सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे

याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे

याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे

कलह अनि विपत्‌ याकूबको जीवनको अभिन्‍न भाग बन्‍न पुग्छ। आफ्नो जुम्ल्याहा दाइको घातक आक्रोशले याकूबलाई ज्यानको खातिर भाग्न विवश तुल्याउँछ। आफूले मन पराएकी केटीको सट्टा झुक्याएर अर्कै केटीसित उनको पहिलो विवाह गराइन्छ, अन्ततः चार पत्नीहरूले गर्दा उनको जीवन समस्याग्रस्त बन्‍न पुग्छ। (उत्पत्ति ३०:१-१३) बीस वर्षसम्म त उनले यस्तो व्यक्‍तिकहाँ काम गर्छन्‌ जसले उनको शोषण गर्छ। उनी स्वर्गदूतसित कुस्ती खेल्छन्‌ अनि स्थायी चोटको सिकार बन्‍न पुग्छन्‌। उनकी छोरी बलात्कृत हुन्छिन्‌, उनका छोराहरूले हत्याकाण्ड मच्चाउँछन्‌ अनि आफ्नो अत्यन्तै प्यारो छोरा र पत्नीको दुःखद वियोगमा उनी धुरुधुरु रुन्छन्‌। बुढेसकालमा अनिकालको मारबाट बच्न उनी विदेशिन बाध्य हुन्छन्‌, उनी स्वयम्‌ आफ्ना दिनहरू “थोरै र दुःखमय” भएको कुरा स्वीकार्छन्‌। (उत्पत्ति ४७:९) यी सबका बावजुद याकूब परमेश्‍वरमाथि भरोसा राख्ने एक जना आध्यात्मिक पुरुष हुन्‌। के उनको यो भरोसा व्यर्थमा गयो? याकूबका केही अनुभवहरू विचार गर्दा कस्ता पाठहरू सिक्न सकिन्छ?

आफ्ना दाइभन्दा आकास-पत्तालको भिन्‍नता

बहुमूल्य आध्यात्मिक कुराहरूप्रति याकूबले देखाएको मूल्यांकन नै उनको दाइसित बेमेलको मुख्य कारण थियो जसलाई एसावले तुच्छ ठाने। याकूब अब्राहामसित बाँधिएको करारको प्रतिज्ञामा उत्सुक थिए अनि परमेश्‍वरले उत्तराधिकार हुन रोज्नुभएको त्यस परिवारको रेखदेख गर्न उनले आफूलाई समर्पण गरे। त्यसैले यहोवाले उनलाई ‘प्रेम गर्नुभयो’। याकूब “शान्त स्वभावका” अर्थात्‌ “निर्दोष” थिए जुन अभिव्यक्‍तिले नैतिक उत्कृष्टतालाई बुझाउँछ। त्यसको ठीक विपरित, एसावले आफ्नो आध्यात्मिक सम्पदालाई यति साह्रो तुच्छ ठाने कि उनले त्यो थोरै मूल्यमा याकूबलाई बेचे। जब परमेश्‍वरको अनुमोदन पाएर याकूबले आफ्नो दाइको जेष्ठ अधिकार अनि आफ्नो दाइको लागि साँचेर राखिएको आशिष्‌ प्राप्त गरे तब एसाव बदलाको भावले अत्यन्तै क्रोधित भए। त्यसपछि याकूब आफ्ना सारा प्रिय चिजहरू छोडी अन्तै गए तर त्यसपछि घटेको घटनाले जस्तोसुकै निरुत्साहित भावनालाई पनि उत्साहित पार्छ।—मलाकी १:२, ३; उत्पत्ति २५:२७-३४; २७:१-४५.

