सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कालकोठरीदेखि स्वीस आल्प्स्‌सम्म

कालकोठरीदेखि स्वीस आल्प्स्‌सम्म

जीवनी

कालकोठरीदेखि स्वीस आल्प्स्‌सम्म

लोटार भाल्टरको वृत्तान्तमा आधारित

पूर्वी जर्मनीको कम्युनिष्ट जेलको कालकोठरीमा कोचिएर तीन वर्ष बिताइसकेपछि म स्वतन्त्र हुन र आफ्नो परिवारको न्यानो संगतिबाट आनन्द उठाउन साह्रै नै आतुर थिएँ।

तथापि, मेरो छ वर्षीय छोरा जोहानेसको अनुहारमा छाएको चकित मुद्राको लागि म मानसिक रूपमा तयार थिइनँ। उसले आफ्नो बुबालाई नदेखेको तीन वर्ष भइसकेको थियो। उसको लागि म पूर्णतया अपरिचित व्यक्‍ति थिएँ।

मेरो छोराले जस्तो नभई, सानो छँदा मैले आफ्ना आमाबुबाको खूब लाडप्यार पाएको थिएँ। सन्‌ १९२८ मा म जन्मेको ठाउँ, जर्मनीको केमनिट्‌स स्थित हाम्रो घरमा सौहार्दपूर्ण वातावरण थियो। मेरो बुबा धर्मप्रतिको आफ्नो असन्तुष्टि हाकाहाकी व्यक्‍त गर्नुहुन्थ्यो। प्रथम विश्‍वयुद्धको दौडान दुवैपट्टिका “मसीही” सेनाहरूले डिसेम्बर २५ मा “मेरी क्रिसमस” भनेर शुभकामना आदानप्रदान गरेको भोलिपल्ट नै एकअर्कालाई मार्ने काम सुरु गरिहाल्थे भनी उहाँ सम्झनुहुन्थ्यो। उहाँको लागि धर्म सबैभन्दा भ्रष्ट किसिमको कपट थियो।

भ्रमले गर्दा विश्‍वासले ठाउँ पाउँछ

खुसीको कुरा, म यस्तो भ्रममा रुमलिनु परेन। म १७ वर्षको छँदा दोस्रो विश्‍वयुद्ध टुङ्‌गियो र सेनामा भर्ती हुनबाट अलिकतिले बचें। तरैपनि, ‘यी सबै मारकाट किन भएको होला? म कसमाथि भरोसा गर्न सक्छु? साँचो सुरक्षा कहाँ पाउन सक्छु?’ जस्ता अन्योलपूर्ण प्रश्‍नहरूले गर्दा म व्याकुल थिएँ। हामी बसोबास गर्ने पूर्वी जर्मनी, सोभियतको नियन्त्रणमा पऱ्‍यो। युद्धले गर्दा लखतरान भइसकेकाहरूलाई न्याय, समानता, एकता र शान्तिमय सम्बन्धजस्ता कम्युनिष्ट विचारधारा मन पऱ्‍यो। यी निष्कपट मानिसहरूमध्ये धेरै जना डरलाग्दो भ्रममा पर्ने थिए—यस पटक भने, धर्मद्वारा नभई राजनीतिद्वारा।

अर्थपूर्ण जवाफको खोजीमा भौंतारिरहेकै बेला यहोवाको साक्षी हुनुभएकी मेरी ठूलीआमाले मलाई आफ्नो विश्‍वासबारे बताउनुभयो। उहाँले मलाई बाइबल-आधारित प्रकाशन दिनुभयो, जसले मलाई पहिलो चोटि मत्तीको पूरै २४ औं अध्याय पढ्‌न उत्प्रेरित गऱ्‍यो। त्यस पुस्तकमा दिइएको व्यावहारिक तथा चित्तबुझ्दा विवरणहरू पढेर म प्रभावित भएँ, जुन पुस्तकमा हामी बाँचिरहेको समयलाई “जगत्‌को अन्तको” रूपमा चिनाउनुका साथै मानिसजातिका समस्याहरूको प्रमुख कारणबारे बताइएको थियो।—मत्ती २४:३; प्रकाश १२:९.

