सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

“आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.

१, २. (क) आज यहोवाले मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? (ख) हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

 यहोवाका सेवकहरूलाई “सबै देशका जातिहरूलाई चेला” बनाउने आदेश दिइएको छ। (मत्ती २८:१९) जसै हामी यो जिम्मेवारी पूरा गर्छौं र “परमप्रभुको भयानक दिन” पर्खन्छौं, हामीले मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नु आवश्‍यक छ। (सपन्याह १:१४) उहाँले कस्तो दृष्टिकोण राख्नुहुन्छ? प्रेरित पत्रुस यसो भन्छन्‌: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) परमेश्‍वरले हरेक मानिसलाई पश्‍चात्ताप गर्न सक्ने सम्भाव्य व्यक्‍तिको रूपमा हेर्नुहुन्छ। “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ।” (१ तिमोथी २:४) हुन पनि, ‘दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिउँदा,’ यहोवा रमाउनु समेत हुन्छ!—इजकिएल ३३:११.

के हामी व्यक्‍तिगत तवरमा मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छौं? उहाँले जस्तै, के हामी हरेक जाति तथा राष्ट्रका मानिसहरूलाई “उहाँका खर्कका भेडाहरू” हुन सक्ने सम्भाव्य व्यक्‍तिको रूपमा विचार गर्छौं? (भजन १००:३; प्रेरित १०:३४, ३५) आउनुहोस्‌, परमेश्‍वरको जस्तो दृष्टिकोण राख्नुपर्ने महत्त्व देखाउने दुईवटा उदाहरण विचार गरौं। दुवै अवस्थामा, विनाश अवश्‍यम्भावी थियो र यहोवाका सेवकहरूलाई यस तथ्यबारे पहिल्यै जानकारी दिइएको थियो। हामीले यहोवाको भयानक दिन पर्खंदै गर्दा यी उदाहरणहरू विशेष गरी महत्त्वपूर्ण छन्‌।

अब्राहामसित यहोवाको दृष्टिकोण थियो

३. सदोम र गमोराका बासिन्दाहरूप्रति यहोवाको दृष्टिकोण कस्तो थियो?

पहिलो उदाहरण विश्‍वासी कुलपिता अब्राहाम तथा सदोम र गमोराका दुष्ट शहरहरूबारे हो। यहोवाले “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको” सुन्‍नुहुँदा, ती शहर र त्यहाँका बासिन्दाहरूलाई तुरुन्तै नाश गरिहाल्नुभएन। उहाँले पहिला सबै कुरा छानबिन गर्नुभयो। (उत्पत्ति १८:२०, २१) दुई जना स्वर्गदूतलाई सदोममा पठाइयो र तिनीहरू त्यहाँ धर्मी मानिस लूतको घरमा बास बसे। स्वर्गदूतहरू आएको रात “शहरका के युवक के बूढा एउटै पनि नछोडी जम्मै मानिसहरू आएर लूतको घर रिङगै घेरे” अनि तिनीहरू ती स्वर्गदूतहरूसित समलिंगी यौन सम्बन्ध राख्न चाहन्थे। स्पष्टतः त्यस शहरका बासिन्दाहरूको पतित अवस्थाले तिनीहरू नाश हुन योग्यका थिए भनेर साबित गऱ्‍यो। यद्यपि, ती स्वर्गदूतहरूले लूतलाई यसो भने: “तिमीसँग यहाँ अरू कोही छन्‌? जवाइँ, कि छोरा-छोरीहरू, अथवा शहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ।” यहोवाले त्यस शहरका केही बसिन्दाहरूलाई बचाउने बाटो खोलिदिनुभयो, तर पनि अन्तमा लूत र तिनका दुई जना छोरीहरू मात्र विनाशबाट बचे।—उत्पत्ति १९:४, ५, १२, १६, २३-२६.

४, ५. अब्राहामले सदोमका बासिन्दाहरूको लागि किन बिन्ती गरे र मानिसहरूप्रतिको तिनको दृष्टिकोण के यहोवाको जस्तै थियो?

