सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आज्ञाकारीहरूलाई आशिष्‌ र सुरक्षा दिनुहुन्छ

यहोवाले आज्ञाकारीहरूलाई आशिष्‌ र सुरक्षा दिनुहुन्छ

यहोवाले आज्ञाकारीहरूलाई आशिष्‌ र सुरक्षा दिनुहुन्छ

“जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।”—हितोपदेश १:३३.

१, २. परमेश्‍वरप्रति आज्ञाकारी हुनु किन महत्त्वपूर्ण छ? उदाहरण दिनुहोस्‌।

 कुखुराका चल्लाहरू चौरमा आहार खोज्न तल्लीन छन्‌। तिनीहरूलाई माथि आकाशमा चील उड्‌न थालेको पत्तै छैन। अकस्मात्‌ माउ आफ्नो पखेटा फिजाउँदै डरले काँपेको जस्तो चर्को आवाज निकाल्दै कराउँछे। चल्लाहरू दुगुर्दै तिनी भएतिर पुग्छन्‌ र तुरुन्तै माउको पखेटामनि सुरक्षित हुन्छन्‌। अनि चील अर्कैतिर लाग्छ। a यसबाट कस्तो पाठ सिक्छौं? आज्ञाकारी हुँदा ज्यान जोगिन्छ!

त्यो पाठ आज मसीहीहरूको लागि विशेष गरी महत्त्वपूर्ण छ किनभने शैतानले परमेश्‍वरका जनहरूलाई सिकार बनाउन भरपूर प्रयास गरिरहेको छ। (प्रकाश १२:९, १२, १७) हामीले यहोवाको अनुमोदन र अनन्त जीवनको प्रत्याशा गुमाओस्‌ भन्‍ने हेतुले त्यसले हाम्रो आध्यात्मिकतालाई खत्तम गर्न खोज्छ। (१ पत्रुस ५:८) तथापि, हामी परमेश्‍वरसँग घनिष्ठ रह्‍यौं र उहाँको वचन तथा संगठनमार्फत प्राप्त निर्देशनहरूअनुरूप चल्न यथासक्दो प्रयास गऱ्‍यौं भने, हामीले निश्‍चय पनि उहाँको सुरक्षात्मक हेरचाह पाउन सक्नेछौं। “उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नहुनेछ, र उहाँका पखेटामनि तिमीले शरण लिनेछौ” भनी भजन रचयिताले लेखे।—भजन ९१:४.

अनाज्ञाकारी राष्ट्र पासोमा पर्छ

३. इस्राएल बारम्बार अनाज्ञाकारी हुँदा कस्तो नतिजा भोग्नुपऱ्‍यो?

इस्राएल राष्ट्र यहोवाप्रति आज्ञाकारी हुँदा यसले उहाँको हेरचाह पाइरहेको थियो। तर तिनीहरू बारम्बार आफ्ना सृष्टिकर्तालाई त्यागेर काठ र ढुंगाले बनेका देवताहरूलाई पूज्न थाले जसले “नता सहायता गर्नसक्छ न बचाउनसक्छ, किनभने तिनीहरू झूटा हुन्‌।” (१ शमूएल १२:२१) शताब्दीयौंको त्यस्तो विद्रोहपछि त्यो राष्ट्र धर्मत्यागमा यसरी जकडियो कि तिनीहरू त्यसबाट पूर्णतया निस्कन असम्भव भयो। तसर्थ, येशूले यस्तो विलाप गर्नुभयो: “ए यरूशलेम, ए यरूशलेम तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुंगाले हान्‍ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्‌। हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।”—मत्ती २३:३७, ३८.

४. सा.यु. ७० मा यहोवाले यरूशलेमलाई त्याग्नुभएको कुरा कसरी स्पष्ट भयो?

