सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले नम्रहरूलाई आफ्नो महिमा प्रकट गर्नुहुन्छ

यहोवाले नम्रहरूलाई आफ्नो महिमा प्रकट गर्नुहुन्छ

यहोवाले नम्रहरूलाई आफ्नो महिमा प्रकट गर्नुहुन्छ

“नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।”—हितोपदेश २२:४.

१, २. (क) स्तिफनस पवित्र “आत्मा र विश्‍वासले भरिपूर भएका” मानिस थिए भनी प्रेरितको पुस्तकले कसरी देखाउँछ? (ख) स्तिफनस नम्र थिए भन्‍ने कस्तो प्रमाण छ?

 स्तिफनस पवित्र “आत्मा र विश्‍वासले भरिपूर भएका” मानिस थिए। साथै, तिनी “अनुग्रह र शक्‍तिले पूर्ण” थिए। येशूको एक जना प्रारम्भिक चेला भएको कारण तिनले मानिसहरूको अगाडि ठूल्ठूला चिह्न र अचम्मका कामहरू गरिरहेका थिए। एक पटक केही मानिसहरू तिनीसित वाद-विवाद गर्न खडा भए तर “जुन बुद्धि र आत्माले तिनी बोल्थे, तिनको सामना गर्न तिनीहरूले सकेनन्‌।” (प्रेरित ६:५, ८-१०) स्पष्टतया स्तिफनस परमेश्‍वरको वचनको एक जना जेहनदार विद्यार्थी थिए र आफ्नो समयका यहूदी धार्मिक नेताहरूसामु तिनले जोडदार ढङ्‌गमा यसको पक्षमा बोले। प्रेरित अध्याय ७ मा लिपिबद्ध तिनको विस्तृत साक्षीले परमेश्‍वरको उद्देश्‍यको क्रमिक प्रकटीकरणमा तिनले गहिरो चासो राख्थे भन्‍ने कुरा प्रमाणित गर्छ।

आफ्नो ओहदा तथा ज्ञानको कारण आफूलाई अरू साधारण मानिसहरूभन्दा ठूलो ठान्‍ने ती धार्मिक नेताहरूजस्तो नभई स्तिफनस नम्र थिए। (मत्ती २३:२-७; यूहन्‍ना ७:४९) तिनी धर्मशास्त्रमा पोख्त भए तापनि प्रेरितहरूले “प्रार्थना र वचनको सेवकाइमा” समय दिन सकून्‌ भनेर “दैनिक खाद्य वितरण” गर्न तिनलाई दिइएको जिम्मेवारी तिनले खुसीसाथ स्वीकारे। भाइहरूमाझ स्तिफनसको राम्रो नाउँ चलेको थियो र यही कारणले गर्दा दिनहुँको खाना बाँड्‌ने प्रबन्ध मिलाउनका लागि नाउँ चलेका सात जना मानिसमध्ये तिनलाई पनि रोजियो। तिनले यो काम नम्रतापूर्वक स्वीकारे।—प्रेरित ६:१-६, नयाँ संशोधित संस्करण।

३. स्तिफनसले परमेश्‍वरको असीम अनुग्रहको कस्तो उल्लेखनीय प्रदर्शन देखे?

स्तिफनसको नम्र मनोभाव साथै तिनको आध्यात्मिकता र निष्ठा यहोवाको नजरमा बेकार गएन। महासभामा उपस्थित यहूदी नेताहरूको क्रुद्ध भीडलाई साक्षी दिंदा स्तिफनसका विरोधीहरूले “तिनको चेहरा स्वर्गदूतको चेहराझैं देखे।” (प्रेरित ६:१५) महिमाका परमेश्‍वर यहोवाबाट आएको शान्तिको कारण तिनको अनुहार परमेश्‍वरको दूतको जस्तै थियो। महासभाका सदस्यहरूलाई साहसी भई साक्षी दिइसकेपछि स्तिफनसले परमेश्‍वरको असीम अनुग्रहको उल्लेखनीय प्रदर्शन देखे। “तिनले . . . पवित्र आत्माले भरिपूर भईकन स्वर्गतिर डिठ लगाएर हेरे, र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखे।” (प्रेरित ७:५५) यो सानदार दर्शनद्वारा परमेश्‍वरको पुत्र र मसीहको हैसियतमा येशूको ओहदाबारे स्तिफनस अझ पक्का भए। नम्र स्तिफनसलाई यसले अझ बलियो बनायो र आफूमाथि यहोवाको अनुमोदन छ भन्‍ने कुरामा तिनलाई विश्‍वस्त तुल्यायो।