अब, हामी त्यो समयमा फर्कौं जब यहोवाले सदोम र गमोरालाई निरीक्षण गर्ने आफ्नो अभिप्राय व्यक्‍त गर्नुभयो। यति बेला अब्राहामले यस्तो बिन्ती गरे: “त्यस शहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस शहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्‌। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु ता तपाईंबाट पर रहोस्‌। सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्‍न र?” अब्राहामले “तपाईंबाट कहिल्यै नहोस्‌” र “तपाईंबाट पर रहोस्‌” भन्‍ने अभिव्यक्‍तिहरू चलाए। यहोवाले कहिल्यै पनि दुष्टको साथमा धर्मी जनलाई नाश गर्नुहुन्‍न भन्‍ने कुरा अब्राहामलाई आफ्नो अनुभवबाट थाह थियो। “त्यस शहरमा पचास धर्मी जन रहेछन्‌ भने” सदोमलाई नाश नगर्ने कुरा यहोवाले भन्‍नुभएपछि अब्राहामले उक्‍त संख्या घटाउँदै-घटाउँदै दससम्म पुऱ्‍याए।—उत्पत्ति १८:२२-३३.

अब्राहामको बिन्ती यहोवाको इच्छाअनुरूप नभएको भए के उहाँले त्यो सुन्‍नुहुने थियो र? अवश्‍य सुन्‍नुहुने थिएन। “परमेश्‍वरका मित्र” भएको कारण अब्राहामलाई पक्कै पनि उहाँको दृष्टिकोण थाह थियो र तिनले उहाँको जस्तै दृष्टिकोण राखे। (याकूब २:२३) यहोवाले सदोम र गमोरातर्फ आफ्नो ध्यान मोड्‌नुहुँदा, उहाँ अब्राहामको बिन्तीबारे विचार गर्न इच्छुक हुनुहुन्थ्यो। किन? किनभने स्वर्गमा बस्नुहुने हाम्रो पिता “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ।

मानिसहरूप्रति योनाको दृष्टिकोण बिलकुलै भिन्‍न थियो

६. योनाको घोषणाप्रति निनवेवासीहरूले कस्तो प्रतिक्रिया देखाए?

अब दोस्रो उदाहरण विचार गर्नुहोस्‌—त्यो हो योनाको। यो उदाहरणमा विनाशको लागि ठहराइएको शहर निनवे थियो। त्यस शहरको ‘दुष्ट्याइँ यहोवाको नजरको सामने छ’ भनी घोषणा गर्न अगमवक्‍ता योनालाई भनिएको थियो। (योना १:२) बाहिरी भाग पनि समेट्‌दा निनवे ज्यादै ठूलो शहर थियो र “त्यो वारपार गर्नलाई तीन दिन लाग्दथियो।” बल्लतल्ल आज्ञा पालन गरेर निनवेमा पसेपछि योनाले यस्तो घोषणा गरे: “अबको चालीस दिनमा निनवे नाश हुनेछ!” त्यसपछि, “निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे, र तिनीहरूले उपवास बस्न भनी प्रचार गरे। तिनीहरू . . . सबैले भाङ्‌रा लगाए।” निनवेका राजाले समेत पश्‍चात्ताप गरे।—योना ३:१-६.

७. यहोवाले निनवेवासीहरूको पश्‍चात्तापी मनोवृत्तिप्रति कस्तो दृष्टिकोण राख्नुभयो?

सदोमका मानिसहरूले देखाएको भन्दा यो बिलकुलै भिन्‍न प्रतिक्रिया थियो! यहोवाले पश्‍चात्तापी निनवेवासीहरूप्रति कस्तो दृष्टिकोण राख्नुभयो? योना ३:१० (नयाँ संशोधित संस्करण) यसो भन्छ: “उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।” यहोवालाई यस अर्थमा “दया आयो” कि उहाँले निनवेवासीहरूसितको आफ्नो व्यवहार परिवर्तन गर्नुभयो किनभने तिनीहरूले आफ्नो मार्ग परिवर्तन गरे। ईश्‍वरीय स्तरहरूमा कुनै परिवर्तन आएन, तर निनवेवासीहरूले पश्‍चात्ताप गरेको देखेपछि यहोवाले आफ्नो निर्णय बदल्नुभयो।—मलाकी ३:६.

