एस्तरको पुस्तकका विषेशताहरू
यहोवाको वचन जीवित छ
एस्तरको पुस्तकका विषेशताहरू
फेल नखाने एउटा षड्यन्त्र रचिन्छ। यहूदीहरूलाई सखापै पार्ने। भारतवर्षदेखि इथियोपियासम्म फैलिएको साम्राज्यका यहूदीहरूलाई एकै दिनमा निमिट्यान्न पार्ने योजना बनाइन्छ। यही नै हो एउटा षड्यन्त्रकारीले मनमनै ताकिरहेको निसाना। तर, त्यसले एउटा महत्त्वपूर्ण कुरा बिर्सेको छ। के कुरा? स्वर्गमा बस्नुहुने परमेश्वरले आफ्ना मानिसहरूलाई जस्तोसुकै खतराबाट पनि छुटकारा दिन सक्नुहुन्छ भन्ने कुरा। एस्तरको पुस्तकमा यही छुटकाराको विवरण पाइन्छ।
यो पुस्तक यहूदी बुज्रुग मोर्दकैले लेखेका हुन्। यस पुस्तकले फारसी राजा अहासूरस वा राजा जारसेज प्रथमले शासन गरेको लगभग १८ वर्षे लामो इतिहास ढाकेको छ। यहोवाले आफ्ना जनहरूलाई शत्रुहरूको षड्यन्त्रबाट कसरी जोगाउनुहुन्छ भन्ने कुरा यस नाटकीय विवरणबाट थाह लाग्छ। उनीहरू विशाल साम्राज्यभरि नै फैलिएको किन नहोस्, उहाँले बचाउनुहुन्छ। त्यो कुरा थाह पाउँदा, आज २३५ मुलुकमा पवित्र सेवा चढाइरहेका यहोवाका जनहरूको विश्वास झन् बलियो हुन्छ। यसबाहेक, एस्तरको किताबमा हामीले अनुकरण गर्न हुने र नहुने दुवै थरिका पात्रहरू छन्। हो, “परमेश्वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२.
रानीले केही गर्नै पर्ने हुन्छ
राजा अहासूरसले आफ्नो शासनको तेस्रो वर्षमा (ई. पू. ४९३ मा) शाही भोज बोलाउँछन्। बिछट्टै सुन्दरी भनेर चिनिएकी रानी वश्तीले राजालाई रिस उठाउँछिन् र तिनलाई पदबाट हटाइन्छ। तिनको सट्टा अर्की रानी छान्न देशका सुन्दरी-सुन्दरी कन्ये केटीहरू बोलाइन्छन् र ती मध्येबाट यहूदी केटी हदस्सा रानी छानिन्छे। आफ्नो दाज्यू पर्ने मोर्दकैको सल्लाहअनुसार हदस्साले आफ्नो यहूदी नाउँ नबताई फारसी नाउँ एस्तर बताउँछिन्।
समय बित्दै जाँदा, घमन्डी मानिस हामान प्रधानमन्त्री बन्छ। मोर्दकैले ‘हामानलाई निहुरेर दण्डवत्’ नगरेपछि हामान रीसले चूर हुन्छ। त्यसकारण, हामानले फारसी साम्राज्यभरिका यहूदीहरूलाई नाश पार्ने षड्यन्त्र रच्छ। (एस्तर ३:२) हामानले राजालाई फकाइ-फुस्ल्याइ आफ्नो कुरामा मख्ख पार्छ र यहूदीहरू मार्ने उर्दी घोषणा गर्न लगाउँछ। मोर्दकैले “भाङ्रा र खरानी” लाउँछन्। (एस्तर ४:१) अब भने एस्तरले केही गर्नै पर्ने हुन्छ। एस्तरले एउटा भोजको आयोजना गर्छिन् अनि राजा र प्रधानमन्त्रीलाई निम्त्याउँछिन्। अर्को दिनको भोजमा पनि तिनले उनीहरूलाई आउने आग्रह गर्छिन्। हामान त दङ्गमाथि दङ्ग पर्छ। तैपनि, मोर्दकैले दण्डवत् नगरेकोमा त्यसको मन भुटभुटिरहेको छ। हामानले भोजको अघिल्लो दिन नै मोर्दकैलाई मार्ने योजना बुन्छ।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१:३-५—भोज १८० दिनसम्म चलेकै हो त? त्यति लामो समयसम्म भोज चल्यो भनेर बाइबलमा बताइएको छैन। तर राजाले अफिसरहरूलाई आफ्नो राज्यको धनसम्पत्ति र ऐश्वर्य चाहिं १८० दिनसम्म देखाए भनिएको छ। सायद राजाले आफ्नो राज्यको सान देखाउन त्यति लामो जामघट गर्नुपऱ्यो होला। किन? किनभने त्यसरी सान देखाएर आफू आफ्नो योजना फत्ते गर्न सक्षम छु भनी गन्यमान्य व्यक्तिहरूलाई प्रभावित र विश्वस्त पार्नुपरेको थियो। त्यसैले त पद ३ र ५ मा, त्यो १८० दिने लामो जमघटको अन्ततिर मात्र ७ दिने भोज चलेको कुरा उल्लेख छ।
