‘खराबी आइपर्दा सहनशील हुनुहोस्’
‘खराबी आइपर्दा सहनशील हुनुहोस्’
“प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, . . . [ “खराबी आइपर्दा,” Nw ] सहनशील [हुनुपर्छ ]।”—२ तिमोथी २:२४.
१. मसीही क्रियाकलापमा भाग लिंदा किन कहिलेकाहीं हाम्रो भेट रूखो बोली गर्ने मानिसहरूसित हुन्छ?
तपाईं वा तपाईंलाई चिनाउने कुराप्रति सकारात्मक प्रतिक्रिया नदेखाउने मानिसहरूको सामना गर्नुपर्दा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? अन्तिम दिनबारे बताउँदा प्रेरित पावलले मानिसहरू “निन्दक, . . . अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर” हुनेछन् भनी अगमवाणी गरे। (२ तिमोथी ३:१-५, १२) आफ्नो सेवकाई वा अन्य क्रियाकलापहरूमा यस्ता व्यक्तिहरूसित तपाईंको भेट हुन सक्छ।
२. रूखो बोली गर्नेहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर्न हामीलाई कस्ता शास्त्रपदहरूले मदत गर्न सक्छन्?
२ रूखो बोली गर्नेहरू सबैले सही कुराप्रति कुनै चासो देखाउँदैनन् भन्ने होइन। अत्यन्तै कठिन परिस्थिति वा निराशाको कारण कोही-कोही मानिसहरू आफ्नो अगाडि पर्ने जोसुकैसित पनि झोक्किन सक्छन्। (उपदेशक ७:७) रूखो बोलीलाई सामान्य ठानिने वातावरणमा बस्ने र काम गर्ने भएकोले थुप्रै मानिसहरूले यस्तो व्यवहार गर्न सक्छन्। यसो भन्दैमा हामी मसीहीहरूले यस्तो बोली बोल्ने छुट त पाउँदैनौं तर अरू मानिसहरूले किन यस्तो बोली बोल्छन् भन्ने कुरा बुझ्न चाहिं यसले तिनीहरूलाई मदत गर्छ। रूखो बोलीप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? हितोपदेश १९:११ यसो भन्छ: “धीरज धारण गर्नु चातुर्य हो।” अनि रोमी १२:१७, १८ ले हामीलाई यस्तो सल्लाह दिन्छ: “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”
३. हामीले प्रचार गर्ने सन्देश र शान्तिमय हुनुबीच कस्तो सम्बन्ध छ?
३ हामी साँच्चै शान्तिमय छौं भने यो कुरा हामीले कस्तो मनोभाव देखाउँछौं, त्यसमा प्रस्ट देखिनेछ। हामीले भन्ने र गर्ने कुराहरूका साथै हाम्रो अनुहारको भाव र आवाजमा यो झल्कनेछ। (हितोपदेश १७:२७) आफ्ना प्रेरितहरूलाई प्रचारकार्यमा पठाउँदा येशूले तिनीहरूलाई यस्तो सल्लाह दिनुभयो: “घरभित्र पस्ता त्यसलाई अभिवादन गर [“त्यस घरलाई शान्तिको कामना गर,” द न्यु इङ्ग्लिश बाइबल]। औ त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यसमाथि रहोस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्।” (मत्ती १०:१२, १३) हामीले बताउने सन्देश सुसमाचार हो। बाइबलले यसलाई “मिलापको [“शान्तिको,” NW ] सुसमाचार,” “परमेश्वरको अनुग्रहको सुसमाचार” र “राज्यको यो सुसमाचार” भन्छ। (एफिसी ६:१५; प्रेरित २०:२४; मत्ती २४:१४) हाम्रो लक्ष्य अर्को व्यक्तिको विश्वासको आलोचना गर्नु वा उसको दृष्टिकोणको विषयमा वादविवाद गर्नु होइन तर परमेश्वरको वचनबाट उसलाई सुसमाचार बताउनु हो।
४. तपाईंले घरधनीलाई भेट्नुको कारणबारे बताउनै नपाई तिनले “मलाई चासो छैन” भनेमा तपाईं के भन्न सक्नुहुन्छ?
