सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंसित “पर्खने मनोवृत्ति” छ?

के तपाईंसित “पर्खने मनोवृत्ति” छ?

के तपाईंसित “पर्खने मनोवृत्ति” छ?

“सबै पवित्र जीवन र भक्‍तिमा [ “ईश्‍वरभक्‍तिका कार्यहरूमा,” NW] तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर।”—२ पत्रुस ३:११, १२.

१, २. यहोवाको दिनको सन्दर्भमा “पर्खने मनोवृत्ति” भएको कुरा हामी कसरी एउटा उदाहरणद्वारा देखाउन सक्छौं?

 भोजनको लागि पाहुनाहरूलाई पर्खिरहेको एउटा परिवारको दृश्‍य कल्पना गर्नुहोस्‌। तिनीहरू आइपुग्ने समय झन्‌झन्‌ नजिकिंदै छ। पत्नीले हतार-हतार खाना तयार गरी सिध्याउनै लागेकी छिन्‌। तिनका पति र बच्चाहरू सबै कुरा ठीकठाक छ कि छैन भनेर हेर्न सघाइरहेका छन्‌। सबै जना रोमाञ्चित छन्‌। हो, पूरै परिवार उत्सुकतासाथ पाहुनाहरू आउने समयलाई पर्खिरहेको छ र स्वादिष्ट खाना तथा असल संगतिको प्रतिक्षा गरिरहेको छ।

मसीहीहरूको हैसियतमा, हामीले त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा पर्खिरहेका छौं। के पर्खिरहेका छौं? वास्तवमा, हामी सबैले “परमेश्‍वरको त्यस दिन” पर्खिरहेका छौं! त्यो दिन नआउन्जेल हामी अगमवक्‍ता मीकाजस्तै हुनुपर्छ, जसले यसो भने: “म चाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु [“पर्खने मनोवृत्ति देखाउनेछु,” NW]।” (मीका ७:७) के यसको अर्थ निष्क्रिय हुने भनेको हो? अहँ, होइन। गर्नुपर्ने कामहरू थुप्रै छन्‌।

३. दोस्रो पत्रुस ३:११, १२ अनुसार मसीहीहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ?

प्रेरित पत्रुसले हामीलाई सही मनोवृत्ति राखेर पर्खन मदत गर्छन्‌। तिनी यसो भन्छन्‌: “सबै पवित्र जीवन र भक्‍तिमा [ “ईश्‍वरभक्‍तिका कार्यहरूमा,” NW] तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर।” (२ पत्रुस ३:११, १२) याद गर्नुहोस्‌, यहाँ पत्रुसले हामी कस्तो किसिमको मानिस हुनुपर्छ भन्‍ने कुरामा शंका व्यक्‍त गरिरहेका थिएनन्‌। आफ्ना दुईवटा ईश्‍वर-प्रेरित पत्रमा तिनले मसीहीहरू कस्तो किसिमको मानिस हुनुपर्छ भनी वर्णन गरे। तिनले उनीहरूलाई “सबै पवित्र जीवन र ईश्‍वरभक्‍तिका कार्यहरू” गरिरहन पनि प्रोत्साहन दिए। येशूले “रीतिरिवाजको अन्तको चिह्न” दिनुभएको लगभग ३० वर्ष बितिसकेको भए तापनि मसीहीहरूले चनाखो रहन छोड्‌नुहुने थिएन। (मत्ती २४:३) तिनीहरूले यहोवाको दिनको “बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा” गर्नुपर्ने थियो।

४. ‘परमेश्‍वरको त्यस दिनको उत्सुकतासाथ इच्छा गर्नुमा’ कुन कुरा समावेश छ?

