सत्यलाई ठीकसँग प्रयोग गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?
सत्यलाई ठीकसँग प्रयोग गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?
एक जना पत्रकार तथा रंगमञ्च समालोचक नाटक हेर्न गए। त्यो नाटक तिनलाई त्यति राम्रो लागेन र पछि तिनले यस्तो लेखे: “तपाईं अर्थ न बर्थको कुरा हेरेर रमाउन चाहनुहुन्छ भने तपाईंले यो नाटक हेर्नै पर्छ।” पछि त्यस नाटकका प्रवर्धकहरूले त्यही समालोचकको भनाइ आफ्नो विज्ञापनमा चलाए। त्यो भनाइ थियो: “तपाईंले यो नाटक हेर्नै पर्छ”! हुन त त्यस विज्ञापनले उक्त समालोचकका शब्दहरू हुबहु सारे तापनि जुन प्रसंगमा त्यो भनिएको थियो, त्यसको बेग्लै अर्थ लगाइयो।
त्यस उदाहरणले कुनै पनि कथन जुन प्रसंगमा भनिएको थियो, त्यो कत्तिको महत्त्वपूर्ण रहेछ भन्ने कुरा देखाउँछ। बेग्लै प्रसंगमा भनिएको कुराले गलत अर्थ लगाउन सक्छ र शैतानले पनि येशूलाई भर्माउन खोज्दा धर्मशास्त्रको यस्तै गलत प्रयोग गरेको थियो। (मत्ती ४:१-११) अर्कोतर्फ, कुनै कथनको प्रसंगलाई राम्ररी विचार गऱ्यौं भने, त्यसको सही अर्थ बुझ्ने मदत पाउन सक्छौं। त्यसकारण, हामीले बाइबलको कुनै पद अध्ययन गर्दा लेखकले के भन्न खोजेका हुन् त्यसलाई राम्ररी बुझ्न त्यसको प्रसंगलाई विचार गर्नु र कुन परिस्थितिमा त्यो चलाइएको रहेछ भनी जान्नु बुद्धिमानी कुरा हो।
ठीकसँग प्रयोग गर्नुहोस्
प्रसंग भनेको कुनै विशेष शब्द वा वाक्यांशको अर्थ वा भावलाई झल्काउन त्यसको अघि वा पछि आउने लिखित वा मौखिक विवरण हो भन्न सकिन्छ। प्रसंग भनेको कुनै विशेष घटना, अवस्था आदिसित सम्बन्धित परिस्थिति वा तथ्यहरूको संगालो पनि हुन सक्छ। यस पछिल्लो भावसित मिल्ने प्रसंग शब्दको पर्यायवाची शब्द पृष्ठभूमि हुन सक्छ। पावलले तिमोथीलाई लेखेको यस कुरालाई विचार गर्ने हो भने, शास्त्रपदको पृष्ठभूमिलाई विचार गर्नु विशेष गरी महत्त्वपूर्ण छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्न यसलाई राम्ररी बुझ्नु र बढाइचढाइ नगरी अरूलाई सही ढंगमा बताउनुपर्छ। बाइबलका लेखक यहोवाप्रतिको आदरले हामीलाई त्यसो गर्ने प्रयत्न गर्न उत्प्रेरित गर्नेछ अनि प्रसंगलाई विचार गर्दा महत्त्वपूर्ण सहयोग प्राप्त हुनेछ।
दोस्रो तिमोथीको पृष्ठभूमि
उदाहरणका लागि, हामी बाइबलको पुस्तक दोस्रो तिमोथीलाई केलाएर हेरौं। a हामी यसलाई केलाउनुअघि त्यस पुस्तकको पृष्ठभूमिबारे प्रश्न गर्न सक्छौं। दोस्रो तिमोथीको पुस्तक कसले लेखे? कहिले? कस्तो अवस्थामा लेखे? त्यसपछि हामी सोध्न सक्छौं, यस पुस्तकको शीर्षकमै उल्लिखित व्यक्ति, “तिमोथी” कस्तो परिस्थितिमा थिए? तिनलाई त्यस पुस्तकमा लेखिएको जानकारी किन चाहियो? यी प्रश्नहरूको जवाफले हामीमा त्यस पुस्तकप्रति मूल्यांकन बढाउनुका साथै आज यसबाट हामी कसरी लाभ उठाउन सक्छौं भनी बुझ्न मदत गर्नेछ।
दोस्रो तिमोथीका सुरुका पदहरूले त्यो पुस्तक प्रेरित पावलले तिमोथीलाई लेखेको पत्र हो भन्ने कुरा संकेत गर्छ। अन्य पदहरूले देखाएअनुसार यो पत्र लेख्दा तिनी सुसमाचारको खातिर झ्यालखानामा दुःख भोगिरहेका थिए भनी देखाउँछ। थुप्रैले आफूलाई त्यागेको हुँदा पावललाई अब धेरै बाँच्दिनँ होला जस्तो लागेको थियो। (२ तिमोथी १:१५, १६; २:८-१०; ४:६-८) तसर्थ, तिनले यो पुस्तक त्यस्तै सा.यु. ६५ तिर रोममा दोस्रो पटक कैदी हुँदा लेखेको हुनुपर्छ। त्यसको केही समयपछि नै नेरोले तिनलाई मृत्युदण्ड दिएजस्तो छ।
