साँचो मसीहीधर्म फस्टाउँदैछ
साँचो मसीहीधर्म फस्टाउँदैछ
प्रथम शताब्दीमा येशू ख्रीष्टको सेवकाईले विश्व रङ्गमञ्चमा जोडदार असर पाऱ्यो। उहाँको सन्देश स्फूर्तिदायक, ज्योतिवर्धक अनि उत्प्रेरणादायी थियो जसले मानिसहरूलाई चकित तुल्यायो। उहाँले बोल्नुभएका हरेक शब्दले मानिसहरूको हृदयको गहिराइलाई छुन्थ्यो।—मत्ती ७:२८, २९.
येशूले निडर भई त्यतिबेलाका फरिसीहरूको उत्पीडित धार्मिक रीतिथिति तथा राजनैतिक प्रणालीहरूमा मुछिन इन्कार गर्नुभए तापनि सर्वसाधारण आफूकहाँ नहिचकिचाईकन आउन सक्ने वातावरण तयार पार्नुभयो। (मत्ती ११:२५-३०) उहाँले पृथ्वीमा दुष्ट आत्माहरूको व्यापक असर भएको कुरालाई खुल्लमखुल्ला मानिलिनुभयो अनि तिनीहरूमाथि ईश्वर-प्रदत्त शक्ति प्रदर्शन गर्नुभयो। (मत्ती ४:२-११, २४; यूहन्ना १४:३०) येशूले दुःख-कष्ट र पापबीचको आधारभूत सम्बन्धलाई कौशलतापूर्वक प्रस्ट पार्नुभयो अनि अनन्त शान्तिको स्रोत परमेश्वरको राज्य हो भनी मायालु ढङ्गमा औंल्याउनुभयो। (मर्कूस २:१-१२; लूका ११:२, १७-२३) आफ्नो पितासित व्यक्तिगत सम्बन्ध राख्न चाहने सबै इच्छुक व्यक्तिहरूलाई परमेश्वरको नाउँबारे बताउनुभएर अन्ततः धेरै लामो समयदेखि आफ्नो पिताको वास्तविक व्यक्तित्वलाई ढाकिरहेको अन्धकारको पर्दालाई उहाँले हटाइदिनुभयो।—यूहन्ना १७:६, २६.
त्यसैकारण तीव्र धार्मिक तथा राजनैतिक सतावटको बावजुद येशूका चेलाहरूले उहाँको सशक्त सन्देशलाई छिट्छिटो फैलाएकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन। लगभग ३० वर्षभित्रमा अफ्रिका, एसिया र युरोपमा सक्रिय मसीही मण्डलीहरू स्थापित भए। (कलस्सी १:२३) येशूले सिकाउनुभएको सरल सत्यले रोमी साम्राज्यभरि रहेका नम्र अनि निष्कपट हृदय भएका व्यक्तिहरूको हृदयलाई ज्योति प्रदान गऱ्यो।—एफिसी १:१७, १८.
यद्यपि, कसरी यस्तो भिन्न आर्थिक, सांस्कृतिक, भाषिक अनि धार्मिक पृष्ठभूमि भएका नयाँ चेलाहरूले प्रेरित पावलले भनेझैं “एउटै विश्वास[मा]” साँचो एकता हासिल गर्न सक्ने थिए? (एफिसी ४:५) नतर्किएर ‘एउटै कुरा बोलिरहन’ तिनीहरूलाई कुन कुराले मदत गर्ने थियो? (१ कोरिन्थी १:१०) आज मसीही भनौदाहरूबीच रहेको गम्भीर मतभिन्नतालाई हेर्दा वास्तवमा येशूले के सिकाउनुभएको थियो, सो हामीले जाँच्नुपर्छ।
मसीही एकताको आधार
पन्तियस पिलातससामु परीक्षाको सामना गर्नुपर्दा येशूले मसीही एकताको आधारबारे बताउनुभयो। उहाँले यसो भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ। सत्यको जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३७) त्यसैले येशूका शिक्षाहरू लगायत परमेश्वरको प्रेरित वचन बाइबलका बाँकी शिक्षाहरूलाई स्वीकार्नु नै ख्रीष्टका साँचो चेलाहरूलाई एकतामा बाँध्ने शक्तिशाली प्रभाव हो।—१ कोरिन्थी ४:६; २ तिमोथी ३:१६, १७.
