यहोवाको मार्गमा हिंड्दा प्रशस्त इनाम पाइन्छ
यहोवाको मार्गमा हिंड्दा प्रशस्त इनाम पाइन्छ
के तपाईं कहिल्यै पहाडी इलाकाहरूमा पदयात्राको लागि जानुभएको छ? यदि जानुभएको छ भने, त्यसबेला तपाईंलाई आफू संसारकै टुप्पामा पुगेको महसुस भएको हुनु पर्छ। स्वच्छ हावामा सास फेर्नु, निकै टाढाका दृश्यहरू हेर्नु, प्राकृतिक सौन्दर्यहरूमा भुल्नु, कत्ति आनन्ददायी हुन्छन् ती क्षणहरू! सायद त्यतिबेला तपाईंले घरका दैनिक फिक्रीहरू त्यति सम्झनु भएन होला।
अधिकांश मानिसहरूले यस्ता आनन्ददायी यात्राहरूको विरलै अनुभव बटुलेका भए तापनि यदि तपाईं समर्पित मसीही हुनुहुन्छ भने, आध्यात्मिक अर्थमा तपाईंले यस्तै पहाडी यात्रा गरिरहनुभएको केही समय भइसक्यो होला। निस्सन्देह, पुरातन समयका भजनरचयिताले जस्तै तपाईंले पनि आफ्नो प्रार्थनामा यसो भन्नुभएको छ: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्।” (भजन २५:४) पहिलो पटक यहोवाको भवनको पहाडमा जाँदा अनि अग्ला अग्ला स्थानहरूमा हिंड्न सुरु गर्दा तपाईंले कस्तो महसुस गर्नुभएको थियो, सम्झनु भएको छ? (मीका ४:२; हबकूक ३:१९) निस्सन्देह, शुद्ध उपासनाका यी उच्च मार्गहरूमा हिंड्दा सुरक्षा अनि आनन्द पाइन्छ भन्ने कुरा महसुस गर्न तपाईंलाई धेरै समय लागेन होला। तपाईंले भजनरचयिताका यी भावनाहरूलाई महसुस गर्न थाल्नुभयो: “ती मानिसहरू धन्य हुन्, जसले आनन्दको सोर चिन्छन्। हे परमप्रभु, तिनीहरू तपाईंको मोहोड़ाको प्रकाशमा हिंड़छन्।”—भजन ८९:१५.
यद्यपि, कहिलेकाहीं पडाही इलाकामा यात्रा गर्ने पदयात्रीहरूले निकै लामो अनि ठाडो उकालोहरूको संघर्ष गर्नुपर्छ। तिनीहरूका खुट्टा दुख्न थाल्छन् अनि तिनीहरू लखतरान हुन्छन्। परमेश्वरको सेवा गर्दा हामीले पनि कठिनाइहरू अनुभव गर्छौं। हुन सक्छ, हाल हामी अलि लखतरान भएका छौं होला। हामी कसरी जोस अनि आनन्द पुनः प्राप्त गर्न सक्छौं? पहिलो कदम हो, यहोवाको मार्ग नै सर्वोत्तम छ भनी स्वीकार्नु।
यहोवाका उच्च नियमहरू
यहोवाको चाल ‘मानिसहरूका चालभन्दा श्रेष्ठ छ’ अनि उहाँको उपासना ‘पहाडहरूमा स्थापित भएको छ र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइएको छ।’ (यशैया ५५:९; मीका ४:१) यहोवाको बुद्धि “माथिबाट आउँछ।” (याकूब ३:१७) उहाँका नियमहरू सबैभन्दा श्रेष्ठ छन्। उदाहरणका लागि, कनानीहरूले बाल-बलि चढाउने क्रूर रीतिथिति अपनाउँदा यहोवाले इस्राएलीहरूलाई नैतिक रूपले उच्च अनि अनुकम्पाले भरिएका नियमहरू दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले . . . ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर। तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू।”—लेवी १९:१५, ३४.
पन्ध्र शताब्दीपछि येशूले यहोवाको ‘महिमित व्यवस्थाबारे’ अझ धेरै उदाहरणहरू दिनुभयो। (यशैया ४२:२१) डाँडाको उपदेशमा उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ।” (मत्ती ५:४४, ४५) उहाँले अझै यसो भन्नुभयो, “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर, किनभने यहीनै व्यवस्था र अगमवक्ताका शिक्षा हुन्।’—मत्ती ७:१२.
