वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी
वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी
“तिमीहरूको बूढ़ेसकालसम्म पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु।”—यशैया ४६:४.
१, २. स्वर्गमा हुनुहुने हाम्रा पिताको हेरचाह मानव आमाबाबुको हेरचाहभन्दा कसरी भिन्न छ?
समर्पित आमाबाबुले आफ्ना छोराछोरीलाई जन्मेदेखि बाल्यावस्था र किशोरावस्थासम्मै पालनपोषण गर्छन्। छोराछोरी वयस्क भएर आफ्नै घरपरिवार बसालिसक्दा समेत तिनीहरूका आमाबाबुले तिनीहरूलाई मायालु चासो र सहयोग दिइरहन्छन्।
२ मानिसहरूले आफ्ना छोराछोरीको लागि गर्न सक्ने कुराहरूको सीमा भए तापनि स्वर्गमा हुनुहुने हाम्रा पिता आफ्ना विश्वासी सेवकहरूलाई मायालु चासो र सहयोग दिन सदैव सक्षम हुनुहुन्छ। पुरातन समयमा आफ्ना छानिएका जनहरूलाई सम्बोधन गर्नुहुँदै यहोवाले यसो भन्नुभयो: “तिमीहरूको बूढ़ेसकालसम्म पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु।” (यशैया ४६:४) वृद्ध मसीहीहरूका लागि यी शब्दहरू कत्ति आश्वासनदायी छन्! यहोवाप्रति वफादार रहनेहरूलाई उहाँले त्याग्नुहुन्न। बरु, तिनीहरूको जीवनकालभरि, बुढेसकालसम्मै उहाँले सँभाल्ने, साथ दिने र अगुवा हुने प्रतिज्ञा गर्नुभएको छ।—भजन ४८:१४.
३. यस लेखमा कुन कुरा विचार गरिनेछ?
३ वृद्धहरूप्रति यहोवाको मायालु चासो हामी कसरी देखासिकी गर्न सक्छौं? (एफिसी ५:१, २) आउनुहोस्, छोराछोरी, मण्डलीका निरीक्षकहरू र प्रत्येक मसीहीहरूले हाम्रो विश्वव्यापी भ्रातृत्वका वृद्ध सदस्यहरूका आवश्यकताहरूको हेरचाह गर्न सक्ने केही तरिकाहरू विचार गरौं।
छोराछोरीको हैसियतमा हाम्रो जिम्मेवारी
४. आफ्ना आमाबाबुप्रति मसीही छोराछोरीको कस्तो जिम्मेवारी छ?
४ “आफ्नो बाबु र आमालाई आदर गर्।” (एफिसी ६:२; प्रस्थान २०:१२) हिब्रू धर्मशास्त्रबाट लिइएको यी सरल तर गहकिला शब्दहरूद्वारा प्रेरित पावलले छोराछोरीलाई आमाबाबुप्रति तिनीहरूको जिम्मेवारीबारे सम्झाए। तर यी शब्दहरू वृद्धहरूको हेरचाह गर्ने सन्दर्भमा कसरी लागू हुन्छन्? मसीहीपूर्व समयको एउटा हृदयस्पर्शी उदाहरणले हामीलाई यस प्रश्नको जवाफ दिन मदत गर्नेछ।
५. (क) यूसुफले एक जना छोराको कर्तव्य बिर्सेका थिएनन् भनी कुन कुराले सङ्केत गर्छ? (ख) हाम्रा आमाबाबुको आदर गर्नुको अर्थ के हो र यस सन्दर्भमा यूसुफले कस्तो राम्रो उदाहरण बसाले?