यो दोस्रो तिमोथीको पृष्ठभूमि हो। तथापि, पावलले तिमोथीलाई आफ्ना समस्याहरूको गुनासो पोख्ने हेतुले पत्र लेखेका थिएनन् भन्ने कुरा उल्लेखनीय छ।। बरु, तिनले तिमोथीलाई आउँदै गरेको कठिन समयबारे चेतावनी दिनुका साथै आफ्नो मित्रलाई अलमल्याउने कुराहरूलाई पन्छाएर “बलियो” हुन र पावलले दिएका सल्लाहहरू अरूलाई पनि दिन प्रोत्साहन दिए। यसो गर्दा तिनीहरू पनि अरूलाई मदत गर्न पूर्णतया सक्षम हुनेथिए। (२ तिमोथी २:१-७) त्यस्तो कठिन समयमा पनि निःस्वार्थ भावसाथ अरूको ख्याल गरेर तिनले कस्तो राम्रो उदाहरण बसाले! अनि आज हाम्रोलागि पनि कस्तो राम्रो सुझाव!
पावलले तिमोथीलाई “प्रिय बालक” भन्छन्। (२ तिमोथी १:२) यस जवान मानिसलाई मसीही युनानी धर्मशास्त्रहरूमा अक्सर पावलका विश्वासी सहयोगी भनेर सम्बोधन गरिएको पाइन्छ। (प्रेरित १६:१-५; रोमी १६:२१; १ कोरिन्थी ४:१७) पावलले तिनलाई यो पत्र लेख्दा तिमोथी ३० वर्षको हाराहारीमा पुगिसकेका थिए अर्थात् भनौं भने तिनलाई जवानै ठानिन्थ्यो। (१ तिमोथी ४:१२) तथापि, तिनले लगभग १४ वर्ष ‘पावलसित सेवा’ गरेर विश्वासको उत्तम रेकर्ड कायम गरिसकेका थिए। (फिलिप्पी २:१९-२२) तिमोथी कम उमेरका भए तापनि पावलले तिनलाई अरू प्राचीनहरूलाई “बेफायदाका कुरामा झगडा” गरेर त होइन तर विश्वास र धीरजजस्ता महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनू भनी सल्लाह दिने जिम्मेवारी सुम्पे। (२ तिमोथी २:१४) तिमोथीसँग, मण्डलीमा निरीक्षक तथा सेवकाई सेवकहरू नियुक्त गर्ने अख्तियार पनि थियो। (१ तिमोथी ५:२२) तथापि, आफूले पाएको अख्तियार चलाउनदेखि तिनी अलि हिचकिचाएको हुन सक्छ।—२ तिमोथी १:६, ७.
यस जवान प्राचीनले केही गम्भीर चुनौतीहरू सामना गर्नुपऱ्यो। त्यसमध्ये एउटा, “पुनरुत्थान भइसकेको छ” भन्दै हाइमेनियस र फिलेतस भन्ने दुई जना व्यक्तिले “कुनै कुनैका विश्वासलाई उल्टाइदिएका” थिए। (२ तिमोथी २:१७, १८) तिनीहरू पुनरुत्थान भनेको आध्यात्मिक मात्र हुन्छ र मसीहीहरूको यस्तो पुनरुत्थान भइसकेको छ भन्ने विश्वास गर्थे। मसीहीहरू पापमा मरेका थिए तर परमेश्वरको आत्माद्वारा जीवित भएका छन् भन्ने पावलको भनाइको प्रसंगलाई विचारै नगरी उद्धृत गरेको हुनुपर्छ। (एफिसी २:१-६) पावलले त्यस्ता धर्मत्यागी प्रभावहरू बढ्नेछन् भनेर चेतावनी दिए। तिनले यस्तो लेखे: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्, . . . सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्।” (२ तिमोथी ४:३, ४) पावलले दिएको अग्रिम चेतावनीले तिमोथीले प्रेरितको उक्त सल्लाह तुरुन्तै पालन गरिहाल्नुपर्थ्यो भनेर देखायो।
आज यस पुस्तकको महत्त्व
यी विवरणहरूबाट पावलले कम्तीमा पनि निम्न कारणहरूले गर्दा दोस्रो तिमोथी लेखेको हुनुपर्छ भनेर हामी बुझ्न सक्छौं: (१) आफ्नो अन्त निश्चित छ भन्ने कुरा तिनलाई थाह थियो र मृत्युपछि तिमोथीलाई सहयोग गर्न आफू नहुने भएकोले तिनलाई पहिले नै त्यस समयको लागि तयार पार्ने तिनले कोसिस गरे। (२) तिनी तिमोथीको निरीक्षणमा रहेका मण्डलीहरूलाई धर्मत्यागी तथा अन्य हानिकारक तत्त्वहरूदेखि जोगाउन तिनलाई सुसज्जित पार्न चाहन्थे। (३) तिनी तिमोथीलाई यहोवाको सेवामा व्यस्त रहन र झूटा शिक्षाहरू विरुद्ध खडा हुँदा प्रेरित धर्मशास्त्रको सही ज्ञानमा भर पर्न प्रोत्साहन दिन चाहन्थे।
