सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्टिन लुथर तिनी अनि तिनको देन

मार्टिन लुथर तिनी अनि तिनको देन

मार्टिन लुथर तिनी अनि तिनको देन

“भनिन्छ, इतिहासमा तिनका स्वामी येशू ख्रीष्टपछि मार्टिन लुथरबाहेक अरू कसैको विषयमा पनि यति थुप्रो पुस्तकहरू लेखिएका छैनन्‌।” टाइम्स पत्रिकाले यस्तो टिप्पणी गऱ्‍यो। लुथरका आवाज अनि कामहरूले रिफर्मेसन अर्थात्‌ धर्म-सुधारलाई जन्म दियो। यो एउटा यस्तो धार्मिक आन्दोलन थियो जसलाई “मानव इतिहासकै सबैभन्दा उल्लेखनीय क्रान्ति” भन्‍ने नाउँ दिइयो। यसरी युरोपको धार्मिक वातावरणमा परिवर्तन ल्याउन अनि यस महादेशको मध्ययुगीन इतिहासमा पर्दा लगाउन, तिनको यस आन्दोलनले ठूलो मदत पुऱ्‍यायो। साथै, लिखित जर्मन भाषामा एकरूपता ल्याउन लुथरले एउटा ठोस आधार बसाले। हालसम्म पनि जर्मन भाषामा सबैभन्दा बढी लोकप्रिय बाइबल अनुवादको रूपमा तिनकै बाइबल अनुवाद रहेको छ भन्‍ने कुरामा शंका गर्ने कुनै ठाउँ छैन।

मार्टिन लुथर कस्ता व्यक्‍ति थिए? तिनले युरोपेली गतिविधिमा कसरी यस्तो अमेट छाप छोड्‌न सके?

लुथर प्राज्ञ बन्छन्‌

मार्टिन लुथरको जन्म नोभेम्बर १४८३ मा जर्मनीको इसलेबेनमा भयो। तिनका पिता तामाखानीका एक साधारण मजदुर भए तापनि मार्टिनलाई राम्रो शिक्षा दिन तिनले आवश्‍यक रकमको जोहो गरे। मार्टिन सन्‌ १५०१ मा एरफर्ट विश्‍वविद्यालयका विद्यार्थी भए। त्यस विश्‍वविद्यालयको पुस्तकालयमा तिनले पहिलो पटक बाइबल पढे। उक्‍त पुस्तक पढेपछि तिनले यसो भने, “मलाई त्यो पुस्तक साह्रै मन पऱ्‍यो अनि कुनै दिन मेरो पनि एउटा यस्तै पुस्तक भइदिए, म आफूलाई कत्ति धन्यको ठान्थें।”

लुथर २२ वर्षको उमेरमा एरफर्टस्थित अगस्टिन धर्मपीठमा प्रवेश गरे। पछि धर्मदर्शनमा विद्यावारिधि हासिल गर्न तिनी विटेनवर्ग विश्‍वविद्यालयमा भर्ना भए। तिनले आफूलाई परमेश्‍वरको निगाह पाउन अयोग्य सम्झे र कहिलेकाहीं दोषी अन्तस्करणको कारण तिनी नैराश्‍यको सिकारसमेत भए। तर बाइबल अध्ययन, प्रार्थना अनि मननद्वारा परमेश्‍वरले पापीहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर तिनले राम्ररी बुझ्न मदत पाए। परमेश्‍वरको दया कमाएर कमाउन सकिने कुरा होइन भनेर लुथरले स्पष्टसित बुझे। बरु, उहाँमाथि विश्‍वास हुनेहरूलाई परमेश्‍वरले आफ्नो असिम अनुग्रहद्वारा दया देखाउनुहुन्छ।—रोमी १:१६; ३:२३, २४, २८.

