कसै-कसैको सम्झना कसरी गरिन्छ
कसै-कसैको सम्झना कसरी गरिन्छ
झन्डै तीन हजार वर्षअघि दाऊद, इस्राएलका राजा शाऊलबाट भाग्दै थिए। दाऊदले एक जना भेडा र बाख्राका धनी गोठालो नाबालकहाँ खाना र पानी माग्न पठाए। वास्तवमा नाबाल, दाऊद र तिनका मानिसहरूप्रति ऋणी थिए किनभने तिनीहरूले नाबालको बगाललाई सुरक्षा प्रदान गरेका थिए। तथापि, नाबालले कुनै प्रकारको आतिथ्य देखाउन इन्कार गरे। तिनले दाऊदका मानिसहरूलाई गाली समेत गरेर कराए। यसो गर्दा नाबालले आगोसँग खेल्नुसरह थियो किनभने दाऊद त्यस्तो व्यवहारलाई हल्कासँग लिने खालका मानिस थिएनन्।—१ शमूएल २५:५, ८, १०, ११, १४.
नाबालको मनोवृत्ति आगन्तुक र अपरिचित व्यक्तिहरूलाई आतिथ्य देखाउने मध्यपूर्वको चलन विपरीत थियो। अतः नाबालले आफ्नो लागि कस्तो प्रकारको नाउँ कमाए? बाइबल विवरणले तिनी “एक निष्ठूर नीच” र “व्यर्थका मानिस” थिए भनी बताउँछ। तिनको नाउँको अर्थ “मूर्ख” थियो र तिनले साँच्चै त्यस्तै गुणहरू प्रकट गरे। (१ शमूएल २५:३, १७, २५) के तपाईं आफ्नो सम्झना त्यसरी गरिएको चाहनुहुन्छ? विशेष गरी अरूहरू मर्कामा वा अप्ठ्यारोमा परेको देखिंदा, के तपाईं तिनीहरूसँग रूखो र कडा व्यवहार गर्नुहुन्छ? वा तपाईं दयालु, आतिथ्य र ख्याल राख्ने व्यक्ति हुनुहुन्छ?
अबीगेल—एउटी विवेकी स्त्री
आफ्नो रूखो व्यवहारको कारण नाबाल समस्यामा परे। दाऊद तथा तिनका ४०० जना मानिसहरू तरवार भिरेर नाबाललाई पाठ सिकाउन हिंडे। नाबालकी पत्नी अबीगेलले यी सबै कुरा सुनिन्। अब मुठभेड पक्कै हुनेछ भन्ने कुरा उनलाई थाह थियो। उनले के गर्न सक्थिन्? उनले हतारहतार प्रशस्त खाना तथा दाखमद्य तयार पारिन् र दाऊद अनि तिनका मानिसहरूलाई बाटोमै भेट्न निस्किन्। जब उनले तिनीहरूलाई भेटिन्, उनले दाऊदलाई विनाकारण रक्तपात नगर्न बिन्ती गरिन्। दाऊदको हृदय पग्लियो। तिनले उनको बिन्ती सुने र मन्जुर भए। यी घटनाहरूको केही समयपछि नाबालको मृत्यु भयो। दाऊदले अबीगेलका असल गुणहरू देखेर पछि उनलाई आफ्नी पत्नीको रूपमा स्वीकारे।—१ शमूएल २५:१४-४२.
अबीगेलले आफ्नो निम्ति कस्तो प्रकारको नाउँ कमाइन्? मूल हिब्रूमा भनिएझैं उनी “बुद्धिमानी” वा “विवेकी” थिइन्। उनी स्पष्टतः समझदार तथा व्यावहारिक थिइन् र उनलाई कहिले र कसरी आफू अग्रसर हुनुपर्छ भनी थाह थियो। उनले आफ्ना मूर्ख पति र तिनको घरानालाई विपत्तिबाट बचाउन वफादारीपूर्वक कदम चालिन्। अन्ततः उनको मृत्यु भयो तर एउटी विवेकी स्त्रीको रूपमा उनले असाध्यै राम्रो नाउँ कमाइन्।—१ शमूएल २५:३.
पत्रुसले कस्तो रेकर्ड छोडे?
