“प्रचारकको काम गर”
“प्रचारकको काम गर”
“सब कुराहरूमा सचेत होऊ, . . . प्रचारकको काम गर।”—२ तिमोथी ४:५.
१. येशूले आफ्ना अनुयायीहरूलाई कस्तो आदेश दिनुभयो?
यहोवाको नाउँ र उद्देश्य सारा संसारभरि घोषणा हुँदैछ। यसो हुनुको कारण के हो भने, येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई दिनुभएको यो आदेशलाई यहोवाका समर्पित जनहरूले गम्भीरतापूर्वक लिएका छन्: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.
२. निरीक्षक तिमोथीले कस्तो निर्देशन पाए अनि मसीही निरीक्षकहरूले आफ्नो सेवकाई पूरा गर्ने एउटा तरिका कुन हो?
२ येशूका प्रथम शताब्दीका चेलाहरूले उक्त आदेशलाई गम्भीरतापूर्वक लिए। जस्तै, प्रेरित पावलले आफ्ना सँगी मसीही निरीक्षक तिमोथीलाई यस्तो आग्रह गरे: “प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” (२ तिमोथी ४:५) आज, एक जना निरीक्षकले आफ्नो सेवा पूरा गर्ने एउटा तरिका, जोसिलो राज्य उद्घोषक भएर अर्थात् क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिएर हो। उदाहरणका लागि, मण्डली पुस्तक अध्ययन निरीक्षकले प्रचारकार्यमा नेतृत्व लिने तथा अरूलाई प्रशिक्षण दिने इनामदायी सुअवसर पाएका छन्। पावलले सुसमाचार घोषणा गर्ने आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गर्नुका साथै सेवकाईमा अरूलाई प्रशिक्षण दिन मदत गरे।—प्रेरित २०:२०; १ कोरिन्थी ९:१६, १७.
विगतका जोसिला प्रचारकहरू
३, ४. प्रचारकको हैसियतमा फिलिपसित कस्ता अनुभवहरू थिए?
३ प्रारम्भिक मसीहीहरू जोसिला उद्घोषकहरू भनेर चिनिन्थे। प्रचारक फिलिपलाई विचार गर्नुहोस्। यरूशलेमका ग्रीक-यहूदी र हिब्रू-यहूदी विधवाहरूलाई भेदभाव नगरी दैनिक भोजन वितरण गर्ने कामको लागि छानिएका “पवित्र आत्मा र बुद्धिले भरिएका, . . . सात जना” मानिसमध्ये फिलिप पनि थिए। (प्रेरित ६:१-६) त्यो विशेष काम सिद्धिएपछि सतावटका कारण प्रेरितहरूबाहेक सबै मसीहीहरू तितरबितर हुँदा फिलिप सामरियातिर गए। त्यहाँ तिनले सुसमाचार घोषणा गरे अनि भूतहरू निकाल्न, लङ्गडो तथा पक्षाघात भएका व्यक्तिहरूलाई निको पार्न पवित्र आत्माको शक्ति पाए। थुप्रै सामरीहरूले राज्यसन्देश स्वीकारे अनि बप्तिस्मा लिए। यसबारे सुनेपछि, भर्खरै बप्तिस्मा लिएका नयाँ सदस्यहरूले पवित्र आत्मा पाउन सकून् भनेर यरूशलेमका प्रेरितहरूले पत्रुस र यहून्नालाई सामरिया पठाए।—प्रेरित ८:४-१७.
४ त्यसपछि परमेश्वरको आत्माले फिलिपलाई गाजातर्फ जाने बाटोमा एथियोपियाली नपुंसकलाई भेट्न डोऱ्यायो। यशैयाको भविष्यवाणीबारे फिलिपले स्पष्टसित बुझाइसकेपछि यी “एथियोपिया देशको महारानी कन्दाकीका ठूला अख्तियारवाला[ले]” येशू ख्रीष्टमा विश्वास राखे र बप्तिस्मा लिए। (प्रेरित ८:२६-२८) त्यसपछि फिलिप अश्दोद अनि सिजरिया गए र बाटोका “सबै शहरहरूमा सुसमाचार सुनाउँदै गए।” (प्रेरित ८:३९, ४०) तिनले प्रचारकको काम गर्ने सन्दर्भमा साँच्चै असल उदाहरण बसाले!
