“परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
“परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
तिनीहरू उर्वर जमिनलाई बाँझो जमिन बनाइदिने सलहहरू जत्तिकै हूलका हूल छन्। यो, न्यायकर्ताहरूले इस्राएलमा शासन गर्दाखेरिको कुरा हो र इस्राएलीहरू ठूलो आपत्मा परेका छन्। छरेको बीउ उम्रनासाथ ऊँटमाथि सवार मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू जातिको हूल इस्राएलमा लुटपाट मच्चाउन आउन थालेको सात वर्ष भइसकेको छ। लुटेराहरूका वस्तुभाउ घाँसपातको खोजीमा जताततै चर्छन् र भएभरको सबै हरियोपरियो सखाप पार्छन्। तर इस्राएलीहरूको भने न गधा छ न गोरु, न त भेडा नै। मिद्यानीहरूले फैलाएको डर-त्रास यत्ति भयानक छ कि गरिबीको मारमा पिल्सिएका इस्राएलीहरू जमिनमुनि, गुफाहरूमा र दुर्गम ठाउँहरूमा लुकेर बस्न बाध्य छन्।
यस्तो बिजोग किन? किनकि धर्मत्यागी इस्राएलले झूटा देवताहरूको सेवा गरिरहेका छन्। फलतः यहोवाले तिनीहरूलाई दमनकारी मानिसहरूको हातमा सुम्पिदिनुभएको छ। दमन सहन नसकेपछि इस्राएलीहरूले मदतको लागि यहोवालाई पुकार्छन्। के उहाँले तिनीहरूको पुकारा सुन्नुहोला? इस्राएलीहरूले भोगेको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?—न्यायकर्त्ता ६:१-६.
सचेत कृषक वा “वीर मानिस”?
इस्राएली कृषकहरूले साधारणतया बत्ताउँदाखेरि अन्नको गेडालाई भुसबाट छुट्याउन खुला, हुरुरु हावा चल्ने ठाउँमा गोरु घुमाएर अनि गाडाको पाङ्ग्रा चलाएर गहुँ दाइँ गर्छन्। तर देशलाई नै जर्जर पार्ने नियतले आएका लुटेराहरूको भयले गर्दा खुलेआम अन्न बत्ताउने काम गर्न सक्ने अवस्था अहिले छैन। गिदोनले चाहिं ढुङ्गा खोपेर बनाइएको ट्याङ्कीजस्तो दाखको कोलमा मिद्यानीहरूबाट लुकिछिपी गहुँ चुट्छन्। (न्यायकर्त्ता ६:११) सम्भवतः त्यस्तो ठाउँमा सानो लट्ठीले अलि-अलि मात्र अन्न चुट्न सकिन्छ। त्यस्तो परिस्थितिमै पनि आफूसित जे छ त्यस चीजको गिदोनले सदुपयोग गरिरहेका छन्।
यहोवाको स्वर्गदूत गिदोनकहाँ आएर यसो भन्दा तिनी कत्ति छक्क परे होलान्, कल्पना गर्नुहोस् त: “तँ वीर मानिस होस् औ परमप्रभु तँसँग हुनुहुन्छ।” (न्यायकर्त्ता ६:१२) दाखको कोलमा लुकिछिपी अन्न चुटिरहेका व्यक्ति गिदोनले पक्कै पनि आफूलाई वीर मानिस ठान्दैनन्। यद्यपि, इस्राएलमा गिदोन एक वीर नेता बन्न सक्छन् भन्ने विषयमा परमेश्वर विश्वस्त हुनुहुन्छ भन्ने कुरालाई यी शब्दहरूले सङ्केत गर्छन्। तर गिदोन आफै पनि यसबारे विश्वस्त हुनु खाँचो छ।
यहोवाले “इस्राएललाई मिद्यानीहरूका हातदेखि” छुटाउने जिम्मा गिदोनलाई दिनुहुँदा नम्रतापूर्वक तिनी यसो भन्छन्: “हजूर, सुन्नुहोस् म कसरी इस्राएललाई बचाउनसक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो ता मनश्शेमा सबैभन्दा कमजोर छ, औ मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” सचेत गिदोनले मिद्यानीहरूलाई खतम पार्ने सन्दर्भमा परमेश्वर आफूसित हुनुहुन्छ भन्ने कुराको एउटा चिह्न माग्छन् र विश्वस्त हुन गिदोनले गरेको त्यो व्यावहारिक माग पूरा गर्न यहोवा इच्छुक हुनुहुन्छ। त्यसकारण, परमेश्वरले पठाउनुभएको स्वर्गदूतलाई गिदोनले खानेकुराको भेटी चढाउँछन् र चट्टानबाट निस्केको आगोले त्यस भेटीलाई भस्म पार्छ। यहोवाले गिदोनको डर शान्त पारिदिनुभएपछि गिदोनले त्यस ठाउँमा एउटा वेदी बनाउँछन्।—न्यायकर्त्ता ६:१२-२४.
