सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌

जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌

जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌

“जीवित परमेश्‍वरतर्फ [ फिर्नुहोस्‌] . . . जुन परमेश्‍वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।”—प्रेरित १४:१५, नयाँ संशोधित संस्करण।

१, २. यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भनेर स्वीकार्नु किन उपयुक्‍त छ?

 प्रेरित पावल र बर्णाबासले एक जना मानिसलाई निको पारेपछि पावलले लिस्त्राका दर्शकहरूलाई यस्तो आश्‍वासन दिए: “हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।”—प्रेरित १४:१५, नयाँ संशोधित संस्करण।

निस्सन्देह, यहोवा निर्जीव मूर्ति नभई “जीवित परमेश्‍वर” हुनुहुन्छ! (यर्मिया १०:१०; १ थिस्सलोनिकी १:९, १०) यहोवा जीवित हुनुका साथै उहाँ हाम्रो जीवनको स्रोत पनि हुनुहुन्छ। “उहाँलेनै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रेरित १७:२५) हामीले वर्तमान र भावी जीवनबाट आनन्द उठाएको उहाँ चाहनुहुन्छ। पावलले अझै यसो भने, परमेश्‍वरले “आफूलाई विना गवाही छोडनुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।”—प्रेरित १४:१७.

३. परमेश्‍वरले दिनुहुने निर्देशनमा हामी किन भर पर्न सक्छौं?

परमेश्‍वरले हाम्रो जीवनमा चासो राख्नुहुने भएकोले हामी उहाँको निर्देशनमा भरोसा राख्ने कारण पाउँछौं। (भजन १४७:८; मत्ती ५:४५) बाइबलको आज्ञा बुझ्न नसक्दा वा त्यो बन्देज जस्तो लाग्दा कसै-कसैले भिन्‍नै प्रतिक्रिया देखाउन सक्छन्‌। तैपनि यहोवाको निर्देशनमा भर पर्नु बुद्धिमानी साबित भएको छ। उदाहरणका लागि: सिनु नछुनू भन्‍ने आज्ञा दिनुको कारण एक जना इस्राएलीले नबुझे तापनि यो पालन गर्दा तिनले लाभ उठाउँथे। पहिलो, तिनको आज्ञाकारिताको कारण तिनी जीवित परमेश्‍वरसित अझ घनिष्ठ हुन्थे; दोस्रो, यसले तिनलाई रोगहरूदेखि जोगिन मदत गर्ने थियो।—लेवी ५:२; ११:२४.

४, ५. (क) मसीही युगअघि, यहोवाले रगतबारे कस्तो निर्देशन दिनुभयो? (ख) रगतसम्बन्धी परमेश्‍वरको निर्देशनमा मसीहीहरू पनि मुछिएका छन्‌ भनेर हामी कसरी थाह पाउँछौं?

रगतसम्बन्धी परमेश्‍वरले दिनुभएको निर्देशनमा पनि यही कुरा लागू हुन्छ। मानिसहरूले रगत खानु हुँदैन भनेर उहाँले नूहलाई बताउनुभयो। पापको क्षमाको लागि वेदीमा मात्र रगत प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा परमेश्‍वरले पछि गएर व्यवस्थामा प्रकट गर्नुभयो। ती आज्ञाहरूद्वारा परमेश्‍वरले रगतको सर्वोत्कृष्ट प्रयोग अर्थात्‌ येशूको छुडौतीद्वारा धेरैको जीवन बचाउनको लागि आधार बसाल्दै हुनुहुन्थ्यो। (हिब्रू ९:१४) हो, परमेश्‍वरले हाम्रो जीवन र भलाइलाई मनमा राखेर निर्देशन दिनुभएको थियो। उत्पत्ति ९:४ बारे छलफल गर्दै १९ औं शताब्दीका बाइबलविद्‌ एडम क्लार्कले यस्तो लेखे: “पूर्वीय मसीहीहरूले [नूहलाई दिइएको] यो आज्ञा अझै पनि कडिकडाउका साथ पालन गर्छन्‌ . . .। व्यवस्थाअन्तर्गत रगत खाइँदैनथ्यो किनभने यसले संसारको पापको लागि बगाउनुपर्ने रगतलाई सङ्‌केत गर्थ्यो; अनि सुसमाचारको पुस्तकअन्तर्गत पनि यो खानु हुँदैन किनभने यसलाई सधैं नै पापको छुटकाराको लागि बगाइएको रगतको प्रतीकको रूपमा हेर्नुपर्छ।”

