साँचो सान्त्वना कहाँ पाउन सकिन्छ?
साँचो सान्त्वना कहाँ पाउन सकिन्छ?
“प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता[ ले] . . . हाम्रा सबै संकष्टमा सान्त्वना दिनुभएको छ।”—२ कोरिन्थी १:३, ४.
१. कस्ता परिस्थितिहरूको कारण मानिसहरूलाई सान्त्वनाको ठूलो आवश्यकता महसुस हुन सक्छ?
कसैलाई अशक्त पार्ने रोग लाग्दा तिनलाई आफ्नो जीवनै बर्बाद भएको महसुस हुन सक्छ। भुइँचालो, आँधीबेहरी र अनिकालले मानिसहरूलाई कंगाल बनाउँछ। युद्धले परिवारका सदस्यहरूको मृत्यु गराउन, घरबार खोस्न वा आफ्नो सर-सम्पत्ति छोडेर भाग्न बाध्य तुल्याउन सक्छ। अन्यायले मानिसहरूलाई छुटकाराको लागि भरोसा गर्न सकिने कुनै ठाउँ नै छैन भन्ने महसुस गराउन सक्छ। यस्ता दुःखकष्टहरूद्वारा प्रभावित भएका मानिसहरूलाई सान्त्वनाको अत्यन्तै खाँचो परेको छ। तर सान्त्वना कहाँ पाउन सकिन्छ?
२. यहोवाले दिनुभएको सान्त्वना किन अद्वितीय छ?
२ व्यक्तिविशेष तथा संगठनहरूले सान्त्वना दिने कोसिस गर्छन्। तिनीहरूको दयालु वचनको मूल्यांकन गरिन्छ। भौतिक तवरमा सञ्चालन गरिने राहत कार्यक्रमले अल्पकालीन आवश्यकताहरू पूरा गर्न त मदत गर्छ। तर साँचो परमेश्वर यहोवाले मात्र सबै क्षतिहरूलाई हटाउन र यस्ता विपत्तिहरू फेरि कहिल्यै नहोस् भनेर आवश्यक मदत दिन सक्नुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर धन्यका हुनुहुन्छ। परमेश्वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि संकष्टमा हुनेहरूलाई सान्त्वना दिनसकौं भनेर हो। उहाँले हाम्रा सबै संकष्टमा सान्त्वना दिनुभएको छ।” (२ कोरिन्थी १:३, ४) यहोवाले हामीलाई कसरी सान्त्वना दिनुहुन्छ?
समस्याहरूको मूल जरोसम्म पुग्ने
३. परमेश्वरले दिनुहुने सान्त्वना कसरी मानिसजातिका समस्याहरूको मूल जरोसम्म पुग्छ?
३ आदमको पापको कारण सम्पूर्ण मानव परिवार वंशानुगत रूपमा असिद्ध भयो र यसले अनगिन्ती समस्याहरू ल्याउनुका साथै अन्ततः मृत्युतर्फ डोऱ्याउँछ। (रोमी ५:१२) शैतान अर्थात् दियाबल यो “संसारको मालिक” भएकोले परिस्थिति झनै जटिल भएको छ। (यूहन्ना १२:३१; १ यूहन्ना ५:१९) यहोवाले मानिसजातिले भोग्नुपरेको दयनीय अवस्थाप्रति दुःख मात्र प्रकट गर्नुभएन। छुटकारा प्रदान गर्न उहाँले आफ्नो एक मात्र प्रिय पुत्रलाई छुडौतीको रूपमा पठाउनुभयो र हामीले उहाँको पुत्रमाथि विश्वास गरेको खण्डमा आदमको पापका असरहरूबाट मुक्त हुन सक्छौं भनेर बताउनुभयो। (यूहन्ना ३:१६; १ यूहन्ना ४:१०) स्वर्ग र पृथ्वीमा सारा अधिकार पाउनुभएको येशू ख्रीष्टले शैतान तथा त्यसको सम्पूर्ण दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुनेछ भनेर पनि परमेश्वरले भविष्यवाणी गर्नुभयो।—मत्ती २८:१८; १ यूहन्ना ३:८; प्रकाश ६:२; २०:१०.