५. फिलिपका छोरीहरू खास गरी केको लागि चिनिन्थे?
५ लगभग २० वर्षपछि पनि फिलिपले सिजरियामा सक्रियतासाथ सेवकाईमा भाग लिइरहेका थिए। पावल र लूका तिनको घरमा बस्दा “तिनका अगमवाणी बोल्ने चारवटी कन्ये-छोरीहरू थिए।” (प्रेरित २१:८-१०) स्पष्टतः तिनीहरूले आध्यात्मिक तवरमा राम्रो प्रशिक्षण पाएका थिए, तिनीहरूमा सेवकाईको लागि जोस थियो अनि तिनीहरूले भविष्यवाणी बोल्ने काममा भाग लिने समेत सुअवसर पाए। सेवकाईप्रति आमाबाबुको जोसले आज पनि छोराछोरीहरूमा राम्रो असर पार्न सक्छ, फलतः तिनीहरू जोसिलो प्रचारकार्यलाई आफ्नो जीवनको पेसा बनाउन समेत उत्प्रेरित हुन्छन्।
आजका जोसिला प्रचारकहरू
६. प्रथम शताब्दीका प्रचारकहरूले कस्तो सफलता पाए?
६ हाम्रो समय र अन्तको समयलाई औंल्याइएको महान् भविष्यवाणीमा येशू ख्रीष्टले यस्तो घोषणा गर्नुभयो: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) “सारा संसारमा” सुसमाचार प्रचार भइसकेपछि अन्त आउनेछ। (मत्ती २४:१४) पावल र प्रथम शताब्दीका अरू प्रचारकहरूले सुसमाचार प्रचार गरेपछि थुप्रैले विश्वास गरे अनि रोमी साम्राज्यभरि एकपछि अर्को गर्दै थुप्रै ठाउँहरूमा मण्डलीहरू स्थापना भए। यी मण्डलीहरूमा सेवा गर्न नियुक्त भएका प्राचीनहरूले भाइबहिनीहरूसँगै प्रचारकार्यमा भाग लिए अनि टाढा टाढासम्म प्रचार गतिविधिलाई फैलाए। त्यतिबेला यहोवाको वचन बढ्दै र प्रबल हुँदै गयो र आज पनि यस्तै भइरहेको छ किनभने यहोवाका लाखौं साक्षीहरूले प्रचारकको काम गरिरहेका छन्। (प्रेरित १९:२०) के तपाईं पनि यहोवाको एक जना आनन्दित प्रशंसक हुनुहुन्छ?
७. आज राज्य उद्घोषकहरूले के गरिरहेका छन्?
७ आधुनिक समयका थुप्रै राज्य उद्घोषकहरूले प्रचारकको काममा आफ्नो सहभागिता बढाउन विभिन्न मौकाहरूको सदुपयोग गरिरहेका छन्। मिसनरी क्षेत्रमा हजारौं लागेका छन्। हजारौंले नियमित तथा सहायक अग्रगामीहरूको हैसियतमा प्रचारको गतिविधिमा पूर्ण-समय भाग लिएका छन्। अनि जोसिला राज्य उद्घोषकहरूको हैसियतमा सेवा गर्ने पुरुष, स्त्री तथा केटाकेटीहरूले अत्यन्तै सराहनीय काम गरिरहेका छन्! निस्सन्देह, यहोवाका सबै जनहरूले मसीही प्रचारकहरूको हैसियतमा काँधमा काँध मिलाएर सेवा गर्दा उहाँको प्रचुर आशिष् पाइरहेका छन्।—सपन्याह ३:९.
८. अहिले चिह्न लगाउने कस्तो काम भइरहेको छ र यो काम कसले गरिरहेका छन्?