यी विद्वानले येशूमा केन्द्रित सुसमाचारलाई सङ्‌केत गरिरहेका हुन सक्छन्‌। यसमा हामीले अनन्त जीवन पाउन सकौं भनेर परमेश्‍वरले उहाँको पुत्रलाई हाम्रो लागि मर्न अर्थात्‌ आफ्नो रगत बगाउन पठाउनु समावेश छ। (मत्ती २०:२८; यूहन्‍ना ३:१६; रोमी ५:८, ९) यी विद्वानको टिप्पणीमा ख्रीष्टका अनुयायीहरू रगतबाट अलग रहनुपर्छ भन्‍ने पछिल्लो आज्ञा पनि समावेश छ।

६. मसीहीहरूलाई रगतबारे कस्ता आज्ञाहरू दिइएका थिए र किन?

तपाईंलाई थाहै छ, परमेश्‍वरले इस्राएलीहरूलाई सयौं नियमहरू दिनुभयो। येशूको मृत्युपछि उहाँका चेलाहरू ती सबै व्यवस्थाहरू पालन गरिरहन बाध्य थिएनन्‌। (रोमी ७:४, ६; कलस्सी २:१३, १४, १७; हिब्रू ८:६, १३) तथापि, समय बित्दै जाँदा एउटा आधारभूत अनिवार्यता—पुरुषहरूको खतनाबारे प्रश्‍न खडा भयो। के ख्रीष्टको रगतबाट लाभ उठाउन चाहने गैर-यहूदीहरूले अझै पनि व्यवस्थाकै अधीनमा भएको कुरा देखाउन खतना गर्नु आवश्‍यक थियो? सा.यु. ४९ मा मसीही परिचालक निकायले यस मामिलाबारे विचार गऱ्‍यो। (प्रेरित, अध्याय १५) परमेश्‍वरको आत्माको मदतद्वारा यी प्रेरित तथा धर्मगुरुहरू खतना गर्ने अनिवार्यता व्यवस्था सँगसँगै अन्त भइसक्यो भन्‍ने निष्कर्षमा पुगे। तैपनि, केही खास ईश्‍वरीय आवश्‍यकताहरू भने मसीहीहरूलाई अझै पनि लागू हुन्थ्यो। मण्डलीहरूलाई पठाएको पत्रमा परिचालक निकायले यस्तो लेख्यो: “यी जरूरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनामानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्‌, जुन कुराहरूबाट अलग रहनुभयो भने बढ़िया हुनेछ।”—प्रेरित १५:२८, २९.

७. मसीहीहरू ‘रगतबाट अलग रहनु’ कत्तिको महत्त्वपूर्ण छ?

परिचालक निकायले ‘रगतबाट अलग रहनुलाई’ यौन अनैतिकता वा मूर्तिपूजाबाट अलग रहनु जत्तिकै नैतिक महत्त्वको ठानेको थियो भन्‍ने कुरा स्पष्ट छ। यसले रगतसम्बन्धी निषेधाज्ञा गम्भीर छ भनेर प्रमाणित गर्छ। पश्‍चात्तापी भावविना मूर्तिपूजा वा यौन अनैतिकतामा भाग लिने मसीहीहरू “परमेश्‍वरको राज्यको हकदार” हुन सक्दैनन्‌; तिनीहरूको “भाग . . . दोस्रो मृत्यु” हुनेछ। (१ कोरिन्थी ६:९, १०; प्रकाश २१:८; २२:१५) भिन्‍नता याद गर्नुहोस्‌: जीवनरक्‍तको पवित्रतासम्बन्धी परमेश्‍वरको निर्देशनलाई बेवास्ता गर्दा यसको नतिजा अनन्त मृत्यु हुन सक्छ तर येशूको बलिदानप्रति आदर देखाउँदा अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छ।

८. रगतसम्बन्धी परमेश्‍वरको निर्देशनलाई प्रारम्भिक मसीहीहरूले गम्भीरतापूर्वक लिए भनी कुन कुराले देखाउँछ?