४. यहोवाले आफ्नो महिमा कसलाई प्रकट गर्नुहुन्छ?

स्तिफनसलाई दिइएको दर्शनले प्रस्ट पारेझैं, यहोवाले आफ्नो महिमा तथा उद्देश्‍य नम्र र उहाँसितको आफ्नो सम्बन्धको कदर गर्ने ईश्‍वर-भीरु व्यक्‍तिहरूलाई प्रकट गर्नुहुन्छ। “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌” भनी बाइबल बताउँछ। (हितोपदेश २२:४) त्यसकारण साँचो नम्रता भनेको के हो, यो महत्त्वपूर्ण गुण हामी कसरी खेती गर्न सक्छौं र जीवनका सबै पक्षहरूमा यो गुण देखाएर हामी कसरी लाभ उठाउन सक्छौं भनी बुझ्नु अत्यावश्‍यक छ।

नम्रता—एउटा ईश्‍वरीय गुण

५, ६. (क) नम्रता भनेको के हो? (ख) यहोवाले कसरी नम्रता देखाउनुभएको छ? (ग) यहोवाको नम्रताले हामीमा कस्तो असर पार्नुपर्छ?

ब्रह्‍माण्डका सबैभन्दा उच्च र महिमित व्यक्‍ति यहोवा परमेश्‍वर नम्रताको सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ भन्‍ने कुरा कसै-कसैलाई आश्‍चर्यजनक लाग्न सक्छ। राजा दाऊदले यहोवालाई यसो भने: “तपाईंले आफ्नो मुक्‍तिको ढाल पनि मलाई दिनुभएको छ। र तपाईंको दाहिने बाहुलीले मलाई समातेको छ, र तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ।” (भजन १८:३५) यहोवालाई नम्र व्यक्‍तिको रूपमा वर्णन गर्दा दाऊदले “निहुरिएको हुनु” भन्‍ने अर्थ लाग्ने मूल युनानी शब्द चलाए। “नम्रता” शब्दको अलावा त्यही मूल शब्दसित सम्बन्धित अरू शब्दहरू “नरम,” “विनय” र “झुक्नु” हुन्‌। असिद्ध व्यक्‍ति दाऊदसित व्यवहार गर्न र तिनलाई उहाँको प्रतिनिधित्व गर्ने राजाको रूपमा चलाउनको लागि निहुरिनुहुँदा यहोवाले नम्रता देखाउनुभयो। नयाँ संशोधित संस्करण-मा हेर्ने हो भने भजन १८ को शीर्षकमुनि दिइएको विवरणअनुसार “शत्रुहरू र शाऊलका हातबाट छुटकारा” दिएर यहोवाले दाऊदलाई सुरक्षा र समर्थन दिनुभयो। त्यसै गरी राजाको रूपमा आफूले प्राप्त गर्न सक्ने कुनै पनि महानता वा महिमा यहोवाले नम्रतापूर्वक आफ्नो पक्षमा कदम चाल्नुमा नै निर्भर छ भन्‍ने कुरा दाऊदलाई थाह थियो। यो कुरा थाह भएकोले नै तिनले नम्र रहिरहने मदत पाए।