अब हामी समयको गतिमा अलिअघि सा.यु. प्रथम शताब्दीमा जाऔं र येशूका १२ प्रेरितहरूबारे विचार गरौं। निस्सन्देह, गालीलमा पहिला जलारी काम गर्ने पत्रुस अथवा केफास आफ्नो मनमा लागेको कुरा बताइहाल्ने र हडबडे
खालका थिए। स्पष्टतः तिनी अत्यन्तै चलतापूर्जा व्यक्ति थिए जो आफ्ना भावनाहरू व्यक्त गर्न डराउँदैनथे। उदाहरणका लागि, एक चोटि येशूले आफ्ना चेलाहरूको खुट्टा धोइदिनुभएको थियो। पत्रुसको खुट्टा धुने पालो आउँदा तिनले कस्तो प्रतिक्रिया देखाए?पत्रुसले येशूलाई यसो भने: “हे प्रभु, के तपाईंले मेरो खुट्टा धुने?” जवाफमा येशूले यसो भन्नुभयो: “म के गर्दछु तिमी अहिले ता जान्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले यस्तो जवाफ दिए: “तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” पत्रुसको जोडदार तर झ्वाट्टै आएको प्रतिक्रियालाई याद गर्नुहोस्। येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?
येशूले यस्तो जवाफ दिनुभयो: “मैले धोइदिइनँ भनेता तिम्रो मसित केही भाग हुँदैन।” शिमोन पत्रुसले उहाँलाई यसो भने: “हे प्रभु, मेरा खुट्टा मात्र होइन, तर मेरो हात र शिरसमेत धुनुहोस्।” अब पत्रुस अर्को हदसम्म पुग्छन्! तर पत्रुसको मनोवृत्ति कस्तो छ सधैं थाह हुन्थ्यो। तिनमा छलकपट वा दोहोरो कुरा गर्ने त्यस्तो केही थिएन।—यूहन्ना १३:६-९.
पत्रुसले देखाएका मानव कमजोरीहरूका लागि पनि तिनको सम्झना गरिन्छ। उदाहरणका लागि, तिनी दोषी ठहरिएका नासरतका येशूका अनुयायी हुन् भनी मानिसहरूले दोष लगाउँदा तिनले तीन चोटि ख्रीष्टलाई चिन्न इन्कार गरे। आफूले गल्ती गरेको होस खुलेपछि पत्रुस धुरुधुरु रोए। तिनी आफ्नो दुःख र पश्चात्ताप व्यक्त गर्न डराउँदैनथे। पत्रुसले इन्कार गरेको विवरण सुसमाचारका लेखकहरूले लिपिबद्ध गर्नु उल्लेखनीय छ र सम्भवतः यी सबै जानकारी पत्रुस स्वयम्ले दिएको हुनुपर्छ! तिनी यति नम्र थिए कि आफ्ना गल्तीहरू नहिचकिचाईकन स्वीकारे। के तपाईंसित त्यो सद्गुण छ?—मत्ती २६:६९-७५; मर्कूस १४:६६-७२; लूका २२:५४-६२; यूहन्ना १८:१५-१८, २५-२७.
ख्रीष्टलाई इन्कार गरेको केही हप्ताभित्र नै पवित्र आत्माले भरिएर पत्रुसले पेन्तिकोसमा थुप्रै यहूदीहरूलाई निडरतासाथ प्रचार गरे। पुनरुत्थान हुनुभएका येशूले तिनलाई पूर्णतया भरोसा गर्नुहुन्छ भन्ने यो एउटा सुस्पष्ट चिह्न थियो।—अर्को अवसरमा पत्रुस अर्कै खालको पासोमा परे। एन्टिओकमा केही यहूदी भाइहरू आउनुअघि पत्रुस अन्यजातिका विश्वासीहरूसँग खुलेआम संगत गरिरहेका थिए भनी प्रेरित पावलले बताए। तथापि भर्खरै यरूशलेम आइपुगेका “खतनाकाहरूसँग डराएर” तिनी अलग्गै बसे। पावलले पत्रुसको दोहोरो स्तर पर्दाफास गरे।—गलाती २:११-१४.
यद्यपि, अत्यन्तै निर्णायक घडीमा येशूलाई उहाँका थुप्रै अनुयायीहरूले त्याग्लान् जस्तो देखिएको बेला चेलाहरूमध्ये कसले बोले? त्यतिखेर जब येशूले उहाँको देह खाने र उहाँको रगत पिउने सन्दर्भमा नयाँ कुरा प्रकाश गर्नुभयो। उहाँले भन्नुभयो: “तिमीहरूले मान्छेको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरू आफैमा जीवन हुँदैन।” येशूका अधिकांश यहूदी अनुयायीहरूले ठक्कर खाए र यसो भने: “यो वचन कठोर छ, को यो सुन्नसक्तछ र?” त्यसपछि के भयो? “यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंडडुल गरेनन्।”—यूहन्ना ६:५०-६६.
