सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले परमेश्‍वरको शासनको पक्षमा दृढ अडान लियौं

हामीले परमेश्‍वरको शासनको पक्षमा दृढ अडान लियौं

जीवनी

हामीले परमेश्‍वरको शासनको पक्षमा दृढ अडान लियौं

मिकाल जोबराकको वृत्तान्तमा आधारित

एक महिना एकल बन्दीगृहमा बिताइसकेपछि, मलाई लछार-पछार पार्दै केरकार गर्ने व्यक्‍तिकहाँ लगियो। तुरुन्तै, त्यो व्यक्‍ति रिसले रातोपिरो भयो अनि बेस्सरी चिच्यायो: “तँ जासुस! अमेरिकी जासुस!” त्यो व्यक्‍ति किन यति साह्रो रिसाएको? म कुन धर्म मान्छु भनेर उसले भर्खरै सोधेको थियो र मैले यस्तो जवाफ दिएको थिएँ: “म एक जना यहोवाको साक्षी हुँ।”

यो झन्डै आधा शताब्दीअघिको घटना हो। त्यसबेला म बसेको देशमा कम्युनिस्ट शासन थियो। तर यसभन्दा धेरै अघि नै हाम्रो मसीही शैक्षिक कार्यमा हामीले डरलाग्दा विरोधहरू खपिसकेका थियौं।

हामी युद्धका पीडादायी असरहरूको सामना गर्छौं

सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु हुँदा म आठ वर्षको थिएँ। त्यसबेला मेरो गाउँ जालुजिट्‌से अष्ट्रो-हङ्‌गेरियन साम्राज्यअन्तर्गत राजतन्त्रको अधीनमा थियो। त्यो युद्धले संसारको दृश्‍यलाई मात्र बिगारेन तर साह्रै नमिठोसित मेरो बाल्यकाल पनि मबाट खोस्यो। मेरो बुबा एक जना सिपाही हुनुहुन्थ्यो अनि युद्ध चलेको पहिलो वर्षमै उहाँ मारिनुभयो। जसले गर्दा मेरी आमा, मेरा दुई जना बहिनी अनि म चरम गरिबीमा पुगें। घरको सबैभन्दा जेठो अनि छोरा मान्छे म नै भएकोले छिट्टै हाम्रो सानो बारी अनि घर वरपरका धेरै जिम्मेवारीहरू मेरो काँधमा आइपऱ्‍यो। कलिलो उमेरदेखि नै म धेरै धर्मकर्म गर्ने व्यक्‍ति थिएँ। हाम्रो रिफर्मड (क्याल्भिनिस्ट) चर्चको पादरीले मलाई उनको कायममुकायम भएर काम गर्न अनि उनको अनुपस्थितिमा मेरा सहपाठीहरूलाई सिकाउन समेत लगाउँथे।

सन्‌ १९१८ मा प्रथम विश्‍वयुद्धको अन्त भयो अनि बल्ल हामीले चयनको लामो सास फेऱ्‍यौं। अष्ट्रो-हङ्‌गेरियन सम्राज्य पतन भइसकेको थियो अनि हामी चेकोस्लोभाकिया गणतन्त्रका नागरिक बन्यौं। धेरै समय बित्न नपाउँदै, संयुक्‍त राज्य अमेरिका बसाइँ सरेका हाम्रो इलाकामा बस्ने धेरै व्यक्‍तिहरू घर फर्किन थाले। त्यसमध्ये मिकाल पेट्रिक पनि थिए जो सन्‌ १९२२ मा हाम्रो गाउँमा आए। उनले हाम्रो छिमेकको एउटा परिवारलाई भेट्‌दा मेरी आमा र मलाई पनि बोलाए।