हामी नि? यहोवाले हामीलाई सच्चाइ सिक्न योग्य व्यक्‍ति ठान्‍नुभएको छ र हामीलाई आफ्नो संगठनमार्फत सेवाका विशेष सुअवसरहरू पनि दिनुभएको हुन सक्छ वा उहाँको इच्छा पूरा गर्न हामीलाई अरू कुनै तरिकामा चलाउनुभएको हुन सक्छ। यी सबै कुराबारे हामीले कस्तो महसुस गर्नुपर्छ? के हामीले आफूलाई नम्र तुल्याउनु पर्दैन र? के हामी यहोवाको नम्रताप्रति कृतज्ञ हुनुका साथै निश्‍चय नै विनाशतर्फ लैजाने अहङ्‌कारी मनोवृत्तिदेखि आफूलाई जोगाउनु पर्दैन र?—हितोपदेश १६:१८; २९:२३.

७, ८. (क) मनश्‍शेसित यहोवाको व्यवहारमा उहाँको नम्रता कसरी झल्किएको थियो? (ख) नम्रता देखाउने सन्दर्भमा यहोवा अनि मनश्‍शेको कस्तो उदाहरण हामीसित छ?

यहोवाले असिद्ध मानिसहरूसित व्यवहार गरेर ठूलो नम्रता मात्र देखाउनुभएको छैन तर नरम स्वभावका व्यक्‍तिहरूप्रति दया देखाउने र आफूलाई नम्र तुल्याउनेहरूलाई उठाउने वा उचाल्ने इच्छुकता पनि देखाउनुभएको छ। (भजन ११३:४-७) उदाहरणका लागि, यहूदाका राजा मनश्‍शेलाई विचार गर्नुहोस्‌। झूटो उपासनालाई बढवा दिन तिनले राजाको रूपमा आफूले पाएको सम्मानजनक ओहदाको दुरुपयोग गरे अनि “परमप्रभुको दृष्टिमा साह्रै खराबी गरेर उहाँलाई रिस उठाए।” (२ इतिहास ३३:६) मनश्‍शेको सिंहासन अश्‍शूरको राजाद्वारा खोसिन दिएर अन्ततः यहोवाले तिनलाई सजाय दिनुभयो। कैदमा हुँदा मनश्‍शेले “परमप्रभु आफ्ना परमेश्‍वरलाई . . . शान्त गराउन खोजे। औ . . . परमेश्‍वरकहाँ विनम्र भएर झुके” र त्यसैले यहोवाले तिनलाई यरूशलेमको सिंहासनमा फेरि बसाल्नुभयो अनि मनश्‍शेले यहोवा नै साँचो “परमेश्‍वर हुनुहुँदो रहेछ भन्‍ने थाह पाए।” (२ इतिहास ३३:११-१३) हो, अन्तमा गएर मनश्‍शेको नम्र मनोभावले यहोवालाई खुसी तुल्यायो र तिनलाई क्षमा दिएर तथा राजाको रूपमा पुनर्स्थापित गरेर उहाँले नम्रता देखाउनुभयो।

क्षमा दिने यहोवाको इच्छुकता र मनश्‍शेको पश्‍चात्तापी मनोवृत्तिले हामीलाई नम्रताबारे महत्त्वपूर्ण पाठ सिकाउँछ। हाम्रो चित्त दुःखाउनेहरूप्रति हामीले व्यवहार गर्ने तरिका र पाप गर्दा हामीले देखाउने मनोवृत्तिले यहोवाले हामीसित व्यवहार गर्ने तरिकामा असर गर्न सक्छ भन्‍ने कुरा कहिल्यै बिर्सनु हुँदैन। हामी इच्छुकतापूर्वक अरूका गल्तीहरू क्षमा गर्छौं र नम्रतापूर्वक आफ्ना भूलहरू स्वीकार्छौं भने यहोवाले हामीलाई दया देखाउनुहुनेछ भन्‍ने आशा गर्न सक्छौं।—मत्ती ५:२३, २४; ६:१२.

