छलछामदेखि सावधान रहनुहोस्
छलछामदेखि सावधान रहनुहोस्
“होशियार बस, नत्रता कसैले . . . फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.
१-३. (क) दैनिक जीवनको प्रायः सबै पक्षमा छलछाम व्याप्त भएको कुरा कस्ता उदाहरणहरूले देखाउँछ? (ख) आज संसारमा व्याप्त छलछाम देखेर हामी किन छक्क पर्नु पर्दैन?
“तपाईंहरूमध्ये को हुनुहुन्छ होला, जसलाई आफ्नो ग्राहकले कहिल्यै झूट बोलेको छैन?” केही वर्षअघि कानुनका एक जना प्राध्यापकले यो प्रश्न सोधेर एउटा सर्वेक्षण गरेका थिए। जवाफ कस्तो थियो? तिनी भन्छन्: “हजारौं वकिलहरूमध्ये जम्मा एक जनालाई मात्र आफ्नो ग्राहकले कहिल्यै झूट बोलेको थिएन।” कारण? “ती वकिलले भर्खरै मात्र एउटा ठूलो व्यावसायिक कानुनी कार्यालयमा काम थालेका थिए र तिनले अहिलेसम्म कुनै पनि ग्राहकसँग कुरा गरिसकेका थिएनन्।” यो अनुभवले एउटा तीतो सत्यलाई प्रकाश पार्छ। त्यो हो, आजको संसारमा झूट बोल्नु र छलछाम गर्नु सामान्य भइसकेको छ।
२ छलछाम विभिन्न रूपमा देखापर्छ र यो आधुनिक जीवनको प्रायः सबै पक्षमा व्याप्त छ। सञ्चारजगत्मा यसका प्रशस्त रिपोर्टहरू पाइन्छन्, केहीको नाउँ लिनुपर्दा जस्तै, राजनीतिज्ञहरूले आफ्नो कामबारे झूट बोलेको, लेखापाल तथा वकिलहरूले कम्पनीको नाफाबारे बढाइचढाइ गरेको, विज्ञापकहरूले ग्राहकहरूलाई झुक्याएको, मुद्दावालले बिमा कम्पनीहरूलाई ठगेको। अनि धार्मिक छलछाम पनि छ। पादरीहरूले अमर आत्मा, नरक र त्रिएक जस्ता झूटा शिक्षाहरू सिकाएर आम जनतालाई बहकाउँछन्।—२ तिमोथी ४:३, ४.
३ के हामी यी सबै छलछाम देखेर छक्क पर्नुपर्छ? अहँ, पर्दैन। “आखिरी दिन[को]” सन्दर्भमा बाइबलले यस्तो चेतावनी दियो: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१, १३) मसीही भएको नाताले हामी आफूलाई सत्यदेखि अलग्याउन सक्ने झूटा विचारहरू विरुद्ध सजग हुनुपर्छ। दुइटा प्रश्न स्वतः खडा हुन्छ: आजकल छलछाम किन यतिबिघ्न व्याप्त भएको र हामी छकिनदेखि कसरी सावधान रहन सक्छौं?
आज किन यतिबिघ्न छलछाम?
४. बाइबलले संसारमा छलछाम व्याप्त हुनुको कारण कसरी बताउँछ?
४ संसारमा छलछाम यत्तिको बिगबिगी हुनुको कारण बाइबलले स्पष्टसित बताउँछ। प्रेरित यूहन्नाले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी लेखे। (१ यूहन्ना ५:१९) “त्यस दुष्ट” शैतान अर्थात् दियाबल हो। त्यो दुष्टबारे येशूले यसो भन्नुभयो: “त्यो ता . . . सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।” त्यसकारण के यस संसारले आफ्नो शासकको आत्मा, मूल्यमान्यता र छलछामले भरिएका गुणहरू प्रदर्शन गर्नु कुनै छक्कलाग्दो कुरा हो र?—यूहन्ना ८:४४; १४:३०; एफिसी २:१-३.
