के तपाईंलाई हरबखत बाइबलका आज्ञाहरू चाहिन्छ?
के तपाईंलाई हरबखत बाइबलका आज्ञाहरू चाहिन्छ?
तपाईं सानो छँदा तपाईंका आमाबाबुले तपाईंलाई धेरै नियमहरू दिएका हुन सक्छन्। जसै तपाईं हुर्कंदै जानुहुन्छ, ती नियमहरू उहाँहरूले तपाईंकै हितको लागि दिनुभएको रहेछ भनी तपाईंले बुझ्नुहुन्छ। वयस्क भएपछि तपाईं उहाँहरूको अधीनताबाट मुक्त हुनुभए तापनि सानैमा तपाईंको हृदयमा उहाँहरूले बसालिदिनुभएका केही सिद्धान्तहरूलाई सायद तपाईं अझै पछ्याउनुहुन्छ होला।
स्वर्गमा बस्नुहुने हाम्रो पिता यहोवाले हामीलाई आफ्नो वचन बाइबलमार्फत धेरैजसो आज्ञाहरू तोकेरै दिनुहुन्छ। उदाहरणका लागि, उहाँले मूर्तिपूजा, व्यभिचार, करणी र चोरीलाई मनाही गर्नुभएको छ। (प्रस्थान २०:१-१७; प्रेरित १५:२८, २९) जसै हामी आध्यात्मिक तवरमा “सबै कुरामा . . . बढदै” जान्छौं, यहोवा केवल हाम्रो हित चाहनुहुन्छ अनि उहाँका आज्ञाहरू हाम्रो लागि अनावश्यक बन्धन होइनन् भनी हामी बुझ्न थाल्छौं।—एफिसी ४:१५; यशैया ४८:१७, १८; ५४:१३.
तथापि, त्यस्ता धेरै परिस्थितिहरू छन् जसका लागि तोकेरै आज्ञाहरू दिइएका छैनन्। त्यसैले, कसै-कसैले सोच्छन्, कुनै खास परिस्थितिको लागि बाइबलले तोकेरै नियमहरू दिएको छैन भने आफूलाई जे मन लाग्छ त्यही गरे हुन्छ। तिनीहरू तर्क गर्छन्, यदि परमेश्वरले आवश्यक ठान्नुभएको भए तोकेरै आज्ञा दिइहाल्नुहुन्थ्यो नि!
यस्तो सोचाइ राख्नेहरूले अक्सर मूर्ख निर्णयहरू गर्छन् अनि पछि असाध्यै चुकचुकाउँछन्। बाइबल केवल नियमहरूको सँगालो होइन तर यसले परमेश्वरले सोच्ने तौरतरिकालाई पनि झल्काउँछ भन्ने कुरा बुझ्न तिनीहरू असफल हुन्छन्। जसै हामी बाइबल अध्ययन गर्दै जान्छौं अनि कामकुराबारे यहोवाको दृष्टिकोण बुझ्छौं, हामी बाइबल प्रशिक्षित अन्तस्करण विकास गर्छौं र उहाँले सोच्नुहुने तौरतरिका झल्काउने छनौटहरू गर्न मदत पाउँछौं। जब हामी यसो गर्छौं, हामी उहाँको हृदयलाई प्रसन्न तुल्याउँछौं र बुद्धिमान् निर्णयहरू गरेबापत प्राप्त हुने लाभहरू उठाउँछौं।—एफिसी ५:१.
उल्लेखनीय बाइबल उदाहरणहरू
जब हामी पुरातन समयमा परमेश्वरका सेवकहरूको बाइबल विवरण पढ्छौं, तोकेरै आज्ञा नदिइएका परिस्थितिहरूमा समेत तिनीहरूले यहोवाको सोचाइ के हो भनी विचार गरेको पाउँछौं। युसूफको उदाहरणलाई विचार गर्नुहोस्। तिनले अनैतिक सम्बन्ध राख्ने पोतीफरकी पत्नीको प्रस्ताव सामना गरिरहनुपरेको बेला व्यभिचार विरुद्ध परमेश्वरले कुनै लिखित नियम दिनुभएको थिएन। यद्यपि, तोकेरै दिएको नियम नहुँदासमेत युसूफले व्यभिचार आफ्नो अन्तस्करण विरुद्ध मात्र नभएर “परमेश्वरको विरुद्धमा” पाप हो भनेर बुझे। (उत्पत्ति ३९:९) स्पष्टतः व्यभिचार परमेश्वरको सोचाइ र इच्छा विपरितको काम हो भनेर युसूफले बुझे, जुन कुरा अदनको बगैंचामा व्यक्त गरिएको थियो।—उत्पत्ति २:२४.
