सत्य मन पराउने युवायुवतीहरू
सत्य मन पराउने युवायुवतीहरू
हजारौं वर्षअघि हिब्रू भजन रचयिताले यस्तो प्रश्न गरे, “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” (भजन ११९:९) यो प्रश्न आज पनि त्यतिकै उपयुक्त छ किनभने युवायुवतीहरूले यस संसारका थुप्रै समस्याहरूको सामना गर्नुपरिरहेको छ। स्वच्छन्द यौन क्रियाकलापमा संलग्न हुँदा थुप्रै युवायुवतीहरू एड्सको सिकार भएका छन्। तीमध्ये लगभग आधाजति भर्खर १५ देखि २४ वर्षबीचका छन्। लागूऔषधको दुरुपयोगले पनि अकाल मृत्युका साथै अन्य थुप्रै समस्याहरू निम्त्याएको छ। पतित संगीत, हिंसा अनि अनैतिकताले भरिएका चलचित्रहरू, टिभी कार्यक्रम र भिडियो अनि इन्टरनेटमा पाइने अश्लील सामग्रीहरूले युवायुवतीहरूमा विध्वंशकारी असर पुऱ्याउने गर्छ। त्यसैले भजन रचयिताले सोधेको प्रश्न आज पनि थुप्रै आमाबाबु र युवायुवतीहरूको लागि गम्भीर विषय हो।
यही प्रश्नको आफै जवाफ दिंदै भजन रचयिताले यसो भने: “तपाईंको वचनमा ध्यान दिएरनै हो।” हो, परमेश्वरको वचन बाइबलमा युवायुवतीहरूका लागि उत्तम निर्देशनहरू छन् र यसलाई पछ्याउँदा थुप्रै युवायुवतीहरूले जीवनमा सफलता हासिल गरिरहेका छन्। (भजन ११९:१०५) सुखविलास अनि भौतिक कुराहरूमा चुर्लुम्म डुबेको संसारमा आध्यात्मिक तवरमा स्वच्छ रहने प्रयास गरिरहेका र परमेश्वरलाई प्रेम गर्ने केही युवायुवतीहरूको उदाहरणलाई विचार गरौं।
तिनीहरू आमाबाबुले दिएको निर्देशनप्रति कृतज्ञ छन्
जेकब इमानुएलले केही वर्ष पूर्ण-समय अग्रगामी सेवकको हैसियतमा काम गरेपछि अहिले यहोवाका साक्षीहरूको मेक्सिकोस्थित शाखा कार्यालयमा सेवा गरिरहेका छन्। यहोवाको सेवाप्रति आफ्नो प्रेम कसरी बढ्यो भन्ने कुराको मूल्यांकन गर्दै तिनी यसो भन्छन्: “मैले मित्रता गाँसेका अरू केही अनुभवी आध्यात्मिक भाइहरूबाट केही मदत पाए तापनि मेरा आमाबाबु नै प्रेरणाको प्रमुख स्रोत हुनुहुन्थ्यो। उहाँहरूले मलाई प्रचार कार्यप्रति प्रेम जगाउन उत्प्रेरित गर्नुभयो। मायालु ढंगमा उहाँहरूले मलाई सही मार्गमा डोऱ्याउनुभयो अनि मैले कहिल्यै पनि उहाँहरूबाट दबाउ महसुस गरिनँ।”
पूर्ण-समय सेवकाईमा निकै वर्ष बिताइसकेका डेभिडले आफू र आफ्नो भाइ सानै छँदा आमाबाबुले विशेष अग्रगामीको हैसियतमा गरेको सेवाले पारेको प्रभाव बिर्सेका छैनन्। तिनका बुबाको मृत्युपछि पनि आमाले विशेष अग्रगामी सेवा गर्न छाडिनन्। तिनले राज्यको सुसमाचार प्रचार गर्नुका साथै तिनीहरूको रेखदेख पनि राम्रैसित गरिन्। “उहाँहरूले मलाई कहिल्यै पनि अग्रगामी बन्न जोर गर्नुभएन” भनेर डेभिड