सा.यु. ७० मा धर्मत्यागी इस्राएलले भोग्नुपरेको दुःखद घटनापछि तिनीहरूलाई यहोवाले त्याग्नुभएको कुरा स्पष्ट भयो।। त्यस वर्ष, रोमी सेना चीलको प्रतीक भएको आफ्नो ध्वजा बोक्दै यरूशलेममाथि भयानक विनाश ल्याउन जाइलाग्यो। त्यतिबेला शहरमा निस्तार चाड मनाउन आएका मानिसहरूको ओइरो लागेको थियो। तिनीहरूले थुप्रै बलिहरू चढाए तापनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकेनन्‌। यो सबै शमूएलले अनाज्ञाकारी राजा शाऊललाई भनेका कुराहरूको दुःखद सम्झना थियो: “होमबलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञापालननै रूचाउनु हुन्‍न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्‍नु साँढ़-भेड़ाको बोसोभन्दा असल हो।”—१ शमूएल १५:२२.

५. यहोवा कस्तो प्रकारको आज्ञाकारिता चाहनुहुन्छ र त्यस्तो आज्ञाकारिता सम्भव छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

यहोवाले आज्ञाकारितामा जोड दिनुभए तापनि उहाँ असिद्ध मानिसहरूको सीमितताबारे पनि सजग हुनुहुन्छ। (भजन १३०:३, ४) उहाँ केवल विश्‍वास, प्रेम र उहाँलाई अप्रसन्‍न तुल्याउने स्वस्थकर भयमा आधारित निष्कपट हृदय र आज्ञाकारिता चाहनुहुन्छ। (व्यवस्था १०:१२, १३; हितोपदेश १६:६; यशैया ४३:१०; मीका ६:८; रोमी ६:१७) त्यस्तो आज्ञाकारिता सम्भव छ भन्‍ने कुराको प्रमाण ‘थुप्रै गवाहीका मेघहरूले’ दिए। तिनीहरूले कठोर परीक्षा र मृत्युको मुखमा पर्दा समेत आफ्नो निष्ठा कायम राखे। (हिब्रू ११:३६, ३७; १२:१) यस्ता व्यक्‍तिहरूले यहोवाको हृदय साँच्चै आनन्दित तुल्यायो! (हितोपदेश २७:११) तथापि, सुरुमा वफादार भएका अरू कतिपय पछिसम्म आज्ञाकारी भइरहन सकेनन्‌। त्यस्ता व्यक्‍तिहरूमध्ये एक जना पुरातन यहूदियाका राजा योआश थिए।

खराब संगतले बिग्रिएका राजा

६, ७. यहोयादा बाचुन्जेल योआश कस्तो प्रकारका राजा थिए?

राजा योआश बच्चै छँदा तिनको झन्डै हत्या हुन लागेको थियो। योआश सात वर्षको हुँदा मुख्य पूजाहारी यहोयादाले साहसी भई तिनलाई लुकाइएको ठाउँबाट बाहिर ल्याए र राजा बनाए। ईश्‍वरभीरु यहोयादाले योआशको बुबा र सल्लाहकार दुवैको भूमिका निर्वाह गरेको हुँदा जवान शासकले “पूजाहारी यहोयादा बाचुञ्जेल . . . परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।”—२ इतिहास २२:१०–२३:१, ११; २४:१, २.

योआशले गरेका असल कार्यहरूमध्ये यहोवाको मन्दिरको पुनर्निर्माण पनि हो र यो कामले “योआशको निम्ति ठूलो अर्थ राख्थ्यो” [ NW]। तिनले मुख्य पूजाहारी यहोयादालाई ‘मोशाले लगाएको तिरोअनुसार’ मर्मत कार्यको खर्च बेहोर्न यहूदा र यरूशलेमबाट मन्दिरको कर उठाउनुपर्ने कुरा सम्झाए। स्पष्टतः यहोयादा जवान राजालाई परमेश्‍वरको व्यवस्था अध्ययन गर्नका साथै पालन गर्न सिकाउन सफल भएका थिए। फलस्वरूप, मन्दिर र मन्दिरका भाँडाकुँडाहरू बनाउने काम चाँडै सिद्धियो।—२ इतिहास २४:४, ६, १३, १४; व्यवस्था १७:१८.

८. (क) योआश आध्यात्मिक तवरमा पतन हुनुको मुख्य कारण के थियो? (ख) अनाज्ञाकारी भएका राजाले अन्तमा गएर के गरे?