चाँडै मैले यहोवाका साक्षीहरूको अरू प्रकाशनहरू पनि प्राप्त गरें र त्यसलाई उत्सुकतासाथ पढेपछि धुइँधुइँती खोजिरहेको सत्य पाएँ भनेर मैले बुझें। सन्‌ १९१४ मा येशू ख्रीष्ट स्वर्गको सिंहासनमा विराजमान भइसक्नुभएको छ र आज्ञाकारी मानिसजातिमाथि आशिष्‌ वर्षाउन उहाँले अब चाँडै नै अभक्‍त तत्त्वहरूलाई हटाउनुहुनेछ भन्‍ने कुरा थाह पाउँदा म निकै रोमाञ्चित भएँ। मेरो लागि अर्को अद्‌भुत कुरा भनेको छुडौतीबारे स्पष्ट ज्ञान थियो। यसले मलाई क्षमाको लागि बिन्ती गर्दै यहोवा परमेश्‍वरलाई हार्दिक प्रार्थना गर्न मदत गऱ्‍यो। याकूब ४:८ मा दिइएको मायालु निमन्त्रणाले मेरो मनै छोयो, जहाँ यसो भनिएको छ: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”

भर्खरै भेट्टाएको नयाँ विश्‍वासप्रति म निकै उत्साहित भए तापनि मेरा आमाबुबा तथा मेरी दिदीले मैले भनेको कुरा स्वीकार्न सुरुमा त हिचकिचाउनुभयो। तथापि, यसले गर्दा साक्षीहरूको एउटा सानो समूहद्वारा केमनिट्‌स नजिकै आयोजित मसीही सभाहरूमा उपस्थित हुने मेरो इच्छा सेलाएन। मेरा आमाबुबा र दिदी मसितै पहिलो सभामा जानुहुँदा म त छक्कै परें! त्यो सन्‌ १९४५/४६ को हिउँदको कुरा थियो। पछि, हामी बसोबास गर्ने ठाउँ, हारथाउमा एउटा बाइबल अध्ययन समूह गठन भएपछि मेरो परिवार नियमित रूपमा सभामा उपस्थित हुन थाल्यो।

“मता बच्चै छु”

महत्त्वपूर्ण बाइबल सत्य सिक्नुका साथै यहोवाका जनहरूसित नियमित रूपमा सरसंगत गरेको कारण म आफ्नो जीवन यहोवामा समर्पण गर्न उत्प्रेरित भएँ र मे २५, १९४६ मा मैले बप्तिस्मा लिएँ। मेरो परिवारका सदस्यहरूले पनि आध्यात्मिक तवरमा प्रगति गर्नुका साथै समयको दौडान तीनै जना विश्‍वासी साक्षी हुँदा म खुसीले गद्‌गद भएँ। मेरी दिदीले केमनिट्‌सको एउटा मण्डलीमा अझैपनि सक्रियतासाथ सेवा गरिरहनुभएको छ। क्रमशः १९६५ र १९८६ मा मृत्यु नहोउन्जेलसम्म मेरो आमा र बुबाले वफादार भई सेवा गर्नुभयो।

बप्तिस्मा लिएको छ महिनापछि मैले विशेष अग्रगामीको रूपमा सेवा गर्न थालें। यो मेरो लागि “समय र बेसमयमा” जीवनभर गर्ने सेवाको सुरुवात थियो। (२ तिमोथी ४:२) चाँडै सेवाका नयाँ सुअवसरहरू खोलिए। पूर्वी जर्मनीको दुर्गम क्षेत्रमा पूर्ण-समय प्रचारकहरूको आवश्‍यकता थियो। एक जना भाइ र मैले यस असाइनमेन्टको लागि आवेदन बुझायौं तर यस्तो गहन कार्यको लागि आफूसित अनुभव र परिपक्वता नभएको जस्तो लाग्यो। म १८ वर्षको मात्र भएकोले गर्दा मेरो सोचाइ पनि यर्मियाको जस्तै थियो: “हे . . . परमेश्‍वर, हेर्नुहोस्‌, मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” (यर्मिया १:६) मनमा शङ्‌का-उपशङ्‌काहरू भए तापनि जिम्मेवार भाइहरूले दयालुपूर्वक हामीलाई सेवा गर्न मौका दिने निर्णय गरे। यसरी हामीलाई ब्रान्डेनबर्ग राज्यको सानो सहर, बेल्जिकमा खटाइयो।