४ हाम्रो कुरै नसुनी घरधनीले बीचैमा यसो भन्न सक्छन्: “मलाई चासो छैन।” थुप्रै अवस्थाहरूमा यसो भन्न सकिन्छ: “म बाइबलबाट एउटा छोटो पद पढेर सुनाउन चाहन्थें।” यो कुरा तिनले इन्कार नगर्लान्। अर्को अवस्थामा यसो भन्नु उचित हुन सक्छ: “कुनै अन्याय नहुने र सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्न सिक्ने समयबारे म तपाईंलाई बताउन चाहन्थें।” घरधनीले त्यति नै बेला यसबारे थप कुरा जान्ने कुनै उत्सुकता देखाएनन् भने तपाईं अझै यसो भन्न सक्नुहुन्छ: “तर मेरो विचारमा अहिले तपाईंसित कुरा गर्न अलि मिल्दैन जस्तो छ।” घरधनीले शान्तिमय प्रतिक्रिया नदेखाए तापनि के हामी तिनी ‘योग्य रहेनछन्’ भन्ने निष्कर्षमा पुग्नहुन्छ? चाहे जस्तोसुकै प्रतिक्रिया किन प्राप्त नहोस्, “सबैप्रति भला, . . . [ “खराबी आइपर्दा,” NW ] सहनशील” हुनू भन्ने बाइबलको सल्लाह नबिर्सनुहोस्।—२ तिमोथी २:२४
अशिष्ट व्यवहार तर गलत दिशातर्फ लक्षित
५, ६. शावलले येशूका अनुयायीहरूसित कस्तो व्यवहार गरे अनि तिनले किन त्यस्तो व्यवहार गरे?
५ प्रथम शताब्दीमा, शावल नाउँ गरेका एक जना मानिस तिनको अनादरपूर्ण बोलीका साथै हिंसात्मक व्यवहारको लागि समेत नाउँ कहलिएका थिए। तिनी “प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै” थिए भनी बाइबल बताउँछ। (प्रेरित ९:१, २) तिनी “निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने” मानिस थिए भनेर पछि तिनले मानिलिए। (१ तिमोथी १:१३) तिनका केही नातेदारहरू मसीही बनिसकेको भए तपानि ख्रीष्टका अनुयायीहरूप्रति आफ्नो दृष्टिकोणबारे तिनले यसो भने: “तिनीहरूका विरुद्धमा उन्मत्त भईकन बाहिरका शहरसम्म पनि मैले तिनीहरूको खेदो गरें।” (प्रेरित २३:१६; २६:११; रोमी १६:७, ११) तिनले यस्तो व्यवहार गरिरहेको भए तापनि चेलाहरूले शावललाई सार्वजनिक विवादमा मुछ्न खोजेको कुराको प्रमाण कतै पनि भेटिंदैन।
६ शावलले किन त्यस्तो व्यवहार गरे? वर्षौंपछि तिनले यसरी लेखे: “मैले यो अजान र अविश्वासमा गरेको [थिएँ]।” (१ तिमोथी १:१३) तिनी “पुर्खाका व्यवस्थाको विधिमा ठीक ठीक शिक्षा” पाएका एक जना फरिसी थिए। (प्रेरित २२:३) शावलका गुरु गमलीयल केही खुला विचारधाराका व्यक्ति भए तापनि प्रधान पूजाहारी कैयाफा भने कट्टर व्यक्ति थिए र शावलले तिनीसित संगत गरेका थिए। येशू ख्रीष्टलाई मार्न षड्यन्त्र रच्ने समूहका प्रमुख नेता कैयाफा नै थिए। (मत्ती २६:३, ४, ६३-६६; प्रेरित ५:३४-३९) त्यसपछि, कैयाफाले येशूका प्रेरितहरूलाई कोर्रा लगाउने आदेश दिए र येशूको नाउँमा प्रचार गर्न बन्द गर्न तिनीहरूलाई कडा आज्ञा दिए। स्तिफनसलाई ढुङ्गाले हान्न लगिनुअघिको उत्तेजनापूर्ण महासभाको सभापतित्व कैयाफाले गरेका थिए। (प्रेरित ५:२७, २८, ४०; ७:१-६०) स्तिफनसलाई ढुङ्गाले हानेको शावलले हेरे र येशूका चेलाहरूलाई अझ दबाउन दमीशकसम्म गएर तिनीहरूलाई गिरफ्तार गर्न सक्ने अख्तियार कैयाफाले तिनलाई दिए। (प्रेरित ८:१; ९:१, २) कैयाफाको प्रभावमा परेको कारण शावल आफ्नो आचरणले परमेश्वरप्रतिको जोसको प्रमाण दिन्छ भन्ने सोचाइ राख्थे तर वास्तवमा तिनमा साँचो विश्वास थिएन। (प्रेरित २२:३-५) फलस्वरूप, येशू नै साँचो मसीह हुनुहुन्थ्यो भन्ने कुरा शावलले बुझ्न सकेनन्। तर पुनरुत्थान हुनुभएको येशूले दमीशक जाने बाटोमा तिनीसित चमत्कारपूर्ण ढङ्गमा कुरा गर्नुभएपछि शावलको होस खुल्यो।—प्रेरित ९:३-६.