दुःखको कुरा, योआश अन्तसम्म आज्ञाकारी भइरहन सकेनन्‌। किन? परमेश्‍वरको वचन यसो भन्छ: “यहोयादाको मृत्युपछि यहूदाका मुख्य मुख्य मानिसहरू राजालाई भेट गर्न आए। राजाले तिनीहरूका कुरा सुने। तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेर अशेरा-देवी र मूर्तिहरूलाई पूजे। यस बुराइले गर्दा यहूदा र यरूशलेमले दुःख भोग्नु पऱ्‍यो।” यहूदाका मुख्य मुख्य मानिसहरू अथवा राजकुमारहरूको हानिकारक प्रभावको कारण राजाले परमेश्‍वरका अगमवक्‍ताहरूको कुरा सुन्‍न छोडे। ती अगमवक्‍ताहरूमध्ये एक जना यहोयादाका छोरा जकर्याह थिए जसले साहसी भई योआश तथा त्यहाँका मानिसहरू आनाज्ञाकारी भएकोले हप्काए। योआशले पश्‍चात्ताप गर्नुको सट्टा जकर्याहलाई ढुंगाले हिर्काएर मार्ने हुकुम गरे। योआश कस्तो निष्ठूर र अनाज्ञाकारी राजा भएका थिए। यी सबै हुनुको कारण खराब संगतको प्रभाव थियो।—२ इतिहास २४:१७-२२; १ कोरिन्थी १५:३३.

९. योआश र राजकुमारहरूले आखिरमा भोग्नुपरेको नतिजाले अनाज्ञाकारी हुनुको मूर्खतालाई कसरी जोड दिन्छ?

यहोवालाई त्यागेपछि योआश र तिनका दुष्ट शाही सँगीहरूलाई के भयो? अरामी सेनाको “एक सानो फौजले” यहूदामाथि आक्रमण गरेर “सबै अफिसरहरूलाई मारे।” आक्रमणकारीहरूले राजाको सारा सम्पत्तिका साथै मन्दिरको सुन चाँदी पनि लुटेर लगे। योआशको ज्यान त जोगियो तर तिनी घाइते छोडिए। त्यसको केही समयपछि आफ्नै सेवकहरूले षड्यन्त्र गरेर तिनको हत्या गरे। (२ इतिहास २४:२३-२५; २ राजा १२:१७, १८) यहोवाले इस्राएललाई भन्‍नुभएका शब्दहरू कत्ति साँचो साबित भए: “मैले आदेश गरेको परमप्रभु परमेश्‍वरका वचन सुनेर होशियारीसाथ उहाँका आज्ञा र विधिहरू पालन गरेनौ भने यी सबै सराप तिमीहरूलाई लाग्नेछ, र तिमीहरू श्रापित हुनेछौ।”—व्यवस्था २८:१५.

आज्ञाकारी भएकोले बचेका सचिव

१०, ११. (क) यहोवाले बारूकलाई दिनुभएको सल्लाहमाथि विचार गर्नु किन फाइदाजनक छ? (ख) यहोवाले बारूकलाई कस्तो सल्लाह दिनुभयो?

१० मसीही सेवकाईमा भेटेका अधिकांश मानिसहरूले सुसमाचारप्रति चासो नदेखाउँदा के तपाईं कहिलेकाहीं निराश हुनुहुन्छ? के तपाईंलाई कहिलेकाहीं मानिसहरूको सुखविलासी जीवन शैली देख्दा कता कता ईर्ष्या लाग्छ? त्यसो हो भने, यर्मियाका सचिव बारूक र तिनलाई यहोवाले दिनुभएको मायालु सल्लाह सम्झनुहोस्‌।

११ बारूकले भविष्यसूचक सन्देश लेख्दै गर्दा यहोवाको ध्यान तिनीतिर नै केन्द्रित भयो। किन? किनभने बारूकले जीवनमा केही कुरा गुमाइरहेको जस्तो ठान्‍नुका साथै परमेश्‍वरको सेवामा आफूले पाइरहेको विशेष सुअवसरभन्दा ठूला कुराको चाहना गर्न थाले। बारूकको मनोवृत्तिमा भएको परिवर्तनलाई याद गर्दै यहोवाले तिनलाई यस्तो स्पष्ट तर मायालु सल्लाह दिनुभयो: “के तँ चाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्‌? ती नखोज्‌। किनकि हेर्‌, म सबै प्राणीमाथि विपत्ति ल्याइरहेछु, तर तँ जहाँ जान्छस्‌ ती सबै ठाउँमा तेरो प्राण म तँलाई युद्धको लूटको धनसरह छोड़िदिनेछु।”—यर्मिया ३६:४; ४५:५.