परमेश्‍वरले याकूबलाई स्वर्ग र पृथ्वीलाई जोड्‌ने भऱ्‍याङ अर्थात्‌ “ढुंगाको खुड्‌किलोमा” स्वर्गदूतहरू ओहोरदोहोर गरिरहेको अनि उनीलगायत उनको वंशलाई जोगाउनेछु भनी प्रतिज्ञा गर्नुभएको सपना देखाउनुभयो। “तँ र तेरा सन्तानहरूमानै पृथ्वीका सबै वंशहरू आशीर्वादी हुनेछन्‌। हेर्‌, म तँसँग छु, र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु, किनकि मैले तँलाई भनेको कुरा पूरा नगरूञ्जेल म तँलाई छोड़नेछैनँ।”—उत्पत्ति २८:१०-१५ पाद टिप्पणी, NW.

कस्तो आश्‍वासनदायी कुरा! अब्राहाम अनि इसहाकलाई गर्नुभएको प्रतिज्ञाहरूले याकूबको परिवारलाई आध्यात्मिक रूपमा समृद्ध बनाउनेछ भनेर यहोवाले पक्का गर्नुभयो। स्वर्गदूतहरूले परमेश्‍वरको अनुमोदन पाएकाहरूको सेवा गर्न सक्छन्‌ भन्‍ने कुराबारे याकूबलाई सचेत गराइयो अनि ईश्‍वरीय सुरक्षाको आश्‍वासन दिइयो। कृतज्ञ मनले यसको कदर गर्दै याकूबले यहोवाप्रति विश्‍वासी रहिरहने शपथ खाए।— उत्पत्ति २८:१६-२२.

याकूबले एसावको उत्तराधिकार हडपे भन्‍न पटक्कै मिल्दैन। ती केटाहरू जन्मनुअघि नै यहोवाले “जेठाले कान्छाको सेवा गर्नेछ” भन्‍नुभएको थियो। (उत्पत्ति २५:२३) कसै-कसैले सोध्लान्‌, ‘यदि परमेश्‍वरले याकूबलाई पहिला जन्मन दिनुभएको भए, के परिस्थिति झन्‌ सजिलो हुने थिएन र?’ त्यसपछि घटेका घटनाले महत्त्वपूर्ण सत्यहरू सिकायो। परमेश्‍वरको आशिष्‌लाई हक सम्झनेहरूका लागि उहाँले ती आशिष्‌हरू साँचेर राख्नुहुन्‍न तर आफूले चुनेकाहरूलाई भने उहाँ असीम दया देखाउनुहुन्छ। त्यसैले त जेष्ठ अधिकार याकूबलाई दिइयो, त्यसको मूल्यांकन नगर्ने उनको दाइलाई होइन। त्यस्तै गरी प्राकृतिक यहूदीहरूले एउटा राष्ट्रको रूपमा एसावको जस्तै मनोवृत्ति देखाएको कारण तिनीहरूको स्थान आध्यात्मिक इस्राएललाई दिइयो। (रोमी ९:६-१६, २४) एक जना व्यक्‍ति ईश्‍वरभीरु परिवार अथवा वातावरणमा जन्मेको छ भन्दैमा यहोवासितको असल सम्बन्ध कदापि विनाप्रयास प्राप्त हुने उत्तराधिकार होइन। ईश्‍वरीय आशिष्‌को चाहना गर्नेहरू सबैले ईश्‍वरभीरु हुन अर्थात्‌ आध्यात्मिक कुराहरूको मूल्यांकन गर्न प्रयत्न गर्नै पर्छ।

लाबानद्वारा स्वागत

आफ्ना नातेदारहरू माझ पत्नी खोज्न पद्दनराम आइपुग्दा याकूबले इनारमा आफ्नी बहिनी अर्थात्‌ मामा लाबानकी छोरी राहेललाई भेटे र तिनले चराइरहेका बस्तुभाउहरूलाई पानी खुवाउन याकूबले इनारको गह्रौ ढुंगा हटाइदिए। a याकूब आइपुगेको खबर दिन राहेल हतारिंदै घरतिर कुदिन्‌ अनि लाबान उनलाई भेट्‌न हतारिए। लाबानले त्यतिखेर आफ्नो परिवारले अब्राहामको नोकरबाट प्राप्त गरेका ती सरसम्पत्तिहरूलाई सम्झेका भए तिनी निराश हुन्थे किनभने याकूब रित्तो हात थिए। तर लाबानले आफूले फाइदा उठाउन सक्ने केही कुरा भने स्पष्ट देखे—एक जना मेहनती अनि परिश्रमी व्यक्‍ति।—उत्पत्ति २८:१-५; २९:१-१४.

