सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘मेरो वचनमा रहो’

‘मेरो वचनमा रहो’

‘मेरो वचनमा रहो’

“तिमीहरू मेरो वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ।”—यूहन्‍ना ८:३१.

१. (क) येशू स्वर्ग फर्कनुहुँदा, उहाँले पृथ्वीमा के छोड्‌नुभयो? (ख) हामी कस्ता प्रश्‍नहरूबारे विचार गर्नेछौं?

 मसीही धर्मका प्रवर्तक, येशू ख्रीष्ट स्वर्ग फर्कनुहुँदा, उहाँले यस पृथ्वीमा आफूद्वारा लिखित ग्रन्थहरू, आफूद्वारा निर्मित स्मारकहरू वा आफूले थुपारेको धन-सम्पत्ति छोड्‌नु भएन। उहाँले आफ्ना चेलाहरूका साथै उहाँको चेला बन्‍न पूरा गर्नुपर्ने खास आवश्‍यकताहरू छोडेर जानुभयो। वास्तवमा भन्‍ने हो भने, येशूले उहाँका अनुयायी हुन चाहनेहरूले पूरा गर्नै पर्ने तीनवटा महत्त्वपूर्ण आवश्‍यकताबारे यूहन्‍नाको सुसमाचारको पुस्तकमा उल्लेख गर्नुभएको पाउँछौं। यी आवश्‍यकताहरू के-के हुन्‌? यसलाई पूरा गर्न हामी के गर्न सक्छौं? अनि आज हामी ख्रीष्टको चेलाहरूको हैसियतमा व्यक्‍तिगत तवरमा योग्य छौं भनी कसरी पक्का गर्न सक्छौं? a

२. यूहन्‍नाको सुसमाचारको पुस्तकमा लिपिबद्ध गरिएअनुसार चेला हुनको लागि पूरा गर्नुपर्ने एउटा महत्त्वपूर्ण आवश्‍यकता के हो?

आफ्नो मृत्यु हुनुभन्दा छ महिनाअघि येशू यरूशलेम उक्लनुभयो र डेराबासको एक हप्ते चाड मनाउन भेला भएको भीडलाई प्रचार गर्नुभयो। फलस्वरूप, चाड आधाजति सिद्धिंदा “भीडमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे।” येशूले प्रचार गरिरहनुभयो र चाडको अन्तिम दिनमा फेरि “धेरैले उहाँमाथि विश्‍वास गरे।” (यूहन्‍ना ७:१०, १४, ३१, ३७; ८:३०) यतिबेला, येशूले भर्खरै विश्‍वास गर्न थालेकाहरूलाई ध्यानमा राख्दै चेला हुनेहरूले पूरा गर्नुपर्ने महत्त्वपूर्ण आवश्‍यकताबारे बताउनुभयो, जुन कुरा प्रेरित यूहन्‍नाले यसरी लिपिबद्ध गरेका छन्‌: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ।”—यूहन्‍ना ८:३१.

३. ‘येशूको वचनमा रहनको लागि’ कुन गुण आवश्‍यक छ?

यसको मतलब येशूले भर्खरै विश्‍वास गर्न थालेकाहरूसित विश्‍वासको कमी थियो भन्‍न खोजिरहनुभएको थिएन। बरु, उहाँले तिनीहरू धीरजी भई उहाँको वचनमा रहिरहेमा तिनीहरूसामु उहाँको साँचो चेला बन्‍ने सुअवसर छ भनी औंल्याउँदै हुनुहुन्थ्यो। तिनीहरूले उहाँको वचन स्वीकारेका थिए र अब तिनीहरू यसैमा लागिरहनुपर्ने थियो। (यूहन्‍ना ४:३४; हिब्रू ३:१४) पक्कै पनि येशूले यस्तो धीरजलाई आफ्ना अनुयायीहरूमा हुनुपर्ने महत्त्वपूर्ण गुणको रूपमा हेर्नुहुन्थ्यो किनभने उहाँले आफ्नो एकदमै अन्तिम घडीतिर प्रेरितहरूसँग कुरा गर्नुहुँदा दुई पटकसम्म यस्तो आग्रह गर्नुभएको कुरा यूहन्‍नाको सुसमाचारको पुस्तकमा लिपिबद्ध छ: “मेरोपछि लाग।” (यूहन्‍ना २१:१९, २२) थुप्रै प्रारम्भिक मसीहीहरूले यसै गरे। (२ यूहन्‍ना ४) तिनीहरूलाई स्थिर रहन कुन कुराले मदत गऱ्‍यो?