नम्रहरूलाई ईश्‍वरीय महिमा प्रकट गरियो

९. के नम्रता कमजोरीको चिह्न हो? व्याख्या गर्नुहोस्‌।

तथापि, नम्रता र यससित सम्बन्धित गुणहरू कमजोरीको चिह्न वा गलत कुरा सहेर बस्ने झुकाव हो भन्‍ने गलत धारणा राख्नु हुँदैन। पवित्र धर्मशास्त्रले पुष्टि गरेअनुसार, यहोवा नम्र हुनुहुन्छ तैपनि आवश्‍यक पर्दा उहाँले धार्मिक क्रोध र असामान्य शक्‍ति प्रदर्शन गर्नुहुन्छ। यहोवाको नम्रताको कारण उहाँले नम्र व्यक्‍तिहरूको ख्याल गर्नुहुन्छ वा विशेष चासो राख्नुहुन्छ तर घमन्डीहरूदेखि टाढै रहनुहुन्छ। (भजन १३८:६) आफ्ना नम्र सेवकहरूप्रति यहोवाले कसरी विशेष चासो देखाउनुभएको छ?

१०. पहिलो कोरिन्थी २:६-१० मा सङ्‌केत गरिएअनुसार यहोवाले नम्रहरूलाई कुन कुरा प्रकट गर्नुहुन्छ?

१० उहाँको आफ्नै समयमा र उहाँले रोज्नुभएको सञ्चार माध्यमद्वारा यहोवाले नम्रहरूलाई आफ्नो उद्देश्‍यको कार्यान्वयनबारे विस्तृत विवरण प्रकट गर्नुभएको छ। घमन्डी हुँदै मानव बुद्धि वा सोचाइमा भरपर्ने वा हठपूर्वक त्यसैमा टाँसिरहनेहरूबाट यी महिमित कुराहरू छिपेरै रहन्छन्‌। (१ कोरिन्थी २:६-१०) तर नम्रहरूलाई यहोवाको उद्देश्‍यको सही समझ दिइएको हुनाले तिनीहरू यहोवालाई महिमा दिन उत्प्रेरित हुन्छन्‌ किनभने तिनीहरू उहाँको भव्य महिमाको अझ बढी मूल्याङ्‌कन गर्छन्‌।

११. प्रथम शताब्दीमा कसै-कसैले कसरी नम्रताको कमी देखाए र तिनीहरूको लागि यो कसरी हानिकारक साबित भयो?

११ प्रथम शताब्दीमा, मसीही हुँ भनी दाबी गर्ने केही व्यक्‍तिहरू लगायत थुप्रैले नम्रताको कमी देखाए र परमेश्‍वरको उद्देश्‍यबारे प्रेरित पावलले तिनीहरूलाई प्रकट गरेको कुराको कारण ठक्कर खाए। पावल आफ्नो राष्ट्रियता, शिक्षा, उमेर वा असल कामहरूको लामो रेकर्डको कारण “अन्यजातिहरूको प्रेरित” भएका थिएनन्‌। (रोमी ११:१३) शारीरिक सोचाइ भएका व्यक्‍तिहरूले अक्सर यहोवाले कसलाई प्रयोग गर्ने भनी निर्णय गर्दा यिनै कुराहरूलाई विचार गर्नुहुन्छ भन्‍ने सोच्छन्‌। (१ कोरिन्थी १:२६-२९; ३:१; कलस्सी २:१८) तथापि, यहोवाको करुणा र धार्मिक उद्देश्‍यको कारण उहाँले पावललाई छान्‍नुभएको थियो। (१ कोरिन्थी १५:८-१०) पावलले “मुख्य प्रेरितहरू” भनी वर्णन गरेका व्यक्‍तिहरू लगायत अरू विरोधीहरूले तिनलाई र धर्मशास्त्रबाट तिनले गरेको तर्क स्वीकार्न इन्कार गरे। तिनीहरूमा भएको नम्रताको कमीले तिनीहरूलाई यहोवाले आफ्नो उद्देश्‍य कार्यान्वयन गर्नुहुने महिमित तरिकाबारे ज्ञान तथा समझ हासिल गर्न बाधा पुऱ्‍यायो। यहोवाले आफ्नो इच्छा पूरा गर्न छान्‍नुभएका व्यक्‍तिहरूलाई हामी कहिल्यै पनि हल्का ठान्‍ने वा तिनीहरूप्रति पूर्वाग्रह राख्ने नगरौं।—२ कोरिन्थी ११:४-६.