रगतसम्बन्धी परमेश्‍वरको निर्देशनलाई प्रारम्भिक मसीहीहरूले कुन तरिकामा बुझे र पालन गरे? क्लार्कको टिप्पणी सम्झनुहोस्‌: “सुसमाचारको पुस्तकअन्तर्गत पनि यो खानु हुँदैन किनभने यसलाई सधैं नै पापको छुटकाराको लागि बगाइएको रगतको प्रतीकको रूपमा हेर्नुपर्छ।” प्रारम्भिक मसीहीहरूले यस कुरालाई गम्भीरतापूर्वक लिए भनी इतिहासले पुष्टि गर्छ। टर्टुलियनले यस्तो लेखे: “रङ्‌गशालाको खेलमा दुष्ट अपराधीहरूको ताजा रगत थापेर . . . आफ्नो छारे रोग निको पार्न सो रगत लैजाने रक्‍तपिपासुहरूलाई विचार गर्नुहोस्‌।” गैर-मसीहीहरूले रगत खान्थे भने यसको विपरीत मसीहीहरूबारे टर्टुलियनले यसो भने: “[तिनीहरू] आफ्नो भोजनमा समेत जनावरको रगत खाँदैनन्‌ . . . मसीहीहरूलाई पुर्पक्ष गर्दा तपाईंहरू तिनीहरूलाई रगतले भरिएको ससेज खान दिनुहुन्छ। जब कि यो तिनीहरूले गर्न नहुने काम हो भनी तपाईंहरूलाई राम्रोसँग थाहा छ।” हो, मृत्युको खतरा मोल्नुपरे तापनि मसीहीहरू रगत खाँदैनथे। परमेश्‍वरको निर्देशन तिनीहरूको लागि यत्तिको महत्त्वपूर्ण थियो।

९. रगतबाट अलग रहनुमा सीधै रगत नखानुको अलावा कुन कुरा पनि समावेश थियो?

परिचालक निकायले सीधै रगत खानु वा पिउनु हुँदैन अनि रगत नबगाइएको मासु वा रगत मिसिएको खानेकुरा खानु हुँदैन भनेको हो भनेर कसै-कसैले सोच्न सक्छन्‌। हुन त हो, परमेश्‍वरले पहिले नूहलाई दिनुभएको आज्ञाको अर्थ यही थियो। अनि प्रेरितहरूले मसीहीहरूलाई दिएको आज्ञाले पनि “गला अँठ्याएर मारेको पशु” अर्थात्‌ रगत ननिथारिएको मासुबाट अलग रहनू भनेको थियो। (उत्पत्ति ९:३, ४; प्रेरित २१:२५) तथापि, यसमा अझ थप कुराहरू बिथोलित छन्‌ भनेर प्रारम्भिक मसीहीहरूलाई थाह थियो। कहिलेकाहीं औषधीको रूपमा रगत खाइन्थ्यो। टर्टुलियनले बताएअनुसार कोही-कोही गैर-मसीहीहरूले छारे रोग निको पार्नको लागि आलो रगत पिउँथे। अनि रोगहरू निको पार्न वा स्वास्थ्य राम्रो बनाउनको लागि भनेर अरू तरिकामा पनि रगत प्रयोग गरिन्थ्यो होला। त्यसैले मसीहीहरू रगतबाट अलग रहनुमा “औषधीको” रूपमा पनि नखानु समावेश थियो। यसो गर्दा तिनीहरूको जीवन नै खतरामा परे तापनि तिनीहरूले यो अडान कायम राखे।

औषधीको रूपमा रगत

१०. चिकित्साजगत्‌मा रगत प्रयोग भइरहेका केही तरिकाहरू के-के हुन्‌ र यसले कस्तो प्रश्‍न खडा गरेको छ?