१२. यस वर्तमान दुष्ट रीतिरिवाजमा “ठूला कुराहरू” खोज्नदेखि हामी किन अलग रहनुपर्छ?

१२ यर्मियासँगै विश्‍वासी र निर्भयी भई यहोवाको सेवा गरेका बारूकलाई उहाँले भन्‍नुभएका शब्दहरूमा, के तपाईं यस असल मानिसको लागि उहाँको गहिरो चासो महसुस गर्नुहुन्छ? त्यस्तै गरी आज पनि यस दुष्ट रीतिरिवाजको सुखसुविधाको पछि लाग्न प्रलोभित मानिसहरूप्रति यहोवा गहिरो चासो राख्नुहुन्छ। खुसीको कुरा, बारूक जस्तै थुप्रै व्यक्‍तिहरूले जिम्मेवार आध्यात्मिक भाइहरूको मायालु सल्लाह स्वीकारेका छन्‌। (लूका १५:४-७) हो, यस दुष्ट रीतिरिवाजमा “ठूला कुराहरू” खोज्ने मानिसहरूको भविष्य अन्धकार छ भनी हामी सबैले बुझौं। त्यस्ता मानिसहरू साँचो आनन्द पाउन असफल हुने मात्र होइन तर त्योभन्दा पनि दुःखदायी कुरा, तिनीहरू यस संसार र यसका स्वार्थी इच्छाहरूसँगै नाश भएर जानेछन्‌।—मत्ती ६:१९, २०; १ यूहन्‍ना २:१५-१७.

१३. बारूकको विवरणले हामीलाई नम्रतासम्बन्धी कस्तो पाठ सिकाउँछ?

१३ बारूकको विवरणले हामीलाई नम्रताको सन्दर्भमा पनि राम्रो पाठ सिकाउँछ। याद गर्नुहोस्‌, यहोवाले सीधै बारूकलाई सल्लाह दिनुभएन तर यर्मियामार्फत कुरा गर्नुभयो र बारूकलाई यर्मियाको कमजोरी तथा अनौठो स्वभावबारे राम्ररी थाह थियो। (यर्मिया ४५:१, २) तैपनि बारूक घमण्डले फुलेनन्‌। बरु, तिनले सल्लाहको मूल स्रोत यहोवा हुनुहुन्छ भनी नम्रतासाथ स्वीकारे। (२ इतिहास २६:३, ४, १६; हितोपदेश १८:१२; १९:२०) त्यसैले चालै नपाई हामी ‘कुनै अपराधमा पऱ्‍यौं’ र परमेश्‍वरको वचनबाट आवश्‍यक सल्लाह पायौं भने, हामी बारूकको परिपक्वता, आध्यात्मिक विवेक र नम्रताको अनुकरण गरौं।—गलाती ६:१.

१४. हामीमाझ नेतृत्व लिनेहरूप्रति आज्ञाकारी हुनु किन लाभदायक छ?

१४ हामीले त्यस्तो नम्र मनोवृत्ति देखायौं भने सल्लाह दिनेहरूलाई पनि सजिलो हुन्छ। हिब्रू १३:१७ यसो भन्छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।” आफ्नो गोठालोरूपी कामको यस गाह्रो पक्ष पूरा गर्न आवश्‍यक साहस, बुद्धि र कौशलताको लागि यहोवालाई निष्कपटतासाथ प्राचीनहरूले कति धेरै प्रार्थना गर्छन्‌! “यसकारण यस्ताहरूलाई . . . यथोचित आदर” गरौं।—१ कोरिन्थी १६:१८.

१५. (क) यर्मियाले बारूकमाथि भरोसा राखेको कुरा कसरी प्रदर्शित गरे? (ख) नम्र भई आज्ञा पालन गरेको कारण बारूकले कस्तो इनाम पाए?