५ आफ्ना वृद्ध बुबा कुलपिता याकूबसँग २० वर्षभन्दा बढी समयसम्म यूसुफको कुनै सम्पर्क थिएन। तथापि, स्पष्टतः एक जना छोराको नाताले यूसुफले आफ्नो बुबा याकूबप्रतिको प्रेम सेलाउन दिएका थिएनन्। वास्तवमा भन्ने हो भने, यूसुफले आफ्ना दाइहरूलाई आफ्नो साँचो परिचय दिइसकेपछि तिनले यस्तो प्रश्न सोधे: “के मेरा बाबु जीवितै हुनुहुन्छ?” (उत्पत्ति ४३:७, २७; ४५:३) त्यतिबेला कनानको भूमि अनिकालले ग्रस्त थियो। त्यसकारण यूसुफले आफ्नो बुबालाई यस्तो समाचार पठाए: “कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। तपाईं गोशेन प्रदेशमा बसोबासो गर्नुहोला तपाईं . . . मेरो नजीकै [हुनुहुनेछ]। त्यहाँ म तपाईंको पालन-पोषण गर्नेछु।” (उत्पत्ति ४५:९-११; ४७:१२) हो, बूढाबूढी भइसकेका आमाबाबुको आदर गर्नुमा तिनीहरूको सुरक्षा गर्नु र तिनीहरू आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा हुँदा तिनीहरूको निम्ति भौतिक प्रबन्ध गर्नु समावेश छ। (१ शमूएल २२:१-४; यूहन्ना १९:२५-२७) यूसुफले खुसीसाथ यो जिम्मेवारी स्वीकारे।
६. यूसुफले आफ्नो बुबाप्रति साँचो माया कसरी देखाए र हामी कसरी तिनको उदाहरणको देखासिकी गर्न सक्छौं?
६ यहोवाको आशिष्ले यूसुफ मिश्रको सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूमध्ये एक भएका थिए। (उत्पत्ति ४१:४०) तर तिनले १३० वर्षका आफ्नो बुबाको आदर गर्न आफू असाध्यै ठूलो मान्छे भइसकेको वा अत्यन्तै व्यस्त ठानेनन्। याकूब (वा इस्राएल) नजिकै आइपुगिसकेका छन् भनी सुनेपछि “यूसुफले आफ्नो रथ तयार गरेर गोशेनसम्म आफ्ना बाबु इस्राएललाई भेट गर्न आए। अनि तिनलाई भेट गरेर याकूबको गलामा अङ्गालो हालेर उनकै गलामा धेरै बेरसम्म रोइरहे।” (उत्पत्ति ४६:२८, २९) यो स्वागत, आदर देखाउन औपचारिकता मात्र निभाएको पक्कै थिएन। यूसुफले आफ्ना वृद्ध बुबालाई असाध्यै माया गर्थे र तिनी आफ्नो माया देखाउन लजाएनन्। हाम्रा पनि बूढाबूढी भइसकेका आमाबाबु छन् भने के हामीले पनि त्यस्तै गरी तिनीहरूप्रतिको हाम्रो स्नेह कुनै कन्जुस्याइँ नगरी खुला मनले व्यक्त गरिरहेका छौं?
७. याकूबले किन कनानमै गाडिदेऊन् भन्ने इच्छा व्यक्त गरे?
७ यहोवाप्रति याकूबको भक्ति तिनको जीवनको अन्तसम्मै बलियो रह्यो। (हिब्रू ११:२१) ईश्वरीय प्रतिज्ञामा तिनको विश्वासको कारण याकूबले आफ्नो मृत शरीर कनानमै गाडिदिन आग्रह गरे। यसको लागि निकै खर्च र प्रयास गर्नुपर्ने भए तापनि तिनको आग्रहअनुसारै गरेर यूसुफले आफ्नो बुबाको आदर गरे।—उत्पत्ति ४७:२९-३१; ५०:७-१४.
८. (क) वृद्ध आमाबाबुको हेरचाह गर्नुमा हाम्रो मुख्य उत्प्रेरणा के हो? (ख) बूढाबूढी भइसकेका आफ्ना आमाबाबुको हेरचाह गर्नका लागि एक जना पूर्ण-समय सेवकले के गरे? (पृष्ठ १७ को पेटी हेर्नुहोस्।)
८ कुन कुराले यूसुफलाई आफ्नो बुबाको हेरचाह गर्न उत्प्रेरित गऱ्यो? आफूलाई जन्म दिने र पालनपोषण गर्नेप्रति माया र ऋणी महसुस गर्ने कारणहरू भए तापनि यहोवालाई प्रसन्न तुल्याउने उत्कट इच्छा पनि यूसुफसित पक्कै थियो। हामीमा पनि त्यस्तै इच्छा हुनुपर्छ। पावलले यस्तो लेखे: “कुनै विधवाका छोरा-छोरी अथवा नाति-नातिनीहरू छन् भने, पहिले तिनीहरूले आफ्नै परिवारमा दया देखाऊन् र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथी ५:४) साँच्चै, यहोवाप्रति प्रेम र श्रद्धेय भयले हामीलाई जस्तोसुकै चुनौतीहरू आइपरे तापनि बूढाबूढी भइसकेका आमाबाबुको हेरचाह गर्न उत्प्रेरित गर्नेछ। a
प्राचीनहरूले कसरी आफ्नो चासो देखाउँछन्
९. यहोवाले वृद्ध मसीहीहरू लगायत आफ्नो बगालको गोठालो गर्न कसलाई नियुक्त गर्नुभएको छ?