४. (क) छुटकाराबारे यहोवाले गर्नुभएको प्रतिज्ञामाथि हाम्रो विश्वास बलियो बनाउन उहाँले कस्तो प्रबन्ध गर्नुभएको छ? (ख) छुटकारा कहिले आउनेछ भनी ठम्याउन यहोवाले हामीलाई कसरी मदत दिनुहुन्छ?
४ परमेश्वरको प्रतिज्ञामाथि हाम्रो विश्वास बलियो बनाउन उहाँले आफूले गरेका सम्पूर्ण भविष्यवाणीहरू पूरा हुन्छन् भन्ने प्रशस्त प्रमाणहरू जोगाएर राख्नुभएको छ। (यहोशू २३:१४) मानवीय दृष्टिकोणबाट हेर्दा असम्भवजस्तो देखिने परिस्थितिबाट आफ्ना सेवकहरूलाई छुटाउन उहाँले के गर्नुभएको छ भन्ने विवरण बाइबलमा समावेश गरिएको छ। (प्रस्थान १४:४-३१; २ राजा १८:१३–१९:३७) अनि यहोवाले आफ्नो उद्देश्यमा मानिसहरूको “हरेक किसिमका रोग” निको पार्ने तथा मृतकहरूको पुनरुत्थान गर्ने कामसमेत समावेश छ भन्ने कुरा येशू ख्रीष्टमार्फत प्रदर्शित गर्नुभयो। (मत्ती ९:३५; ११:३-६) यी सबै कामहरू कहिले हुनेछन्? यसको जवाफमा बाइबलले परमेश्वरको नयाँ स्वर्ग र नयाँ पृथ्वी आउनुभन्दा अघिको यस पुरानो रीतिरिवाजको अन्तिम दिनबारे बताउँछ। येशूले बताउनुभएको विवरण हामी बाँचिरहेको समयसित मेल खान्छ।—मत्ती २४:३-१४; २ तिमोथी ३:१-५.
दुःखमा परेको जातिलाई सान्त्वना
५. प्राचीन इस्राएललाई सान्त्वना दिनुहुँदा, यहोवाले तिनीहरूको ध्यान कुन कुरातर्फ खिच्नुभयो?
५ यहोवाले प्राचीन इस्राएलसित गर्नुभएको व्यवहारबाट हामी उहाँले तिनीहरूलाई दुःखको समयमा कसरी सान्त्वना दिनुभयो भन्ने कुरा सिक्छौं। उहाँले तिनीहरूलाई उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनी सम्झाउनुभयो। यसले उहाँका प्रतिज्ञाहरूमाथिको तिनीहरूको विश्वासलाई अझ बलियो पाऱ्यो। यहोवाले आफ्ना अगमवक्ताहरूलाई साँचो तथा जीवित परमेश्वरको रूपमा उहाँ र आफै केही गर्न नसक्ने अनि आफ्ना उपासकहरूलाई मदत गर्नसमेत नसक्ने मूर्तिहरूबीचको ज्वलन्त भिन्नता प्रस्ट पार्न लगाउनुभयो। (यशैया ४१:१०; ४६:१; यर्मिया १०:२-१५) यशैयालाई “सान्त्वना, मेरो प्रजा तँलाई सान्त्वना” भन्नुहुँदा, एक मात्र साँचो परमेश्वरको हैसियतमा आफ्नो महानतालाई जोड दिनको लागि उहाँको सृष्टिका कार्यहरूको उदाहरण तथा विवरणहरू चलाउन यहोवाले आफ्नो अगमवक्तालाई उत्प्रेरित गर्नुभयो।—यशैया ४०:१-३१.
६. छुटकारा कहिले प्राप्त हुनेछ भन्ने सन्दर्भमा कहिलेकाहीं यहोवाले कस्तो संकेत दिनुभयो?