८. योना किन ठुस्किए?

निनवेलाई नाश गरिने छैन भन्‍ने कुरा थाह पाएपछि, के योनाले कामकुराहरूलाई यहोवाको दृष्टिकोणले हेरे? अहँ, हेरेनन्‌ किनभने हामी यस्तो भनिएको पाउँछौं: “तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।” योनाले अझ के गरे? विवरण यसो भन्छ: “तिनले परमप्रभुलाई यसो भनेर उजुर गरे, ‘हे परमप्रभु, म आफ्नो देशमा छँदै के मैले यही कुरा भनेको थिइनँ? यसैकारणले ता तर्शीशतिर भागेर जान मैले आत्तुरी गरेको थिएँ, किनकि तपाईं अनुग्रह गर्नुहुने परमेश्‍वर, दया गर्नमा भरपूर, रीस गर्नमा धीरजी, करुणामा प्रशस्त हुनुहुन्छ, र दु:ख दिंदा खुशी हुनुहुन्‍न भन्‍ने मलाई थाह थियो।’ ” (योना ४:१, २) योनालाई यहोवाका गुणहरूबारे थाह थियो। तथापि, त्यतिखेर ती अगमवक्‍ता ठुस्किए र पश्‍चात्तापी निनवेवासीहरूप्रति परमेश्‍वरको दृष्टिकोण राखेनन्‌।

९, १०. (क) यहोवाले योनालाई कस्तो पाठ सिकाउनुभयो? (ख) पछि गएर योनाले निनवेवासीहरूप्रति यहोवाको दृष्टिकोण अपनाए भनेर हामी कसरी अनुमान लगाउन सक्छौं?

निनवेबाट निस्केर योनाले एउटा छाप्रो बनाए अनि “त्यस शहरलाई के हुँदो रहेछ, सो हेर्नलाई त्यसको मनि छायामा बसे।” योनालाई छहारी होस्‌ भनेर यहोवाले एउटा कुभिण्डोको बोट उमार्नुभयो। तथापि, भोलिपल्ट त्यो बोट ओइलाइहाल्यो। त्यो ओइलाएको कारण योना रिसाउँदा यहोवाले यसो भन्‍नुभयो: “कुभिण्डोलाई तँ दया गर्छस्‌, त के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ़ता मानिसहरू छन्‌, जसले दाहिने र देब्रे हातै चिन्‍नसक्‍तैनन्‌, जसमा यतिका वस्तुहरू पनि छन्‌, के मैले त्यसमाथि दया नगर्नु?” (योना ४:५-११) मानिसहरूप्रति यहोवाको दृष्टिकोणबारे योनाको लागि कत्ति ठूलो पाठ!

१० निनवेका मानिसहरूप्रतिको दयाबारे यहोवाले भन्‍नुभएका कुराहरूप्रति योनाले कस्तो प्रतिक्रिया व्यक्‍त गरे भनेर त लिपिबद्ध गरिएको छैन। यद्यपि, यो कुरा स्पष्ट छ कि ती अगमवक्‍ताले पश्‍चात्तापी निनवेवासीहरूप्रतिको आफ्नो दृष्टिकोणमा छाँटकाँट गरे। यहोवाले तिनलाई यो प्रेरित विवरण लिपिबद्ध गर्न चलाउनुभएको तथ्यबाट हामी यस निष्कर्षमा पुग्छौं।

तपाईंको कस्तो मनोवृत्ति छ?

११. आजका मानिसहरूप्रति अब्राहामले सम्भवतः कस्तो दृष्टिकोण राख्ने थिए?