अर्को उदाहरणलाई विचार गर्नुहोस्। प्रेरित १६:३ मा पावलले तिमोथीलाई मसीही यात्रामा आफूसित लैजानुअघि तिनको खतना गरेको कुरा हामी थाह पाउँछौं। यद्यपि, पद ४ मा पावल र तिमोथी “यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरूबाट तोकिएका विधिहरूको प्रतिपालन गर्नू” भन्ने आज्ञा सुनाउँदै शहर-शहर हुँदै गए भनी बताइएको पाउँछौं। ती आज्ञाहरूमा अबदेखि मसीहीहरूले खतना गर्नु आवश्यक छैन भन्ने निर्णय पनि समावेश थियो! (प्रेरित १५:५, ६, २८, २९) पावलले किन तिमोथीको खतना गर्नु आवश्यक ठाने? “किनकि [तिमोथीका] बाबु ग्रीक हुन् भन्ने [कुरा त्यहाँ बसोबास गर्ने सबै यहूदीहरूलाई] थाह थियो।” पावल कसैलाई अनावश्यक बाधा दिन चाहदैनथे। मसीहीहरूले ‘[आफूलाई] परमेश्वरको दृष्टिमा हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछन्’ भन्ने कुरामा पावल सचेत थिए।—२ कोरिन्थी ४:२, नयाँ संशोधित संस्करण; १ कोरिन्थी ९:१९-२३.
पावल र तिमोथीको हरेक कामकुराप्रति यस्तै सोचाइ हुने गर्थ्यो। रोमी १४:१५, २०, २१ र १ कोरिन्थी ८:९-१३; १०:२३-३३ का विवरणहरू पढ्नुहोस् र कुनै काम वास्तविक अर्थमा गलत नभए तापनि त्यस्तो कामले कुनै व्यक्तिलाई बाधा दिन सक्ने भएकोले विशेष गरेर यस्ता व्यक्तिहरूको आध्यात्मिक हितबारे पावल कत्ति सजग थिए भन्ने कुरा बुझ्नुहोस्। अनि पावलले तिमोथीको विषयमा यस्तो लेखे: “तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्छ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।” (फिलिप्पी २:२०-२२, नयाँ संशोधित संस्करण) यी दुई मसीही पुरुषहरूले आज हाम्रो लागि कस्तो राम्रो उदाहरण बसाले! तोकेरै दिइएको ईश्वरीय आज्ञा नहुँदा आफ्नै सुविधा अथवा रुचि खोज्नुको सट्टा तिनीहरूले आफ्नो व्यक्तिगत निर्णयले अरूको आध्यात्मिकतामा कसरी असर गर्न सक्छ भन्ने कुरालाई विचार गर्दै यहोवा र उहाँको पुत्रको प्रेमको अनुकरण गरे।
हाम्रो मुख्य उदाहरण येशू ख्रीष्टलाई विचार गर्नुहोस्। उहाँले दिनुभएको डाँडाको उपदेशमा उहाँले परमेश्वरको व्यवस्थाको मर्म बुझ्ने व्यक्तिले तोकेरै दिइएका अथवा निषेध गरिएका आज्ञाहरूको अलावा अरू पनि पालन गर्नेछन् भनी स्पष्ट पार्नुभयो। (मत्ती ५:२१, २२, २७, २८) न येशू, न पावल, न तिमोथी न त युसूफले नै तोकेरै दिइएका परमेश्वरका नियमहरू नहुँदा कुनै व्यक्तिले आफ्नो इच्छाअनुसार गर्न सक्छन् भन्ने तर्क गरे। परमेश्वरले सोच्ने तौरतरिकाहरूलाई ठम्याएर यी मानिसहरूले येशूले सबैभन्दा प्रमुख भनी तोक्नुभएका दुई सबैभन्दा ठूला आज्ञाहरूअनुसार जीवन बिताए—परमेश्वरलाई प्रेम गर्नु र आफ्ना छिमेकीलाई प्रेम गर्नु।—मत्ती २२:३६-४०.