४. कुन कुराले प्रारम्भिक मसीहीहरूलाई स्थिर रहन सक्षम बनायो?

लगभग सात दशकसम्म येशूका विश्‍वासी चेला रहेका प्रेरित यूहन्‍नाले एउटा महत्त्वपूर्ण बुँदा औंल्याए। तिनले विश्‍वासी मसीहीहरूलाई यस्तो प्रोत्साहन दिए: “तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।” ख्रीष्टका ती चेलाहरू स्थिर रहे वा परमेश्‍वरको वचनमा रहिरहे किनभने परमेश्‍वरको वचन तिनीहरूमा रह्‍यो। तिनीहरूमा यसप्रति हार्दिक मूल्यांकन थियो। (१ यूहन्‍ना २:१४, २४) त्यसै गरी, आज पनि ‘अन्तसम्म स्थिर रहन’ हामीले परमेश्‍वरको वचन हामीमा रहेको छ भनी पक्का गर्नुपर्छ। (मत्ती २४:१३) हामी कसरी यसो गर्न सक्छौं? येशूले बताउनुभएको एउटा दृष्टान्तले यसको जवाफ दिन्छ।

“वचन सुन्छ”

५. (क) येशूले आफ्नो एउटा दृष्टान्तमा कस्ता विभिन्‍न खाले जमिनहरूबारे उल्लेख गर्नुभएको छ? (ख) येशूको दृष्टान्तमा बीउ र जमिनले कुन कुरालाई संकेत गर्छ?

येशूले एक जना बीउ छर्नेको दृष्टान्त बताउनुभयो, जुन मत्ती, मर्कूस र लूकाको सुसमाचारका पुस्तकहरूमा लिपिबद्ध छ। (मत्ती १३:१-९, १८-२३; मर्कूस ४:१-९, १४-२०; लूका ८:४-८, ११-१५) यो विवरण पढ्‌दा तपाईंले थाह पाउनुहुनेछ कि यस दृष्टान्तको मुख्य पक्ष भनेको एकै प्रकारको बीउ विभिन्‍न खाले जमिनमा पर्छ र भिन्‍नाभिन्‍नै प्रतिफल प्राप्त हुन्छ। पहिलो खाले जमिन कडा छ, दोस्रोमा गहिरो माटो छैन र तेस्रो काँढाको झाँगले ढाकिएको छ। यी तीनवटाको विपरीत चौथो जमिन भने “असल” छ। येशूकै व्याख्याअनुसार भन्‍ने हो भने, बीउ परमेश्‍वरको वचनमा पाइने राज्य सन्देश हो र जमिनले हृदयको विभिन्‍न अवस्था भएका मानिसहरूलाई संकेत गर्छ। विभिन्‍न खाले जमिनद्वारा प्रतिनिधित्व गरिएका मानिसहरूमा केही कुरा मिल्दोजुल्दो भए तापनि असल जमिनद्वारा प्रतिनिधित्व गरिएका मानिसहरू भने एउटा कुराले गर्दा अरूभन्दा भिन्‍न छन्‌।

६. (क) येशूको दृष्टान्तमा चौथो खाले जमिन अरू तीन खाले जमिनहरूभन्दा कसरी भिन्‍न छ र यसको अर्थ के हो? (ख) ख्रीष्टका चेलाहरूको हैसियतमा धीरज देखाउन कुन कुरा अत्यावश्‍यक छ?