५. यस आखिरी दिनमा शैतानले कसरी आफ्ना छली प्रयासहरूलाई तीव्र पारेको छ र त्यसले विशेष गरी कसलाई आफ्नो तारो बनाएको छ?
५ यस आखिरी दिनमा शैतानले आफ्नो प्रयास अझ तीव्र बनाएको छ। त्यो पृथ्वी तलमा फ्याँकिएको छ। त्यसलाई आफ्नो समय अल्प छ भनी थाह भएकोले त्यो “ठूलो क्रोध[मा]” छ। आफू सँगसँगै सकेसम्म बढी मानिसलाई विनाशमा पुऱ्याउन कटिबद्ध भएको कारण त्यसले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रकाश १२:९, १२) शैतानले आकलझुकल मात्र छक्याउने गर्दैन। बरु, मानिसहरूलाई बहकाउन त्यो एकनासले लागिरहन्छ। a त्यसले अविश्वासीहरूको मन अन्धा तुल्याइदिएर परमेश्वरबाट तिनीहरूलाई अलग गर्न आफूसँग भएका सबै छली तरिकाहरू चलाउँछ र यी तरिकाहरूमध्ये भ्रम तथा विश्वासघात पनि एक हो। (२ कोरिन्थी ४:४) त्यो छक्याउनमा खप्पिस, विशेष गरी “आत्मा र सत्यतामा” परमेश्वरको उपासना गर्नेहरूलाई निल्न तल्लीन छ। (यूहन्ना ४:२४; १ पत्रुस ५:८) वास्तवमा शैतानले यस्तो दाबी गरेको छ भनेर कहिल्यै नबिर्सनुहोस्: ‘मैले जो कोहीलाई पनि परमेश्वरबाट अलग गर्न सक्छु।’ (अय्यूब १:९-१२) शैतानका छलपूर्ण “युक्तिहरू” र त्यस विरुद्ध कसरी सावधान रहने भन्नेबारे आउनुहोस् हामी विचार गरौं।—एफिसी ६:११.
धर्मत्यागीहरूको छलछामदेखि सावधान रहनुहोस्
६, ७. (क) धर्मत्यागीहरूले कस्तो दाबी गर्न सक्छन्? (ख) धर्मत्यागीहरूले चाहने कुराबारे धर्मशास्त्रले कसरी स्पष्टसँग देखाउँछ?
६ शैतानले परमेश्वरका सेवकहरूलाई बहकाउने प्रयासमा धर्मत्यागीहरूको प्रयोग गर्दै आएको धेरै भइसक्यो। (मत्ती १३:३६-३९) धर्मत्यागीहरूले यहोवाको उपासना गरेको र बाइबलमा विश्वास गरेको दाबी त गर्लान् तर तिनीहरूले उहाँको संगठनको दृश्य भागलाई तिरस्कार गर्छन्। कोही-कोही भने परमेश्वरको अनादर गर्ने “महान् बेबिलोन” अर्थात् झूटो धर्मको विश्व साम्राज्यको शिक्षाहरूमै फर्कन्छन्। (प्रकाश १७:५; २ पत्रुस २:१९-२२) ईश्वरीय प्रेरणा पाएर बाइबल लेखकहरूले धर्मत्यागीहरूका मनसाय तथा तरिकाहरू पर्दाफास गर्न कडा शब्दहरू प्रयोग गरे।
७ धर्मत्यागीहरू वास्तवमा के चाहन्छन्? तिनीहरूमध्ये प्रायजसो आफूले कुनै समय साँचो ठानेको विश्वास छोडेर मात्र चित्त बुझाउँदैनन्। अक्सर तिनीहरू आफूसँगसँगै अरूलाई पनि लैजान चाहन्छन्। आफै गएर चेलाहरू खोज्नुको सट्टा थुप्रै धर्मत्यागीहरू “चेलाहरूलाई [त्यसको मतलब, ख्रीष्टका चेलाहरू] आफ्ना पछिपछि लैजान” खोज्छन्। (प्रेरित २०:२९, ३०) झूटा शिक्षकहरूको सन्दर्भमा प्रेरित पावलले यस्तो अति महत्त्वपूर्ण चेतावनी दिए: “होशियार बस, नत्रता कसैले . . . तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८) थुप्रै धर्मत्यागीहरूले गर्न खोज्ने यस्तै होइन र? अपहरणकारीले सोझो व्यक्तिलाई तिनको परिवारबाट उठाएर लगेजस्तै धर्मत्यागीहरूले आफ्नो कुरा पत्याउने मण्डलीको सदस्यलाई बगालबाट उठाएर लैजाने प्रयास गर्छन्।
८. धर्मत्यागीहरूले आफ्नो उद्देश्य हासिल गर्न कस्ता तरिकाहरू अपनाउँछन्?