१:८—कुन अर्थमा “कसैलाई जबरदस्तीसित पियाउने” नियम थिएन? भोजहरूमा एकले अर्कालाई निश्चित मात्रासम्म रक्सी पिउन आग्रह गर्नसक्ने फारसी चलन थियो। तर आफूले आयोजना गरेको यस भोजमा भने राजा अहासूरसले त्यो चलन नमाने पनि हुने छुट दिएका थिए अर्थात् आफूले चाहे जति पिउन सक्थे। एउटा किताब लेख्छ: “तिनीहरू आफूले चाहेजति धेरै पनि पिउन सक्थे र थोरै पनि।”
१:१०-१२—रानी वश्ती राजासामु आउन किन पटक्कै मानिनन्? कतिपय विद्वान्हरूको भनाइअनुसार रक्सीले मात्तिसकेका पाहुनाहरूको अगाडि तिनले आफूलाई हाँसोको पात्र बनाउन चाहिनन्। कि चाहिं, बिछट्टै राम्री ती रानीले राजालाई त्यति आदर नगरेको हुन सक्छ। तिनको खास मनसाय के थियो, त्यो त बाइबलमा बताइएको छैन। तैपनि, त्यसरी पतिको आज्ञा नमान्नुलाई त्यस बेलाका बुज्रुगहरूले गम्भीर रूपमा लिए किनभने रानी वश्तीको नराम्रो उदाहरणले फारसका सारा पत्नीहरूलाई असर गर्ने थियो।
२:१४-१७—के एस्तरले राजासित नाजायज सम्बन्ध राखिन्? अहँ, राखिनन्। बाइबल विवरणअनुसार राजासित भेट गर्न लगिएका स्त्रीहरूलाई बिहानीपख “उप-पत्नीहरूका जिम्मावाल” राजाका नपुंसकको अधीनमा रहन स्त्रीहरू बस्ने घरमा फर्काइयो। राजासित रात बिताएका स्त्रीहरू राजाका उप-पत्नी वा रखौटी हुन्थे। तर एस्तरलाई राजासित भेट गराएपछि उप-पत्नीहरू बस्ने घरमा फर्काएर लगिएन। एस्तरलाई राजा अहासूरससामु ल्याइँदा, “राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाईनै मन पऱ्यो। औ राजाले अरू कन्येकेटीहरूभन्दा तिनलाई निगाह र दया देखाए।” (एस्तर २:१७) तिनले कसरी अहासूरसको “निगाह र दया” पाउन सकिन्? त्यसरी नै, जसरी तिनले अरू मानिसको निगाह पाउन सकेकी थिइन्। “तिनलाई [एस्तरलाई] देखेर त्यो नपुंसक [हेगे] आकर्षित भयो। औ एस्तरले तिनीबाट विशेष निगाह पाइन्।” (एस्तर २:८, ९) एस्तरको सुन्दरता र असल गुण देखेर हेगेले तिनीप्रति निगाह देखाए। वास्तवमा, “तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्।” (एस्तर २:१५) त्यसै गरी, राजा पनि एस्तरको असल चालचलन र सुन्दरता देखेर मोहित भए र तिनलाई मन पराउन थाले।
३:२; ५:९—मोर्दकैले हामानलाई किन दण्डवत् गरेनन्? इस्राएलीहरूले उच्च ओहोदाका व्यक्तिहरूलाई आदर देखाउन निहुरेर दण्डवत् गर्दा परमेश्वरको नियम भङ्ग हुँदैनथ्यो। तर, हामानलाई दण्डवत् गर्नुमा आदर देखाउनु मात्र समावेश थिएन। सम्भवतः हामान अमालेकी मूलको अगागी थिए र परमेश्वरले अमालेकीहरूलाई नाश गर्ने निधो गरिसक्नुभएको थियो। (व्यवस्था २५:१९) त्यसकारण, मोर्दकैले हामानलाई दण्डवत् गरेका भए तिनी यहोवाप्रति अवफादार हुनेथिए। आफू यहूदी भएको बताउँदै मोर्दकैले दण्डवत् गर्न ठाडै इन्कार गरे।—एस्तर ३:३, ४.