१२. यहोवाले नम्रहरूलाई मन पराउनुहुन्छ भनेर मोशाको उदाहरणले कसरी देखाउँछ?

१२ अर्कोतर्फ, नम्र व्यक्‍तिहरूले कसरी परमेश्‍वरको महिमाको झलक देख्छन्‌ भन्‍ने कुरा प्रकाश पार्ने थुप्रै बाइबल उदाहरणहरू छन्‌। मानिसहरूमध्ये “सबैभन्दा विनम्र व्यक्‍ति” मोशाले परमेश्‍वरको महिमा देखे र उहाँसितको घनिष्ठ सम्बन्धको आनन्द उठाए। (गन्ती १२:३) साधारण गोठालोको रूपमा बिताएको ४० वर्षमध्ये अधिकांश समय अरबको प्रायद्वीपमा बिताएका यी नम्र मानिसलाई सृष्टिकर्ताले धेरै तरिकामा मन पराउनुभयो। (प्रस्थान ६:१२, ३०) यहोवाको मदतद्वारा मोशा इस्राएल राष्ट्रको प्रवक्‍ता तथा प्रमुख व्यवस्थापक बने। तिनले परमेश्‍वरसित दोहोरो कुराकानी गरे। एउटा दर्शनमा तिनले यहोवाको “स्वरूप” देखे। (गन्ती १२:७, ८; प्रस्थान २४:१०, ११) यी नम्र सेवक तथा परमेश्‍वरको प्रतिनिधिलाई स्वीकार्नेहरूले पनि आशिष्‌ पाए। त्यसै गरी मोशाभन्दा अझ महान्‌ अगमवक्‍ता येशूका साथै उहाँले नियुक्‍त गर्नुभएका “विश्‍वासी र बुद्धिमान दास[लाई]” स्वीकाऱ्‍यौं अनि उहाँहरूको आज्ञा पालन गऱ्‍यौं भने हामीले पनि आशिष्‌ पाउनेछौं।—मत्ती २४:४५, ४६; प्रेरित ३:२२.

१३. प्रथम शताब्दीमा यहोवाको महिमा कसरी नम्र गोठालाहरूसामु प्रकट भयो?

१३ स्वर्गदूतले ‘मुक्‍तिदाता, ख्रीष्ट प्रभुको’ जन्म भएको सुसमाचार घोषणा गर्नुका साथै यहोवाको महिमाको “तेज” कसको सामु चम्क्यो? अहङ्‌कारी धार्मिक नेताहरू वा उच्च पदस्थ व्यक्‍तिहरूसामु नभई “चौरमा रहेर राती आफ्नो बगालको हेरचाह गरेर बस्ने” नम्र गोठालाहरूको सामु चम्क्यो। (लूका २:८-११) यी व्यक्‍तिहरूको योग्यता तथा कामलाई त्यत्ति आदर गरिंदैनथ्यो। तैपनि, यहोवाले तिनीहरूलाई नै याद गर्नुभयो र मसीहको जन्मबारे सबैभन्दा पहिला तिनीहरूलाई नै जानकारी दिन रोज्नुभयो। हो, यहोवाले नम्र र ईश्‍वर-भीरु व्यक्‍तिहरूलाई आफ्नो महिमा प्रकट गर्नुहुन्छ।

१४. परमेश्‍वरले नम्रहरूलाई कस्ता आशिष्‌हरू दिनुहुन्छ?