निस्सन्देह, कहिलेकाहीं येशूका चेलाहरूबीच निष्कपट प्रश्नहरू अथवा मतभिन्नताहरू उठ्ने थियो। तिनीहरूलाई कुन कुराले मदत गर्ने थियो? येशूले यस्तो व्याख्या गर्नुभयो: “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ। किनभने उहाँ आफ्ना तर्फबाट बोल्नुहुनेछैन, तर जे जे उहाँले सुन्नुहुन्छ, ती बोल्नुहुनेछ, औ तिमीहरूलाई अब हुने कुराहरू घोषणा गर्नुहुनेछ।” (यूहन्ना १६:१२, १३) तसर्थ, परमेश्वरले सत्यलाई क्रमशः प्रकट गर्दै जानुहुँदा परमेश्वरको पवित्र आत्माले येशूका साँचो चेलाहरूलाई सत्य बुझ्न मदत गर्ने थियो। साथै, त्यस आत्माले प्रेम, आनन्द अनि शान्ति जस्ता फलहरू फलाउने थियो फलतः यसले तिनीहरूबीचको एकतालाई बढाउने थियो।—प्रेरित १५:२८; गलाती ५:२२, २३.
येशूले आफ्ना चेलाहरूबीच झै-झगडा अथवा विभाजनलाई कुनै ठाउँ दिनुभएन; न त तिनीहरूले भेट्ने मानिसहरूको सांस्कृतिक अथवा धार्मिक परम्पराअनुसार ईश्वरीय सत्यलाई बेग्लै ढङ्गले व्याख्या गर्ने अख्तियार नै दिनुभयो। बरु, तिनीहरूसित बिताउनुभएको अन्तिम रात उहाँले यसरी व्यग्र प्रार्थना गर्नुभयो: “म तिनीहरूका निम्ति मात्र बिन्ती गर्दिनँ, तर तिनीहरूका वचनद्वारा मलाई विश्वास गर्नेहरूका निम्ति पनि, र तिनीहरू सबै एक होऊन्, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा तिनीहरू पनि हामीमा होऊन्, र तपाईंलेनै मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।” (यूहन्ना १७:१९-२१) त्यसैले मसीही धर्म सुरु भएदेखि आज हाम्रो समयसम्म आत्मा र सत्यतामा आधारित साँचो एकता ख्रीष्टका चेलाहरूको विशेष चिनारी हुने थियो। (यूहन्ना ४:२३, २४) यद्यपि, आजका चर्चहरू एकताबद्ध नभई विभाजित छन्। किन यस्तो?
चर्चहरू किन विभाजित छन्
कुरा नलुकाईकन भन्ने हो भने आज मसीही भनौदाहरूबीच विश्वास तथा प्रचलनहरूमा यति धेरै भिन्नता हुनुको कारण तिनीहरूले येशूका शिक्षाहरूलाई नपछ्याउनु नै हो। एक जना लेखकले यसो भने: “विगतमा झैं आजका नयाँ इसाईहरूमा आफ्ना आवश्यकताहरूसित मेल खाने कुराहरूलाई बाइबलबाट ग्रहण गर्ने तर आफ्नो स्थानीय धार्मिक परम्परासित मेल नखाने कुरालाई इन्कार गर्ने प्रवृत्ति छ।” येशू अनि उहाँका चेलाहरूले ठीक यस्तै हुनेछ भनेर भविष्यवाणी गरेका थिए।
उदाहरणको लागि, परमेश्वरको प्रेरणा पाएर प्रेरित पावलले आफ्ना सँगी निरीक्षक तिमोथीलाई यस्तो लेखे: “किनकि यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थप्रो लगाउनेछन्, र जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्नेछन्, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्।” के सबै मसीहीहरू बहकिने थिए? थिएनन्। पावलले अझै यसो भने: “तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” (२ तिमोथी ४:३-५; लूका २१:८; प्रेरित २०:२९, ३०; २ पत्रुस २:१-३) तिमोथी तथा अन्य विश्वासी मसीहीहरूले उक्त प्रेरित सल्लाह अनुरूप जीवन बिताए।
साँचो मसीहीहरू अझै एकताबद्ध छन्