हाम्रो लागि पाठ:
२:१०, २०; ४:१२-१६. यहोवाका परिपक्व उपासकले दिएको डोऱ्याइ र सल्लाह एस्तरले स्वीकारिन्। हामीले पनि ‘अगुवाहरूको आज्ञा पालन गर्नुपर्छ र तिनीहरूको अधीनमा बस्नुपर्छ।’—हिब्रू १३:१७, NRV.
२:११; ४:५. ‘हामीले आफ्नै कुरामा मात्र होइन, तर अरूहरूका कुरामा पनि ध्यान दिनुपर्छ।’—फिलिप्पी २:४.
२:१५. एस्तर, सादा जीवन बिताउने, आत्मसंयमकी धनी थिइन्। यो कुरा तिनले कसरी देखाइन्? हेगेले तिनलाई जे-जति लुगाफाटा र गर-गहना दिएका थिए त्यतिमै सन्तुष्ट रहेर। एस्तर “नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस” भएको कारण तिनले राजाको निगाह पाइन्।—१ पत्रुस ३:४.
२:२१-२३. “उच्च अख्तियारवालाहरूका अधीनमा” रहने सन्दर्भमा एस्तर र मोर्दकै असल उदाहरण हुन्।—रोमी १३:१.
३:४. कतिपय स्थितिमा एस्तरले जस्तै हामीले पनि आफ्नो परिचय लुकाउनु नै उचित हुन सक्छ। तर, यहोवाको सार्वभौमिकता र उहाँप्रति निष्ठावान् रहने जस्ता महत्त्वपूर्ण विषयमा भने आफूलाई यहोवाको साक्षी भनेर चिनाउन पटक्कै डराउनुहुँदैन।
४:३. सतावट आइपर्दा शक्ति र बुद्धिको लागि यहोवालाई प्रार्थनामा पुकार्नुपर्छ।
४:६-८. हामानको षड्यन्त्रबाट बच्न मोर्दकैले कानुनी मदत खोजे।—फिलिप्पी १:७.
४:१४. मोर्दकैले यहोवामा देखाएको विश्वास उदाहरणीय थियो।
४:१६. एस्तरले यहोवामा पूर्ण भरोसा राख्दै विश्वासी र साहसी भई ज्यान जान सक्ने परिस्थितिको डटेर सामना गरिन्। आफैमा होइन तर यहोवामा भरोसा राख्नु अत्यावश्यक छ।
५:६-८. अहासूरसको निगाह पाउन एस्तरले राजालाई अर्को भोजमा पनि निम्त्याइन्। तिनले चलाखी अपनाइन्। हामीले पनि त्यसै गर्नुपर्छ।—हितोपदेश १४:१५.
घटनाक्रमले अर्कै मोड लिंदै जान्छ
षड्यन्त्र उदाङ्गिएपछि खेलको पासा अर्कैतिर पल्टिन्छ। हामान आफूले खनेको खाल्डोमा आफै पर्छ। मोर्दकैलाई झुन्ड्याउन ठिक्क पारेको फाँसीको काठमा हामानलाई नै झुन्ड्याइन्छ! षड्यन्त्रको सिकार बनाइन लागेको मोर्दकैलाई चाहिं प्रधानमन्त्री बनाइन्छ! यहूदीहरूको नाउँ-निसानै मेटाउने षड्यन्त्र नि के भयो? यस षड्यन्त्रको पासा पनि अर्कैतिर पल्टिन्छ।
विश्वासी एस्तरले राजालाई सबै कुरा बताइदिन्छिन्। हामानको षड्यन्त्र विफल पार्न ज्यानै जोखिममा पारेर तिनी राजासामु आउँछिन् र बिन्तीभाव बिसाउँछिन्। अब के गर्नुपर्छ, अहासूरसलाई थाह छ। त्यसैले, आखिरमा षड्यन्त्रको पासा पल्टिन्छ र यहूदीहरू होइन तर तिनीहरूको नाउँ-निसानै मेटाउन खोज्नेहरू पो नाश हुन्छन्। एस्तर १०:३.