८ परमेश्वरले येशूका अभिषिक्त अनुयायीहरूलाई सारा संसारभरि सुसमाचार घोषणा गर्ने जिम्मेवारी सुम्पनुभएको छ। तिनीहरूलाई यो प्रचार गर्ने काममा ख्रीष्टका “अरू भेडा[को]” ठूलो संख्याले पनि साथ दिइरहेका छन्। (यूहन्ना १०:१६) भविष्यसूचक अर्थमा भन्ने हो भने, यो जीवनदायी कामलाई अहिले भइरहेका घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने मानिसहरूका निधारमा चिह्न लगाउने कामसित तुलना गरिएको छ। चाँडै, दुष्टहरूको विनाश हुनेछ। त्यो नहोउन्जेल पृथ्वीका बासिन्दाहरूलाई यो जीवनदायी सत्य पुऱ्याउन पाउनु साँच्चै ठूलो सुअवसर हो!—इजकिएल ९:४-६, ११.
९. नयाँ व्यक्तिहरूलाई सेवकाईमा कसरी मदत दिन सकिन्छ?
९ हामीले प्रचारकार्यमा भाग लिइरहेको केही समय भइसक्यो भने मण्डलीमा नयाँ व्यक्तिहरूलाई मदत गर्न हामी केही गर्न सक्छौं होला। कहिलेकाहीं हामी तिनीहरूलाई सेवकाईमा आफूसँगै लैजान सक्छौं। सँगी विश्वासीहरूलाई आध्यात्मिक तवरमा बढ्ने मदत दिन प्राचीनहरूको हैसियतमा सेवा गर्नेहरूलाई यथाशक्य प्रयास गर्न प्रोत्साहन दिइएको छ। नम्र निरीक्षकहरूको राम्रो प्रयासले अरूलाई पनि जोसिला तथा फलदायी प्रचारकहरू हुन निकै मदत गर्न सक्छ।—२ पत्रुस १:५-८.
घर-घरमा गएर साक्षी दिने
१०. ख्रीष्ट र उहाँका प्रारम्भिक अनुयायीहरूले सेवकाईमा कस्तो उदाहरण बसाले?
१० येशू ख्रीष्टले आफ्ना अनुयायीहरूका लागि प्रचारकको रूपमा उत्कृष्ट नमुना बसाल्नुभयो। ख्रीष्ट र उहाँका प्रेरितहरूको सेवकाईको सन्दर्भमा परमेश्वरको वचन यसो भन्छ: “उहाँ शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै हिंड़नुभयो, औ बाह्रैजना उहाँसँग थिए।” (लूका ८:१) प्रेरितहरू नि? सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा खन्याइएपछि “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रेरित ५:४२.
११. प्रेरित २०:२०, २१ अनुसार प्रेरित पावलले आफ्नो सेवकाईमा के गरे?
११ आफ्नो जोसिलो प्रचारकार्यले गर्दा प्रेरित पावलले एफिससका मसीही प्राचीनहरूलाई यसो भन्न सके: “कसरी तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, . . . म पछि हटिनँ।” पावलले ‘घर-घरमा सिकाइरहेको’ बेला के तिनी यहोवाका सँगी उपासकहरूको घरमा गएर विश्वासीहरूकहाँ गोठालोरूपी भेट गर्दै थिए? थिएनन् किनभने तिनी यसो भन्छन्: “यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत परमेश्वरतिरको पश्चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वासको साक्षी दिनालाई म पछि हटिनँ।” (प्रेरित २०:२०, २१) सामान्यतया, यहोवालाई समर्पण गरिसकेकाहरूलाई “परमेश्वरतिरको पश्चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वास[बारे]” निर्देशन चाहिंदैन। पावलले एफिससका मसीही प्राचीनहरूलाई घर-घरको सेवकाईमा प्रशिक्षण दिए भने अविश्वासीहरूलाई पश्चात्ताप र विश्वासबारे सिकाए। यसो गर्दा पावलले येशूले बसाल्नुभएको तरिका नक्कल गर्दै थिए।
१२, १३. फिलिप्पी १:७ अनुसार यहोवाका जनहरूले प्रचार गर्ने आफ्नो अधिकारको लागि के गरेका छन्?
