“एउटै मुखले” परमेश्वरलाई महिमा दिनुहोस्
“एउटै मुखले” परमेश्वरलाई महिमा दिनुहोस्
“एउटै मुखले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरूले गर।”—रोमी १५:६.
१. भिन्ना-भिन्नै दृष्टिकोण हुँदा यसलाई सुल्झाउनेबारे पावलले सँगी विश्वासीहरूलाई कस्तो पाठ सिकाए?
सबै मसीहीहरूले एउटै छनोट गर्दैनन् वा तिनीहरूको रुचि एउटै हुँदैन। तैपनि, सबै मसीहीहरू जीवनको मार्गमा हातेमालो गरेर हिंड्नै पर्छ। के त्यो सम्भव छ? सानातिना भिन्नताहरूलाई हामीले ठूलो विवादको विषय बनाएनौं भने सम्भव छ। प्रेरित पावलले प्रथम शताब्दीका सँगी विश्वासीहरूलाई यही पाठ सिकाए। यो महत्त्वपूर्ण बुँदालाई तिनले कसरी बुझाए? अनि तिनको प्रेरित सल्लाह आज हामी कसरी पालन गर्न सक्छौं?
मसीही एकताको महत्त्व
२. एकताको आवश्यकतामाथि पावलले कसरी जोड दिए?
२ मसीही एकता महत्त्वपूर्ण छ भनेर पावललाई थाह थियो र एक-अर्कालाई प्रेममा सहनको लागि मसीहीहरूलाई मदत गर्न तिनले राम्रो सल्लाह दिए। (एफिसी ४:१-३; कलस्सी ३:१२-१४) यद्यपि, थुप्रै मण्डलीहरू स्थापना गरेर ती मण्डलीहरूमा २० वर्षभन्दा लामो समयसम्म भ्रमण गरिसकेपछि, एकता कायम राख्नु चुनौतीपूर्ण हुन सक्छ भन्ने कुरा तिनलाई थाह थियो। (१ कोरिन्थी १:११-१३; गलाती २:११-१४) त्यसैले, रोममा बसोबास गरिरहेका सँगी विश्वासीहरूलाई तिनले यस्तो आग्रह गरे: “धीरज र शान्तिका परमेश्वरले तिमीहरूलाई . . . एउटै मन दिऊन्, कि एकै मनका भएर एउटै मुखले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरूले गर।” (रोमी १५:५, ६) त्यसै गरी, आज हामीले उहाँका जनहरूको एउटा एकताबद्ध समूहको रूपमा “एउटै मुखले” यहोवा परमेश्वरलाई महिमा दिनै पर्छ। यस सन्दर्भमा हामी के-कस्तो गर्दैछौं?
३, ४. (क) रोमका मसीहीहरूको कस्तो भिन्ना-भिन्नै पृष्ठभूमि थियो? (ख) रोमका मसीहीहरूले कसरी “एउटै मुखले” यहोवाको सेवा गर्न सक्ने थिए?