याकूबले आफ्नो कथा सुनाए। जेष्ठ अधिकार प्राप्त गर्नको लागि गरेको छलबारे याकूबले बताए कि बताएनन्‌ भन्‍ने कुरा स्पष्ट नभए तापनि “सबै कुरा” सुनेपछि लाबानले यसो भने: “वास्तवमा तिमी मेरो हाड़ र मासु हौ।” एक जना शास्त्रविद्‌ले भनेअनुसार यो भनाइ याकूबको लागि तिनीहरूसित सँगै बस्ने एउटा न्यानो आमन्त्रण अथवा याकूबसितको साइनोले गर्दा लाबानले याकूबको सुरक्षा गर्नुपर्छ भन्‍ने दायित्वबोधप्रतिको लाबानको स्वीकारोक्‍ति हुन सक्थ्यो। जे होस्‌, आफ्ना भान्जाको कसरी शोषण गर्नुपर्छ भन्‍ने कुरा सोच्न लाबानले कुनै ढिलाइ गरेनन्‌।

अब लाबानले याकूबलाई भन्‍ने कुरा अर्को २० वर्षसम्म विवादको विषय बन्‍ने थियो। तिनले सोधे, “मेरो नातेदार हुँदैमा तिमीले सित्तैंमा मेरो चाकरी गर्ने? ज्याला कत्ति भन्छौ मलाई भन।” यहाँनिर लाबान एक जना हितैषी मामा भइ टोपले तापनि तिनले याकूबसितको आफ्नो रगतको साइनोलाई सेवा गर्ने करारमा बदले। याकूब प्रेममा आशक्‍त भएकोले उनले यस्तो जवाफ दिए: “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको चाकरी गर्नेछु।”—उत्पत्ति २९:१५-२०.

दुलहीको परिवारलाई दुलहीको मूल्य तिरेपछि मगनी हुन्थ्यो। पछि मोशाको व्यवस्थाले फकाएर सम्भोग गरिएकी कुमारीको लागि ५० शेकेल चाँदीको मूल्य तोक्यो। विद्वान गोर्डन वेनहामको विश्‍वासअनुसार यो “सबैभन्दा चर्को दुलहीको मूल्य हो” तर अधिकांश “त्योभन्दा कम हुन्छ।” (व्यवस्था २२:२८, २९) याकूबले त्यति मूल्य तिर्न सकेनन्‌। उनले लाबानलाई सात वर्ष सेवा गर्ने प्रस्ताव राखे। वेनहाम अझै यसो भन्छन्‌, “बेबिलोनी समयमा ज्यालादारी मजदुरहरूले एक महिनामा आधा शेकेलदेखि लिएर एक शेकेलसम्म ज्याला पाउँथे। (पूरा सात वर्षमा ४२ देखि ८४ शेकेलसम्म ज्याला पाउँथे), राहेलसित विवाह गर्न याकूबले लाबानलाई अत्यन्तै उत्कृष्ट विवाह भेट चढाइरहेका थिए।” लाबानले प्रस्ताव स्वीकार्न कुनै आनाकानी गरेनन्‌।—उत्पत्ति २९:१९.