११ अहिले, हामी अर्को विनाशको सामना गर्दैछौं—त्यो हो, यहोवाको भयानक दिनको दौडान यस वर्तमान दुष्ट रीतिरिवाजको विनाश। (लूका १७:२६-३०; गलाती १:४; २ पत्रुस ३:१०) चाँडै विनाश हुने यस संसारका मानिसहरूप्रति अब्राहामले कस्तो दृष्टिकोण राख्ने थिए? सम्भवतः तिनी ‘राज्यको सुसमाचार’ सुन्‍ने मौका नपाएका व्यक्‍तिहरूबारे चिन्तित हुने थिए होला। (मत्ती २४:१४) अब्राहामले सदोममा हुन सक्ने सम्भाव्य धर्मी जनहरूबारे परमेश्‍वरलाई बारम्बार बिन्ती गरे। पश्‍चात्ताप गरेर परमेश्‍वरको सेवा गर्ने मौका पाएको खण्डमा, शैतानको नियन्त्रणमा रहेको यस संसारका तौरतरिकाहरू त्याग्ने मानिसहरूबारे के हामी व्यक्‍तिगत तवरमा चिन्तित छौं?—१ यूहन्‍ना ५:१९; प्रकाश १८:२-४.

१२. हामीले सेवकाईमा भेट्‌ने मानिसहरूप्रति हामीमा योनाको जस्तै मनोवृत्ति किन सजिलै विकास हुन सक्छ र यस सन्दर्भमा हामी के गर्न सक्छौं?

१२ दुष्टताको अन्त भएको चाहनु उचित हो। (हबकूक १:२, ३) यद्यपि, पश्‍चात्ताप गर्न सक्ने मानिसहरूको हितप्रति कुनै चासो नदेखाउने योनाको जस्तै मनोवृत्ति सजिलै विकास हुन सक्छ। अझ खास गरी राज्य सन्देश लिएर मानिसहरूको घरमा जाँदा हामीले भावशून्य, विरोधी वा झगडालु व्यक्‍तिहरू भेटिरहन्छौं भने यो कुरा झनै साँचो हुन्छ। यस दुष्ट रीतिरिवाजबाट परमेश्‍वरले जम्मा गर्नुहुने मानिसहरूप्रति हामीले कुनै ध्यानै नदिन सक्छौं। (रोमी २:४) गम्भीरतासाथ आत्म-परीक्षण गर्दा आफूमा अलिकता मात्र पनि योनाले सुरुमा निनवेवासीहरूप्रति राखेका जस्तो मनोवृत्ति पायौं भने, आफ्नो दृष्टिकोण यहोवाको जस्तै बनाउने मदतको लागि प्रार्थना गर्न सक्छौं।

१३. यहोवाले अहिलेका मानिसहरूप्रति चासो राख्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

१३ अहिलेसम्म उहाँको सेवा गर्न नथालेकाहरूबारे यहोवा चासो राख्नुहुन्छ र आफ्ना समर्पित जनहरूको बिन्ती सुन्‍नुहुन्छ। (मत्ती १०:११) उदाहरणका लागि, तिनीहरूको प्रार्थनाको प्रत्युत्तर दिंदै “तिनीहरूको न्याय गरिदिनुहुनेछ।” (लूका १८:७, ८) यसबाहेक, यहोवाले आफ्नो तोकिएको समयमा आफ्ना सबै प्रतिज्ञा तथा उद्देश्‍यहरू पूरा गर्नुहुनेछ। (हबकूक २:३) यसैअनुरूप निनवेका बासिन्दाहरूले फेरि दुष्ट काम गर्न थालेपछि उहाँले त्यसलाई नाश गर्नुभए झैं पृथ्वीबाट सबै खराबी हटाउनुहुनेछ।—नहूम ३:५-७.

१४. यहोवाको भयानक दिन पर्खंदै गर्दा हामीले के गरिरहेको हुनुपर्छ?