३ रोमका थुप्रै मसीहीहरू पावलका आफ्नै साथीहरू थिए। (रोमी १६:३-१६) तिनीहरूको पृष्ठभूमि भिन्ना-भिन्नै भए तापनि पावलले आफ्ना सबै भाइहरूलाई “परमेश्वरका प्रियहरू[को]” रूपमा स्वीकारे। तिनले यस्तो लेखे: “म आफ्ना परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, कि तिमीहरूको विश्वासको कीर्ति सारा संसारमा फैलिएको छ।” कुरा स्पष्ट छ, रोमीहरू धेरै तरिकामा उदाहरणीय थिए। (रोमी १:७, ८; १५:१४) यस्तो भए तापनि कुनै-कुनै विषयहरूमा मण्डलीका केही सदस्यहरूको बेग्लाबेग्लै दृष्टिकोण थियो। आजका मसीहीहरू पनि विभिन्न पृष्ठभूमि तथा संस्कृतिहरूबाट आएका हुनाले भिन्नताहरू सुल्झाउने सन्दर्भमा पावलले दिएका प्रेरित सल्लाह अध्ययन गर्दा यसले तिनीहरूलाई “एउटै मुखले” बोल्न मदत दिन सक्छ।
४ रोममा यहूदी तथा अन्यजाति दुवै खालका विश्वासीहरू थिए। (रोमी ४:१; ११:१३) मुक्ति पाउनको लागि मोशालाई दिइएको व्यवस्थाअन्तर्गत पालन गरिने प्रचलनहरू पालन गर्न आवश्यक छैन भनेर तिनीहरूलाई थाह हुनुपर्ने हो तैपनि केही यहूदी मसीहीहरूले भने केही खास प्रचलनहरू पालन गर्न छोडेनन्। अर्कोतर्फ, थुप्रै यहूदी मसीहीहरूले भने ख्रीष्टको बलिदानले मसीही हुनुअघि आफूले पालन गर्दै आएका प्रतिबन्धहरूबाट मुक्त गरिसक्यो भन्ने कुरा मानिलिए। फलस्वरूप, तिनीहरूले आफ्ना केही आनीबानी तथा प्रचलनहरूमा परिवर्तन ल्याए। (गलाती ४:८-११) यद्यपि, पावलले औंल्याएझैं, सबै मसीहीहरू “परमेश्वरका प्रियहरू” थिए। एक-अर्काप्रति उचित मानसिक झुकाव राखेको खण्डमा सबैले “एउटै मुखले” परमेश्वरको प्रशंसा गर्न सक्थे। केही खास विषयहरूमा आज हाम्रा पनि बेग्लाबेग्लै दृष्टिकोणहरू हुन सक्छन्, त्यसैले उक्त महत्त्वपूर्ण सिद्धान्त पावलले कसरी वर्णन गर्छन् भनी हामीले ध्यान दिएर विचार गर्नु बेस हुन्छ।—रोमी १५:४.
“एउटाले अर्कोलाई सत्कार गर”
५, ६. रोमको मण्डलीका मसीहीहरूको दृष्टिकोण किन भिन्ना-भिन्नै थियो?
५ रोमीहरूलाई लेखेको आफ्नो पत्रमा, भिन्ना-भिन्नै धारणाहरू भएको एउटा परिस्थितिबारे पावल बताउँछन्। तिनी यस्तो लेख्छन्: “एक जनालाई सबै थोक खाने विश्वास हुन्छ, तर कमजोरीले चाहिं साग-पात खान्छ।” किन त्यस्तो भएको? मोशालाई दिइएको व्यवस्थाअन्तर्गत सुँगुरको मासु खानु हुँदैनथ्यो। (रोमी १४:२; लेवी ११:७) तथापि, येशूको मृत्युपछि त्यो व्यवस्था क्रियाशील रहिरहेन। (एफिसी २:१५) येशूको मृत्यु भएको साढेतीन वर्षपछि, परमेश्वरको नजरबाट हेर्ने हो भने कुनै पनि खानेकुरालाई अशुद्ध ठान्नु हुँदैन भनी एक जना स्वर्गदूतले प्रेरित पत्रुसलाई बताए। (प्रेरित ११:७-१२) यो कुरालाई मनमा राख्दा, केही यहूदी मसीहीहरूले सुँगुरको मासु वा व्यवस्थाअन्तर्गत मनाही गरिएको अरू कुनै खानेकुरा खाए पनि हुन्छ भन्ने महसुस गरेका हुन सक्छन्।
६ तथापि, अरू यहूदी मसीहीहरूलाई भने पहिला अशुद्ध ठान्दै आएको खानेकुराहरू खानेबारे सोच्दा मात्र पनि दिगमिग लागेको हुन सक्छ। यहूदी पृष्ठभूमिबाट आएका आफ्ना सँगी मसीही भाइहरूले यस्तो खानेकुरा खाएको देख्दा यस्ता संवेदनशील व्यक्तिहरूलाई स्वाभाविकतः अप्ठ्यारो लागेको हुनुपर्छ। यसको अलावा, अन्यजातिका केही मसीहीहरू, जसको धार्मिक पृष्ठभूमिले कहिल्यै पनि यो खान हुन्छ र त्यो खान हुँदैन भनेर छेकबार लगाएको थिएन, त्यस्ता व्यक्तिहरू खानेकुराजस्तो झीना-मसिना विषयहरूलाई लिएर विवाद गरेको देख्दा छक्क परेका हुन सक्छन्। निस्सन्देह, उद्धार पाउन केही खास खानेकुराहरू खानै हुँदैन भनेर कसैले जिद्दी गर्दैन भने ती व्यक्तिले केही खास खानेकुराहरू नखानु गलत थिएन। तैपनि, विभिन्न खालका दृष्टिकोणहरूले मण्डलीमा सजिलै विवाद उत्पन्न गरेको हुन सक्छ। यस्ता भिन्नताहरूको कारण “एउटै मुखले” परमेश्वरलाई महिमा दिनदेखि आफूलाई नरोकोस् भनेर रोमका मसीहीहरू होसियार हुनुपर्ने थियो।
७. हरेक हप्ता एउटा विशेष दिन मनाउनेबारे कस्ता बेग्लाबेग्लै दृष्टिकोणहरू थिए?