१५ बारूकले आफ्नो सोचाइमा छाँटकाँट गरे भन्‍ने कुरा स्पष्ट छ किनभने त्यसपछि तिनलाई यर्मियाले सबैभन्दा चुनौतीपूर्ण कार्यभार सुम्पे। त्यो थियो, यर्मियाले तिनलाई लेख्न लगाएको न्यायको सन्देश मन्दिरमा गएर सुनाउने। के बारूक यसो गर्न राजी भए? हो राजी भए। तिनले “यर्मियाको आज्ञा अनुसार . . . पढ़ेर सुनाए।” वास्तवमा, तिनले यरूशलेमका राजकुमारहरूलाईसमेत सो सन्देश पढेर सुनाए। यसको लागि पक्कै पनि साहस बटुल्नु परेको थियो। (यर्मिया ३६:१-६, ८, १४, १५) झन्डै १८ वर्षपछि यरूशलेम बेबिलोनीहरूको कब्जामा पर्दा बारूक आफ्नो लागि “ठूला कुराहरू” नखोजी यहोवाको चेताउनी सुनेकोमा कत्ति कृतज्ञ भए होलान्‌!—यर्मिया ३९:१, २, ११, १२; ४३:६.

आक्रमणको बेला आज्ञाकारिताले ज्यान जोगायो

१६. सा.यु.पू. ६०७ मा बेबिलोनीहरूको कब्जामा परेका यरूशलेमका यहूदीहरूप्रति यहोवाले कसरी अनुकम्पा देखाउनुभयो?

१६ सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश हुँदा आज्ञाकारीहरूप्रति परमेश्‍वरको अनुकम्पा फेरि प्रकट भयो। आक्रमणको चरमोत्कर्षमा यहोवाले यहूदीहरूलाई यसो भन्‍नुभयो: “हेर, म तिमीहरूका सामने जीवनको बाटो र मृत्युको बाटो राख्तछु। जो यस शहरमा रहन्छ त्यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो बाहिर निस्केर तिमीहरूलाई घेर्ने कल्दीहरूका हातमा आत्म समर्पण गर्छ, त्यो जीवित रहनेछ, र त्यसको प्राण त्यसको निम्ति लूटको धनसरह हुनेछ।” (यर्मिया २१:८, ९) यरूशलेमका बासिन्दाहरू विनाशका योग्य भए तापनि यहोवाले आफ्नो आज्ञा पालन गर्नेहरूप्रति त्यस निर्णायक घडीमा पनि अनुकम्पा देखाउनुभयो। b

१७. (क) यहोवाले यर्मियालाई कब्जामा परेका यहूदीहरूलाई ‘कल्दीहरूकहाँ भागेर’ जानु भनी भन्‍न लगाउनुहुँदा कुन दुई तरिकामा तिनको आज्ञाकारिताको जाँच भयो? (ख) साहसी भई आज्ञाकारी हुने सन्दर्भमा हामीले यर्मियाको उदाहरणबाट कसरी लाभ उठाउन सक्छौं?

१७ यहूदीहरूलाई आत्मसमर्पण गर्ने आदेश दिनुपर्दा यर्मियाको आज्ञाकारिताको पनि अवश्‍य जाँच भयो। एउटा कारण त तिनी परमेश्‍वरको नाउँको लागि जोसिला थिए। यर्मिया उहाँको नाउँलाई शत्रुहरूले कलंकित पारेको चाहँदैनथे किनभने तिनीहरूले आफ्नो विजयको श्रेय नीर्जिव देवहरूलाई दिने थिए। (यर्मिया ५०:२, ११; विलाप २:१६) यसबाहेक, मानिसहरूलाई आत्मसमर्पण गर्ने आदेश दिंदा यर्मियालाई आफ्नो ज्यान पनि जोखिममा पर्ने कुरा थाह थियो किनभने थुप्रैले तिनको कुरालाई देशद्रोह ठान्‍नेथिए। तैपनि तिनी डराएर पछि हटेनन्‌ तर आज्ञाकारी भई यहोवाको घोषणा सुनाए। (यर्मिया ३८:४, १७, १८) यर्मियाले जस्तै हामीले पनि आज मानिसहरूलाई मन नपर्ने सन्देश सुनाउनु परेको छ। यही सन्देशको कारण येशू पनि घृणाका पात्र हुनुभयो। (यशैया ५३:३; मत्ती २४:९) त्यसकारण ‘मानिसको डरको पासोमा’ नपरौं तर यर्मिया जस्तै यहोवामाथि पूर्ण भरोसा राखेर साहसी भई आज्ञा पालन गरौं।—हितोपदेश २९:२५.