बताउँछन्, “तर हाम्रो परिवारले पूर्ण-समय सेवकाईबाट धेरै आनन्द उठायौं। त्यस्तो एकअर्कालाई सहयोग गर्ने पारिवारिक वातावरणले मलाई पनि त्यो काम अँगाल्न उत्प्रेरित गऱ्यो।” आमाबाबुले दिनुपर्ने लाभदायी निर्देशन र हेरचाहबारे डेभिड यसो भन्छन्: “मेरी आमाले हामीलाई हरेक रात फ्रम पाराडाइज लस्ट टु पाराडाइज रिगेन्ड a नामक पुस्तकबाट कथाहरू पढेर सुनाउने गर्नुहुन्थ्यो। ती कथाहरू वर्णन गर्ने उहाँको तरिकाले हामीलाई आध्यात्मिक भोजन लिने चाह बढाउन मदत गऱ्यो।”
सभाहरूप्रति कृतज्ञ
केही युवाहरूलाई मसीही सभाहरूको मूल्यांकन गर्न साह्रै गाह्रो लाग्छ। तिनीहरू आफ्ना आमाबाबुले लैजाने भएकोले मात्र सभाहरूमा जान्छन्। तथापि, सभा जान छुटाएनन् भनेचाहिं पछि सभामा भेला हुनुको महत्त्व
बुझ्न थाल्नेछन्। एघार वर्षको कलिलो उमेरमै पूर्ण-समय सेवा थालेका अल्फ्रेडोलाई विचार गर्नुहोस्। पाँच वर्षको छँदा सभाहरूमा निद्रा लागे पनि आमाबाबुले सभाहरूको दौडान सुत्न नदिने हुनाले सभाहरू छुटाउने प्रयास गरेको कुरा तिनी स्वीकार्छन्। तिनी भन्छन्: “जसै म ठूलो हुँदै गएँ सभाहरूप्रति बिस्तारै मेरो चासो बढ्न थाल्यो; अझ विशेष गरी मैले पढ्न र लेख्न सिकेपछि आफ्नै शब्दहरूमा टिप्पणी दिने कोसिस गर्न थालें।”नियमित अग्रगामीको रूपमा सेवा गरिरहेकी १७ वर्षीया सिन्टिया असल संगतिले परमेश्वरको सेवाप्रति तिनको प्रेम बढाउन प्रमुख भूमिका खेलेको कुरा बताउँछिन्। तिनी भन्छिन्: “भाइहरूसितको असल सम्बन्ध र सभाहरूमा नियमित तवरमा उपस्थित हुनाले मेरा संसारिक साथीहरू र जवानहरूमाझ प्रचलित कुराहरू जस्तै, डिस्को जाने जस्ता कुराहरू गर्न नपाएकोमा कहिल्यै चुकचुक महसुस गरिनँ। सभामा दिइने टिप्पणीहरू र अनुभवहरूले आफूसित भएका सम्पूर्ण कुराहरू यहोवालाई चढाउने चाहना जगायो। मलाई लाग्छ, मसित भएको सबैभन्दा उत्तम कुरा भनेकै मेरो युवावस्था हो। त्यसैले मैले आफ्नो युवावस्थालाई उहाँकै सेवामा प्रयोग गर्ने निर्णय गरें।”
तथापि, तिनी यस कुरामा सहमति जनाउँछिन्: “मैले बप्तिस्मा लिनुअघि आफ्नो गृहकार्य वा विद्यालयका अन्य गतिविधिहरूको बहाना बनाउँदै सभाहरू छुटाउँथें। मैले धेरै चोटि सभाहरू छुटाएँ र यसले मेरो आध्यात्मिकतामा असर गर्न थाल्यो। त्यसपछि बाइबल अध्ययन नगर्ने एक जना केटासित मेरो चिनजान बढ्न थाल्यो। धन्न, यहोवाको मदत पाएर मैले समयमै छाँटकाँट गर्न सकें।”
व्यक्तिगत निर्णय