६ कहिलेकाहीं, चाहे चाँडो होस् वा ढिलो तर आफ्ना जनहरूको छुटकारा हुने निश्चित समय तोक्नुभएर यहोवाले सान्त्वना दिनुभयो। मिश्रबाट छुटकारा पाउने समय नजिकिंदै जाँदा उहाँले थिचोमिचोमा परेका इस्राएलीहरूलाई यसो भन्नुभयो: “अझै एउटा विपत्ति म फिरऊन र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जानदिनेछ।” (प्रस्थान ११:१) राजा यहोशापातको समयमा तीन राष्ट्रका संयुक्त सेनाले यहूदामाथि आक्रमण गर्दा यहोवाले तिनीहरूलाई “भोलि” उहाँ तिनीहरूको पक्षमा लड्नुहुनेछ भनी बताउनुभयो। (२ इतिहास २०:१-४, १४-१७) अर्कोतर्फ, तिनीहरू बाबेलबाट मुक्त हुनेछन् भन्ने कुरा लगभग २०० वर्षअघि नै यशैयामार्फत लिपिबद्ध गरिसकिएको थियो र मुक्त हुनुभन्दा लगभग एक सय वर्षअघि यर्मियामार्फत थप विवरण दिइयो। मुक्त हुने समय नजिकिंदै जाँदा परमेश्वरका सेवकहरूको लागि ती भविष्यवाणीहरू कत्ति प्रोत्साहनजनक साबित भए!—यशैया ४४:२६–४५:३; यर्मिया २५:११-१४.
७. छुटकारा दिने प्रतिज्ञामा अक्सर कुन कुरा समावेश हुन्थ्यो र यसले इस्राएलका विश्वासी मानिसहरूलाई कस्तो असर गऱ्यो?
७ उल्लेखनीय कुरा के छ भने, परमेश्वरका जनहरूलाई सान्त्वना दिने प्रतिज्ञाहरूमा अक्सर मसीहबारे जानकारीहरू हुन्थे। (यशैया ५३:१-१२) यसले असंख्य परीक्षाहरू सहँदा विश्वासी जनहरूलाई पुस्तौंसम्म आशा प्रदान गऱ्यो। लूका २:२५ मा हामी यस्तो लेखिएको पाउँछौं: “हेर, यरूशलेममा शिमियोन नाउँ भएका एउटा मानिस थिए। यी मानिस इस्राएलको शान्तिको [वा सान्त्वनाको; वास्तवमा, मसीहको आगमनको] आशा गर्ने धर्मी र भक्त थिए, र पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो।” शिमियोनलाई धर्मशास्त्रमा लिपिबद्ध मसीहसम्बन्धी आशाबारे थाह थियो र यो पूरा हुने आशाले तिनको दैनिक जीवनलाई प्रभाव पाऱ्यो। यो कुरा कसरी पूरा हुनेछ भनी तिनले बुझेका थिएनन् र भविष्यवाणी गरिएको छुटकारा वास्तविकतामा परिणत भएको देख्न पाएनन् तर परमेश्वरको “उद्धार[को]” माध्यमलाई चिन्न पाउँदा मात्र पनि तिनी आनन्दित भए।—लूका २:३०.
ख्रीष्टमार्फत प्रदान गरिएको सान्त्वना
८. येशूले दिनुभएको मदत मानिसहरूले खोजेजस्तो मदतसित कत्तिको मिल्यो?
८ आफ्नो पार्थिव सेवकाईको दौडान येशूले सधैं नै मानिसहरूले खोजेजस्तो मदत दिनुभएन। मसीहले तिनीहरूलाई रोमको घृणित दासत्वबाट मुक्त गर्नुहुनेछ भन्ने तीव्र आशा कसै-कसैले राखेका थिए। तर येशूले क्रान्तिको समर्थन गर्नुभएन; उहाँले तिनीहरूलाई “जे जे सिजरका हुन् सिजरलाई . . . देओ” भन्नुभयो। (मत्ती २२:२१) परमेश्वरको उद्देश्य मानिसहरूलाई कुनै खास राजनैतिक शासनको दमनबाट मात्र मुक्त गर्ने थिएन। मानिसहरू येशूलाई राजा बनाउन चाहन्थे तर उहाँले तिनीहरूलाई आफूले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण” दिने कुरा बताउनुभयो। (मत्ती २०:२८; यूहन्ना ६:१५) येशूले राज्यारोहण गर्ने समय आइपुगेको थिएन र उहाँलाई शासन गर्ने अधिकार अधीर भीडले होइन तर यहोवाले दिनुहुने थियो।
९. (क) येशूले घोषणा गर्नुभएको सान्त्वनाको सन्देश के थियो? (ख) येशूले कसरी मानिसहरूले व्यक्तिगत तवरमा सामना गरिरहेका परिस्थितिसित यस सन्देशको सम्बन्ध देखाउनुभयो? (ग) येशूको सेवकाईले कुन कुराको लागि आधार बसाल्यो?