७. दमीशक जाने बाटोमा येशूसित भएको जम्काभेटको कारण शावललाई के भयो?
७ यसको केही समयपछि, शावललाई साक्षी दिन चेला हननियालाई पठाइयो। के तपाईं शावललाई साक्षी दिन तत्पर हुनुहुने थियो? हननिया डराएका थिए तैपनि तिनले शावलसित दयालु ढङ्गमा कुरा गरे। दमीशक जाने बाटोमा येशूसित भएको चमत्कारपूर्ण जम्काभेटको कारण शावलको मनोवृत्ति परिवर्तन भइसकेको थियो। (प्रेरित ९:१०-२२) पछि, तिनी एक जना जोसिलो मसीही मिसनरी प्रेरित पावलको नाउँले चिनिन थाले।
नम्र हृदयको तर साहसी
८. खराब काम गरेका व्यक्तिहरूप्रति येशूले आफ्नो पिताको मनोवृत्ति कसरी झल्काउनुभयो?
८ येशू एक जना जोसिलो राज्य उद्घोषक हुनुहुन्थ्यो जो मानिसहरूसित व्यवहार गर्दा नम्र हृदयको तर साहसी हुनुहुन्थ्यो। (मत्ती ११:२९) उहाँले स्वर्गमा बस्नुहुने आफ्नो पिताको मनोभाव झल्काउनुभयो जसले दुष्टहरूलाई आफ्नो खराब मार्ग त्याग्न आग्रह गर्नुहुन्छ। (यशैया ५५:६, ७) पापीहरूसित व्यवहार गर्दा येशूले तिनीहरूले आफ्नो जीवनमा गरेको राम्रो परिवर्तनलाई याद गर्नुभयो र यस्ता व्यक्तिहरूलाई प्रोत्साहन दिनुभयो। (लूका ७:३७-५०; १९:२-१०) अरूलाई तिनीहरूको बाह्य रूपरङको आधारमा न्याय गर्नुको सट्टा तिनीहरूले पश्चात्ताप गर्नेछन् भन्ने आशा राख्दै येशूले आफ्नो पिताको दया, सहनशीलता र धैर्यको अनुकरण गर्नुभयो। (रोमी २:४) सबै मानिसहरूले पश्चात्ताप गरून् र उद्धार पाऊन् भन्ने इच्छा यहोवा गर्नुहुन्छ।—१ तिमोथी २:३, ४.
९. यशैया ४२:१-४ येशूमा पूरा भएको तरिकाबाट हामी के सिक्न सक्छौं?
९ येशू ख्रीष्टप्रति यहोवाको दृष्टिकोणबारे बताउँदै सुसमाचारको पुस्तकका लेखक मत्ती यी भविष्यसूचक शब्दहरू उद्धरण गर्छन्: “हेर, मेरो दास जसलाई मैले छानें, मेरो प्रिय, जससँग मेरो आत्मा साह्रै खुशी छ। म आफ्नो आत्मा तिनमा राखिदिनेछु, र तिनले अन्यजातिहरूलाई न्यायको फैसला सुनाइदिनेछन्। तिनी नता झगडा गर्नेछन् न साह्रै चिच्याउनेछन्। नता कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ। फुटेको निगालो पनि तिनले भाँच्नेछैनन्, र धुवाँ निस्किरहेको सलेतो तिनले निभाउनेछैनन्। जबसम्म तिनले न्यायलाई विजयमा पुऱ्याउँदैनन्। औ उनैको नाउँमा अन्यजातिहरूले आशा राख्नेछन्।” (मत्ती १२:१७-२१; यशैया ४२:१-४) ती भविष्यसूचक शब्दहरू अनुरूपै येशू कुनै पनि प्रकारको होहल्ला मच्चाउने वादविवादमा मुछिनुभएन। दबाबमा पर्दा समेत उहाँले इमानदार हृदय भएका मानिसहरूलाई आकर्षित गर्ने ढङ्गमा सत्यबारे बताउनुभयो।—यूहन्ना ७:३२, ४०, ४५, ४६.