१४ यहोवाको भयानक दिनको दौडान यो दुष्ट रीतिरिवाज नहटाउन्जेल के हामी उहाँको इच्छा गर्नमा व्यस्त भएर धैर्यतासाथ पर्खिरहनेछौं? यहोवाको दिन आउनुअघि प्रचारकार्य अझ कति विस्तृत तवरमा गर्नुपर्नेछ भन्‍ने कुरा हामीलाई पूर्ण रूपमा थाह छैन, तर अन्त आउनुअघि पृथ्वीका सबै बासिन्दाहरूलाई परमेश्‍वरको चित्त बुझ्ने गरी राज्यको सुसमाचार प्रचार गरिनेछ भनेरचाहिं हामीलाई थाह छ। अनि यहोवाले आफ्नो भवनलाई महिमाले भर्नुहुँदा जम्मा गर्न बाँकी रहेका “धन-सम्पत्तिहरू[बारे]” हामी पक्कै चिन्तित हुनुपर्छ।—हाग्गै २:७.

हाम्रा कामहरूद्वारा हाम्रो दृष्टिकोण प्रस्ट हुन्छ

१५. प्रचारकार्यप्रतिको हाम्रो मूल्यांकन कुन कुराले बढाउन सक्छ?

१५ हामी प्रचारकार्यप्रति त्यति चासो नदेखाउने समुदायमा बस्छौं होला र हामी राज्य उद्‌घोषकहरूको बढी आवश्‍यकता भएको ठाउँमा बसाइँ सर्न सक्ने अवस्थामा पनि छैनौं होला। मानिलिउँ, अन्त आउनुअघि हाम्रो इलाकामा दस जना भेट्टाउन सकिन्छ। के हामी ती दस जना खोज्न लायकका छन्‌ भन्ठान्छौं? भीडहरूलाई देखेर येशूको “हृदय . . . दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) बाइबल अध्ययन गरेर अनि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का लेखहरू ध्यानपूर्वक पढेर हामी संसारको दुरावस्थाबारे अझ बढी अन्तरदृष्टि पाउन सक्छौं। परिणामस्वरूप, यसले सुसमाचार प्रचार गर्नुपर्ने आवश्‍यकताबारे हाम्रो मूल्यांकन अझ बढाउन सक्छ। साथै, “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” उपलब्ध गराइएको बाइबलआधारित सामग्री कृतज्ञ भई प्रयोग गर्दा, यसले हामीलाई बारम्बार काम गरिसकेको इलाकामा प्रचार गरिरहन अझ उत्प्रेरित गर्न सक्छ।—मत्ती २४:४५-४७; २ तिमोथी ३:१४-१७.

१६. हामी आफ्नो सेवकाईको प्रभावकारिता कसरी बढाउन सक्छौं?

१६ जीवनदायी बाइबल सन्देशप्रति अझै पनि सकारात्मक प्रतिक्रिया देखाउन सक्ने मानिसहरूप्रति चासोको कारण सेवकाईमा घरधनीहरूलाई भेट्‌न सकिने विभिन्‍न समय तथा तरिकाहरूबारे विचार गर्न हामीलाई उत्प्रेरित गर्छ। घर-घरमा जाँदा के हामी धेरैजसो मानिसहरू घरमा नभएको पाउँछौं? त्यसो हो भने, हाम्रो साक्षी क्रियाकलापको समय तथा ठाउँ परिवर्तन गरेर हामी आफ्नो सेवाकाईको प्रभावकारितालाई अझ बढाउन सक्छौं। माझीहरू माछा पक्रन सकिने समयमा माछा मार्न जान्छन्‌। के हामी आध्यात्मिक माछा मार्ने काममा पनि त्यस्तै गर्न सक्छौं? (मर्कूस १:१६-१८) कानुनी तवरमा मान्य छ भने, साँझको साक्षी तथा टेलिफोन साक्षी दिने कोसिस गरे कसो होला? कतिपयले पार्किङ गर्ने ठाउँ, बस स्टप, पेट्रोल पम्प तथा पसलहरू ‘माछा पक्रन’ फलदायी ठाउँ भएको पाएका छन्‌। अनौपचारिक तवरमा साक्षी दिने मौका छोप्दा पनि हामीले मानिसहरूप्रति अब्राहामको जस्तो मनोवृत्ति देखाइरहेको कुरा प्रस्ट हुन्छ।

१७. मिसनरी तथा विदेशी भूमिमा सेवा गरिरहेका अन्य व्यक्‍तिहरूलाई हामी कुन-कुन तरिकामा प्रोत्साहन दिन सक्छौं?