यहोवालाई पूर्ण-समय सेवा गरिरहेका अर्का युवा पाब्लोलाई परमेश्वरको वचनको सत्यप्रति प्रेम बढाउन मुख्यतयाः कुन कुरा महत्त्वपूर्ण छ जस्तो लाग्छ भनेर सोध्दा तिनी भन्छन्: “मेरो विचारमा दुईवटा कुरा छन्: नियमित व्यक्तिगत बाइबल अध्ययन र प्रचार कार्यको लागि जोस। म आफ्ना आमाबाबुप्रति कृतज्ञ छु किनभने उहाँहरूले मलाई यहोवाबारे सत्य सिकाउनुभयो। अनि उहाँहरूले मलाई दिन सक्ने सबैभन्दा उत्तम कुरा भनेकै यही हो भन्ने मलाई लाग्छ। तथापि, म आफै पनि यहोवालाई किन प्रेम गर्दैछु भनेर विश्वस्त हुनुपर्छ। त्यसको लागि बाइबल सत्यको ‘उँचाइ र गहराइ’ जान्नु आवश्यक छ। यसरी मात्र हामी यहोवाको वचनप्रति चाह बढाउन सक्छौं र अरूसित कुरा गर्न हामीभित्र ‘आगो जलिरहेको’ हुनेछ। प्रचार कार्यप्रतिको त्यो जोसले सत्यप्रतिको हाम्रो प्रेमलाई कायम राख्नेछ।”—एफिसी ३:१८; यर्मिया २०:९.
माथि उल्लिखित जेकब इमानुएलले पनि यहोवाको सेवा गर्ने व्यक्तिगत छनौटको महत्त्वबारे बिर्सेका छैनन्। बप्तिस्मा लिन आमाबाबुले कहिल्यै कर नगरेको कुरा तिनी बताउँछन्। “मलाई लाग्छ, त्यो एकदमै राम्रो तरिका थियो किनभने मैले त्यसो गर्नाको राम्रो परिणाम देखेको छु। उदाहरणका लागि, मैले धेरै संगत गर्ने गरेका केही युवाहरूले हामी सँगै बप्तिस्मा लिने निर्णय गऱ्यौं। त्यसो गर्नु ठीकै भए तापनि कसै-कसैले भावनामा बहेर मात्र निर्णय गरेका रहेछन् र त्यसको केही समयपछि नै राज्य गतिविधिहरूप्रति तिनीहरूको जोस सेलायो। मेरो सन्दर्भमा भने मेरा आमाबाबुले मलाई यहोवालाई समर्पण गर्ने निर्णय गर्न कुनै दबाउ दिनुभएन। यो मेरो व्यक्तिगत निर्णय थियो।”
मण्डलीको भूमिका
केही युवायुवतीहरूले आफ्ना आमाबाबुको मदतविना नै परमेश्वरको वचनको सत्य सिकेका छन्। त्यस्तो परिस्थितिमा सही काम गर्नु र त्यसैमा लागिरहनु साँच्चै चुनौतीपूर्ण छ।
सच्चाइले कत्तिको मदत गऱ्यो भन्ने कुरा नोइले बिर्सेका छैनन्। सानै बेलादेखि तिनी झट्टै रिसाउने र हिंस्रक स्वभावका थिए। चौध वर्षको उमेरमा तिनले बाइबल अध्ययन गर्न थाल्दा तिनको स्वभावमा सुधार आउन थाल्यो। त्यस्तो परिवर्तनले गर्दा बाइबलप्रति कुनै चासो नराख्ने तिनका आमाबाबुसमेत साह्रै खुसी भए। आध्यात्मिक तवरमा उन्नति गर्दै जाँदा नोइले आफ्नो जीवनलाई अझ पूर्णतया परमेश्वरको सेवामा बिताउन चाहे। अहिले तिनी पूर्ण-समय सेवकाई गरिरहेका छन्।