७ पावल दोस्रो उदाहरण दिन्छन्: “एउटाले एक दिनलाई अर्को दिनभन्दा ठूलो मान्छ, औ अर्कोले सबै दिनलाई एकैनासको मान्छ।” (रोमी १४:५क) मोशाको व्यवस्थाअन्तर्गत विश्राम दिनमा कुनै पनि काम गर्नु हुँदैनथ्यो। त्यो दिनमा यात्रा गर्न समेत पूर्णतया निषेध गरिएको थियो। (प्रस्थान २०:८-१०; मत्ती २४:२०; प्रेरित १:१२) तथापि, व्यवस्था खारेज भएपछि ती निषेधाज्ञाहरू काम नलाग्ने भए। तैपनि, आफूले पहिला पवित्र ठान्दै आएको दिनमा कुनै काम गर्न वा लामो यात्रा गर्न केही यहूदी मसीहीहरूले अप्ठ्यारो महसुस गरेको हुनुपर्छ। परमेश्वरको नजरमा विश्राम दिनको नियम लागू नहुने भए तापनि मसीही बनिसकेपछि समेत तिनीहरूले सातौं दिनलाई आध्यात्मिक उद्देश्यको लागि मात्र प्रयोग गर्न छुट्ट्याएर राखेको हुनुपर्छ। के तिनीहरूले त्यसो गर्नु गलत थियो? परमेश्वरले विश्राम दिन मानेको चाहनुहुन्छ भनेर तिनीहरूले जिद्दी नगरेसम्म त्यसो गर्नु गलत थिएन। त्यसैले, आफ्ना मसीही भाइहरूको अन्तस्करणको ख्याल गर्दै पावलले यस्तो लेखे: “हरेक मानिसले आफ्नो आफ्नो मनमा पूरा निश्चय गरोस्।”—रोमी १४:५ख.
८. रोमका मसीहीहरूले अरूको अन्तस्करणप्रति विचार पुऱ्याउन सक्ने भए तापनि तिनीहरूले के गर्नु हुँदैनथ्यो?
८ तथापि, अन्तस्करणको आधारमा निर्णय गर्नुपर्ने विषयहरूमा अन्योलमा परिरहेका व्यक्तिहरूप्रति धीरजी हुन पावलले आफ्ना भाइहरूलाई न्यानो प्रोत्साहन दिए तापनि उद्धार पाउन मोशालाई दिइएको व्यवस्थाको अधीनमा नबसी हुँदैन भनेर सँगी विश्वासीहरूलाई जबरजस्ती गर्न कोसिस गर्नेहरूको तिनले कटु आलोचना गरे। उदाहरणका लागि, मोशालाई दिइएको व्यवस्थाको अधीनमा रहनुको कुनै महत्त्व छैन किनभने मसीहीहरूसित येशूको छुडौतीको बलिदानमा आधारित उत्कृष्ट आशा छ भनेर स्पष्टसित बुझाउँदै प्रेरित पावलले लगभग सा. यु. ६१ तिर यहूदी मसीहीहरूलाई एउटा सशक्त पत्र, हिब्रूको पुस्तक लेखे।—गलाती ५:१-१२; तीतस १:१०, ११; हिब्रू १०:१-१७.