यी उच्च नियमहरूले ग्रहणशील मानिसहरूको हृदयमा अमेट छाप पार्नुका साथै तिनीहरूलाई आफूले उपासना गर्ने परमेश्वरको अनुकरण गर्न उत्प्रेरित गरेको छ। (एफिसी ५:१; १ थिस्सलोनिकी २:१३) पावलमा भएको आमूल परिवर्तनलाई विचार गर्नुहोस्। पहिलो पटक बाइबलमा उनको नाउँ उल्लेख गरिंदा स्तिफनसको ‘हत्यामा उनको पनि सहमति भएको’ र उनले “मण्डलीलाई संहार गरिरहेका” थिए भनी बताइएको छ। केवल केही वर्षपछि नै उनले थिस्सलोनिकीका मसीहीहरूलाई “धाई-आमाले आफ्ना बालकहरूलाई पोषण” गरे झैं कोमल व्यवहार गरिरहेका थिए। परमेश्वरबाट पाएको शिक्षाले पावललाई, सताउने व्यक्तिबाट अरूको ख्याल गर्ने मसीहीमा परिवर्तन गऱ्यो। (प्रेरित ८:१, ३; नयाँ संशोधित संस्करण १ थिस्सलोनिकी २:७) आफ्नो व्यक्तित्व ख्रीष्टको शिक्षाअनुसार ढालिएकोमा उनी निश्चय नै कृतज्ञ थिए। (१ तिमोथी १:१२, १३) यस्तै किसिमको कृतज्ञताले हामीलाई कसरी ख्रीष्टको उच्च मार्गमा हिंडिरहन मदत गर्न सक्छ?
कृतज्ञ भएर हिंड्ने
पदयात्रीहरूले पहाडी इलाकाका मनमोहक दृश्यहरूको भरपूर आनन्द उठाउँछन्। तिनीहरूले गोरेटो छेउछाउका स-साना कुराहरू जस्तै अनौठो पत्थर, सुन्दर फूल वा आकलझुकल केही जंगली जनावरहरू देखेमा नहतारिकन मजाले त्यसको आनन्द लिन जानेका हुन्छन्। आध्यात्मिक अर्थमा, परमेश्वरको मार्गमा हिंड्दा प्राप्त हुने इनामहरूप्रति हामी सजग हुनुपर्छ चाहे ती इनामहरू ठूला हुन् या साना। यस्तो सजगताले नयाँ जोससहित अघि बढ्न मदत गर्नुका साथै कठिन यात्रालाई स्फूर्तिदायी यात्रामा परिणत गर्छ। हामी दाऊदका यी शब्दहरू दोहऱ्याउन सक्नेछौं: “बिहान तपाईंको करुणा मलाई सुन्नलाउनुहोस्। किनकि तपाईंमानै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्नदिनुहोस्।”—भजन १४३:८.
यहोवाको मार्गमा धेरै वर्ष हिंडिसकेका मेरी यसो भन्छिन्: “जब म यहोवाको सृष्टिलाई नियाल्छु, त्यतिबेला म जटिल बनौटलाई मात्र होइन तर परमेश्वरको मायालु व्यक्तित्व पनि देख्छु। चाहे त्यो जनावर, चरा वा कीरा फटेङग्रा नै किन नहोस्, प्रत्येकको आफ्नै दुनियाँ छ, एउटा रोमाञ्चकारी दुनियाँ! वर्षौंको दौडान झन्-झन् स्पष्ट हुँदै गएको आध्यात्मिक सत्यबाट पनि यस्तै आनन्द पाइन्छ।”
हामी आफ्नो कृतज्ञतालाई कसरी अझ गहिरो बनाउन सक्छौं? जस्तै कि, यहोवाले हाम्रोलागि गरिदिनुभएका कुराहरू हल्कासित नलिएर। पावलले यस्तो लेखे, “निरन्तर प्रार्थना गरिरहो, सबै कुरामा धन्यवाद गर, किनकि प्रभु येशूमा तिमीहरूतर्फ परमेश्वरको इच्छा यही छ।”—१ थिस्सलोनिकी ५:१७, १८; भजन ११९:६२.
