हामीलाई चाहिनेभन्दा बढी ज्ञान?
हामीलाई चाहिनेभन्दा बढी ज्ञान?
पश्चिम अफ्रिकाको समुद्रीतटमा बसिरहेका एक दम्पतीले आकाशमा टहटह लागेको जून हेरिरहेका थिए। त्यत्तिकैमा पतिले यसो भने, “मानिसलाई यस जूनबारे कति थाह छ र अझ कति थाह पाउन बाँकी नै होला?”
तिनकी पत्नीले जवाफ दिइन्: “जूनलाई जस्तै पृथ्वीलाई पनि टाढाबाट हेर्न पाएको भए मानिसहरूलाई पृथ्वीबारे धेरै कुरा थाह भइसक्थ्यो र अझ थाह पाउन बाँकी थुप्रै कुराहरू छन् जस्तो लाग्ने थियो। त्यति मात्र कहाँ हो र, सूर्यको वरिपरि पृथ्वी मात्र होइन तर हाम्रो सम्पूर्ण सौर्यमण्डल नै घुमिरहेको छ। भन्नुको मतलब, ब्रह्माण्डको ठ्याक्क यसै ठाउँमा हामी फेरि कहिल्यै नहुन पनि सक्छौं। साँच्चै भन्ने हो भने, आकाशीय पिण्डहरूको तुलनामा मात्र हामीलाई अन्तरिक्षमा हामी कहाँ छौं भन्ने कुरा पनि थाह भएको। कुनै-कुनै कुराबारे हामीसित धेरै ज्ञान होला तर वास्तवमा हामी ठ्याक्क कहाँ छौं त्योसमेत हामीलाई थाह छैन!”
यी कुराहरू विचार गर्दा केही आधारभूत तथ्य प्रस्ट हुन्छ। हामीले सिक्नुपर्ने कुराहरू धेरै छन् जस्तो देखिन्छ। हुन त हरेक दिन हामी केही न केही नयाँ कुरा सिक्छौं। तथापि, हामीले जतिसुकै सिके पनि आफूले चाहे जति सबै सिक्न नसकेजस्तो हामीलाई लाग्छ।
हो, नयाँ-नयाँ जानकारी हासिल गर्ने क्षमताको अलावा ज्ञानगुनका कुराहरू सङ्ग्रह गर्ने क्षमता पनि असाध्यै बढेको छ। प्रविधिको विकासले गर्दा मानिसजातिले अथाह ज्ञान हासिल गर्न सकेका छन्। कम्प्युटरका हार्ड डिस्कहरूको यति धेरै क्षमता छ कि त्यसबारे वर्णन गर्ने नयाँ गणितीय शब्दावलीहरू नै बनाउनुपऱ्यो। एउटा साधारण सी डी रोममा मात्रै काफी जानकारी सङ्ग्रह गर्न सकिन्छ; भनिन्छ, यसको सङ्ग्रह गर्ने क्षमता ६८० मेगाबाइट वा त्योभन्दा बढीसम्म हुन्छ। एउटा सामान्य डी भी डी-मा सी डी रोममा भन्दा सात गुणा बढी जानकारी सङग्रह गर्न सकिन्छ र भविष्यमा योभन्दा बढी क्षमता भएको डी भी डी उपलब्ध भइरहेको छ।
वर्तमान समयका मानिसहरूको जानकारी आदानप्रदान गर्ने माध्यम पनि बुझिनसक्नु छ। रोटरी प्रेसहरू अत्यन्त द्रुत गतिमा चल्छन् जहाँ अखबार, पत्रपत्रिका तथा पुस्तकहरू छाप्ने काम हुन्छ। इन्टरनेट चलाउने व्यक्तिले कम्प्युटरको माउस एक चोटि क्लिक गरेको भरमा मनग्गे जानकारी हात पार्न सक्छन्। एक जना व्यक्तिले जति छिटो जानकारी हासिल गर्न सक्छ त्योभन्दा कैयौं गुणा छिटो यी तथा अन्य तरिकाहरूमा जानकारी प्रसार गर्न सक्छ। जानकारीको यस्तो थुप्रोलाई कहिलेकाहीं समुद्रसित तुलना गरिन्छ। लाक्षणिक अर्थमा भन्ने हो भने, जानकारीको यस्तो सागरमा बाँच्नको लागि हामीले पौडन सिक्नै पर्छ तर त्यही जानकारीमा चुर्लुम्म डुब्नबाट भने जोगिनुपर्छ। जानकारीको यस्तो