लूका ८:१२-१५ को विवरणले चारैवटा अवस्थामा मानिसहरूले ‘वचन सुन्छन्‌’ भनी देखाउँछ। तथापि, “असल र भला हृदय” भएकाहरूले “वचन सुनेर” मात्र चित्त बुझाउँदैनन्‌। तिनीहरूले त्यसलाई “जोगाई राख्छन्‌, औ धीरजसित फल फलाउँछन्‌।” असल र भला जमिनमा नरम र गहिरो माटो भएको हुनाले बीउको जरा भित्रसम्म पुग्न पाउँछ र परिणस्वरूप, बीउ अंकुराउँछ अनि फल दिन्छ। (लूका ८:८) त्यसै गरी, असल हृदय भएकाहरूले परमेश्‍वरको वचन बुझ्छन्‌, मूल्यांकन गर्छन्‌ र यसैमा लाग्छन्‌। (रोमी १०:१०; २ तिमोथी २:७) परमेश्‍वरको वचन तिनीहरूमा रहन्छ। परिणामस्वरूप, तिनीहरूले धीरजसित फल फलाउँछन्‌। त्यसकारण, ख्रीष्टका चेलाहरूको हैसियतमा धीरज देखाउन परमेश्‍वरको वचनप्रति गहिरो, हार्दिक मूल्यांकन हुनु अपरिहार्य छ। (१ तिमोथी ४:१५) त्यसोभए, हामी कसरी परमेश्‍वरको वचनप्रति यस्तो हार्दिक मूल्यांकन विकास गर्न सक्छौं त?

हृदयको अवस्था र अर्थपूर्ण मनन

७. असल हृदयसँग कुन कामको नजिकको सम्बन्ध छ?

बाइबलले बारम्बार असल र भला हृदयसँग कुन कामको नजिकको सम्बन्ध छ भनी बताएको छ, याद गर्नुहोस्‌। “जवाफ दिनअघि धर्मीहरू सोच्दछन्‌ [ “मनन गर्दछन्‌,” NW]।” (हितोपदेश १५:२८) “हे परमप्रभु, . . . मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान [“मनन,” NW] तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।” (भजन १९:१४) “मेरो मनको ध्यान [“मनन,” NW] समझको हुनेछ।”—भजन ४९:३.

८. (क) बाइबल पढ्‌दा हामीले के गर्नु हुँदैन र के गर्नुपर्छ? (ख) परमेश्‍वरको वचनमा प्रार्थनापूर्वक मनन गर्दा हामीले कस्ता लाभहरू उठाउन सक्छौं? (‘सत्यमा स्थिर’ भन्‍ने पेटी समावेश गर्नुहोस्‌।)

यी बाइबल लेखकहरूले जस्तै हामीले पनि परमेश्‍वरको वचन र उहाँको क्रियाकलापमा कृतज्ञतासाथ र प्रार्थनापूर्वक मनन गर्नुपर्छ। बाइबल वा बाइबल आधारित प्रकाशनहरू पढ्‌दा, हामीले रमाइला ठाउँहरूको दृश्‍यावलोकन नगरी फोटो मात्रै खिचेर हतार-हतार एक ठाउँदेखि अर्को ठाउँ गइहाल्ने पर्यटकहरूले जस्तो गर्नु हुँदैन। बरु, बाइबल अध्ययन गर्दा हामी केही क्षण रोकिएर यसबाट आनन्द उठाउन चाहन्छौं। b हामीले पढेका कुराहरूबारे शान्त भएर मनन गर्दा परमेश्‍वरको वचनले हाम्रो हृदयमा प्रभाव पार्छ। यसले हाम्रा भावनाहरू छुन्छ र हाम्रो सोचाइलाई असर गर्छ। यसले हामीलाई प्रार्थनामा परमेश्‍वरसामु हाम्रा भित्री भावनाहरू पोखाउन पनि उत्प्रेरित गर्छ। फलस्वरूप, यहोवासँग हाम्रो सम्बन्ध अझ बलियो हुन्छ र परमेश्‍वरप्रतिको हाम्रो प्रेमले हामीलाई चुनौतीपूर्ण अवस्थाहरूमा समेत येशूलाई पछ्याइरहन उत्प्रेरित गर्छ। (मत्ती १०:२२) स्पष्टतः यदि हामी अन्तसम्म विश्‍वासी रहन चाहन्छौं भने, परमेश्‍वरले भन्‍नुहुने कुरा मनन गर्नु अत्यावश्‍यक छ।—लूका २१:१९.