यहाँ “उत्सुक्‍तासाथ इच्छा गरेर” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “गति बढाउन लगाउनु” हुन्छ। निस्सन्देह, हामीले शाब्दिक अर्थमा यहोवाको दिनको ‘गति बढाउन लगाउन’ सक्दैनौं। त्यस अर्थमा हामीलाई येशू ख्रीष्ट आफ्नो पिताका शत्रुहरूलाई न्यायदण्ड दिन आउनुहुने “त्यो दिन र त्यो बेला थाह” छैन। (मत्ती २४:३६; २५:१३) एउटा सन्दर्भ सामग्रीअनुसार, “गति बढाउन लगाउनु” भन्‍ने अभिव्यक्‍तिको मूल क्रियाले यहाँ “हतार गर्नु” भन्‍ने अर्थ दिन्छ र “ ‘कुनै कुराबारे जोसिलो, सक्रिय, उत्सुक हुनुसित’ यसको नजिकको सम्बन्ध छ।” त्यसकारण पत्रुसले सँगी विश्‍वासीहरूलाई यहोवाको दिनको व्यग्र चाह गरिरहने सल्लाह दिइरहेका थिए। तिनीहरूले यसलाई सधैंभरि मनमा राखेर यसो गर्न सक्थे। (२ पत्रुस ३:१२) अहिले “परमप्रभुको त्यो महा र भयंकर दिन” एकदमै नजिक भएको कारण हामीले पनि यस्तै मनोवृत्ति राख्नुपर्छ।—योएल २:३१.

‘पवित्र जीवनका कार्यहरूसहित’ पर्खनुहोस्‌

५. “परमेश्‍वरको त्यस दिन” हेर्न व्यग्र चाह गरिरहेका छौं भनेर हामी कसरी देखाउन सक्छौं?

हामी यहोवाको दिनबाट बच्न व्यग्र चाह गरिरहेका छौं भने यो कुरा हामी आफ्नो “पवित्र जीवन र ईश्‍वरभक्‍तिका कार्यहरू[द्वारा]” प्रस्ट पार्नेछौं। ‘पवित्र जीवनका कार्यहरू’ भन्‍ने अभिव्यक्‍तिले हामीलाई पत्रुसको निम्न सल्लाह सम्झाउन सक्छ: “आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषाअनुसार नभएर, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’ ”—१ पत्रुस १:१४-१६.

६. पवित्र हुन हामीले के गर्नै पर्छ?

पवित्र हुन हामीले शारीरिक, मानसिक, नैतिक तथा आध्यात्मिक स्वच्छता कायम गर्नै पर्छ। के हामी यहोवाको नाउँ वहन गर्ने व्यक्‍तिविशेषको रूपमा आफूलाई पवित्र राखेर “परमेश्‍वरको त्यस दिन[को]” लागि तयारी गर्दैछौं? अहिले यस्तो शुद्धता कायम राख्न सजिलो छैन किनभने संसारको नैतिक स्तर दिन-प्रतिदिन खस्कँदै छ। (१ कोरिन्थी ७:३१; २ तिमोथी ३:१३) के हामीले हाम्रो तथा संसारको नैतिक स्तरबीचको दूरी बढ्‌दै गइरहेको महसुस गर्छौं? गर्दैनौं भने यो हाम्रो लागि चिन्ताको विषय हो। हाम्रो व्यक्‍तिगत स्तर संसारको भन्दा उच्च भए तापनि कतै यो स्तर खस्कँदै गइरहेको त छैन? त्यसो हो भने परमेश्‍वरलाई खुसी तुल्याउन आफ्नो कामकुरा सच्याउने सकारात्मक कदम चाल्नुपर्ने हुन्छ।

७, ८. (क) हामीले ‘पवित्र जीवनका कार्यहरूमा’ व्यस्त हुनुको महत्त्व कसरी बिर्सन सक्छौं? (ख) कस्ता सुधारात्मक कदमहरू चाल्नु आवश्‍यक पर्न सक्छ?