परमेश्‍वरको शासन हाम्रो लागि वास्तविक बन्छ

मिकाल एक जना बाइबल स्टुडेन्ट थिए, त्यतिबेला यहोवाका साक्षीहरू यही नाउँले चिनिन्थे र उनले महत्त्वपूर्ण बाइबल विषयहरूमा कुरा गरे र त्यसले मेरो चासो जगायो। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिं यहोवाको राज्य आउनेबारे थियो। (दानियल २:४४) उनले जाहोर गाउँमा अर्को आइतबार एउटा मसीही सभा हुने कुरा बताउँदा म त्यहाँ जान कटिबद्ध भएँ। म बिहान ४ बजे उठें अनि आफन्तकहाँ गएर साइकल माग्न आठ किलोमिटर हिंडें। पन्चर टालिसकेपछि मैले जाहोरसम्म अर्को २४ किलोमिटर यात्रा गरें। सभा कहाँ हुने हो मलाई थाह थिएन, त्यसैले एउटा गल्लीमा बिस्तारै साइकल गुडाउन थालें। त्यसपछि मेलै एउटा घरमा राज्य गीत गाइरहेको सुनें। म दङ्‌ग परे। त्यो घरभित्र छिरें अनि आफू त्यहाँ आउनुको कारण बताएँ। मलाई त्यस परिवारसितै बिहानको चमेना गर्न निम्त्याइयो र त्यसपछि तिनीहरूले मलाई सभासम्म लिएर गए। घर फर्कनको लागि साइकल चढेर अनि हिंडेर ३२ किलोमिटरभन्दा धेरै बाटो यात्रा गर्नुपर्थ्यो तैपनि मलाई रत्तिभर थकाइ लागेको महसुस भएन।—यशैया ४०:३१.

यहोवाका साक्षीहरूले सिकाएका बाइबल आधारित स्पष्ट विवरणहरूबाट म मुग्ध थिएँ। परमेश्‍वरको शासनअन्तर्गत पूर्ण तथा सन्तुष्ट जीवनको आनन्द उठाउन पाउने प्रत्याशाले मेरो हृदय छोयो। (भजन १०४:२८) मेरी आमा र म दुवैले हाम्रो चर्चमा राजीनामा पत्र बुझाउने निर्णय गऱ्‍यौं। यसले हाम्रो गाउँमा ठूलो हलचल मच्चायो। कोही-कोही त केही समयसम्म हामीसित बोल्नसमेत छाडे तर हाम्रो इलाकाका धेरै साक्षीहरुसित हाम्रो राम्रो संगति थियो। (मत्ती ५:११, १२) धेरै समय नबित्दै ऊँ नदीमा मैले बप्तिस्मा लिएँ।

सेवकाई नै हाम्रो जीवनको बाटो बन्छ

यहोवाको राज्यबारे प्रचार गर्न हामीले हरअवसरको सदुपयोग गऱ्‍यौं। (मत्ती २४:१४) हामीले विशेष गरेर आइतबारको दिन सुव्यवस्थित प्रचारकार्यमा ध्यान केन्द्रित गऱ्‍यौं। सामान्यतया त्यतिबेला मानिसहरू बिहान सबेरै उठ्‌थे, त्यसैले हामी बिहानै प्रचारकार्य सुरु गर्न सक्थ्यौं। दिउँसोतिर भने जनसभाको आयोजना गरिएको थियो। अक्सर बाइबल शिक्षकहरूले कुनै रूपरेखाविना स्वतःस्फूर्त ढङ्‌गमा बोल्थे। वक्‍ताहरूले धेरै जिज्ञासु मानिसहरू, तिनीहरूको धार्मिक पृष्ठभूमि अनि तिनीहरूका चासोका विषयहरूलाई ध्यान दिन्थे।

हामीले प्रचार गरेको बाइबल सत्यले इमानदार हृदय भएका धेरै मानिसहरूको आँखा खोल्यो। बप्तिस्मा लिने बित्तिकै मैले ट्रिहोभिस्टे गाउँमा प्रचार गरें। एउटा घरमा मैले एक जना अत्यन्तै दयालु र मित्रैली महिला श्रीमती जुजाना मोस्कालसित कुरा गरें। तिनी अनि तिनको परिवार पहिले म जस्तै क्याल्भिनिस्ट थिए। तिनलाई बाइबलको धेरै कुरा थाह भए तापनि बाइबलसम्बन्धी तिनका धेरै अनुत्तरित प्रश्‍नहरू थिए। हामीले एक घण्टा लामो छलफल गऱ्‍यौं अनि मैले तिनलाई हार्प अफ गड a शीर्षकको पुस्तक दिएँ।