१०, ११. (क) खुलेआम येशूको विरोध गर्नेहरूमध्ये फरिसीहरू सबैभन्दा प्रमुख भए तापनि उहाँले तिनीहरूमध्ये कोही-कोहीलाई किन साक्षी दिनुभयो? (ख) विरोधीहरूलाई येशूले कहिलेकाहीं कस्तो खालको जवाफ दिनुभयो तर उहाँले के गर्नुभएन?
१० आफ्नो सेवकाईको दौडान येशूले थुप्रै फरिसीहरूसित कुरा गर्नुभयो। उहाँले बोल्नुभएको कुरालाई लिएर कसै-कसैले उहाँलाई पासोमा पार्न खोजे तापनि तिनीहरूमध्ये सबैको मनसाय खराब थियो भन्ने निष्कर्षमा येशू पुग्नुभएन। अलि आलोचनात्मक खालका शिमोन नाउँका फरिसी येशूलाई अझ नजिकबाट चिन्न चाहन्थे, त्यसैले तिनले येशूलाई खाना खान निम्त्याए। येशूले तिनको निम्तो स्वीकार्नुभयो र त्यहाँ उपस्थित भएका व्यक्तिहरूलाई साक्षी दिनुभयो। (लूका ७:३६-५०) अर्को एक चोटि निकोदेमस नाउँका एक जना प्रमुख फरिसी राती सुटुक्क येशूकहाँ आए। रात परेपछि मात्र आएको कारण येशूले तिनलाई गाली गर्नुभएन। बरु, परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूको लागि उद्धारको बाटो खोलिदिन परमेश्वरले आफ्नो पुत्र पठाएर उहाँले देखाउनुभएको प्रेमबारे निकोदेमसलाई साक्षी दिनुभयो। परमेश्वरको प्रबन्धप्रति आज्ञाकारी हुनुको महत्त्वबारे पनि येशूले दयालुपूर्वक औंल्याउनुभयो। (यूहन्ना ३:१-२१) पछि येशूबारेको सकारात्मक कुरालाई अरू फरिसीहरूले बङ्ग्याउँदा निकोदेसमले येशूको पक्षमा बोले।—यूहन्ना ७:४६-५१.
११ उहाँलाई पासोमा पार्न खोज्नेहरूको कपटबारे येशू अनभिज्ञ हुनुहुन्नथ्यो। उहाँ विरोधीहरूसित व्यर्थको विवादमा फस्नुभएन। तथापि, उपयुक्त हुँदा भने कुनै एउटा सिद्धान्त उल्लेख गरेर, दृष्टान्त चलाएर वा शास्त्रपद उद्धृत गरेर उहाँले छोटो तर प्रभावशाली जवाफ दिनुभयो। (मत्ती १२:३८-४२; १५:१-९; १६:१-४) अरू बेला भने जवाफ दिंदा कुनै असल परिणाम प्राप्त हुँदैन भन्ने कुरा स्पष्ट भएको समयमा येशू कुनै जवाफ नदिई चुप लागेर बस्नुभयो।—मर्कूस १५:२-५; लूका २२:६७-७०.
१२. येशूलाई हकार्दा समेत उहाँले मानिसहरूलाई कसरी मदत गर्न सक्नुभयो?
१२ कहिलेकाहीं अशुद्ध आत्माहरूको वशमा परेका मानिसहरूले येशूलाई हकार्थे। त्यस्तो हुँदा उहाँले सहनशीलता देखाउनुभयो र छुटकारा दिनको लागि उहाँमा भएको ईश्वर-प्रदत्त शक्तिसमेत चलाउनुभयो। (मर्कूस १:२३-२८; ५:२-८, १५) सेवकाईमा भाग लिंदा कसै-कसैले रिसाएर हामीलाई गाली गरे भने हामीले पनि यसै गरी सहनशीलता देखाउनु आवश्यक छ अनि हामीले यस्तो परिस्थितिलाई दयालुपूर्वक र कौशलतासाथ सुल्झाउने कोसिस गर्नुपर्छ।—कलस्सी ४:६.