१० चिकित्साजगत्‌मा रगत प्रयोग गर्नु अचेल सामान्य भएको छ। रक्‍तक्षेपणको सुरुवात हुँदा दाताबाट लिएको रगत सञ्चय गरिन्थ्यो र सम्भवतः लडाइँमा घाइते हुने बिरामीहरूलाई यही अप्रशोधित रगत दिइन्थ्यो। समय बित्दै जाँदा अनुसन्धाताहरूले रगतका मूलभूत तत्त्वहरू छुट्याउन सिके। मूलभूत तत्त्वहरू छुट्टाछुट्टै प्रयोग गरेर चिकित्सकहरूले दाताबाट प्राप्त रगत धेरै बिरामीहरूलाई पुऱ्‍याउन सक्ने भए; प्लाज्मा एउटा घाइतेलाई र राता रक्‍तकोषहरू अर्को घाइतेलाई दिन सकिने भयो। चालु अनुसन्धानले रक्‍त प्लाज्माजस्तो एउटा तत्त्वलाई पनि प्रशोधन गरेर त्यसबाट अरू थुप्रै ससाना तत्त्वहरू निकाल्न सकिन्छ र यो अझ धेरै बिरामीहरूलाई दिन सकिन्छ भनेर देखायो। यस सन्दर्भमा अझ प्रगतिहरू हुँदैछन्‌ र ससाना तत्त्वहरूको नयाँ-नयाँ प्रयोगहरूबारे रिपोर्टहरू प्राप्त हुँदैछन्‌। यसप्रति एक जना मसीहीको प्रतिक्रिया कस्तो हुनुपर्छ? कहिल्यै पनि रक्‍तक्षेपण नस्वीकार्न तिनी कटिबद्ध छन्‌ तर तिनका चिकित्सकले तिनलाई एउटा मूलभूत तत्त्व, हुनसक्छ राता रक्‍तकोषहरू मात्र स्वीकार्ने सल्लाह दिन सक्छन्‌। अथवा उपचारको दौडान मूलभूत तत्त्वबाट निकालिएको एउटा सानो तत्त्व लिनुपर्ने हुन सक्छ। रगत पवित्र छ र अझ ठूलो अर्थमा भन्‍ने हो भने ख्रीष्टको रगत जीवनदायी छ भन्‍ने कुरा मनमा राख्दै परमेश्‍वरका एक जना सेवकले यस्ता प्रश्‍नहरूबारे कसरी निर्णय गर्न सक्छन्‌?

११. चिकित्सा-विज्ञानको दृष्टिकोणबाट हेर्दा सही देखिने कस्तो अडान साक्षीहरूले लामो समयदेखि लिंदै आएका छन्‌?

११ दशकौंअघि यहोवाका साक्षीहरूले आफ्नो अडान स्पष्ट पारे। उदाहरणका लागि, द जर्नल अफ दि अमेरिकन मेडिकल असोसिएसन-को लागि तिनीहरूले एउटा लेख तयार पारे (नोभेम्बर २७, १९८१; हाउ क्यान ब्लड सेभ योर लाइफ? पृष्ठ २७-९ मा पुनः मुद्रित)। a त्यस लेखमा उत्पत्ति, लेवी र प्रेरितबाट उद्धरण गरिएको थियो। त्यसमा यसो भनिएको थियो: “यी पदहरूमा चिकित्सा-विज्ञानका पदावलीहरू प्रयोग गरिएको नभए तापनि यसले अप्रशोधित रगत, आर बि सि [राता रक्‍तकोषहरू], र प्लाज्माका साथै डब्लु बि सि [सेता रक्‍तकोषहरू] र प्लेट्‌लेट्‌ स्वीकार्न निषेध गर्छ भन्‍ने दृष्टिकोण साक्षीहरू राख्छन्‌।” इमर्जेन्सी केयर भन्‍ने सन्‌ २००१ को पाठ्यपुस्तकले “रगतको बनोट” उपशीर्षकअन्तर्गत यसो भन्यो: “विभिन्‍न तत्त्वहरू मिलेर रगत बनेको हुन्छ: प्लाज्मा, राता र सेता रक्‍तकोषहरू र प्लेट्‌लेट्‌हरू।” त्यसैले चिकित्सा-विज्ञानको तथ्यकै आधारमा साक्षीहरू अप्रशोधित रगत वा यसका चारवटा मूलभूत तत्त्वमध्ये कुनै पनि तत्त्व लिन अस्वीकार गर्छन्‌।

१२. (क) रगतका मूलभूत तत्त्वहरूबाट निकालिएका ससाना तत्त्वहरूको सन्दर्भमा लिनुपर्ने कस्तो अडान प्रस्तुत गरिएको छ? (ख) यसबारे थप जानकारी कहाँ पाउन सकिन्छ?

१२ चिकित्सासम्बन्धी उक्‍त लेखले अझै यसो भन्यो: “साक्षीहरूको धार्मिक समझले एल्ब्युमिन, इम्युन ग्लोब्युलिन र रक्‍तश्राव रोक्ने हेमोफिलियाक [तत्त्वहरूको] प्रयोग पूर्णतया निषेध गर्दैन; यी कुराहरू स्वीकार्ने वा नस्वीकार्ने भनेर हरेक साक्षीले व्यक्‍तिगत तवरमा निर्णय गर्नै पर्छ।” सन्‌ १९८१ देखि यता उपचारको लागि प्रयोग गर्न सकिने थुप्रै ससाना तत्त्वहरू (चारवटा मूलभूत तत्त्वमध्ये कुनै एकलाई टुक्राएर निकालिएको सानो तत्त्व) छुट्याइएका छन्‌। त्यसैले, जून १५, २००० को प्रहरीधरहरा-ले “पाठकहरूका प्रश्‍नहरू” भन्‍ने लेखमा यस विषयबारे मदतकारी जानकारी प्रदान गऱ्‍यो। अहिलेका लाखौं पाठकहरूले लाभ उठाउन सकून्‌ भनेर उक्‍त जवाफ यसै पत्रिकाको पृष्ठ २९-३१ मा फेरि छापिएको छ। यसले विस्तृत तवरमा बताउनुका साथै तर्कपूर्ण कारणहरू पेस गर्छ तैपनि यसले बताउने कुराहरू सन्‌ १९८१ मा प्रस्तुत गरिएको कुराको मुख्य सारसित मेल खाएको तपाईंले देख्नुहुनेछ।