यस निर्णायक घडीमा येशूले १२ जना प्रेरितहरूतिर फर्केर यस्तो गहन प्रश्न गर्नुभयो: “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” पत्रुसले यस्तो जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्, औ तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्वास गरेका र जानेका छौं।”—यूहन्ना ६:६७-६९.
पत्रुसले कस्तो नाउँ कमाए? तिनीबारे विवरण पढ्ने जोकोही पनि तिनको इमानदारिता र खुलस्त व्यक्तित्व, तिनको वफादारी र आफ्ना कमजोरीहरू स्वीकार्ने इच्छुकताबाट प्रभावित नभई धरै पाउँदैन। तिनले आफ्नो लागि कस्तो असल नाउँ कमाए!
मानिसहरूले येशूबारे के सम्झे?
येशूको पार्थिव सेवकाई जम्मा साढेतीन वर्षको थियो। तैपनि उहाँका अनुयायीहरूले उहाँको सम्झना कसरी गर्छन्? उहाँ सिद्ध, पापरहित हुनुभएकोले के उहाँ एकलकाँटे र अरूबाट अलग्गै बस्ने खालको व्यक्ति हुनुहुन्थ्यो? उहाँलाई आफू परमेश्वरको पुत्र हुँ भनी थाह भएकोले के उहाँले अरूलाई सान देखाउने गर्नुहुन्थ्यो? के उहाँले आफ्ना अनुयायीहरूलाई डरधम्की देखाई आज्ञाकारी हुन जबरजस्ती गर्नुभयो? के उहाँ आफ्नो व्यक्तित्वबारे औधी चिन्तित भएर पटक्कै हँस्सीठट्टा गर्नुहुन्नथ्यो? के उहाँ अत्यन्तै व्यस्त हुनुभएकोले उहाँसँग बिरामी वा केटाकेटीको लागि समय नै थिएन? के उहाँले त्यतिबेलाका पुरुषहरूले जस्तै अन्य जातिका मानिसहरू तथा स्त्रीहरूलाई तुच्छ ठान्नुहुन्थ्यो? विवरणले हामीलाई के बताउँछ?
येशूले मानिसहरूको चासो लिनुहुन्थ्यो। उहाँको सेवकाईबारे अध्ययन गर्दा उहाँले थुप्रै चोटि लंगडा तथा बिरामीहरूलाई निको पार्नुभएको कुरा स्पष्ट हुन्छ। उहाँ खाँचोमा परेकाहरूलाई मदत गर्न अग्रसर हुनुभयो। उहाँले स-साना केटाकेटीप्रति चासो देखाउनुभयो र आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” त्यसपछि येशूले “तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” के तपाईं केटाकेटीको लागि समय निकाल्नुहुन्छ वा तिनीहरूको उपस्थिति याद गर्न समेत तपाईंलाई फुर्सद हुँदैन?—मर्कूस १०:१३-१६; मत्ती १९:१३-१५.
येशू पृथ्वीमा हुनुहुँदा यहूदी मानिसहरू व्यवस्थाले मागेभन्दा अचाक्ली धार्मिक नीतिनियमले दबिएका थिए। तिनीहरूका धार्मिक नेताहरूले मानिसहरूलाई गह्रौं बोझ बोकाइरहेका थिए भने तिनीहरू आफूचाहिं आफ्नो औंलाले पनि ती सारिदिने मन गर्दैनथे। (मत्ती २३:४; लूका ११:४६) अतः येशू कत्ति फरक हुनुहुन्थ्यो! उहाँले यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु।”—मत्ती ११:२८-३०.