लुथर कसरी आफूले बुझेको यो नयाँ कुरा सही हो भन्‍ने निष्कर्षमा पुगे? प्रारम्भिक चर्चको इतिहास तथा नयाँ नियमका मूल शब्दहरूको अनुसन्धानसम्बन्धी प्राध्यापक कर्ट अलान्डले यस्तो लेखे: “आफूले पाएको नयाँ ज्ञान बाइबलका अन्य विवरणहरूसित मेल खान्छ कि खाँदैन भनेर पत्ता लगाउन तिनले पूरै बाइबलको गहन अध्ययन एवम्‌ मनन गरे र आफ्नो ज्ञानलाई समर्थन गर्ने प्रमाण भेट्टाए।” मुक्‍ति अर्थात्‌ उद्धार, काम अर्थात्‌ प्रायश्‍चितद्वारा नभई विश्‍वासद्वारा प्राप्त हुन्छ भन्‍ने सिद्धान्त नै लुथरको शिक्षाको आधारस्तम्भको रूपमा रहन पुग्यो।

पापमोचनपत्रको बिक्रीप्रति आक्रोश

परमेश्‍वरले पापीहरूलाई हेर्नुहुने दृष्टिकोण राम्ररी बुझिसकेपछि रोमन क्याथोलिक चर्चसित तिनको कुरा बाझियो। त्यतिबेला मृत्युपछि पापीहरूले केही समयको लागि सजाय भोग्नुपर्छ भन्‍ने विश्‍वास व्याप्त थियो। यद्यपि, त्यतिबेला पोपको अनुमतिमा पैसा तिरेर पापको लागि क्षमा पाइसकेपछि यो सजायको समयलाई छोट्याउन सकिन्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। सर्वसाधारणलाई पैसामा पापको क्षमा बेच-बिखन गरेर योहान टेटजेल जस्ता मेन्जका आर्कविशप अलबर्टका प्रतिनिधिका रूपमा काम गर्ने दलालहरूले थुप्रै नाफा कमाए। धेरैले यसरी गरिने क्षमालाई भावी पापहरूको निम्ति एक प्रकारको बिमा हो भनी ठान्थे।

यसरी पैसामा बिक्री गरिने पापको क्षमाप्रति लुथर अत्यन्तै रुष्ट थिए। तिनलाई मानिसले परमेश्‍वरसित मोलतोल गर्न सक्दैन भनेर थाह थियो। सन्‌ १५१७ को शरद्‌ऋतुमा तिनले चर्चलाई आर्थिक, सैद्धान्तिक अनि धार्मिक दुरुपयोग गरेको आरोप लगाउँदै आफ्ना ९५ वटा प्रख्यात शोधग्रन्थ लेखे। विद्रोह होइन तर धार्मिक सुधार गर्न प्रोत्साहन दिने चाहना राख्दै लुथरले मेन्जका आर्कविशप अनि विभिन्‍न प्राज्ञहरूलाई आफ्ना ती शोधग्रन्थका प्रतिहरू पठाए। धेरै इतिहासकारहरूले १५१७ वा लगभग त्यस सालको आसपासलाई नै धार्मिक सुधार जन्म दिने वर्ष भनी औंल्याउँछन्‌।

चर्चका गलत कामहरूप्रति बिलौना गर्ने लुथर मात्र थिएनन्‌। सय वर्ष अघि चेक धार्मिक सुधारवादी यान हसले क्षमा बेच-बिखनको निन्दा गरेका थिए। अझै, हसभन्दा पनि अघि इंग्ल्याण्डका जोन विक्लिफले क्याथोलिक चर्चका केही प्रचलनहरू गैरशास्त्रीय छन्‌ भनी औंल्याएका थिए। लुथरका समकालीनहरू रोटरड्यामका इरेसमस अनि इंग्ल्याण्डका टिन्डेलले पनि धार्मिक सुधार गर्ने आग्रह गरेका थिए। तर योआनेस गुटेनबर्गको छापाखानामा मुभेबल टाइप प्रविधिको आविष्कारले गर्दा अन्य सुधारवादीहरूको भन्दा लुथरको आवाज अझ सशक्‍त हुनका साथै टाढा टाढासम्म गुञ्जियो।