परिवारभित्र
१३. कहिलेकाहीं मानिसहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको आफ्नो परिवारको सदस्यको किन विरोध गर्छन्?
१३ येशूका अनुयायीहरूले सहनशीलता देखाउनुको आवश्यकता परिवारभित्र अक्सर सबैभन्दा प्रस्ट देखिन्छ। कुनै व्यक्तिको हृदयमा बाइबल सच्चाइले गहिरो प्रभाव पारेपछि ती व्यक्तिले तिनको परिवारका अन्य सदस्यहरूले पनि यस्तै प्रतिक्रिया देखाउन् भन्ने चाहना गर्छन्। तर येशूले बताउनुभएझैं परिवारका सदस्यहरूले वैमनस्यता प्रकट गर्न सक्छन्। (मत्ती १०:३२-३७; यूहन्ना १५:२०, २१) यसो गर्नुका विभिन्न कारणहरू हुन सक्छन्। उदाहरणका लागि, बाइबलका शिक्षाहरूले हामीलाई इमानदार, जिम्मेवार र आदरपूर्ण बन्न मदत गर्न सक्छ तर जस्तोसुकै परिस्थितिमा पनि हाम्रो मुख्य जिम्मेवारी भनेको हाम्रो सृष्टिकर्ताप्रति हुनुपर्छ भनेर पनि धर्मशास्त्रले सिकाउँछ। (उपदेशक १२:१, १३; प्रेरित ५:२९) यहोवाप्रति हाम्रो वफादारिताको कारण विरोध गर्ने व्यक्तिले परिवारमा आफ्नो प्रभाव घट्दैछ भन्ठानेर तिनी रिसाउन सक्छन्। यस्तो परिस्थितिको सामना गर्दा सहनशीलता देखाउनेबारे येशूले बसाल्नुभएको उदाहरण पछ्याउनु कत्ति महत्त्वपूर्ण छ!—१ पत्रुस २:२१-२३; ३:१, २.
१४-१६. पहिले-पहिले आफ्नो परिवारका सदस्यहरूको विरोध गर्नेहरू कोही-कोही के कारणले गर्दा परिवर्तन भए?
१४ अहिले यहोवाको सेवा गरिरहेकाहरूमध्ये थुप्रैले आफ्नो वैवाहिक जोडी वा परिवारका अन्य सदस्यहरूले बाइबल अध्ययन गर्न थालेपछि तिनीहरूले गरेका परिवर्तनहरूको कारण तिनीहरूमाथि विरोध ल्याएका थिए। विरोध गर्नेहरूले यहोवाका साक्षीहरूबारे नकारात्मक टिप्पणी सुनेका हुन सक्छन् र सायद तिनीहरू आफ्नो घरपरिवारमा नराम्रो असर पर्ने पो हो कि भनेर डराएका हुन सक्छन्। आफ्नो मनोवृत्ति परिवर्तन गर्न तिनीहरूलाई कुन कुराले उत्प्रेरित गऱ्यो? थुप्रै अवस्थाहरूमा, असल उदाहरणले ठूलो प्रभाव पारेको थियो। सच्चाइ स्वीकारेको व्यक्तिले पारिवारिक जिम्मेवारी वहन गर्नुका साथै मौखिक दुर्व्यवहारसामु समेत सहनशीलता देखाउँदै नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुने र सेवकाईमा भाग लिने जस्ता बाइबल सल्लाहहरू दृढतापूर्वक पालन गरेको कारण कहिलेकाहीं पारिवारिक विरोध कम भएको छ।—१ पत्रुस २:१२.