९ आफ्नो लामो जीवनको अन्ततिर याकूबले यहोवा, “[साँचो] परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोऱ्याउनुभयो,” भनी उल्लेख गरे। (उत्पत्ति ४८:१५) आज, यहोवाले आफ्नो पुत्र येशू ख्रीष्ट अर्थात् “मूल-गोठाला[को]” निर्देशनमा मसीही निरीक्षक वा प्राचीनहरू मार्फत आफ्ना पार्थिव सेवकहरूको गोठालो गर्नुहुन्छ। (१ पत्रुस ५:२-४) आफ्नो बगालका वृद्ध सदस्यहरूको हेरचाह गर्दा निरीक्षकहरूले कसरी यहोवाको देखासिकी गर्न सक्छन्?
१०. वृद्ध मसीहीहरूलाई भौतिक सहयोगको प्रबन्ध गर्न के गरिएको छ? (पृष्ठ १९ को पेटी हेर्नुहोस्।)
१० मसीही मण्डली स्थापना भएको थोरै समयपछि प्रेरितहरूले खाँचोमा परेका मसीही विधवाहरूलाई खाना बाँड्ने “दिनहुँ सेवा” निरीक्षण गर्न “पवित्र आत्मा र बुद्धिले भरिएका, . . . सात जना मानिस” छाने। (प्रेरित ६:१-६) पछि, पावलले निरीक्षक तिमोथीलाई उदाहरणीय वृद्ध विधवाहरूको नाउँ भौतिक सहयोग पाउन योग्यहरूको सूचीमा राख्ने निर्देशन दिए। (१ तिमोथी ५:३, ९, १०) त्यसरी नै आज पनि मण्डलीका निरीक्षकहरूले आवश्यक परेको बेला वृद्ध मसीहीहरूको मदतको लागि राजीखुसी प्रबन्ध मिलाउँछन्। तथापि, विश्वासी वृद्ध जनहरूको हेरचाहमा अझ बढी कुरा समावेश छ।
११. कम पैसा चढाउने गरिब विधवाबारे येशूले के भन्नुभयो?
११ आफ्नो पार्थिव सेवकाईको अन्ततिर येशू मन्दिरमा बस्नुभयो र “भीड़ले ढुकुटीमा पैसा चढ़ाएको हेर्नुभयो।” त्यति नै बेला एक जना मानिसमाथि उहाँको ध्यान पऱ्यो। विवरण यसो भन्छ: “एउटी गरीब विधवाले आएर दुइ माइट, अर्थात् आधा पैसा जति चढ़ाई।” येशूले आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, ढुकुटीमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ता चढाई। किनभने सबैले आफ्ना आफ्ना प्रशस्तताबाट चढ़ाए, तर यस चाहिंले ता आफ्नो अपुगबाट, त्यसको जो जत्ति थियो, अर्थात् आफ्नो सारा जीविकानै अर्पण गरी।” (मर्कूस १२:४१-४४) पैसाको मूल्य हिसाब गर्ने हो भने, विधवाले चढाएको रकम असाध्यै कम थियो तर तनमनले चढाएको भक्तिलाई स्वर्गमा हुनुहुने आफ्नो पिताले कत्तिको मूल्याङ्कन गर्नुहुन्छ भनी येशूलाई थाह थियो। गरिब विधवाको उमेर जतिसुकै भए तापनि येशूले तिनले गरेको कुरा बेवास्ता गर्नुभएन।
१२. वृद्ध मसीहीहरूले पुऱ्याएको योगदानको लागि प्राचीनहरूले कसरी आफ्नो मूल्याङ्कन देखाउन सक्छन्?