बाढीले हामीलाई होसियारीसाथ छनौट गर्न बाध्य पार्छ।छनौट गर्दा होसियार हुनुपर्ने अर्को कारण हो, उपलब्ध धेरैजसो जानकारी खासै उपयोगी हुँदैनन्। साँच्चै भन्ने हो भने, यस्ता केही जानकारी त बेकामको र थाह नपाउनुनै बेससमेत हुन्छन्। ज्ञानले असल वा खराब, लाभदायी वा हानिकारक जानकारीलाई बुझाउँछ भन्ने कुरा नबिर्सनुहोस्। धेरैले सत्य भन्ठानेका कुराहरू वास्तवमा सही नहुँदा झनै गोलमाल हुन्छ। उच्च सम्मान गरिने अख्तियारप्राप्त व्यक्तिहरूको भनाइसमेत पछि गएर अक्सर कत्ति गलत साबित भएका छन्! उदाहरणका लागि, पुरातन एफिसस सहरका अभिलेखकर्तालाई विचार गर्नुहोस्, जसलाई मानिसहरू बुद्धिमान् व्यक्ति ठान्थे। तिनले यस्तो दाबी गरे: “यहाँ कुन चाहिं मानिस छ होला जसले एफिसियनहरूको शहर, महान् देवी डायनाको र जूपिटरबाट खसेको मूर्तिको, मन्दिरपाल हो भन्ने थाह पाएको छैन?” (प्रेरित १९:३५, ३६) यो सबैलाई थाह भएको कुरा, अझ भनौं भने निर्विवादजस्तो देखिए पनि मूर्ति आकाशबाट खसेको थियो भन्ने कुरा सत्य होइन भनेर धेरैले भन्न सक्थे। त्यसैकारण त पवित्र बाइबलले मसीहीहरूलाई “ज्ञान कहलिएको झूटा” कुराबाट होसियार रहन चेतावनी दिन्छ।—१ तिमोथी ६:२०.
ज्ञान लिने सन्दर्भमा होसियार भई छनौट गर्नुको एउटा ठोस कारण हो, हाम्रो आयु एकदमै छोटो छ। तपाईंको उमेर जतिसुकै भए पनि तपाईंले सिक्न चाहनुहुने कुराहरू अवश्य धेरै छन् होला तर आफ्नो जीवनमा ती सबै कुराहरू सिक्न भ्याउनुहुनेछैन भन्ने कुरा पनि तपाईंलाई थाह छ।
के यो मूलभूत समस्या कहिल्यै परिवर्तन होला? के जीवनलाई लामो समयसम्मको लागि, अझ भनौं भने सधैंभरिको लागि लम्ब्याउने ज्ञान उपलब्ध हुन सक्ला? यस्तो किसिमको ज्ञान अहिले पनि उपलब्ध छ कि? छ भने, के यो ज्ञान सबैको लागि उपलब्ध हुनेछ? हामीले सधैं सत्य ज्ञान मात्र पाउने समय आउला? माथि उल्लिखित दम्पतीले यी प्रश्नहरूको सन्तोषजनक जवाफ पाएका छन् र तपाईं पनि पाउन सक्नुहुन्छ। कृपया अर्को लेख पढ्नुहोस्, जुन लेखले तपाईंलाई सधैंभरि ज्ञान लिइरहने मौका प्रदान गर्नेछ।