यो पृष्ठभूमि बुझ्दा हाम्रोलागि दोस्रो तिमोथी अझ बढी अर्थपूर्ण हुन्छ। आज पनि हाइमेनियस र फिलेतसजस्ता धर्मत्यागीहरू छन्, जसले आफ्नै विचारधाराहरूलाई चलाएर हाम्रो विश्वास उल्टाइदिन चाहन्छन्। त्यसबाहेक, पावलले भविष्यवाणी गरेको “डरलाग्दो समय” पनि आइसकेको छ। थुप्रैले पावलले दिएको यस चेतावनीको सत्य महसुस गरेका छन्: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।” (२ तिमोथी ३:१, १२) हामी कसरी दृढ रहन सक्छौं? तिमोथीले जस्तै हामीले पनि धेरै वर्ष यहोवाको सेवा गरिसकेकाहरूको सल्लाह पालन गर्नु आवश्यक छ। व्यक्तिगत अध्ययन, प्रार्थना र मसीही संगतिबाट हामी यहोवाको अनुग्रहबाट “खूब बलियो” भइरहन सक्छौं। त्यसबाहेक, सही ज्ञानको शक्तिमाथि पूर्ण भरोसा राख्दै हामी पावलको यस अर्तीलाई ध्यान दिन सक्छौं: “ती पक्का कुराहरूको नमूना पक्रीराख।”—२ तिमोथी १:१३.
“ती पक्का कुराहरूको नमूना”
पावलले बताएका “पक्का कुराहरू” के हुन्? तिनले साँचो मसीही सिद्धान्तहरूलाई बुझाउन त्यो अभिव्यक्ति चलाएका छन्। आफ्नो पहिलो पत्रमा पावलले तिमोथीलाई “पक्का वचनहरू” साधारणतया “हाम्रा प्रभू येशू ख्रीष्टका वचनहरू” हुन् भनेर वर्णन गरे। (१ तिमोथी ६:३) पक्का कुराहरूको नमुना पछ्याउँदा त्यसले सुबुद्धि, मायालु मनोभाव र अरूको चासो राख्ने स्वभाव विकास गर्न मदत गर्छ। येशूको सेवकाई तथा शिक्षाहरू सम्पूर्ण बाइबलमा पाइने अन्य जम्मै शिक्षाहरूअनुरूप भएको कारण “पक्का वचनहरू” भन्ने अभिव्यक्तिले बाइबलका सम्पूर्ण शिक्षालाई संकेत गर्न सक्छ।
सम्पूर्ण मसीही प्राचीनहरूले जस्तै तिमोथीले पनि “उत्तम नासो” अर्थात् पक्का वचनहरूको नमुनालाई रक्षा गरिरहनुपर्ने थियो। (२ तिमोथी १:१३, १४) तिमोथीले ‘वचन प्रचार गर्नुपर्थ्यो, समय र बेसमयमा तयार रहेर, सब सहनशीलता र शिक्षासाथ दोष देखाइदिने, हप्काउने, अर्ती दिने’ काम गर्नुपर्थ्यो। (२ तिमोथी ४:२) तिमोथीको दिनमा धर्मत्यागी शिक्षाहरू छ्यासछ्यास्ती फैलिरहेको थियो भन्ने कुरा थाह पाउँदा हामी पावलले पक्का वचनहरू अविलम्ब सिकाउनुपर्ने महत्त्वमाथि किन जोड दिए भनेर बुझ्न सक्छौं। साथै, राम्रो शिक्षण शैली प्रयोग गरेर सहनशील भई ‘दोष देखाएर, हप्काएर, अर्ती दिएर’ तिमोथीले बगाललाई जोगाउनुपर्ने थियो।
तिमोथीले कसलाई वचन प्रचार गर्नुपर्ने थियो? प्रसंगले देखाएअनुसार तिमोथीले प्राचीनको हैसियतमा मसीही मण्डलीभित्रै वचन प्रचार गर्नुपर्ने थियो। विरोधीहरूले ल्याउने दबाबलाई विचार गर्दा तिमोथीले आफ्नो आध्यात्मिक सन्तुलन कायम राख्नुका साथै मानव दर्शन, व्यक्तिगत धारणा वा नचाहिंदो अनुमानलाई नभई परमेश्वरको वचन साहसी भई घोषणा गर्नुपर्ने थियो। हो, यसो गर्दा गलत झुकाव भएका कसै-कसैले विरोध गर्न सक्थे। (२ तिमोथी १:६-८; २:१-३, २३-२६; ३:१४, १५) तथापि, पावलको सल्लाह पछ्याएर तिमोथीले पनि पावलले जस्तै धर्मत्यागलाई रोक्ने प्रयास गरिरहन सक्थे।—प्रेरित २०:२५-३२.