मेन्जस्थित गुटेनबर्गको छापाखाना १४५५ मा सञ्चालन भइरहेको थियो। त्यस शताब्दीको सुरुतिर जर्मनका ६० वटा शहर अनि १२ वटा अन्य युरोपेली मुलुकमा छापाखानाहरू स्थापना भइसकेका थिए। इतिहासमा पहिलो पटक मानिसका चासोका विषयहरूमा सर्वसाधारणलाई छिटोभन्दा छिटो जानकारी दिन सकियो। सायद, लुथरको अनुमतिविना नै तिनका ९५ वटा शोधग्रन्थहरू छापिएका अनि व्यापक वितरण भएका हुन सक्छन्‌। अब चर्चको सुधार गर्नुपर्ने विवाद केवल स्थानीय विवादको रूपमा रहेन। यो एउटा सर्वव्यापी विवाद बन्यो अनि एकाएक मार्टिन लुथर जर्मनीकै सबैभन्दा प्रख्यात व्यक्‍ति बन्‍न पुगे।

“घाम र जून[ले]” प्रतिक्रिया देखाउँछन्‌

शताब्दीयौंसम्म युरोप दुई शक्‍तिशाली संस्थाहरूको पन्जामा थियो: होली रोमन अम्पायर अर्थात्‌ पवित्र रोमी साम्राज्य अनि रोमन क्याथोलिक चर्च। लुथरन विश्‍वसंघका भूतपूर्व अध्यक्ष हान्स्‌ लिल्येले यसो भने, “सम्राट्‌ र पोपको घाम र जून जत्तिकै गाढा सम्बन्ध थियो। तथापि, कसलाई घाम अनि कसलाई जून भन्‍ने सन्दर्भमा ठूलो अन्योल थियो। सोह्रौं शताब्दीको सुरुमा दुवै संस्थाहरू शक्‍तिको चुलीबाट खसिसकेका थिए। चारैतिर परिवर्तनको लहर छाएको थियो।

उक्‍त ९५ वटा शोधग्रन्थको प्रतिक्रियास्वरूप पोप लियो दसौंले लुथरलाई धम्क्याए अनि तिनले आफ्नो गल्तीको आम घोषणा नगरेको खण्डमा तिनलाई चर्चबाट बहिष्कार गर्ने धम्की दिए। पोपको यस आज्ञालाई ठाडै उल्लंघन गरी तिनले पोपद्वारा धम्की दिई लेखिएको उक्‍त इस्तिहारलाई सार्वजनिक रूपमा जलाउँदै पोपको अनुमतिविनै चर्चको सुधार गर्न रियासतलाई उक्साउँदै अन्य लेखहरू प्रकाशित गरे। सन्‌ १५२१ मा पोप लियो दसौंले लुथरलाई चर्चबाट बहिष्कार गरे। जब लुथरले निष्पक्षतापूर्वक आफ्नो कुरै नसुनी आफूलाई दोषी ठहराइएको भनी विरोध जनाए, सम्राट्‌ चाल्स पाचौंले यस सुधारवादी लुथरलाई वर्म्सको राजकीय विधानसभामा हाजिर हुने हुकुम दिए। यो हुकुम मुताबिक अप्रिल १५२१ मा लुथरले विटेनवर्गदेखि वर्म्ससम्म गरेको १५ दिने यात्रा एउटा विजय यात्रा जत्तिकै थियो। जनताहरूको सहानुभूति तिनको पक्षमा थियो र चारैतिरका मानिसहरू तिनलाई हेर्न चाहन्थे।

वर्म्समा सम्राट्‌, राजकुमार अनि पोपको एक जना दूतको अगाडि लुथरलाई खडा गरियो। कन्स्टेन्समा १४१५ मा यान हसलाई पनि यसरी नै बोलाई पुर्पक्ष गरी फैसला सुनाइएको थियो र उनलाई खाँबोमा जिउँदै जलाइएको थियो। अब चर्च अनि सम्राट्‌को आँखा लुथरमाथि परेको थियो र तिनी गलत हुन्‌ भनेर विरोधीहरूले बाइबलबाट प्रमाण नदिएसम्म लुथरले गल्तीको आम घोषणा गर्न मानेनन्‌। तर धर्मशास्त्रमा तिनको ज्ञानको अगाडि कसैको केही लागेन। वर्म्सको राजउर्दी भनिने दस्तावेजद्वारा पुर्पक्षको फैसला सुनाइयो। यस दस्तावेजमा लुथरलाई कानुनद्वारा बहिष्कार गरिएको व्यक्‍ति भनी घोषणा गरियो अनि तिनका लेखहरूमाथि प्रतिबन्ध लगाइयो। पोपद्वारा बहिष्कृत अनि सम्राट्‌द्वारा कानुनबाट बहिष्कृत व्यक्‍ति भनेर घोषणा गरिएपछि अब तिनको ज्यान ठूलो जोखिममा पऱ्‍यो।