१२ येशूले जस्तै मसीही निरीक्षकहरूले पनि साँचो उपासनाको प्रवर्धन गर्न वृद्धहरूले गर्ने कुराहरूको बेवास्ता गर्दैनन्। प्राचीनहरूले वृद्धहरू सेवकाईमा भाग लिंदा, सभाहरूमा सहभागी हुँदा, मण्डलीमा सकारात्मक प्रभाव पार्दा र तिनीहरूको धीरजको लागि सराहना गर्नुपर्ने ठोस कारण छ। निष्कपटतासाथ दिइएको प्रोत्साहनका दुईचार शब्दले गर्दा वृद्धहरूले आफ्नो पवित्र सेवामा “गर्व गर्ने” कारण पाउन सक्छन् र यसरी तिनीहरू अरू मसीहीहरूको सेवासित वा विगतका आफ्ना उपलब्धिहरूसित अहिलेको सेवा तुलना गरेर निरुत्साहित हुनदेखि बच्न सक्छन्।—गलाती ६:४, नयाँ संशोधित संस्करण।
१३. प्राचीनहरूले कुन तरिकामा वृद्ध जनहरूको योग्यता तथा अनुभवबाट सिक्न सक्छन्?
१३ वृद्ध मसीहीहरूको अनुभव तथा योग्यताहरूबाट सिकेर प्राचीनहरूले तिनीहरूको बहुमूल्य योगदान मानिलिन सक्छन्। उदाहणीय वृद्ध जनहरूलाई कहिलेकाहीं प्रदर्शन वा अन्तरवार्ताहरूमा प्रयोग गर्न सकिन्छ। “छोराछोरीलाई सत्यमा हुर्काएका वृद्ध भाइ वा बहिनीको मैले अन्तरवार्ता लिंदा श्रोताहरू कान ठाडो पार्दै सुन्छन्” भनी एक जना प्राचीनले टिप्पणी गर्छन्। एक जना ७१ वर्षीया अग्रगामी बहिनीले राज्य प्रकाशकहरूलाई क्षेत्र सेवकाईमा नियमित हुन मदत गर्न सफल भएको कुरा अर्कै मण्डलीका एक जना प्राचीन बताउँछन्। उनले तिनीहरूलाई बाइबल र दैनिक पद पढेर ती मनन गर्नेजस्ता “आधारभूत कुराहरू” गर्न पनि प्रोत्साहन दिन्छिन्।
१४. एउटा प्राचीनहरूको निकायले एक जना वृद्ध सँगी निरीक्षकप्रति कसरी मूल्याङ्कन देखायो?
१४ प्राचीनहरूले वृद्ध सँगी निरीक्षकहरूका योगदान पनि बहुमूल्य ठान्छन्। सत्तरी वर्ष नाघिसकेका होसेले दशकौंसम्म प्राचीनको हैसियतमा सेवा गरिसकेका छन् र तिनको हालै एउटा ठूलो शल्यक्रिया गर्नुपऱ्यो। स्वास्थ्यलाभ गर्न लामो समय लाग्ने भएकोले तिनले मण्डलीको अध्यक्षको हैसियतमा सेवाको सुअवसर छोड्ने विचार गरे। होसे भन्छन्, “अन्य प्राचीनहरूको प्रतिक्रिया देखेर म छक्क परें। मेरो सुझाव स्वीकार्नुको सट्टा उनीहरूले मेरो जिम्मेवारी पूरा गरिरहनको लागि मलाई कस्तो व्यावहारिक मदत चाहिन्छ भनेर सोधे।” आफूभन्दा कम उमेरका प्राचीनको मदत पाएर होसेले मण्डलीको अध्यक्षको हैसियतमा सेवा गरिरहन सके र यो मण्डलीको लागि आशिष् साबित भएको छ। सँगी प्राचीन यसो भन्छन्: “प्राचीनको हैसियतमा होसेको सेवालाई भाइहरूले निकै मूल्याङ्कन गर्छन्। तिनको अनुभव तथा विश्वासको उदाहरणको लागि भाइहरूले माया र आदर गर्छन्। तिनले हाम्रो मण्डलीको शोभा बढाएका छन्।”
एकअर्काको हेरचाह गर्ने
१५. सबै मसीहीहरूले किन आफूमाझ भएका वृद्धहरूको हितबारे चासो राख्नुपर्छ?
