भरोसायोग्य कोही छ?
भरोसायोग्य कोही छ?
सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि निकै जतनसाथ राखिएका कैयौं गोप्यताहरू उदाङ्ग भए। उदाहरणका लागि, लिडियाले a पूर्वी जर्मनीमा समाजवादी शासनको दौडान स्टासी अर्थात् स्टेट सेक्योरिटी सर्भिसले आफ्ना निजी गतिविधिहरूको एक-एक सुराक राखेको कुरा चाल पाइन्। यो कुरा चाल पाएर चकित परेकी लिडियाले स्टासी-लाई सुराक दिने आफ्नै पति भएको कुरा जब थाह पाइन्, त्यतिबेला उनी छाँगाबाट खसेझैं भइन्। उनले त्यस्तो व्यक्तिबाट धोका पाएकी थिइन् जसलाई उनले पूर्ण भरोसा राख्न सक्नुपर्ने थियो।
रोबर्ट एक जना प्रौढ र भद्र पुरुष थिए जसले आफ्नो स्थानीय डाक्टरलाई “ठूलो आदर, सम्मान अनि भरोसाको” प्रतिमूर्ति ठान्थे भनी लण्डनको द टाइम्स रिपोर्ट दिन्छ। उक्त डक्टरलाई “दयालु अनि सहानुभूतिशील” भन्ने गरिन्थ्यो। त्यसपछि अप्रत्याशित रूपमा रोबर्टको मृत्यु भयो। के उनको मृत्युको कारण हृदयघात अथवा मस्तिष्कघात थियो? अहँ, थिएन। त्यही डाक्टरले लुसुक्क रोबर्टको घरमा पसी रोबर्ट अनि तिनको परिवारलाई सुइँकै नदिई तिनलाई मृत्युको मुखमा धकेल्ने इन्जेक्सन दिएका थिए भन्ने निष्कर्षमा अधिकारीहरू पुगे। रोबर्टले जसमाथि पूर्ण भरोसा राखेका थिए तिनैबाट रोबर्टको हत्या भयो।
लिडिया अनि रोबर्ट दुवैले आफ्नो भरोसामाथिको साङ्घातिक प्रहारको पीडा सँगसँगै भयावह नतिजाहरू पनि भोगे। अन्य कतिपय घटनाका नतिजाहरू यति साह्रो गम्भीर हुँदैनन्। तथापि, आफूले भरोसा गरेको व्यक्तिबाट धोका पाउनु कुनै अस्वाभाविक अनुभव भने होइन। एउटा प्रमुख जर्मन सर्वेक्षण इन्स्टिच्युटले प्रकाशित गरेको १९९८-२००० अलेन्सबाकर जनमत वार्षिक पुस्तक-मा दिइएको रिपोर्टअनुसार उत्तरदाताहरूमध्ये ८६ प्रतिशतले आफूले भरोसा गरेको व्यक्तिबाट धोका पाएको कुरा बताए। सायद तपाईंले पनि यस्तै अनुभव गर्नुभएको हुन सक्छ। त्यसैले २००२ मा स्वीस अखबार नोइ जुरचिर जाइटुङ-ले “पश्चिमी औद्योगिक मुलुकहरूमा एक व्यक्तिले अर्कोमाथि राख्ने भरोसा खस्कँदै गएको दशकौं भइसक्यो” भन्ने रिपोर्ट दिंदा हामी छक्क पर्नु आवश्यक छैन।
बिस्तारै विकास हुने, छिनभरमै नष्ट हुने
भरोसा भनेको के हो? एउटा शब्दकोशअनुसार अरूलाई भरोसा गर्नुको अर्थ, ती व्यक्तिहरू इमानदार र निष्कपट छन् अनि तिनीहरूले जानाजानी तपाईंलाई चोट पुऱ्याउने कुनै पनि काम गर्नेछैनन् भनी ढुक्क हुनु हो। भरोसा बिस्तारै विकास हुन्छ तर यो छिनभर मै नष्ट हुन सक्छ। यति धेरै मानिसहरूले आफ्नो भरोसामाथि खेलवाड भएको महसुस गरिरहेको बेला अधिकांश मानिसहरू अरूमाथि भरोसा राख्न पछि हट्दा के छक्क पर्नु पर्छ र? सन् २००२ मा जर्मनीमा प्रकाशित एउटा सर्वेक्षणअनुसार “अरूमाथि भरोसा राख्ने युवाहरू ३ जना मध्ये १ जना पनि छैनन्।”।
हामी आफैलाई यी प्रश्नहरू सोध्न सक्छौं: ‘के हामी कसैलाई भरोसा गर्न सक्छौं? के धोका पाउने खतरा मोल्दै कुनै व्यक्तिमाथि भरोसा राख्नुको कुनै अर्थ छ?
[फुटनोट]
a नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
एउटा सर्वेक्षणमा उत्तरदाताहरूमध्ये ८६ प्रतिशतले आफूले भरोसा गरेको व्यक्तिबाट धोका पाएको कुरा बताए