त्यसपछि घटनाले सोच्दै नसोचेको एउटा नाटकीय मोड लिन पुग्यो। विटेनवर्गमा फर्कंदै गर्दा लुथरलाई तिनका शुभचिन्तक फ्रिडेरिक अफ साक्सोनीले देखावटी अपहरण गरे। त्यसपछि लुथरका कुनै शत्रुले पनि तिनलाई भेट्‌टाउन नसक्ने भयो। लुथरलाई गोप्य रूपमा वार्टवर्गको एउटा एकलासे महलमा लगियो जहाँ तिनले लामो-लामो दाह्री पाले अनि एउटा नौलो पहिचान धारण गरे अर्थात्‌ तिनी युन्कर यर्ग नाउँका एक घरानियाँ पुरुषका रूपमा चिनिए।

सेप्टेम्बर बाइबलको ठूलो माग

यसपछि दस महिनासम्म सम्राट्‌ अनि पोपबाट लुकेर लुथर वार्टवर्ग महलमै बसे। वेल्टरवी वार्टवर्ग पुस्तकले बताएअनुसार “वार्टवर्गमा बिताइएको त्यो समय तिनको जीवनको सबैभन्दा उत्पादनशील र सृजनशील समय थियो।” तिनको सबैभन्दा महान्‌ उपलब्धिको रूपमा रहेको युनानी शास्त्रका इरेसमस पद्यहरूको जर्मन भाषामा अनुवाद, यसैबेला सिध्याइएको थियो। अनुवादकको रूपमा लुथर नाउँ नखुलाई यस बाइबललाई १५२२ सेप्टेम्बरमा प्रकाशित गरियो र पछि गएर यो बाइबल नै सप्टेम्बर बाइबलको नाउँले प्रख्यात भयो। यसको मोल साढे एक गिल्डर्स थियो जुन घरमा काम गर्ने एक जना नोकरको एक वर्षको तलब बराबर थियो। यसको बावजुद सेप्टेम्बर बाइबलको मागमा कुनै कमी आएको थिएन। बाह्र महिनाभित्रमा २ वटा संस्करण गरी यसका जम्मा ६,००० प्रति छापिए र त्यसपछिका १२ वर्षमा कम्तीमा पनि यसका ६९ वटा संस्करण प्रकाशित गरिए।

सन्‌ १५२५ मा मार्टिन लुथरले क्याथेरिना भोन बोरा नाउँकी एउटी भूतपूर्व ननसित विवाह गरे। क्याथारिना घरव्यवहार चलाउन जति खप्पिस थिइन्‌, त्यतिनै आफ्नो पतिका पाहुनाहरूको अतिथिसत्कार गर्नमा पनि पोख्त थिइन्‌। लुथरको घरपरिवारमा तिनकी पत्नी र छ जना छोराछोरी मात्र थिएनन्‌ तर अन्य मित्र, प्राज्ञ अनि शरणार्थीहरू पनि तिनका परिवारका सदस्यहरू नै बनिसकेका थिए भन्दा केही फरक पर्दैन। लुथरले जीवनको अन्ततिर सल्लाहकार जस्तो गरिमामय ख्याति कमाए र यो ख्यातिले गर्दा तिनका घरमा आउने पाहुनाहरू तिनका भनाइहरू टिप्न कलम र कापी लिएर हरबखत तयार रहन्थे। यी टिपोटहरूको संकलन गरेर लुथर्स तिच्रेडेन (लुथरको टेबल वार्तालाप) भन्‍ने शीर्षक राखी एउटा पुस्तक नै प्रकाशित गरियो। यो संकलन जर्मन भाषामा केही समयको लागि सेप्टेम्बर बाइबल पछिको सबैभन्दा बढी वितरित पुस्तकको रूपमा चर्चित रह्‍यो।