तपाईंको अन्तस्करणको भूमिका

१३, १४. (क) अन्तस्करण भनेको के हो र रगतको सन्दर्भमा यो कसरी मुछिएको हुन्छ? (ख) मासु खाने विषयमा परमेश्‍वरले इस्राएललाई कस्तो निर्देशन दिनुभयो तर कस्ता प्रश्‍नहरू खडा भएका हुन सक्छन्‌?

१३ यस्तो जानकारीले कुनै निर्णय गर्नुपर्दा अन्तस्करणको भूमिकालाई देखाउँछ। किन? परमेश्‍वरको निर्देशन पछ्याउनुपर्छ भनेर मसीहीहरू मानिलिन्छन्‌, तैपनि कुनै-कुनै अवस्थामा व्यक्‍तिगत निर्णयहरू गर्नै पर्ने हुन्छ र यसमा अन्तस्करण मुछिएको हुन्छ। अन्तस्करण भनेको कुनै विषयमा र अक्सर नैतिक मामिलाहरूबारे लेखाजोखा गरेर निर्णय गर्ने अन्तर्निहित क्षमता हो। (रोमी २:१४, १५) तथापि, तपाईंलाई थाहै छ अन्तस्करणको निर्णय फरक-फरक हुन्छ। b कसै-कसैको ‘अन्तस्करण कमजोर’ हुन्छ भनेर बाइबलले बताउँछ, जसको अर्थ अरू कसै-कसैको अन्तस्करण बलियो हुन्छ। (१ कोरिन्थी ८:१२) परमेश्‍वरले भन्‍ने कुराहरू सिक्ने, उहाँको सोचाइप्रति संवेदनशील हुने र निर्णय गर्दा यस्ता सोचाइहरू व्यवहारमा उतार्ने सन्दर्भमा हरेक मसीहीहरूले भिन्‍ना-भिन्‍नै मात्रामा प्रगति गरेका हुन्छन्‌। यहूदीहरू र मासु खाने सम्बन्धमा भएको घटनाबाट हामी यस कुरालाई स्पष्ट पार्न सक्छौं।

१४ परमेश्‍वरप्रति आज्ञाकारी व्यक्‍तिले रगत ननिथारिएको मासु खाँदैनन्‌ भनेर बाइबलले स्पष्टसित बताएको छ। त्यो आज्ञा यत्ति महत्त्वपूर्ण थियो कि इस्राएली सेनाले एक पटक आपत्‌कालीन अवस्थामा रगत ननिथारिएको मासु खाँदा समेत तिनीहरू घोर गल्ती वा पापको दोषी भए। (व्यवस्था १२:१५, १६; १ शमूएल १४:३१-३५) तैपनि, केही प्रश्‍नहरू खडा भएका हुन सक्छन्‌। कुनै इस्राएलीले भेडा मारेपछि तिनले कति चाँडो रगत निथार्नुपर्थ्यो? रगत निथार्नको लागि के तिनले जनावरको गर्दन छिनाल्नुपर्थ्यो? के पछाडिको खुट्टामा समातेर भेडालाई झुन्ड्याउनुपर्थ्यो? कति बेर झुन्ड्याउने? अनि ठूलो खालको जनावर मार्दा चाहिं कसरी रगत निथार्ने? रगत निथारिसकेपछि पनि केही न केही रगत मासुमा बाँकी नै रहन सक्छ। के तिनले यस्तो मासु खान सक्थे? यो कुराको निर्णय कसले गर्ने थियो?

१५. मासु खाने सन्दर्भमा कोही-कोही यहूदीहरूले कस्तो प्रतिक्रिया देखाए तर परमेश्‍वरले कस्तो निर्देशन दिनुभयो?