९. हामी आफ्नो हृदय राज्यको बीउ ग्रहण गर्ने खालको छ भनी कसरी पक्का गर्न सक्छौं?

येशूको दृष्टान्तले बीउ अर्थात्‌ परमेश्‍वरको वचनको वृद्धिमा बाधा पुऱ्‍याउने कुराहरू हुन्छन्‌ भनेर पनि देखाउँछ। त्यसकारण, विश्‍वासी चेला रहिरहन हामीले (१) दृष्टान्तमा उल्लिखित कमसल खाले जमिनद्वारा प्रतिनिधित्व गरिएका बाधाहरूलाई चिन्‍नुपर्छ र (२) यसलाई पन्छाउन वा यसबाट जोगिन कदम चाल्नुपर्छ। यसप्रकार, हामी आफ्नो हृदय राज्यको बीउ ग्रहण गर्ने खालको हुनुका साथै फलदायी छ भनी पक्का गर्नेछौं।

“बाटोको किनारमा” —आफ्नै कामकुरामा असाध्यै व्यस्त हुनु

१०. येशूको दृष्टान्तको पहिलो खाले जमिनको वर्णन गर्नुहोस्‌ र यसको अर्थ व्याख्या गर्नुहोस्‌।

१० पहिलो खाले जमिन अर्थात्‌ “बाटोको किनारमा” बीउ छर्दा त्यो बीउ ‘कुल्चिइन्छ।’ (लूका ८:५) खेतको डिलबाट धेरै मानिसहरू हिंड्‌ने भएकोले त्यहाँको माटो कसिलो हुन्छ। (मर्कूस २:२३) त्यस्तै गरी, संसारका विभिन्‍न क्रियाकलापहरूको कारण अनावश्‍यक रूपमा आफ्नो समय र शक्‍ति चाहिने कुराहरूमा व्यस्त हुनेहरू परमेश्‍वरको वचनप्रति हार्दिक मूल्यांकन विकास गर्नै नसक्ने गरी आफ्नै कामकुरामा रुमलिरहन्छन्‌। तिनीहरूले सुन्‍न त सुन्छन्‌ तर मनन गर्दैनन्‌। यसकारण तिनीहरूको हृदय यसलाई ग्रहण गर्न नसक्ने अवस्थामै रहन्छ। तिनीहरूले यसप्रति प्रेम विकास गर्नुअगावै “विश्‍वास गरेर तिनीहरूको उद्धार हुन्छ भनेर शैतान आएर तिनीहरूका हृदयबाट वचन हरेर लैजान्छ।” (लूका ८:१२) के यस्तो हुनबाट जोगिन सकिन्छ?

११. हामी कसरी आफ्नो हृदयको अवस्थालाई कडा जमिनजस्तो हुनदेखि जोगाउन सक्छौं?

११ हृदयलाई बाटो किनारको जमिनजस्तो अनुत्पादक हुनदेखि जोगाउन थुप्रै कामहरू गर्न सकिन्छ। कुल्चिएर कडा भएको जमिनलाई खनजोत गरेर त्यहाँबाट हिंडडुल गर्न बन्द गरेको खण्डमा त्यो जमिन नरम र उत्पादनशील हुन सक्छ। त्यसै गरी, परमेश्‍वरको वचनको अध्ययन तथा मनन गर्न समय निकाल्नाले हृदय असल र उत्पादनशील जमिनजस्तै हुन सक्छ। यसको लागि मुख्य कुरा भनेको जीवनका दैनिक क्रियाकलापहरूमा असाध्यै व्यस्त नहुनु हो। (लूका १२:१३-१५) बरु, जीवनमा “जे उत्तम छ सो[बारे]” मनन गर्नको लागि आफ्नो समय सदुपयोग गर्न पक्का हुनुहोस्‌।—फिलिप्पी १:९-११, नयाँ संशोधित संस्करण।

“चटानमाथि”—डराउनु

१२. येशूको दृष्टान्तमा उल्लिखित दोस्रो खाले जमिनमा टुसा ओइलाउनुको वास्तविक कारण के हो?