याकूब राहेललाई यति धेरै प्रेम गर्थे कि ती सात वर्षहरू याकूबलाई “थोरै दिनजस्तो लाग्यो।” त्यसपछि, लाबानको छलप्रति रत्तीभर शंका नगरी उनले ग्वाम्म घुम्टो ओढेकी दुलहीलाई अपनाए। भोलिपल्ट बिहान राहेलसित नभई तिनकी दिदी लेआसित आफू सुतेको कुरा थाह पाउँदा याकूबलाई कत्ति चोट पुग्यो होला, कल्पना गर्नुहोस्‌ त! याकूबले यस्तो प्रश्‍न गरे: “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति चाकरी गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो? (उत्पत्ति २९:२०-२७) लाबानले यस्तो जवाफ दिए: “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन। लेआको निम्ति एक साता पूरा गर, र अर्को सात वर्ष मेरो चाकरी गरेको सट्टामा तिमीलाई म अर्की पनि दिइहाल्छु।” (उत्पत्ति २९:२०-२७) लाचार अनि जालझेलको सिकार भएका याकूबको लागि राहेललाई पाउन यो सम्झौता स्वीकार्नुबाहेक अर्को उपाय थिएन।

पछिल्ला सात वर्षहरू पहिलेका जस्तै सुखद भएनन्‌। लाबानको यस्तो निकृष्ट छललाई उनले कसरी सजिलै बिर्सन सक्थे होलान्‌? अनि लाबानको यस छललाई सफल पार्न मदत गर्ने लेआलाई उनले कसरी सजिलै क्षमा दिन सक्थे र? निस्सन्देह, लेआ अनि राहेलको निम्ति आफूले तयार पारिदिएको दुर्दान्त भविष्यप्रति लाबानलाई रत्तीभर चासो थिएन। आफ्नो स्वार्थ पूरा गर्नु नै तिनको मुख्य उद्देश्‍य थियो। उत्तराधिकारको रूपमा लेआले लगालग चार जना छोरा जन्माइसक्दा पनि आफू बाँझी नै रहँदा राहेलको रिसमा डाह थपियो। त्यसपछि, बच्चाको लागि आतुर राहेल आफ्नो लागि बच्चा जन्माइदिन अन्ततः आफ्नी दासी दिन बाध्य भइन्‌ र जोरी खोज्दै लेआले पनि त्यसै गरिन्‌। यसरी याकूबले आफूलाई ४ पत्नी अनि १२ छोराछोरीको एउटा कलहग्रस्त परिवारबीच पाए। यद्यपि, यहोवाले याकूबलाई एउटा विशाल राष्ट्र बनाउँदै हुनुहुन्थ्यो।

यहोवाद्वारा सम्पन्‍न बनाइएको

परिक्षाहरूका बावजुद प्रतिज्ञाअनुसार यहोवा आफूसित भएको याकूबले देखे। लाबानले पनि यो देखे किनकि याकूबको आगमनको बेला आफूसित भएका ती थोरै बस्तुभाउहरू आफ्नो भान्जाको रेखदेखमा धेरै बढे। याकूबलाई जानबाट रोक्दै लाबानले थप सेवाको लागि ज्याला सोधे, जवाफमा याकूबले लाबानको बगालमा जन्मेका छिरबिरे बस्तुभाउहरू मागे। भनिन्छ, त्यस क्षेत्रमा अधिकांश भेडाहरू सेता अनि बाख्राहरू काला अथवा खैरा हुन्थे; थोरै मात्र टाटेपाटे हुन्थे। त्यसैले आफू नाफामा छु भन्‍ने सोचेर लाबानले यो सम्झौतालाई तुरुन्तै स्वीकारिहाले र आफ्ना बस्तुभाउहरू याकूबको रेखदेखमा बाँकी रहेका बगालहरूसित लसपस नहोस्‌ भनेर छिट्टै तिनले टाटेपाटे रंगका बस्तुभाउहरूबाट आफ्ना जतिलाई लामो दुरीको अन्तरमा छुट्याए। सम्झौताअनुसार याकूबले थोरै मात्र अर्थात्‌ पुरातन गोठालाहरूले पाएझैं नयाँ जन्मेका पाठा अथवा थुमाहरूबाट केवल २० प्रतिशत पाउनेछन्‌ भन्‍ने कुरामा तिनी पूर्ण विश्‍वस्त थिए। तर लाबानको यो सोचाइ गलत थियो किनकि यहोवा याकूबसित हुनुहुन्थ्यो।—उत्पत्ति ३०:२५-३६.