९ येशूले दिनुभएको सान्त्वना “परमेश्वरको राज्यको सुसमाचार[मा]” प्रत्यक्ष देख्न सकिन्थ्यो। जहाँसुकै जानुभए तापनि येशूले यही सन्देश घोषणा गर्नुभयो। (लूका ४:४३) मसीही शासकको हैसियतमा उहाँले मानिसजातिका लागि के गर्नुहुनेछ भन्ने कुरा देखाएर मानिसहरूका दैनिक समस्याहरूसित यस सन्देशको सम्बन्धबारे उहाँले जोड दिनुभयो। अन्धा तथा बोल्न नसक्नेहरूलाई सद्दे तुल्याउनुभएर (मत्ती १२:२२; मर्कूस १०:५१, ५२), अपांगहरूलाई निको बनाउनुभएर (मर्कूस २:३-१२), सँगी इस्राएलीहरूलाई घीनलाग्दो रोगबाट शुद्ध पार्नुभएर (लूका ५:१२, १३) र तिनीहरूलाई अन्य पीडादायी रोगहरूबाट मुक्त गर्नुभएर दुःख भोगिरहेका व्यक्तिहरूलाई उहाँले पुनर्जीवन दिनुभयो। (मर्कूस ५:२५-२९) मरेका केटाकेटीहरूको पुनरुत्थान गरेर उहाँले परिवारका शोकाकुल सदस्यहरूलाई ठूलो सान्त्वना दिनुभयो। (लूका ७:११-१५; ८:४९-५६) खतरनाक आँधीलाई नियन्त्रण गर्न सक्ने र ठूलो भीडको भोक मेटाउन सक्ने क्षमता आफूमा छ भनी उहाँले देखाउनुभयो। (मर्कूस ४:३७-४१; ८:२-९) साथै, येशूले तिनीहरूलाई विद्यमान समस्याहरूको प्रभावकारी ढंगमा सामना गर्न मदत दिन सक्ने र तिनीहरूको हृदयलाई मसीह अधीनस्थ धार्मिक शासनको आशाले भर्ने सिद्धान्तहरू सिकाउनुभयो। त्यसकारण येशूले सेवकाईको काम गर्नुहुँदा विश्वाससहित सुन्नेहरूलाई सान्त्वना मात्र दिनुभएन तर आउँदै गरेको हजारौं वर्षपछिसम्म मानिसहरू प्रोत्साहित हुने आधार बसाल्नुभयो।
१०. येशूको बलिदानको परिणाम स्वरूप कुन कुरा सम्भव भएको छ?
१० येशूले आफ्नो मानव जीवन बलिदान चढाएर स्वर्गीय जीवनमा पुनरुत्थान हुनुभएको ६० वर्षभन्दा पनि पछि प्रेरित यूहन्ना यस्तो लेख्न उत्प्रेरित भए: “हे मेरा साना केटा-केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्ना २:१, २) येशूको सिद्ध मानव बलिदानद्वारा प्राप्त हुने लाभहरूको कारण हामीले ठूलो सान्त्वना पाएका छौं। हामीले पापको क्षमा पाउन, सफा अन्तस्करण राख्न, परमेश्वरसित अनुमोदनप्राप्त सम्बन्ध स्थापित गर्न र अनन्त जीवनको प्रत्याशा राख्न सक्छौं भनी हामीलाई थाह छ।—यूहन्ना १४:६; रोमी ६:२३; हिब्रू ९:२४-२८; १ पत्रुस ३:२१.
सान्त्वनादाताको रूपमा पवित्र आत्मा
११. येशूले आफ्नो मृत्यु हुनुभन्दा अघि सान्त्वनाको कस्तो थप प्रबन्धबारे प्रतिज्ञा गर्नुभयो?