आफ्नो नियमित बाइबल अध्ययन कार्यक्रममा मोस्कालले तुरुन्तै हार्प पुस्तक पनि पढ्‌न थालिन्‌। उक्‍त गाउँका धेरै परिवारहरूले चासो देखाए अनि हाम्रा सभाहरू धाउन थाले। तिनीहरूको क्याल्भिनिस्ट पादरीले हामी अनि हाम्रो साहित्यविरुद्ध कडा चेतावनी दिए। त्यसपछि केही जिज्ञासुहरूले पादरीलाई हाम्रो सभामा आएर खुला छलफलमा हाम्रा शिक्षाहरूलाई झूटो ठहऱ्‍याउने सल्लाह दिए।

पादरी आए तर उनले बाइबलबाट आफ्नो शिक्षालाई समर्थन गर्ने एउटा तर्क पनि प्रस्तुत गर्न सकेनन्‌। आफूलाई जोगाउन उनले यसो भने: “हामी बाइबलमा भएका सबै कुरामा विश्‍वास गर्न सक्दैनौं। यो मानिसहरूले लेखे अनि धार्मिक प्रश्‍नहरूलाई बेग्लै किसिमले व्याख्या गर्न सकिन्छ।” उनको यो भनाइ सुनेपछि धेरैको जीवनले एउटा निर्णायक मोड लियो। उनले बाइबलमा विश्‍वास गर्दैनन्‌ भने अबदेखि उनको प्रवचन सुन्‍न नजाने कुरा कसै-कसैले गरे। यसरी तिनीहरूले क्याल्भिनिस्ट चर्चसितको आफ्नो नाता तोडे अनि त्यस गाउँका करिब ३० जना मानिसले बाइबल सत्यको पक्षमा बलियो अडान लिए।

राज्यको सुसमाचार प्रचार गर्नु हाम्रो जीवनको बाटो नै बन्यो अनि मेरो मनमा कुनै आध्यात्मिक तवरमा बलियो परिवारकी एउटी सहयात्रीको चाह हुनु स्वभाविक नै थियो। मेरो एक जना सहकर्मी यान पेट्रुस्का थिए जसले संयुक्‍त राज्य अमेरिकामा सच्चाइ सिकेका थिए। उनकी छोरी मारियाको आफ्नो बाबुको जस्तै सबैलाई साक्षी दिने इच्छुकताले गर्दा म प्रभावित भएँ। सन्‌ १९३६ मा हामीले विवाह गऱ्‍यौं अनि सन्‌ १९८६ मा उनको मृत्यु नहोउन्जेल ५० वर्षसम्म मारिया मेरो विश्‍वासी जीवनसाथी बनिन्‌। सन्‌ १९३८ मा हाम्रो एक मात्र छोरा एड्‌वार्टको जन्म भयो। तर त्यसबेला युरोपमा अर्को युद्ध चर्कनै लागेको जस्तो देखिन्थ्यो। यसले कसरी हाम्रो कामलाई असर गर्ने थियो?

हाम्रो मसीही तटस्थताको जाँच हुन्छ

दोस्रो विश्‍वयुद्ध सुरु हुँदा छुट्टै राष्ट्र बनेको स्लोभाकिया नाजीहरूको अधीनमा थियो। यद्यपि, यहोवाका साक्षीहरूको संगठन विरुद्ध भने कुनै खास सरकारी कारबाही गरिएन। हुन त, हामीले गुप्त रूपमा आफ्नो काम गर्नुपर्थ्यो अनि हाम्रा साहित्यहरू सेन्सर गरिन्थ्यो। तैपनि, हामीले बुद्धिमानीसाथ आफ्ना क्रियाकलापहरूलाई निरन्तरता दियौं।—मत्ती १०:१६.