वर्तमान समयका मसीहीहरूबारे नि?
हामीले बाइबललाई एक-एक आवश्यकताहरू स्पष्ट उल्लेख गरिएको कुनै कानुनी किताबको रूपमा हेर्नु हुँदैन भन्ने कुरा स्पष्ट छ। हामीले चाल्नुपर्ने कदमबारे तोकेरै नबताइएको अवस्थामा समेत उहाँको सोचाइ झल्किने कामकुरा गर्ने छनौट गर्दा हामी यहोवाको हृदयलाई अत्यन्तै प्रसन्न तुल्याउँछौं। अर्को शब्दमा भन्नुपर्दा सधैं परमेश्वरले तोकेरै दिनुभएका आज्ञाहरू खोज्नुभन्दा हामी ‘यहोवाको इच्छा के रहेछ भनी बुझ्न’ सक्छौं। (एफिसी ५:१७; रोमी १२:२) यसो गर्दा यहोवा किन खुसी हुनुहुन्छ? किनकि यसले हामी आफ्नो व्यक्तिगत रुचि र अधिकारभन्दा उहाँलाई खुसी तुल्याउन बढी सचेत छौं भन्ने कुरालाई स्पष्ट पार्छ। यसले देखाउँछ, हामी उहाँको प्रेमलाई त्यो हदसम्म मूल्यांकन गर्छौं कि आफूलाई उत्प्रेरित गर्ने शक्ति त्यही प्रेमलाई बनाउँदै त्यही प्रेमको अनुकरण गर्न चाहन्छौं। (हितोपदेश २३:१५; २७:११) यसको अतिरिक्त, धर्मशास्त्र अनुरूप कार्यहरू गर्दा यसले हाम्रो आध्यात्मिक र अक्सर शारीरिक सुस्वास्थ्यमा योगदान पुऱ्याउँछ।
व्यक्तिगत कामकुराहरूमा यो सिद्धान्तलाई कसरी लागू गर्न सकिन्छ आउनुहोस्, विचार गरौं।
मनोरञ्जनको छनौट
कुनै खास म्युजिक एल्बम किन्न चाहने एक जना जवान व्यक्तिको परिस्थितिलाई विचार गर्नुहोस्। उनलाई त्यो एल्बमका गीतहरू निकै आकर्षक लागेको छ तर उनी चिन्तित छन् किनकि एल्बम पछाडिको खोल हेर्दा गीतका शब्दहरू यौन अनैतिकता र अश्लीलताले भरिएका छन्। अनि उनलाई त्यस एल्बमका गायकले गाएका अधिकांश गीतमा रिस र क्रोधको भाव झल्किएको हुन्छ भनेर पनि थाह छ। यी
जवान मानिस यहोवालाई प्रेम गर्ने व्यक्ति भएकोले यस विषयमा यहोवाको सोचाइ र भावनाहरू बुझ्न उनी इच्छुक छन्। यस विषयमा यहोवाको इच्छा के हो, सो उनले कसरी बुझ्न सक्छन्?गलातीहरूलाई लेखेको आफ्नो पत्रमा प्रेरित पावल शरीरका काम र परमेश्वरका आत्माका फलहरू सूचिबद्ध गर्छन्। परमेश्वरका आत्माका फलहरूमा कुन-कुन समावेश छन्, सायद तपाईंलाई त्यो थाह छ: प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम। तर शरीरका कामहरूमा कस्ता गतिविधिहरू समावेश छन्? पावल यस्तो लेख्छन्: “शरीरका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्—व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु, र अघाड़िदेखि जनाउ दिएकै हुँ, जस जसले यसता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।”—गलाती ५:१९-२३.