प्रतिभाशाली अनुवादक अनि धेरै पुस्तक काशित गर्ने लेखक

सन्‌ १५३४ मा लुथरले हिब्रू धर्मशास्त्रको अनुवाद सिध्याएका थिए। उनी लेखन शैली, छन्द, शब्द छनौटमा सन्तुलन कायम गर्न पोख्त थिए। यसको ज्वलन्त नमुना सर्वसाधारणले बुझ्ने भाषाको बाइबल अनुवाद थियो। आफ्नो अनुवाद गर्ने शैलीबारे टिप्पणी गर्दै लुथरले यस्तो लेखे: “हामीले गृहिणी आमा, सडकका बच्चाहरू अनि बजारका साधारण मानिसहरूसित कुराकानी गर्नुपर्छ अनि तिनीहरूले कसरी बोल्छन्‌, ध्यान दिएर सुन्‍नुपर्छ र त्यसैअनुसार अनुवाद गर्नुपर्छ।” लुथरको बाइबलले लेखन भाषामा एकरूपता ल्याउन एउटा आधारशिला बसाल्यो जसले हालसम्म पनि सारा जर्मनीमा नै मान्यता पाएको छ।

अनुवादकको रूपमा लुथरको प्रतिभा अनि लेखकको रूपमा तिनको निपुणता बराबर थियो। भनिन्छ, तिनको लेखन जीवनमा तिनले हरेक दुई हप्तामा एउटा कृति तयार पार्थे। ती कृतिहरूमध्ये कुनै-कुनैमा लेखकमा जत्ति नै आक्रोश पाइन्थ्यो। तिनका सुरु सुरुका लेखहरूमा जति आक्रोश हुन्थ्यो, पछि उमेर ढल्केपछि पनि तिनको यस लेखन शैलीमा रतीभर परिवर्तन आएन। तिनका पछिल्ला निबन्धहरू त झन्‌झनै उग्र भए। लेक्सीकन फर थियोलोजी अण्ड कर्के-अनुसार लुथरका कार्यहरूले तिनको “रिसको चरम सीमा” अनि “प्रेम र नम्रताको कमी” र साथमा “आफ्नो अभिप्राय पूरा गर्ने तीव्र जोस” प्रकट गर्छ।

किसानवर्गको युद्ध चर्किंदा अनि रियासतले रगतको होली खेल्दा यस आन्दोलनलाई कसरी साम्य पार्ने भनी तिनको राय बुझियो। के किसानहरूले आफ्ना सामन्ती शासकहरू विरुद्ध आवाज उठाउनु जायज थियो? लुथरले बहुमतलाई रिझाउने जवाफ दिएर लोकप्रियता हासिल गर्ने कोसिस गरेनन्‌। परमेश्‍वरका सेवकहरूले अख्तियारवालाहरूको अधीनमा बस्नुपर्छ भन्‍ने तिनको मान्यता थियो। (रोमी १३:१) यस आन्दोलनलाई बल प्रयोग गरी दबाउने सुझाव दिएर लुथरले आफ्नो हक्की निर्णय सुनाए। तिनले यसो भने: “जसले सक्छ उसले घोच, ठोक र मार।” हान्स्‌ लिल्येले टिप्पणी गरेअनुसार यस जवाफले लुथरको “त्यसबेलासम्म मानिसहरूबीच जुन अद्वितीय लोकप्रियता थियो, त्यो सब चकनाचूर भएर फुट्यो।” यसको अतिरिक्‍त, मसीही धर्म अंगाल्न इन्कार गर्ने यहूदीहरूबारे लेखिएको विशेष गरी यहूदीहरू अनि तिनीहरूको लुच्च्याइँ शीर्षकको तिनका पछिल्ला निबन्धहरूले धेरैको मनमा यी निबन्धकार यहूदी विरोधी हुन्‌ भन्‍ने छाप पाऱ्‍यो।