१५ पूर्वाग्रह वा घमन्डको कारण पनि विरोध गर्ने व्यक्तिले बाइबलको कुरा सुन्नै इन्कार गरेका हुन सक्छन्। संयुक्त राज्य अमेरिकाको एक जना मानिस यस्तै गर्थे र तिनको आफ्नै शब्दमा तिनी अत्यन्तै देशभक्त थिए। एक पटक तिनकी पत्नी अधिवेशनमा गएको बेला तिनले आफ्ना सबै लुगाफाटाहरू लिएर घर छोडे। अर्को चोटि चाहिं एउटा बन्दुक लिएर घर छोडे अनि आत्महत्या गर्ने धम्की दिए। आफूले यस्तो मूर्खतापूर्ण आचरण देखाउनुमा तिनी आफ्नी पत्नीको धर्मलाई दोष दिन्थे। तर तिनकी पत्नीले बाइबलका सल्लाहहरू लागू गरिरहने कोसिस गरिन्। पत्नी यहोवाको साक्षी बनेको बीस वर्षपछि तिनी पनि साक्षी बने। अल्बेनियामा, आफ्नी छोरीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर बप्तिस्मा लिएको कारण एउटी आइमाई असाध्यै रिसाइन्। ती आमाले १२ पटकसम्म आफ्नी छोरीको बाइबल नष्ट गरिदिइन्। एक दिनको कुरा, तिनले आफ्नी छोरीले टेबलमा छोडेको नयाँ बाइबल खोलिन्। संयोगवश मत्ती १०:३६ पल्टियो र त्यहाँ भनिएको कुरा आफूलाई लागू हुन्छ भन्ने कुरा ती आमाले महसुस गरिन्। तैपनि, इटालीमा हुने अधिवेशनको लागि तिनकी छोरी अरू साक्षीहरूसित इटाली जान लाग्दा आफ्नी छोरीको चिन्ताको कारण उनलाई पुऱ्याउन तिनी डुङ्गा चढ्ने ठाउँसम्म आइन्। साक्षीहरूको समूहबीचको प्रेम, आलिङ्गन र मुस्कान देख्दा अनि तिनीहरू मन खोलेर हाँसेको सुन्दा साक्षीहरूप्रति ती आमाको मनोवृत्तिमा परिवर्तन आउन थाल्यो। यसको केही समयपछि नै तिनी बाइबल अध्ययन गर्न राजी भइन्। अहिले तिनी सुरु-सुरुमा विरोध गर्ने मानिसहरूलाई मदत गर्ने कोसिस गर्छिन्।
१६ एक पटक, एउटी पत्नी राज्यभवन पुग्नै लाग्दा, उनलाई चक्कु देखाएर धम्काइरहने उनको पतिले उनलाई नानाभाँतीका आरोपहरू लगाउन थाले। कोमलतापूर्वक उनले यसो भनिन्: “राज्यभवनभित्र आएर एक पटक आफ्नै आँखाले हेर्नुहोस् न।” तिनले त्यसै गरे अनि पछि गएर एक जना मसीही प्राचीन बने।
१७. कहिलेकाहीं मसीही परिवारमा तनावपूर्ण परिस्थिति सिर्जना भयो भने कस्तो धर्मशास्त्रीय सल्लाहले मदत गर्न सक्छ?
१७ तपाईंको परिवारका सबै सदस्यहरू मसीही हुन् भने तापनि कहिलेकाहीं परिवारमा तनावपूर्ण परिस्थिति आउन सक्छ र मानव असिद्धताको कारण शब्दहरू समेत रूखा हुन सक्छन्। पुरातन एफिससका मसीहीहरूलाई यस्तो सल्लाह दिइनुको कारण विचार गर्नु योग्यको छ: “सबै तीतोपना, क्रोध, रीस, होहल्ला, निन्दा, सारा वैरभावसमेत तिमीहरूबाट त्यागिओस्।” (एफिसी ४:३१) स्पष्टतः एफिससका मसीहीहरूलाई वरपरको वातावरण, तिनीहरूको आफ्नै असिद्धता अनि कोही-कोहीलाई बितेको समयको तिनीहरूको जीवन शैलीले असर गऱ्यो। कुन कुराले तिनीहरूलाई परिवर्तन गर्न मदत दिने थियो? तिनीहरू “आफ्नो मनको आत्मामा नयाँ” हुनुपर्थ्यो। (एफिसी ४:२३) तिनीहरूले परमेश्वरको वचन अध्ययन गर्दा, यसले आफ्नो जीवनमा कसरी असर पार्नुपर्छ भनेर मनन गर्दा, सँगी मसीहीहरूसित संगत गर्दा र व्यग्रतापूर्वक प्रार्थना गर्दा परमेश्वरको आत्माको फल तिनीहरूको जीवनमा अझ पूर्णरूपमा झल्कने थियो। ‘जसरी परमेश्वरले पनि ख्रीष्टमा तिनीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै तिनीहरूले पनि एकले अर्कोलाई क्षमा गरेर एक अर्कोप्रति कोमल मनको र दयालु हुन’ सिक्ने थिए। (एफिसी ४:३२) चाहे अरूले जेसुकै गरून्, हामीले दयालु, अनुकम्पापूर्ण र क्षमाशील हुँदै सहनशीलता देखाउनुपर्छ। वास्तवमा, हामीले “कसैलाई खराबको बदला खराब” गर्नु हुँदैन। (रोमी १२:१७, १८) परमेश्वरको अनुकरण गर्दै साँचो प्रेम देखाउनु सधैं सही काम हो।—१ यूहन्ना ४:८.
