असल सरकारको खोजी
असल सरकारको खोजी
“संसारको बढ्दो पारस्परिक निर्भरताले एकपछि अर्को विश्वव्यापी समस्याहरू निम्त्याएको छ, जसको समाधान राष्ट्रहरू एक्लैले आफ्नो बलबुतामा गर्न सक्दैनन्। सम्पूर्ण राष्ट्रहरूको आपसी सहयोगबाट मात्रै मानिसहरूले झेलिरहेको बढ्दो खतरा तथा चुनौतीहरूसित हामी सफलतासाथ जुझ्न सक्छौं।”—गुलाम उमार, पाकिस्तानी राजनैतिक विश्लेषक।
वर्तमान संसार विरोधाभासपूर्ण कुराहरूले भरिभराउ छ। भौतिक कुराहरू प्रशस्त मात्रामा हुँदाहुँदै पनि कैयौं मानिसहरूले जेनतेन जीविका चलाइरहेका छन्। यस कम्प्युटर युगका मानिसहरू आजसम्मकै सबैभन्दा शिक्षित अनि ज्ञानी मानिस त होलान्, तरैपनि धेरैभन्दा धेरै मानिसहरूलाई स्थायी जागिर पाउन हम्मेहम्मे परिरहेको छ। मानिसहरू पहिलेभन्दा धेरै स्वतन्त्र भएजस्तो देखिए तापनि लाखौं मानिसहरू डरै-डरमा, असुरक्षा अनि अनिश्चितताको वातावरणमा बाँचिरहेका छन्। हामी वरपर लोभलाग्दा सुअवसरहरू होलान् तर समाजको उच्च तथा निम्न सबै स्तरमा व्याप्त भ्रष्टाचार अनि अराजकताले गर्दा कैयौं मानिसहरूको आशामा कुठाराघात भएको छ।
मानिसहरूले झेलिरहेका समस्याहरूले यत्ति व्यापक रूपमा असर गर्छ कि त्यसको सामु एउटा राष्ट्र अथवा राष्ट्रहरूको समूहको समेत केही जोर चल्दैन। त्यसकारण, विश्वशान्ति तथा सुरक्षा वास्तविकतामा परिणत हुनका लागि सम्पूर्ण राष्ट्र एउटै सरकारअन्तर्गत एकताबद्ध हुनै पर्छ भन्ने निष्कर्षमा थुप्रै अवलोकनकर्ताहरू पुगेका छन्। उदाहरणका लागि, अल्बर्ट आइनस्टाइनले यस किसिमको धारणाको लामो समयसम्म समर्थन गरे। सन् १९४६ मा तिनले यस्तो दृढता व्यक्त गरेका थिए: “मलाई पक्का विश्वास छ कि संसारका अधिकांश मानिसहरू शान्ति-सुरक्षामा जीवन बिताउन चाहन्छन् . . . विश्व सरकारको गठनबाट मात्रै मानिसले चाहेजस्तो शान्ति प्राप्त गर्न सकिन्छ।”
पचास वर्ष बितिसक्दा पनि यो अत्यावश्यक खाँचो ज्यूँका त्यूँ छ। एक्काइसौं शताब्दीका चुनौतीहरूबारे उल्लेख गर्दै फ्रान्सको पेरिसबाट प्रकाशित हुने ले मोन्ड अखबारमा यस्तो टिप्पणी गरिएको छ: “जातीय नरसंहारजस्ता कुरा भएको खण्डमा संसारको जुनसुकै ठाउँमा भए तापनि यथाशीघ्र हस्तक्षेप गर्न सक्ने अन्तरराष्ट्रिय सरकारको न्यायिक, प्रशासनिक तथा संवैधानिक पूर्वाधार तयार गर्नु अत्यन्त जरुरी छ। यसो गरेपछि पृथ्वी एउटा सिङ्गो राष्ट्र हुन्छ भन्ने विचारलाई मानिलिनु पनि उत्तिकै जरुरी छ।” मानिसजातिको भविष्य शान्तिमय छ भन्ने कुरा पक्का गर्न कोसित वा केसित यस्तो अवस्था ल्याउन सक्ने शक्ति तथा क्षमता छ त?
के संयुक्त राष्ट्रसंघ यसको समाधान हो?
संयुक्त राष्ट्रसंघले विश्वशान्ति ल्याउनेछ भनी थुप्रै मानिसहरूले आशा गरेका छन्। संसारमा साँचो शान्ति-सुरक्षा ल्याउन सक्ने सरकार के संयुक्त राष्ट्रसंघ हो? हुन त, उत्प्रेरणादायी तथा आशालाग्दो सुनिने जोडदार राजनैतिक भाषणहरूको कुनै कमी छैन। उदाहरणका लागि, सन् २००० को “सहस्राब्दी घोषणापत्र”-मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यस्तो औपचारिक प्रस्तावना प्रस्तुत
गऱ्यो: “चाहे देशभित्र होस् या देश-देशबीच, आम जनतालाई युद्धको चपेटाबाट मुक्त गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं, जुन चपेटामा परेर बितेको दशकमा ५० लाखभन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका छन्।” यस्ता घोषणाहरूको कारण संयुक्त राष्ट्रले थुप्रै मानिस तथा क्षेत्रहरूबाट प्रशंसा एवम् तारिफ कमाउनुका साथै २००१ को नोबेल शान्ति पुरस्कार पनि पाएको छ। यसरी संयुक्त राष्ट्रको सम्मान गर्ने क्रममा नर्वेली नेबेल समितिले यसो भन्यो, “विश्वशान्ति र समर्थन प्राप्त गर्न सकिने एउटै मात्र माध्यम संयुक्त राष्ट्र हो।”यी तमाम कुराहरूको बावजुद, के १९४५ मा स्थापना भएको संयुक्त राष्ट्रसंघ साँचो तथा दिगो विश्वशान्ति ल्याउन सक्षम सरकार साबित भएको छ? अहँ, भएको छैन किनभने यसका सदस्य राष्ट्रहरूको निजी स्वार्थ अनि राष्ट्रवादी आकाङ्क्षाले यसका प्रायजसो प्रयासहरूलाई विफल तुल्याइदिएको छ। एउटा अखबारको सम्पादकका शब्दहरूमा भन्ने हो भने, आम जनताको नजरमा संयुक्त राष्ट्र “विश्वमत जाँच्ने एक किसिमको ब्यारोमिटर” जस्तो मात्र भएको छ अनि यसको एजेन्डाचाहिं वर्षौंदेखि छलफल गरिंदै आएका उही पुराना विषयहरू हुन्छन्, जसको समाधान चाहिं खासै भएको छैन। त्यसैले यस प्रश्नको जवाफ पाउन बाँकी नै छ: के संसारभरिका राष्ट्रहरू कुनै दिन साँच्चै एकताबद्ध हुनेछन्?
यस्तो एकता चाँडै प्राप्त हुनेछ भनेर बाइबलले प्रकट गर्छ। यो कसरी हुनेछ? अनि कुन सरकारले यस्तो एकता ल्याउनेछ? जवाफको लागि कृपया अर्को लेख पढ्नुहोस्।
[पृष्ठ ३-मा भएको चित्र]
विश्व सरकारको आवश्यकतालाई आइनस्टाइनले समर्थन गरे
[स्रोत]
Einstein: U.S. National Archives photo