त्यस ठूलो छुटकाराको खुसियाली मनाउन मोर्दकैले हरेक साल पूरीमको उत्सव मनाउनुपर्ने उर्दी निकाल्छन्। मोर्दकै राजापछिको दोस्रो शक्तिशाली व्यक्ति भएकाले “तिनले आफ्ना मानिसहरूको हित गरे। र तिनीहरूका सारा सन्तानको उन्नति र कल्याण गरे।”—धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
७:४—यहूदीहरूलाई नाश गरेमा कसरी “महाराजाको हितमा हानि” पुग्ने थियो? हामानले यहूदीहरूलाई दासको रूपमा बेच्न सक्ने सम्भावना एस्तरले अहसूरसलाई चलाखीसाथ बताउँदै तिनीहरूलाई त्यसरी नाश गरेमा राजालाई कस्तो हानि पुग्नेछ, बताइदिइन्। यहूदीहरूलाई नाश गरेबापत हामानले राजकोषमा १० हजार चाँदीको सिक्का जम्मा गर्ने कबूल गरेका थिए। तर तिनले यहूदीहरूलाई दासको रूपमा बेच्ने षड्यन्त्र गरेको भए त्यो कबूल गरेको रकमभन्दा कता हो कता बढी रकम आउने थियो। हामानको षड्यन्त्र सफल भएको भए राजाले रानी पनि गुमाउनुपर्ने हुन्थ्यो।
७:८ NRV—राजाका कर्मचारीहरूले हामानको मुख किन छोपिदिए? सम्भवतः हामानमाथि लाज वा सङ्कटको घडी आउनै लागेको छ भनेर सङ्केत गर्न। एउटा किताबअनुसार “पहिला-पहिला मारिन लागेको मानिसको टाउको छोपिदिने चलन थियो।”
८:१७—कुन तरिकामा त्यस “देशका धेरै मानिसहरूले आफू-आफूलाई यहूदी बनाए”? पक्कै पनि, थुप्रै फारसीहरू धर्म परिवर्तन गरेर यहूदी बने होलान्। किन? किनभने फारसीहरूले हामान विरुद्धको शाही उर्दी परमेश्वरले यहूदीहरूलाई निगाह गर्नुभएको हो भन्ठाने। हुबहु त्यही ढङ्गले, जकरियाको किताबको एउटा भविष्यवाणी आज पूरा भइरहेको छ। त्यो भविष्यवाणी हो: “सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।’ ”—जकरिया ८:२३.
९:१०, १५, १६—यहूदीहरूसित लूटपाट गर्ने अधिकार थियो तरैपनि किन तिनीहरूले त्यसो गरेनन्? यसले देखाउँछ, अवश्यै तिनीहरूको ध्येय भौतिक फाइदा उठाउनु नभई आफ्नो सुरक्षा गर्नु थियो।
हाम्रो लागि पाठ:
६:६-१०. “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८.
७:३, ४. आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउँदा सतावट आइपर्न सक्छ भनेर जान्दाजान्दै पनि के हामी साहसी भई त्यसो गर्छौं?
८:३-६. शत्रुहरूबाट सुरक्षा पाउन हामी सरकारी अधिकारीसमक्ष र अदालतमा अपिल गर्न सक्छौं।
८:५. आफ्ना मानिसहरूलाई मार्ने षड्यन्त्रमा राजाको पनि हात छ भनेर एस्तरले कुरै उठाइनन्। उनले त्यसो चलाखी अपनाएर गरिन्। त्यसै गरी, हामीले पनि उच्च अख्तियारवालाहरूलाई प्रचार गर्दा चलाखी अपनाउनुपर्छ।
९:२२. हामीले गरिब भाइबहिनीलाई भुल्नु हुँदैन।—गलाती २:१०.
यहोवाले “सहायता र छुटकारा” दिनुहुन्छ
परमेश्वरको उद्देश्यअनुसारै एस्तरले शाही ओहोदा पाएको हो भन्ने कुरा मोर्दकै सङ्केत गर्छन्। ज्यान मार्ने धम्की आउँदा यहूदीहरू मदतको लागि उपवास बस्छन्, प्रार्थना गर्छन्। राजाले नबोलाए पनि रानी एस्तर राजासामु जान्छिन् र राजाले पनि तिनलाई स्वागत गर्छन्। त्यस निर्णायक घडीको रात राजा राम्रोसित सुत्न सकेनन्। खास गरी, आफ्ना जनहरूका फाइदाको लागि यहोवाले कसरी घटनाक्रमलाई मोड्नुहुन्छ भन्ने विवरण एस्तरको किताबमा पाइन्छ।
एस्तरको किताबको विवरण हामी “अन्तको समय[मा]” बाँचिरहेकाहरूका लागि ठूलो प्रोत्साहनको स्रोत हो। (दानियल १२:४) “पछिल्ला दिनहरूमा” अर्थात् आखिरी दिनको अन्ततिर गोगको मागोग भन्ने शैतानले यहोवाका जनहरूमाथि भीषण आक्रमण गर्नेछ। त्यसको लक्ष्य भनेकै साँचो उपासकहरूलाई सखाप पार्नु हो। तर एस्तरको समयमा जस्तै अहिले पनि आफ्ना उपासकहरूलाई यहोवाले “सहायता र छुटकारा” दिनुहुनेछ।—इजकिएल ३८:१६-२३; एस्तर ४:१४. (w06 3/1)
[पृष्ठ ४-मा भएको चित्र]
अहासूरससामु एस्तर र मोर्दकै