यस सूचिमा दिएको सबैभन्दा अन्त्यको अभिव्यक्तिलाई ध्यान दिनुहोस्—“यस्तै अरू।” (छड्के अक्षर हाम्रो) पावलले शरीरका काम ठानिने सबै कार्यहरूको एक-एक सूचि दिएनन्। तर कुनै पनि व्यक्तिले यस्तो तर्क गर्न सक्दैन, ‘शरीरका कामबारे पावलले दिएको सूचिभित्र नपर्ने अरू कुनै पनि क्रियाकलाप गर्न मैले शास्त्रीय आधारमा छुट पाएको छु।’ बरु, सूचिमा नपरेका तर “यस्तै अरू” कुराहरू ठम्याउन पाठकहरूले आफ्नो ज्ञानेन्द्रिय शक्तिको प्रयोग गर्नुपर्थ्यो। उल्लेख नगरिएका तर “यस्तै अरू” गतिविधिहरूमा विनापश्चात्ताप लागिरहने कुनै पनि व्यक्ति परमेश्वरको राज्यका आशिष्हरूको हकवाला हुनेछैनन्।
त्यसैले, हामीले परमेश्वरको दृष्टिमा कुन-कुन कुराहरू अप्रिय छन्, सो बुझ्नु अथवा खुट्याउनु आवश्यक छ। के यसो गर्नु गाह्रो छ? मानिलिनुहोस्, तपाईंको डाक्टरले तपाईंलाई मिठाई, आइसक्रिम र यस्तै प्रकारका अन्य खानेकुराहरू नखाने तर फलफूल अनि तरकारीहरू बढी खाने सुझाव दिन्छन्। अब केक चाहिं खाने वर्गमा पर्छ या नखाने वर्गमा भनी छुट्याउन के तपाईंलाई गाह्रो पर्ला? अब फेरि एक चोटि परमेश्वरको आत्माका फलहरू र शरीरका कामहरूलाई ध्यान दिनुहोस्। माथि उल्लेख गरिएको म्युजिक एल्बम कुन वर्गमा पर्छ? यसले पक्कै पनि प्रेम, भलाइ, संयम अथवा परमेश्वरको आत्माका अन्य गुणहरूलाई झल्काउँदैन। यस किसिमको म्युजिक एल्बम परमेश्वरको सोच्ने तौरतरिका अनुरूप छैन भनेर बुझ्न कुनै पनि व्यक्तिलाई तोकेरै दिइएको नियम चाहिंदैन। पढ्ने विषयवस्तु, चलचित्र, टेलिभिजन कार्यक्रम, कम्प्युटर गेम, वेव साइट र यस्तै प्रकारका अन्य कुराहरूमा पनि यही सिद्धान्त लागू हुनेछ।
स्वीकार्य वेशभूषा
बाइबलले पहिरन र कोरीबाटीसित सम्बन्धित विषयहरूमा पनि सिद्धान्तहरू दिन्छ। यसले प्रत्येक मसीहीलाई उपयुक्त र सुहाउँदो वेशभूषा धारण गर्न उत्प्रेरित गर्छ। यहोवालाई प्रेम गर्ने व्यक्तिले यसलाई आफूलाई जे मनलाग्छ त्यही गर्ने होइन तर स्वर्गमा बस्नुहुने आफ्नो पितालाई प्रसन्न तुल्याउने मौका ठान्छन्। हामीले पहिल्यै बुझिसक्यौं, यहोवाले कुनै विषयमा तोकेरै नियमहरू दिनुभएको छैन भन्दैमा त्यस विषयमा आफ्ना जनहरूले जे गरेपनि उहाँ त्यसको पटक्कै वास्ता गर्नुहुन्न भन्ने होइन। ठाउँअनुसार स्टाइल फरक-फरक हुन्छन् र एउटै ठाउँमा समेत समय-समयमा स्टाइलहरू परिवर्तन भइरहन्छन्। यद्यपि, सधैं र जुनसुकै ठाउँमा पनि मार्गदर्शन गर्ने आधारभूत सिद्धान्तहरू परमेश्वरले दिनुहुन्छ।
उदाहरणका लागि १ तिमोथी २:९, १० ले यसो भन्छ: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। कपाल सिंगारेर बाटेका, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन। तर असल कामहरूद्वारा (जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।” त्यसैले, मसीही स्त्री र पुरुषले आफ्नो इलाकामा बस्ने मानिसहरूले परमेश्वरको “भक्ति गर्ने” मानिसहरूबाट कस्तो वेशभूषा पहिरेको आशा गर्छन्, त्यसलाई गम्भीरतासाथ विचार गर्नुपर्छ। विशेष गरेर एक जना मसीहीले आफ्नो पहिरनले आफूले बोकेको बाइबल सन्देशप्रति अरूलाई कस्तो धारणा राख्न लगाउँछ भनी विचार गर्नु उपयुक्त हुन्छ। (२ कोरिन्थी ६:३) एक जना उदाहरणीय मसीहीले आफ्ना रुचि र हकजस्तो लाग्ने कुराहरूलाई आवश्यकताभन्दा बढी ध्यान दिने छैनन् बरु अरूलाई बाधा नपुऱ्याउन अर्थात् अरूको ठक्करको कारण नबन्न उनी सधैं सचेत रहनेछन्।—मत्ती १८:६; फिलिप्पी १:१०.