त्यस इलाकामा प्रचार गर्नु निकै चुनौतीपूर्ण थियो तर यसले मलाई अमूल्य प्रशिक्षण दियो। समयको अन्तरालमा, थुप्रै प्रतिष्ठित व्यापारी महिलाहरूले राज्यसन्देश स्वीकारे र यहोवाका साक्षीहरू भए। तथापि, यहोवाका साक्षीहरूको हैसियतमा उनीहरूको आफ्नो अडान उक्‍त सानो ग्रामीण समुदायका मानिसहरूबीच जरा गाडेर बसेको प्रचलन तथा डरको ठीक विपरीत थियो। क्याथोलिक र प्रोटेस्टेन्ट पादरीहरूले हाम्रो चर्को विरोध गरे र प्रचारकार्यको सन्दर्भमा हामी विरुद्ध निन्दनीय आरोप-प्रत्यारोप लगाए। तर निर्देशन र सुरक्षाको लागि यहोवामा भरोसा गरेको कारण हामीले थुप्रै इच्छुक मानिसहरूलाई सत्य स्वीकार्न मदत गर्न सक्यौं।

असहिष्णुताको बादल मडारिन्छ

सन्‌ १९४८ मेरो लागि आशिष्‌ र अप्रत्याशित कठिनाइहरूको वर्ष थियो। सर्वप्रथम, मैले रूडोल्स्टाट, थुरिङगियामा अग्रगामी असाइनमेन्ट पाएँ। त्यहाँका थुप्रै विश्‍वासी भाइबहिनीहरूसित मेरो चिनापर्ची भयो र उहाँहरूसितको सरसंगतिबाट मैले निकै आनन्द उठाएँ। त्यसै वर्षको जुलाई महिनामा मैले अर्को ठूलो आशिष्‌ पाएँ। केमनिट्‌स मण्डलीका सभाहरूमा उपस्थित हुँदादेखि नै मैले चिनेको विश्‍वासी तथा सक्रिय जवान मसीही स्त्री एरीका ऊलमानसित मेरो बिहे भयो। हामी दुवै जनाले मेरो गृहनगर, हारातुमा अग्रगामी सेवा गऱ्‍यौं। तथापि, समयको दौडान स्वास्थ्य समस्या तथा अन्य कारणहरूले गर्दा एरीकाले पूर्ण-समय सेवालाई निरन्तरता दिन सकिनन्‌।

त्यतिखेर यहोवाका जनहरूलाई सजिलो थिएन। प्रचारकार्य छोड्‌न र पूर्ण-समय जागिर खान लगाउनको लागि केमनिट्‌सको श्रम विभागले मेरो खाद्य रासन कार्ड रद्द गरिदियो। राज्यबाट कानुनी मान्यता पाउन जिम्मेवार भाइहरूले मेरो मामिलालाई लिएर उजुर गरे। तर त्यसको सुनुवाइ भएन र जून २३, १९५० मा मलाई कि त जरिमाना तिर्न नभए ३० दिनको जेल सजाय काट्‌ने आदेश दिइयो। हामीले त्यस निर्णयको विरुद्धमा अपिल गऱ्‍यौं तर उच्च अदालतले उक्‍त अपिललाई अस्वीकार गरिदियो र मलाई जेल चलान गरियो।