८ धर्मत्यागीहरूले आफ्नो उद्देश्य हासिल गर्न कस्ता तरिकाहरू अपनाउँछन्? तिनीहरू अक्सर कुरा बङ्ग्याउने, अर्धसत्य कुराहरू गर्ने र सरासर झूटको सहारा लिने गर्छन्। आफ्ना अनुयायीहरू विरुद्ध ‘हरेक किसिमको खराबी कुरा बोल्नेहरूको’ कारण तिनीहरू सिकार बन्नेछन् भनी येशूलाई थाह थियो। (मत्ती ५:११) त्यस्ता द्वेषपूर्ण विरोधीहरूले अरूलाई छकाउने हेतुले झूटा कुराहरू गर्छन्। “बनावटी कुराहरू” बोल्ने, “छली शिक्षाहरू” फैलाउने र आफ्नो स्वार्थको लागि ‘धर्मशास्त्रलाई बङ्ग्याउने’ धर्मत्यागीहरू विरुद्ध प्रेरित पत्रुसले चेतावनी दिए। (२ पत्रुस २:३, १३, NW; ३:१६) दुःखको कुरा, धर्मत्यागीहरू “कुनै कुनैका विश्वासलाई उल्टाइदि[न]” सफल हुन्छन्।—२ तिमोथी २:१८.
९, १०. (क) धर्मत्यागीहरूको छलको सिकार नहुन हामी कसरी सावधान रहन सक्छौं? (ख) परमेश्वरको उद्देश्यसम्बन्धी हाम्रो समझमा छाँटकाँट गर्नुपरे तापनि हामी किन विचलित हुँदैनौं?
९ धर्मत्यागीहरूको छलको सिकार हुनदेखि हामी कसरी सावधान रहन सक्छौं? परमेश्वरको वचनको सल्लाह पालन गरेर, जहाँ यसो भनिएको छ: “जुन शिक्षा तिमीहरूले पायौ त्यसको विपरीतमा फूट र ठेस लाग्ने कारण तुल्याउनेहरूमाथि नजर राख, र तिनीहरूबाट हट।” (रोमी १६:१७) हामीले तिनीहरूका तर्क, चाहे ती मौखिक, लिखित वा इन्टरनेटमा प्रस्तुत गरिएका होऊन्, त्यसलाई तिरस्कार गरेर ‘तिनीहरूबाट हट्नुपर्छ।’ हामी किन त्यस्तो अडान लिन्छौं? पहिलो कारण, परमेश्वरको वचनले हामीलाई त्यसो गर्ने निर्देशन दिन्छ र यहोवाले सधैं हाम्रो भलाइ चाहनुहुन्छ भन्ने कुरामा हामी भरोसा गर्छौं।—यशैया ४८:१७, १८.