११ आफ्नो बलिदानरूपी मृत्यु हुनुभन्दा अघिल्लो रात, येशू आफ्ना प्रेरितहरूसँग हुनुहुँदा स्वर्गमा बस्नुहुने उहाँको पिताले तिनीहरूलाई सान्त्वना दिन गर्नुभएको अर्को प्रबन्धबारे येशूले बताउनुभयो। येशूले यसो भन्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [सान्त्वनादाता; युनानी, पाराक्लिटोस] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ। अर्थात्, सत्यका आत्मा।” येशूले तिनीहरूलाई यस्तो आश्वासन दिनुभयो: “शान्तिदाता, अर्थात् पवित्र आत्मा[ले] . . . तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।” (यूहन्ना १४:१६, १७, २६) पवित्र आत्माले तिनीहरूलाई कसरी वास्तवमै सान्त्वना दियो त?
१२. येशूका चेलाहरूलाई उहाँले भन्नुभएका कुराहरू सम्झाउनको लागि पवित्र आत्माले खेलेको भूमिकाले कसरी थुप्रैलाई सान्त्वना दिएको छ?
१२ प्रेरितहरूले येशूबाट विस्तृत तवरमा शिक्षा पाएका थिए। तिनीहरूले यो अनुभव त कहिल्यै बिर्सने थिएनन् तर के उहाँले भन्नुभएका एक-एक कुराहरू तिनीहरूले सम्झने थिए? तिनीहरूको स्मरण शक्ति सिद्ध नभएको कारण के महत्त्वपूर्ण निर्देशनहरू बिर्सने थिए? पवित्र आत्माले तिनीहरूलाई ‘उहाँले तिनीहरूलाई भन्नुभएका कुरा जति सम्झना गराउनुहुनेछ’ भन्ने आश्वासन येशूले दिनुभयो। त्यसकारण येशूको मृत्यु भएको लगभग आठ वर्षपछि मत्तीले सुसमाचारका पुस्तकहरूमध्ये पहिलो पुस्तक लेख्न सके जसमा येशूले दिनुभएको हृदयस्पर्शी डाँडाको उपदेश, परमेश्वरको राज्यबारे उहाँले बताउनुभएका असंख्य दृष्टान्तहरू र उहाँको उपस्थितिका चिह्नहरूबारे विस्तृत विवरण लिपिबद्ध छ। प्रेरित यूहन्नाले ५० वर्षभन्दा पछि, येशूको पार्थिव जीवनका पछिल्ला दिनहरूमा घटेका घटनाहरूले भरिएको भरपर्दो तथा विस्तृत विवरण लेख्न सके। यी प्रेरित रेकर्डहरू हाम्रो दिनसम्म कत्ति प्रोत्साहनदायी साबित भएका छन्!
१३. प्रारम्भिक मसीहीहरूको लागि कसरी पवित्र आत्माले शिक्षकको रूपमा काम गऱ्यो?
१३ पवित्र आत्माले चेलाहरूलाई येशूले भन्नुभएका शब्दहरू मात्र सम्झाएन तर तिनीहरूलाई सिकाउनुका साथै परमेश्वरको उद्देश्यबारे पूर्ण समझ प्रदान गऱ्यो। आफ्ना चेलाहरूसित हुनुहुँदा येशूले भन्नुभएका कुराहरू तिनीहरूले त्यतिबेला स्पष्टसित बुझेनन्। तथापि, पछि यूहन्ना, पत्रुस, याकूब, यहूदा र पावलले पवित्र आत्माद्वारा उत्प्रेरित भएर परमेश्वरको उद्देश्यबारे प्रकट भएका थप विवरणहरू लेखे। त्यसकारण पवित्र आत्माले शिक्षकको रूपमा काम गरेर ईश्वरीय निर्देशनको मूल्यवान् आश्वासन दियो।
१४. पवित्र आत्माले यहोवाका जनहरूलाई कुन-कुन तरिकामा मदत गऱ्यो?
१४ आत्माका चमत्कारपूर्ण वरदानहरूले परमेश्वरले आफ्नो अनुग्रह प्राकृतिक इस्राएलबाट मसीही मण्डलीमा सारिसक्नुभयो भन्ने कुरा स्पष्ट पार्न पनि मदत गऱ्यो। (हिब्रू २:४) व्यक्तिविशेषको जीवनमा देखिएको आत्माको फल पनि येशूका साँचो चेलाहरू को हुन् भनेर चिन्न सकिने एउटा महत्त्वपूर्ण माध्यम थियो। (यूहन्ना १३:३५; गलाती ५:२२-२४) अनि आत्माले त्यस मण्डलीका सदस्यहरूलाई साहसी तथा निडर हुन बलियो बनायो।—प्रेरित ४:३१.