इन्टरनेटमार्फत गोप्य रूपमा अश्‍लील सामग्रीहरू हेर्न सकिने भएकोले कुनै समय यस्ता अनैतिक सामग्रीहरूको पहुँच नभएका व्यक्‍तिहरूले समेत अहिले “यौनाकांक्षा पूरा गर्ने असीमित मौका” पाइरहेका छन्‌ भनी एक जना चिकित्सकले बताए। यस्ता फोहोर इन्टरनेट साइटहरू खोज्न थाल्यौं भने हामीले “अशुद्ध थोक नछोऊ” भनी बाइबलले दिएको आज्ञालाई पक्कै पनि बेवास्ता गरिरहेका हुन्छौं। (यशैया ५२:११) के हामीले साँच्चै “परमेश्‍वरको त्यस दिन . . . उत्सुक्‍तासाथ इच्छा” गरिरहेका हुनेछौं? वा आफ्नो मन फोहोर कुराद्वारा प्रदूषित पारिरहेका छौं भने पनि आफूलाई स्वच्छ बनाउने समय बाँकी छँदै छ नि भन्‍ने तर्क गरेर त्यस दिनलाई आफ्नो मनमा पर सारिरहेका हुन्छौं? हामीले माथि वर्णन गरिएजस्तै खालका समस्याहरूको सामना गरिरहेका छौं भने ‘व्यर्थका कुराहरू हेर्नदेखि हाम्रो आँखा फर्काइदिनुहोस्‌ र हामीलाई उहाँको मार्गमा जीवित राख्नुहोस्‌’ भनी यहोवालाई बिन्ती गर्नु कत्ति जरुरी छ!—भजन ११९:३७.

युवा तथा वृद्ध, यहोवाका अधिकांश साक्षीहरूले परमेश्‍वरको उच्च नैतिक स्तर त्यागेका छैनन्‌ र यस संसारका अनैतिक प्रलोभनहरूलाई तिरस्कार गरिरहेका छन्‌। हाम्रो समयप्रति अविलम्बी भाव राख्नुका साथै “प्रभुको दिन चोर जस्तैगरी आउनेछ” भन्‍ने पत्रुसको चेतावनीप्रति सजग भएर तिनीहरू ‘पवित्र जीवनका कार्यहरू’ गरिरहन्छन्‌। (२ पत्रुस ३:१०) तिनीहरूका कार्यहरूले तिनीहरू “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर” बसेका छन्‌ भनी प्रमाणित गर्छ। a

“ईश्‍वरभक्‍तिका कार्यहरू[सहित]” पर्खनुहोस्‌

९. ईश्‍वरभक्‍तिले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

हामीले यहोवाको दिनको इच्छा गर्ने हो भने “ईश्‍वरभक्‍तिका कार्यहरू” पनि महत्त्वपूर्ण छन्‌। “ईश्‍वरभक्‍ति[मा]” परमेश्‍वरप्रतिको श्रद्धा समावेश छ, जसले हामीलाई उहाँलाई मनपर्ने कार्यहरू गर्न उत्प्रेरित गर्छ। वफादार भई यहोवासित नजिक हुनु नै ईश्‍वरभक्‍तिका यस्ता कार्यहरूपछाडिको उत्प्रेरक शक्‍ति हो। “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ।” (१ तिमोथी २:४) परमेश्‍वर “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) त्यसोभए, यहोवाबारे सिक्न तथा उहाँको देखासिकी गर्न अरूलाई मदत दिने हाम्रो प्रयत्नलाई अझ बढाउन हाम्रो ईश्‍वरभक्‍तिले हामीलाई उत्प्रेरित गर्नुपर्दैन र?—एफिसी ५:१.

१०. हामी “धनसम्पत्तिको माया[देखि]” किन जोगिनुपर्छ?