१० दोस्रो, हामीलाई महान् बेबिलोनबाट सुस्पष्ट ढङ्गमा छुट्टयाउने अनमोल सत्यहरू सिकाउने संगठनलाई हामी प्रेम गर्छौं। साथै, परमेश्वरको उद्देश्यबारे हाम्रो ज्ञान सिद्ध छैन र वर्षौंको दौडान हाम्रो समझमा छाँटकाँटहरू भएका छन् भनी हामी स्वीकार्छौं। त्यस्ता सबै संशोधनहरूका लागि वफादार मसीहीहरू यहोवामा नै पर्खन खुसी छन्। (हितोपदेश ४:१८) त्यतिन्जेल, परमेश्वरले खुसीसाथ चलाइरहनुभएको संगठनलाई हामी त्याग्नेछैनौं किनभने यसमा उहाँको आशिष् भएको हामी स्पष्टसित देख्छौं।—प्रेरित ६:७; १ कोरिन्थी ३:६.
आत्म-छक्याइदेखि सावधान रहनुहोस्
११. मानवहरूको किन आफैलाई छक्याउने झुकाव हुन्छ?
११ असिद्ध मानवहरूको एउटा यस्तो झुकाव छ जसको फाइदा उठाउन शैतान एकदमै चलाख छ। त्यो हो, आत्म-छक्याइ। “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ” भनी यर्मिया १७:९ बताउँछ। अनि याकूबले यस्तो लेखे: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ।” (याकूब १:१४) हाम्रो हृदय लोभियो भने यसले पापी इच्छाहरूतर्फ मोहित पार्न सक्छ र त्यो आकर्षक र अहानिकारकसमेत देखिन सक्छ। त्यस्तो दृष्टिकोणले छक्याउँछ किनभने पापको वशमा पर्दा अन्ततः विनाशतर्फ डोऱ्याउँछ।—रोमी ८:६.
१२. हामी कुन तरिकामा आत्म-छक्याइको पासोमा पर्न सक्छौं?
१२ आत्म-छक्याइले हामीलाई सजिलै पासोमा पार्न सक्छ। छली हृदयले गम्भीर व्यक्तिगत त्रुटिलाई जायज ठहऱ्याउन वा गम्भीर पापको लागि बहाना बनाउन सक्छ। (१ शमूएल १५:१३-१५, २०, २१) हाम्रो छली हृदयले शङ्कास्पद आचरणलाई पनि जायज ठहऱ्याउने तरिकाहरू खोज्न सक्छ। उदाहरणका लागि, मनोरञ्जनको कुरालाई लिनुहोस्। केही मनोरञ्जन स्वास्थ्यकर र आनन्ददायी हुन्छन्। तथापि, यस संसारले प्रदान गर्ने मनोरञ्जन, जस्तै चलचित्र, टेलिभिजन कार्यक्रम र इन्टरनेट साइटहरू प्रायजसो छाडा र अनैतिक हुन्छन्। कुनै हानि नबेहोरिकन अलि निन्दनीय मनोरञ्जन हेर्नुमा कुनै आपत्ति छैन भनी आफूलाई विश्वस्त बनाउनु सजिलो छ। कसै-कसैले यस्तो तर्कसमेत गर्छन्, “यसले मेरो अन्तस्करणलाई कुनै धक्का पुऱ्याउँदैन भने के हुन्छ र?” तर त्यस्ता व्यक्तिविशेषहरूले गलत तर्क गरेर ‘आफैलाई धोका दिइरहेका छन्।’—याकूब १:२२.
१३, १४. (क) हाम्रो अन्तस्करण सधैं भरपर्दो हुँदैन भनी कुन धर्मशास्त्रीय उदाहरणले देखाउँछ? (ख) हामी आत्म-छक्याइदेखि कसरी सावधान रहन सक्छौं?