त्यो घटना त आउन लागेको आँधीरूपी विरोध र दुःखकष्टको एउटा सङ्‌केत मात्र थियो। एक महिना पनि नबित्दै, सेप्टेम्बर १९५० मा सञ्चारमाध्यममा मानहानिको प्रचारप्रचार गरिसकेपछि कम्युनिष्ट शासनले हाम्रो गतिविधिमा प्रतिबन्ध लगायो। द्रुत गतिमा हाम्रो वृद्धि भएकोले र हाम्रो तटस्थ अडानको कारण हामीलाई धर्मको नाउँमा “शङ्‌कास्पद गतिविधि” सञ्चालन गर्ने वेस्ट अर्थात्‌ युरोप र अमेरिकाको गैर-कम्युनिष्ट मुलुकहरूको एउटा खतरनाक गुप्तचर एजेन्सीको सङ्‌ज्ञा दिइयो। प्रतिबन्ध लगाइएकै दिन म जेलमा छँदा मेरी पत्नीले घरमा जोहानेसलाई जन्म दिइन्‌। सुँडेनीले रोक्दा-रोक्दै पनि स्टेट सेक्युरिटी अफिसरहरू अर्थात्‌ सुरक्षा अधिकारीहरू हाम्रो अपार्टमेन्टमा घुसे र आफूले लगाएको अभियोगलाई प्रमाणित गर्न प्रमाणहरू खोज्न थाले। तर तिनीहरूले केही पनि भेट्टाएनन्‌। तरैपनि हाम्रो मण्डलीको जासुसी गर्नको लागि मान्छे छोड्‌न भने तिनीहरू पछि सफल भए। त्यसले गर्दा अक्टोबर १९५३ मा मलगायत सम्पूर्ण जिम्मेवार भाइहरू पक्राउ पऱ्‍यौं।

कालकोठरीमा

दोषी ठहराएर तीनदेखि छ वर्षसम्मको जेल सजाय पाइसकेपछि हामी ज्विकाऊको ओस्टस्टाइन कासलको चिसो कालकोठरीमा भएका थुप्रै भाइहरूसित बस्न थाल्यौं। त्यहाँको अवस्था अत्यन्तै नाजुक भए तापनि परिपक्व भाहरूसित सरसंगत गर्न पाउनु साँच्चै आनन्दको कुरा थियो। स्वतन्त्रताको कमी भए पनि आध्यात्मिक आहारको कमी भएन। सरकारले जति नै तुच्छ ठान्‍नुका साथै प्रतिबन्ध लगाए तापनि प्रहरीधरहरा पत्रिका जेलभित्र सुटुक्क भित्रिन्थ्यो र हामी बसेको कोठासम्म आइपुग्थ्यो! कसरी?

कोही-कोही भाइहरूलाई कोइलाखानीमा काम गर्न खटाइएको थियो, जहाँ उनीहरूको भेट जेल बाहिरका साक्षीहरूसित हुन्थ्यो र ती साक्षीहरूले नै भाइहरूलाई पत्रिकाहरू दिन्थे। त्यसपछि भाइहरूले ती पत्रिकाहरू लुकाइछिपाइ जेलभित्र ल्याउँथे र बडो चलाकीसाथ यो अति अपरिहार्य आध्यात्मिक आहार हामीकहाँसम्म पुऱ्‍याइन्थ्यो। यसरी यहोवाको हेरचाह र निर्देशन अनुभव गर्न पाउँदा म असाध्यै खुसी र प्रोत्साहित भएँ!