मानिसहरूले येशूसित संगत गर्दा स्फूर्ति पाएको महसुस गर्थे। उहाँले आफ्ना चेलाहरूलाई तिनीहरूले आफ्नो भावना व्यक्त गर्नै नसक्ने गरी तर्साउनुभएन। वास्तवमा भन्ने हो भने, उहाँले तिनीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्न लगाउने प्रश्नहरू सोध्नुहुन्थ्यो। (मर्कूस ८:२७-२९) मसीही निरीक्षकहरूले आफैलाई यी प्रश्नहरू सोध्नु बेस हुन्छ: ‘के मैले सँगी विश्वासीहरूमा पनि त्यस्तै प्रभाव पार्छु? के अरू प्राचीनहरूले मलाई साँच्चै उनीहरूको विचार बताउँछन् वा हिचकिचाउँछन्?’ निरीक्षकहरू कुरा गर्न सजिलो, अरूको कुरा सुन्ने र लचकदार भए भने कत्ति सजिलो हुनेछ! अव्यावहारिकताले अक्सर खुलस्त र आफ्नो मनको भाव स्पष्टसँग बताउने कुराकानीलाई निरुत्साहित मात्र गर्छ।
येशू परमेश्वरको पुत्र हुनुभए तापनि उहाँले आफ्नो शक्ति वा अख्तियारको कहिल्यै दुरुपयोग गर्नुभएन। बरु, उहाँले आफ्ना श्रोताहरूसित तर्क गर्नुभयो। फरिसीहरूले उहाँलाई एउटा धूर्त प्रश्न सोधेर फसाउन खोज्दा पनि त्यस्तै भयो: “सिजरलाई कर तिर्नु मनासिब हो कि होइन?” येशूले तिनीहरूलाई सिक्का देखाउन भन्नुभयो र तिनीहरूलाई यस्तो प्रश्न गर्नुभयो: “यो मूर्ति र छाप कसको हो?” तिनीहरूले यस्तो जवाफ दिए: “सिजरको।” त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:१५-२१) सरल तर्क नै यथेष्ट थियो।
के येशू हँस्सी मिजासको हुनुहुन्थ्यो? धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ भनी येशूले बताउनुभएको विवरणमा कोही-कोही पाठकहरूले येशूको हँस्सी मिजासको छनक पाउन सक्छन्। (मत्ती १९:२३, २४) सियोको नाथ्रीबाट उँट छिर्न प्रयास गर्ने विचार मात्र पनि बढाइचढाइ गरिएको हो। त्यस्तो अत्युक्तिको अर्को उदाहरण आफ्नो भाइको आँखामा भएको छेस्को देख्ने तर आफ्नै आँखामा भएको मूढाचाहिं थाह नपाउने हो। (लूका ६:४१, ४२) येशू कर्तव्यपरायण अनुशासक हुनुहुन्नथ्यो। उहाँ न्यानो र मित्रैलो व्यक्ति हुनुहुन्थ्यो। आज मसीहीहरूको लागि हँस्सी मिजासले तनावको समयमा दुःखलाई हल्का बनाउन सक्छ।
स्त्रीहरूप्रति येशूको अनुकम्पा
येशूको उपस्थितिमा स्त्रीहरूले कस्तो महसुस गर्थे? निश्चय पनि उहाँको आफ्नी आमा मरियमलगायत थुप्रै वफादार महिला अनुयायीहरू थिए। (लूका ८:१-३; २३:५५, ५६; २४:९, १०) स्त्रीहरूलाई येशूको नजिक जान अत्यन्तै सजिलो लाग्ने हुँदा एक चोटि ‘पापी आइमाई’ भनेर चिनिने एउटी स्त्रीले उहाँको खुट्टा आफ्नो आँसुले धोइन् र सुगन्धित तेल घसिन्। (लूका ७:३७, ३८) वर्षौंदेखि रगत बग्ने बेथाले पीडित अर्की एउटी स्त्रीले निको हुन भीडमा पछिल्तिरबाट आएर उहाँको लुगा छोइन्। येशूले तिनको विश्वासको प्रशंसा गर्नुभयो। (मत्ती ९:२०-२२) हो, स्त्रीहरूलाई येशूसँग कुरा गर्न सजिलो लाग्थ्यो।
अर्को अवसरमा येशूले एउटी सामरी आइमाईसित इनारनेर कुरा गर्नुभयो। तिनी यति छक्क परिन् कि तिनले यसो भनिन्: “तपाईं यहूदी भएर म सामरी आइमाईको हातबाट कसरी पानी पिउनुहुन्छ?” याद गर्नुहोस्, यहूदीहरूले सामरीहरूसँग कुनै पनि व्यवहार गर्दैनथे। येशूले तिनलाई ‘अनन्त जीवनसम्म उम्रिरहने पानीको यूहन्ना ४:७-१५.