“बाल आफै लडोस्”
इस्राएलीहरूको सबैभन्दा ठूलो समस्या मिद्यानीहरूको दमन होइन। समस्या त तिनीहरू बाल उपासनाको दास बन्नु हो। यहोवा “डाही परमेश्वर” हुनुहुन्छ र अरू देवताहरूको पनि उपासना गर्दै कसैले यहोवाको उपासना गर्न खोज्छ भने उहाँ त्यस्तो उपासना स्वीकार्नुहुन्न। (प्रस्थान ३४:१४) त्यसकारण, यहोवाले गिदोनलाई आफ्नो पिताको बाल देवताको वेदी भत्काउने र अशेरा देवीको मूर्ति ढालिदिने आज्ञा दिनुहुन्छ। आफ्नो पिताका साथै अरूहरूले कस्तो प्रतिक्रिया देखाउलान् भन्ने डरले गर्दा गिदोनले यो काम दस जना नोकरको मदतद्वारा दिउँसो नभई राती गर्छन्।
गिदोनले यस्तो सावधानी अपनाउनु जायज छ किनकि “पवित्र कुराप्रति अनादर” देखाउने व्यक्ति गिदोन हो भन्ने कुरा पत्ता लागेपछि बाल देवताका स्थानीय उपासकहरू तिनको ज्यान लिन खोज्छन्। तर गिदोनका पिता योआशले मानिसहरूसित यदि बाल साँच्चै देवता हो भने त्यसले आफ्नो रक्षा आफै गर्न सक्छ भन्ने अकाट्य तर्क गर्छन्। त्यसपछि, योआशले आफ्नो छोराको नाउँ यरूब्बाल राखिदिन्छन्, जसको अर्थ हो “बाल आफै लडोस्।”—साँचो उपासनाको लागि साहसिक अडान लिने आफ्ना सेवकहरूलाई परमेश्वर सधैं आशिष् दिनुहुन्छ। मिद्यानीहरू र तिनका सहयोगीहरूले फेरि इस्राएली भूमिमा आक्रमण गर्दा “परमप्रभुको [यहोवाको] आत्मा गिदोनमाथि आउनुभयो।” (न्यायकर्त्ता ६:३४) परमेश्वरको आत्मा अथवा सक्रिय शक्तिको प्रभावमा परेर गिदोनले मनश्शे, आशेर, जबूलून र नप्तालीका कुलहरूबाट सेना बटुल्छन्।—न्यायकर्त्ता ६:३५.
लडाइँको तयारी
अहिले गिदोनसित ३२,००० सेना भए तापनि तिनी परमेश्वरलाई एउटा चिह्न माग्छन्। यदि खलामा राखिएको भेडाको ऊनमा शीत परेर जमिनचाहिं सुक्खै रह्यो भने, गिदोनकै हातद्वारा परमेश्वरले इस्राएललाई छुटाउनुहुनेछ भन्ने कुराको त्यो सङ्केत हुनेछ। यहोवाले यो चमत्कार गर्नुहुन्छ र अब भने गिदोनले जमिनमा शीत परेर ऊनचाहिं सुक्खा रहोस् भन्ने चिह्न माग्छन् अनि त्यसको पनि तिनले चिह्न पाउँछन्। के गिदोन बढ्तै सावधान भएका हुन्? त्यसो त होइन किनभने गिदोनलाई पुनः आश्वासन दिन यहोवाले तिनको बिन्ती सुन्नुहुन्छ। (न्यायकर्त्ता ६:३६-४०) आज हामी यस्ता चमत्कारहरू भएको आशा गर्दैनौं। यद्यपि, यहोवाको वचनबाट हामी उहाँको डोऱ्याइ अनि आश्वासन पाउन सक्छौं।
अब परमेश्वरले गिदोनलाई तिनीसित भएको सेना चाहिएको भन्दा धेरै छन् भन्नुहुन्छ। यति धेरै सेनाले शत्रुहरूलाई परास्त गरेको खण्डमा आफ्नो रक्षा आफैले गरेका हौं भनी इस्राएलीहरू घमन्डले फुल्न सक्छन्। तर यस युद्धमा प्राप्त हुने विजयको श्रेय यहोवाले नै पाउनुपर्छ। त्यसोभए, अब के गर्ने? डरपोकहरूलाई आफ्नो घर फर्कन आग्रह गरेर गिदोनले मोशालाई दिइएको व्यवस्थामा उल्लिखित प्रबन्ध लागू गर्नुपर्नेछ। यस्तो आग्रहपछि गिदोनका २२,००० मानिस घर फर्किन्छन् र केवल १०,००० बाँकी रहन्छन्।—व्यवस्था २०:८; न्यायकर्त्ता ७:२, ३.