१५ वृद्ध आमाबाबुका छोराछोरी र नियुक्त सेवकहरू मात्र वृद्धहरूको हेरचाहबारे चिन्तित हुनुपर्ने होइन। मसीही मण्डलीलाई मानव शरीरसित तुलना गर्दै प्रेरित पावलले यस्तो लेखे: “परमेश्वरले घटी भएको अङ्गलाई ज्यादै आदर दिएर शरीरलाई ठाक-ठुक्क मिलाइदिनुभएको छ। यसरी शरीरमा फूट नहोस्, तर अङ्गहरू एउटाले अर्कोको निम्ति एकै किसिमको वास्ता राखून।” (१ कोरिन्थी १२:२४, २५) मसीही मण्डली सुचारु रूपले चल्न प्रत्येक सदस्य, वृद्धहरू लगायत आफ्ना सँगी विश्वासीहरूको हितबारे चिन्तित हुनै पर्छ।—गलाती ६:२.
१६. मसीही सभाहरू धाउँदा हामीले वृद्धहरूप्रति कसरी चासो देखाउन सक्छौं?
१६ मसीही सभाहरूमा हामीले वृद्धहरूप्रति हाम्रो चासो देखाउने राम्रो मौका पाउँछौं। (फिलिप्पी २:४; हिब्रू १०:२४, २५) के हामी ती अवसरहरूमा वृद्ध जनहरूसित कुरा गर्न समय निकाल्छौं? तिनीहरूको स्वास्थ्यस्थितिबारे सोध्नु उपयुक्त हो तर के हामी प्रोत्साहनदायी अनुभव वा धर्मशास्त्रीय विचार बताएर “केही आत्मिक वरदान . . . दिन” सक्छौं? केही वृद्ध जनहरूलाई चलहल गर्न गाह्रो हुने भएकोले उनीहरू आफूकहाँ आऊन् भन्नुको सट्टा आफै गएर कुरा गर्नु दयालु हुनेछ। राम्ररी सुन्न सक्दैनन् भने हामीले शब्दहरू बिस्तारै स्पष्टसँग उच्चारण गरेर बोल्नुपर्ने हुन सक्छ। साँच्चै ‘एउटाले अर्कोलाई प्रोत्साहन’ दिने हो भने हामीले वृद्ध व्यक्तिको कुरा ध्यान दिएर सुन्नै पर्छ।—रोमी १:११, १२.
१७. घरमै कोचिएर बस्नुपर्ने वृद्ध मसीहीहरूप्रति हामी कसरी चासो देखाउन सक्छौं?
१७ कोही-कोही वृद्ध जनहरू मसीही सभाहरू धाउन सक्दैनन् भने नि? याकूब १:२७ ले “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह” गर्ने हाम्रो जिम्मेवारी हो भनी देखाउँछ। ‘हेरचाह गर्नु’ भनी अनुवाद गरिएको युनानी क्रियाको एउटा अर्थ ‘भेट्न जानु’ हो। (प्रेरित १५:३६) हामी भेट्न जाँदा वृद्धहरू कत्ति रमाइलो मान्छन्! सा.यु. ६५ तिर रोमको झ्यालखानामा पर्दा “बूढो” पावल साँच्चै एक्लो थिए। तिनले आफ्नो सहकर्मी तिमोथीलाई भेट्ने तीव्र चाह गरे र यस्तो लेखे: “मकहाँ चाँड़ै आउनालाई प्रयत्न गर।” (फिलेमोन ९; २ तिमोथी १:३, ४; ४:९) केही वृद्धहरू साँच्चै कैदी नभए तापनि तिनीहरू स्वास्थ्य समस्याको कारण घरमै कोचिएर बस्नुपर्ने हुन सक्छ। वास्तवमा तिनीहरूले यसो भनिराखेका हुन सक्छन्, ‘बिन्ती छ, मलाई चाँडै भेट्न आउनुहोस्।’ के हामीले त्यस्ता बिन्तीहरू सुनिरहेका छौं?
१८. हामी वृद्धहरूलाई भेट्न जाँदा कस्ता फाइदाहरू हुन सक्छन्?