१५ यस्ता प्रश्‍नहरूको सामना गरिरहेका एक जना जोसिला यहूदीबारे विचार गर्नुहोस्‌। एक जना यहूदीलाई मूर्तिलाई चढाइएको हुन सक्ने मासु नखानु बुद्धिमानी लागेजस्तै अर्कोलाई बजारमा बेचिएको मासु नखानु बुद्धिमानी लाग्न सक्छ। अरू यहूदीहरूले भने रगत निथार्नको लागि केही खास प्रकियाहरू पूरा गरेपछि मात्र मासु खान्थे होलान्‌। c (मत्ती २३:२३, २४) यस्ता भिन्‍ना-भिन्‍नै प्रतिक्रिया तपाईंलाई कस्तो लाग्छ? साथै, माथि वर्णन गरिएका जस्ता क्रियाकलापहरू परमेश्‍वरले माग नगर्नुभएकोले के यहूदीहरूले प्रश्‍नहरूको सँगालो तयार पारेर हरेक प्रश्‍नको जवाफको लागि रब्बीहरूको परिषद्‌मा पठाउनु उपयुक्‍त हुने थियो? यहूदी धर्ममा उक्‍त परम्पराको विकास भए तापनि यहोवाले आफ्ना उपासकहरूलाई रगतबारे निर्णय गर्न त्यस्तो प्रकिया अपनाउने निर्देशन नदिनुभएकोमा हामी खुसी हुन सक्छौं। शुद्ध जनावरहरू मार्ने र तिनीहरूको रगत निथार्नेबारे परमेश्‍वरले आधारभूत निर्देशन दिनुभयो तर उहाँले त्योभन्दा बढी केही बताउनुभएन।—यूहन्‍ना ८:३२.

१६. रगतको मूलभूत तत्त्वबाट निकालिएको सानो तत्त्वबाट बनेको सुई लिनेबारे मसीहीहरूको दृष्टिकोण किन भिन्‍ना-भिन्‍नै हुन सक्छ?

१६ अनुच्छेद ११ र १२ मा बताइएझैं, यहोवाका साक्षीहरूले अप्रशोधित रगत वा यसका चारवटा मूलभूत तत्त्व—प्लाज्मा, राता कोषहरू, सेता कोषहरू र प्लेट्‌लेट्‌स्‌ स्वीकार्दैनन्‌। तर मूलभूत तत्त्वहरूबाट निकालिएका ससाना तत्त्वहरू; जस्तै, रोगसित लड्‌ने वा सर्पको विषलाई प्रभावहीन तुल्याउने एन्टिबडियुक्‍त रक्‍तसारहरू नि? (पृष्ठ ३०, अनुच्छेद ४ हेर्नुहोस्‌।) यस्ता सुक्ष्म तत्त्वहरू वास्तवमा रगत होइनन्‌ र त्यसैले ‘रगतबाट अलग रहने’ आज्ञामा यी समावेश छैनन्‌ भन्‍ने निष्कर्षमा कोही-कोही पुगेका छन्‌। (प्रेरित १५:२९; २१:२५; पृष्ठ ३१, अनुच्छेद १) त्यो तिनीहरूकै जिम्मेवारी हो। अरू कतिपयको अन्तस्करणले भने तिनीहरूलाई (जनावर वा मानव) रगतबाट निकालिएको कुनै पनि कुरा, एउटा मूलभूत तत्त्वको एकदमै सानो तत्त्वसमेत अस्वीकार गर्न उत्प्रेरित गर्छ। d अझ अरूले भने रोगसित लड्‌ने वा सर्पको विषलाई प्रभावहीन तुल्याउने प्लाज्मा प्रोटिनको सुई लिन तर अरू ससाना तत्त्वहरू भने अस्वीकार गर्न सक्छन्‌। यसको अलावा चारवटा मूलभूत तत्त्वमध्ये एउटाबाट निकालिएका कुनै-कुनै उत्पादनहरू मूलभूत तत्त्वको कामसित एकदमै मेल खाने र शरीरको लागि जीवनदायी भूमिका निर्वाह गर्ने भएकोले अधिकांश मसीहीहरूले यसलाई अस्वीकार्य ठान्छन्‌।

१७. (क) रगतका ससाना तत्त्वहरूसम्बन्धी प्रश्‍नहरूको सामना गर्दा हाम्रो अन्तस्करण कसरी एउटा सहायक हुन सक्छ? (ख) यसबारे निर्णय गर्नु किन एकदमै गम्भीर कुरा हो?