१२ बीउ दोस्रो खाले जमिनमा पर्दा यो पहिलेको जमिनमा जस्तो त्यत्तिकै रहँदैन। यसमा जरा उम्रन्छ र बीउ अंकुराउँछ। तर घाम लागेपछि यसको कलिलो टुसाले घामको राप सहन सक्दैन र ओइलाउँछ। यद्यपि, यस अर्थपूर्ण विवरणलाई ध्यान दिनुहोस्‌। टुसा ओइलाउनुको वास्तविक कारण घामको राप होइन। वास्तवमा भन्‍ने हो भने, असल जमिनमा हुर्केको बिरुवामा पनि घामको राप पर्छ तर यो ओइलाउँदैन, बरु झनै सप्रन्छ। त्यसोभए, यस्तो फरक हुनुको कारण के हो त? “गहीरो माटो” र “जरा नभएकोले” ती टुसाहरू ओइलाउँछन्‌ भनी येशू बताउनुहुन्छ। (मत्ती १३:५, ६; लूका ८:६) माटोको पातलो सतहमुनि भएको “चटान[ले]” बीउको जरालाई माटोभित्रसम्म पुगेर ओस र आड लिन दिंदैन। माटोको गहिराइ धेरै नभएकोले टुसा ओइलाउँछ।

१३. कस्ता व्यक्‍तिहरू गहिरो माटो नभएको जमिनजस्ता हुन्‌ र तिनीहरूले देखाउने प्रतिक्रिया पछाडिको वास्तविक कारण के हो?

१३ दृष्टान्तको यस भागले “खुशीसित वचन ग्रहण” गर्ने र जोसका साथ “केही समय” येशूलाई पछ्याउने व्यक्‍तिविशेषलाई संकेत गर्छ। (लूका ८:१३) तर “कष्ट कि खेदो[को]” चर्को घाममा पर्ने बित्तिकै तिनीहरू यति साह्रो डराउँछन्‌ कि आफ्नो आनन्द तथा बल गुमाएर ख्रीष्टलाई पछ्याउनै छाड्‌छन्‌। (मत्ती १३:२१) तथापि, तिनीहरू डराउनुको वास्तविक कारण विरोध भने होइन। किनकि ख्रीष्टका लाखौं चेलाहरू विभिन्‍न किसिमका संकष्टको बावजुद विश्‍वासी रहन्छन्‌। (२ कोरिन्थी २:४; ७:५) वास्तवमा भन्‍ने हो भने, कोही-कोही डराएर पछि हट्‌नुको कारण तिनीहरूको हृदयको अवस्था चट्टानजस्तो भएकोले उत्थानदायी तथा आध्यात्मिक कुराहरूमा गहिरिएर मनन गर्न नसकेकोले हो। फलस्वरूप, यहोवा र उहाँको वचनप्रति तिनीहरूले विकास गरेको मूल्यांकन विरोधसामु दृढ रहनको लागि एकदमै सतही र कमजोर साबित हुन्छ। कुनै पनि व्यक्‍ति यस्तो हुनबाट कसरी जोगिन सक्छ?

१४. आफ्नो हृदयको अवस्थालाई गहिरो माटो नभएको जमिनजस्तो हुन नदिन व्यक्‍तिविशेषले कस्ता कदमहरू चाल्नुपर्छ?