९, १०. मसीहीहरू के गर्नदेखि जोगिनुपर्छ? वर्णन गर्नुहोस्।
९ हामीले देखेझैं, जबसम्म मसीही सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन हुँदैन, बेग्लाबेग्लै छनोटले एकतामा कुनै खतरा पुऱ्याउँदैन भनी पावल तर्क गर्छन्। त्यसैले, कमजोर अन्तस्करण भएका मसीहीहरूलाई पावल यसरी सोध्छन्: “तिमी आफ्नो भाइलाई किन दोष लाउँछौ?” अनि बलियाहरूलाई (सायद त्यस्ता व्यक्तिहरू जसको अन्तस्करणले तिनीहरूलाई व्यवस्थाअन्तर्गत मनाही गरिएका खास खानेकुराहरू खान वा विश्राम दिनमा सांसारिक कामहरू गर्न अनुमति दिन्छ) तिनी यसरी सोध्छन्: “तिमी फेरि आफ्नो भाइलाई किन तुच्छ ठान्छौ?” (रोमी १४:१०) पावलको भनाइअनुसार कमजोर अन्तस्करण भएका मसीहीहरू उदार दृष्टिकोण भएका आफ्ना भाइहरूको आलोचना गर्नदेखि टाढै बस्नुपर्छ। यसको साथै, बलिया मसीहीहरूले केही खास क्षेत्रहरूमा अझै पनि कमजोर अन्तस्करण भएका मसीहीहरूलाई तुच्छ ठान्नु हुँदैन। सबैले अरूको सही मनसायको कदर गर्नुपर्छ र “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी” सम्झनु हुँदैन।—रोमी १२:३, १८.
१० सन्तुलित दृष्टिकोणबारे पावलले यसरी वर्णन गरे: “खानेले नखानेलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्, किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।” तिनी अझै यसो भन्छन्: “परमेश्वरको महिमाको निम्ति, ख्रीष्टले हामीलाई सत्कार” गर्नुभयो। बलियो र कमजोर दुवै परमेश्वर र ख्रीष्टसामु स्वीकार्य भएकोले हामी पनि त्यस्तै ठूलो मनको हुनुपर्छ र “एउटाले अर्कोलाई सत्कार” गर्नुपर्छ। (रोमी १४:३; १५:७) यस कुरामा सहमत हुन नसक्ने को पो होला र?
भातृप्रेमले आज एकता उत्पन्न गराउँछ
११. पावलको समयमा कस्तो अनौठो परिस्थिति उत्पन्न भयो?
११ रोमीहरूलाई लेखेको आफ्नो पत्रमा पावल एउटा अनौठो परिस्थितिबारे बताउँदै थिए। यहोवाले भर्खरै एउटा करार खारेज गरेर अर्को नयाँ करार स्थापना गर्नुभएको थियो। कसै-कसैलाई यसअनुसार छाँटकाँट गर्न गाह्रो परिरहेको थियो। तिनीहरूकै जस्तो परिस्थिति त अहिले छैन तर बेलाबेलामा यस्तै खालको विवाद उत्पन्न हुन सक्छ।
१२, १३. आज मसीहीहरूले कस्ता-कस्ता परिस्थितिहरूमा आफ्ना भाइहरूको अन्तस्करणलाई विचार गर्न सक्छन्?