१७ यस्ता निर्णयहरू गर्दा अन्तस्करणबारे बाइबलले के बताउँछ भन्‍ने कुरा मदतकारी हुन्छ। पहिलो कदम परमेश्‍वरको वचनले के भन्छ सो सिक्नु र तपाईंको अन्तस्करणलाई यसैअनुसार ढाल्ने कोसिस गर्नु हो। यसले तपाईंलाई आफ्नो लागि अरू कसैलाई निर्णय गर्न लगाउनुको सट्टा परमेश्‍वरको निर्देशन अनुरूप आफै निर्णय गर्न सुसज्जित पार्नेछ। (भजन २५:४, ५) रगतका ससाना तत्त्वहरू स्वीकार्नेबारे कसै-कसैले यस्तो सोचेका छन्‌: ‘यो अन्तस्करणको कुरा हो, त्यसैले जे गरे पनि कुनै फरक पर्दैन।’ त्यो एकदमै गलत सोचाइ हो। कुनै कुराबारे अन्तस्करणको आधारमा निर्णय गर्न सकिन्छ भन्दैमा यो महत्त्वहीन हुँदैन। यो अत्यन्तै गम्भीर हुन सक्छ। एउटा कारण त यसले हाम्रो भन्दा भिन्‍नै अन्तस्करण भएका व्यक्‍तिहरूलाई असर गर्न सक्छ। मूर्तिलाई चढाएर बजारमा बेचिएको हुन सक्ने मासुबारे पावलले दिएको सल्लाहबाट हामी यो कुरा बुझ्छौं। एक जना मसीही अरूको ‘कमजोर अन्तस्करणलाई चोट नलगाउन’ होसियार हुनुपर्छ। तिनको कारण अरूलाई ठक्कर लाग्यो भने तिनले ‘आफ्नो भाइलाई नष्ट गर्न सक्छन्‌, जसको निम्ति ख्रीष्ट मर्नुभयो’ र यसरी ख्रीष्ट विरुद्ध पाप गरिरहेका हुन सक्छन्‌। त्यसैले रगतका ससाना तत्त्वहरूबारे आफैले व्यक्‍तिगत निर्णय गर्नुपर्ने भए तापनि यस्ता निर्णयहरूलाई एकदमै गम्भीरतापूर्वक लिनुपर्छ।—१ कोरिन्थी ८:८, ११-१३; १०:२५-३१.

१८. रगतसम्बन्धी निर्णय गर्दा एक जना मसीहीले कसरी आफ्नो अन्तस्करणलाई बोधो हुन नदिन सक्छन्‌?

१८ अर्को एउटा सम्बन्धित बुँदाले रगतसम्बन्धी निर्णय कत्तिको गम्भीर कुरा हो भनी जोड दिन्छ। यो बुँदा भनेको यस्ता निर्णयहरूले तपाईं स्वयम्‌लाई पार्न सक्ने प्रभाव हो। तपाईंले रगतको सानो तत्त्व लिंदा यसले तपाईंको बाइबल प्रशिक्षित अन्तस्करणलाई पिरोल्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन। न त कसैले तपाईंलाई “यो त लिन भइहाल्छ नि; अरू धेरै जनाले पनि लिएका छन्‌” भन्यो भन्दैमा तपाईंको अन्तस्करणको आवाजलाई दबाउन नै हुन्छ। नबिर्सनुहोस्‌, आज लाखौं व्यक्‍तिहरूले आफ्नो अन्तस्करणलाई बेवास्ता गर्छन्‌ र यो बोधो हुन्छ, तिनीहरू झूट बोल्छन्‌ वा अरू खराब काम गर्छन्‌ तर तिनीहरूलाई कुनै पछुतो लाग्दैन। मसीहीहरू पक्कै पनि त्यस्तो मार्गदेखि जोगिन चाहन्छन्‌।—२ शमूएल २४:१०; १ तिमोथी ४:१, २.

१९. रगत समावेश भएको उपचारसम्बन्धी मामिलाहरूबारे निर्णय गर्दा हाम्रो मनमा कुन कुरालाई प्रथम स्थान दिनुपर्छ?