१८ वृद्ध आध्यात्मिक भाइ वा बहिनीलाई भेट्न जाँदाको लाभकारी असरहरूलाई कहिल्यै हल्कासित नलिनुहोस्। ओन्सिफरस नाउँ गरेका मसीही रोममा छँदा उनले पावललाई धुइँधुइँती खोजे, भेट्टाए र ‘तिनलाई अक्सर हौसला दिन्थे।’ (२ तिमोथी १:१६, १७) एउटी वृद्ध बहिनी भन्छिन्, “मलाई जवानहरूसँग समय बिताउन मन लाग्छ। मलाई सबैभन्दा मनपर्ने कुरा के हो भने, तिनीहरूले मलाई आफ्नो परिवारको सदस्य जस्तै व्यवहार गर्छन्। यसले मेरो मनोबल बढाउँछ।” अर्की एउटी वृद्ध मसीही बहिनी भन्छिन्: “कसैले मलाई कार्ड पठाउँदा, केही मिनेट कुरा गर्न फोन गर्दा वा एकछिनको लागि मलाई भेट्न आउँदा म साँच्चै मूल्याङ्कन गर्छु। यो स्वच्छ हावा जस्तै स्फूर्तिदायी हुन्छ।”
अरूको हेरचाह गर्नेहरूलाई यहोवाले इनाम दिनुहुन्छ
१९. वृद्धहरूको हेरचाह गर्दा कस्ता आशिष्हरू पाउन सकिन्छ?
१९ वृद्ध जनहरूको हेरचाह गर्दा थुप्रै इनामहरू पाउन सकिन्छ। वृद्धहरूसित संगत गर्न पाउनु र तिनीहरूको ज्ञान र अनुभवहरूबाट सिक्नु स्वयम् एउटा सुअवसर हो। हेरचाह गर्नेहरूले अरूलाई दिंदा प्राप्त हुने ठूलो आनन्द अनुभव गर्छन् र त्यसको साथै धर्मशास्त्रीय जिम्मेवारी पूरा गर्दा केही उपलब्धि हासिल गरेको र आन्तरिक शान्ति अनुभव गर्छन्। (प्रेरित २०:३५) यसबाहेक, वृद्धहरूको हेरचाह गर्नेहरू आफू बुढेसकालमा अपहेलित हुनुपर्ला भनेर डराउनुपर्दैन। परमेश्वरको वचन हामीलाई यस्तो आश्वासन दिन्छ: “उदार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”—हितोपदेश ११:२५.
२०, २१. वृद्धहरूको हेरचाह गर्नेहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ र हाम्रो सङ्कल्प कस्तो हुनुपर्छ?
२० उदारचित्तले वृद्ध सँगी विश्वासीहरूको आवश्यकताहरू पूरा गर्ने ईश्वरभीरु छोराछोरी, निरीक्षक तथा अन्य मायालु मसीहीहरूलाई यहोवाले इनाम दिनुहुन्छ। त्यस्तो मनोभाव यस हितोपदेश अनुरूप छ: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितोपदेश १९:१७) प्रेमले हामीलाई तिरस्कृत तथा गरिबहरूप्रति निगाह देखाउन उत्प्रेरित गर्छ भने परमेश्वरले त्यसरी दिनुलाई सापटी दिएजस्तो ठान्नुहुन्छ र यसको प्रतिफल स्वरूप प्रशस्त आशिष् दिनहुन्छ। हाम्रा वृद्ध सँगी उपासकहरूको मायालु हेरचाह गरेकोमा पनि उहाँले प्रतिफल दिनुहुन्छ र तिनीहरूमध्ये थुप्रै ‘पृथ्वीका कङ्गाली तर विश्वासको खानी’ हुन्।—याकूब २:५.
२१ परमेश्वरले कत्ति उदारतासाथ प्रतिफल दिनुहुन्छ! यसमा अनन्त जीवन समावेश छ। यहोवाका अधिकांश सेवकहरूका लागि यसको अर्थ पार्थिव प्रमोदवनमा अनन्त जीवन हुनेछ जहाँ जन्मजात पापका असरहरू नामेट हुनेछन् र विश्वासी वृद्ध जनहरूले आफ्नो पुनर्स्थापित युवावस्थाको जाँगरको आनन्द उठाउनेछन्। (प्रकाश २१:३-५) हामी त्यस आशिषित् समयको प्रतीक्षा गर्दै वृद्धहरूको हेरचाह गर्ने हाम्रो मसीही जिम्मेवारी पूरा गरिरहौं।
[फुटनोट]
a वृद्ध आमाबाबुको कसरी हेरचाह गर्ने भनी व्यावहारिक सुझावहरूको लागि पारिवारिक आनन्दको रहस्य पुस्तकको अध्याय १५, पृष्ठ १७३-१८२ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• छोराछोरीले वृद्ध आमाबाबुको कसरी आदर गर्न सक्छन्?