ईश्‍वरीय डोऱ्‍याइ पाएर याकूबले आफूले चाहेको रंगका मोटाघाटा बस्तुभाउहरू उत्पादन गर्न सके। (उत्पत्ति ३०:३७-४२) बस्तुभाउहरूको प्रजननसम्बन्धी उनको उपाय सही थिएन। यद्यपि, विद्वान नहुम सार्ना यसो भन्छन्‌, “वैज्ञानिक तवरमा, छिर्केमिर्केको लुप्त गुण बोकेका जिन भएका एउटै रंगका जनावरहरूबीचको . . . क्रमिक अन्तरप्रजनन्‌ प्रक्रियाद्वारा अपेक्षाकृत परिणाम हात लाग्न सक्छ।” र “यस्ता जनावरहरू ठिमाहामा देखिने [तिनीहरूको] मोटाघाटा गुणबाट पत्ता लगाइन्छ।”

यस्तो परिणाम देखेपछि लाबानले आफ्ना भान्जासित पेटारे, थोप्ले, छिर्केमिर्के अथवा टाटेपाटे बस्तुभाउको लागि गरेको सम्झौता बदल्ने प्रयास गरे। तिनले आफ्नो फाइदा मात्र हेरिरहेका थिए तर त्यस सम्झौतालाई लाबानले जसरी छाँटकाँट गर्न खोजे तापनि यहोवाले याकूबलाई नै सधैं सम्पन्‍न तुल्याउनुभयो। लाबानले दाह्रा किट्‌न सिवाय अरू केही गर्न सकेनन्‌। याकूबले छिट्टै प्रशस्त सम्पत्ति, बस्तुभाउ, नोकरचाकर, उँट अनि गधाहरू थुपारे तर आफ्नै बुतामा होइन तर यहोवाको आडमा। उनले पछि राहेल र लेआलाई यसो भने: “तिमीहरूका बाबुले मलाई ठग्नुभयो, र मेरो ज्याला दशपल्ट बद्‌लनुभयो। तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। . . . परमेश्‍वरले तिमीहरूका बाबुका बगालहरू लिएर मलाई दिनुभयो।” लाबानले गरिरहेको सबै काम आफूले देखेको अनि याकूब चिन्तित हुन आवश्‍यक छैन भनी यहोवाले याकूबलाई आश्‍वासन पनि दिनुभयो। परमेश्‍वरले यसो भन्‍नुभयो, “तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु।”—उत्पत्ति ३१:१-१३; ३२:९.

अन्ततः धोकेबाज लाबानको पन्जाबाट आफूलाई मुक्‍त गरेपछि याकूब आफ्नो घरतिर लागे। बीस वर्ष बितिसकेको भए तापनि उनी अझै एसावसित डराउँथे अनि जब उनले एसाव चार सय मानिस लिएर आइरहेको छ भन्‍ने खबर सुने, त्यतिबेला उनी झनै डराए। याकूबले के गर्न सक्थे? सधैं परमेश्‍वरमा भरोसा राख्ने आध्यात्मिक व्यक्‍ति याकूबले विश्‍वासअनुसार काम गरे। आफू यहोवाको दयाको योग्य नभएको कुरा स्वीकार्दै उनले प्रार्थना गरे अनि एसावको हातबाट उनीलगायत उनको परिवारलाई बचाउने उहाँका प्रतिज्ञाहरूको आधारमा उहाँलाई बिन्ती गरे।—उत्पत्ति ३२:२-१२.