१४ यी उदाहरणहरूले हामीलाई के सिकाउँछ? यिनले देखाएअनुसार यहोवाले नम्रहरूलाई मन पराउनुहुन्छ र तिनीहरूलाई नै आफ्नो उद्देश्‍यको ज्ञान तथा समझ प्रकट गर्नुहुन्छ। कोही-कोही मानिसहरूले आशा गर्ने खास योग्यताहरू नभएका मानिसहरूलाई उहाँले छान्‍नुहुन्छ र उहाँको महिमित उद्देश्‍य अरूलाई थाह दिने माध्यमको रूपमा तिनीहरूलाई चलाउनुहुन्छ। यसले हामीलाई निर्देशनको लागि यहोवा, उहाँको भविष्यसूचक वचन र उहाँको संगठनमा भर परिरहन उत्प्रेरित गर्नुपर्छ। आफ्नो महिमित उद्देश्‍यको प्रकटीकरणबारे यहोवाले आफ्ना नम्र सेवकहरूलाई जानकारी दिइरहनुहुनेछ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। अगमवक्‍ता आमोसले यस्तो घोषणा गरे: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।”—आमोस ३:७.

नम्रता खेती गर्नुहोस्‌ र परमेश्‍वरको अनुमोदन पाउनुहोस्‌

१५. हामीले किन नम्रता कायम राखिरहने प्रयास गर्नै पर्छ र इस्राएलको राजा शाऊलको सन्दर्भमा यो कुरा कसरी प्रकाश पारिएको छ?

१५ अनन्तकालीन ईश्‍वरीय अनुमोदन पाउन हामी नम्र रहिरहनै पर्छ। एक पटक नम्र हुँदैमा त्यो व्यक्‍ति सधैंभरि नम्र रहिरहन्छ भन्‍ने छैन। कुनै व्यक्‍ति नम्रता त्यागेर घमन्डी र अभिमानी हुन सक्छ, जसले अहङ्‌कार र विनाशतर्फ डोऱ्‍याउँछ। इस्राएलको राजाको रूपमा अभिषिक्‍त भएका प्रथम व्यक्‍ति शाऊलको सन्दर्भमा यस्तै भयो। पहिला रोजिंदा तिनले ‘आफूले आफैलाई तुच्छ सम्झे।’ (१ शमूएल १५:१७) तथापि, जम्मा दुई वर्ष शासन गरेपछि तिनले अहङ्‌कारपूर्ण व्यवहार गरे। अगमवक्‍ता शमूएलमार्फत बलिदान चढाउने यहोवाको प्रबन्धलाई तिनले बेवास्ता गरे अनि आफूले बलिदान चढाउनु पनि उचितै थियो भनेर प्रमाणित गर्न बहाना बनाए। (१ शमूएल १३:१, ८-१४) यो त तिनमा नम्रताको कमी थियो भनी स्पष्टसित देखाउने घटनाहरूका क्रमको सुरुवात मात्र थियो। यसको परिणामस्वरूप तिनले परमेश्‍वरको आत्मा र अनुमोदन गुमाए, जसले अन्ततः तिनलाई लज्जास्पद मृत्युतर्फ डोऱ्‍यायो। (१ शमूएल १५:३-१९, २६; २८:६; ३१:४) यसबाट सिक्न सकिने पाठ स्पष्ट छ: हामीले नम्रता र आज्ञाकारिता कायम राख्ने प्रयास गर्नै पर्छ र आफैलाई महत्त्वपूर्ण ठान्‍ने झुकावलाई वशमा राखेर यहोवाको अनुमोदन गुमाउने कुनै पनि अहङ्‌कारपूर्ण कार्यहरूबाट जोगिनै पर्छ।

१६. यहोवा र हाम्रा सँगी मानवहरूसितको हाम्रो सम्बन्धबारे मनन गर्दा यसले हामीलाई कसरी नम्रता खेती गर्न मदत दिन्छ?