१४ व्यक्‍तिविशेषले गहिरो जरा गाडेर बसेको क्रोध, अन्तर्निहित स्वार्थ वा त्यस्तै कठोर तर प्रत्यक्ष नदेखिने भावनाहरूजस्ता चट्टानरूपी बाधाहरूले आफ्नो हृदयमा डेरा जमाएको छैन भन्‍ने कुरा पक्का गर्नुपर्छ। यस्ता बाधाहरूले जरा गाडिसकेको छ भने, परमेश्‍वरको वचनको शक्‍तिले यसलाई हटाउन सक्छ। (यर्मिया २३:२९; एफिसी ४:२२; हिब्रू ४:१२) त्यसपछि, प्रार्थनापूर्वक गरिने मननले व्यक्‍तिविशेषको “हृदयमा रोपिराखेको वचनलाई” जुरमुऱ्‍याउनेछ। (याकूब १:२१) यसले निरुत्साहको सामना गर्न बल र परीक्षाहरूको बावजुद विश्‍वासी रहिरहन साहस दिनेछ।

“काँढाका झाँगका बीचमा”—विभाजित हुनु

१५. (क) विशेष गरी येशूले बताउनुभएको तेस्रो खाले जमिनलाई हामीले किन ध्यान दिनुपर्छ? (ख) अन्तमा तेस्रो खाले जमिनमा के हुन्छ र किन?

१५ विशेष गरी तेस्रो खाले जमिन अर्थात्‌ काँढाको झाँग भएको जमिनलाई हामीले ध्यान दिनुपर्छ किनकि कुनै-कुनै तरिकामा यो असल जमिनजस्तै हुन्छ। असल जमिनले जस्तै काँढाको झाँग भएको जमिनमा पनि बीउको जरा उम्रन र बीउ अंकुराउन सक्छ। सुरुमा, यी दुवै खाले जमिनमा नयाँ बिरुवाको वृद्धि एकैनासे हुन्छ। तथापि, समय बित्दै जाँदा एउटा यस्तो अवस्था आउँछ जसको कारण बिरुवा निसासिन्छ। असल जमिनमा जस्तो नभई यस जमिनलाई काँढाको झाँगले ढाकिदिन्छ। यस जमिनमा बेर्नाहरू हुर्कंदै जाँदा, बेर्नाहरूले ‘तिनका साथमा बढ्‌ने काँढाहरूसँग’ संघर्ष गर्नुपर्ने हुन्छ। केही समयसम्म त पोषण, प्रकाश र ठाउँका लागि दुवैले संघर्ष गर्छन्‌ तर अन्तमा बिरुवालाई काँढाले ढाकेर ‘निसासिदिन्छ।’—लूका ८:७.

१६. (क) कस्ता व्यक्‍तिहरू काँढाको झाँगबीच भएको जमिनजस्ता हुन्‌? (ख) सुसमाचारका पुस्तकहरूको विवरणअनुसार काँढाको झाँगले कुन कुराको प्रतिनिधित्व गर्छ?—पादटिप्पणी हेर्नुहोस्‌।

१६ कस्ता व्यक्‍तिहरू काँढाको झाँगबीच भएको जमिनजस्ता हुन्‌? येशू यसरी बताउनुहुन्छ: “ती हुन्‌, जसले सुन्छन्‌ तर पछि यस जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्‌, र तिनमा फल पाक्न पाउँदैनन्‌।” (लूका ८:१४) छरिएको बीउ तथा काँढा जमिनमा सँग-सँगै बढेजस्तै कोही-कोही व्यक्‍तिहरू परमेश्‍वरको वचन र “सुख चैन” दुवैको पछि लाग्ने कोसिस गर्छन्‌। तिनीहरूको हृदयमा परमेश्‍वरको वचन छर्न त छरिन्छ तर यसले तिनीहरूको ध्यान खोज्ने अरू कुराहरूसित संघर्ष गर्नुपर्छ। तिनीहरूको लाक्षणिक हृदय विभाजित हुन्छ। (लूका ९:५७-६२) यसकारण, तिनीहरूले परमेश्‍वरको वचनको प्रार्थनापूर्ण र अर्थपूर्ण मनन गर्न पर्याप्त समय पाउँदैनन्‌। तिनीहरू परमेश्‍वरको वचनमा पूर्णतया लागिरहन सक्दैनन्‌ र तिनीहरूमा धैर्य धारण गर्न आवश्‍यक पर्ने हार्दिक मूल्यांकनको कमी हुन्छ। सांसारिक कुराहरूको पछि लाग्दा यसले तिनीहरूको आध्यात्मिक चासोलाई बिस्तारै ‘पूर्णतया निसासिने’ हदसम्म ओझेलमा पारिदिन्छ। c सम्पूर्ण हृदयले यहोवालाई प्रेम नगर्नेहरूको कस्तो दुःखदायी अन्त!—मत्ती ६:२४; २२:३७.