असाध्यै तीव्र दबाबसामु मदत
१५. (क) विगत तथा वर्तमान समयका मसीहीहरूले कस्ता दबाबहरूको सामना गरेका छन्? (ख) कहिलेकाहीं प्रोत्साहन दिने व्यक्तिलाई समेत किन प्रोत्साहनको खाँचो पर्न सक्छ?
१५ यहोवाप्रति भक्त तथा वफादार सबै व्यक्तिहरूले कुनै न कुनै प्रकारको सतावट भोग्छन्। (२ तिमोथी ३:१२) तथापि, थुप्रै मसीहीहरूले असाध्यै तीव्र दबाब सहेका छन्। आधुनिक समयमा कोही-कोही हूलदंगाको सिकार भएका छन् भने कसै-कसैलाई अमानवीय अवस्थामा रहेका यातना शिविर, झ्यालखाना र श्रम शिविरमा हालिएका छन्। सरकारहरू नै सतावट दिन लागिपरेका छन् वा अराजक तत्वहरूलाई मनलागी गर्न छुट दिएका छन्। साथै, मसीहीहरूले गम्भीर स्वास्थ्य समस्या वा पारिवारिक संकटहरूको सामना गरेका छन्। थुप्रै सँगी विश्वासीहरूलाई अप्ठ्यारा परिस्थितिहरूको सामना गर्न मदत दिएका परिपक्व मसीहीले समेत दबाब महसुस गर्न सक्छन्। यस्तो अवस्थामा प्रोत्साहन दिने व्यक्तिलाई समेत प्रोत्साहनको खाँचो पर्न सक्छ।
१६. तीव्र दबाबमा पर्दा दाऊदले कसरी मदत पाए?
१६ राजा शावलले आफूलाई मार्न लखेटिरहेको समयमा दाऊदले परमेश्वर नै आफ्नो मदतगार हुनुहुन्छ भनी उहाँमाथि भरोसा राख्दै “हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्” भनी बिन्ती गरे। “तपाईंकै पखेटाको छायामनि म शरण लिनेछु।” (भजन ५४:२, ४; ५७:१) के दाऊदले मदत पाए? हो, पाए। यस समयमा यहोवाले अगमवक्ता गाद तथा एबीयातार पूजाहारीमार्फत दाऊदलाई निर्देशनहरू दिनुभयो र उहाँले यी जवान मानिसलाई बलियो तुल्याउनको लागि शावलको छोरा जोनाथनलाई चलाउनुभयो। (१ शमूएल २२:१, ५; २३:९-१३, १६-१८) यहोवाले पलिश्तीहरूलाई त्यस देशमा लूटपीट गर्न पनि दिनुभयो र यसैकारण शावलले दाऊदलाई लखेट्न छोडे।—१ शमूएल २३:२७, २८.
१७. तीव्र दबाबसामु मदतको लागि येशू कसमाथि भर पर्नुभयो?
१७ आफ्नो पार्थिव जीवनको अन्त हुने समय नजिकिंदै जाँदा येशू ख्रीष्टले समेत तीव्र दबाब महसुस गर्नुभयो। आफ्नो आचरणले स्वर्गमा बस्नुहुने पिताको नाउँलाई कसरी असर गर्न सक्छ र यसले सम्पूर्ण मानिसजातिको भविष्यको लागि कस्तो अर्थ राख्न सक्छ भन्ने कुराप्रति उहाँ पूर्णतया सजग हुनुहुन्थ्यो। “अत्यन्त संकष्टमा परेर” पनि उहाँले व्यग्र प्रार्थना गर्नुभयो। परमेश्वरले यस गाह्रो समयमा येशूलाई आवश्यक परेको सहयोग दिनुभयो।—लूका २२:४१-४४.
१८. कठोर सतावट भोगेका प्रारम्भिक मसीहीहरूलाई परमेश्वरले कस्तो सान्त्वना दिनुभयो?