१२ उदाहरणका लागि, एक जना मसीही स्त्री पहिले सरल पहिरन र रूपरङमा जोड दिने धर्मको सदस्य थिइन् होला। तिनले सच्चाइ स्वीकारेपछि, उपयुक्त अवसरमा भद्र र रङ्गीचङ्गी कपडा लगाउन वा सुहाउँदो शृङ्गार गर्न मनाही गरिएको छैन भन्ने कुरा स्वीकार्न तिनलाई गाह्रो हुन सक्छ। यसमा कुनै बाइबल सिद्धान्त समावेश नभएकोले गर्दा कसैले पनि ती स्त्रीलाई तिनको अन्तस्करण विपरीत काम गर्न लगाउनु उचित हुनेछैन। यसको साथै, ती स्त्रीले पनि आफ्नो अन्तस्करणले यस्ता चीजहरू प्रयोग गर्न अनुमति दिने अरू मसीही स्त्रीहरूको आलोचना गर्नु हुँदैन।
१३ अर्को उदाहरण विचार गर्नुहोस्। एक जना मसीही पुरुष मदिराको प्रयोग गर्न अनुचित ठानिने वातावरणमा हुर्किएका हुन सक्छन्। सत्यको ज्ञानमा आइसकेपछि तिनले मद्य परमेश्वरबाटको उपहार हो र सन्तुलित मात्रामा यसको प्रयोग गर्न सकिन्छ भन्ने बाइबलको दृष्टिकोण सिक्छन्। (भजन १०४:१५) तिनले त्यो दृष्टिकोण स्वीकार्छन्। तैपनि, आफ्नो पृष्ठभूमिको कारण तिनी मादक पेयपदार्थबाट पूर्णतया अलग रहन रुचाउँछन् तर सन्तुलित मात्रामा मदिरा प्रयोग गर्नेहरूको तिनी आलोचना गर्दैनन्। यसरी तिनी पावलका निम्न शब्दहरू लागू गर्छन्: “हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि लागौं।”—रोमी १४:१९.
१४. मसीहीहरूले कस्ता-कस्ता परिस्थितिहरूमा पावलले रोमीहरूलाई दिएका सल्लाहको सार लागू गर्न सक्छन्?
१४ पावलले रोमीहरूलाई दिएका सल्लाहको सार लागू गर्नुपर्ने अरू परिस्थितिहरू पनि खडा हुन सक्छन्। मसीही मण्डली थुप्रै व्यक्तिविशेषहरू मिलेर बनेको छ र तिनीहरूको रुचि बेग्लाबेग्लै हुन्छ। त्यसैले, उदाहरणका लागि, पहिरन तथा कोरीबाटीजस्ता विषयहरूमा तिनीहरूको रोजाइ बेग्लाबेग्लै हुन सक्छ। निस्सन्देह, सबै साँचो मसीहीहरूले पछ्याउनुपर्ने स्पष्ट सिद्धान्त बाइबलले उल्लेख गरेको छ। हामीमध्ये कसैको पनि पहिरन वा कपालको स्टाइल अनौठो खालको वा अमर्यादित वा यस संसारको अस्वीकार्य तत्त्वहरूसित हाम्रो सम्बन्ध भएको कुरा झल्काउने खालको हुनु हुँदैन। (१ यूहन्ना २:१५-१७) हरसमय, भन्ने हो भने आराम गरिरहेको समयमा समेत हामी ब्रह्माण्डको सार्वभौमका सेवकहरू हौं भन्ने कुरा मसीहीहरू बिर्संदैनन्। (यशैया ४३:१०; यूहन्ना १७:१६; १ तिमोथी २:९, १०) तथापि, थुप्रै क्षेत्रमा मसीहीहरूले विभिन्न प्रकारका छनोट गर्न सक्छन् र ती सबै स्वीकार्य हुन सक्छन्। a
अरूलाई बाधा पार्नदेखि जोगिनुहोस्
१५. आफ्ना भाइहरूको लाभको लागि कुन बेला एक जना मसीहीले आफ्नो अधिकार प्रयोग नगर्न सक्छन्?