सन्‌ १९५४ को अन्तसम्ममा हामीलाई टोरगाउको कुख्यात जेलमा सारिसकिएको थियो। त्यस जेलमा भएका साक्षीहरू हामीलाई देखेर खुसी भए। त्यतिन्जेल पुरानो अंकका प्रहरीधरहरा-मा दिइएका कुराहरू सम्झेकै भरमा उनीहरू आध्यात्मिक तवरमा बलियो रहन सकेका थिए। उनीहरूले ताजा-ताजा आध्यात्मिक आहारको साह्रै नै तृष्णा गरेका थिए! अब ज्विकाऊमा अध्ययन गरेका महत्त्वपूर्ण कुराहरू उनीहरूलाई बताउने हाम्रो कर्तव्य थियो। तर दैनिक हिंडाइको दौडान एक-अर्कासित चुइँक्क बोल्न नपाइने भएपछि कसरी यसो गर्ने? यस्तो अवस्थामा कसरी चल्ने भन्‍ने सन्दर्भमा भाइहरूले हामीलाई अमूल्य सुझावहरू दिएका थिए र यहोवाको शक्‍तिशाली सुरक्षात्मक हातले हामीलाई डोऱ्‍यायो। यसले हामीलाई स्वतन्त्रता र मौका छँदै लगनशील भई बाइबल अध्ययन र मनन गर्नुको महत्त्वबारे सिकायो।

महत्त्वपूर्ण निर्णयहरू गर्ने समय

यहोवाको मदतद्वारा हामी स्थिर रहन सक्यौं। अचम्मको कुरा, हामीमध्ये थुप्रैलाई १९५६ को अन्तमा आममाफी दिइयो। जेलको ढोका खोलिंदा हामी कत्ति रमाएका थियौ भन्‍ने कुराको व्याख्या गरेर साध्य छैन! त्यतिन्जेल, मेरो छोरा छ वर्षको भइसकेको थियो र पत्नीलाई फेरि भेट्‌न र छोराको लालनपालन गर्ने काममा सघाउ पुऱ्‍याउन पाउँदा हर्षले मेरो मनै चुमेको थियो। केही समयसम्म त जोहानेसले मलाई अपरिचित व्यक्‍ति सरह व्यवहार गऱ्‍यो तर चाँडै हामीबीच आत्मीय सम्बन्ध गाँसियो।

पूर्वी जर्मनीका यहोवाका साक्षीहरू अत्यन्तै कठिन समयबाट गुज्रिरहेका थिए। हाम्रो मसीही सेवकाई विरुद्ध उर्लंदो वैमनस्यता र हाम्रो तटस्थ अडानको कारण हामी डरै-डरमा बाँच्नुपरेको थियो। साँच्चै भन्‍ने हो भने, हाम्रो जीवन डर, चिन्ता र हैरानीले पिरोलिएको थियो। त्यसैकारण, एरीका र मैले हाम्रो अवस्थालाई होसियारीसाथ र प्रार्थनापूर्वक केलाएर हेर्नुपऱ्‍यो र चिन्ताले नपिरोलिनको लागि अनुकूल परिस्थितिमाझ बस्न अन्त कतै सर्नुपर्ने खाँचो महसुस गऱ्‍यौं। यहोवाको सेवा गर्न र आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहन हामी स्वतन्त्रता चाहन्थ्यौं।

सन्‌ १९५७ को वसन्तऋतुमा, पश्‍चिमी जर्मनीको स्टट्‌गार्टमा बसाइँ सर्ने सुअवसर मिल्यो। त्यहाँ प्रचारकार्यमा प्रतिबन्ध लगाइएको थिएन र हाम्रा भाइहरूसित खुल्लमखुल्ला सरसंगत गर्न सक्थ्यौं। ती भाइहरूले मायालुपूर्वक धेरै नै सहयोग गरे। हिडेलफिङ्‌गेनको मण्डलीमा हामीले सात वर्ष बितायौं। ती वर्षहरूको दौडान हाम्रो छोरा स्कूल जान थाल्यो र सच्चाइमा पनि राम्रो प्रगति गऱ्‍यो। सन्‌ १९६२ को सेप्टेम्बर महिनामा मैले वाइसबाडेनमा आयोजित राज्य सेवकाई स्कूलमा उपस्थित हुने विशेष सुअवसर पाएँ। त्यहाँ मलाई जर्मन भाषा बोल्ने बाइबल शिक्षकहरूको आवश्‍यकता परेको ठाउँमा आफ्नो परिवारसितै बसाइँ सर्न प्रोत्साहित गरियो। त्यसमा जर्मनी र स्वीजरल्याण्डका केही क्षेत्रहरू समावेश थिए।