१२ घर-घरको सेवकाई चुनौतीपूर्ण हुन सक्छ। उदाहरणका लागि, हामी बाइबलको सन्देश लिएर मानिसहरूको ढोकामा आउँदा कोही-कोही रिसाउँछन्। हामी मानिसहरूलाई रिस उठाउन चाहँदैनौं। यद्यपि, घर-घरको सेवकाई धर्मशास्त्रीय हो र परमेश्वर तथा छिमेकीप्रतिको प्रेमले हामीलाई यस्तो तरिकामा साक्षी दिन उत्प्रेरित गर्छ। (मर्कूस १२:२८-३१) घर-घरमा प्रचार गर्ने हाम्रो अधिकारको पक्षमा बोल्न र त्यसलाई कानुनी मान्यता दिन हाम्रा मुद्दाहरू अदालतसम्म, संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा समेत पेश गरेका छौं। (फिलिप्पी १:७) अनि प्रायजसो अवस्थामा अदालतले हाम्रै पक्षमा निर्णय सुनाएको छ। अदालतले सुनाएको फैसलाको एउटा नमुना तल दिइएको छ:
१३ “धार्मिक पर्चाहरूको हाते वितरण धेरै अघिदेखि गर्दै आएको मिसनरी प्रचारकार्य हो—यो मुद्रण छापाखानाहरूको इतिहास जत्तिकै पुरानो छ। वर्षौंको दौडान विभिन्न धार्मिक अभियानहरूको यो एउटा जोरदार शक्ति भएको छ। प्रचार गर्ने यो तरिका अहिले पनि प्रयोग गरिन्छ र विस्तृत तवरमा भने विभिन्न धार्मिक गुटहरूका कल्पोर्ट्योर अर्थात् पूर्ण-समय सेवकहरूले हजारौं घरमा सुसमाचार पुऱ्याउने काम गरिरहेका छन् अनि व्यक्ति गत तवरमै भेटेर आफ्नो विश्वासतर्फ जित्ने प्रयास गर्छन्। . . . यस्तो प्रकारको धार्मिक गतिविधिले [संयुक्त राज्य अमेरिकाको संविधानको] पहिलो संशोधनमा चर्चमा उपासना र मञ्चबाट प्रचार गर्नेले जस्तै महत्त्व पाएको छ।”—मर्डोक विरुद्ध पेन्सिल्भेनिया, १९४३.
किन प्रचार गरिरहने?
१४. हाम्रो सेवकाईको संयुक्त असर कस्तो हुन सक्छ?
१४ घर-घरमा गएर साक्षी दिनुपर्ने थुप्रै कारणहरू छन्। प्रत्येक पटक घरधनीलाई भेट्दा हामी धर्मशास्त्रीय सत्यको बीउ रोप्ने प्रयास गर्छौं। पुनःभेट गरेर हामी पानी हाल्न खोज्छौं। अनि यसबाट हुने संयुक्त असरबारे पावलले यसरी लेखे: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढ़ाउनुभयो।” (१ कोरिन्थी ३:६) त्यसकारण यहोवाले ‘बढाउनुहुनेछ’ भनी विश्वस्त हुँदै ‘रोप्ने र पानी हाल्ने’ काम गरिरहौं।
१५, १६. हामी किन बारम्बार मानिसहरूको घरमा गइरहन्छौं?