परमेश्वरको दृष्टिकोणबाट हेर्ने हो भने, मानिसहरू अझै पनि धेरै छन्। ती मानिसहरूलाई तल पानी भएको ठाउँमा लैजान गिदोनलाई आदेश दिइन्छ। यहूदी इतिहासकार जोसेफसका अनुसार परमेश्वरले गिदोनलाई आफ्ना सेनाहरूलाई हपहप गर्मीको दिन तल खोलामा लैजान लगाउनुभयो। त्यतिखेरको अवस्था जस्तोसुकै होस्, मानिसहरूले कसरी पानी पिउँछन् त्यस कुरालाई गिदोन ध्यान दिन्छन्। शत्रुहरूको सम्भाव्य आक्रमणबारे सतर्कता अपनाउँदै ३०० जनाले मात्र एउटा हातले पानी उघाएर पिउँछन्। तीन सय सतर्क मानिस मात्र गिदोनसँग लडाइँमा जानेछन्। (न्यायकर्त्ता ७:४-८) उनीहरूको अवस्थामा आफूलाई राखेर हेर्नुहोस्। तपाईंका शत्रुहरूको संख्या १,३५,००० भएको कारण जीत तपाईंको बलले होइन तर परमेश्वरको शक्तिद्वारा मात्र प्राप्त गर्न सकिन्छ भन्ने निचोडमा पुग्न तपाईंलाई करै लाग्छ!
एक जना नोकरलाई लिएर मिद्यानीहरूको छाउनीमा चियो गर्न जान परमेश्वरले गिदोनलाई अह्राउनुहुन्छ। छाउनीमा पुगेपछि गिदोनले एक जना मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको सुन्छन्, जुन साथीले परमेश्वरले मिद्यानलाई गिदोनको हातमा सुम्पिदिने निश्यच गरिसक्नुभएको छ भनेर निर्धक्कसाथ सपनाको अर्थ खुलाउँछन्। गिदोनले सुन्नुपर्ने कुरा त्यही नै हो। यहोवाले आफू र आफ्ना ३०० जना न्यायकर्त्ता ७:९-१५.
मानिसलाई मिद्यानीहरूमाथि विजयी तुल्याउनुहुनेछ भन्ने कुरामा तिनी विश्वस्त हुन्छन्।—युद्ध रणनीति
एउटा दलमा १०० जनाको हिसाबले ३०० जना मानिसहरूलाई तीन दलमा बाँडिन्छ। हरेक मानिसलाई एउटा तुरही र एउटा ठूलो रित्तो गाग्रो दिइन्छ। गाग्रोभित्र राँको लुकाइएको छ। गिदोनले सबैभन्दा पहिला यस्तो आज्ञा दिन्छन्: ‘मलाई हेर, म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म तुरही फुक्छु तब तिमीहरूले पनि तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार’!’—न्यायकर्त्ता ७:१६-१८, २०.
ती ३०० जना इस्राएली योद्धा सुटुक्क शत्रुको छाउनी नजिकै जान्छन्। रातको लगभग १० बजिसकेको छ अर्थात् भर्खरै पहरेदार परिवर्तन भएको छ। आक्रमण गर्ने उपयुक्त समय यही हो जस्तो देखिन्छ किनभने भर्खरै परिवर्तन भएको पहरेदारलाई अँध्यारोमा राम्रोसित देख्न अलि समय लाग्छ।
अब मिद्यानीहरूले भयानक स्थितिको सामना गर्नै लागेका छन्! अचानक ३०० वटा गाग्रो फुटेको, तुरही फुकेको र ३०० जना मानिस कराएको आवाजले चकमन्न रातमा एकाएक खैलाबैला मच्चिन्छ। विशेष गरी “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” भन्ने आवाजले तर्सिएर मिद्यानीहरू पनि चिच्च्याउन थाल्छन्। यस्तो भद्रगोल स्थितिमा तिनीहरूले को मित्र, को शत्रु छुट्याउनै सक्दैनन्। ती ३०० जना मानिस आफूलाई खटाइएको ठाउँमै छन् र परमेश्वरले शत्रुहरूलाई एक-अर्काको विरुद्धमा उठाउनुहुन्छ अनि तिनीहरूले एकअर्कालाई भकाभक मार्न थाल्छन्। छाउनीका शत्रुहरू भागाभाग हुन्छन् तर उम्कने बाटो छैन र जीवित रहेका शत्रु सेनाहरूलाई पनि खोजी-खोजी निमिट्यान्न पारेपछि मिद्यानीहरूको कारण हुने खतरा सदाको लागि हट्छ। बल्ल! वर्षौंदेखिको घातक अतिक्रमण अन्त्य भएको छ।—न्यायकर्त्ता ७:१९-२५; ८:१०-१२, २८.