१० हामीले पहिले परमेश्‍वरको राज्यको खोजी गऱ्‍यौं भने हाम्रो जीवनमा ईश्‍वरभक्‍तिका कार्यहरू प्रशस्त हुनेछन्‌। (मत्ती ६:३३) यसमा हामीले भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु समावेश छ। येशूले यस्तो चेतावनी दिनुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) हुन त पैसाको प्रेममा अन्धो भएको कुरा हामीलाई कल्पना समेत गर्न गाह्रो होला, तर “संसारको फिक्री र धनसम्पत्तिको मायाले” परमेश्‍वरको “वचनलाई निसासिदिन्छ” भन्‍ने कुरा मनमा राख्नु बेस हुन्छ। (मत्ती १३:२२) जीवन धान्‍नु सजिलो नहुन सक्छ। त्यसकारण संसारका कुनै-कुनै भागका मानिसहरूले सुखी जीवन बिताउन अझ सम्पन्‍न मुलुकमा बसाइँ सर्नुपर्छ भन्‍ने तर्क गर्दै सायद वर्षौंसम्म आफ्नो परिवारबाट अलग्गै बस्छन्‌। परमेश्‍वरका जनहरूमध्ये कसै-कसैले समेत यस्तै तर्क गरेका छन्‌। अर्को देशमा गएर, तिनीहरूले आफ्नो परिवारलाई आधुनिक सुख-सुविधाहरू त दिन सक्लान्‌। तथापि, यता घरमा तिनीहरूका प्रियजनहरूको आध्यात्मिक अवस्था भने के होला? परिवारमा सही शिरत्व प्रयोग गर्ने व्यक्‍ति नहुँदा के तिनीहरूसित यहोवाको दिनमा बच्नको लागि आवश्‍यक आध्यात्मिकता हुनेछ?

११. धनसम्पत्तिभन्दा ईश्‍वरभक्‍तिका कार्यहरू महत्त्वपूर्ण हुन्‌ भनेर एक जना अस्थायी कामदारले कसरी देखाए?

११ फिलिपिन्सबाट आएका एक जना अस्थायी कामदारले यहोवाका साक्षीहरूमार्फत जापानमा बाइबल सच्चाइ सिके। शिरत्वसम्बन्धी धर्मशास्त्रीय जिम्मेवारीबारे सिकेपछि, तिनले आफ्नो परिवारलाई यहोवाका उपासकहरू बन्‍न मदत गर्नुपर्ने आवश्‍यकता महसुस गरे। (१ कोरिन्थी ११:३) उता घरमा तिनकी पत्नीले तिनको नयाँ विश्‍वासको घोर विरोध गरिन्‌ र उनी आफ्नो पति परिवारलाई तिनको बाइबलआधारित विश्‍वास सिकाउन घर फर्कनुको सट्टा त्यहीं बसेर पैसा पठाइरहेको चाहन्थिन्‌। तथापि, समयप्रतिको अविलम्बी भाव तथा आफ्ना प्रियजनहरूप्रतिको चासोद्वारा उत्प्रेरित भई तिनी घर फर्के। तिनले आफ्नो परिवारका सदस्यहरूसित मायालु व्यवहार गर्न धैर्य देखाएको हुँदा आशिष्‌ पाए। समयमा, तिनको परिवार साँचो उपासनामा एकताबद्ध भयो र तिनकी पत्नीले पूर्ण-समय सेवकाई सुरु गरिन्‌।

१२. हामीले किन आध्यात्मिक गतिविधिहरूलाई जीवनमा प्रथम स्थान दिनुपर्छ?

१२ हाम्रो अवस्थालाई आगलागी भएको भवनभित्र भएका व्यक्‍तिहरूको अवस्थासित तुलना गर्न सकिन्छ। दनदनी आगो लागेर गर्ल्यामगुर्लुम ढल्नै लागेको भवनबाट सरसामान निकाल्न अन्धाधुन्ध दौडनु के बुद्धिमानी हुनेछ? बरु, आफ्नो र आफ्नो परिवारको अनि त्यस भवनमा बस्ने अरूहरूको ज्यान बचाउनु अझ महत्त्वपूर्ण हुँदैन र? हो, यस दुष्ट रीतिरिवाज, द्रूत गतिमा विनाशतर्फ लम्किरहेको छ र मानिसहरूको ज्यान खतरामा छ। यो कुरा बुझेर पक्कै पनि हामीले आध्यात्मिक गतिविधिहरूलाई प्रथम स्थान दिनुपर्छ र जीवन बचाउने राज्य-प्रचार कार्यमा जोसकासाथ ध्यान दिनुपर्छ।—१ तिमोथी ४:१६.

हामी “निष्खोट” हुनु आवश्‍यक छ

१३. यहोवाको दिन आउँदा हामी कस्तो अवस्थामा हुने चाहना गर्नुपर्छ?

