पाठकहरूका प्रश्नहरू
पाठकहरूका प्रश्नहरू
के मसीही सेवकले आत्महत्या गर्ने व्यक्तिको लागि अन्त्येष्टि भाषण दिनु उचित हुनेछ?
आत्महत्या गरेजस्तो देखिने व्यक्तिको अन्त्येष्टि भाषण दिने वा नदिने भनी निर्णय गर्दा हरेक मसीही सेवकले आफ्नै अन्तस्करण चलाउनुपर्छ। निर्णय गर्दा तिनले यस्ता प्रश्नहरूलाई विचार गर्नुपर्छ: यहोवाले आत्महत्यालाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? के यो मृत्यु साँच्चै नै आत्महत्या थियो? मानसिक वा भावनात्मक असन्तुलनले पो आत्महत्या गर्न उत्प्रेरित गरेको हो कि? स्थानीय समुदायमा आत्महत्यालाई कुन दृष्टिकोणले हेरिन्छ?
मसीही भएको कारण यहोवाले आत्महत्यालाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भनी बुझ्न हामी इच्छुक छौं। यहोवाले मानव जीवनलाई अमूल्य र पवित्र ठान्नुहुन्छ। (उत्पत्ति ९:५; भजन ३६:९) जानाजानी आफैलाई मार्नु आत्महत्या हो र यसकारण यो परमेश्वरको नजरमा अप्रसन्न तुल्याउने कुरा हो। (प्रस्थान २०:१३; १ यूहन्ना ३:१५) के यसो भन्दैमा आत्महत्या गर्ने व्यक्तिको लागि अन्त्येष्टि भाषण दिनै मिल्दैन भन्ने हो त?
इस्राएलका राजा शाऊलको घटनालाई विचार गर्नुहोस्। पलिश्तीहरूसँगको अन्तिम लडाइँमा आफू नबाँच्ने देखेपछि शत्रुहरूबाट दुर्व्यवहार भोग्नुको सट्टा “शाऊलले आफ्नो तरवार थुते र त्यसैमा उनिएर मरे।” पलिश्तीहरूले तिनको लास भेट्टाएपछि तिनीहरूले यसलाई बेतशानको पर्खालमा किला ठोकेर झुण्ड्याए। पलिश्तीहरूले गरेको कामबारे थाह पाएपछि याबेश-गिलादका मानिसहरूले लासलाई पर्खालबाट झिकेर जलाइदिए। त्यसपछि तिनीहरूले हड्डीहरू लगेर गाडिदिए। शोक गर्ने इस्राएलीहरूको परम्पराअनुसार तिनीहरू सात दिनको लागि उपवाससमेत बसे। (१ शमूएल ३१:४, ८-१३; उत्पत्ति ५०:१०) यहोवाद्वारा अभिषिक्त भएका दाऊदले याबेश-गिलादका मानिसहरूले गरेका कामबारे थाह पाएपछि यसो भने: “तिमीहरूले आफ्ना स्वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकोमा परमप्रभुले तिमीहरूलाई आशिष देऊन्। यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र सत्यता देखाउन्।” (२ शमूएल २:५, ६) राजा शाऊलको अन्त्येष्टि गरेको कारण याबेश-गिलादका मानिसहरूको निन्दा गरिएको संकेत बाइबलमा पाइँदैन। यसलाई खराब काम गरेको कारण नगाडिएकाहरूसँग तुलना गर्नुहोस्। (यर्मिया २५:३२, ३३) आत्महत्या गर्ने व्यक्तिको लागि अन्त्येष्टि भाषण दिने वा नदिने भनी निर्णय गर्दा एक जना मसीही सेवकले शाऊलबारे दिएको यो विवरणलाई विचार गर्न सक्छन्।
ती सेवकले अन्त्येष्टि भाषणको उद्देश्यबारे पनि विचार गर्न चाहलान्। यहोवाका साक्षीहरूले प्राणको अमरत्वमा विश्वास नगर्ने हुनाले तिनीहरू मृतकलाई अर्को कुनै संसारमा पठाउने भ्रमपूर्ण सोचविचार राखेर अन्त्येष्टि क्रिया गर्दैनन्। यसको मुख्य लक्ष्य मृतकलाई खुसी पार्नु नभई शोकसन्तप्तहरूलाई सान्त्वना दिनु तथा उपस्थित भएकाहरूलाई मृतकको अवस्थाबारे साक्षी दिनु हो। (उपदेशक ९:५, १०; २ कोरिन्थी १:३-५) अन्त्येष्टि भाषण दिनुको अर्को मुख्य कारण उपस्थित भएकाहरू सबैलाई जीवनको क्षणिकताबारे बुझ्न मदत गर्नु हो। (उपदेशक ७:२) आत्महत्या गर्ने व्यक्तिको लागि अन्त्येष्टि भाषण दिंदा के यी उद्देश्यहरू पूरा हुनेछन्?