स्वीस आल्प्स्‌मा

यसरी हामी १९६३ मा स्वीजरल्याण्ड बसाइँ सऱ्‍यौं। हामीलाई स्वीस आल्प्स्‌को मध्य भागमा अवस्थित सुन्दर ताल लुसर्न स्थित ब्रुननेनको एउटा सानो मण्डलीमा काम गर्ने निर्देशन दिइयो। हाम्रो लागि त्यो ठाउँ प्रमोदवन जत्तिकै थियो। त्यहाँ बोलिने जर्मनको क्षेत्रीय भाषा, स्थानीय जीवन शैली र मानिसहरूको मानसिकतासित हामी अभ्यस्त हुनुपरेको थियो। यद्यपि, शान्तिप्रिय मानिसहरूमाझ बसेर तिनीहरूलाई प्रचार गर्न पाउँदा हामीलाई रमाइलो लाग्थ्यो। ब्रुननेनमा हामीले १४ वर्ष बितायौं। त्यहीं हाम्रो छोरा पनि हुर्क्यो।

सन्‌ १९७७ मा म लगभग ५० वर्षको हुँदा हामीले तुन स्थित स्वीस बेथेलमा सेवा गर्ने निमन्त्रणा पायौं। हामीले यसलाई अप्रत्याशित सुअवसरको रूपमा हेऱ्‍यौं र मूल्याङ्‌कनले ओतप्रोत हुँदै यसलाई स्वीकाऱ्‍यौं। मेरी पत्नी र मैले बेथेलमा नौ वर्ष सेवा गऱ्‍यौं, जसलाई हामी हाम्रो मसीही जीवन र व्यक्‍तिगत आध्यात्मिक विकासको एउटा कोसेढुङ्‌गाको रूपमा सम्झन्छौं। स्थानीय प्रकाशकहरूसित मिलेर तुन तथा त्यसको आसपासका क्षेत्रहरूमा प्रचार गरेर पनि हामीले भरपूर आनन्द उठायौं। यसरी प्रचार गर्दा हामीले सधैं यहोवाका “आश्‍चर्यकामहरू” अर्थात्‌ बर्निस आल्प्स्‌मा भएको हिउँ ओढेका सानदार पहाडहरूलाई सधैं हेर्न पाउँथ्यौं।—भजन ९:१.

फेरि अर्को बसाइँ सराइ

सन्‌ १९८६ को प्रारम्भमा हामी फेरि अर्को ठाउँ बसाइँ सऱ्‍यौं। हामीलाई स्वीजरल्याण्डको पूर्वी भाग स्थित बुक्स मण्डलीलाई खटाइएको एकदमै ठूलो इलाकामा विशेष अग्रगामीहरूको रूपमा सेवा गर्न भनियो। फेरि पनि भिन्‍न जीवन शैलीअनुसार जिउन सिक्नुपर्ने भयो। तथापि, जहाँ हाम्रो राम्रो प्रयोग हुन सक्छ, त्यहाँ गएर यहोवाको सेवा गर्ने हाम्रो इच्छाद्वारा अभिप्रेरित भएको कारण उहाँको आशिष्‌ पाएर हामीले यो नयाँ असाइनमेन्ट पूरा गऱ्‍यौं। समय-समयमा मैले मण्डलीहरूमा भ्रमण गर्दै र प्रोत्साहन दिंदै कार्यकारी परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेको छु। अठार वर्ष बितिसक्यो र यस क्षेत्रमा प्रचार गरेर हामीले थुप्रै आनन्दमय अनुभवहरू बटुलेका छौं। बुक्सको मण्डलीमा निकै वृद्धि भएको छ र पाँच वर्षअगाडि समर्पित सुन्दर राज्यभवनमा हुने सभाहरूबाट हामी आनन्द उठाउँछौं।