१६ नम्रता भनेको खेती गर्नै पर्ने ईश्‍वरीय गुण हो। (कलस्सी ३:१०, १२) यसमा मनको अवस्था अर्थात्‌ हामीले आफूलाई र अरूलाई कुन दृष्टिकोणले हेर्छौं भन्‍ने कुरा समावेश भएकोले गर्दा नम्रता विकास गर्न आफैले प्रयास नगरी हुँदैन। यहोवा र हाम्रा सँगी मानवहरूसितको हाम्रो सम्बन्धबारे गम्भीरतापूर्वक सोच्दा र मनन गर्दा यसले हामीलाई नम्र रहिरहन मदत दिन सक्छ। परमेश्‍वरको नजरमा सबै असिद्ध प्राणीहरू केही समयको लागि हलक्क बढ्‌ने र त्यसपछि सुकेर ओइलाइहाल्ने हरियो घाँसजस्तै हुन्‌। मानिसहरू खेतका फटेङ्‌ग्राहरूजस्ता मात्र हुन्‌। (यशैया ४०:६, ७, २२) घाँसको कुनै एउटा पात अरू पातहरूभन्दा लामो छ भन्दैमा के त्यसले घमन्ड गर्न मिल्छ र? कुनै एउटा फटेङ्‌ग्रो अरू फटेङ्‌ग्राहरूभन्दा अलि टाढासम्म उफ्रन सक्छ भन्दैमा के त्यसले आफ्नो पुरुषार्थमा गर्व गर्न मिल्छ र? यस्तो त सोच्नु मात्र पनि हाँसउठ्‌दो हुन्छ। त्यसैले प्रेरित पावलले आफ्ना सँगी मसीहीहरूलाई यसरी सम्झाए: “तिमीलाई कसले छुट्याउँछ र? तिमीले नपाएको के छ र? तर तिमीले पाएका छौ भने, त्यो नपाए जस्तैगरी किन घमण्डले फूल्दछौ?” (१ कोरिन्थी ४:७) यस्ता बाइबल पदहरूबारे मनन गर्दा यसले हामीलाई नम्रता खेती गर्न तथा देखाउन मदत दिन सक्छ।

१७. कुन कुराले अगमवक्‍ता दानियललाई नम्रता खेती गर्न मदत दियो र कुन कुराले हामीलाई पनि त्यसै गर्न मदत दिन सक्छ?

१७ हिब्रू अगमवक्‍ता दानियलले आफूलाई “दीन” अर्थात्‌ नम्र तुल्याएकोले गर्दा तिनलाई परमेश्‍वरको नजरमा “अति प्रिय मानिस” भनियो। (दानियल १०:११, १२) कुन कुराले दानियललाई नम्रता खेती गर्न मदत गऱ्‍यो? सर्वप्रथम त, नियमित रूपमा यहोवालाई प्रार्थना गरेर तिनले उहाँमाथि पूर्ण भरोसा देखाए। (दानियल ६:१०, ११) यसको साथै, दानियल परमेश्‍वरको वचनका लगनशील तथा सही मनसाय भएका विद्यार्थी थिए, जसले तिनलाई परमेश्‍वरको महिमित उद्देश्‍यमा ध्यान केन्द्रित गर्न मदत गऱ्‍यो। तिनी आफ्ना मानिसहरूको मात्र नभई आफ्नै कमीकमजोरीहरू पनि स्वीकार्न इच्छुक थिए। अनि तिनी आफ्नै होइन तर परमेश्‍वरको धार्मिकतालाई अघि बढाउन साँच्चै इच्छुक थिए। (दानियल ९:२, ५, ७) के हामी दानियलको उल्लेखनीय उदाहरणबाट सिक्न र हाम्रो जीवनको हर पक्षमा नम्रता खेती गर्न तथा देखाउन कोसिस गर्न सक्छौं?

१८. आज नम्रता देखाउनेहरूको लागि कस्तो महिमाले पर्खिरहेको छ?