१३ पर्खने मनोवृत्ति कायम राख्नुको महत्त्वबारे जोड दिंदै पत्रुस यसो भन्छन्‌: “हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू [परमेश्‍वरको] दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर।” (२ पत्रुस ३:१४) पवित्र जीवन र ईश्‍वरभक्‍तिका कार्यहरूमा व्यस्त रहने सल्लाह दिनुको अलावा यहोवाले व्यक्‍तिविशेषलाई येशूको अनमोल रगतद्वारा सफा पारिएको ठहराउनुपर्ने महत्त्वबारे पनि पत्रुस जोड दिन्छन्‌। (प्रकाश ७:९, १४) यसको लागि व्यक्‍तिविशेषले येशूको बलिदानमा विश्‍वास गर्नु र यहोवाको समर्पित तथा बप्तिस्माप्राप्त सेवक बन्‍नु आवश्‍यक छ।

१४. “निष्खोट” हुनुमा कुन कुरा समावेश छ?

१४ पत्रुसले हामीलाई “निष्खोट” ठहरिनको लागि यथाशक्य गर्न सल्लाह दिन्छन्‌। के हामीले मसीही आचरण तथा व्यक्‍तित्वको पहिरनमा संसारको कुनै दाग लाग्न नदिई निष्खोट राखिरहेका छौं? हामीले आफ्नो कपडामा कुनै दाग देख्यौं भने यसलाई तुरुन्तै हटाउने कोसिस गर्छौं। हामीलाई एकदमै मनपर्ने कपडामा दाग लाग्यो भने यसलाई तुरुन्तै सफा गरिहाल्न अझ सजग हुन्छौं। हाम्रो व्यक्‍तित्व वा आचरणमा केही त्रुटिहरूको कारण मानौं हाम्रो मसीही पहिरनमा दाग लाग्यो भने के हामी त्यस्तै महसुस गर्छौं?

१५. (क) इस्राएलीहरूले लुगाको किनारमा किन नीलो संजाप लगाएको झुम्का हाल्नुपर्थ्यो? (ख) यहोवाका वर्तमान समयका सेवकहरू किन भिन्‍नै देखिन्छन्‌?

१५ इस्राएलीहरूले “लुगाको किनारमा नीलो संजाप लगाएको झम्का” हाल्नुपर्थ्यो। किन? तिनीहरूले यहोवाका आज्ञाहरू सम्झून्‌, पालन गरून्‌ र आफ्नो “परमेश्‍वरको निम्ति पवित्र” होऊन्‌ भनेर। (गन्ती १५:३८-४०) यहोवाका वर्तमान समयका सेवकहरूको हैसियतमा, हामी संसारभन्दा भिन्‍नै देखिन्छौं किनभने हामी ईश्‍वरीय नियम तथा सिद्धान्तहरू पालन गर्छौं। उदाहरणका लागि, हामी नैतिक शुद्धता कायम राख्छौं, रगतको पवित्रताको आदर गर्छौं र सबै प्रकारका मूर्तिपूजाहरूबाट अलग रहन्छौं। (प्रेरित १५:२८, २९) आफूलाई शुद्ध राख्ने दृढ निश्‍चयताको कारण थुप्रै व्यक्‍तिहरूले हाम्रो आदर गर्छन्‌।—याकूब १:२७.

हामी “निष्कलंक” हुनु आवश्‍यक छ

१६. आफूलाई “निष्कलंक” राख्नुमा कुन कुरा समावेश छ?