गोगको आक्रमणको बेला आज्ञाकारिता

१८. यहोवाका सेवकहरूले भविष्यमा कस्तो परीक्षा सामना गर्नेछन्‌?

१८ चाँडै, शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाजले आजसम्म कहिल्यै नभएको “महा संकष्ट[मा]” विनाश भोग्नेछ। (मत्ती २४:२१) निस्सन्देह, त्यस समयअघि र त्यसबेला परमेश्‍वरका जनहरूले आफ्नो विश्‍वास र आज्ञाकारिताको कठोर परीक्षा सामना गर्नेछन्‌। उदाहरणका लागि, शैतानले ‘मागोग देशको गोगको’ रूपमा यहोवाका जनहरूमाथि ‘पृथ्वीलाई ढाक्ने एउटा बादलझैं एक ठूलो शक्‍तिशाली दलले’ आक्रमण गर्नेछ भनी बाइबलले बताउँछ। (इजकिएल ३८:२, १४-१६) परमेश्‍वरले आज्ञाकारीहरूलाई बचाउन फिजाउनुहुने “पखेटामनि” निश्‍शस्त्र र संख्यामा पनि थोरै उहाँका जनहरूले शरण खोज्नेछन्‌।

१९, २०. (क) लाल समुद्रमा हुँदा इस्राएलीहरू आज्ञाकारी हुनु किन अत्यावश्‍यक थियो? (ख) लाल समुद्रको विवरण प्रार्थनापूर्वक विचार गर्दा आज हामीलाई कस्तो लाभ हुन्छ?

१९ यस परिस्थितिले मिश्रबाट इस्राएलको प्रस्थानको सम्झना गराउँछ। मिश्रमाथि दस विपत्ति ल्याउनुभएपछि यहोवाले आफ्ना जनहरूलाई सबैभन्दा छोटो मार्गबाट नभई सजिलै पासोमा पारेर आक्रमण गर्न सक्ने लाल समुद्र हुँदो प्रतिज्ञा गरिएको देशतिर डोऱ्‍याउनुभयो। सैन्य दृष्टिकोणबाट हेर्ने हो भने त्यो अत्यन्तै विपत्तिजनक कदम देखिन्थ्यो। तपाईं त्यहाँ हुनुभएको भए प्रतिज्ञा गरिएको देश अर्कै दिशामा छ भनी थाह भईकन पनि के तपाईं मोशामार्फत यहोवाले भन्‍नुभएको कुरा पालन गर्दै पूर्ण भरोसाका साथ लाल समुद्रको बाटो भएर जानुहुन्थ्यो?—प्रस्थान १४:१-४.

२० प्रस्थान अध्याय १४ पढ्यौं भने यहोवाले उदेकलाग्दो ढंगमा शक्‍ति प्रदर्शन गर्दै आफ्ना जनहरूलाई उद्धार गर्नुभएको विवरण पाउँछौं। त्यस्तो विवरण पढ्‌न र मनन गर्न समय निकाल्दा हाम्रो विश्‍वासलाई साँच्चै बलियो बनाउन सक्नेछौं! (२ पत्रुस २:९) बलियो विश्‍वासले हामीलाई मानव तर्कहरूभन्दा विपरीतजस्तो लागे तापनि यहोवाको आज्ञा पालन गर्न सुदृढ बनाउनेछ। (हितोपदेश ३:५, ६) त्यसैले आफैलाई प्रश्‍न गर्नुहोस्‌, ‘के मैले लगनशील भई बाइबल अध्ययन, प्रार्थना र मननका साथै परमेश्‍वरका जनहरूसँग नियमित तवरमा संगत गरेर आफ्नो विश्‍वासलाई बलियो बनाउने प्रयास गरिरहेको छु?’—हिब्रू १०:२४, २५; १२:१-३.

आज्ञाकारिताले आशा जगाउँछ

२१. यहोवाको आज्ञा पालन गर्नेहरूले अहिले र भविष्यमा कस्तो आशिष्‌ पाउनेछन्‌?