युद्ध चर्किंदा मेरो उमेर ३५ वर्ष कटिसकेको भए तापनि मलाई सेनामा जाने आदेश दिइयो। मेरो मसीही तटस्थताले गर्दा मैले युद्धमा भाग लिन इन्कार गरें। (यशैया २:२-४) खुसीको कुरा, मलाई के गर्ने भनेर अधिकारीहरूले निर्णय गर्नु अगावै मेरो उमेरकाहरू जति सबैलाई रिहा गरियो।

हामी ग्रामीण इलाकामा बस्नेहरूलाई भन्दा सहरतिर बसोबास गर्ने हाम्रा भाइहरूलाई दैनिक उपभोग्य वस्तुहरू प्राप्त गर्न झनै कठिन भएको हामीले महसुस गऱ्‍यौं। हामीसित जे-जति छ बाँडचुँड गर्न चाहन्थ्यौं। (२ कोरिन्थी ८:१४) त्यसैले, हामी आफूले बोक्न सक्ने जति खाद्य सामग्रीहरू बोक्थ्यौं अनि आफ्नो मुलुकबाट ५०० किलोमिटरभन्दा धेरै टाढाको यात्रा गरेर ब्राटिस्लाभासम्म पुग्थ्यौं। मसीही मित्रताको बन्धन अनि युद्धका वर्षहरूमा हामीले विकास गरेको प्रेमले आउनै लागेको कठिन वर्षहरूमा हामीलाई सँभाल्यो।

आवश्‍यक प्रोत्साहन पाउँदै

दोस्रो विश्‍वयुद्धपश्‍चात्‌ स्लोभाकिया फेरि एक चोटि चेकोस्लोभाकियाको भाग बन्यो। सन्‌ १९४६ देखि १९४८ सम्म यहोवाका साक्षीहरूको राष्ट्रव्यापी अधिवेशनहरू ब्रनो अथवा प्रागमा आयोजना गरियो। पूर्वीय स्लोभाकियामा बस्ने अधिवेशन प्रतिनिधिहरूको लागि प्रबन्ध गरिएको विशेष रेलहरूमा हामीले यात्रा गऱ्‍यौं। तपाईंहरू यी रेलहरूलाई गाइने रेलहरू पनि भन्‍न सक्नुहुन्छ, किनकि हामीले यात्राभरि गीत गायौं।—प्रेरित १६:२५.

म विशेषगरी सन्‌ १९४७ मा ब्रनोमा भएको अधिवेशनलाई सम्झन्छु जहाँ मुख्यालयबाट तीन जना मसीही निरीक्षक आउनुभएको थियो जसमा भाइ नेथन एच. नोर पनि हुनुहुन्थ्यो। जनभाषणको विज्ञापन गर्न प्लेकार्डहरू बोकेर हामी जनभाषणको विषय घोषणा गर्दै सहरभरि घुम्यौं। त्यतिबेला नौ वर्ष मात्र पुगेको हाम्रो छोरा एड्‌वार्ट प्लेकार्ड बोक्न नपाएकोमा धेरै रिसायो। त्यसैले भाइहरूले उसको लागि मात्र नभई अरू धेरै बच्चाहरूको लागि स-साना प्लेकार्डहरू बनाइदिए। यी बच्चाहरूको समूहले निकै राम्ररी भाषणको विज्ञापन गरे।