१७ लाखौंले अझसम्म पनि राज्य सन्देश सुन्‍ने मौका पाएका छैनन्‌। हाम्रो प्रचारकार्यको अलावा के हामी घरमै बसेर त्यस्ता व्यक्‍तिहरूलाई चासो देखाउन सक्छौं? के हामी विदेशमा सेवा गरिरहेका मिसनरी वा पूर्ण-समय सेवकहरूलाई चिन्छौं? चिन्छौं भने तिनीहरूको कामप्रति हाम्रो मूल्यांकन देखाउँदै पत्रहरू लेख्न सक्छौं। त्यस कामले कसरी जनसाधारणप्रति चासो देखाउन सक्छ? प्रोत्साहन तथा प्रसंशाले भरिएका हाम्रा पत्रहरूले ती मिसनरीहरूलाई आफ्नो असाइनमेन्टमा रहिरहने बल प्रदान गर्न सक्छ जसको फलस्वरूप अझ थुप्रै मानिसहरूले सत्यको ज्ञानमा आउने मदत पाउन सक्छन्‌। (न्यायकर्त्ता ११:४०) मिसनरीहरू र अन्य मुलुकका सत्यको लागि भोका मानिसहरूको लागि हामी प्रार्थना गर्न पनि सक्छौं। (एफिसी ६:१८-२०) चासो देखाउने अर्को तरिका यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यका लागि आर्थिक अनुदान दिएर हो।—२ कोरिन्थी ८:१३, १४; ९:६, ७.

के तपाईं बसाइँ सर्न सक्नुहुन्छ?

१८. आफू बसोबास गर्ने देशमा राज्यसम्बन्धी गतिविधिलाई बढवा दिन कोही-कोही मसीहीहरूले के गरेका छन्‌?

१८ राज्य उद्‌घोषकहरूको बढी आवश्‍यकता भएको ठाउँमा बसाइँ सरेकाहरूले तिनीहरूको आत्म-त्यागी प्रयत्नको लागि आशिष्‌ पाएका छन्‌। तथापि, अरू यहोवाका साक्षीहरूले भने आफ्नै देशमा रहेर पनि अन्य देशबाट बसाइँ सरेर आएकाहरूलाई आध्यात्मिक मदत दिन अर्को भाषा सिकेका छन्‌। यस्ता प्रयत्नहरू साँच्चै इनामदायी भएका छन्‌। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकाको टेक्सस प्रान्तको एउटा शहरमा चिनियाँहरूलाई मदत गरिरहेका सात जना साक्षीहरूले सन्‌ २००१ को प्रभुको साँझको भोज मनाउन ११४ जनालाई स्वागत गरे। यस्ता समूहहरूलाई मदत गरिरहेकाहरूले आफ्नो खेत फसलको लागि तयार भएको पाएका छन्‌।—मत्ती ९:३७, ३८.

१९. विदेशी मुलुकमा राज्य प्रचारकार्यलाई अझ अघि बढाउन तपाईं कुनै अर्को देशमा बसाइँ सर्ने विचार गर्दै हुनुहुन्छ भने के गर्नु बेस हुन्छ?

१९ सायद तपाईं अनि तपाईंको परिवारले राज्य प्रचारकहरूको अझ बढी आवश्‍यकता भएको ठाउँमा बसाइँ सर्न सकिन्छ जस्तो महसुस गर्नुहोला। निस्सन्देह, पहिले ‘बसेर खर्च हिसाब’ गर्नु बुद्धिमानी हुन्छ। (लूका १४:२८) यो विशेष गरी कुनै व्यक्‍तिले विदेशी मुलुकमा बसाइँ सर्ने विचार गर्दा लागू हुन्छ। यस्तो सम्भावनाबारे विचार गरिरहेकाहरूले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के मैले आफ्नो परिवारको पालनपोषण गर्न सक्नेछु? के मैले उपयुक्‍त भिसा प्राप्त गर्न सक्छु? के मैले त्यस देशको भाषा सिकिसकेको छु वा के म सिक्न इच्छुक छु? के मैले त्यहाँको मौसम र संस्कृतिबारे विचार गरेको छु? के म त्यस देशका सँगी विश्‍वासीहरूको लागि भार होइन तर “सान्त्वना दिने मानिस” हुन सक्छु?’ (कलस्सी ४:१०, ११) तपाईंले बसाइँ सर्ने विचार गर्नुभएको देशमा कत्तिको आवश्‍यकता छ भनेर बुझ्न, त्यस क्षेत्रमा प्रचारकार्यको रेखदेख गरिरहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेख्नु सधैं उपयुक्‍त हुन्छ। a