यस्तो विजय हासिल गरेर पनि गिदोन नम्र छन्। लडाइँ गर्न नबोलाएकोमा आफ्नो अपमान भएको ठान्ने एप्रैमका मानिसहरूले तिनीसित झगडा गर्न खोज्दा तिनले नम्रतापूर्वक कुरा गर्छन्। तिनको नम्र जवाफले तिनीहरूको रिस शान्त हुन्छ।—न्यायकर्त्ता ८:१-३; हितोपदेश १५:१.
अब शान्ति कायम भइसकेको कारण इस्राएलीहरूले गिदोनलाई उनीहरूको राजा हुन आग्रह गर्छन्। कत्ति ठूलो प्रलोभन! तर गिदोन राजा हुन मान्दैनन्। वास्तवमा कसले गर्दा मिद्यानीहरूमाथि विजयी हुन सकेको हो भन्ने कुरा तिनले बिर्सेका छैनन्। तिनी यस्तो घोषणा गर्छन्, “म वा मेरो छोराले होइन तर परमप्रभुलेनै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”—न्यायकर्त्ता ८:२३.
तथापि, असिद्ध भएको कारण गिदोनले सधैं सही निर्णय गर्न सक्दैनन्। किन हो कुन्नि युद्धमा लुटेका धनमालबाट तिनले एउटा एपोद बनाउँछन् र आफ्नै सहरमा त्यो राख्छन्। रेकर्डले बताएअनुसार सबै इस्राएलीहरूले त्यस एपोदको “पूजा गरी आफैलाई वेश्यासमान” बनाउन थाल्छन्। तिनीहरूले यसको पूजा गर्छन् र यो गिदोन अनि तिनका घरानालाई समेत फसाउने एउटा फन्दा बन्छ। तरैपनि तिनी पूरै मूर्तिपूजक भने भइहालेका छैनन् किनभने धर्मशास्त्रले तिनलाई यहोवामाथि विश्वास गर्ने व्यक्तिको रूपमा चिनाउँछ।—न्यायकर्त्ता ८:२७, NRV; हिब्रू ११:३२-३४.
हाम्रा लागि पाठहरू
गिदोनको कथाबाट चेतावनीमूलक एवम् प्रोत्साहनदायी दुवै खाले पाठ सिक्न सक्छौं। हामी बरालियौं र यहोवाले हामीबाट उहाँको आत्मा र आशिष् हटाइदिनुभयो भने, हाम्रो आध्यात्मिक अवस्था पनि सलहहरूले जर्जर पारेको भूमिमा बसोबास गर्ने गरिबीले पिल्सिएका मानिसहरूको जस्तै हुनेछ। हामी डरलाग्दो समयमा बाँचिरहेका छौं र यहोवाको आशिष्ले “धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न” भन्ने कुराको हेक्का हामीमा सधैं हुनुपर्छ। (हितोपदेश १०:२२) हामीले परमेश्वरको आशिष् पाइरहेका छौं किनभने हामी “सारा हृदय र इच्छुक मनले उहाँको सेवा” गर्छौं। यसो गरेनौं भने, उहाँले हामीलाई सधैंको निम्ति फाल्नुहुनेछ।—१ इतिहास २८:९.
गिदोनको जीवनीबाट हामी प्रोत्साहन पाउन सक्छौं किनभने यस जीवनीले कमजोर अथवा असहायजस्तो देखिने मानिसहरू चलाएर भए पनि यहोवाले आफ्ना जनहरूलाई जस्तोसुकै खतराको मुखबाट बचाउन सक्नुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ। गिदोन अनि तिनका ३०० जना मानिसले १,३५,००० मिद्यानीलाई परास्त गर्न सक्नु परमेश्वरको असीम शक्तिको प्रमाण हो। कहिलेकाहीं हामीले पनि आफूलाई निराशाजनक स्थितिमा पाउन सक्छौं र शत्रुहरूको तुलनामा हाम्रो संख्या थोरै भएजस्तो लाग्न सक्छ। तर गिदोन पनि संलग्न बाइबल विवरणले हामीलाई यहोवामाथि भरोसा राख्न प्रोत्साहन दिन्छ किनकि उहाँमाथि विश्वास गर्ने सबै जनालाई उहाँले आशिष् तथा छुटकारा दिनुहुनेछ।