१७. येशूको दृष्टान्तमा बताइएको लाक्षणिक काँढाको झाँगद्वारा ननिसासिन हामीले जीवनमा कस्ता छनौटहरू गर्नुपर्छ?

१७ भौतिक कुराहरूको फिक्रीलाई भन्दा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिएर हामी यस संसारको दुःखकष्ट तथा ऐसआरामद्वारा निसासिनदेखि जोगिन सक्छौं। (मत्ती ६:३१-३३; लूका २१:३४-३६) बाइबल पढाइ र पढेका कुराहरूमाथिको मननलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन। आफ्नो जीवनलाई सकेसम्म सरल बनायौं भने, हामीले एकाग्रचित्त तथा प्रार्थनापूर्ण मननको लागि अझ बढी समय निकाल्न सक्नेछौं। (१ तिमोथी ६:६-८) यसो गरेका अर्थात्‌ फल दिने बिरुवालाई अझ बढी पोषण, प्रकाश र ठाउँ दिनको लागि जमिनबाट काँढाको झाँग उखेलेका परमेश्‍वरका सेवकहरूले यहोवाको आशिष्‌ अनुभव गरिरहेका छन्‌। छब्बीस वर्षीया सान्ड्रा यसो भन्छिन्‌: “सच्चाइमा मैले पाएका आशिष्‌हरूबारे मनन गर्दा, यसको तुलनामा संसारले केही पनि दिन सक्दैन भन्‍ने कुरा म महसुस गर्छु!”—भजन ८४:११.

१८. हामी कसरी परमेश्‍वरको वचनमा रहन र मसीहीहरूको हैसियतमा धैर्य धारण गर्न सक्छौं?

१८ चाहे हामी जवान होऔं वा वृद्ध, जबसम्म परमेश्‍वरको वचन हामीमा रहिरहन्छ हामी सबै परमेश्‍वरको वचनमा रहनेछौं र ख्रीष्टका चेलाहरूको हैसियतमा धैर्य धारण गर्नेछौं। त्यसकारण, आफ्नो लाक्षणिक हृदयको माटोलाई कहिल्यै पनि कठोर, कम गहिराइ भएको वा अनावश्‍यक कुराहरूले ढाकिएको बन्‍न नदेऔं तर यसलाई नरम र गहिरो राखिरहन दृढ निश्‍चय गरौं। यसरी हामी परमेश्‍वरको वचनमा पूर्णतया लागिरहन र ‘धीरजसित फल फलाउन’ सक्नेछौं।—लूका ८:१५.

[फुटनोटहरू]

a यस लेखमा हामी यी आवश्‍यकताहरूमध्ये पहिलो आवश्‍यकताबारे छलफल गर्नेछौं। बाँकी दुईवटाबारे आगामी लेखहरूमा छलफल गरिनेछ।

b बाइबलबाट तपाईंले पढ्‌नुभएको कुनै भागमा प्रार्थनापूर्वक मनन गर्दा; उदाहरणका लागि, तपाईं आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के यसले यहोवाको एक वा त्योभन्दा बढी गुणहरूबारे बताउँछ? बाइबलको मूल विषयसित यो कसरी सम्बन्धित छ? कसरी म यसलाई आफ्नो जीवनमा वा अरूलाई मदत गर्न प्रयोगमा ल्याउन सक्छु?’

c येशूको दृष्टान्तबारे सुसमाचारका तीनवटा पुस्तकहरूमा लिपिबद्ध विवरणअनुसार बीउ यस संसारको दुःखकष्ट तथा ऐसआरामद्वारा निसासिन्छ: “यस संसारको फिक्री,” “धनको धोका,” “अरू थोकका लालच” र “सुख चैन।”—मर्कूस ४:१९; मत्ती १३:२२; लूका ८:१४; यर्मिया ४:३, ४.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• हामी किन ‘येशूको वचनमा रहनुपर्छ’?