१९ पृष्ठ २९-३१ मा फेरि छापिएको जवाफ अन्ततिर यसो भन्छ: “यससम्बन्धी धारणा र अन्तस्करणको आधारमा गरिने निर्णयहरू फरक हुन्छन्‌ भन्दैमा यो विवाद असान्दर्भिक छ भन्‍नु मिल्छ र? अहँ, मिल्दैन। यो गम्भीर कुरा हो।” यो गम्भीर हुनुको विशेष कारण हो, यसमा “जीवित परमेश्‍वर[सितको]” तपाईंको सम्बन्ध मुछिएको छ। यही सम्बन्धले मात्र येशूले बगाउनुभएको रगतको आधारमा अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छ। परमेश्‍वरले रगतद्वारा नै जीवन बचाउने कार्य गरिरहनुभएकोले रगतप्रति गहिरो श्रद्धा खेती गर्नुहोस्‌। पावलले उपयुक्‍त ढङ्‌गमा यस्तो लेखे: “तिमीहरू . . . आशा नभएका, र यस संसारमा परमेश्‍वररहित भएका थियौ। तर अब तिमीहरू जो एकपल्ट ख्रीष्ट येशूबाट टाढ़ा थियौ, ख्रीष्टको रगतले नजीकै भएका छौ।”—एफिसी २:१२, १३.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित

b एक पटक पावल र अरू चार जना मसीही आफूलाई चोख्याउनको लागि मन्दिरमा गए। यतिबेला व्यवस्था खारेज भइसकेको भए तापनि पावलले यरूशलेमका धर्मगुरुहरूको सल्लाहबमोजिम गरे। (प्रेरित २१:२३-२५) तथापि, केही मसीहीहरूले भने पावलको ठाउँमा आफू भइदिएको भए मन्दिरमा जाने थिइनँ र यो रीति पनि पालन गर्ने थिइनँ भनेर सोचेका हुन सक्छन्‌। त्यतिबेला सबैको अन्तस्करण एउटै खालको थिएन र अहिले पनि त्यस्तो हुँदैन।

c इन्साइक्लोपीडिया जुडाइका-ले मासुलाई “यहूदी धर्म अनुरूप खान योग्य” बनाउनको लागि “जटिल तथा विस्तृत” नियमहरू उल्लेख गरेको छ। मासु कति मिनेट पानीमा डुबाउनुपर्छ, अचानोमा राखेर कसरी रगत निथार्ने, यसलाई कस्तो खालको नुनमा मोल्ने र चिसो पानीमा कति पटक धुने भनी यसमा उल्लेख गरिएको छ।

d रगतका तत्त्वहरू प्रयोग नगरीकन कुनै-कुनै सुईहरूको मुख्य वा सक्रिय अंश बनाउने प्रचलन लोकप्रिय हुँदैछ। तर कहिलेकाहीं एल्ब्युमिनजस्तो रगतको अंश थोरै मात्रामा प्रयोग गरिएको हुन सक्छ।—अक्टोबर १, १९९४ को प्रहरीधरहरा-मा “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

के तपाईं याद गर्न सक्नुहुन्छ?

• परमेश्‍वरले नूहलाई, इस्राएलीहरूलाई र मसीहीहरूलाई रगतबारे कस्तो निर्देशन दिनुभयो?

• यहोवाका साक्षीहरू रगतको सन्दर्भमा कुन कुरा पूर्णतया इन्कार गर्छन्‌?

• रगतको मूलभूत तत्त्वबाट निकालिएका ससाना तत्त्वहरू स्वीकार्ने वा नस्वीकार्ने भन्‍ने निर्णय कुन अर्थमा व्यक्‍तिगत अन्तस्करणमा भर पर्ने कुरा हो तर यसको अर्थ के होइन?

• निर्णय गर्दा किन हामीले परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई हाम्रो मनमा प्रथम स्थान दिनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चार्ट]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रगतबारे आधारभूत अडान

अप्रशोधित रगत

अस्वीकार्य राता कोषहरू सेता कोषहरू प्लेट्‌लेट्‌स्‌ प्लाज्मा

मसीहीले

राता कोषका सेता कोषका प्लेट्‌लेट्‌का प्लाज्माका

निर्णय गर्नुपर्ने ससाना ससाना ससाना ससाना

तत्त्वहरू तत्त्वहरू तत्त्वहरू तत्त्व

राता कोषहरू सेता कोषहरू प्लेट्‌लेट्‌स्‌ प्लाज्मा

[पृष्ठ २०-मा भएको चित्र]

मसीहीहरू ‘रगतबाट अलग रहनै पर्छ’ भन्‍ने निष्कर्षमा परिचालक निकाय पुग्यो

[पृष्ठ २३-मा भएको चित्र]

तपाईंले रगतको सानो तत्त्वसम्बन्धी निर्णय गर्नुपऱ्‍यो भने आफ्नो अन्तस्करणलाई बेवास्ता नगर्नुहोस्‌