त्यसपछि आशै नगरेको घटना घट्‌न पुग्छ। एक जना अपरिचित व्यक्‍ति रूपमा आएका स्वर्गदूतले रातभरि याकूबसित कुस्ती खेले अनि तिनले छोएकै भरमा याकूबको जाँघको गेडी फुस्काइदिए। त्यस स्वर्गदूतले आशिष्‌ नदिएसम्म याकूबले तिनलाई जान दिएनन्‌। पछि, होशे अगमवक्‍ताले याकूब ‘रोए र तिनीसित बिन्ती गरे’ भनी बताए। (होशे १२:२-४; उत्पत्ति ३२:२४-२९) आफ्नो वशंद्वारा अब्राहामको करार पूरा गर्ने उद्देश्‍य लिएर अघिल्ला समयहरूमा स्वर्गदूतहरू देखापरेका कुरा याकूबलाई थाह थियो। त्यसैले उनले पूरा बल लगाएर कुस्ती खेले अनि आशिष्‌ प्राप्त गरे। त्यसैबेला परमेश्‍वरले उनको नाउँ परिवर्तन गरेर इस्राएल राखिदिनुभयो जसले ‘परमेश्‍वरसँग . . . लड़न्त (लगनशील संघर्ष) गर्ने’ अथवा “परमेश्‍वर संघर्ष गर्नुहुन्छ” भन्‍ने अर्थ दिन्छ।

के तपाईं कुस्ती खेल्न इच्छुक हुनुहुन्छ?

याकूबले सामना गर्नुपरेका संकटहरू स्वर्गदूतसित कुस्ती खेल्नु अनि एसावसितको पुनर्मिलन मात्र थिएन। यद्यपि, यहाँ विचार गरिएका ती घटनाहरूले उनी कस्ता मान्छे थिए भन्‍ने कुरा चित्रण गर्छ। एसावले आफ्नो जेष्ठ अधिकारको खातिर अलिकता भोकलाई सहन सकेनन्‌ जबकि आशिष्‌ प्राप्त गर्न याकूबले जीवनभर संघर्ष गरे, स्वर्गदूतसितसमेत कुस्ती खेले। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम एउटा महान्‌ राज्यको पूर्वज अनि मसीहको पुर्खा बन्दै याकूबले ईश्‍वरीय डोऱ्‍याइ अनि सुरक्षा प्राप्त गरे।—मत्ती १:२, १६.

के तपाईं यहोवाको निगाह प्राप्त गर्नको लागि मेरिमेट्‌न अथवा लाक्षणिक तवरमा भन्‍नुपर्दा यहोवाको त्यो निगाह प्राप्त गर्न कुस्ती खेल्न इच्छुक हुनुहुन्छ? आज, परमेश्‍वरको इच्छा गर्न चाहनेहरूका लागि जीवन कठिनाइ अनि चुनौतीहरूले भरिएको छ अनि कहिलेकाहीं सही निर्णयहरू गर्नको लागि त संघर्षै गर्नुपर्छ। यद्यपि, याकूबको असल उदाहरणले यहोवाले हाम्रो सामु राखिदिनुभएको त्यो इनामको आशालाई पक्रिराख्न हामीलाई बलियो उत्प्रेरणा दिन्छ।

[फुटनोट]

a यो जम्काभेट याकूबकी आमा रिबेकाले एलीएजरका उँटहरूलाई पानी खुवाएको बेलाको घटनासित मिल्दोजुल्दो छ। त्यसपछि आगन्तुक आइपुगेको खबर लिएर रिबेका घरतिर कुदिन्‌। उपहारको रूपमा आफ्नी बहिनीले प्राप्त गरेका सुनका सरसामानहरू देखेर एलीएजरलाई स्वागत गर्न लाबान कुदेर गए।—उत्पत्ति २४:२८-३१, ५३.

[पृष्ठ ३१-मा भएका चित्रहरू]

आशिष्‌हरू प्राप्त गर्न याकूबले आफ्नो जीवनभर संघर्ष गरे