तिमोथी जस्तै आज साँचो मसीहीहरू मानवीय तर्कहरूलाई तिरस्कार गरेर अनि आफ्नो सैद्धान्तिक विश्वासहरूको लागि केवल धर्मशास्त्रीय अख्तियारलाई स्वीकारेर सचेत रहेका छन्। (कलस्सी २:८; १ यूहन्ना ४:१) प्रथम शताब्दीका मसीहीहरूको अनुकरण गर्दै यहोवाका साक्षीहरूले येशूको मूल सन्देश अर्थात् राज्यको सुसमाचार सबै ठाउँका मानिसहरूलाई सुनाएर २३० भन्दा धेरै मुलुकहरूमा आफ्नो सेवकाई पूरा गरिरेहका छन्। जहाँ बसे तापनि तिनीहरूले एकताबद्ध भई येशूको अनुकरण गर्ने तथा साँचो मसीही धर्म व्यवहारमा उतार्ने चार महत्त्वपूर्ण तरिकाहरूलाई विचार गर्नुहोस्।
तिनीहरूको विश्वास परमेश्वरको वचनमा आधारित छ। (यूहन्ना १७:१७) बेल्जियमको एउटा इलाकाका पादरीले यस्तो लेखे: “[यहोवाका साक्षीहरू]बाट हामीले सिक्न सक्ने एउटा कुरा, परमेश्वरको वचन सुन्ने तिनीहरूको इच्छुकता अनि यसबारे साक्षी दिने तिनीहरूको साहस हो।”
विश्वव्यापी समस्याहरूबाट मुक्तिको लागि तिनीहरू परमेश्वरको राज्यको मुख ताक्छन्। (लूका ८:१) कोलम्बियाको बारानक्विलामा एक जना साक्षीले राजनैतिक आन्दोलनका एक कट्टर समर्थक एन्टोनियोसित कुरा गरे। ती साक्षीले न त तिनको पक्ष लिए न त कुनै अन्य राजनैतिक विचारधाराको पक्षमा बोले। बरु, उनले एन्टोनियो तथा तिनका बहिनीहरूसित निःशुल्क बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। छिट्टै, एन्टोनियोले कोलम्बिया तथा विश्वको अन्य ठाउँमा रहेका गरिब मानिसहरूको लागि एक मात्र आशा परमेश्वरको राज्य नै हो भनेर बुझे।
तिनीहरूले परमेश्वरको नाउँको आदर गर्छन्। (मत्ती ६:९) जब यहोवाका साक्षीहरूले अष्ट्रेलियामा बसोबास गरिरहेका एक भक्त क्याथोलिक मारियालाई पहिलो पटक भेटे, तिनले साक्षीहरूलाई बाइबल खोलेर परमेश्वरको नाउँ तिनलाई देखाउनू भनिन्। तिनले कस्तो प्रतिक्रिया देखाइन्? “जब मैले बाइबलमा पहिलो पटक परमेश्वरको नाउँ देखें, तब म रोएँ। परमेश्वरको व्यक्तिगत नाउँ साँच्चै थाह पाउन सक्छु अनि प्रयोग गर्न सक्छु भन्ने कुरा जानेर मेरो मन छोयो।” मारियाले नियमित रूपमा बाइबल अध्ययन गरिरहिन् अनि जीवनमा पहिलो पटक तिनले यहोवालाई एक व्यक्तिको रूपमा चिनिन् र उहाँसित चिरस्थायी सम्बन्ध विकास गर्न सकिन्।
तिनीहरू प्रेमद्वारा एकताबद्ध छन्। (यूहन्ना १३:३४, ३५) क्यानाडाको लेडीस्मिथ-शेमाइनस क्रोनिकल नामक अखबारको एउटा सम्पादकीयले यस्तो टिप्पणी गऱ्यो: “तपाईंको आस्था जुनसुकै धर्ममा होस् तर तपाईंले क्यासिडिमा २५,००० वर्ग फुटको सम्मेलनभवन बनाउन गत साढे एक हप्ता दिनरात खट्ने ती ४,५०० यहोवाका साक्षीहरूको प्रशंसा नगरी धरै पाउनुहुन्न। . . . कुनै वादविवाद, मतभेद अथवा आफ्नो श्रेय नखोजी खुसीसाथ यसो गर्नु साँचो मसीही धर्मको चिनारी हो।”
तसर्थ, माथिका यी प्रमाणहरूलाई विचार गर्नुहोस्। एकातिर मसीहीजगत्का धर्मविज्ञानीहरू, मिसनरीहरू अनि चर्च धाउनेहरू भावी मतभेदको प्रबल सम्भावनासित जुझ्दै छन् भने अर्कोतिर साँचो मसीहीहरू विश्वव्यापी रूपमा फस्टाउँदै छन्। वास्तवमा साँचो मसीहीहरू आफूलाई खटाइएबमोजिम परमेश्वरको वचनको प्रचार गर्ने तथा सिकाउने सेवकाई पूरा गर्दै छन्। (मत्ती २४:१४; २८:१९, २०) यदि तपाईं पनि आज भइरहेको घृणित कुराहरूमा “शोक र विलाप गर्ने” अनि मसीहीजगत्को धर्ममा विद्यमान मतभिन्नताहरूबाट विचलित हुनुहुन्छ भने हामी तपाईंलाई एक मात्र साँचो परमेश्वरको एकताबद्ध मसीही उपासनामा यहोवाका साक्षीहरूसित सामेल हुन आमन्त्रित गर्छौं।—इजकिएल ९:४; यशैया २:२-४.