सबै मसीहीहरूको लागि सल्लाह
१८. दोस्रो तिमोथी २:२४ मा पाइने सल्लाह पुरातन एफिससका प्राचीनको लागि किन उपयुक्त थियो र यसले सबै मसीहीहरूलाई कसरी लाभ पुऱ्याउन सक्छ?
१८ “[“खराबी आइपर्दा,” NW ] सहनशील” हुनू भन्ने सल्लाह सबै मसीहीहरूलाई लागू हुन्छ। (२ तिमोथी २:२४) तर सुरुमा यो निर्देशन तिमोथीलाई दिइएको थियो र एफिससमा प्राचीनको रूपमा सेवा गरेको बेला तिनलाई यस निर्देशनको खाँचो परेको थियो। त्यस मण्डलीका कोही-कोही व्यक्तिहरू खुलेआम आफ्नै दृष्टिकोणहरू बताउँथे र तिनीहरूले गलत सिद्धान्त सिकाइरहेका थिए। मोशाको व्यवस्थाको उद्देश्य राम्ररी नबुझेको हुनाकारण तिनीहरूले विश्वास, प्रेम र असल अन्तस्करणको महत्त्व बुझ्न सकेनन्। वादविवादमै अल्झिरहँदा घमन्डले फूट उत्पन्न गरायो अनि तिनीहरूले ख्रीष्टको शिक्षाको मर्म र ईश्वरीय भक्तिको महत्त्व बुझ्न सकेनन्। यस्तो अवस्थाको सामना गर्न तिमोथी धर्मशास्त्रीय सच्चाइमा दृढ हुनुपर्ने भए तापनि आफ्ना भाइहरूसित व्यवहार गर्दा भने कोमल हुनुपर्थ्यो। वर्तमान समयका प्राचीनहरूलाई झैं तिमोथीलाई पनि बगाल तिनको आफ्नै होइन र अरूसित व्यवहार गर्दा मसीही प्रेम र एकतालाई बढवा दिने ढङ्गमा व्यवहार गर्नुपर्छ भनेर थाह थियो।—एफिसी ४:१-३; १ तिमोथी १:३-११; ५:१, २; ६:३-५.
१९. हामी सबैले ‘नम्रता खोज्नु’ किन महत्त्वपूर्ण छ?
१९ “नम्रता खोज” भनी परमेश्वर आफ्ना जनहरूलाई आग्रह गर्नुहुन्छ। (सपन्याह २:३) “नम्रता” भन्ने शब्दको लागि चलाइएको हिब्रू अभिव्यक्तिले कुनै द्वेष अथवा बदलाको भाव नराखी चोट सहन सक्ने मनोभावलाई सङ्केत गर्छ। कठिन परिस्थितिहरूमा समेत सहनशीलता देखाउने र उहाँको सही प्रतिनिधित्व गर्ने मदतको लागि व्यग्रतापूर्वक यहोवालाई बिन्ती गरौं।
तपाईंले के सिक्नुभयो?
• अशिष्ट बोलीको सामना गर्नुपर्दा तपाईंलाई कस्ता शास्त्रपदहरूले मदत गर्न सक्छ?
• शावलले किन अशिष्ट व्यवहार गरे?
• सबै प्रकारका मानिसहरूसित सही ढङ्गमा व्यवहार गर्न येशूको उदाहरणले हामीलाई कसरी मदत गर्छ?
• परिवारभित्र हाम्रो बोलीमा सहनशीलता देखाउँदा कस्ता लाभहरू प्राप्त हुन सक्छन्?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ २६-मा भएको चित्र]
शावलले जस्तोसुकै नाउँ कमाएको भए तापनि हननियाले तिनीसित दयालु व्यवहार गरे
[पृष्ठ २९-मा भएको चित्र]
एक जना मसीहीले विश्वासीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दा पारिवारिक विरोध कम हुन सक्छ
[पृष्ठ ३०-मा भएको चित्र]
मसीहीहरू प्रेम र एकतालाई बढवा दिन्छन्