फेब्रुअरी सन्‌ १९४८ मा कम्युनिस्टहरू शक्‍तिमा आए। हाम्रो सेवकाईमाथि प्रतिबन्ध लगाउन सरकारले ढिलो वा चाँडो कुनै न कुनै कदम चाल्ने थियो भनेर हामीलाई थाह थियो। सेप्टेम्बर सन्‌ १९४८ मा प्रागमा एउटा अधिवेशनको आयोजना गरियो अनि त्यतिबेला हामी अत्यन्तै गम्भीर भएका थियौं किनकि केवल तीन वर्षको भेला हुन पाउने स्वतन्त्रतापछि हाम्रो सार्वजनिक भेलामा अर्को प्रतिबन्ध लाग्ने कुरा हामीले आशा गरेका थियौं। अधिवेशन टुङ्‌ग्याउनुअघि हामीले एउटा प्रस्तावना पारित गऱ्‍यौं, जसको केही अंश यस्तो थियो: “हामी यहाँ भेला भएका यहोवाका साक्षीहरू . . . यस आनन्दित सेवालाई अझ विस्तार गर्न कटिबद्ध छौं अनि प्रभुको आशिष्‌द्वारा जस्तोसुकै समय अनि परिस्थितिमा यो कार्य अघि बढाउन र परमेश्‍वरको राज्यको सुसमाचार जनघोषणा गर्न दत्तचित्त भएर लाग्नेछौं।”

“राष्ट्रका दुस्मनहरू”

प्राग अधिवेशनको दुई महिनापछि नै गुप्तचर प्रहरीहरूले प्राग नजिकैको बेथेल घरमा छापा मारे। तिनीहरूले सम्पत्तिहरू कब्जामा लिए, आफूले भेट्टाउन सक्ने जति सबै साहित्यहरू जफत गरे अनि सबै बेथलाइट तथा केही भाइहरूलाई पक्राउ गरे। तर कुरा त्यति मात्र थिएन।

सन्‌ १९५२ फ्रेब्रुअरी ३-४ को रातको बेला देशभरि सुरक्षा फौज तैनाथ गरियो अनि १०० भन्दा धेरै साक्षीहरूलाई पक्राउ गरियो। पक्राउ पर्नेहरूमा म पनि एक जना थिएँ। बिहान तीन बजेतिर प्रहरीले मेरो सबै परिवारलाई जगायो। कहाँ लैजाने के गर्ने केही नभनी मलाई तिनीहरूसित जाने आदेश दियो। हतकडी लगाइयो र आँखामा पट्टि बाँधियो अनि अरू धेरै जनासँगै मलाई तिनीहरूले ट्रकमा फालिदिए। अनि लगेर एकल बन्दीगृहमा राखे।

एक जनासँग पनि कुरा नगरी एक महिना बित्यो। मैले देख्ने व्यक्‍ति भनेको एक जना गार्ड मात्र थियो जसले अलिकता खाना ढोकाको चेपबाट हुत्याइदिन्थ्यो। अनि मैले सबैभन्दा पहिले बताएको केरकार गर्ने व्यक्‍तिसामु मलाई हाजिर गराइयो। मलाई जासुस भनिसकेपछि उसले अझै यसो भन्यो: “धर्म भनेको अज्ञानताको उपज हो। ईश्‍वर छैन! हामी तँलाई हाम्रा सीधासादा मजदुरहरूलाई मूर्ख बनाउन दिंदैनौं। तँलाई कि त फाँसी दिइनेछ नत्र भने तँ जेलमै सड्‌नेछस्‌। अनि यहाँ तेरा परमेश्‍वरै आए पनि हामी त्यसलाई पनि मार्छौं!”

हाम्रा मसीही गतिविधिहरूलाई रोक्ने कुनै खास कानुन नभएको अधिकारीहरूलाई थाह थियो, त्यसैले तिनीहरूको कानुनअनुसार हाम्रो कामलाई “राष्ट्रका दुस्मन” अनि विदेशी जासुस भनी देखाउन चाहन्थे। यसो गर्न तिनीहरूले हाम्रो निष्ठालाई तोड्‌नुपर्थ्यो अनि हामीलाई ती झूटा आरोपहरू स्वीकार्न लगाउनुपर्थ्यो। त्यो रातको केरकारपछि मलाई सुत्न दिइएन। केही घण्टापछि मलाई फेरि केरकार गरियो। यसबेला केरकार गर्ने त्यो व्यक्‍ति मलाई एउटा कागजातमा सही गराउन चाहन्थ्यो, जहाँ यस्तो लेखिएको थियो: “म जनवादी गणतन्त्र चेकोस्लोभाकियाको एक दुस्मन भएकोले मैले [सामूहिक खेतमा] काम गरिनँ किनकि म अमेरिकीहरूलाई पर्खिरहेको थिएँ।” यस्तो झूटो कागजातमा सही गर्न नमानेपछि मलाई सुधार कारागारमा पठाइयो।