• प्राचीनहरूले बगालका वृद्ध सदस्यहरूप्रति कसरी मूल्याङ्कन देखाउँछन्?
• वृद्धहरूप्रति आफ्नो साँचो चासो देखाउन प्रत्येक मसीहीहरूले के गर्न सक्छन्?
• वृद्ध मसीहीहरूको हेरचाह गर्दा कस्ता आशिष्हरू पाउन सकिन्छ?
[प्रश्नहरू]
[पृष्ठ १७-मा भएको पेटी]
जब तिनको आमाबाबुलाई मदत चाहियो
सन् १९९९ मा फिलिपले लाइबेरियामा स्वयम्सेवकको रूपमा निर्माणकार्यमा मदत गरिरहेको बेला तिनले आफ्नो बुबा सिकिस्त बिरामी भएको खबर पाए। आमाले एक्लै केही गर्न सक्नुहुन्न भनी राम्ररी थाह भएकोले तिनले आफ्नो बुबाको उपचारको व्यवस्था मिलाउन घर फर्कने निर्णय गरे।
फिलिप सम्झन्छन्: “फर्कन सजिलो त भएन तर मेरो पहिलो दायित्व आफ्ना आमाबाबुप्रति हो भन्ने लाग्यो।” त्यसपछिको तीन वर्षको दौडान तिनले उपयुक्त घर भेट्टाएर आफ्ना आमाबाबुलाई त्यहाँ सारे र स्थानीय सँगी मसीहीहरूको मदतले आफ्नो बुबाको विशेष आवश्यकतालाई ध्यानमा राखेर घरमा छाँटकाँट गरे।
फिलिपकी आमा अब आफ्नो श्रीमान्को गम्भीर स्वास्थ्य समस्यासित सामना गर्न सक्षम भएकी छिन्। हालै, फिलिपले यहोवाका साक्षीहरूको म्यासिडोनियामा रहेको शाखा कार्यालयमा स्वयम्सेवकको रूपमा काम गर्ने निमन्त्रणा स्वीकार्न सके।
[पृष्ठ १९-मा भएको पेटी]
तिनीहरूले उनका आवश्यकताहरूलाई बेवास्ता गरेका छैनन्
अस्ट्रेलियामा आडा नाउँ गरेकी ८५ वर्षीया मसीही आफ्नो खराब स्वास्थ्यस्थितिको कारण घरबाट निस्कन नसक्ने अवस्थामा पुग्दा मण्डलीका प्राचीनहरूले उनलाई मदत गर्ने प्रबन्ध मिलाए। तिनीहरूले उनलाई मदत गर्न सक्ने सँगी विश्वासीहरूको एउटा समूह बनाए। यी भाइबहिनीहरूले खुसीसाथ सफा गर्ने, धुने, पकाउने र विभिन्न चीजबीज तथा अन्य कुराको लागि बजार जाने जस्ता कामहरू गरिदिए।
यस्तो सहयोग झन्डै एक दशकअघि सुरु गरिएको थियो। अहिलेसम्म झन्डै ३० जना यहोवाका सँगी साक्षीहरूले आडाको हेरचाहमा मदत गरेका छन्। तिनीहरू अहिले पनि उनलाई भेट्न जान्छन्, बाइबल साहित्यहरूबाट पढेर सुनाउँछन्, मण्डलीमा भएकाहरूको आध्यात्मिक प्रगतिबारे बताउँछन् र नियमित रूपमा उनीसँगै प्रार्थना गर्छन्।
एक जना स्थानीय प्राचीनले यस्तो टिप्पणी गरे: “आडाको हेरचाह गर्नेहरूले उनलाई मदत गर्न पाउनु एउटा सुअवसर ठान्छन्। दशकौंको दौडान उनको सेवाबाट थुप्रै उत्प्रेरित भएका छन् र तिनीहरू उनका आवश्यकताहरूको बेवास्ता गर्ने कल्पनासमेत गर्न सक्दैनन्।”
[पृष्ठ १६-मा भएको चित्र]
के हामी वृद्ध आमाबाबुलाई आफ्नो स्नेहका भावनाहरू कुनै कन्जुस्याइँ नगरी खुला मनले व्यक्त गर्छौं?
[पृष्ठ १८-मा भएका चित्रहरू]
मण्डलीका सबैले वृद्ध सँगी विश्वासीहरूप्रति प्रेम प्रदर्शन गर्न सक्छन्