लुथरको देन

लुथर, कालविन अनि ज्विंगलीजस्ता पुरुषहरूको जोडतोड प्रयासले सुऱ्‍याइएको धार्मिक सुधारले धर्मलाई एउटा नयाँ मोड दियो जुन पछि प्रोटेस्टेन्टवादको नाउँले चिनियो। प्रोटेस्टेन्टवादमा लुथरको मुख्य देन भनेकै उनको शिक्षाको मुख्य भागको रूपमा रहेको विश्‍वासको आधारमा पाइने मुक्‍ति हो। हरेक जर्मन रियासतले प्रोस्टेस्टेन्ट र क्याथोलिकमध्ये एउटा न एउटाको पक्ष त लिएकै हुन्थ्यो। प्रोटेस्टेन्टवाद फैलियो अनि स्क्यान्डेनेभिया, स्वीट्‌जरल्याण्ड, इंग्ल्याण्ड अनि नेदरल्याण्ड्‌समा यसले लोकप्रियता हासिल गऱ्‍यो। आज यसका लाखौं अनुयायीहरू छन्‌।

लुथरका सम्पूर्ण विश्‍वासहरूलाई नअंगाल्ने धेरैले समेत तिनलाई ठूलो सम्मानको आँखाले हेर्छन्‌। इसलेबेन, एरफर्ट, विटेनवर्ग अनि वार्टवर्ग समावेश भएको भूतपूर्व प्रजातान्त्रिक गणतन्त्र जर्मनले १९८३ मा लुथरको ५०० औं जन्म दिवस मनायो। यस साम्यवादी मुलुकले जर्मनको इतिहास अनि सभ्यतामा तिनी एक विशिष्ट व्यक्‍तित्व हुन्‌ भनी मानिलियो। यसको अतिरिक्‍त, १९८० दशकका एक जना क्याथोलिक धर्मविज्ञानीले लुथरले छोडेको छापलाई संक्षेपमा यसरी टिप्पणी गरे: “लुथरपछि आएका कसैले पनि लुथरको त्यो स्थान लिन सकेन।” प्राध्यापक अल्याण्डले यस्तो लेखे: “हरेक वर्ष विश्‍वभरका प्रायजसो सबै मुख्य भाषाहरूमा मार्टिन लुथर अनि धार्मिक सुधारबारे कम्तीमा पनि ५०० नयाँ प्रकाशनहरू प्रकाशित गरिन्छन्‌।”

मार्टिन लुथरमा तीक्ष्ण दिमाग, असाधारण स्मरणशक्‍ति अनि उत्कृष्ट शब्द भण्डारका साथै काममा लगनशील भएर घोटिन सक्ने खुबी थियो। तिनी अधैर्य अनि छुच्चो स्वभावका पनि थिए अनि कुनै कुरामा कपट देखेमा त्यसको निन्दा गर्न तिनी कुनै शब्द बाँकी राख्दैनथे। इसलेबेनमा फेब्रुअरी १५४६ मा मृत्युशय्यामा हुँदा तिनका साथीहरूले, के तिमी आफूले अरूलाई सिकाएका शिक्षाहरूमा साँच्चै विश्‍वस्त छौ भनी सोधे। तिनले यस्तो जवाफ दिए “अवश्‍य छु”। लुथर मरे तर तिनको विश्‍वासलाई अंगाल्ने अझै पनि धेरै छन्‌।

[पृष्ठ २७-मा भएको चित्र]

लुथरले पापमोचनपत्रको बेच-बिखन गर्ने प्रचलनको विरोध गरे

[स्रोत]

Mit freundlicher Genehmigung: Wartburg-Stiftung

[पृष्ठ २८-मा भएको चित्र]

तिनी गलत छन्‌ भनेर तिनका विरोधीहरूले बाइबलबाट प्रमाणित गरेर नदेखाएसम्म लुथरले आफ्नो गल्ती स्वीकार्न मानेनन्‌

[स्रोत]

From the book The Story of Liberty, 1878

[पृष्ठ २९-मा भएका चित्रहरू]

वार्टवर्ग महलमा लुथरको कोठा जहाँ उनले बाइबल अनुवाद गरे

[स्रोत]

Both images: Mit freundlicher Genehmigung: Wartburg-Stiftung

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

From the book Martin Luther The Reformer, 3rd Edition, published by Toronto Willard Tract Depository, Toronto, Ontario

[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]

From the book The History of Protestantism (Vol. I)