१५ हामी प्रचारकको काम गर्छौं किनभने मानिसहरूको जीवन खतरामा छ। प्रचार गरेर हामी आफ्नै र हाम्रो कुरा सुन्नेहरूको जीवन बचाउन सक्छौं। (१ तिमोथी ४:१६) कुनै मानिसको जीवन खतरामा छ भनेर थाह पायौं भने के हामी उसलाई मदत गरूँ कि नगरूँ जस्तो गर्छौं? कदापि गर्दैनौं! यसमा घरधनीको उद्धार मुछिएको हुँदा हामी मानिसहरूको घरमा बारम्बार जान्छौं। परिस्थिति परिवर्तन भइरहन्छ। कुनै बेला बाइबल सन्देश सुन्न फुर्सदै नभएको व्यक्ति अर्को पटक भने सुन्न उत्सुक हुन सक्छ। परिवारको अर्कै सदस्य ढोकामा भेटिन पनि सक्छ अनि त्यसले धर्मशास्त्रीय छलफलतर्फ डोऱ्याउन सक्छ।
१६ घरधनीहरूको परिस्थिति मात्र होइन तर मनोवृत्ति पनि परिवर्तन हुन सक्छ। उदाहरणका लागि, मृत्युको कारण आफ्नो प्रियजन गुमाउनुपर्दाको पीडाले गर्दा राज्यसन्देश सुन्न उत्प्रेरित गर्न सक्छ। हामी त्यस व्यक्तिलाई सान्त्वना दिन चाहन्छौं, तिनको आध्यात्मिक आवश्यकताबारे सजग बनाउन चाहन्छौं अनि यो कसरी पूरा गर्न सकिन्छ भनी देखाउन चाहन्छौं।—मत्ती ५:३, ४.
१७. हाम्रो प्रचारको गतिविधिको प्रमुख कारण के हो?
१७ घर-घरमा गएर साक्षी दिने वा मसीही सेवकाईको अन्य पक्षमा सहभागी हुने एउटा प्रमुख कारण, यहोवाको नाउँबारे थाह दिने काममा भाग लिने इच्छा हो। (प्रस्थान ९:१६; भजन ८३:१८, NW) हाम्रो प्रचारकार्यले सत्य तथा धार्मिकताका प्रेमीहरूलाई यहोवाका प्रशंसकहरू बन्न मदत गर्दा कस्तो इनामदायी हुन्छ! भजनहारले यस्तो भजन गाए, “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।”—भजन १४८:१२, १३.
प्रचारकार्यले हामीलाई व्यक्तिगत तवरमा लाभ पुऱ्याउँछ
१८. प्रचारकको काम गरेर हामी कसरी लाभ उठाउँछौं?
१८ प्रचारकको काम गर्दा विभिन्न तरिकामा हामीलाई व्यक्तिगत तवरमा लाभ हुन्छ। सुसमाचार लिएर घर-घरमा जाँदा हामीलाई नम्रता खेती गर्न मदत गर्छ, विशेष गरी जब हामीप्रति दयालु व्यवहार गरिंदैन। प्रभावकारी प्रचारकहरू हुन हामी पावलजस्तै हुनुपर्छ जो ‘कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति सबै कुरा भए।’ (१ कोरिन्थी ९:१९-२३) सेवकाईमा बटुलेका अनुभवले हामीलाई कुशल हुन मदत गर्छ। यहोवामा भर पर्नुका साथै उपयुक्त शब्दहरू छनौट गरेर हामी पावलको सल्लाह लागू गर्न सक्छौं: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।”—कलस्सी ४:६.
१९. प्रचारकहरूलाई पवित्र आत्माले कसरी मदत गर्छ?
१९ प्रचारकको कामले हामीलाई परमेश्वरको पवित्र आत्मामा भरोसा राख्न पनि उत्प्रेरित गर्छ। (जकरिया ४:६) अनि यसको फल “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” हाम्रो सेवकाईमा झल्कन्छ। (गलाती ५:२२, २३) यसले मानिसहरूसित हामीले गर्ने व्यवहारमा असर गर्छ किनभने आत्माको निर्देशनअनुसार चल्दा सुसमाचार घोषणा गर्ने काममा प्रेम देखाउन, आनन्दित र शान्तिमय हुन, धीरजी र दयालु हुन, भलाइ र विश्वास देखाउन अनि नम्रता र संयम झल्काउन मदत गर्छ।
२०, २१. प्रचारकको हैसियतमा व्यस्त रहँदा पाउने केही आशिष् तथा लाभहरू के-के हुन्?