हो, त्यस व्यक्तिले जानाजानी आफ्नो जीवन लिएको कारण तिनले यहोवाको विरुद्ध पाप गरेका छन् भनी कसैले सोच्लान्। तर के यस्तो दृष्टिकोणलाई प्रमाणित गर्न सधैं सम्भव हुन्छ र? आवेगमा आएर पो यसो गरिएको हो कि? कुनै समय आत्महत्या गर्ने विचार गरेका कतिपयले सो विचार त्याग्छन् र आत्महत्या गर्दैनन्। आफूले गरेको कामको लागि मृत्यु भइसकेपछि कसैले पनि पश्चात्ताप गर्न सक्दैन।
अर्को महत्त्वपूर्ण कुरा, आत्महत्याका थुप्रै घटनाहरूमा मानसिक तथा भावनात्मक असन्तुलन मुछिएको हुन्छ।
यिनीहरूलाई भने साँच्चै नै आत्महत्या गर्ने व्यक्तिहरू भन्न सकिन्छ। कुनै-कुनै तथ्यांकअनुसार आत्महत्या गर्नेहरूमध्ये ९० प्रतिशत कुनै न कुनै प्रकारको मानसिक, भावनात्मक वा दुर्व्यसनले ग्रस्त भएका हुन्छन्। यस्तो मानसिक अवस्थाको कारण गरेको आत्महत्यालाई के यहोवाले माफी दिनुहुनेछ? मृतकले यहोवाको नजरमा अक्षम्य पाप गऱ्यो वा गरेन भनी हामी निर्णय गर्न सक्दैनौं। आत्महत्या गर्ने व्यक्तिको अन्त्येष्टि भाषण दिने वा नदिने भनी निर्णय गर्दा मसीही सेवकले त्यस मृतकको परिस्थिति तथा स्वास्थ्य विवरणलाई विचार गर्न सक्छन्।विचार गर्नु पर्ने अर्को एउटा कुरा पनि छ: आत्महत्या तथा त्यस व्यक्तिको मृत्युलाई समाजका मानिसहरूले कुन दृष्टिकोणले हेर्छन्? यो विशेष गरी प्राचीनहरूले ध्यान दिनुपर्ने कुरा हो किनभने तिनीहरू यहोवाका साक्षीहरूको स्थानीय मण्डलीको असल नाउँ राख्न विशेष सजग रहन्छन्। आत्महत्याप्रति र विशेष गरी यस घटनाप्रति समाजले व्यक्त गर्ने मनोवृत्तिलाई ध्यानमा राख्दै प्राचीनहरूले यस्तो अन्त्येष्टि सार्वजनिक रूपमा वा राज्यभवनमा आयोजना नगर्ने निर्णय गर्न सक्छन्।
तथापि, एक जना मसीही सेवकलाई कुनै अन्त्येष्टि कार्यक्रम गर्नको लागि आग्रह गरिएमा, तिनले यसबारे आफै निर्णय गर्न सक्छन्। यदि तिनले त्यसो गर्ने निर्णय गरेमा, त्यस व्यक्तिको पुनरुत्थान हुने वा नहुने कुरा किटेर नभन्न सजग रहनुपर्छ। मृतकहरूको लागि भविष्यको आशा यहोवामा निहित छ र त्यस मृतकको पुनरुत्थान हुन्छ वा हुँदैन भनेर कसैले पनि भन्न सक्दैन। सेवकले मृत्युसम्बन्धी बाइबल सच्चाइबारे जोड दिन र शोकसन्तप्तहरूलाई सान्त्वना दिन सक्छन्।