१८ प्रथम शताब्दीको मण्डली स्थापना भएको लगत्तैपछि मसीहीहरूमाथि यति भीषण सतावट आयो कि प्रेरितहरूबाहेक अरू सबै यरूशलेमबाट भागे। पुरुष तथा स्त्रीहरूलाई तिनीहरूको घरबाट घिसारेर बाहिर निकालियो। परमेश्वरले तिनीहरूलाई कस्तो सान्त्वना दिनुभयो? तिनीहरूसित “उत्तम र रहिरहने अर्को एउटा सम्पत्ति” अर्थात् स्वर्गमा ख्रीष्टसँग अनन्त उत्तराधिकार छ भनी उहाँको वचनबाट आश्वासन दिनुभयो। (हिब्रू १०:३४; एफिसी १:१८-२०) तिनीहरू प्रचारकार्यमा लागिरहँदा, तिनीहरूले आफूसित परमेश्वरको आत्मा भएको प्रमाण देखे र आफ्नो अनुभवको कारण तिनीहरू अझ आनन्दित हुन सके।—मत्ती ५:११, १२; प्रेरित ८:१-४०.
१९. पावलले कठोर सतावट भोग्नुपरे तापनि परमेश्वरले दिनुहुने सान्त्वनाबारे तिनले कस्तो महसुस गरे?
१९ समयमा, पहिले असाध्यै सतावट दिने शावल (पावल) समेत सतावटको तारो भए किनभने तिनी मसीही बनेका थिए। साइप्रसको टापुमा एक जना धामीले छल र धूर्त्याइँको सहारा लिएर पावलको सेवकाईमा भाँजो हाल्न खोज्यो। गलातीयामा पावललाई ढुंगाले हानियो र तिनी मरे होलान् भन्ठानेर छोडियो। (प्रेरित १३:८-१०; १४:१९) म्यासिडोनियामा तिनलाई छडीले पिटियो। (प्रेरित १६:२२, २३) एफिससमा भएको हिंसात्मक हूलदंगापछि तिनले यस्तो लेखे: “हामी यतिसम्म साह्रो गरी मिचिएका थियौं, कि हाम्रो सामर्थ्यदेखि बाहिर भई जीवनसम्म हरेस खान परेको थियो। . . . आफैले मृत्युदण्डको आज्ञा आफैमाथि पाएका थियौं।” (२ कोरिन्थी १:८, ९) तर यसै पत्रमा पावलले यस लेखको अनुच्छेद २ मा उद्धृत सान्त्वनादायी शब्दहरू पनि लेखे।—२ कोरिन्थी १:३, ४.
२०. अर्को लेखमा हामी कुन कुरा विचार गर्नेछौं?
२० यस्तो सान्त्वना दिने काममा तपाईं कसरी भाग लिन सक्नुहुन्छ? हजारौंमाथि आइपर्ने विपत्ति भोग्नुपरेकोले होस् वा एक्लैलाई असर गर्ने कष्टको कारण होस्, दुःखमा परेका थुप्रै व्यक्तिहरूलाई आज सान्त्वना चाहिएको छ। अर्को लेखमा हामी यी दुवै अवस्थामा कसरी सान्त्वना दिने भन्ने कुरा विचार गर्नेछौं।
के तपाईंलाई सम्झना छ?
• परमेश्वरबाट प्राप्त हुने सान्त्वना किन उत्कृष्ट छ?
• ख्रीष्टमार्फत कस्तो सान्त्वना प्रदान गरिएको छ?
• पवित्र आत्मा कसरी सान्त्वनादाता साबित भएको छ?
• परमेश्वरका सेवकहरू कठोर दबाबमा पर्दा उहाँले दिनुभएको सान्त्वनाका उदाहरणहरू दिनुहोस्।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १५-मा भएका चित्रहरू]
यहोवाले आफ्ना जनहरूलाई छुटाउनुभएर सान्त्वना दिनुभयो भनी बाइबलले बताउँछ
[पृष्ठ १६-मा भएका चित्रहरू]
शिक्षा दिनुभएर, निको पार्नुभएर र मृतकहरूलाई पुनरुत्थान गर्नुभएर येशूले सान्त्वना दिनुभयो
[पृष्ठ १८-मा भएको चित्र]
येशूले माथिबाट मदत पाउनुभयो