१३ आत्म-छक्याइ विरुद्ध हामी कसरी सावधान रहन सक्छौं? सर्वप्रथम, मानव अन्तस्करण सधैं भरपर्दो हुँदैन भनेर हामीले सम्झनुपर्छ। प्रेरित पावलको उदाहरणलाई लिनुहोस्। मसीही हुनुअघि तिनले ख्रीष्टका अनुयायीहरूलाई सताए। (प्रेरित ९:१, २) त्यतिबेला तिनको अन्तस्करणले तिनलाई घोचेको थिएन होला। स्पष्टतः यसले सही डोऱ्याइ पाएको थिएन। “मैले यो अजान र अविश्वासमा” गरें भनी पावलले बताए। (१ तिमोथी १:१३) त्यसैले कुनै खास मनोरञ्जनले हाम्रो अन्तस्करणलाई पिरोल्दैन भन्दैमा हाम्रो मार्ग सही छ भन्ने ग्यारेन्टी होइन। परमेश्वरको वचनद्वारा उचित ढङ्गमा प्रशिक्षित स्वस्थ अन्तस्करण मात्र भरपर्दो मार्गनिर्देशक हुन सक्छ।
१४ तपाईं आत्म-छक्याइदेखि होसियार रहने हो भने हामीले मनमा राख्नुपर्ने केही मदतकारी सुझावहरू छन्। आफैलाई प्रार्थनापूर्वक विश्लेषण गर्नुहोस्। (भजन २६:२; २ कोरिन्थी १३:५) इमानदार आत्म-विश्लेषणले तपाईंको दृष्टिकोण वा तौरतरिकामा केही परिवर्तनहरू गर्नुपर्ने छ भने तपाईंको आँखा खोलिदिन सक्छ। अरूको कुरा सुन्नुहोस्। (याकूब १:१९) आत्म-परीक्षण आत्मगत वा आफ्नो सोचाइको आधारमा गर्न सकिने भएकोले परिपक्व सँगी मसीहीहरूको वस्तुगत अथवा निष्पक्ष कुराहरू सुन्नु बुद्धिमानी हुन्छ। तपाईंका निर्णय वा कार्य अरू कुनै अनुभवी तथा सन्तुलित सँगी विश्वासीहरूको नजरमा शङ्कास्पद लाग्यो भने तपाईंले आफूलाई यस्तो प्रश्न गर्न सक्नुहुन्छ, ‘के मेरो अन्तस्करण राम्ररी प्रशिक्षित नभएको वा मेरो हृदयले मलाई छक्याइरहेको हुन सक्छ?’ बाइबल तथा बाइबल आधारित साहित्यहरूमा पाइने भोजन नियमित तवरमा लिनुहोस्। (भजन १:२) त्यसो गर्दा तपाईंले आफ्नो विचार, मनोभाव र भावनाहरूलाई ईश्वरीय सिद्धान्त अनुरूप राख्न मदत पाउनुहुनेछ।
शैतानका झूटहरूदेखि सावधान रहनुहोस्
१५, १६. (क) हामीलाई बहकाउने प्रयासमा शैतानले कस्ता झूटहरू चलाउँछ? (ख) हामी त्यस्ता झूटहरूबाट नबहकिन के गर्न सक्छौं?
१५ शैतानले हामीलाई छक्याउने प्रयासमा विभिन्न झूटहरू चलाउँछ। त्यसले भौतिक धन-सम्पत्तिले आनन्द र सन्तुष्टि ल्याउँछ भनी हामीलाई विश्वस्त गराउन खोज्छ तर अक्सर त्यसको ठीक विपरीत हुनेगर्छ। (उपदेशक ५:१०-१२) हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भन्ने सुस्पष्ट प्रमाणहरू भए तापनि यस दुष्ट संसार सधैंभरि रहिरहनेछ भन्ने सोचाइ राखोस् भन्ने त्यो चाहन्छ। (२ तिमोथी ३:१-५) मोजमस्तीको पछि लाग्नेहरूले अक्सर तीता नतिजाहरूको कटनी गरे तापनि शैतानले अनैतिक जीवन शैली बिताउनुमा केही हानि छैन भन्ने सोचाइलाई बढाउँछ। (गलाती ६:७) त्यस्ता झूटहरूबाट नबहकिन हामी के गर्न सक्छौं?