हाम्रो हेरचाह गर्न यहोवाले कुनै कन्जुस्याइँ गर्नुभएको छैन। हामीले आफ्नो जीवनको अधिकांश समय पूर्ण-समय सेवकाईमा बितायौं तरैपनि हामीलाई कहिल्यै कुनै कुराको कमी भएन। हाम्रो छोरा, बुहारी र नातिनातिना अनि नातिनातिनाको परिवार पनि यहोवाको मार्गमा विश्‍वासीपूर्वक हिंडिरहेको देख्न पाउँदा हामी आनन्दित र सन्तुष्ट छौं।

विगतलाई फर्केर हेर्दा, “समय र बेसमयमा” हामीले साँच्चै यहोवाको सेवा गरेका छौं जस्तो लाग्छ। मसीही सेवकाईले मलाई कम्युनिष्ट जेलको कालकोठरीदेखि स्वीस आल्प्स्‌को मनै लोभ्याउने पहाडहरूसम्म पुऱ्‍याएको छ। मसीही सेवकाईमा लागेकोमा मेरो परिवार र मलाई अलिकति पनि पछुतो छैन।

[पृष्ठ २८-मा भएको पेटी]

“दोहोरो सिकार भएकाहरू” सतावट आइपर्दा दृढ रहन्छन्‌

इस्ट जर्मनीको नाउँले पनि चिनिने जर्मन डेमोक्य्राटिक रिपब्लिकअन्तर्गत (जीडीआर) यहोवाका साक्षीहरू क्रूर दमनको सिकार भए। रेकर्डले देखाएअनुसार ५,००० भन्दा बढी साक्षीहरूलाई मसीही सेवकाई र तटस्थताको कारण श्रम शिविर तथा बन्दीगृहहरूमा पठाइयो।—यशैया २:४.

यीमध्ये केही साक्षीहरूलाई “दोहोरो सिकार भएकाहरू” भनेर वर्णन गरिएको छ। तिनीहरूमध्ये ३२५ जना जतिलाई नाजी यातना शिविर तथा जेलमा थुनिसकिएको थियो। त्यसपछि १९५० को दशकमा स्टासी अर्थात्‌ जीडीआर-को राज्य सुरक्षा सेवाले उनीहरूको पिछा गऱ्‍यो र जेलमा थुन्यो। कोही-कोही त जेलमा दुई चोटि थुनिए, पहिला नाजी अनि दोस्रो चोटि चाहिं स्टासी कैदीहरूको रूपमा।

तीव्र सतावट आइपरेको पहिलो दशक, १९५० देखि १९६१ सम्ममा दुर्व्यवहार, कुपोषण, रोगबिमार अनि वृद्धावस्थाको कारण ६० जना पुरुष तथा स्त्री साक्षीहरूको त जेलमै मृत्यु भयो। बाह्र जना साक्षीलाई आजीवन कारावासको सजाय सुनाइयो, जसलाई पछि घटाएर १५ वर्ष बनाइयो।

आज बर्लिन स्थित भूतपूर्व स्टासी मुख्य कार्यालयहरूमा यहोवाका साक्षीहरूलाई पूर्वी जर्मनीमा ४० वर्षसम्म आधिकारिक रूपमा सतावट दिइएको कुरा प्रकाश पार्ने कुराहरू स्थायी रूपमा प्रदर्शन गरिएका छन्‌। त्यहाँ प्रदर्शन गरिएका तस्विर तथा व्यक्‍तिगत विवरणहरूले सतावट आइपर्दा विश्‍वासी रहेका यी साक्षीहरूको साहस र आध्यात्मिक बलको मौन साक्षी दिन्छन्‌।

[पृष्ठ २४, २५-मा भएको नक्सा]

पूर्वी जर्मनी

रूडोल्स्टाट

बेल्जिक

टोरगाउ

केमनिट्‌स

ज्विकाऊ

[पृष्ठ २५-मा भएको चित्र]

ज्विकाऊको ओस्टस्टाइन कासल

[स्रोत]

Fotosammlung des Stadtarchiv Zwickau, Deutschland

[पृष्ठ २६-मा भएको चित्र]

मेरी पत्नी एरीकासित