पूरा गर्न मदत गर्नुभएको छ। अहिले हामी वृद्ध तथा अशक्‍त भए तापनि यहोवाप्रति हाम्रो प्रेम अझै पनि जवानीमा जस्तै चुस्त छ।—रोमी १२:१०, ११.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले उपलब्ध छैन।

[पृष्ठ २६-मा भएको चित्र]

हाम्रो परिवार, हाम्बर्गको एल्ब नदी नजीकै १९६५ मा

[पृष्ठ २८-मा भएको चित्र]

परिवारका केही सदस्यहरू १९९८ मा बर्लिनमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा

[पृष्ठ २९-मा भएको चित्र]

मेरी श्रीमती कार्लासँग