१८ “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌” भनी हितोपदेश २२:४ ले बताउँछ। हो, यहोवाले नम्रहरूलाई अनुमोदन गर्नुहुन्छ र यसको नतिजा महिमा र जीवन हुन्छ। भजनहार आसापले एक पटक परमेश्‍वरको सेवा गर्न लत्तो छाड्‌नै आँटेको बेला यहोवाले तिनको सोचाइमा फेरि छाँटकाँट गर्नुभएपछि तिनले नम्रतापूर्वक यसरी स्वीकारे: “तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ। र त्यसपछि मलाई आफ्नो महिमा[मा] लिनुहुनेछ।” (भजन ७३:२४) आज नि? नम्रता देखाउनेहरूको लागि कस्तो महिमाले पर्खिरहेको छ? यहोवासित उहाँको अनुमोदनप्राप्त र आशिषित्‌ सम्बन्धको आनन्द उठाउनुका साथै तिनीहरूले राजा दाऊदका निम्न प्रेरित शब्दहरू पूरा भएको हेर्ने आशा गर्न सक्छन्‌: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” कस्तो महिमित भविष्य!—भजन ३७:११.

के तपाईंलाई याद छ?

• स्तिफनस कसरी यहोवाले आफ्नो महिमा प्रकट गर्नुभएको नम्र व्यक्‍तिको उदाहरण हुन्‌?

• यहोवा परमेश्‍वरले कुन-कुन तरिकामा नम्रता देखाउनुभएको छ?

• यहोवाले आफ्नो महिमा नम्रहरूलाई प्रकट गर्नुहुन्छ भन्‍ने कुरा कस्ता उदाहरणहरूले देखाउँछन्‌?

• दानियलको उदाहरणले हामीलाई कसरी नम्रता खेती गर्न मदत दिन सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

दृढ तैपनि नम्र

सन्‌ १९१९ मा संयुक्‍त राज्य अमेरिकाको ओहायो राज्यको सिडार प्वाइन्टमा भएको बाइबल विद्यार्थीहरूको (अहिले यहोवाका साक्षीहरू भन्‍ने नाउँले चिनिन्छन्‌) अधिवेशनमा त्यतिबेलाको कार्यको निरीक्षण गरिरहेका ५० वर्षीय जे. एफ. रदरफोर्डले अधिवेशनमा उपस्थित भएकाहरूको मालसामान खुसीसाथ बोकिदिएर ती आगन्तुकहरूलाई होटलको कोठा-कोठामा पुऱ्‍याइदिए। अधिवेशनको अन्तिम दिन त्यहाँ उपस्थित ७,००० जनालाई तिनले यी शब्दहरूद्वारा रोमाञ्चित तुल्याए: “तपाईं राजाहरूका राजा अनि प्रभुहरूका प्रभुको राजदूत हुनुहुन्छ, हाम्रा प्रभुको महिमित राज्यबारे . . . मानिसहरूलाई घोषणा गर्ने राजदूत।” भाइ रदरफोर्ड दृढ विश्‍वास भएका मानिस थिए अनि तिनी आफूले सत्य हो भनेर विश्‍वास गरेको कुराबारे जोडदार ढङ्‌गमा बोल्ने र त्यसमा सम्झौता नगर्ने व्यक्‍तिको रूपमा चिनिन्थे तैपनि परमेश्‍वरसामु तिनी साँच्चै नम्र थिए, जुन कुरा बेथेलमा हुने बिहानको उपासनामा तिनले गर्ने प्रार्थनाहरूमा अक्सर झल्कन्थ्यो।

[पृष्ठ ९-मा भएको चित्र]

धर्मशास्त्रमा पोख्त स्तिफनसले नम्रतापूर्वक खाना बाँडे

[पृष्ठ १०-मा भएको चित्र]

मनश्‍शेको नम्र मनोभावले यहोवालाई खुसी तुल्यायो

[पृष्ठ १२-मा भएको चित्र]

कुन कुराले दानियललाई “अति प्रिय मानिस” बनायो?