मूलबारे’ अद्भुत सच्चाइ सिकाउनुभयो। उहाँले स्त्रीहरूमाझ अप्ठ्यारो महसुस गर्नुभएन। उहाँलाई चुनौती दिइएको ठान्नुभएन।—येशूको आत्म-त्यागी मनोभावलगायत अन्य थुप्रै मानवीय गुणहरूको लागि उहाँको सम्झना गरिन्छ। उहाँ ईश्वरीय प्रेमको मूर्त रूप हुनुहुन्थ्यो। येशूले, उहाँका अनुयायी हुन चाहने सबैको लागि स्तर तोक्नुहुन्छ। तपाईं उहाँको उदाहरण कत्तिको पालन गर्नुहुन्छ?—१ कोरिन्थी १३:४-८; १ पत्रुस २:२१.
आधुनिक समयका मसीहीहरूको कसरी सम्झना गरिन्छ?
आधुनिक समयमा हजारौं विश्वासी मसीहीहरू बुढ्यौली वा कम उमेरमा मरेका छन्। तर तिनीहरूले आफ्नो असल नाउँ छोडेका छन्। जस्तै, बुढ्यौलीको कारण मरेका क्रिस्टललाई उनको न्यानो हृदय र सबैसँग मिलापी स्वभावको लागि सम्झना गरिन्छ। त्रिचालीस वर्षको उमेरमा मृत्यु भएको डेरेक जस्तो व्यक्तिचाहिं तिनको मिजासिलो स्वभाव र इच्छुक मनोभावको लागि सम्झना गरिन्छ।
अनि स्पेनका होसेको अनुभव पनि छ। सन् १९६० को दशकमा यहोवाका साक्षीहरूको प्रचारकार्य त्यस देशमा प्रतिबन्धित हुँदा होसे विवाहित थिए र तिनका तीन जना स-साना छोरीहरू थिए। बार्सिलोनामा तिनको स्थायी जागिर थियो। तर त्यतिबेला स्पेनको दक्षिणी भागमा परिपक्व मसीही प्राचीनहरूको खाँचो थियो। होसेले आफ्नो स्थायी जागिर छोडे र आफ्नो परिवारसँगै मालागामा बसाइँ सरे। तिनीहरूले कठिन आर्थिक अवस्थाको सामना गर्नुपऱ्यो, अक्सर बेरोजगार हुनुपऱ्यो।
यद्यपि, होसे सेवकाईमा विश्वासी, भरपर्दो उदाहरण र आफ्नी सहयोगी श्रीमती कार्मेलाको समर्थनमा आफ्ना छोरीहरूलाई उदाहरणीय ढंगमा हुर्काउने व्यक्तिको रूपमा चिनिए। त्यस भेगमा मसीही अधिवेशनहरू आयोजना गर्न कसैको खाँचो हुँदा होसे सधैं हाजिर हुन्थे। दुःखको कुरा, तिनी ५० वर्षको जति हुँदा गम्भीर बिरामी परे जसले गर्दा तिनको मृत्यु भयो। तथापि, तिनले भरपर्दो, मेहनती प्राचीन र मायालु पति र बुबा भनी आफ्नो छाप छोडे।
अब भन्नुहोस्, तपाईंको सम्झना कसरी गरिनेछ? तपाईंको मृत्यु हिजो भएको भए, आज मानिसहरूले तपाईंबारे के भनिरहेका हुन्छन् होला? यो प्रश्नले हामी सबैलाई आफूले गर्ने व्यवहारमा उन्नति गर्न उत्प्रेरित गर्न सक्छ।
राम्रो नाउँ स्थापित गर्न हामीले के गर्न सक्छौं? हामीले प्रेम, धीरज, दया, भलाइ, संयमलगायत अन्य आत्माका फलहरू प्रकट गर्ने कुरामा सधैं उन्नति गर्न सक्छौं। (गलाती ५:२२, २३) हो, पक्कै पनि, “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।”—उपदेशक ७:१; मत्ती ७:१२.
[पृष्ठ ५-मा भएको चित्र]
अबीगेलको विवेकको लागि तिनको सम्झना गरिन्छ
[पृष्ठ ७-मा भएको चित्र]
पत्रुसको हडबडे तर इमानदार व्यक्तित्वको लागि तिनको सम्झना गरिन्छ
[पृष्ठ ८-मा भएको चित्र]
येशूले केटाकेटीको लागि समय निकाल्नुभयो