व्यक्तिगत अध्ययनले कृतज्ञ मनोभाव खेती गर्न मदत गर्छ। पावलले कलस्सीका मसीहीहरूलाई यस्तो आग्रह गरे: “[ख्रीष्ट येशूमा] जरा हालेका र बनिएका भएर, . . . विश्वासमा दृढ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा चल।” (कलस्सी २:६, ७) बाइबल पढ्दा अनि पढेका कुराहरू मनन गर्दा त्यसले हाम्रो विश्वास बलियो अनि हामीलाई बाइबलको लेखकसित घनिष्ठ बनाउँछ। यसका प्रत्येक पृष्ठहरू मूल्यवान् छन् र यसले हामीलाई ‘धन्यवादमा प्रशस्त हुन’ उत्प्रेरित गर्न सक्छ।
आफ्ना भाइहरूसित मिलेर यहोवाको सेवा गर्दा पनि हामी हिंड्ने मार्ग अझ सजिलो हुन्छ। भजनरचयिताले आफुबारे यसो भने: “तपाईंको डर मान्नेहरू र तपाईंका आदेश पालन गर्नेहरूका म एक साथी हुँ।” (भजन ११९:६३) मसीही सम्मेलन वा अन्य अवसरहरूमा हाम्रा भाइहरूसित बिताएका क्षणहरू नै हाम्रो जीवनका केही अत्यन्तै खुसीका क्षणहरू हुन्। हाम्रो अनमोल विश्वव्यापी मसीही परिवार अस्तित्वमा रहनुको कारण नै यहोवा अनि उहाँको उच्च मार्ग हो भन्ने कुरालाई हामीले बुझेका छौं।—भजन १४४:१५ख.
मूल्यांकनको अलावा जिम्मेवारीको भावले पनि हामीलाई यहोवाको उच्च मार्गमा उन्नति गरिरहन समर्थ बनाउनेछ।
जिम्मेवार भई अघि बढ्ने
बाटो नबिराउने वा भिरालोबाट नलड्ने हो भने, जिम्मेवारीको भाव भएका पदयात्रीहरूले निकै होसियारीसाथ हिंड्नु पर्ने आवश्यकता महसुस गर्छन्। असल वा खराब रोज्न सक्ने स्वतन्त्र प्राणीहरूको हैसियतमा यहोवाले हामीलाई चाहिने मात्रामा स्वतन्त्रता अनि आफैले निर्णय गर्ने छुट दिनुभएको छ। तर आफ्ना मसीही दायित्वहरू पूरा गर्दा यस्तो स्वतन्त्रतामा जिम्मेवारीको भाव हुनु आवश्यक छ।
उदाहरणको लागि, आफ्ना सेवकहरूले आफ्ना दायित्वहरूलाई जिम्मेवारीको भावसहित पूरा गर्नेछन् भन्ने कुरामा यहोवालाई विश्वास छ। हामीले मसीही गतिविधिमा कति शक्ति र समय खर्च गर्नुपर्छ, आर्थिक वा अन्य तरिकाहरूमा कति अनुदान दिनुपर्छ भनेर उहाँले तोक्नु भएको छैन। बरु, पावलले कोरिन्थीहरूलाई भनेका शब्दहरू आज हामी सबैलाई लागू हुन्छ: “हरेक मानिसले आफ्नो मनमा अड्कले बमोजिम गरोस्।”—२ कोरिन्थी ९:७; हिब्रू १३:१५, १६.