२०. सँगी विश्‍वासी तथा विदेशका अरू व्यक्‍तिहरूको लाभको लागि एक जना जवान मसीही कसरी अघि सरेका छन्‌?

२० जापानमा राज्यभवनको निर्माण कार्यमा संलग्न भएका एक जना मसीहीले पाराग्वेमा उपासना स्थल बनाउनको लागि दक्ष कामदारहरूको आवश्‍यकता भएको थाह पाए। अविवाहित तथा जवानीको बल भएको कारण तिनी त्यस देशमा बसाइँ सरे अनि त्यस परियोजनाको एक मात्र पूर्ण-समय कामदारको रूपमा आठ महिना काम गरे। त्यहाँ बसुन्जेल तिनले स्पेनिश भाषा सिके र गृह बाइबल अध्ययनहरू सञ्चालन गरे। तिनले त्यस देशमा राज्य उद्‌घोषकहरूको आवश्‍यकता देखे। तिनी जापान फर्के तापनि चाँडै पाराग्वे गए र त्यही राज्यभवनमा मानिसहरू जम्मा गर्न मदत गरे।

२१. यहोवाको भयानक दिन पर्खंदै गर्दा, हाम्रो प्रमुख चासो तथा दृष्टिकोण कस्तो हुनुपर्छ?

२१ परमेश्‍वरले उहाँको इच्छाअनुरूप पूर्ण रूपमा प्रचारकार्य भएको छ कि छैन भनेर पक्का गर्नुहुनेछ। आज, उहाँले अन्तिम आध्यात्मिक कटनीलाई जोडतोडकासाथ अघि बढाइरहनुभएको छ। (यशैया ६०:२२) त्यसैले, यहोवाको दिन पर्खंदै, हामी जोसकासाथ कटनी कार्यमा भाग लेऔं र मानिसहरूप्रति हाम्रो मायालु परमेश्‍वरको जस्तै दृष्टिकोण राखौं।

[फुटनोट]

a प्रचारकार्य निषेधित वा प्रतिबन्धित देशमा बसाइँ सर्नु सधैं मदतकारी हुँदैन। यसो गर्दा यस्ता परिस्थितिहरूको बावजुद बुद्धिमानीपूर्वक काम गरिरहेका राज्य प्रकाशकहरूलाई समेत हानि पुग्न सक्छ।

के तपाईंलाई सम्झना छ?

हामीले यहोवाको दिन पर्खंदै गर्दा, मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

सदोममा बसिरहेको हुन सक्ने सम्भाव्य धर्मी जनहरूप्रति अब्राहामको दृष्टिकोण कस्तो थियो?

निनवेका पश्‍चात्तापी मानिसहरूप्रति योनाले कस्तो दृष्टिकोण राखे?

अहिलेसम्म सुसमाचार सुन्‍न नपाएका मानिसहरूप्रति हामी यहोवाको जस्तै दृष्टिकोण राख्छौं भनेर कसरी देखाउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

अब्राहामले मानिसहरूलाई यहोवाको जस्तै दृष्टिकोणले हेरे

[पृष्ठ १७-मा भएको चित्र]

योनाले निनवेवासीहरूप्रति यहोवाको दृष्टिकोण राख्न सके

[पृष्ठ १८-मा भएका चित्रहरू]

मानिसहरूप्रतिको चासोले हामीलाई सुसमाचार प्रचार गर्ने विभिन्‍न समय तथा तरिकाहरूबारे विचार गर्न उत्प्रेरित गर्छ