१ कोरिन्थी ११:१) अनि येशूको विषयमा पावलले यस्तो लेखे: “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन।” पावलले सबै मसीहीहरूलाई सिकाउन खोजेको पाठ स्पष्ट छ: “अब हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन। हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नालाई खुश तुल्याउनुपर्छ।”—रोमी १५:१-३.
जब कुनै मसीहीले आफ्नो कुनै वेशभूषा अरूलाई अपमानजनक लागेको अथवा त्यसले अरूलाई बाधा पुगिरहेको छ भनी थाह पाउँछन्, त्यतिबेला उनले आफ्नो व्यक्तिगत रुचिलाई भन्दा अरूको आध्यात्मिक हितलाई ध्यानमा राख्दै प्रेरित पावलको अनुकरण गर्न सक्छन्। पावलले यस्तो लेखे: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई तिखार्ने
कुनै विषयमा उहाँले तोकेरै निर्देशनहरू नदिनुभएको भए तापनि त्यस विषयमा यहोवालाई कसरी खुसी राख्ने भनी पत्ता लगाउन हामी कसरी आफ्नो ज्ञानेन्द्रिय शक्तिको विकास गर्न सक्छौं? यदि हामी दिनहुँ उहाँको वचन पढ्छौं, यसलाई नियमित तवरमा अध्ययन गर्छौं र पढेका कुराहरूको मनन गर्छौं भने हामीले आफ्नो ज्ञानेन्द्रिय शक्ति विकास भइरहेको अनुभव गर्नेछौं। यस्तो वृद्धि तुरुन्तै हुँदैन। बच्चाको शारीरिक वृद्धि जस्तै आध्यात्मिक वृद्धि बिस्तारै हुन्छ र तुरुन्तै स्पष्टसित देखिंदैन। त्यसैले धैर्य गर्नु आवश्यक छ र यदि उन्नति तुरुन्तै नदेखिएमा हामी निराश हुनुहुँदैन। अर्कोतिर, लामो समय बित्दैमा ज्ञानेन्द्रिय शक्ति स्वतः तिखारिंदैन। माथि बताएझैं यी समयहरू परमेश्वरको वचनको नियमित अध्ययन गरेर बिताउनै पर्छ र यथाशक्य उक्त वचन अनुरूप जिउनै पर्छ।—हिब्रू ५:१४.
भनिन्छ, परमेश्वरले दिनुभएका नियमहरूले हाम्रो आज्ञाकारीताको जाँच गर्छ तर उहाँले दिनुभएका सिद्धान्तहरूले हाम्रो आध्यात्मिकताको गहिराइ र उहाँलाई खुसी राख्ने हाम्रो इच्छा जाँच्छ। जसै हामी आध्यात्मिक तवरमा बढ्दै जान्छौं, यहोवा र उहाँको पुत्रको अनुकरण गर्नुपर्ने कुरालाई झन् बढी जोड दिइरहनेछौं। धर्मशास्त्रले बताएझैं परमेश्वरको सोचाइअनुसार आफ्ना निर्णयहरू गर्न हामी तत्पर हुनेछौं। आफूले गर्ने सबै काममा स्वर्गमा बस्नुहुने हाम्रो पितालाई खुसी तुल्याउँदा हामीले आफ्नो आनन्द पनि बढिरहेको महसुस गर्नेछौं।
[पृष्ठ २३-मा भएका चित्रहरू]
लुगाफाटा लगाउने स्टाइल ठाउँअनुसार फरक-फरक हुन्छ, तर हाम्रा छनौटहरूलाई बाइबल सिद्धान्तले डोऱ्याउनुपर्छ