१६ बाइबलीय उदाहरणहरूबाट लाभ उठाउनुहोस्। शैतानका झूटहरूबाट बहकिएका व्यक्तिहरूका चेतावनीमूलक उदाहरणहरू बाइबलमा पाइन्छ। तिनीहरूले भौतिक कुराहरूलाई प्रेम गरे, आफू बाँचिरहेको समयको महत्त्वलाई बेवास्ता गरे वा आफूलाई अनैतिकताको वशमा पर्न दिए—ती सबैको परिणाम खराब भयो। (मत्ती १९:१६-२२; २४:३६-४२; लूका १६:१४; १ कोरिन्थी १०:८-११) आधुनिक समयका उदाहरणहरूबाट सिक्नुहोस्। दुःखको कुरा, केही मसीहीहरूले कहिलेकाहीं आफ्नो अविलम्बी भाव गुमाउँछन् र परमेश्वरलाई सेवा गरेर केही राम्रो कुरा गुमाइरहेका छौं भन्ने सोचाइ विकास गर्न थाल्छन्। तथाकथित आनन्ददायी जीवन बिताउनको लागि तिनीहरूले सच्चाइलाई त्याग्न सक्छन्। तथापि, त्यस्ता व्यक्तिहरू “चिप्ला ठाउँहरूमा” उभिरहेका छन् किनभने ढिलो होस् वा चाँडो, तिनीहरूले आफ्नो अभक्त आचरणको नतिजा अवश्य भोग्नेछन्। (भजन ७३:१८, १९) अरूको गल्तीबाट सिक्नु बुद्धिमानीको कुरा हुनेछ।—हितोपदेश २२:३.
१७. यहोवाले हामीलाई नता प्रेम गर्नुहुन्छ न मोल गर्नुहुन्छ भन्ने झूट शैतानले किन प्रवर्धन गर्छ?
१७ शैतानले अर्को एउटा झूट पनि प्रभावकारी ढङ्गमा चलाएको छ—त्यो हो, यहोवाले हामीलाई नता प्रेम गर्नुहुन्छ न हाम्रो मोल गर्नुहुन्छ भन्ने झूट। शैतानले असिद्ध मानिसहरूको अध्ययन गरेको हजारौं वर्ष भइसक्यो। निरुत्साहले हामीलाई कमजोर तुल्याउन सक्छ भनी त्यसलाई राम्ररी थाह छ। (हितोपदेश २४:१०) त्यसकारण परमेश्वरको नजरमा हामी मूल्यहीन छौं भन्ने झूटलाई त्यसले बढाउँछ। हामी “पिटिएका छौं” र यहोवाले हाम्रो चासो राख्नुहुन्न भनी विश्वस्त भएका छौं भने हामीलाई लत्तो छोडौं जस्तो लाग्न सक्छ। (२ कोरिन्थी ४:९) मानिसहरूलाई छक्याउन महा खप्पिस त्यो शैतानले खोजेको कुरा पनि त्यही हो! त्यसकारण हामी यस शैतानी झूटको बहकाउमा नपर्न कसरी सावधान रहन सक्छौं?
१८. यहोवाको प्रेमबारे बाइबलले हामीलाई कसरी आश्वासन दिन्छ?