• हामी कसरी परमेश्‍वरको वचनलाई आफ्नो हृदयमा रहन दिन सक्छौं?

• येशूले उल्लेख गर्नुभएका चारवटा विभिन्‍न खाले जमिनले कस्ता व्यक्‍तिविशेषहरूको प्रतिनिधित्व गर्छ?

• तपाईं कसरी परमेश्‍वरको वचन मनन गर्न समय निकाल्न सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

‘सत्यमा स्थिर’

लामो समयदेखि ख्रीष्टका चेलाको हैसियतमा सेवा गरिरहेकाहरूले तिनीहरू ‘सत्यमा स्थिर’ छन्‌ भन्‍ने कुरा वर्षैपिच्छे प्रमाणित गरिरहेका छन्‌। (२ पत्रुस १:१२) तिनीहरूलाई धैर्य धारण गर्न कुन कुराले मदत गर्छ? तिनीहरूका केही टिप्पणीहरू विचार गर्नुहोस्‌।

“म हरेक दिनको अन्तमा बाइबलको केही अंश पढ्‌छु अनि प्रार्थना गर्छु। त्यसपछि आफूले पढेको कुराबारे सोच्ने गर्छु।”—जीन, १९३९ मा बप्तिस्मा लिएकी।

“यहोवाजस्तो अति उच्च व्यक्‍तिले हामीलाई कत्तिको गहिरो प्रेम गर्नुहुन्छ भनी थाह पाउँदा सुरक्षित महसुस गर्नुका साथै विश्‍वासी भइरहने बल पाउँछु।”—पट्रिसीया, १९४६ मा बप्तिस्मा लिएकी।

“बाइबल अध्ययन गर्ने राम्रो बानी बसाल्नुका साथै ‘परमेश्‍वरका गहिरा गहिरा कुरामा’ तल्लीन भएर मैले अहिलेसम्म उहाँको सेवा गरिरहन सकेकी छु।”—१ कोरिन्थी २:१०; अन्‍ना, १९३९ मा बप्तिस्मा लिएकी।

“आफ्नो हृदय तथा मनसाय केलाउने उद्देश्‍य राखेर म बाइबल तथा बाइबल आधारित प्रकाशनहरू पढ्‌ने गर्छु।”—जेल्दा, १९४३ मा बप्तिस्मा लिएकी।

“मलाई सबैभन्दा मन पर्ने समय भनेको टहल्न गएर यहोवासँग प्रार्थनामा कुरा गर्ने अनि आफूलाई कस्तो महसुस भइरहेको छ भनेर उहाँलाई बताउने हो।”—राल्फ, १९४७ मा बप्तिस्मा लिएका।

“म दिनको सुरुमा दैनिक पद र बाइबलको केही अंश पढ्‌छु। यसो गर्दा म दिनभरि मनन गर्ने ताजा बुँदा पाउँछु।”—मारी, १९३५ मा बप्तिस्मा लिएकी।

“मेरोलागि बाइबल पुस्तकको प्रत्येक पदको छलफल साँच्चै पोषण साबित भएको छ।”—डानियल, १९४६ मा बप्तिस्मा लिएका।

परमेश्‍वरको वचनमा प्रार्थनापूर्वक मनन गर्न तपाईं कहिले समय निकाल्नुहुन्छ?—दानियल ६:१०ख; मर्कूस १:३५; प्रेरित १०:९.

[पृष्ठ १३-मा भएको चित्र]

आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिएर हामी ‘धीरजसित फल फलाउन’ सक्छौं