१५ रोमका मसीहीहरूलाई पावलले दिएका सल्लाहमा समावेश अर्को एउटा महत्त्वपूर्ण सिद्धान्तप्रति पनि तिनी हाम्रो ध्यान खिच्छन्। कहिलेकाहीं राम्ररी प्रशिक्षण पाएको अन्तस्करण भएका एक जना मसीहीले कुनै काम गलत नभए तापनि त्यो काम नगर्ने छनोट गर्न सक्छन्। किन? किनभने तिनले कुनै खास मार्ग पछ्याउँदा यसले अरूलाई हानि पुऱ्याउन सक्छ भनी तिनलाई थाह छ। त्यस्तो अवस्थामा हामीले के गर्नुपर्छ? पावल यसो भन्छन्: “असल ता हुन्छ, मासु नखानु, मद्य नपिउनु, केही नगर्नु, जसबाट तिम्रो भाइलाई बाधा पर्छ।” (रोमी १४:१४, २०, २१) त्यसकारण, “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन। हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नालाई खुश तुल्याउनुपर्छ।” (रोमी १५:१, २) हामीले गर्ने कामले कुनै सँगी मसीहीको अन्तस्करणमा चोट पुऱ्याउन सक्छ भने भातृप्रेमले हामीलाई विचारशील हुन र अरूलाई बाधा पार्ने कामहरू नगर्न उत्प्रेरित गर्नेछ। यसको एउटा उदाहरण मादक पेयपदार्थको प्रयोग हुन सक्छ। मसीहीहरूले ठिक्क मात्रामा मद्य पिउन सक्छन्। तर तिनले मद्य पिउँदा तिनका साथीलाई बाधा पुग्छ भने पिउन पाउने आफ्नो अधिकारमा तिनले जिद्दी गर्नेछैनन्।
१६. आफ्नो इलाकाका व्यक्तिहरूप्रति हामी कसरी विचारशीलता देखाउन सक्छौं?
१६ मसीही मण्डली बाहिरका व्यक्तिहरूसित व्यवहार गर्दा पनि यही सिद्धान्त लागू गर्न सकिन्छ। उदाहरणका लागि, हामी यस्तो क्षेत्रमा बसोबास गरिरहेका हुन सक्छौं, जहाँको मुख्य धर्मले यसका अनुयायीहरूलाई हप्ताको कुनै एउटा दिनलाई आराम गर्ने दिनको रूपमा लिन सिकाउँछ। त्यसकारण, हाम्रा छिमेकीहरूलाई बाधा नपुगोस् र हाम्रो प्रचारकार्यमा अवरोध खडा नहोस् भनेर तिनीहरूलाई अप्ठ्यारो महसुस हुने कामहरू हामी त्यस दिन सकेसम्म गर्नेछैनौं। अर्को एउटा अवस्थामा, एक जना सम्पन्न मसीही आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न बसाइँ सर्न सक्छन् र हुनसक्छ, त्यहाँ गरिब मानिसहरू बसोबास गर्छन्। साधारण पहिरन लगाएर वा आफ्नो औकातले दिनेभन्दा साधारण जीवन शैली बिताएर तिनले आफ्ना नयाँ छिमेकीहरूप्रति विचारशीलता देखाउने छनोट गर्न सक्छन्।
१७. हामीले गर्ने छनोटहरूमा अरूको विचार गर्नु किन व्यावहारिक छ?
१७ “बलियाहरूले” यस्तो छाँटकाँट गरेको आशा गर्नु के व्यावहारिक हो? निम्न उदाहरण विचार गर्नुहोस्: राजमार्गमा गाडी हाँकिरहेको बेला अगाडि सडकको छेउमा केही बच्चाहरू हिंडिरहेको हुँदा तिनीहरूलाई चोटपटक लाग्ने सम्भावना हामी देख्छौं। हाम्रो कानुनी अधिकार छ भन्दैमा के हामी तीव्र गतिमा गाडी चलाइरहन्छौं र? पक्कै चलाउँदैनौं, सम्भाव्य हानिबाट बच्चाहरूलाई जोगाउन हामी गति कम गर्छौं। हाम्रा सँगी विश्वासीहरू वा अरूसितको हाम्रो सम्बन्धको सन्दर्भमा पनि गति कम गर्न वा आफ्नो अडानमा जिद्दी नगर्न कहिलेकाहीं हामीमा यस्तै इच्छुकता आवश्यक पर्न सक्छ। हामीले आफ्नो पूर्ण अधिकार भएको कुनै काम गरिरहेको हुन सक्छौं। बाइबलका कुनै पनि सिद्धान्तहरू उल्लङ्घन नभएका हुन सक्छन्। तैपनि, हामीले अरूलाई अप्ठ्यारोमा पार्न वा कमजोर अन्तस्करण भएकाहरूलाई हानि पुऱ्याउन सक्छौं भने मसीही प्रेमले हामीलाई होसियारसाथ कदम चाल्न उत्प्रेरित गर्नेछ। (रोमी १४:१३, १५) हाम्रा व्यक्तिगत अधिकारहरूमा जिद्दी गर्नुभन्दा महत्त्वपूर्ण कुरा एकता कायम राख्नु र परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई बढाउनु हो।
१८, १९. (क) अरूप्रति विचारशीलता देखाउने सन्दर्भमा हामी कसरी येशूको उदाहरण पछ्याउँछौं? (ख) कस्ता कुराहरूमा हामी पूर्णतया एकताबद्ध हुन्छौं र अर्को लेखमा कुन कुराबारे छलफल गरिनेछ?