२० प्रचारकको काम गर्दा हामीले पाउने अर्को आशिष् हो, हामी बढी सहानुभूतिशील हुन्छौं। मानिसहरूले रोगबिमार, बेरोजगारी र घरायसी टन्टाजस्ता समस्याहरूबारे बताउँदा हामी सल्लाहकार भइ टोपल्दैनौं तर हामी तिनीहरूलाई प्रोत्साहनदायी तथा सान्त्वनादायी शास्त्रपदहरू देखाउँछौं। हामी आध्यात्मिक तवरमा अन्धा भएका तर धार्मिकतालाई प्रेम गर्ने मानिसहरूको हामी चिन्ता गर्छौं। (२ कोरिन्थी ४:४) अनि “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[लाई]” आध्यात्मिक मदत दिन पाउनु कत्ति ठूलो आशिष् हो!—प्रेरित १३:४८.
२१ प्रचारकार्यमा नियमित सहभागिता हुँदा यसले हामीलाई आध्यात्मिक कुरामा आफ्नो मन केन्द्रित गर्न मदत गर्छ। (लूका ११:३४) त्यो साँच्चै लाभदायक हो नत्र भने हामी यस संसारमा व्याप्त भौतिकवादी प्रलोभनहरूमा फस्न सक्ने थियौं। प्रेरित यूहन्नाले मसीहीहरूलाई यस्तो आग्रह गरे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१५-१७) प्रभुको काममा प्रशस्त भएर प्रचारकको रूपमा व्यस्त रहँदा हामी यस संसारलाई प्रेम नगर्ने मदत पाउँछौं।—१ कोरिन्थी १५:५८.
स्वर्गमा धनसम्पत्ति थुपार्नुहोस्
२२, २३. (क) मसीही प्रचारकहरूले स्वर्गमा कस्तो सम्पत्ति थुपार्छन्? (ख) यसपछिको लेखले हामीलाई कस्तो मदत दिनेछ?
२२ जोसिलो राज्यप्रचार गतिविधिले चिरकालीन लाभ ल्याउँछ। येशूले यसबारे देखाउँदै यसो भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन। कारण जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।”—मत्ती ६:१९-२१.
२३ हामी स्वर्गमा धनसम्पत्ति थुपारिरहौं अनि उहाँका साक्षीहरूको हैसियतमा सार्वभौम प्रभु यहोवाको प्रतिनिधित्व गर्न पाउनुभन्दा ठूलो सुअवसर अरू कुनै हुन सक्दैन भनेर सजग रहिरहौं। (यशैया ४३:१०-१२) परमेश्वरका सेवकहरूको हैसियतमा आफ्नो काम पूरा गर्दै, परमेश्वरको सेवामा लामो जीवन बिताएर ९० वर्ष उमेर काटिसकेकी मसीही बहिनीले जस्तै हामी यसो भन्न सक्नेछौं: “यत्तिका वर्षसम्म मेरा कमी-कमजोरीहरूका बावजुद मलाई स्वीकार्नुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु र उहाँ सदाका लागि मेरो मायालु पिता रहिरहून् भनेर व्यग्र प्रार्थना गर्छु।” हामी पनि यसरी नै परमेश्वरसितको सम्बन्धलाई कदर गर्छौं भने प्रचारकको काम पूर्णतया गर्न चाहनेछौं। यसपछिको लेखले हामी आफ्नो सेवाको काम कसरी पूरा गर्न सक्छौं भनेर देखाउनेछ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• हामीले किन प्रचारकको काम गर्नुपर्छ?
• विगत र वर्तमानका प्रचारकहरूबारे तपाईं के भन्न सक्नुहुन्छ?
• हामी किन घर-घरमा गएर साक्षी दिन्छौं?
• प्रचारकको काम गरेर तपाईंले व्यक्तिगत तवरमा कसरी लाभ उठाउनुहुन्छ?
[प्रश्नहरू]
[पृष्ठ १०-मा भएका चित्रहरू]
फिलिप र तिनका छोरीहरूजस्ता आनन्दित प्रचारकहरू वर्तमान समयमा पनि छन्
[पृष्ठ १४-मा भएको चित्र]
अरूलाई सुसमाचार सुनाउँदा तपाईं कसरी व्यक्तिगत तवरमा लाभ उठाउनुहुन्छ?