१८ हामीप्रतिको परमेश्वरको प्रेमबारे बाइबल के भन्छ, त्यसमाथि व्यक्तिगत तवरमा मनन गर्नुहोस्। यहोवाले हाम्रो याद गर्नुहुन्छ र हामीलाई व्यक्तिगत रूपमा प्रेम गर्नुहुन्छ भनी आश्वासन दिन परमेश्वरको वचनले अत्यन्तै मन छुने केही जीवन्त दृष्टान्तहरू चलाउँछ। उहाँले तपाईंका आँसुहरू उहाँको “भाँडामा” हाल्नुहुन्छ, यसको अर्थ हो, विश्वासी रहने सङ्घर्ष गर्दा हामीले बगाएको आँसु उहाँले देख्नुका साथै सम्झनुहुन्छ। (भजन ५६:८) उहाँलाई तपाईंको ‘हृदय टुटेको’ बेला थाह हुन्छ र त्यस्तो बेला उहाँ तपाईंको नजिक हुनुहुन्छ। (भजन ३४:१८) उहाँलाई तपाईंबारे सबै कुरा थाह छ, उहाँले तपाईंका “शिरका केशहरू समेत” गन्ती गर्नुभएको छ। (मत्ती १०:२९-३१) सबैभन्दा महत्त्वपूर्ण त, तपाईंको खातिर परमेश्वरले “आफ्ना एकमात्र पुत्र” दिनुभयो। (यूहन्ना ३:१६; गलाती २:२०) यस्ता शास्त्रपदहरू तपाईंलाई व्यक्तिगत तवरमा लागू हुन्छ भनी विश्वास गर्न तपाईंलाई कहिलेकाहीं गाह्रो लाग्ला। तथापि, हामीले यहोवाको वचनमा विश्वास गर्नै पर्छ। उहाँले हामीलाई सामूहिक रूपमा मात्र होइन तर व्यक्तिगत तवरमा पनि प्रेम गर्नुहुन्छ भनी विश्वास गरेको उहाँ चाहनुहुन्छ।
१९, २०. (क) यहोवाले हामीलाई प्रेम गर्नुहुन्न भन्ने शैतानी झूट चिन्नु र त्यसलाई तिरस्कार गर्नु किन महत्त्वपूर्ण छ? (ख) मन भाँचिएकाहरूलाई एक जना परिभ्रमण निरीक्षकले कसरी मदत गरेका छन्?
१९ झूटलाई चिन्नुहोस् र त्यो तिरस्कार गर्नुहोस्। कसैले झूट बोल्दैछ भनेर तपाईंलाई थाह छ भने तपाईं बहकिनदेखि आफूलाई जोगाउन सक्नुहुन्छ। त्यसैले यहोवाले तपाईंलाई प्रेम गर्नुहुन्न भन्ने झूटो विश्वास गरेको शैतान चाहन्छ भनेर थाह पाउनु मात्र पनि तपाईंको लागि शक्तिशाली मदत हुन सक्छ। शैतानका युक्तिहरूबारे चेतावनी दिइएको प्रहरीधरहरा-को एउटा लेखको प्रतिक्रियामा एक जना मसीहीले यसो भनिन्: “मलाई निरुत्साहित पार्न शैतानले मेरा भावनाहरूलाई नै चलाउँछ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। यो कुरा थाह पाएपछि मैले यस्ता भावनाहरू विरुद्ध लड्न उत्प्रेरणा पाएकी छु।”
२० एउटा दक्षिण अमेरिकी देशको एक जना परिभ्रमण निरीक्षकको अनुभवलाई विचार गर्नुहोस्। निरुत्साहित भएका सँगी विश्वासीहरूलाई गोठालो रूपी भेटघाट गर्दा तिनी अक्सर यस्तो प्रश्न गर्छन्, ‘के तपाईं त्रिएकमा विश्वास गर्नुहुन्छ?’ निरुत्साहित व्यक्तिले त्यो शैतानको एउटा झूट हो भनेर बुझेकोले अक्सर यस्तो जवाफ दिन्छ, ‘कहाँ गर्नु, पटक्कै गर्दिनँ।’ परिभ्रमण प्राचीनले त्यसपछि यस्तो प्रश्न गर्छन्, ‘के तपाईं नरकको अग्निकुण्डमा विश्वास गर्नुहुन्छ?’ फेरि जवाफ आउँछ, ‘कहाँ गर्नु, पटक्कै गर्दिनँ!’ त्यसपछि तिनले अर्को पनि एउटा शैतानी झूट छ जुन अक्सर सजिलै चिन्न सकिंदैन भनी उनीहरूलाई बताउँछन्। अनि तिनले ड्र क्लोज टु जेहोभा b पुस्तकको पृष्ठ २४९, अनुच्छेद २१ तर्फ उनीहरूको ध्यान खिच्छन् जहाँ यहोवाले हामीलाई व्यक्तिगत रूपमा प्रेम गर्नुहुन्न भन्ने कुरा झूट हो भनी पर्दाफास गरिएको छ। निरुत्साहितहरूलाई यस शैतानी झूट चिन्न र यसलाई तिरस्कार गर्न यसरी मदत गर्दा सकारात्मक नतिजा भएको परिभ्रमण निरीक्षकले रिपोर्ट गर्छन्।
छलछामदेखि आफूलाई जोगाउनुहोस्
२१, २२. शैतानका छली युक्तिहरूको सन्दर्भमा हामी किन अन्धकारमा छैनौं र हाम्रो कस्तो सङ्कल्प हुनुपर्छ?