१६ पत्रुसले हामी “निष्कलंक” ठहरिनुपर्छ पनि भन्छन्‌। यो कसरी सम्भव छ? कुनै दाग सजिलै मेटाउन वा सफा गर्न सकिन्छ तर कलंकलाई भने सकिन्‍न। कलंकले कुनै कुरा भित्रदेखि नै गलत वा दोषी छ भन्‍ने संकेत गर्छ। प्रेरित पावलले फिलिप्पीका सँगी मसीहीहरूलाई यस्तो सल्लाह दिए: “गनगनाइ र वाद-विवाद नगरीकन सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिं निष्खोट र सुधा भएर टेढा र बरालिएको पुस्ताका बीचमा परमेश्‍वरका निर्दोषी [कलंक नभएका] सन्तान होओ, जसको बीचमा तिमीहरू संसारमा ज्योतिहरूझैं देखा पर्दछौ।” (फिलिप्पी २:१४, १५) त्यो सल्लाह पालन गऱ्‍यौं भने हामी गनगन तथा वाद-विवाद गर्नेछैनौं र शुद्ध मनसायले परमेश्‍वरको सेवा गर्नेछौं। “राज्यको यो सुसमाचार” प्रचार गर्दा हामी यहोवा र हाम्रा छिमेकीहरूप्रतिको प्रेमद्वारा उत्प्रेरित हुनेछौं। (मत्ती २२:३५-४०; २४:१४) साथै, अरूलाई परमेश्‍वर तथा उहाँको वचन बाइबलबारे सिक्न मदत दिने कोसिस गर्न हामीले किन आफ्नो समय स्वेच्छासाथ दिन्छौं भनी मानिसहरूले साधारणतया बुझ्न नसके तापनि हामी सुसमाचार घोषणा गरिरहनेछौं।

१७. मसीही मण्डलीमा सुअवसरहरू प्राप्त गर्न अघि बढ्‌दा हाम्रो मनसाय कस्तो हुनुपर्छ?

१७ हामी “निष्कलंक” ठहरिने इच्छा गर्ने हुँदा आफ्ना सबै कार्यहरूको मनसाय जाँच्नु बेस हो। हामीले धनसम्पत्ति वा शक्‍ति प्राप्त गर्ने दौडधूपजस्ता संसारका स्वार्थी तौरतरिकाहरू छोडेका छौं। हामी मसीही मण्डलीमा सुअवसरहरू प्राप्त गर्न अघि बढिरहेका छौं भने हाम्रो मनसाय शुद्ध र सधैं यहोवा तथा अरूप्रतिको प्रेमद्वारा उत्प्रेरित भएको होस्‌। आध्यात्मिक पुरुषहरूले यहोवा तथा आफ्ना सँगी विश्‍वासीहरूको सेवा गर्ने नम्र इच्छासहित “विशपको काम” सम्हाल्न खुसीसाथ अग्रसर भएको देख्न पाउनु स्फूर्तिदायी हुन्छ। (१ तिमोथी ३:१; २ कोरिन्थी १:२४) निस्सन्देह, प्राचीनको रूपमा सेवा गर्न योग्य भएकाहरू खुसीसाथ “परमेश्‍वरको बगालको गोठालो [गर्छन्‌] . . . पैसाको लोभले होइन, तर तयारी मनले, [तिनीहरूका] जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण [भएर]।”—१ पत्रुस ५:१-४.

हामी “शान्ति[मा]” रहनु आवश्‍यक छ

१८. यहोवाका साक्षीहरू कस्ता गुणहरूका लागि चिरपरिचित छन्‌?

१८ अन्तमा, पत्रुसले हामीलाई “शान्ति[मा]” ठहरिन भन्छन्‌। यो आवश्‍यकताअनुरूप जिउन हामी यहोवा र आफ्नो छिमेकीसित शान्तिमा रहनु आवश्‍यक छ। पत्रुस “आपसमा प्रगाढ प्रेम” र हाम्रा सँगी मसीहीहरूसित शान्ति कायम राख्नुपर्ने महत्त्वबारे जोड दिन्छन्‌। (१ पत्रुस २:१७; ३:१०, ११; ४:८; २ पत्रुस १:५-७) हाम्रो शान्ति कायम राख्न हामीबीच आपसमा प्रेम हुनै पर्छ। (यूहन्‍ना १३:३४, ३५; एफिसी ४:१, २) विशेष गरी हाम्रा अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिंदा यस्तो प्रेम तथा शान्ति प्रत्यक्ष देखिन्छ। सन्‌ १९९९ मा कोस्टा रिकामा भएको एउटा अधिवेशनमा आगन्तुक प्रतिनिधिहरूलाई स्वागत गर्न विमानस्थल पुगेका स्थानीय साक्षीहरूले आफ्नो पसल छेकेको एक जना पसलेलाई मन परेन। तथापि, दोस्रो दिनमा भने, स्थानीय साक्षीहरूले ती प्रतिनिधिहरूलाई व्यक्‍तिगत तवरमा नचिनेको भए तापनि उत्साहित भई तिनीहरूलाई स्वागत गर्दा व्यक्‍त गरिएको प्रेम तथा शान्ति तिनले याद गरे। अन्तिम दिनमा, ती पसले पनि प्रतिनिधिहरूलाई स्वागत गर्न सँगै बसे र बाइबल अध्ययनको लागि आग्रह गरे।