२१ यहोवाप्रतिको आज्ञाकारितालाई आफ्नो जीवन शैली बनाउने मानिसहरू अहिले पनि हितोपदेश १:३३ मा उल्लिखित भविष्यवाणी पूरा भएको अनुभव गर्छन्‌, जहाँ यसो भनिएको छ: “जसले मेरा वचन [आज्ञाकारी भएर] सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।” यहोवाले ल्याउनुहुने रिसको दिनमा यी सान्त्वनादायी शब्दहरू कत्ति साँचो साबित हुनेछन्‌! वास्तवमा भन्‍ने हो भने, येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जब यी कुरा हुनेछन्‌ तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।” (लूका २१:२८) स्पष्टतः परमेश्‍वरप्रति आज्ञाकारी रहनेहरूले मात्र पूरा विश्‍वस्त भई यी शब्दहरू पालन गर्न सक्नेछन्‌।—मत्ती ७:२१.

२२. (क) यहोवाका जनहरू विश्‍वस्त हुने कस्ता कारणहरू छन्‌? (ख) यसपछिको लेखमा कस्ता विषयहरू छलफल गरिनेछ?

२२ विश्‍वस्त हुन सक्ने अर्को कारण हो, “परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” (आमोस ३:७) आज यहोवाले विगतमा जस्तो अगमवक्‍ताहरूलाई प्रेरित गर्नुहुन्‍न बरु उहाँले आफ्नो घरानालाई सामयिक आध्यात्मिक भोजन दिन विश्‍वासी दास वर्गलाई आज्ञा गर्नुभएको छ। (मत्ती २४:४५-४७) त्यसकारण हामीले त्यस “दास[प्रति]” आज्ञाकारी मनोवृत्ति राख्नु कत्ति महत्त्वपूर्ण छ! त्यस्तो आज्ञाकारिताले येशू अथवा ‘दासको’ मालिकप्रतिको मनोवृत्ति पनि झल्काउँछ भनी यसपछिको लेखले देखाउनेछ। उहाँप्रति नै “मानिसहरू . . . आज्ञाकारी बन्‍नेछन्‌।”—उत्पत्ति ४९:१०.

[फुटनोटहरू]

a कुखुरालाई अक्सर, डरपोक पक्षीको रूपमा चित्रण गरिए तापनि “माउले चल्लालाई सबै किसिमको खतराबाट बचाउन मृत्युसम्मै संघर्ष गर्छे” भनी वन्यजन्तु संरक्षण समाजको एउटा प्रकाशनले बताउँछ।

b यर्मिया ३८:१९ ले थुप्रै यहूदीहरू कल्दीहरूकहाँ ‘भागेर गएको’ विवरण बताउँछ र तिनीहरू मारिएनन्‌ तर निर्वासनमा लगिए। यर्मियाको कुरा सुनेपछि तिनीहरूले आत्मसमर्पण गरे वा गरेनन्‌, हामीलाई बताइएको छैन। यद्यपि, तिनीहरूको बचाउबाट अगमवक्‍ताको कुरा साँचो साबित भयो।

के तपाईंलाई सम्झना छ?

• बारम्बार अनाज्ञाकारी हुँदा इस्राएलले कस्तो नतिजा भोग्नुपऱ्‍यो?

• राजा योआशलाई आफ्नो युवावस्था र पछिको सरसंगतिले कस्तो असर पाऱ्‍यो?

• हामी बारूकबाट कस्तो पाठ सिक्न सक्छौं?

• वर्तमान रीतिरिवाजको अन्त नजिकिंदै जाँदा यहोवाका आज्ञाकारी जनहरू किन डराउनु पर्दैन?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

यहोयादाको डोऱ्‍याइमा जवान योआश यहोवाप्रति आज्ञाकारी रहे

[पृष्ठ १५-मा भएको चित्र]

खराब संगतको कारण योआश परमेश्‍वरका अगमवक्‍ताहरूको हत्या गर्न तयार भए

[पृष्ठ १६-मा भएको चित्र]

के तपाईं यहोवाको आज्ञा पालन गर्दै उहाँको उद्धार गर्ने अद्‌भुत शक्‍ति हेर्नुहुने थियो?