मलाई सुत्न, ढल्कन अनि बस्नसमेत दिइएन। म उठ्‌न र हिंड्‌न मात्र सक्थें। थकाइले चूर भएपछि म कङ्‌क्रिटको भुइँमा ढलें। त्यसपछि गार्डहरूले मलाई केरकार गर्ने व्यक्‍तिको कार्यालयमा लगे। “के तँ अब सही गर्छस्‌?” केरकार गर्ने व्यक्‍तिले सोध्यो। जब मैले फेरि इन्कार गरें, उसले मेरो अनुहारमा हिर्कायो। रगतको धारा छुट्यो। ऊ ती गार्डहरूसित गर्जियो: “यसले आत्महत्या गर्न खोज्दैछ। यसमाथि कडा निगरानी राख्नु!” मलाई फेरि एकल बन्दीगृहमा पठाइयो। छ महिनासम्म धेरैपटक यस्तै किसिमले केरकार गर्ने क्रम चलिरह्‍यो। मलाई राष्ट्रको दुस्मन हो भनी मनाउन गरिएको कुनै पनि वैचारिक दबाब अथवा प्रयासले यहोवाप्रति निष्ठा कायम राख्ने मेरो प्रतिबद्धतालाई कमजोर बनाएन।

मेरो पुर्पक्षको समयभन्दा एक महिनाअघि प्रागबाट एक जना वकिल आए अनि हामी १२ जना भाइहरूको समूहका सबैलाई केरकार गरे। तिनले मलाई सोधे: “पश्‍चिमी समूहका राष्ट्रहरूले हाम्रो राष्ट्रलाई आक्रमण गरे भने तिमी के गर्नेछौ?” “यो राष्ट्र अनि हिटलर मिलेर सोभियत संघमा आक्रमण गर्दा मैले जे गरें, त्यही गर्नेछु। म त्यसबेला लडाइँमा गइनँ र अहिले पनि जान्‍नँ किनकि म एक जना मसीही हुँ अनि म तटस्थ छु।” त्यसपछि त्यो व्यक्‍तिले यसो भने: “हामी यहोवाका साक्षीहरूलाई त्यत्तिकै छोड्‌न सक्दैनौं। पश्‍चिमी समूहहरूले हामीलाई आक्रमण गरेमा अनि पश्‍चिमतिर रहेका हाम्रा सीधासादा मजदुरहरूलाई मुक्‍त गराउन हामीलाई सिपाहीहरू चाहिन्छ।”

जुलाई २४, सन्‌ १९५३ मा हामीलाई अदालतमा उभ्याइयो। हामी १२ जनालाई एक-एक गरी न्यायाधीशहरूको निकायसामु बोलाइयो। हामीले हाम्रो विश्‍वासबारे साक्षी दिने मौका छोप्यौं। हामीविरुद्ध तेर्स्याइएका झूटा आरोपहरूबारे हाम्रो प्रतिक्रिया सुनिसकेपछि एक जना न्यायाधीश जुरुक्क उठे अनि भने: “यत्तिका वर्ष भयो मैले यो अदालतमा काम गरेको। अक्सर गल्ती स्वीकारेको, पश्‍चात्ताप गरेको अनि आँसु बगाएको देखिन्छ। यी मानिसहरू त आउँदाभन्दा फर्कंदा अझ बलियो भएर पो फर्कन्छन्‌।” त्यसपछि हामी १२ जनालाई राष्ट्रविरुद्ध षड्‌यन्त्र गरेको आरोपमा दोषी ठहऱ्‍याइयो। मलाई सर्वस्वहरणसहित तीन वर्षको जेल सजाय सुनाइयो।