१९. सँगी विश्‍वासीहरूसित शान्तिमा रहनु किन महत्त्वपूर्ण छ?

१९ हाम्रा आध्यात्मिक भाइबहिनीहरूसित शान्तिमा रहने हाम्रो निष्कपटता, यहोवाको दिन तथा उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ संसारको बाटो हामीले कत्तिको उत्सुकतासाथ पर्खिरहेका छौं भन्‍ने कुरामा झल्कन्छ। (भजन ३७:११; २ पत्रुस ३:१३) मानिलिउँ, हामीलाई कुनै खास सँगी विश्‍वासीसित शान्ति कायम गर्न गाह्रो लाग्छ। के हामी प्रमोदवनमा तिनीसित शान्तिपूर्वक जीवन बिताइरहेको कल्पना गर्न सक्छौं? कुनै भाइसित हाम्रो विरुद्ध केही छ भने, हामीले तुरुन्तै ‘तिनीसित मिलाप गर्नुपर्छ।’ (मत्ती ५:२३, २४) हामी यहोवासित शान्तिमा रहन चाहन्छौं भने यसो गर्नु महत्त्वपूर्ण छ।—भजन ३५:२७; १ यूहन्‍ना ४:२०.

२०. “पर्खने मनोवृत्ति” कुन-कुन तरिकामा प्रकट गर्नुपर्छ?

२० के हामी व्यक्‍तिगत तवरमा “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर” पर्खिरहेका छौं? यस अनैतिक संसारमा पवित्र रहेको कुराद्वारा दुष्टताको अन्त हेर्ने हाम्रो उत्सुक इच्छा देखिन्छ। साथै, हामीले यहोवाको दिन र राज्य शासनअन्तर्गत जीवन बिताउने समयको तीव्र चाहना गरिरहेका छौं भन्‍ने कुरा हाम्रा ईश्‍वरभक्‍तिका कार्यहरूद्वारा प्रस्ट हुन्छ। अनि सँगी उपासकहरूसित शान्तिमा रहन अहिले हामीले गरेको प्रयासमा शान्तिमय नयाँ संसारमा बाँच्ने हाम्रो आशा झल्कन्छ। यी तरिकाद्वारा हामीसित “पर्खने मनोवृत्ति” छ र हामीले “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर” बसिरहेका छौं भनी देखाउँछौं।

[फुटनोट]

a यसका उदाहरणहरूका लागि, जनवरी १, २००० को प्रहरीधरहरा, पृष्ठ १६ र १९९७ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ ५१ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• ‘परमेश्‍वरको त्यस दिनको उत्सुकतासाथ इच्छा गर्नुको’ अर्थ के हो?

• हाम्रो आचरणको सन्दर्भमा “पर्खने मनोवृत्ति” कसरी देखिन्छ?

• “ईश्‍वरभक्‍तिका कार्यहरू” किन महत्त्वपूर्ण छन्‌?

• यहोवाद्वारा “शान्ति[मा] . . . निष्खोट र निष्कलंक ठहरिनालाई” हामीले के गर्नै पर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

पवित्र जीवनका कार्यहरूमा “पर्खने मनोवृत्ति” झल्कन्छ

[पृष्ठ १२-मा भएका चित्रहरू]

राज्य-प्रचार कार्य जीवनदायी छ

[पृष्ठ १४-मा भएको चित्र]

यहोवाको दिनको बाटो हेर्दै हामी अरूसित शान्ति कायम राखौं