१८ यसरी काम गर्दा हामीले अत्युत्तम उदाहरण पछ्याउँछौं। पावल यसो भन्छन्: “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन, तर जसो लेखिएको छ, ‘तपाईंलाई गाली गर्नेहरूका गाली ममाथि पऱ्यो।’ ” हाम्रो लागि आफ्नो जीवन बलिदान दिन येशू इच्छुक हुनुहुन्थ्यो। हामीले आफ्ना केही अधिकारहरू त्याग गर्दा यसले “निर्धाहरू[लाई]” हामीसितै मिलेर एकतामा परमेश्वरलाई महिमा दिन मदत गर्छ भने पक्कै पनि हामी त्यस्ता त्यागहरू गर्न इच्छुक छौं। कमजोर अन्तस्करण भएका मसीहीहरूप्रति सहनशील र उदारभाव देखाउँदा—वा अरूलाई बाधा नपार्ने छनोटहरू इच्छुकतासाथ गर्दा र आफ्नो अधिकारलाई लिएर जिद्दी नगर्दा—हामीसित “ख्रीष्ट येशूको अनुसार . . . एउटै मन” भएको कुरा देखिन्छ।—रोमी १५:१-५.
१९ धर्मशास्त्रीय सिद्धान्तहरू समावेश नभएका कुराहरूमा हाम्रो दृष्टिकोण अलि बेग्लाबेग्लै होला तर उपासनाको सन्दर्भमा भने हामी पूर्णतया एकताबद्ध हुन्छौं। (१ कोरिन्थी १:१०) उदाहरणका लागि, साँचो उपासनाको विरोध गर्नेहरूप्रतिको हाम्रो प्रतिक्रियामा यस्तो एकता प्रस्ट हुन्छ। यस्ता विरोधीहरूलाई परमेश्वरको वचनले बिरानाहरू भन्छ र हामीलाई ‘बिरानो सोरदेखि’ सजग रहन चेतावनी दिन्छ। (यूहन्ना १०:५) यस्ता बिरानाहरूलाई हामी कसरी चिन्न सक्छौं? तिनीहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? यी प्रश्नहरूबारे अर्को लेखमा विचार गरिनेछ।
[फुटनोट]
a पहिरनको सन्दर्भमा नाबालिगहरू भने आफ्ना आमाबाबुको इच्छा अनुरूप चल्छन्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• व्यक्तिगत कुराहरूबारे बेग्लाबेग्लै दृष्टिकोण हुँदैमा यसले किन एकतामा कुनै खतरा पुऱ्याउँदैन?
• मसीहीहरूको रूपमा हामीले किन एक-अर्काप्रति न्यानो विचारशीलता देखाउनुपर्छ?
• एकताबारे पावलले दिएको सल्लाहलाई आज हामीले लागू गर्न सक्ने केही तरिकाहरू के-के हुन् र यसो गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नेछ?
[प्रश्नहरू]
[पृष्ठ ९-मा भएको चित्र]
एकताबारे पावलको सल्लाह मण्डलीको लागि महत्त्वपूर्ण थियो
[पृष्ठ १०-मा भएको चित्र]
विभिन्न पृष्ठभूमि भएता पनि मसीहीहरू एकताबद्ध छन्
[पृष्ठ १२-मा भएको चित्र]
अब यो चालकले के गर्नुपर्छ?