के पावलले वचन प्रचार गर्नु भनी दिएको सल्लाह मण्डलीबाहिर प्रचार गर्नुमा पनि लागू हुनेछ? हो, हुनेछ। पावल अझ यसो भन्छन्: “तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” (२ तिमोथी ४:५) सुसमाचार प्रचार गर्ने कार्य अर्थात् बेग्लै विश्वास भएकाहरूलाई उद्धारको सुसमाचार प्रचार गर्नु नै मसीही सेवकाईको प्रमुख उद्देश्य हो। (मत्ती २४:१४; मत्ती २८:१९, २०) अनि मण्डलीभित्र “बेसमयमा” परमेश्वरको वचन प्रचार गरिएझैं बाहिरकाहरूलाई पनि कष्टको समयमा समेत हामी प्रचार गरिरहन्छौं।—१ थिस्सलोनिकी १:६.
हाम्रो सम्पूर्ण प्रचार कार्य तथा शिक्षाहरूको आधार परमेश्वरको प्रेरित वचन नै हो। हामी बाइबलमाथि पूरा भरोसा राख्छौं। पावलले तिमोथीलाई यसो भने: “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ।” (२ तिमोथी ३:१६, नयाँ संशोधित संस्करण।) यो पद प्रायजसो बाइबल परमेश्वरको प्रेरित वचन हो भनेर देखाउन प्रयोग गरिन्छ र त्यसो गर्नु ठीकै पनि हो। तर पावलले ती कुराहरू लेख्नुको उद्देश्य के थियो?
पावल एक जना प्राचीनसित कुरा गर्दैथिए र तिनको काँधमा मण्डलीभित्र ‘अर्ती दिने, सच्याउने, धार्मिकतामा तालीम दिने’ जिम्मेवारी थियो। तसर्थ, तिनले तिमोथीलाई बाल्यकालदेखि सिकाइएको यस प्रेरित वचनको बुद्धिमा भरोसा गर्न स्मरण गराउँदै थिए। तिमोथीजस्तै अरू प्राचीनहरूले पनि समय-समयमा गल्ती गर्नेहरूलाई अर्ती दिनुपर्ने हुन्छ। त्यसो गर्दा तिनीहरूले बाइबलमाथि भरोसा गर्नुपर्छ। यसको अलावा, धर्मशास्त्रहरू परमेश्वरबाट प्रेरित भएको हुनाले त्यसमा आधारित सम्पूर्ण अर्ती परमेश्वरबाट आएको अर्ती हो। त्यस्तो बाइबल आधारित अर्ती नस्वीकार्ने व्यक्तिले मानव विचारधारालाई नभई यहोवाबाट आउने प्रेरित सल्लाहलाई अस्वीकार गरिरहेका हुन्छन्।
दोस्रो तिमोथीको पुस्तकमा कत्ति धेरै ईश्वरीय बुद्धिहरू पाइन्छ! अनि हामीले त्यसका सल्लाहहरूको प्रसंग विचार गऱ्यौं भने झनै कत्ति धेरै अर्थपूर्ण हुनेछ! यस लेखमा हामीले यस पुस्तकमा पाइने अद्भुत प्रेरित जानकारीहरूको संक्षिप्त विवरण मात्र प्रस्तुत गऱ्यौं तर बाइबलमा हामीले पढ्ने कुराहरूको प्रसंग विचार गर्नु कति लाभदायी रहेछ भन्ने कुरा प्रमाणित गर्न यो पर्याप्त छ। यसले “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्न हामीलाई मदत गर्नेछ।
[फुटनोट]
a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड २, पृष्ठ ११०५-८ सम्म हेर्नुहोस्।
[पृष्ठ २७-मा भएको चित्र]
पावलले तिमोथीलाई मण्डलीहरूको रक्षा गर्न सक्षम बनाउने इच्छा गरे
[पृष्ठ ३०-मा भएको चित्र]
पावलले तिमोथीलाई प्रेरित वचनमा पाइने बुद्धिमाथि भरोसा गर्न सम्झाए