बढ्‌दो उमेरले मलाई रोकेको छैन

घर फर्किएपछि पनि म गुप्तचर प्रहरीहरूको निगरानीमै थिएँ। यसको बावजुद मैले फेरि आफ्नो ईश्‍वरतान्त्रिक क्रियाकलाप थालें अनि मलाई हाम्रो मण्डलीको आध्यात्मिक निरीक्षण गर्ने जिम्मा सुम्पियो। जफत गरिसकेको हाम्रो घरमा हामीलाई बस्ने अनुमति दिइए तापनि ४० वर्षपछि अर्थात्‌ कम्युनिस्टहरूको पतन भए पछि मात्र कानुनी रूपमा हामीलाई आफ्नो घर फिर्ता दिइयो।

जेल जीवन भोग्नुपरेको मेरो परिवारमा मैले मात्र होइन। म घर फर्केको तीन वर्ष मात्र भएको थियो, एड्‌वार्टलाई सेनामा भर्ती हुने आदेश दिइयो। बाइबल प्रशिक्षित आफ्नो अन्तस्करणले गर्दा उसले इन्कार गऱ्‍यो र उसलाई जेल चलान गरियो। वर्षौंपछि मेरो नाति पिटरले समेत आफ्नो खराब स्वास्थ्यको बाबजुद यही कष्ट भोग्नुपऱ्‍यो।

सन्‌ १९८९ मा चेकोस्लोभाकियामा कम्युनिस्ट शासनको पतन भयो। चार दशकको प्रतिबन्धपछि फेरि एकचोटि स्वतन्त्रतापूर्वक घर-घरको प्रचार गर्न सक्दा म कत्ति खुसी भएँ! (प्रेरित २०:२०) मेरो स्वास्थ्यले साथ दिएसम्म मैले यस सेवाबाट आनन्द उठाएँ। अहिले म ९८ वर्षको भएँ, मेरो स्वास्थ्य पहिलाको जस्तो छैन तर भविष्यको लागि यहोवाको महिमित प्रतिज्ञाहरूबारे मानिसहरूलाई अझै साक्षी दिन सकेकोमा म खुसी छु।

मेरो देशमा शासन गरेका ५ राष्ट्रका १२ जना राष्ट्रप्रमुखहरूलाई म सम्झन सक्छु। त्यसमा तानाशाहहरू, राष्ट्रपतिहरू अनि एक जना राजा पर्छन्‌। तिनीहरूको शासनले जनताहरूलाई पिरोलेको कुनै पनि समस्याको चिरस्थायी समाधान दिन सकेन। (भजन १४६:३, ४) कलिलो उमेरमै यहोवालाई चिन्‍ने मौका दिनुभएकोमा म उहाँप्रति कृतज्ञ छु। त्यसैले, मैले मसीही राज्यद्वारा उहाँले दिनुहुने समाधानबारे बुझ्न अनि परमेश्‍वरविनाको व्यर्थ जीवनलाई इन्कार गर्न सकेको छु। मैले ७५ वर्षभन्दा धेरै समय सबैभन्दा उत्तम समाचार सक्रियतासाथ प्रचार गरेको छु अनि यसले मेरो जीवनमा उद्देश्‍य, सन्तुष्टि अनि पृथ्वीमा अनन्त जीवनको उज्जवल आशा दिएको छ। योभन्दा बढी अरू मलाई के चाहियो? b

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल छापिंदैन।

b दुःखको कुरा, अन्ततः भाइ मिकालको बल टुट्यो। यो लेख प्रकाशनको लागि तयारी गर्दै गर्दा पुनरुत्थानको पक्का आशा लिएर उहाँ विश्‍वासी भई बित्नुभयो।

[पृष्ठ २६-मा भएको चित्र]

विवाह भएको केही समयपछि

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९४० को दशकको सुरुतिर एड्‌वार्टसित

[पृष्ठ २७-मा भएको चित्र]

सन्‌ १९४७ मा ब्रनोमा अधिवेशनको विज्ञापन गर्दै