२१ आखिरी दिनको यस अन्तिम भागको दौडान शैतानले झूट तथा छलको ओइरो नै लगाउने अपेक्षा गर्न सकिन्छ। खुसीको कुरा, शैतानका छली युक्तिहरूको सन्दर्भमा यहोवाले हामीलाई अन्धकारमा छोड्नुभएको छैन। बाइबल तथा “विश्वासी र बुद्धिमान दास[को]” बाइबल आधारित प्रकाशनहरूले दियाबलका दुष्ट युक्तिहरूको खुलेआम पर्दाफास गर्छ। (मत्ती २४:४५) पहिल्यै थाह पायौं भने हामी त्यसको सामना गर्न तयार हुन सक्छौं।—२ कोरिन्थी २:११.
२२ त्यसकारण धर्मत्यागीहरूका तर्कहरूदेखि हामी सावधान रहौं। चालै नपाई आत्म-छक्याइको पासोमा पर्नदेखि जोगिने सङ्कल्प गरौं। अनि हामी शैतानका सबै झूटहरू चिनेर त्यसलाई तिरस्कार गरौं। त्यसो गर्दा हामीले छललाई घृणा गर्नुहुने “सत्य परमेश्वर[सँगको]” सम्बन्धलाई सुरक्षित राख्नेछौं।—भजन ३१:५; हितोपदेश ३:३२.
[फुटनोटहरू]
a न्यु वर्ल्ड ट्रान्सलेसन-अनुसार प्रकाश १२:९ मा “ठगिरहेको छ” भनी चलाइएको क्रियाको सन्दर्भमा एउटा सन्दर्भ पुस्तकअनुसार यसले “कुनै व्यक्तिको बानी नै बसिसकेको अटुट कार्यलाई बुझाउँछ।”
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
के तपाईं सम्झनुहुन्छ?
• आजको संसारमा किन छलछाम यतिबिघ्न व्याप्त छ?
• धर्मत्यागीहरूको छलको सिकार हुनदेखि हामी कसरी सावधान रहन सक्छौं?
• आत्म-छक्याइको झुकावदेखि हामी कसरी सावधान रहन सक्छौं?
• शैतानी झूटहरूबाट नबहकिन हामी के गर्न सक्छौं?
[प्रश्नहरू]
[पृष्ठ १७-मा भएको चित्र]
मनोरञ्जनको सन्दर्भमा आफूलाई नछक्याउनुहोस्
[पृष्ठ १८-मा भएका चित्रहरू]
आफैलाई छक्याउनदेखि सावधान रहन आफूलाई प्रार्थनापूर्वक विश्लेषण गर्नुहोस्, अरूको कुरा सुन्नुहोस् र नियमित तवरमा परमेश्वरको वचनमा पाइने भोजन लिनुहोस्