जिम्मेवार मसीहीहरूले दिने सन्दर्भमा अरूलाई सुसमाचार सुनाउनु पनि समावेश छ। विश्वव्यापी राज्य कार्यको लागि अनुदान दिएर पनि हामी जिम्मेवार छौं भनी देखाउँछौं। गरहार्ट नाउँ गरेका एक प्राचीनले बताएअनुसार पूर्विय युरोपको एउटा सम्मेलन धाएपछि उनी अनि उनकी पत्नीले आफ्नो अनुदान निकै बढाए। उनी भन्छन्, “हामीले त्यहाँ हाम्रा भाइहरूसित भौतिक रूपमा निकै कम मात्र भएको देख्यौं; तैपनि हाम्रा बाइबल साहित्यहरूको निकै मूल्यांकन गर्छन्। त्यसैले अन्य मुलुकमा खाँचोमा परेका भाइहरूलाई हामीले सकेजति सहयोग गर्ने निर्णय गऱ्यौं।”
हाम्रो धैर्यलाई बढाउने
पहाडी इलाकामा हिंड्न थप बल चाहिन्छ। पदयात्रीहरूले मौका मिल्ने बित्तिकै व्यायाम गर्छन् र लामो दूरीको पदयात्राको लागि आफूलाई तयार पार्न धेरैले केही हिंड्ने गर्छन्। त्यसरी नै हाम्रो आध्यात्मिक सुस्वास्थ्य कायम राख्न पावल हामीलाई ईश्वरतान्त्रिक गतिविधिहरूमा व्यस्त रहने सल्लाह दिन्छन्। यहोवाको “योग्य चालमा चल्न” र “बलवान” हुन चाहनेहरूले “हरेक असल काममा फलिफाप हुँदै” जानुपर्छ भनी पावलले भने।—कलस्सी १:१०, ११.
उत्प्रेरणाले पदयात्रीहरूको धैर्यलाई बल प्रदान गर्छ। कसरी? पदयात्रीहरूले आफ्नो स्पष्ट लक्ष्यमा, जस्तै टाढाको पहाडमा ध्यान केन्द्रित गरिरहँदा उत्प्रेरणा पाउँछन्। अनि जब पदयात्री आफ्नो यात्राको बीचतिर आइपुग्छन् तिनले आफ्नो अन्तिम लक्ष्यलाई ध्यानमा राख्दै आफ्नो प्रगतिको लेखाजोखा गर्न सक्छन्। आफूले यात्रा गरिसकेको दूरीलाई पछाडि फर्केर हेर्दा तिनलाई ठूलो सन्तुष्टिको अनुभूति हुन्छ।
त्यसै गरि अनन्त जीवनको आशाले हामीलाई सम्भाँल्छ अनि अगाडि बढ्ने बल प्रदान गर्छ। (रोमी १२:१२) यहोवाको मार्गमा हिंड्दा हामीले मसीही लक्ष्यहरू राख्ने अनि त्यसलाई प्राप्त गरेर सन्तुष्टि पाउन सक्छौं। अनि आफूले विश्वासपूर्वक सेवा गरेको अतीतलाई फर्केर हेर्दा वा आफ्नो व्यक्तित्वमा गरेका परिवर्तनहरूलाई नियालेर हेर्दा हामी कत्ति आनन्दित हुन्छौं!—भजन १६:११.
लामो दूरी ढाक्न अनि शक्ति खेर नफाल्न पदयात्रीहरू नहडबडाईकन ठिक्कको गतिमा हिंड्छन्। त्यसरी नै, नियमित तवरमा सभाहरू धाउने अनि क्षेत्र सेवकाईमा जाने राम्रो तालिकाले आफ्नो लक्ष्यतर्फ अलिकता पनि नडगमगाई लागिरहन मदत गर्नेछ। त्यसैले, पावलले सँगी मसीहीहरूलाई यस्तो प्रोत्साहन दिए: “केवल जहाँसम्म हामी पुगिसकेका छौं, त्यहीबमोजिम हामी चलौं।”—फिलिप्पी ३:१६.
निस्सन्देह, यहोवाको मार्गमा हामी एक्लै हिंड्दैनौं। “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं,” भनी पावल लेख्छन्। (हिब्रू १०:२४) सह-विश्वासीहरूसित सँगै हिंड्दा असल आध्यात्मिक संगतिले हाम्रो यात्राको गति कायम राख्न सजिलो बनाउनेछ।—हितोपदेश १३:२०.
अन्तिम अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामीले कहिल्यै यहोवाले दिनु हुने शक्तिलाई बिर्सनु हुँदैन। जसको बल यहोवामा छ “तिनीहरूले बलमाथि बल पाउँछन्।” (भजन ८४:५, ७) कहिलेकाहीं हामीले कठिन परिस्थितिहरू झेल्नै पर्ने भए तापनि यहोवाको मदतले हामी यसो गर्न सक्छौं।