त्यस्तै गरी, अलेजान्ड्रोका आमाबाबुहरूले मसीही सत्यमाथि कुनै चासो नलिए तापनि जवान छँदै तिनले सत्यप्रति चासो देखाउन थाले। सत्यप्रतिको आफ्नो मूल्यांकन व्यक्त गर्दै तिनले यसो भने: “म पहिलेदेखि नै क्याथोलिक धर्म मान्दै आएको परिवारमा हुर्केको थिएँ। तर म सानै छँदा मेरो मनमा उब्जेका थुप्रै प्रश्नहरूको जवाफ चर्चले दिन नसकेको हुनाले मेरो मनमा कम्युनिस्टहरूको नास्तिक विचारधाराप्रति लगाव झन्-झन् बढ्न थाल्यो। यहोवाको संगठनले मलाई परमेश्वरको ज्ञान हासिल गर्न मदत गऱ्यो। साँच्चै यसले मेरो जीवन बचायो किनभने बाइबल अध्ययन नगरेको भए म अनैतिकता, मतवालापन वा दुर्व्यसनीमा फस्ने थिएँ। म कुनै क्रान्तिकारी समूहको सदस्यसमेत भएर दुःखदायी परिणामहरू भोगिरहेको हुन्थें होला।”
आफ्ना आमाबाबुको सहायताविना कुनै युवाले कसरी सत्यको खोजी गरिरहन र त्यसैमा लागिरहन सक्छ? स्पष्टतयाः मण्डलीका प्राचीन र अरूले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। नोइ सम्झन्छन्: “मैले कहिल्यै पनि एक्लो महसुस गरिनँ किनभने यहोवा सधैं मेरो नजिक हुनुहुन्छ। त्यसबाहेक आध्यात्मिक तवरमा मेरा बुबा, आमा र भाइहरू सरह भएका धेरै मायालु भाइबहिनीहरूको समर्थन पाएको छु।” तिनी अहिले बेथेलमा सेवा गर्छन् र परमेश्वरको सेवामा आफ्नो समय बिताइरहेका छन्। त्यस्तै गरी अलेजान्ड्रो यसो भन्छन्: “मप्रति मायालु चासो राख्ने मण्डलीका प्राचीनहरूको समूहसित रहने अवसर पाएकोमा म सदा ऋणी रहनेछु। म यसप्रति विशेष आभारी छु किनभने १६ वर्षको उमेरमा मैले भर्खर-भर्खर बाइबल अध्ययन गर्न थाल्दा युवावस्थामा हुने मानसिक अशान्तिले मलाई पनि निकै असर गरेको थियो। मण्डलीका परिवारहरूले मलाई कहिल्यै त्यागेनन्। कसै न कसैले मलाई अतिथिसत्कार गरेकै हुन्थ्यो र तिनीहरूले आफ्नो घरमा बोलाएर खाना खुवाउनुको अलावा मनका कुराहरू पनि बाँडचुड गर्थे।” अलेजान्ड्रोले पूर्ण-समय सेवा गरिरहेको अहिले १३ वर्ष नाघिसक्यो।
कोही कोही मानिसहरू धर्मकर्म भनेको बुढाहरूले मात्र गर्ने कुरा हो भन्ने सोचाइ राख्छन्। तथापि, थुप्रै जवानहरूले कलिलै उमेरमा बाइबल सत्य सिकेर यहोवालाई प्रेम गर्न थाले र उहाँप्रति विश्वासी रहिरहे। यी युवाहरूको लागि भजन ११०:३ मा लिपिबद्ध दाऊदका शब्दहरू सत्य साबित भएका छन्: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्, पवित्र पोशाकमा बिहानको गर्भबाट, शीतजस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ।”
युवायुवतीहरूलाई सत्य सिक्न र त्यसैमा लागिरहन निकै चुनौतीपूर्ण छ। थुप्रै यहोवाको संगठनसित घनिष्ठ रहेको, सभाहरूमा नियमित तवरमा उपस्थित भएको अनि लगनशील भई बाइबल अध्ययन गरिरहेको हेर्न पाउनु कस्तो खुसीको कुरा हो। त्यसो गरेर तिनीहरूले परमेश्वरको वचन र उहाँको सेवाप्रति साँचो प्रेम खेती गर्न सकिरहेका छन्!—भजन ११९:१५, १६.
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा १९५८ मा प्रकाशित तर अहिले छापिंदैन।